निर्णय नं. ८६८६ - ट्रेडमार्क दर्ता

ने.का.प. २०६८, अङ्क ९
निर्णय नं. ८६८६
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री भरतराज उप्रेती
संवत् ०६३ सालको–CI–०१०२
फैसला मितिः २०६८।४।१५
मुद्दाः— ट्रेडमार्क ।
पुनरावेदक वादीः चितवन जिल्ला, जुटपानी गा.वि.स. वडा नं. २ घर भै हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३३ कालिकास्थान बस्ने मदनप्रसाद लम्साल
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १ कमलादी स्थित रेप्सोना पब्लिकेशन्स प्रा.लि.
शुरु निर्णय गर्नेः
कम्पनी बोर्ड, त्रिपुरेश्वर
पुनरावेदन फैसला गर्नेः—
मा.न्या.श्री कृष्णप्रसाद श्रेष्ठ
मा.न्या.श्री गोविन्दकुमार उपाध्याय
§ नेपालको कानूनले दर्ता भएको ट्रेडमार्कको मात्र सुरक्षा गर्दछ । तर, उद्योग विभागमा दर्ता नभएको ट्रेडमार्क जतिसुकै लामो अवधिसम्म प्रयोग गरेको भए तापनि केवल प्रयोगको आधारमा मात्र यसको सर्जक वा प्रयोगकर्ताले यस्तो अदर्ता ट्रेडमार्क प्रयोग गर्ने एकाधिकारको हक प्राप्त गर्न नसक्ने ।
(प्रकरण नं.३)
§ कुनै ट्रेडमार्कको प्रयोग गरेको आधारमा मात्र यसको धनी वा प्रयोगकर्ता फर्म, कम्पनी वा व्यक्तिलाई सो ट्रेडमार्कउपर एकाधिकार प्राप्त नहुने हुँदा एउटै ट्रेडमार्क दुईवटा फर्म व्यक्ति वा कम्पनीले प्रयोग गरेमा वा प्रयोगको दावी गरेमा दुईमध्ये जसको नाममा ट्रेडमार्क दर्ता भएको छ सोही व्यक्तिले मात्र विवादित ट्रेडमार्कको वास्तविक धनीको रुपमा मान्यता पाउने, यसको प्रयोगमा एकाधिकार प्राप्त गर्ने र केवल प्रयोगको आधारमा मात्र सो ट्रेडमार्कउपर दावी गर्नेको कानूनी हक नहुने र यसरी कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क निजको मञ्जूरीवेगर अन्य व्यक्ति, फर्म वा कम्पनीले प्रयोग गर्न पाउने हक नहुने ।
(प्रकरण नं.६)
पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री महेश थापा
प्रत्यर्थी प्रतिवादी तर्फबाटः
सम्बद्ध कानूनः
§ पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा २(ग), १६(२), १८(१), (३), १९, २१(ग) २३
§ छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०४८ को दफा ७(४) तथा ४०
फैसला
न्या.भरतराज उप्रेतीः पुनरावेदन अदालत, पाटनबाट मिति २०६१।१०।४ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतमा पुनरावेदन पत्र दायर भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः—
म मदनप्रसाद लम्सालले पत्रपत्रिका प्रकाशन गर्नको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति पाएको र सोहीबमोजिम न्यू विजनेश एज नामक अंग्रेजी मासिक पत्रिका प्रकाशन गर्दै आएको छु । न्यू विजनेश एज पत्रिका प्रकाशन गर्ने सन्दर्भमा BUSINESS AGE भन्ने संयुक्त शब्द र लेवलको समष्टिगत रुपलाई ट्रेडमार्कको रुपमा आफ्नो मात्र एकाधिकार रहने गरी प्रयोग गर्न पाउने गरी मिति २०५७।११।२४ मा दर्ता गराएको छु । मेरो नाममा दर्ता रहेको न्यू विजनेश एज पत्रिकाको ट्रेडमार्कको रुपमा दर्ता भै कायम भएको तथा दर्तावालाको मात्र एकाधिकार रहने BUSINESS AGE भन्ने संयुक्त शब्द र लेवलको समष्टिगत रुपको नाम राखी उजूरीकर्ताको प्रकाशन जस्तै देखिने गरी सर्वसाधारण जनता ग्राहकहरूलाई झूक्याउने गरी रेप्सोना पब्लिकेशन प्रा.लि.का सञ्चालक हरिकुमार राई (पत्रिकामा हरि राई सम्पादक) ले लेखिएकोले आफू सम्पादक तथा प्रकाशक भै पत्रिका प्रकाशन गरेकोले यो उजूरी गर्न आएको छु । अतः पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १६(२) को उल्लंघन गरेकोले सोही ऐनको दफा १९ बमोजिम विपक्षी हरिकुमार राई तथा गैरकानूनी कार्यमा संलग्न सम्पादकीय र बजार व्यवस्थापनसँग संलग्न अन्य सबैलाई हदैसम्म सजाय गरी गैरकानूनी पत्रिका BUSINESS AGE जफत गरिपाऊँ भन्ने समेत व्यहोराको मदनप्रसाद लम्सालले उद्योग विभाग त्रिपुरेश्वरमा दिएको उजूरी पत्र ।
म निवेदक र मदनप्रसाद लम्सालले संयुक्त रुपमा कम्पनी ऐन, २०५३ अन्तर्गत शेयरमा सीमित दायित्व हुने गरी मिति २०५५।१।२२ गते प्रा.लि.द.नं. ८४३५।०५४।०५५ मा यस रेप्सोना पव्लिकेशन प्रा.लि.नामक कम्पनी दर्ता गरेका र कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा म निवेदकले ९०० कित्ता शेयर र मदनप्रसादले १०० कित्ता शेयर लिन कबुल गरी सो बमोजिमको शेयर बाँडफाड र चुक्ता गरेका थियौं । कम्पनीको मिति २०५५।२।२४ मा बसेको सञ्चालक समितिको बैंठकबाट कम्पनीको घोषित उद्देश्यअनुरूप BUSINESS AGE नामक अंग्रेजी मासिक पत्रिका प्रकाशन गर्ने र सो पत्रिकाको सम्बन्धित निकायमा दर्ता इत्यादि सम्पूर्ण कार्य गर्ने गरी सञ्चालक मदनप्रसाद लम्साललाई अख्तियारी दिने निर्णय सर्वसम्मतिबाट भएको थियो । साथै सोही बैठकबाट निज मदनप्रसाद लम्साललाई विजनेश एजको सम्पादक पदमा नियुक्ति गरिएको थियो । सोही निर्णयअनुसार मिति २०५६।