शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९२७१ - लुटपीट

भाग: ५६ साल: २०७१ महिना: माघ अंक: १०

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोपाल पराजुली

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल

फैसला मिति : २०७१।५।९।२

०६९-CR-०१८५

 

मुद्दा : लुटपीट ।

 

पुनरावेदक/वादी  : जिल्ला धनुषा, भुतही पटेर्वा गा.वि.. वडा नं. ९ बस्ने भिखनीदेवी भुसकुलीया

विरूद्ध

विपक्षी/प्रतिवादी : जिल्ला धनुषा, भुतही पटेर्वा गा.वि. वडा नं. ९ बस्ने बिल्टु यादव

 

§  कुनै वारदात लुटपीट हुन बाली धनमाल नगद जिन्सी जबर्जस्ती खोसी लैजाने वा कुनै किसिमसँग नोक्सान गराइदिने क्रिया हुनुपर्ने वा त्यस्तो क्रियाको लागि धरपकड् वा भनाभन झगडा लछारपछारसमेतको क्रिया हुनुपर्ने कुरा लुटपीटको पूर्वसर्तको रूपमा रहेको देखिने 

§  व्यक्तिवादी भै चलेको लुटपीट जस्तो मुद्दामा सरकारवादी अन्य फौजदारी मुद्दामा जस्तो वारदातको दसी प्रमाण बरामद गरी त्यस्तो दसी प्रमाणबाट वारदात पुष्टि गर्न सकिने प्रश्न नआउने हुँदा यस्तो प्रकृतिको मुद्दामा वारदात पुष्टि गर्ने विश्वसनीय आधार त्यस्तो घटनाको साक्षीले बकेका कुरालाई नै ग्रहण गर्नुपर्ने हुन्छ । लुटपीट चोरीको वारदात भन्दा भिन्न प्रकृतिको प्रत्यक्ष हात हालाहाल लुछाचुडी गरी गरिएको हुन्छ । आफैँ प्रत्यक्ष लुटपीटमा संलग्न नभएको व्यक्तिले अर्काको हकको कुनै वस्तु लुटपीट गरी लगेको थाहा पाएँ भन्ने उल्लेख गर्नुबाट लुटपीट स्थापित गर्ने आधार हुन नसक्ने ।

(प्रकरण नं. )

 

पुनरावेदक/वादीका तर्फबाट :

विपक्षी/प्रतिवादीका तर्फबाट :

अवलम्बित नजिर :

§  नेकाप २०३१, अङ्क ६, पृ.१७९

§  नेकाप २०२२, अङ्क १, पृ. ४१

सम्बद्ध कानून :

§  मुलुकी ऐन, लुटपीटको महलको १, २ नं.

 

सुरू तहमा फैसला गर्ने :

मा.जि.न्या. श्री अमृतबहादुर बस्नेत

पुनरावेदन तहमा फैसला गर्ने  :

मा.न्या. श्री तेजबहादुर के.सी.

मा.न्या. श्री द्वारिकामान जोशी

 

फैसला

न्या. गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतको क्षेत्राधिकारभित्र भै निर्णयार्थ  पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यस प्रकार छ :

