निर्णय नं. ८१३४ - कर्तव्य ज्यान

निर्णय नं. ८१३४ २०६६ साउन,अङ्क ४
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
माननीय नयायाधीश श्री मोहनप्रकाश सिटौला
संवत् २०६५ सालको फौ.पु.नं. –८२८
फैसला मितिः २०६६।१।३०।४
मुद्दा :– कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादी : रामेछाप जिल्ला, डडुवा गा.बि.स. वडा नं.२ घर भई हाल कारागार शाखा नख्खुमा थुनामा रहेको सुकलाल तामाङ
विरुद्घ
प्रत्यर्थी/वादीः रामकुमार थिङको जाहेरीले नेपाल सरकार
शुरु ललितपुर जिल्ला अदालतमा फैसला गर्नेः–
मा.जि.न्या. श्री कुमारप्रसाद पोखरेल
पुनरावेदन फैसला गर्नेः
मा.मु.न्या. श्री रणबहादुर बम
मा.न्या. श्री हरिप्रसाद घिमिरे
§ पूर्व रिसइवीले मार्ने योजना नभएर सामान्य बिवादको परिणाममा तत्काल उठेको रिसबाट कर्तव्य गरी मृत्यु भएको स्थिति प्रमाणहरूबाट खुल्न आउनुका साथै प्रतिवादीले घटना दवाउने वा प्रमाण लोप गर्ने जस्तो काममा नलागी स्पष्ट र साँचो कुरा भनेर अनुसन्धानमा र न्यायिक प्रक्रियामा सहयोगसमेत पुर्याएको अवस्था भएकाले प्रतिवादीले ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को कसूर गरेको ठहरे तापनि निजको उमेर घटनाको प्रकृति र पारिवारिक अवस्थासमेत हेर्दा निजलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गर्दा चर्को पर्ने देखिएकोले अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैद सजाय हुने ।
(प्रकरण नं.५)
पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री रामकृष्ण काफ्ले र श्री बद्रीप्रसाद भुषाल
प्रत्यर्थी तर्फबाटः
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
§ मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३(३)
§ अ.बं. १८८ नं.
आदेश
न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन , २०४८ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :-
मिति २०६२/१/११ गते दिउँसो ल.पु.जि.ल.पु.उ.म.नं.पा. वडा नं. २ सानेपा स्थित चम्पा डंगोलको घरमा डेरा गरी बस्ने महिला मानिस कोठामा नै मृत अवस्थामा छन् भन्ने जानकारीअनुसार उक्त स्थानमा पुग्दा सुकलाल तामाङको श्रीमती शान्ति तामाङ मृत अवस्थामा निजको डेरा कोठामा नै फेला परेकी र निजको श्रीमान उक्त स्थानमा फेला नपरेको र मृतकको लाशउपर कानूनबमोजिम गरिपाऊँ भन्ने प्रहरी प्रतिवेदन ।
ल.पु.जि.ल.पु.उ.म.नं.पा.वडा नं.२ सानेपा स्थितपूर्वमा चम्पा डंगोलको घर,पश्चिम चम्पा डंगोलको घर,उत्तर सुरेन्द्र नेपालीको र दक्षिण चम्पा डंगोलको टहरो यति चार किल्लाभित्र चम्पा डंगोलको दक्षिण मोहोडा भएको भुइतले टहरो भएको, सो टहरोभित्र प्रवेश गर्ने खुल्ला ढोका रहेको, सो टहराको उत्तरतर्फको कुनामा बिस्तारासहितको खटियामा पूर्व टाउको पश्चिम खुट्टा भई उतानो अवस्थामा शान्ति तामाङको मृतक अवस्थामा लाश फेला परेको,मृतकको दुवै आँखा बन्द भएको,मुखबाट तरल फिज जस्तो पदार्थ निस्किएको, मृतकको घाँटीमा दाहिने कानको तलको भागदेखि देब्रे कानको तलको भागसम्म सी.अंग्रेजी आकारको डोरीको जस्तो डाम भएको,लाशले लगाएको कपडा खोली हेर्दा मृतक फुले जस्तो भएको अवस्थामा पाइएको भन्ने घटनास्थल लाश मुचुल्का ।