४।५ मा उक्त पत्रिकाको सम्पादकमा मदनप्रसाद लम्साल रहने गरी स्थानीय अधिकारीको कार्यालयबाट स्थायी प्रमाण पत्र पाएका थियौं । तर अस्थायी प्रमाण पत्र पाई २०५५ असोज, कार्तिक देखि सो पत्रिकाको प्रकाशन शुरु भएको थियो । मिति २०५५।२।२४ को सञ्चालक समितिको निर्णयअनुसार कम्पनीले विजनेश एज नामक पत्रिकाको ट्रेडमार्क उद्योग विभागमा दर्ता गराउन समेत निर्देशन दिएको थियो । विजनेश एज पत्रिकाको सम्पादक र रेप्सोना पब्लिकेशन्स प्रा.लि.को सञ्चालक जस्तो जिम्मेवारी पदमा रहेको बेला कम्पनीको हित विपरीत कम्पनीको ट्रेडमार्क दर्ता गर्ने अख्तियारी र जिम्मेवार लिएको निजले आफ्नो नाममा दर्ता गरी अहिले आएर कम्पनी विरुद्ध उजूरी दिनु अनैतिक र गैरकानूनी भएकोले निजको माग दावी खारेज गरिपाऊँ साथै २०५५ सालदेखि विजनेश एज पत्रिकाको सम्पादकमा रहि कार्य गर्दै आउने व्यक्ति कर्मचारीले कम्पनीको उपार्जनलाई आफ्नो निजी उपार्जन मान्नु अनैतिक कुरा हो । २०५५ सालदेखि नियमित प्रकाशन हुँदै आएको नाममै मिति २०५७।११।२४ मा ट्रेडमार्कमा दर्ता गर्नेले आफ्नो उपार्जन रेप्सोनाको निमित्त प्रकाशित गर्दै आएको भन्नु सरासर अनुपयुक्त कुरा हो । यस रेप्सोना पब्लिकेशन प्रा.लि.ले विजनेश एज शब्द र लेवलसहितको समष्टि रुपलाई कम्पनीको नाउँमा दर्ता गर्न निजलाई जिम्मेवारी तोकेकोमा उल्टै कम्पनीलाई नोक्सानी पुर्याउने कार्य गरेबाट निजले कम्पनीलाई उल्टै हर्जाना बुझाउनु पर्छ भन्ने समेत व्यहोराको रेप्सोना पब्लिकेशन्स प्रा.लि.का अध्यक्ष हरिकुमार राईको प्रतिक्रिया ।
त्यस उद्योग विभागद्वारा मिति २०५८।४।१७ मा प्रतिक्रिया पेश गर्ने विषयमा रेप्सोना पब्लिकेशन्स प्रा.लि.लाई पठाएकोमा पत्रबाट न्यू विजनेश एजका सम्पादक मदनप्रसाद लम्सालले यस प्रकाशनको नाममा त्यस विभागमा BUSINESS AGE (संयुक्त शब्द र लेवलसहित) को ट्रेडमार्क दर्ता गराएको र यस कम्पनीलाई पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ बमोजिम कारवाही गरी पाउन उजूरी दिएकोबाट यस रेप्सोना पब्लिकेशन्सद्वारा प्रकाशित हुने विजनेश एज को ट्रेडमार्क निज मदनप्रसादले निजको नाममा दर्ता गराएको कुरा थाहा पाई म्यादभित्रै उजूरी गर्न आएको छु । म उजूरीकर्ता र मदनप्रसाद लम्सालले संयुक्त रुपमा सीमित दायित्व हुने गरी मिति २०५५।१।२२ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट कम्पनी नं. ८४३५।०५४।०५५ मा रेप्सोना पब्लिकेशन्स प्रा.लि.दर्ता गरी कम्पनी सञ्चालन गरी आएका थियौं । यस पब्लिकेशन्सको मिति २०५५।२।२४ को सञ्चालक समितिको बैठकबाट कम्पनीको घोषित उद्देश्यअनुसार पहिलो प्रकाशनको रुपमा एउटा अंग्रेजी मासिक विजनेश एज नामक पत्रिका प्रकाशन गर्ने निर्णय भएको थियो सो पत्रिकाको दर्ता आदि प्रक्रिया गर्न मदनप्रसाद लम्साललाई अख्तियारी दिने निर्णय पनि भएको हो र सो पत्रिकाको सम्पादकमा निजलाई नियुक्ति गरिएको थियो । सोहीबमोजिम रेप्सोना पब्लिकेशन्स प्रा.लि.को तर्फबाट निजद्वारा सो पत्रिकालाई स्थानीय अधिकारीसमक्ष दर्ता गर्ने कार्य भएको थियो । उक्त पत्रिका २०५५ असोज, कार्तिक (सेप्टेम्बर—अक्टुवर १९९८) देखि प्रकाशन भै अहिलेसम्म नियमित रुपमा प्रकाशित हुँदै आएको छ । निजनेश एज पत्रिकाको जनविश्वास एवं पत्रिकाद्वारा आर्जित ख्यातिमा चोट पुर्याउने नियतले बद्नियत पूर्ण ढंगबाट निज मदनप्रसाद लम्सालद्वारा आफै प्रकाशित सम्पादित भनी BUSINESS AGE नै नाम राखी Vol. 1. No. 1 (वैशाख २०५८) May 2001 अङ्क बजारमा आएको देखी कम्पनीले स्थानीय अधिकारी र प्रेस रजिष्ट्रारसमक्ष उजूरी दिँदा न्यू विजनेश एज पत्रिकालाई अनुमति दिएको तर विजनेश एजसँग हुवहु मिल्ने गरी पत्रिका आएकोले यसरी कम्पनीलाई ढाँटी गुमराहमा राखी नयाँ पत्रिका दर्ता गराउनुबाट निज मदनप्रसाद लम्सालको सो कार्यमा बद्नियत भएको छ । आफ्नो व्यक्तिगत स्वार्थका लागि आफ्नो नाउँमा दर्ता गराएको स्वयं सञ्चालक र कम्पनीको प्रकाशन विजनेश एजको सम्पादकमा कार्यरत् रहेकै अवस्थामा मिति २०५७।११।२४ मा आफ्नो एकाधिकार रहने गरी दर्ता गराउनु भएको छ जवकि BUSINESS AGE को सम्पादकबाट मिति २०५८।१।१ बाट लागू हुने गरी राजीनामा दिएकोबाट निज मदनप्रसाद लम्सालद्वारा न्यू विजनेश एजको नाउँमा दर्ता गरिएको BUSINESS AGE (संयुक्त शब्दसहितको लेवल) ट्रेडमार्क बदरभागी छ । तसर्थ विभागद्वारा पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८(१) को प्रतिवन्धात्मक वाक्यांशको अवस्थाको आधारमा ऐ.दफा १८(३) बमोजिम सो ट्रेडमार्कको दर्ता बदर गरिपाऊँ भन्ने समेत व्यहोराको हरिकुमार राईको उजूरी ।