विष्णुचरण जोशीको नाम दर्ताको जिल्ला धनुषा, भुतही पटेर्वा गाउँ विकास समिति वडा नं. कि.नं. ३०७ को क्षेत्रफल ०-१९-१८, .. कि.नं. २३९ को क्षेत्रफल ०-११-१०, .. कि.नं. २४१ को क्षेत्रफल ०-१४-१५ र ऐ.. कि.नं. २५० को क्षेत्रफल ०--० जग्गाको मोही मेरो लोग्ने रामस्वरूप भुसकुलीया भएकोमा मोहीमा कमाएको उक्त जग्गाहरूको कुतबाली जग्गाधनीलाई समयमा बुझाउँदै आएकोमा मेरो लोग्नेको मिति २०५३।४।२५ मा मृत्यु भएपश्चात सो जग्गा मैले मोहीको रूपमा कमाउँदै आएको छु । २०६३ सालमा सो  जग्गामा लगाएको गहुँबाली काट्ने अवस्थामा विपक्षीले जबर्जस्ती काटी लान खोज्दा मैले पुनरावेदन अदालत, जनकपुरमा २०६३ सालको रिट नं. ७ को निषेधाज्ञा मुद्दा दिएकोमा उक्त मुद्दामा अन्तरिम आदेश जारी भै मुद्दा कारवाही हुँदै मिति २०६४।४।१५ गते निषेधाज्ञाको स्थायी आदेशसमेत जारी भै सकेको छ । उल्लिखित जग्गा २०६५ सालमा गहुँ बाली लगाएको थिएँ । गहुँ राम्रो सप्री पाकी काट्ने अवस्थाको भएकोमा विपक्षीले मिति २०६५।१२।२० गतेका दिन बिहान आफू तथा अन्य नचिनेका ४०/५० जना जनमजदूर लिई बिहान ६ बजेदेखि १२:०० बजेसम्म सबै गहुँ बाली काटी बोझा पारी जबर्जस्ती लैजान तत्पर हुँदा गाउँ समाजका मानिसहरूसमेत भेला जम्मा पारी  सम्झाउँदासमेत पुनरावेदन अदालत, जनकपुरको काम आदेश गर्ने हो मेरो काम बाली काटी लग्ने हो भनी सम्पूर्ण जग्गामा लगाएको गहुँबाली जबर्जस्ती लुटपीट गरी आफ्नो घरमा लगेको हुँदा प्रतिकठ्ठा ६० के.जि.का दरले  हुने सम्पूर्ण जग्गाको जम्मा गहुँ मन ७०/ को प्रति मन रु.६४०।-का दरले हुने जम्मा रू.४५,८९५।-बराबरको गहुँबाली दिए मेरो गहुँ नै नदिए सोको हुने रू.४५,८९५।- विपक्षीबाट दिलाई भराई लुटपीट गर्ने विपक्षीलाई हदैसम्मको सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादीको फिराद दावी ।

वादी दावीको जग्गा मेरो ससुराले कमाएको र ससुराको मृत्युपछि आफ्नो छोरी श्रीमतीलाई दिई गएकोमा वादीले जबर्जस्ती जोतभोग गरी रहेको हुँदा वादी दावीबमोजिम मैले गहुँबाली लुटपीट गरेको छैन । वादीको फिराद दावी झुट्ठा भएकाले झुट्ठा फिरादबाट उन्मुक्ति पाउँ भन्नेसमेत व्यहोराको प्रतिउत्तर जिकिर ।

मिति ३०६५।१२।२० गतेका दिन विपक्षी भिखनीदेवीको खेतबाट प्रतिवादी बिल्टु यादवसमेतका ४०/५० जना भई खेतमा लगाएको गहुँबाली लुटपीट गरेका हुन् भन्नेसमेत व्यहोराको वादीका साक्षी जगदीश यादवले गरेको बकपत्र ।

वादी दावीको जग्गाको मोही बिल्टु यादव होइनन् । तर सो जग्गाको उब्जा निजले नै खाने गरेके हो । २०६५ सालको गहुँबाली बिल्टु यादवले लगाएको हुँदा सोको उब्जासमेत निजले नै खाएको हो तर लुटपीट गरेको होइनन् भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी चन्देश्वर राय र विहारी रायले गरेको बकपत्र ।

भूमिसुधार कार्यालय, धनुषाबाट निज वादीको नाममा मोही नामसारी भएको देखिएको साथै वादीको साक्षीले फिराद दावी समर्थन गरी बकपत्र गरेको देखिँदा प्रतिवादीले फिराद दावीबमोजिम लुटपीटको महलको १ र ४ नं. बमोजिम कसुर गरेको ठहर्छ । सो ठहर्नाले प्रतिवादीलाई बिगो रू.४५,८९५।- को सयकडा २० का दरले जरिवाना गरी लुटपीटको बिगोसमेत भराई दिने ठहर्छ भन्नेसमेत व्यहोराको धनुषा जिल्ला अदालतको मिति २०६७।३।६ गतेको फैसला ।

विपक्षीको सौता अर्थात मेरो सासुको मैले सेवा गरेबापत निजको छोरा नभएको हुँदा म पुनरावेदक छोरी ज्वाइँलाई उक्त जग्गा कमाउन दिएको र मैले नै मोहीमा जोती कुत बुझाउँदै आएकोमा र २०६५ सालको गहुँबाली मैले लगाएको कुरा मेरो प्रतिउत्तरका साक्षीहरूले बकपत्र गरेको कुरालाई प्रमाणमा नलिई केवल वादीका साक्षीको भनाइलाई प्रमाणमा ग्रहण गरी लुटपीट ठहर गरी मलाई जरिवाना गरेको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी वादी दावीबाट फुर्सद पाउँ भन्ने व्यहोराको पुनरावेदक प्रतिवादीको पुनरावेदनपत्र ।