ल.पु.जि.सानेपा स्थित चम्पा डंगोल घरमा सुकलाल तामाङ डेरा कोठा गरी बस्दै आएको टहरा सो कोठाभित्र उत्तरतर्फको कुनामा काठको खटिया भएको,सो काठको पूर्वपट्टिको कुनामा लुगाहरू झुण्डाएको, सो खटियाको नजिकै कपडाहरूमा निलो रङको कुर्ता सुरुवालमा ओडने सलको टुक्राको लम्बाई दुई फीट सात ईञ्च भएको,सो सलको टुक्राको चौडाई दुई फीट ५ ईञ्च भएको,एकातर्फको भाग बटारिएको अवस्थामा भएको, अर्कोतर्फको भाग सिएको अवस्थामा अपराधसँग सम्बन्धित चीजवस्तु फेला पारेकोले प्रहरीले बरामद गरी लगेको भन्ने समेत व्यहोराको खान तलासी मुचुल्का ।
२०६२/१/११ गते शान्ति तामाङको मृतक अवस्थामा डेरा कोठामा लाश फेला परेको अवस्थामा अनुसन्धान हुँदा वारदातपछि भागी फरार रहेको प्रतिवादी सुकलाल तामाङलाई पक्राउ गरी सोधपुछ गर्दा आफ्नो श्रीमती शान्ती तामाङलाई पहिला शल र पछि हातले घाँटी थिची कर्तव्य गरी मारेको भनी बताएकोले, तत्काल निजलाई साथमा लिई गई निजको डेरा कोठा कानूनबमोजिम खानतलासी गर्दा निज सुकलाल तामाङले आफ्नो श्रीमतीलाई कर्तव्य गरी मार्दा प्रयोग गरेको निलो रङ्गको सल देखाएकोले बरामद गरी बरामदी मुचुल्का बरामदी सल र प्रतिवादी सुकलाल तामाङलाई आवश्यक कारवाहीको लागि दाखिला गरेको भन्ने प्र.नि.तुल्सीबहादुर राउतको प्रतिवेदन ।
मेरो बहिनी वर्ष १९ की शान्ति तामाङ र सुकलाल तामाङको बीच पाँच वर्ष अगाडि बिवाह भई एक छोरा र एक छोरीको जायजन्म भै निजहरू ल.पु.जि.ल.पु.उ.म.नं.पा.वडा नं.२ सानेपामा डेरा गरी बस्दै आएका थिए । मिति २०६२/१/११ गते मेरो बहिनी शान्ति तामाङ आफ्नो डेरा कोठामा मृत अवस्थामा भएको र घाँटीमा निलो डाम थियो । हाल बुझ्दा ज्वाई सुकलाल तामाङले मेरो बहिनीलाई २०६२/१/११ गते घाँटी कसी कर्तव्य गरी मारेको थाहा जानकारी हुन आएको हुँदा सुकलाल तामाङउपर कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको रामकुमार थिङ (तामाङ) को जाहेरी दरखास्त ।
२०६२/१/१० गते बेलुका खाना खाए पछि बत्ती बाल्ने बिषयमा वादविवाद झगडा भई राखेकोमा सुत्नका लागि म खटियामा पल्टेको र मेरा श्रीमतीले मलाई सरापको शब्द प्रयोग गर्नुका साथै गालीगलौज गरेकाले मलाई रिस उठी श्रीमतीको घाँटी पहिले हातले च्यापेको, पछि सोही खटिया नजिक भएको हाल वरामद भइआएको सलको टुक्रा घाँटीमा कसी त्यसपछि पनि घाँटीमा हातले च्यापी निज शान्ति तमाङलाई मैले कर्तव्य गरी मारेको हँु भन्ने प्रतिवादी सुकलाल तामाङको प्रहरीमा गरेको बयान ।
सुकलाल तामाङ र निजको श्रीमती शान्ति तामाङ करिव एक वर्ष अगाडिदेखि मेरो घरको टहरामा डेरा गरी बस्ने गरेको र निजहरू झै झगडा कुटपीट समेत गर्ने हुँदा कोठा छाडी जान भनेकोमा २०६२/१/११ गते सुकलाल तामाङको कोठा ढोकाको चुकुल लगाएको थियो, दिउँसो ११ बजेतिर शान्ति तामाङको दिदी आयो ढोका खोली हेर्दा शान्ति तामाङ भित्र कोठामा मृत अवस्थामा फेला परेको र बुझ्दा सुकलाल तामाङले आफ्नो श्रीमतीलाई कर्तव्य गरी मारेको र घटनापछि निज भागेको रहेछन । निज शान्ति तामाङलाई सुकलाल तामाङले कर्तव्य गरी मारेकोमा बिश्वास लाग्छ भनी तारा डंगोलले घटना विवरण कागज ।