निज उजूरीकर्ता वा रेप्सोना पब्लिकेशन्स प्रा.लि.को नाममा BUSINESS AGE भन्ने कुनै ट्रेडमार्क नै दर्ता नभएको र पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐनले दर्ता नभएको ट्रेडमार्कलाई मान्यता नदिने भएकाले निजको ट्रेडमार्कको ख्यातिमा धक्का पुगेको भन्ने कथन नै झूठा र कानून विरुद्धको छ । BUSINESS AGE ट्रेडमार्क मेरो आफ्नो ट्रेडमार्क भएकोले म रेप्सोना पब्लिकेशन्स प्रा.लि.मा सम्पादकको हैसियतमा कार्यरत् भएसम्म रेप्सोना पब्लिकेशन्सले प्रकाशन गर्ने पत्रिकाको लागी प्रयोग गरेको मात्र हो । मेरो नाममा भएको अन्य कसैले दर्ता नगरेको ट्रेडमार्क कानूनले दिएको सुविधा तथा अधिकार बमोजिम मैले आफूले प्रकाशन गर्ने पत्रिकाको लागी प्रयोग गर्न पाउने नै भएकोले यसबाट रेप्सोना पब्लिकेशन्स प्रा.लि.को प्रतिष्ठामा धक्का पुर्याएको भन्न मिल्दैन । न्यू विजनेश एजको नाममा दर्ता रहेको BUSINESS AGE ट्रेडमार्क बदर गर्नुपर्ने कानूनी अवस्था नभएकोले दर्ता बदर नभै यथास्थितिमा कायम राखिनु पर्ने भन्ने समेत व्यहोराको मदनप्रसाद लम्सालको प्रतिक्रिया ।
दुबै पक्षले जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर नै विजनेश एज तथा न्यू विजनेश एज नामबाट पत्रिका सञ्चालन गरी रहेको हुँदा निवेदक पक्षको जिकीरमा विपक्षीलाई निवेदकको नाममा ट्रेडमार्क दर्ता रहेको आधारमा मात्र विजनेश एज पत्रिका चलाउन रोक लगाउनु मनासिब नभएकोले र ट्रेडमार्क ऐनअनुसार पनि (ट्रेडमार्कको परिभाषा) न्यू विजनेश एज तथा विजनेश एज दुवैको प्रस्तुती सर्वसाधारण नझुक्किने गरी दुवै पक्षले प्रयोगमा ल्याएको डिजाइन भन्दा फरक हुने गरी आ—आफ्नो पत्रिका प्रकाशन गर्ने आदेश दिने भन्ने व्यहोराको मिति २०६०।१०।९ को टिप्पणी सदर गरेको उद्योग विभागको आदेश ।
उद्योग विभागबाट निर्णय हुँदा डिजाइन तथा ट्रेडमार्क तथा ट्रेडमार्क फरक हुने भन्ने कुरालाई ख्याल गरिएको छैन भने निवेदन दावीमा विपक्षीले बद्नियतपूर्ण तरिकाबाट दर्ता गराएको ट्रेडमार्क बदर गर्न माग दावी छ । विपक्षीको निवेदनमा पनि डिजाइन परिवर्तन गर्ने माग दावी छैन जसबाट उद्योग विभागको निर्णय माग दावीविपरीत भएकोले उक्त त्रुटिपूर्ण निर्णय बदर गरी मेरो माग दावीबमोजिम विपक्षीले दर्ता गरेको ट्रेडमार्क बदर गरी विपक्षीलाई सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको रेप्सोना पब्लिकेशन्स प्रा.लि.का अध्यक्ष हरिकुमार राईको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।
उद्योग विभागले पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को विरुद्ध हुने गरी पुनरावेदकको नाम दर्ता रही पुनरावेदकको एकलौटी हक भोगको ट्रेडमार्कलाई डिजाइन परिर्वतन गरी प्रयोग गर्नु भन्ने आदेश ऐनविपरीत छ । साथै सोही ऐनको दफा १६(२) बमोजिम गरी पत्रिका प्रकाशन गरेकोले उद्योग विभागको मिति २०६०।१०।९ को निर्णय र सोको आधारमा मिति २०६०।१०।२६ मा दिएको आदेश उल्टी गरी पुनरावेदकको एकलौटी हक भोग स्वामित्वको ट्रेडमार्क प्रयोग गरी विजनेश एज पत्रिका प्रकाशित गरेको ठहर फैसला गरी सजाय समेत गरिपाऊँ भन्ने समेत व्यहोराको न्यू विजनेश एज अंग्रेजी मासिक पत्रिकाको सम्पादक मदनप्रसाद लम्सालको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदन पत्र ।
छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०४८ अन्तर्गतको विषयमा समेत अधिकारक्षेत्र ग्रहण गरी दुवै पक्षले हाल प्रयोगमा ल्याएको डिजाइनभन्दा फरक हुने गरी आ—आफ्नो पत्रिका प्रकाशन गर्ने तथा विभागीय आदेशको अवज्ञा भएमा ऐनको दफा १९ बमोजिम कारवाही गरिने भनी उद्योग विभागले मिति २०६०।१०।९ मा सदर गरेको टिप्पणी आदेश सो हदसम्म कानूनसम्मत् देखिन नआएकोले सो आदेश सो हदसम्म बदर हुने ठहर्छ । पुनरावेदक मदनप्रसाद लम्सालको ट्रेडमार्क समेत बदर गरिपाऊँ भनी रेप्सोना पब्लिकेशन्स प्रा.लि.ले तथा पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १९ बमोजिम सजाय गरी क्षतिपूर्ति समेत भराई पाऊँ भनी पुनरावेदक मदनप्रसाद लम्सालले गरेको पुनरावेदन जिकीर पुग्न सक्तैन भन्ने समेतको पुनरावेदन अदालत, पाटनबाट मिति २०६१।१०।४ मा भएको फैसला ।
प्रस्तुत विवादमा पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ मा छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०४८ कुन विशेष प्रभावी हो भन्ने विवादको विषय नै होइन । साविकमा प्रत्यर्थी रेप्सोना पब्लिकेशन्स प्रा.लि.को नामबाट म पुनरावेदक मदनप्रसाद लम्सालले सम्पादन तथा प्रकाशन गरेको BUSINESS AGE पत्रिका र म मदनप्रसाद लम्सालले प्रकाशन तथा सम्पादन गरेको New Business Age पत्रिकामध्ये कुन पहिले नै दर्ता भएको हो अर्थात जिल्ला प्रशासन कार्यालयबाट कुन पत्रिका सम्बन्धमा पहिले प्रमाणपत्र पाएको हो भन्ने विवादको विषय होइन । प्रत्यर्थीसँगको विवाद छापाखाना र प्रकाशन सम्बन्धी ऐनअन्तर्गत BUSINESS AGE पत्रिकाको दर्ता कायम रहेको बेला सोही ऐन अन्तर्गत अर्को पत्रिका New Business Age दर्ता गर्न मिल्छ मिल्दैन भन्ने होइन । मैले पत्रिका दर्ता गरी सञ्चालन गरेको विषयमा उद्योग विभागमा कुनै उजूर दावी छैन र पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐनबमोजिम उजूर लाग्न सक्दैन । छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०४८ बमोजिम कुनै पत्रपत्रिका कुनै कम्पनीको नाममा दर्ता हुँदैमा पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ बमोजिम अर्को व्यक्तिको नाममा ट्रेडमार्कको रुपमा दर्ता नहुने भन्ने होइन । छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ ले ट्रेडमार्कको दर्ता तथा प्रयोग सम्बन्धमा पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ लाई प्रयोजनहीन बनाउँछ भनी गरिएको व्याख्या त्रुटिपूर्ण छ । पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ को दफा १६(१) मा कसैले आफ्नो बन्द व्यापार वा कारोवारको ट्रेडमार्क विभागमा दर्ता गराएर सो ट्रेडमार्कउपर हक प्राप्त गर्नसक्ने स्पष्ट व्यवस्था गरेको हुँदा Business Age ट्रेडमार्कमा मेरो मात्र हक लाग्छ । प्रत्यर्थीले सो ट्रेडमार्क दर्ता नै नगराएको हुँदा ऐनबमोजिमको हक प्राप्त गर्न सक्ने हुँदैन । मेरो नाममा दर्ता भएको Business Age ट्रेडमार्क प्रयोग गर्न मैले प्रत्यर्थीलाई कुनै लिखित मञ्जूरी नदिएको अवस्थामा निजले आफ्नो उपयोगमा ल्याउन सक्ने अवस्था छैन । पेटेन्ट डिजाइन र ट्रेडमार्क अन्तर्गत परेको विवादमा सोही ऐनमा भएको व्यवस्थाको आधारमा फैसला गर्नुपर्नेमा पुनरावेदन अदालत, पाटनबाट छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ का दफाहरूका आधारमा फैसला भएको छ । Business Age पत्रिकाको दर्ता र ट्रेडमार्क दर्ताको प्रक्रिया र कानूनी हैसियत फरक हो । प्रत्यर्थी रेप्सोना पब्लिकेशन्स प्रा.लि.मा आफू पनि शेयरवाला भै मेरो आफ्नो सिर्जना Business Age लाई आफै सम्पादक भै प्रकाशनमा ल्याएको हुँदा रेप्सोना प्रा.लि. छाडिसकेपछि मेरो बौद्धिक सिर्जनालाई सँगसगै लिई जान पाउने कानूनी अधिकार मेरो हो । कम्पनी ऐन, २०५३ अनुसार ५१ प्रतिशत सञ्चालकको उपस्थिति नभै सञ्चालक समितिको बैठक नै गर्न नसकिने र सञ्चालक समितिको निर्णय विना कसै उपर कम्पनीको तर्फबाट मुद्दा गर्न नसकिने अवस्थामा ५० प्रतिशत अर्थात् १ जना मात्र सञ्चालक उपस्थित भई अर्को सञ्चालकको विरुद्धमा गरेको उजूरी अधिकारक्षेत्रविहीन छ । उनाउ व्यक्ति लक्ष्मी नारायण सिँह सुवाललाई प्रबन्ध सञ्चालक देखाई निजलाई समेत राखी गरेको सञ्चालक समितिको मिति २०५८।५।१० को बैठक र बैठकले दिएको अख्तियारी कानूनविपरीत छ । अतः Business Age ट्रेडमार्क आफ्नो नाममा दर्ता भएको मेरो एकलौटी हक लाग्ने बैद्धिक सम्पत्ति भएको र मैले प्रत्यर्थीहरूलाई सो सम्पत्ति प्रयोग गर्न कुनै लिखित मञ्जूरी नदिएको हुँदा मेरो पुनरावेदन जिकीर पुग्न नसक्ने भनी पुनरावेदन अदालत, पाटनबाट मिति २०६१।१०।४ मा भएको फैसला त्रुटिपूर्ण छ बदर गरी प्रत्यर्थीहरूलाई हदैसम्मको सजाय गरी पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा २५ बमोजिम निजहरूबाट विक्री भएको पत्रिका प्रति गोटा ५० का दरले हुने हर्जाना समेत भराई पाऊँ भन्ने समेतको वादीको यस अदालतसमक्ष परेको पुनरावेदन जिकीर ।
यसै लगाउको यिनै पुनरावेदक तथा प्रत्यर्थीबीचको पुनरावेदन नं. ०१०१ को मुद्दामा आज यसै इजलासबाट प्रत्यर्थी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दा उक्त मुद्दासँग अन्तरप्रभावी भएकोले यस मुद्दामा पनि मुलुकी ऐन अ.वं. २०२ नं. अनुसार प्रत्यर्थी झिकाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने समेतको यस अदालतबाट मिति २०६७।२।१६।१ मा भएको आदेश ।
नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री महेश थापाले प्रस्तुत विवादमा छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ आकर्षित हुन नसक्नेमा सोही ऐन आकर्षित गरी गरिएको पुनरावेदन अदालत, पाटनको फैसला बदरभागी हुँदा बदर गरिपाऊँ भन्ने बहस प्रस्तुत गर्नुभयो ।
पुनरावेदक तर्फबाट उपस्थित विद्वान कानून व्यवसायीको बहस समेत सुनी पुनरावेदन अदालत, पाटनबाट भएको फैसला मिले नमिलेको के रहेछ निर्णय दिनुपर्ने भै हेर्दा, मेरो नाउँमा दर्ता रहेको New Business Age नामक पत्रिकाको ट्रेडमार्कको रुपमा दर्ता भै कायम भएको तथा दर्तावालाको मात्र एकाधिकार रहने Business Age भन्ने संयुक्त शब्द र लेवलको समष्टिगत रुपको नाम राखी उजूरीकर्ताको प्रकाशन जस्तै देखिने गरी सर्वसाधारण जनता र ग्राहकलाई झुक्याउने गरी रेप्सोना पब्लिकेशन प्रा.लि.का सञ्चालक हरिकुमार राई लेखिएकोले आफू सम्पादक तथा प्रकाशन भै पत्रिका प्रकाशन गरेकोमा निज हरिकुमार राईले उक्त उल्लिखित कार्य गरी पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १६(२) को उल्लंघन गरेकोले सोही ऐनको दफा १९ बमोजिम हरिकुमार राई समेतलाई सजाय गरिपाऊँ भन्ने मदनप्रसाद लम्सालको समेतका मुख्य उजूरी भएको देखिन्छ । त्यस्तै विपक्षी बनाइएका हरिकुमार राईले यी मदनप्रसाद लम्साललाई विपक्षी बनाई निजको नममा दर्ता भएको New Business Age नामक पत्रिकाको नाममा दर्ता गराएको New Business Age नामको ट्रेडमार्क पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८(३) अनुसार बदर गरिपाऊँ भनी दिएको अर्को उजूरी समेत परी कारवाही हुँदा उद्योग विभागबाट शब्दको हकमा दुवै पक्षले आ—आफूले प्रयोग गरेअनुसार हुने गरी आ—आफ्नो पत्रिका प्रकाशन गर्न पाउने तर प्रत्येकले आफ्नो पत्रिकाको डिजाइन परिर्वतन गर्नुपर्ने आदेश दिने भन्ने समेतको निर्णय गरेकोमा सो निर्णयउपर दुवै पक्षको पुनरावेदन अदालत, पाटनमा पुनरावेदन परेको देखिन्छ । उक्त दुवै पुनरावेदनउपर कारवाही हुँदा पुनरावेदन अदालत, पाटनबाट मिति २०६०।१०।९ को आदेश बदर हुने तथा पुनरावेदक मदनप्रसाद लम्सालको ट्रेडमार्क समेत बदर गरिपाऊँ भनी रेप्सोना पब्लिकेशन्स प्रा.लि.तथा पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १९ बमोजिम सजाय गरी क्षतिपूर्ति समेत भराई पाऊँ भनी पुनरावेदक मदनप्रसाद लम्सालको तर्फबाट प्रस्तुत गरेको पुनरावेदन जिकीर पुग्न सक्दैन भनी फैसला भएको सो फैसलामा रेप्सोना पब्लिकेशन्स चित्त बुझाई बसेको तर सोही फैसलाउपर चित्त नबुझाई मदनप्रसाद लम्सालको यस अदालतसमक्ष पुनरावेदन परी निर्णयार्थ यस इजलाससमक्ष पेश हुन आएको देखियो ।
प्रस्तुत पुनरावेदन सम्बन्धी विवादको तथ्य हेर्दा पुनरावेदक मदन लम्सालको नाममा रीतपूर्वक दर्ता भएको New Business Age नामक पत्रिकामा प्रयोग हुने ट्रेडमार्क Business Age पेटेन्ट डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२ को दफा १६ र १८(१) अनुसार दर्ता भएकोमा उक्त ट्रेडमार्क बदर गरिपाऊँ भनी उजूरको कारवाही हुँदा उक्त ट्रेडमार्कको दर्ता बदर नगरेको तर दर्ता भएको ट्रेडमार्क कायम भएकै अवस्थामा यसरी दर्ता भएको ट्रेडमार्कको ढाँचा वा चिन्हमा परिर्वतन गर्नु भनी उद्योग विभागबाट मिति २०६०।१०।९ मा निर्णय भएको र उक्त निर्णय बदर गरिपाऊँ भनी विवादका दुवै पक्षको पुनरावेदन परेकोमा पुनरावेदन अदालत, पाटनबाट निर्णय गर्दा विवादका पक्षहरू मध्ये मदनप्रसाद लम्सालका नाममा दर्ता भएको ट्रेडमार्कको प्रयोगसम्बन्धी विवादमा छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०४८ को दफा ७(४) तथा ४० लाई आधार मानी विवादका दुवै पक्षले आफ्नो पत्रीकाको डिजाइन परिर्वतन गर्नु भनी उद्योग विभागको मिति २०६०।१०।९ को निर्णयबदर गरेको देखिन्छ । पुनरावेदक मदनप्रसाद लम्सालको नाममा दर्ता भएको Business Age ट्रेडमार्क विपक्षले प्रयोग गरेबापत पेटेन्ट डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२ को दफा १९ अनुसार विपक्षीलाई जरीवाना गरी हर्जना भराई दिनु भनी यी पुनरावेदकको पुनरावेदन परेको उक्त पुनरावेदन जिकीर पुग्न नसक्ने भनी पुनरावेदन अदालत, पाटनबाट भएको निर्णय र छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ को दफा ७(४) तथा ४० लाई आधार मानी ट्रेडमार्कको ढाँचा र चिन्हमा परिर्वतन गर्नु भन्ने उद्योग विभागको निर्णय बदर गर्ने गरी भएको उक्त अदालतको निर्णय समेत उपर परेको प्रस्तुत पुनरावेदन माग दावीअनुसार विपक्षीबाट हर्जना भराउन पर्ने हो वा होइन र मागअनुसार जरीवाना हुन पर्ने हो वा होइन भन्ने विषयमा समेत निर्णय गर्नुपर्ने भएको छ । यस विषयमा निर्णय गर्नुपूर्व निम्न लिखित प्रश्नहरूको निराकरण गर्नुपर्ने देखियो ।
(क) कुनै व्यक्तिको नाममा पेटेन्ट डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२ को दफा १८ अनुसार कुनै ट्रेडमार्क दर्ता भएपछि त्यस्तो ट्रेडमार्क दर्ता हुनुभन्दा पहिले देखिनै कुनै अर्को व्यक्तिले प्रयोगमा ल्याएको भन्ने आधारमा मात्र निजले दर्तावाला ट्रेडमार्क धनीको मञ्जूरी बेगर यस्तो ट्रेडमार्क प्रयोग गर्न सक्छ वा सक्दैन ।
(ख) कुनै व्यक्तिको नाममा दर्ता भएको पत्र पत्रिकामा प्रयोग हुने ट्रेडमार्क अर्को व्यक्तिले प्रयोग गर्यो भन्ने विवाद निरोपण गर्दा छापाखाना तथा प्रकाशन ऐन, २०४८ को व्यवस्था लागू हुने हो वा होइन ?
(ग) प्रस्तुत विवादमा पुनरावेदकको मागअनुसार विपक्षीलाई पेटेन्ट डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२ अनुसार जरीवाना गरी पुनरावेदकको मागअनुसार क्षतिपूर्ति भराउनु पर्ने हो वा होइन ?
२. पहिलो प्रश्नको सम्बन्धमा विचार गर्दा ट्रेडमार्कको कानूनी अर्थ र यसको प्रकृतिको बारेमा विवेचना गर्नुपर्ने हुन्छ । पेटेन्ट डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२ को दफा २(ग) मा गरिएको परिभाषाअनुसार “कुनै फर्म, कम्पनी वा व्यक्तिले उत्पादन गरेको मालसामान वा प्रदान गर्ने सेवालाई अरुको उत्पादन वा सेवाबाट फरक देखाउन प्रयोग गरिने शब्द, चिन्ह वा चित्र वा शब्द, चिन्ह र चित्र यी तिनै कुराको संयोगलाई ट्रेडमार्क” भनिन्छ । कुनै एक फर्म, कम्पनी वा व्यक्तिले उत्पादन गरेको वस्तु वा सेवा पहिचान गर्न उपभोक्ताहरूलाई सहयोग पुर्याउन र कुनै व्यक्ति वा फर्मबाट उत्पादित वस्तु वा सेवाले उपभोक्ताहरू बीच आर्जन गरेको ख्यातीको सुरक्षा गर्न वा यसरी आर्जन भएको ख्यातिको फाइदा अन्य व्यक्तिले लिनबाट रोक्न कुनै वस्तु वा सेवाको उपभोक्ताहरूको संरक्षण गर्नको लागि नै ट्रेडर्माकको प्रयोग गरिने हुँदा यस्तो ट्रेडमार्कलाई एक महत्वपूर्ण औद्योगिक सम्पत्तिको रुपमा लिइन्छ । यस्तो औद्योगिक सम्पत्तिलाई कुनै एक राष्ट्रभित्र मात्र होइन विश्वव्यापी रुपमा संरक्षण प्रदान गर्न पर्दछ भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । यो कुरा पेटेन्ट डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२ को दफा २१(ग) तथा दफा २३ मा गरिएको व्यवस्थाबाट स्पष्ट हुन्छ । विश्वव्यापी रुपमा बौद्धिक सम्पत्तिको संरक्षण गर्नको लागि विश्वका प्रमुख राष्ट्रहरूले मान्यता दिएको औद्योगिक सम्पत्ति संरक्षणको लागि पेरीस महासन्धी १८८३ Paris Convention on the Protection of Industrial property, 1883 लाई नेपाल सरकारले मिति २०५७।४।९ मा अनुमोदन गरी उक्त मान्यतालाई नेपाल कानूनले पनि स्वीकार गरेको छ ।
३. तर ट्रेडमार्क लगायतका औद्योगीक सम्पत्तिको संरक्षणसम्बन्धी नेपाल कानून र विकसित देशहरूको कानूनमा एक ठूलो भिन्नता रहेको छ । नेपालको कानूनले दर्ता भएको ट्रेडमार्कको मात्र सुरक्षा गर्दछ तर उद्योग विभागमा दर्ता नभएको ट्रेडमार्क जतिसुकै लामो अवधिसम्म प्रयोग गरेको भए तापनि केवल प्रयोगको आधारमा मात्र यसको सर्जक वा प्रयोगकर्ताले यस्तो अदर्ता ट्रेडमार्क प्रयोग गर्ने एकाधिकारको हक प्राप्त गर्न सक्दैन । यो कुरा पेटेन्ट डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२ को दफा १६ तथा १८ख मा गरिएको व्यवस्थाबाट स्पष्ट हुन्छ ।
४. दफा १६ अनुसार कसैले आफ्नो बन्द व्यापार वा कारोवारको ट्रेडमार्क दफा १८ बमोजिम विभागमा दर्ता गराई सो ट्रेडमार्क उपर यस ऐनबमोजिमको हक प्राप्त गर्न सक्नेछ भन्ने कानूनी व्यवस्था भएको देखिन्छ । त्यस्तै ऐ. को दफा १८ख मा विभागमा दर्ता नगराई कुनै ट्रेडमार्क पनि रजिष्टर्ड ट्रेडमार्कको रुपमा प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्था भएको देखिन्छ ।
५. पेटेन्ट डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२ को दफा १६(१) को व्यवस्थाअनुसार कुनै पनि व्यक्तिले आफ्नो व्यवसाय, व्यापार वा कारोवारमा प्रयोग हुने ट्रेडमार्कमा एकलौटी हक प्राप्त गर्न चाहेमा यस्तो ट्रेडमार्कलाई अनिवार्य रुपमा उक्त ऐनको दफा १८ अनुसार दर्ता गर्नुपर्ने र यसरी दर्ता नगरी कुनै ट्रेडमार्कलाई दर्ता भएको (रजिष्टर्ड) ट्रेडमार्कको रुपमा प्रयोग गर्न नपाइने प्रतिवन्ध समेत उक्त ऐनको दफा १८ख ले लगाएको देखिन्छ । दर्ता नगरी कुनैपनि ट्रेडमार्कमा एकाधिकार नरहने र कुनै व्यक्तिले दर्ता नगरेको ट्रेडमार्कलाई दर्ता गरेको भन्ने आसय झल्कने गरी प्रयोग गर्न नहुने र यस्तो प्रयोग गर्ने कार्यलाई दण्डनीय समेत गराइएको कुरा उक्त ऐनको दफा १९ मा गरिएको व्यवस्थाबाट स्पष्ट हुन्छ । यसरी दर्ता नगरी कुनै ट्रेडमार्कमा हक प्राप्त नहुने र दर्ता नभएको ट्रेडमार्कलाई दर्ता भएको ट्रेडमार्कको रुपमा प्रयोग गर्न नपाइने कानूनी व्यवस्था गर्नु पर्नाका विविध कारण हुन सक्छन तापनि यसको मुल उद्देश्य ट्रेडमार्क प्रयोग हुने सेवा वा वस्तुको गुणस्तरको वारेमा सेवाग्राही वा उपभोक्ताहरूलाई झुक्यानमा पार्ने वा पर्ने किसिमबाट यसको प्रयोग हुन बाट रोक्ने र सेवाग्राही तथा उपभोक्ताहरूको हितको रक्षा गर्नु नै यसको मुल उद्देश्य मानिन्छ ।
६. उपरोक्त कानूनी व्यवस्था हेर्दा कुनै ट्रेडमार्कको प्रयोग गरेको आधारमा मात्र यसको धनी वा प्रयोगकर्ता फर्म, कम्पनी वा व्यक्तिलाई सो ट्रेडमार्क उपर एकाधिकार प्राप्त नहुने हुँदा एउटै ट्रेडमार्क दुईवटा फर्म व्यक्ति वा कम्पनीले प्रयोग गरेमा वा प्रयोगको दावी गरेमा यी दुई मध्ये जसको नाममा ट्रेडमार्क दर्ता भएको छ सोही व्यक्तिले मात्र विवादित ट्रेडमार्कको वास्तविक धनीको रुपमा मान्यता पाउने यसको प्रयोगमा एकाधिकार प्राप्त गर्ने र केवल प्रयोगको आधारमा मात्र सो ट्रेडमार्क उपर दावी गर्नेको कानूनी हक नहुने र यसरी कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क निजको मञ्जूरीवेगर अन्य व्यक्ति, फर्म वा कम्पनीले प्रयोग गर्न पाउने हक नहुने कुरा उक्त पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १६, १८ख, १९ तथा दफा २५ मा गरिएको व्यवस्थाबाट स्पष्ट देखियो । विवादित ट्रेडमार्क Business Age पुनरावेदकको नाममा दर्ता भएको तथ्यमा विवाद नभएको अवस्थामा केवल प्रयोगको आधारमा मात्र सोउपर प्रत्यर्थी पब्लिकेशन्स प्रा.लि.को कुनै हक हुने अवस्था देखिएन ।
७. अब कुनै व्यक्तिको नाममा दर्ता भएको पत्रिकामा प्रयोग हुने ट्रेडमार्क अन्य व्यक्तिले प्रयोग गरेको भन्ने विवादमा निर्णय गर्दा छापाखाना तथा प्रकाशन ऐन, २०४८ को व्यवस्था लागू हुने हो होइन भन्ने दोस्रो प्रश्नको सम्बन्धमा विचार गर्दा उक्त ट्रेडमार्कसम्बन्धी हकको सिर्जना तथा प्रयोगका सम्बन्धमा विशेष व्यवस्था गर्ने कानूनको रुपमा आएको पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को उद्देश्य र प्रयोजन के हो भन्ने कुरा र छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ लाई हेर्नु पर्दछ । पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को उद्देश्य र प्रयोजनको बारेमा उपरोक्त प्रकरणहरूमा विवेचना गरिएको हुँदा यहाँ सोको पुनरावृत्ति गर्न परेन । छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ को समुच्चा बनावट र उद्देश्य हेर्दा यसले निम्न विषयलाई व्यवस्थित तथा सुरक्षित गर्नु नै उक्त ऐनको मूल उद्देश्य रहेको देखिन्छ ।
(क) छापाखानको दर्ता तथा छापाखाना बन्द वा जफत विरुद्धको प्रत्याभूति गर्नु (परिच्छेद् २)
(ख) कितावको प्रकाशन गर्ने कार्यलाई व्यवस्थित गर्नु (परिच्छेद् ३)
(ग) पत्र पत्रिकाको दर्ता, यसको नियमन, पत्र पत्रिकाको स्वामित्व र यसका हस्तान्तरणको प्रक्रियालाई व्यवस्थित गर्नु (परिच्छेद् ४)
(घ) प्रेस रजिष्ट्रार, प्रेस प्रतिनिधि तथा स्वतन्त्र पक्षसम्बन्धी व्यवस्था (परिच्छेद् ५)
८. उपरोक्त व्यवस्थाबाट छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ केबल छापाखानाको दर्ता पत्रपत्रिका तथा पुस्तकको प्रकाशन, दर्तालगायत पत्रिकाको स्वामित्वको हस्तान्तरण जस्ता विषयका सम्बन्धमा मात्र लागू हुने र कुनै एक फर्म, कम्पनी वा व्यक्तिले प्रकाशन गरेको पुस्तक वा पत्रिकालाई अर्को कुनै फर्म व्यक्ति वा कम्पनीले प्रकाशन गरेको पुस्तक वा पत्रिकाबाट छुट्याउन प्रयोग हुने चिन्ह, शब्द वा चित्रको रुपमा देखिने वा तीनैमा समायोजनबाट पहिचान हुने ट्रेडमार्कको दर्ता, प्रयोग तथा हक हस्तान्तरणको बारेमा उक्त छापाखाना तथा प्रकाशन ऐन, २०४८ ले कुनै व्यवस्था गरेको देखिँदैन । यसै कारणले नै उक्त ऐनको दफा ४० ले सो ऐनमा नलेखिएको विषयमा प्रचलित कानूनअनुसार हुने व्यवस्था गरेको देखिन्छ । ट्रेडमार्कको दर्ता प्रयोजन, हस्तान्तरणलगायत अन्य विविध विषयमा व्यवस्था गर्न विशेष ऐनको रुपमा पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ मा विशेष व्यवस्था गरिएको हुँदा उक्त ऐनलाई नै यस ट्रेडमार्क सम्बन्धी हकको सिर्जना, प्रयोग तथा हस्तान्तरणसम्बन्धी प्रचलित कानून मान्नु पर्ने कुरामा विवाद देखिएन यस्तो अवस्थामा छापाखाना तथा प्रकाशन ऐन, २०४८ अनुसार दर्ता भएका दुई पत्रिका प्रकाशकहरू बीच उक्त पत्रिकामा प्रयोग हुने ट्रेडमार्क प्रयोगका विषयमा विवाद परी सोको प्रयोग कसले गर्न पाउने भन्ने विषयमा उत्पन्न विवादमा पत्रिकाको दर्ता तथा स्वामित्व हस्तान्तरण जस्ता विषयका सम्बन्धमा मात्र लागू हुने कानून छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ दफा ७(२) तथा ७(४) को व्यवस्थालाई आधार मानी पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ अनुसार अधिकारप्राप्त निकाय उद्योग विभागको मिति २०६०।