को को व्यक्तिले के कस्तो कार्य र भूमिका गरी उक्त खेतको गहुँबाली काटी लुटी लगे सो पनि खुलाउन सकेको नदेखिनुकको साथै जम्मा जग्गा बिगाहा २-१७-१३ जग्गाको गहुँ बाली काटी, बोझा बाँधी टायर गाडामा लोड गरी लाने अवस्थासम्म प्रतिवादी बिल्टु बाहेक अन्य प्रतिवादीहरूलाई चिन्न नसकेको र बिहान ६ बजे ऐ. १२ बजेसम्ममा काट्ने लुट्ने कार्य सबै सम्पन्न गरी सकेको भन्ने तथ्य पत्यारलायक नहुनु एवम्वादीका साक्षी जगदीशले अदालतमा बकपत्र गर्दा वादीले फिरादमा प्रतिवादीसमेतले गहुँ बाली काटी बोझा बाँधी टायर गाडामा लान खोज्दा मैले गाउँ समाजका मानिसहरूलाई बोलाई भेला जम्मा गराए भनी उल्लेख गरेको व्यहोरालाई बकपत्रमा आफू वादीको घरमा बिहान ७ बजेदेखि १२ बजेसम्म बस्दा भेला जम्मा भएको मानिस देखे नदेखेको केही उल्लेख नगरी भएको बकपत्र दावीको तथ्य भन्दा पृथक भै दावीलाई नै खम्बिर हुने गरी पुष्टि गर्न नसकेको देखिँदा सुरू अदालतले लुटपीटको दावी ठहर्ने गरी गरेको फैसला तथ्य र प्रमाणको आधारमा मिलेको देखिन नआएकाले लुटपीट गरेको बिगो भराई प्रतिवादीलाई सजाय गरिपाउँ भन्ने वादी दावी ठहर्दैन भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, जनकपुरको फैसला ।

फिराद दावीको जग्गामा मेरो लोग्ने रामस्वरूप भुसकुलिया मोही भै निजको मृत्युपश्चात मैले मोही नामसारी गराई मोही प्रमाणपत्र लिई जोतभोग गरी आएकाले उक्त जग्गाको वास्तविक हक मेरो रहेकोमा २०६५ सालको गहुँबाली लुटपीट गरेको कुरा प्रतिवादी बिल्टु यादवको प्रतिउत्तरबाट नै पुष्टि भएको, मेरा साक्षीसमेतले बिल्टु यादवले गहुँबाली काटी लुटी लगेको भन्ने बकपत्र  गरिदिएको अवस्थामा मेरो प्रमाणको मूल्याङ्कन नै नगरी भएको पुनरावेदन अदालत, जनकपुरको मिति २०६८।७।९ को फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सुरूको फैसला कायम गरिपाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक वादी भिखनीदेवीको पुनरावेदन जिकिर ।

नियमबमोजिम आजको दैनिक पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिलसमेत अध्ययन गरियो ।

यसमा विष्णुचरण जोशी नाम दर्ताको जिल्ला धनुषा, भुतही पटेर्वा गा.वि.. वडा नं.९ कि.नं. ३०७, २३९, २४१ र २५० को जम्मा ज.वि. --१३ जग्गामा लगाएको गहुँबाली प्रतिकठ्ठा ६० के.जी. का दरले ७०/ मनको प्रतिमन ६४०का  दरले हुने मोल रू.४५८९५ बराबरको २०६५ सालको गहुँबाली प्रत्यर्थी प्रतिवादीले मिति २०६५।१२।२० गतेका दिन लुटपीट गरी लगेकाले दिए गहुँ नै नदिए सो बराबरको मूल्य रू. ४५८९५। विपक्षी प्रतिवादीबाट दिलाई भराई पाउन यी पुनरावेदकको फिराद परेकोमा सुरू अदालतले वादी दावी ठहराई गरेको फैसलामा प्रत्यर्थी प्रतिवादीको पुनरावेदन परी सुरूको फैसला उल्टी हुने ठहर गरी भएको पुनरावेदन अदालत, जनकपुरको मिति २०६८।७।२० को फैसलामा चित्त नबुझाई यी पुनरावेदकको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दामा सुरू अदालतले वादी दावी पुग्ने ठहराई गरेको फैसला उल्टी ठहर गरी गरेको पुनरावेदन अदालत, जनकपुरको फैसला मिलेको छ छैन सोतर्फ निर्णय दिनुपर्ने देखियो ।