घाँटी थिचिएको कारणबाट शान्ति तामाङको मृत्यु भएको भन्ने समेत व्यहोराको पाटन अस्पतालबाट प्राप्त हुन आएको शव परीक्षण प्रतिवेदन ।
२०६२/१/११ गते दिउँसो ११ बजे ज्वाई सुकलाल तामाङ बच्चाहरू लिई मेरो होटलमा आएकोले बहिनी कहाँ गइन् भनी सोध्दा बत्ती बाल्न गएको भनी होटलमा पल्टेकोले शंका लागी मेरो नन्द गंगालाई हेर्न पठाउँदा गंगा मेरो बहिनीको कोठामा गई हेरी आएपछि मलाई सुनाउँदा शान्ति तामाङ खटियामा सुतेको र बोलाउँदा नबोलेको भन्दा ज्वाई सुकलाल तामाङ बच्चाहरू त्यहीँ छाडी भागेपछि म तत्काल गई हेर्दा मेरो बहिनी शान्ति तामाङलाई मृत अवस्थामा फेला परेको हुँदा मेरो बहिनी शान्ति तामाङलाई ज्वाई सुकलाल तामाङले नै घाँटी थिची मारेकोमा बिश्वास लाग्छ भनी पूर्णिमा तामाङले गरेको कागज ।
म काममा जान लाग्दा सुकलाल तामाङले बच्चा बोकी हिडेको देखी बच्चाको आमा कहाँ गइन भनी सोध्दा स्वयम्भूमा बत्ती बाल्न गएको भनी बताएको र दिउँसो १२ बजेतिर तारा डंगोल मैले काम गर्ने ठाउँमा गै सुकलाल तामाङले आफ्नो श्रीमतीलाई कर्तव्य गरी मारेको भनी बताएकोले बुझ्दा निज सुकलाल तामाङले नै कर्तव्य गरी मारेकोमा बिश्वास लान्छ भन्ने समेत व्यहोराको टीका लामाले गरिदिएको कागज ।
बहिनी शान्ति तामाङले के गरिराखेको छ, हेरेर आउनु भनी शान्ति तामाङको कोठामा जाँदा चुकुल लगाएको,खोली हेर्दा खटियामा सिरकले मुख छोपी सुतेको अवस्थामा रहेकीले सोल्टीनी भनी बोलाउँदा नबोलेको कारण सिरक हटाई हेर्दा मुखमा तरल पदार्थ निस्किएको र नबोलेकोले मैले तत्काल गई भाउजूलाई सोही कुरा बताएको हुँ । निज शान्ती तामाङलाई निजको श्रीमान सुकलाल तामाङले घाँटी थिची कर्तव्य गरी मारेको हुन भनी गंगा तामाङले गरिदिएको कागज ।
सुकलाल तामाङ मेरो छोरा हो । २०६२/१/११ गते बिहान आफ्नो छोरा छोरीलाई लिई नास्ता खुवाई गएको थियो । बुहारी खोई भन्दा स्वयम्भू बत्ती बाल्नको लागि गएको भनेकोमा निजले बुहारीलाई मारी भागेका रहेछन् । शान्ति तामाङ मृत अवस्थामा कोठामा भएको कुरा थाहा पाएपछि गई हेर्दा मृत अवस्थामा भएको निजको घाँटीमा समेत च्यापेको जस्तो देखिएकोले निज छोरा सुकलाल तामाङले बुहारीलाई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भनी संजयमाया तामाङले गरेको घटना बिवरण कागज ।
मेरो डेरा नजिक चम्पा डंगोलको घरमा डेरा गरी बस्दै आएको सुकलाल तामाङको कोठा अगाडि पूर्णिमा तामाङ रोई कराई रहेको र चम्पा डंगोलको छोरी तारा डंगोलले मलाई दाई दाई भनी बोलाएकोले म तत्काल सुकलाल तामाङ कहाँ गई हेर्दा शान्ति तामाङ खटियामा मृत अवस्थामा देखेपछि अस्पताल लैजान पर्यो भनी अरुले भनेकोमा शान्ति तामाङको मृत्यु भइसकेको रहेछ । प्रहरीलाई खबर गर्नुपर्छ भनी मैले नजिकको प्रहरीमा खबर गरेको हुँ । सुकलाल तामाङलाई खोजतलास गर्दा भागी फरार रहेको र मृतक शान्ति तामाङको लाश जाँच हुँदा घाँटीमा च्यापेको जस्तो नीलडाम भएकोले शान्ति तामाङलाई सुकलाल तामाङले कर्तव्य गरी मारेकोमा बिश्वास लाग्छ भन्ने समेत व्यहोराको झमकबहादुर महतले खुलाई गरिदिएको घटना बिवरण कागज ।
२०६२/१/१० गते म आफ्नो डेरा कोठामा नै थिएँ । ऐ.११ गते बेलुका मेरो दाई रामकुमार थिङ मेरो कोठामा गई सुकलाल तामाङले बहिनी शान्ति तामाङलाई घाँटी थिची कर्तव्य गरी मारेको रहेछ भनेपछि मात्र घटना बारेमा थाहा पाएको हुँ शान्ति तामाङ मेरो दिदी हो शान्ति तामाङलाई भिनाजु सुकलाल तामाङले गाली गर्ने र दिदीलाई घाँटी थिची कर्तव्य गरी मारेकोमा बिश्वास लाग्छ भन्ने समेत व्यहोराको अजय लामाले गरिदिएको घटना बिवरण कागज ।
शान्ति तामाङ मेरो छोरी हो,सुकलाल तामाङ ज्वाई हुन् । छोरी ललितपुर सानेपामा डेरा गरी बस्दै आएकोमा २०६२/१/११ गते छोरीलाई स्वयम्भूमा बत्ती बाल्न आउनु भने पछि म स्वयम्भूमा गई दिउसो ४ बजेसम्म बसे छोरी नआएपछि म फर्की छोरीको कोठामा गएँ । उक्त दिन राति आफ्नै डेरा कोठामा ज्वाई सुकलाल तामाङले घाँटी थिची कर्तव्य गरी मारेको कुरा छोरा रामकुमार थिङ मार्फत थाहा पाएको हुँ । ज्वाई सुकलाल तामाङले छोरी शान्ति तामाङलाई कर्तव्य गरी मारेकोमा बिश्वास लाग्छ भनी मीठुदेवी लामाले गरेको घटना बिवरण कागज ।
अनुसन्धानको क्रममा संकलित सबुत अध्ययन गरी मिति २०६२/१/११ गते सानेपा स्थित चम्पा डंगोलको घरमा डेरा गरी बस्ने शान्ति तामाङ मृत अवस्थामा फेला परेको र निजको श्रीमान उक्त स्थानमा फेला नपरेकोले मृतकको श्रीमान सुकलाल तामाङले सलले घाँटी कसी कर्तव्य गरी मारेको उल्लिखित आधार प्रमाणबाट पुष्टि हुन आएकोले यी प्रतिवादी सुकलाल तामाङलाई मुलुकी ऐन , ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(३) नं. को कसूरमा सोही १३(३) नं. अनुसार सजाय हुन माग दावी लिई दायर भएको अभियोग पत्र ।
मलाई शान्ति तामाङले नाना किसिमका गाली गरी झगडा गर्ने र मलाई हात हालिन । मैले निजलाई तर्साउन सलले बेरेको थिएँ । भुईमा लडिन । मैले पानी खुवाई पेटमा थिचेको थिएँ । म बिहान उठ्दा उसको साँस गैसकेको रहेछ । त्यसपछि म बल्खु चोकमा गै स्वास्नी मारेर आएको भनेपछि मलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएको हो भनी सुकलाल तामाङले अदालतमा गरेको बयान ।
प्रतिवादी सुकलाल तामाङ मेरो ज्वाई हुन् । शान्ति तामाङ छोरी हुन् । निजलाई ज्वाई सुकलाल तामाङले मिति २०६२/१/११ गते कर्तव्य गरी मारेको हुँदा शान्ति तामाङको हत्या गरी मार्नेमा अरु कोही छैनन् । यी सुकलाल तामाङमात्र हुन । निजलाई हदैसम्म सजाय हुनुपर्छ भनी मीठुदेवी लामाले गरेको बकपत्र ।
प्रतिवादीले अभियोग पत्र माग दावीबमोजिम मुलुकी ऐन,ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिमको कसूर अपराध गरेको देखिँदा निजलाई सोही नं. बमोजिम सर्वश्वसहित जन्मकैद सजाय हुने ठहर्छ । तर, मिसिलबाट निज प्रतिवादीले आफ्नै स्वास्नीलाई मार्नुपर्ने सम्मको कुनै पूर्व रिसइवी योजना आदि केही रहे भएको देखिदैन । स्वयम्भूमा बत्ती बाल्न जाने कुरामा राति १.४५ बजेसम्म दुवै लोग्ने स्वास्नीबीच बादबिवाद झगडा हुँदा रिस थाम्न नसकी यी प्रतिवादीले आफ्नी स्वास्नीलाई घाँटी थिची मारेको भनी आफ्नो भएको साँचो व्यहोरा अदालतमा र मौकामा अधिकारप्राप्त अधिकारीसमक्ष समेत अभिव्यक्त गरेर अदालती प्रक्रियामा समेत सघाएको हुँदा यी प्रतिवादीलाई दावीअनुसारको सजाय गर्दा चर्को पर्न जाने चित्तमा लागेकोले निज प्रतिवादीलाई १० वर्ष कैदको सजाय तोक्दा व्यावहारिक हुने र ऐनको मनसाय पनि पूरा हुने हुँदा मुलुकी ऐन,अ.बं.१८८ नं. बमोजिम पुनरावेदन अदालत, पाटनसमक्ष साधक जाहेरी गरिएको भन्ने समेत व्यहोराको शुरु ललितपुर जिल्ला अदालतबाट मिति २०६३/४/२९ मा भएको फैसला ।
मेरो मृतकलाई मार्ने उद्देश्य नभएको, यस मुद्दामा म फरार हुन र मृतकको मृत्युको कारणसँग सम्बद्घता फैसलामा उल्लेख छैन । बुझ्नु पर्ने प्रमाणलाई नबुझी जाच्नु पर्ने प्रमाणको यथोचित परीक्षण नगराई घटनावलीको परिवेश र अभियुक्तको अवस्थाको समग्र विश्लेषण र बिवेचना नगरी ,न्यायिक मनको प्रयोग नगरी प्रत्यक्षदर्शीको अभावमा १० वर्ष कैद हुने रायसहितको शुरुको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी सफाइ दिलाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत , पाटनमा परेको पुनरावेदन पत्र ।
मिसिल सामेल रहेको सवूद प्रमाणहरूको बिवेचना र मूल्याङ्कन गरी प्रतिवादी सुकलाल तामाङलाई ज्यानसम्बन्धी महलको १३(३)नं. बमोजिम सर्वश्वसहित जन्मकैद सजाय हुने ठहर्याई कैद वर्ष १० हुन मनासिव देखी अ. बं. १८८ नं. बमोजिम राय व्यक्त गरेको समेत शुरु ललितपुर जिल्ला अदालतको मिति २०६३/४/२९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०६४।८।६ को फैसला ।
मृतक मेरी श्रीमती हुन् । मैले निजलाई मार्ने मनसाय थिएन । मसँग झगडा गर्न थालेकी कारण तर्साउनलाई मात्र मैले घाँटीमा सल बेरेको हुँ । अपराध शंकारहित तवरले पुष्टि गर्न वादी पक्षले सकेको छैन । मलाई सजाय ठहर गर्दा मनसाय, आर्थिक, सामाजिक, मानसिक अवस्था, अपराधबाट पीडित र आस्रितप्रति अभियुक्तको दायित्व हेरिनु पर्नेमा सो नहेरी भएको पुनरावेदन अदालत, पाटनको फैसला उल्टी गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन ।
नियमबमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी निर्णयार्थ आज यस इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दाको पुनरावेदन पत्रसहितको मिसिल अध्ययन गरियो । पुनरावेदक प्रतिवादीतर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू श्री रामकृष्ण काफ्ले र श्री बद्रीप्रसाद भुषालले अभियोजन पक्षले लिएको दावी प्रमाण र कानूनद्वारा पुष्टि हुन सक्ने खालको छैन । घटना परिस्थितिले यस वारदातलाई भवितव्य देखाएको छ । पुनरावेदक प्रतिवादीको मृतकसँग पूर्व रिसइवी पनि छैन र मार्नेसम्मको मनसाय पनि विद्यमान छैन । तसर्थ पुनरावेदन अदालत, पाटनबाट भएको फैसला उल्टी हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो ।
उपर्युक्त विद्वान कानून व्यवसायीहरूको बहस सुनी इन्साफतर्फ विचार गर्दा पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ छैन ? प्रतिवादीको पुनरावेदन जिकीर पुग्ने हो होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा मिति २०६२/१/१० गते राति स्वयम्भूमा बत्ती बाल्ने कुरामा बिवाद हुँदा प्रतिवादी सुकलाल तामाङले आफ्नी श्रीमती शान्ति तामाङलाई घाँटीमा सलले कसी कर्तव्य गरी मारेको देखिँदा निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग दावी भएको प्रस्तुत मुद्दामा शुरु ललितपुर जिल्ला अदालतले फैसला गर्दा प्रतिवादी सुकलाल तामाङलाई अभियोग दावी अनुसार सर्वश्वसहित जन्मकैद सजाय हुने गरी घटनाको परिस्थिति विचार गरी अ.बं.१८८ नं. अनुसार १० बर्ष कैद हुनुपर्ने राय व्यक्त गरेको शुरु फैसलामा चित्त नबुझी प्रतिवादी पुनरावेदन अदालत पाटनमा पुनरावेदन जिकीर लिई जाँदा सो अदालतले पनि शुरु इन्साफ सदर हुन ठहर्याए उपर प्रतिवादिको यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेश भएको देखिन्छ ।
३. प्रतिवादी सुकलाल तामाङ र शान्ति तामाङ लोग्ने स्वास्नी भएकोमा विवाद छैन । मृतक शान्ति तामाङको बुवा परलोक भएको दोस्रो वर्ष पुगेको तिथिमा स्वयम्भूमा बत्ती बाल्न जाने कुरामा यी पुनरावेदक प्रतिवादी र मृतक श्रीमती शान्ति तामाङबीच झगडा हुँदा रिसले यी पुनरावेदकले आप्ःनै श्रीमती मृतक शान्ति तामाङको घाँटीमा सलले कसेको भन्ने देखिन आयो । यी पुनरावेदक प्रतिवादी सुकलाल तामाङले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानमा मिति २०६२/१/१० गतेको बेलुका खाना खाएपछि मृतकको श्रीमती शान्ति तामाङसँग बत्ती बाल्ने बिषयमा बिवाद भई मेरो श्रीमतीले मलाई गालीगलौज गरेकाले रिस उठी श्रीमतीको घाँटीमा पहिले हातले च्यापेको र तत्पश्चात् सुत्ने खटिया नजिक रहेको सलको टुक्राले श्रीमतीको घाँटी कसी खटियामा पल्टाई श्रीमतीको खुट्टामा बसेको र सो पश्चात् समेत घाँटीमा हातले च्याप्दा श्रीमती बोल्न छटपटाउन छाडेकोले श्रीमती मरेको भनी थाहा पाएको हुँ भनी वारदातको स्पष्ट चित्रण खुलाई मृतकको मृत्यु आफ्नो कर्तव्यबाट भएको हो भनी साबिती बयान दिएको पाइन्छ ।
४. पुनरावेदक प्रतिवादीको अदालतमा भएको बयान हेर्दा घटनाको दिन हामी श्रीमान् श्रीमतीको एकआपसमा झगडा पर्यो । उनले मलाई हात हालिन । उनीलाई तर्साउन सल बेरेको थिएँ । उनी भुईँमा लडिन । मैले पानी खुवाएर पेट थिची हेरेँ । त्यसबेला सास गएको थिएन । म सुते र बिहान उठी हेर्दा उनको सास गैसकेको रहेछ भनी गरेको साबिती वयानबाट समेत मृतक शान्ति तामाङको मृत्यु यी पुनरावेदक प्रतिवादीकै कर्तव्यबाट भएको देखिन्छ ।
५. पुनरावेदक प्रतिवादीको उपरोक्त सावितीलाई वस्तुस्थिति मुचुल्का,मौकामा कागज गर्नेहरूको अदालतसमक्षको बकपत्र लास प्रकृति मुचुल्का र पोष्टमार्टम रिपोर्टसमेत बाट पुष्टि हुन आएको देखिन आयो । मृतकको पोष्टमार्टम रिपोर्ट “The cause of death could be due to Legature Strangulation” भनी चिकित्सकको रायले दिएको देखिन्छ । जाहेरवालाको किटानी जाहेरी दरखास्त र प्रहरीमा कागज गर्ने मीठुदेवी लामाको अदालतमा भएको बकपत्रले समेत घटनाको पुष्टि भएको पाइन्छ । पुनरावेदकको कर्तव्यबाट शान्ति तामाङ मरेकी होइन अर्कैको कर्तव्यबाट वा आत्महत्या गरी निजको मृत्यु भएको भन्ने पुनरावेदन जिकीर पनि छैन । यस्तो अवस्थामा पुनरावेदक प्रतिवादीको कर्तव्यबाटै शान्ति तामाङको मृत्यु भएकोले पुनरावेदन जिकीरअनुसार आरोपित कसूर अपराधबाट सफाइ पाउन सक्ने अवस्था देखिन आएन । पुनरावेदक प्रतिवादी सुकलाल तामाङलाई अभियोग दावीअनुसार नै मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३)नं. बमोजिम सर्वश्वसहित जन्मकैद सजाय हुने ठहर्छ ।
६. तर घटनाको अवस्था र परिस्थिति नियाल्दा मृतक प्रतिवादिकी श्रीमती नाताकी रहेकी,बाबुको वार्षिकीमा स्वयम्भूमा बत्ती बाल्ने जस्तो सामान्य विषयमा बिवाद भएको मात्र देखिन्छ । पूर्व रिसइवी केही देखिएको छैन । पहिलादेखि झैझगडा भइरहने वा प्रतिवादीले आफ्नी श्रीमतीलाई सधैँ प्रताडीत गरी रहने वा दुःख दिई रहने वा कुनै आर्थिक वा पारिवारिक कारणले पहिलादेखि मार्ने उद्देश्य लिएको वा प्रयास गरेको अवस्थासमेत देखिएको छैन । श्रीमतीले गालीगलौज गरेको कारणबाट श्रीमतीबाट आफू अपमानित भएको अनुभव गरेर त्यसबाट उठेको तत्कालको रिस थाम्न नसकी प्रतिवादीले सलले मृतकको घाँटी थिचेर मारेको देखिन्छ । यसरी पूर्व रिसइवीले मार्ने योजना नभएर सामान्य बिवादको परिणाममा तत्काल उठेको रिसबाट कर्तव्य गरी प्रतिवादीकी श्रीमती शान्ति तामाङको मृत्यु भएको स्थिति मिसिल संलग्न प्रमाणहरूबाट खुल्न आउनुका साथै प्रतिवादीले घटना दवाउने वा प्रमाण लोप गर्ने जस्तो काममा नलागी स्पष्ट र साँचो कुरा भनेर अनुसन्धानमा र न्यायिक प्रक्रियामा सहयोग समेत पुर्याएको अवस्था छ । त्यसो हुनाले यी प्रतिवादीले ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को कसूर गरेको ठहरेतापनि निजको उमेर घटनाको प्रकृति र पारिवारिक अवस्थासमेत हेर्दा निजलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गर्दा चर्को पर्ने देखिएकोले पुनरावेदक प्रतिवादीलाई अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैद सजाय गर्न राय व्यक्त गरेको पुनरावेदन अदालत पाटनको राय मनासिब देखिँदा सदर हुने ठहर्छ ।
उपरोक्त आधार र कारणबाट पुनरावेदक प्रतिवादी सुकलाल तामाङलाई ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराई अ.बं.१८८ नं. अनुसार कैद वर्ष १० सजाय हुन राय व्यक्त गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६४/८/६ गतेको फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । सफाइ पाउनु पर्छ वा भवितव्य ठहर हुनुपर्छ भन्ने प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी नियमानुसार गर्नू ।
उक्त रायमा म सहमत छु ।
न्या.मोहनप्रकाश सिटौला
इति संवत् २०६६ साल बैशाख ३० गते रोज ४ शुभम्….
इजलास अधिकृत –परशुराम भट्टराई