१०।१९ को निर्णयअनुसार प्रत्यर्थी रेप्सोना पब्लिकेशन्स प्रा.लि.ले समेत प्रकाशन गर्ने Business Age पत्रिकाको डिजायन परिर्वतन गर्न पर्ने भनी उद्योग विभागको उक्त मिति २०६०।१०।१९ को निर्णय बदर गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको मिति २०६१।१०।४ को फैसला पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १६, १८ख समेतको विपरीत भई त्रुटिपूर्ण देखिएकोले सो हदसम्म उल्टी हुने ठर्हछ ।
९. कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क निजको स्वीकृति विना अरुले प्रयोग गरेको अवस्थामा निजलाई कस्तो उपचार प्राप्त हुने भन्ने सम्बन्धी तेस्रो तथा अन्तिम प्रश्नको सम्बन्धमा विचार गर्दा पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १९ तथा २५ मा गरिएको व्यवस्था र प्रस्तुत विवादको तथ्यको आधारमा उक्त प्रश्न निरोपण गर्नुपर्ने हुन्छ । उक्त ऐनको दफा १९ मा गरिएको व्यवस्थाअनुसार दफा १६(२) अर्थात् दर्तावाल ट्रेडमार्क धनीको स्वीकृति नलिई अन्य व्यक्तिले यस्तो ट्रेडमार्क प्रयोग गरेको अवस्थामा वा दफा १८(३) अनुसार बदर भएको ट्रेडमार्क चलाएमा वा दफा १८ख अनुसार दर्ता नभएको ट्रेडमार्कलाई दर्ता भएको ट्रेडमार्क भनी चलाएमा एकहजार रुपैयासम्म जरीवाना हुने भन्ने व्यवस्था भए रहेको देखिन्छ । प्रस्तुत विवादमा बदर भएको ट्रेडमार्क प्रयोग गरेको वा दर्ता नभएको ट्रेडमार्क प्रयोग गरेको भन्ने विवाद नभई दर्तावाला ट्रेडमार्क धनीको स्वीकृति नलिई Business Age नामक ट्रेडमार्कको प्रयोग गरेकोले जरीवाना गरी दफा २५ अनुसार क्षतिपूर्ति भराई पाऊँ भन्ने दावी यी पुनरावेदकको भए रहेको देखिन्छ । Business Age नामको पत्रिका शुरुमा यी पुनरावेदक सम्पादक भए पनि यसका प्रकाशक विपक्ष प्रत्यर्थी रेप्सोना पब्लिकेशन्स प्रा.लि. नै रहेको भन्ने कुरामा विवाद देखिँदैन । यस्तो अवस्थामा उक्त पत्रिकाको ट्रेडमार्क यी पुनरावेदकले पहिले दर्ता गराएको आधारमा अर्थात् पहिलो दर्ताका आधारमा उक्त ट्रेडमार्कमा यी पुनरावेदकले दफा १६ तथा १८ को सुरक्षा र सुविधा पाउने एउटा कुरा हो । तर उक्त ट्रेडमार्कको प्रयोगको अधिकार कसमा रहने भन्ने विषयमा पक्षहरू बीच विवाद परी विवाद निरोपण गर्न अधिकारप्राप्त निकायमा विचाराधीन रहेको समयमा प्रत्यर्थी रेप्सोना पब्लिकेशन्स प्रा.लि.ले Business Age पत्रिकाको Vol. 1. No. 1 प्रकाशन गरेको भन्ने आधारमा निजलाई उक्त ऐनको दफा १९ अनुसार जरीवाना गर्नु र दफा २५ अनुसार हर्जना क्षतिपूर्ति भराउने कार्य उक्त दुवै दफामा गरिएको कानूनी व्यवस्थाको उद्देश्य र मर्मको विपरीत हुने हुँदा विपक्षीलाई जरीवाना गरी क्षतिपूर्ति भराई पाऊँ भन्ने पुनरावेदकको दावी नपुग्ने ठहर गरेको पुनरावेदन अदालत, पाटनको निर्णय मिलेकै देखिँदा सो हदसम्मको पुनरावेदन अदालतको निर्णयलाई अन्यथा गर्नु परेन ।
१०. उपरोक्त प्रकरणमा उल्लेख गरिएअनुसार पुनरावेदन अदालत, पाटनले ट्रेडमार्क सम्बन्धी विवादमा लागू नै नहुने छापाखाना तथा प्रकाशन ऐन, २०४८ को दफा ७(४) र ४० को व्यवस्थालाई आधार लिई प्रत्यर्थी रेप्सोना पब्लिकेशन्स प्रा.लि.ले समेत Business Age को डिजायन परिर्वतन गर्नुपर्ने भनी उद्योग विभागको मिति २०६०।१०।९ को निर्णय बदर गरेको पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १६ तथा १८ख समेतको विपरीत भई त्रुटिपूर्ण हुँदा पुनरावेदन अदालत, पाटनको मिति २०६१।१०।४ को फैसला सो हदसम्म उल्टी हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनू ।
उक्त रायमा सहमत छु ।
न्या.कल्याण श्रेष्ठ
इति संवत् २०६८ साल साउन १५ गते रोज १ शुभम्
इजलास अधिकृतः— विष्णुप्रसाद गौतम