            निर्णयतर्फ विचार गर्दा फिराद दावीको जग्गाको मोही वादीका पति रामस्वरूप भुसकुलिया भएकोमा विवाद देखिएन । उक्त जग्गामा वादीले लगाएको गहुँबाली २०६५।१२।२० गतेका दिन बिहान प्रतिवादीसमेत अन्य नचिनेका ४०/५० जना जनमजदूर भै बिहान ६ बजेदेखि १२.०० बजेसम्म सबै गहुँ बाली काटी बोझा पारी जबर्जस्ती लुटी प्रतिवादीले आफ्नो घरमा लगेको भन्ने फिराद दावी  छ। वादीका साक्षी जगदीश यादवले वादी भिखनीलाई घरमा भेट्न जाँदा घरमा नदेखी खेतमा भेट्न जाँदा प्रतिवादी बिल्टु यादव खेतमा उभिरहेको ४०/५० जना जनहरूले गहुँ काटी लुटी लगेको देखेको हुँ भनी अदालतमा बकपत्र गरेको देखिन्छ भने प्रत्यर्थी प्रतिवादी यी वादीका ज्वाइँ नाताका व्यक्ति भएका र उक्त दावीको जग्गा वादीका पतिले छोरी अर्थात् मेरी श्रीमतीलाई कमाई खान दिएकाले वर्षौंदेखि जोतभोग गर्दै आएको र हामीले नै जग्गाधनीलाई कुत बुझाउँदै आएको भनी प्रतिउत्तरमा जिकिर लिनुको साथै प्रतिवादीका साक्षी चन्द्रेश्वर राय र विहारी रायले दावीको जग्गामा वादीको लोग्ने अर्थात यी प्रतिवादीका ससुराले आफ्ना छोरी ज्वाइँहरू यी प्रतिवादी बिल्टु यादव र वादीका साक्षी जगदीश यादवलाई आधा आधा कमाई खान दिएको र गहुँ बाली वादी बिल्टु यादवले नै लगाएकोमा जगदीश यादवले काटी लगेकाले गाउँ समाज बसाई बिल्टुलाई फिर्ता दिलाएको भनी बकपत्र गरेको देखिन्छ ।

            . वादी दावीको बाली प्रतिवादीले लुटी लगेका हुन् हैनन्, वादी दावीबमोजिम लुटपीट ठहर हुने हो हैन भन्नेतर्फ हेर्दा मुलुकी ऐन, लुटपीटको महलको १ नं. ले गरेको अर्काको जिम्माको नगद, जिन्सी, बालीसमेत हात हाली जबर्जस्ती खोसी लैजान वा कुनै किसिमसँग नोक्सान गराईदिनसमेत हुँदैन गरे लुटपीट ठहर्छ भन्नेसमेतको कानूनी व्यवस्था र सोही महलको २ नंले गरेको कुनै कुरामा धरपकड् वा भनाभन झगडा लछारपछारसम्म भई सोही ठाउँ उसै बखतमा साथमा भए रहेको धनमाल नगद जिन्सी खोसी लिए लगे नोक्सान गरेसमेत लुटपीट ठहर्छ भन्नेसमेतका कानूनी व्यवस्थालाई दृष्टिगत गर्दा कुनै वारदात लुटपीट हुन बाली धनमाल नगद जिन्सी जबर्जस्ती खोसी लैजाने वा कुनै किसिमसँग नोक्सान गराइदिने क्रिया हुनुपर्ने वा त्यस्तो क्रियाको लागि धरपकड् वा भनाभन झगडा लछारपछारसमेतको क्रिया हुनुपर्ने कुरा लुटपीटको पूर्वसर्तको रूपमा रहेको देखिन्छ । वादीले फिरादमा प्रतिवादीले लुटी लगे भन्ने दावी लिएता पनि यी यी व्यक्ति भै लुटी लगे भनी आफ्नू दावीलाई  अन्य तथ्ययुक्त प्रमाणबाट पुष्टि गर्न सकेको देखिँदैन भने वादीको प्रमाणको रूपमा रहेका लुटपीटको वारदात स्थलमा उपस्थित वादीका साक्षी जगदीश यादवले वादी भिखनीलाई घरमा भेट्न जाँदा घरमा नदेखी खेतमा भेट्न जाँदा प्रतिवादी बिल्टु यादव खेतमा उभिरहेको र ४०/५० जना जनहरूले गहुँ काटी लुटी लगेको देखेको हुँ भनी अदालतमा बकपत्र गरेता पनि सो बाली निज वादी भिखनीले नै लगाएको भनी भन्न नसक्नुको साथै को को व्यक्ति भै कसरी लुटे भनी स्पष्ट खुलाउन नसकेको र सो बाली जोगाउन के कस्तो प्रतिकार वादी पक्षबाट भयो भनी खुलाउन सकेको पाइँदैन । बिहान ७ बजेदेखि १२ बजेसम्ममा सबै बाली लुटी लगे भने पनि वादीतर्फबाट आफ्नो बाली जोगाउन सामान्य प्रतिकारसम्म गरेको नदेखिएको अवस्थामा वादीका साक्षीको भनाइलाई  विश्वास गरी लुटपीटको वारदात कायम गर्ने अधारको रूपमा लिन सकिने देखिँदैन । व्यक्तिवादी भै चलेको लुटपीट जस्तो मुद्दामा सरकारवादी अन्य फौजदारी मुद्दामा जस्तो वारदातको दसी प्रमाण बरामद गरी त्यस्तो दसी प्रमाणबाट वारदात पुष्टि गर्न सकिने प्रश्न नआउने हुँदा यस्तो प्रकृतिको मुद्दामा वारदात पुष्टि गर्ने विश्वसनीय आधार त्यस्तो घटनाको साक्षीले बकेका कुरालाई नै ग्रहण गर्नुपर्ने हुन्छ । लुटपीट चोरीको वारदात भन्दा भिन्न प्रकृतिको प्रत्यक्ष हात हालाहाल लुछाचुडी गरी गरिएको हुन्छ । आफैँ प्रत्यक्ष लुटपीटमा संलग्न नभएको व्यक्तिले अर्काको हकको कुनै वस्तु लुटपीट गरी लगेको थाहा पाएँ भन्ने उल्लेख गर्नुबाट लुटपीट स्थापित गर्ने आधार हुन सक्तैन । प्रस्तुत मुद्दाको वारदातको सम्बन्धमा वादीका साक्षीले प्रतिवादीले लुटपीट गरेकोमा वारदात पुष्टि हुने गरी बकपत्र गरी दिन नसकेको स्थिति र प्रतिवादीका साक्षीहरूले बाली प्रतिवादीले नै लगाएका हुन्, प्रतिवादीले लुटपीट गरेका हैनन्  बरू वादीका साक्षी जगदीश यादवले नै बाली काटी लगेकोमा पछि समाज बसाई फिर्ता गराएको हो भनी बाली लगाए लुटे सम्बन्धमा वस्तुस्थिति खोली बकपत्र गरिदिएको स्थितिमा फिराद लेख र वादीका साक्षीको भनाइलाई मात्र अधार मानी वादी दावीबमोजिम प्रतिवादीबाट लुटपीटको कार्य भएकै हो भनी लुटपीटको वारदात स्थापित गर्न मिल्ने देखिँदैन । यस्तै सन्दर्भमालुटपीटको वारदात हुन जग्गाको बालीसमेत हात हाली जबर्जस्तीसँग खोसी लगेको हुनुपर्छभन्नेसमेत अम्बरलाल विरूद्ध ठिठरलालसमेत भएको लुटपीट मुद्दा नेकाप २०३१, अङ्क ६, पृ.१७९ मा रहात हाली जबर्जस्ती लिएको नदेखिए लुटपीट ठहर गर्न नमिल्नेभन्नेसमेत  मोहनबिक्रम शाह विरूद्ध भगवतीप्रसाद उपाध्याय भएको लुटपीट मुद्दा नेकाप २०२२, अङ्क १, पृ. ४१ मा प्रतिपादित सिद्धान्तसमेतको परिप्रेक्षमा प्रस्तुत मुद्दामा वस्तुनिष्ठ प्रमाणको अभावमा वारदात नै स्थापित हुन नसकी केवल वादीका साक्षीको भनाइलाई मात्र प्रमाणमा लिई प्रतिवादीले लुटपीट गरेको ठहर गर्नु मनासिब नदेखी सुरूले वादी दावी ठहराई गरेको फैसलालाई उल्टी गरी वादी दावी नठहर्ने गरी पुनरावेदन अदालत, जनकपुरबाट भएको मिति २०६८।७।२० को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।                 

न्या. जगदीश शर्मा पौडेल

 

संवत् २०७१ साल भदौ ९ गते रोज २ शुभम् ।

इजलास अधिकृत : उमानाथ गौतम

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु