निर्णय नं. ८१३५ - कर्तव्य ज्यान

निर्णय नं. ८१३५ २०६६ साउन,अङ्क ४
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल
संवत् २०६५ सालको फौ.पु.नं.०७०८
फैसला मितिः २०६५।१२।१२।४
मुद्दा :– कर्तव्य ज्यान ।
पुनरावेदकः बालसुधार गृह, सानो ठिमीमा थुनामा रहेकी ख कुमारी
बिरुद्ध
प्रत्यर्थीः क बहादुरको जाहेरीले नेपाल सरकार
शुरु फैसला गर्नेः
मा.जि.न्या. श्री कुमारप्रसाद पोखरेल
पुनराबेदन फैसला गर्नेः
मा.न्या. श्री कृष्णप्रसाद बस्याल
मा.न्या.श्री बुद्धिप्रसाद रेग्मी
§ कानूनबमोजिम बाहेक कसैले कुनै मानिसको ज्यान मार्न, मार्न लगाउन वा मार्नको लागि उद्योग गर्न नहुने भन्ने व्यवस्था भएबाट आपसी सहमतिमा विष सेवन गरी मुत्यु हुन गएमा आपराधिक दायित्वबाट कसैलाई उन्मुक्ति दिन कानूनतः नमिल्ने ।
(प्रकरण नं.४)
§ मर्नुअघि होस छँदै मृतकले आफ्नो मृत्युको कारणका सम्बन्धमा व्यक्त गरेको कुरा र कुनै घटनाका सम्बन्धमा सो घटनाबाट पीडित मानिसले मौकामा व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा १० र ११ अनुसार प्रमाणमा लिन मिल्ने ।
(प्रकरण नं.५)
§ उमेर नपुगेका बालबालिकाको पूर्णरूपमा शारीरिक एवं मानसिक विकास भइसकेको नहुने र उनीहरूमा वयष्क मानिस सरह आपराधिक मस्तिष्क (Mens Rea) को विकास समेत नहुने हुँदा उनीहरूलाई वयष्क मानिस सरह सजाय नगरी उनीहरूको शारीरिक र मानसिक अपरिपक्वता उपर विचार गरी उनीहरूको सर्वोत्तम हित (Best Interest) का लागि आवश्यकताअनुसार उन्मुक्ति, छूट वा सुविधा प्रदान गरी तुलनात्मक रूपमा कम सजाय गरिनुपर्ने ।
(प्रकरण नं.७)
पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री हरिकृष्ण कार्की र श्री विनोद श्रेष्ठ
प्रत्यर्थी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री युवराज सुवेदी
अवलम्वित नजीरः
सम्वद्ध कानूनः
§ ज्यानसम्बन्धी महलको १, १३(२)
§ बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११(३)
§ अ.बं. १८८
§ प्रमाण ऐन, २०३१ को दफा १० र ११
फैसला
न्या.कृष्णप्रसाद उपाध्यायः विशेष प्रकृतिका मुद्दाहरूको कारवाहीमा पक्षको गोपनीयता कायम राख्नेसम्बन्धी कार्यविधि निर्देशिका, २०६४ बमोजिम प्रस्तुत मुद्दाका मृतक, जाहेरवाला, प्रतिवादी र प्रतिवादीकी आमासमेतको वास्तविक नाम परिवर्तन गरिएको छ ।
पुनरावेदन अदालत पाटनको मिति २०६४।८।२० को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
मेरो छोरा वर्ष १६ को अ कुमार ज्ञानेन्द्रप्रसादको घरमा डेरा गरी कन्चन मा.वि. (बोर्डिङ्ग स्कूल) मा कक्षा १० मा अध्ययन गरी बसेका थिए । मिति २०६२।६।६ गते बेलुकी मेरो छोरा डेरामा छट्पटाई रहेको मलाई विष पर्यो कागती ल्याऊ भनी कराएको गोडाको तल्लो भागमा काटे बिष जान्छ भनी चिरेछ सो कुरा घर धनी समेतले स्कूलका पाले र सरहरूलाई खवर गरेपछि स्कूलका सरहरूले छोरालाई उपचारको लागि पाटन अस्पतालमा ल्याएको र मलाई गाउँमा खबर गरेकोमा म पाटन अस्पतालमा जाँदा छोराको मृत्यु भइसकेको रहेछ । मेरो छोराले विष आफैं खाएको हो वा खुवाइएको हो सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी कारवाही गरिपाऊँ भन्ने समेतको क बहादुरको जाहेरी दरखास्त ।
पूर्वमा कन्चन मा.वि., पश्चिममा बज्रबाराही रेञ्च पोष्ट, उत्तरमा ज्ञानेन्द्रप्रसाद घिमिरेको गोठ, दक्षिणमा सार्वजनिक चौर यति चार किल्लाभित्र रहेको ज्ञानेन्द्रप्रसाद घिमिरेको घरमा पहिलो तलामा अ कुमारको कोठा रहेको सो कोठाभित्र टी टेवुलमाथि स्टीलको गिलास भरी रहेको फिक्का चिया जस्तो देखिने तरल पदार्थ रहेको कोठाको पलङ नजिक स्टीलको गिलासमा चिया खाई सकेको चिया पत्तिको छोक्रा फेला परेको टेवुलमा रहेको एउटा कापीको पानामा रातो मसीको अक्षरले “मलाई ख कुमारीले चियामा विष मिसाएर खुवाएर घर गएको” भन्ने लेखिएको कापी फेला परेकाले सोसमेत प्रहरीले उठाई बरामद गरी लगेको भन्ने व्यहोराको खानतलासी बरामदी मुचुल्का ।
मृतक अ कुमारको कपाल कालो भएको हल्का कपाल तान्दा नआउने आँखा दुबै अर्ध खुल्ला रहेको, मुख खुल्ला रहेको, मृतकको शरीरमा घाउ चोटपटक नीलडाम नभएको दुबै खुट्टाको पैतालाको भागमा रगत लागेको, दाहिने खुट्टाको कान्छी औंलामा थोरै काटिएको घाउ भएको मृतकको हात खुट्टाका नङहरू निलो पहेलो देखिएको पाइएको भन्ने समेतको लाश जाँच मुचुल्का ।
मेरो छोरा वर्ष १६ को अ कुमार ज्ञानेन्द्रप्रसाद घिमिरेको घरमा डेरा गरी कन्चन मा.बि.बोर्डिङ्ग स्कूलमा कक्षा १० मा अध्ययन गरी बसेका थिए । मिति २०६२।६।६ गते दिउँसो स्कूलमा कक्षा १० मा पढ्ने ख कुमारीले मेरो छोरा र कक्षा १० मा नै पढ्ने सुभाष घिमिरेलाई पनि मार्छु म पनि मर्छु भनी धम्काई सोही ६ गते बेलुका मेरो छोरा अ कुमार डेरामा कपडा धोई कोठामा आई कोठा खोली निजसँग नबोली कोठामा गएकोमा निज ख कुमारी पनि छोरासँगै कोठामा गएकी, त्यसको ५,७ मिनेटपछि मेरो छोराले कागती छ भनी आफूसँग पढ्ने रामचन्द्र घिमिरेसँग मागेकोमा कागती नपाएपछि दुई ओटा चिया खाने गिलास लिई कोठामा गएको त्यसको ४, ५ मिनेटपछि कागती माग्न आउँदा ख कुमारी कोठामा नभएको, त्यसको ४, ५ मिनेटपछि छोराले मलाई विष पर्यो भनी कागती मागेको र निजलाई तत्काल त्यहाँ भएका मानिसहरू समेत भई उपचारको लागि पाटन अस्पतालमा ल्याएको थाहा भएको हुँदा मेरो छोरालाई विष मिसाई खुवाई कर्तव्य गरी मार्ने निज ख कुमारीउपर कानूनी कारवाही गरिपाऊँ भन्ने समेत बहादुरको जाहेरी दरखास्त ।
अनुसन्धानकै सिलसिलामा मृतक अ कुमार बस्ने गर्दैआएको डेरा कोठामा फेला परेको फिक्का चिया जस्तो देखिने तरल पदार्थ गिलासको पीँधमा रहेको चियापत्ति जस्तो देखिने वस्तुसहितका तरल पदार्थ स्टील गिलाससमेत परीक्षण गर्दा किटनाशक (अग्र्यानोफोस्फोरस, अग्र्यानोक्लोरिन, पाइरेथोइड तथा कार्वामेट), फ्युमिगेन्ट र मुसा मार्ने विषादी पाउन सकिएन भन्ने व्यहोराको केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशाला काठमाडौंबाट प्राप्त हुनआएको परीक्षण प्रतिवेदन ।
मिति २०६२।६।६ गतेका दिन हामी स्कूलमा रहेको अवस्थामा हामीसँग अध्ययरत् ख कुमारीले मलाई बोलाएकीले निज भएको ठाउँमा जाँदा निजले साथी अ कुमारलाई बोलाउ भनेकीले मैले बोलाई निज भएको ठाउँमा लगें । तिमीले के मेरो बेइज्जत गर्न खोजेको मेरो अटो डायरी कसलाई देखाएको थियौ भनी धम्काएकी थिइन् । अ कुमारले मैले डायरी कसैलाई पनि पढ्न दिएको छैन भनेकोले त्यसो भए मेरो फोटो ल्याउ भनेपछि अ कुमारले फोटो सम्झनाको लागि पनि हुन्छ म दिन्न भने । त्यसपछि तिमी दुबैलाई पनि मार्छु र म पनि मर्छु भनी धम्काई पठाएकी थिइन् । सोही दिन बेलुकी अ कुमारको विष सेवनबाट मृत्यु भएकोले निज ख कुमारीले नै चियामा विष मिसाई खुवाई कर्तव्य गरी मारेकोमा विश्वास लाग्दछ भन्ने व्यहोराको अनुसन्धानको क्रममा बुझिएका सुभाष घिमिरेले गरेको घटना विवरण कागज ।
मिति २०६२।६।६ गते बेलुकी अं.१८:२० बजेको समयमा म दूध दोएर वाल्टीनमा राखी घरतर्फ गइरहेको अवस्थामा ख कुमारीले अ कुमार खोइ दाई भनी सोधेकीले मैले कपडा धुन गएको छ भनी बताएँ । निजले चावी तपाईसँग छ भनी सोधेकोमा मैले छैन भनें । सोही ठाउँमा बसिरहेकी थिइन् । रामचन्द्र र अ कुमार कपडा धोएर कोठामा आएपछि रामचन्द्र कपडा सुकाउन गए र अ कुमारले चावी खोली कोठाभित्र ख कुमारी र अ कुमारसँग सँगैको डेरामा गएको भित्रबाट चुक्कुल समेत लगाएका थिए । केही समयपछि रामचन्द्रका कोठामा अ कुमार कागती माग्न आएका थिए । म त्यसबेला रामचन्द्रको कोठामा बसिरहेको थिएँ । त्यसको केही समयपछि पनि दुईओटा गिलास माग्न आए र लिएर गए । त्यसपछि म आफ्नो कोठामा गई टी.भी.मा समाचार हेरी वसिरहेको थिएँ । त्यसको केही समयपछि रामचन्द्र चिच्याउँदै अ कुमारलाई के भयो ठूला बा भनेपछि म तत्काल अ कुमारको कोठामा आएँ । पुष्पा थिङ्गले अ कुमारलाई कागती खुवाउँदै रहिछन् । के भो भनी सोद्धा चियामा विष राखी दिई ख कुमारी गइछन् भनेपछि मसमेत भई गाडी खोजी गरी तत्काल उपचारको लागि पाटन अस्पताल ल्याउँदा निजको मृत्यु भएको हो । अ कुमारलाई ख कुमारीले चियामा विष राखी खान दिई कर्तव्य गरी मारेको हो भन्ने व्यहोराको अनुसन्धानको क्रममा बुझिएका ज्ञानेन्द्रप्रसाद घिमिरेले गरेको घटना विवरण कागज ।
मिति २०६२।६।६ गते स्कूलबाट आएपछि अ कुमारले र म भई कपडा धुन गएकोमा कपडा धुने क्रममा मलाई साथी अ कुमारले म आज धेरै खुसी छु किनभने मेरो जग्गा पनि पास भयो, ख कुमारीसँग बिछोड भयो । त्यसैले आज मेरो कोठामा बसी खाना खाने भनी भनेको र कपडा धोइ सकेपछि हामी कोठामा आउँदा ख कुमारी आइरहेकी रहिछन् । म कपडा सुकाउन गएँ । अ कुमारले कोठा खोलेपछि अ कुमार र ख कुमारी कोठाभित्र पसी ढोका लगाएका थिए । कपडा सुकाई कोठामा आई घरबेटी ठूला बासँग कुराकानी गरिरहेको अवस्थामा अ कुमार कागती माग्न आएकोले मैले छैन भनी पठाई दिएँ । त्यसपछि फेरि गिलास माग्न आएकोले दुईवटा गिलास दिएर पठाएँ । फेरि पनि चियामा राखी खानको लागि भनी कागती माग्न आए । कोठामा आफैले खोजे फेला नपरेपछि फर्की गए । त्यसको ३, ४ मिनेटपछि ख कुमारी अ कुमारको कोठाबाट निस्किएर गएपछि अ कुमारले ढोकामा आई तिमी पसल जाने भए कागती ल्याई दिनु भनेकोले म विस्तारै पसलतर्फ गएकोमा पुष्पा थिङ्ग हतारले पसलमा पुगी कागती किनी मलाई छिटो आऊ भनिफर्किइन् । म विस्तारै कोठामा आउँदा टि टेवुलमाथि रहेको कापी हेर्न लाग्दा अ कुमारले मलाई विष पर्यो छिटो अस्पताल लैजाउ भनेकोले तत्काल मसमेत भई उपचारको लागि अस्पताल ल्याउँदा निजको मृत्यु भएको हो । निजलाई ख कुमारीले नै चियामा बिष मिसाई खान दिइ कर्तव्य गरी मारेको हो भन्ने व्यहोराको अनुसन्धानको क्रममा बुझिएका रामचन्द्र घिमिरेले गरेको घटना विवरण कागज ।
मिति २०६२।६।६ गते म कोठाबाट बाहिर निस्की बसिरहेको अवस्थामा अ कुमारको कोठाबाट ख कुमारी निस्की गएकी थिइन् । त्यसको केही समयपछि अ कुमार कोठाबाट निस्किएर मलाई बिष पर्यो मलाई कागती ल्याइदिनु भनेकोले म तत्काल पसलमा गई कागती किनी रामचन्द्रलाई पनि बोलाई अ कुमारको कोठामा आउँदा निज सुतिरहेका रहेछन् । त्यहाँ पुग्नासाथ टेवुलमाथि मलाई ख कुमारीले चियामा बिष मिलाई खुवाएको भनी लेखी सहीसमेत गरी छट्पटाई रहेको अवस्थामा मैले किनी लगेको कागती समेत काट्न नपाउँदै हातबाट नै लिई सिङ्गै मुखमा हाली चपाएर रस निलेका थिए । त्यसपछि निजलाई उपचारको लागि अस्पताल ल्याएकोमा निजको मृत्यु भएको हो । निजलाई ख कुमारीले चियामा बिष मिलाई खान दिई कर्तव्य गरी मारेको हो भन्ने व्यहोराको अनुसन्धानको क्रममा बुझिएका पुष्पा थिङ्गले गरेको घटना विवरण कागज ।
अनुसन्धानको सिलसिलामा मृतक अ कुमारको डेरा कोठामा फेला परेको मलाई ख कुमारीले चियामा बिष मिसाएर खुवाएको र घर गएको भन्ने लिखत र मृतक अ कुमारले अघि पछि लेख्ने गरेको हस्तलिपिसँग मेल खाएको हुँदा उक्त फेला परेको लिखत अ कुमारले लेखेको हो भन्ने व्यहोराको केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशाला काठमाडौंबाट प्राप्त भएको परीक्षण प्रतिवेदन ।
अ कुमारको भिषेरा नमूनाहरूमा किटनाशकहरू (अग्र्यानोफोस्फोरस, अग्र्यानोक्लोरिन, पाइरेथोइड तथा कार्वामेट), फ्युमिगेन्ट र मुसा मार्ने बिषादी पाउन सकिएन भन्ने व्यहोराको केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशाला काठमाडौंबाट प्राप्त भएको परीक्षण प्रतिवेदन ।
मृतक अ कुमार र म एउटै स्कुलमा कक्षा १० मा अध्ययन गर्ने हुँदा निज र मेरो बीचमा मायाप्रेम रहेको थियो । यस्तैमा मिति २०६२।६।६ गते बेलुका अ कुमारले मलाई बोलाएकोले म स्कूलबाट घरमा गै कपडा बदली निजको कोठामा जाँदा निज कोठामा नभई कपडा धुन गएको रहेछ । म त्यहाँ केही समय बसेपछि अ कुमार आई कोठाको ढोका खोलेपछि हामी दुबै जना कोठामा गयौँ । कोठाभित्र गई बसेपछि किन मलाई बोलाएको भनी सोध्दा निजले मलाई यस पाली विवाह गर्नको लागि दवाब दिइरहेका छन्, यस पाली विवाह गर्नु पर्दछ भनेको मैले अहिले हाम्रो विवाह गर्ने समय भएको छैन, हाम्रो जात पनि मिल्दैन, इन्टरकास्ट त्यसमाथि पनि अहिले कलिलै उमेर छ, पछि हाम्रो उमेर पुगेपछि म विचार गरुँला भन्दा निजले हुँदैन तिमी र म कि विवाह गर्ने कि बिष खाएर दुबै सँगसँगै मर्ने भनेकोले त्यसको जवाफ केही नदिई म चुप लागी बसेकोमा निजले विष सेवन गर्नको लागि स्वीकृति पाएको भन्ने सोचेछन् । त्यसपछि हामी दुबै जना मिली चिया बनायौं । अ कुमारले चियामा निजले लगी राखेको बिष निकाली मिलाएपछि मैले एक घुट्को खाँदा तीतो भएको र घरमा केहि पनि नभनेकोले मलाई मर्नदेखि डर लागेको हुँदा मैले खाइन । निजले २, ३ पटक खाए । मैले तिमी पनि नखाऊ भनी मेरो गिलासको विष मिसाएको चिया पनि निजको गिलासमा खनाई दिई त्यहाँबाट आफनो घरमा गएकोमा म लडेपछि आमाले के भयो भनी सोद्धा मैले बिष खाएको भने पछि मलाई तत्काल उपचारार्थ पाटन अस्पतालमा ल्याएकोले म वच्न सफल भएको हुँ भने निज अ कुमारको सोही विषसेवन गरेका कारण उपचारार्थ अस्पताल ल्याउने क्रममा नै मृत्यृ भएको हो । मैले निजलाई चियामा विष मिसाई दिई मारेको होइन भन्ने व्यहोराको प्रतिवादी ख कुमारीले गरेको बयान कागज ।
मिति २०६२।६।६ गते साँझ मेरी छोरी ख कुमारी साथी भएको ठाउँमा गई कापी लिएर आउँछु भनी गएकोमा नआएपछि छोरीको खोजी गरिरहेको थिएँ । मेरो घरबाट पाँच मिनेटको दूरीमा छोरीलाई फेला पारेपछि राति कहाँ गएकी भनी दुई थप्पड हिर्काई हातमा समाती घरमा ल्याएकोमा निजले बिष सेवन गरेको कुरा बताई । किन कुन ठाउँमा बिष खाएको भनी सोद्धा निज वेहोस भई सकेकीले निजलाई उपचारको लागि पाटन अस्पताल ल्याएकोमा उपचारपश्चात् ठीक भएको हो । भोलिपल्ट अ कुमारको विष सेवनबाट मृत्यु भएको भन्ने सुनी थाहा पाएको हो । सुनेअनुसार अ कुमार र मेरी छोरी ख कुमारीले सँगै विष सेवन गरेकोमा अ कुमारको मृत्यु भएको रहेछ भन्ने व्यहोराको अनुसन्धानको क्रममा बुझिएकी ग कुमारीले गरेको घटना विवरण कागज ।
प्रतिवादी ख कुमारीले कुकुरलाई मार्ने बिष खुवाई अ कुमारलाई मारेकोमा विश्वास लाग्दछ । निज प्रतिवादीकी आमाले ५, ६ महिना अगाडि नङ्गकरप्रसाद दुलालको कुकुरलाई समेत बिष खुवाई मारेको हो भन्ने व्यहोराको नङ्गकरप्रसाद दुलाल, कृष्णप्रसाद दुलाल समेतले गरेको घटना विवरण कागज ।
२०६२।६।६ गते प्रतिवादी ख कुमारीले आफू अध्ययनरत् स्कूलका सुभाष घिमिरे र अ कुमारसँग अटो डायरीको बिषयलाई लिई वादविवाद गर्दा दुवैलाई मारी आफू पनि मर्ने भनी धम्काएको र सोही साँझ १८ः३० वजेको सयममा अ कुमारको कोठामा गई कोठामा बसी दुबैले चिया बनाई अ कुमारलाई चियामा विष मिसाई खान दिई कर्तव्य गरी मारी मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ नं.विपरीत १३(२) नं.बमोजिम कसूर गरेको देखिँदा निज प्रतिवादी ख कुमारीलाई सोही ऐनको ज्यानसम्बन्धीको महलको १३(२) नं.अनुसार हुने सजाय हुन माग दावी लिई दायर भएको अभियोग पत्र ।
मृतक अ कुमारलाई मैले विष खुवाई मारेको होइन । हामी दुवैको सहमतिमा खाएकोमा निजको मृत्यु भयो । बिष निज अ कुमारले ल्याएका थिए । निजले नै चियामा मिसाएका हुन् । मेरो कसैसँग पनि वादविवाद नभएको र मैले कर्सैलाई मार्ने धम्की दिएको थिइन । खानतलासी मुचुल्कामा उल्लिखित कापीको पानामा रातो मसीले लेखिएको मलाई ख कुमारीले चियामा विष मिसाएर खुवाएको र घर गएको भन्ने लेखिएको निजको हस्ताक्षर होइन जस्तो लाग्छ । तर सोको मुनि भएको सहिछाप निज अ कुमारको हो जस्तो लाग्छ । अधिकारप्राप्त अधिकारीसमक्ष गरेको वयान मैले भने बमोजिम लेखिएको हो र सहिछाप समेत मेरो हो । मैले बिष खुवाई अ कुमारलाई मारेको होइन । घटनास्थलमा वुझिएका मानिसले किन त्यस्तो कागज लेखाई दिए मलाई थाहा छैन । म वेकसूर भएकोले अभियोग दावीबाट मैले सफाइ पाउनु पर्दछ भन्ने व्यहोराको प्रतिवादी ख कुमारीले शुरु अदालतमा गरेको बयान ।
तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी कसूरदार होइन रहिछन् भन्ने अबस्था विद्यमान नभएकोले पछि प्रमाण बुझदै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई अ.वं.११८ नं. को देहाय २ बमोजिम सम्बन्धित कारागार शाखामा थुनामा राखिनु पर्नेमा अधिकारप्राप्त अधिकारी र अदालतमा वयान गर्दा समेत प्र.ले आफ्नो उमेर १५ वर्षको उल्लेख गरेको र प्रतिवादीका कानून व्यवसायीले प्रतिवादी ख कुमारीले जिल्लास्तरीय परीक्षा वोर्ड ललितपुरको सर्टिफिकेटको प्रतिलिपि पेश गरेको र सोमा निज प्रतिवादीको जन्म वि.स.२०४६।१०।१२ भनी उल्लेख भएको देखिएको हुँदा प्रतिवादी नावालिका देखिएकोले बालबालिकासम्बन्धी ऐन २०४८ बमोजिम वाल सुधार गृहमा पठाउने गरी शुरु अदालतबाट भएको आदेशानुसार निज प्रतिवादी ख कुमारी बाल सुधार गृह सानोठिमी भक्तपुरमा रही मुद्दा पुर्पक्ष गरी आएकी रहिछन् ।
अ कुमारले मलाई विष पर्यो कागती ल्याई दिनु पर्यो भनेर म कागती लिन गएँ । कागती लिन जाँदा रामचन्द्रलाई पसलमा भेटें । रामचन्द्रलाई छिटो आऊ भनें । आफू चाहिँ कागती लिएर दौडँदै आएँ । त्यसपछि अ कुमारले आफ्नो कापीको पानामा ख कुमारीले मलाई चियामा बिष हाली दिएको भनी लेखेको रहेछ । कागती काटेर दिन्छु भन्दा मैले काट्न र दिन पनि भ्याइन । सिङ्गै चपाएपछि रामचन्द्रले कागती ल्याइदिए । सो पनि सिङ्गै चपाए । त्यसपछि छट्पटिदै लुगा धुने सावुन पनि चपाए र पछि मलाई धेरै गाह्रो भयो अस्पताल लगिदेऊँ भने । त्यसपछि घरबेटी ज्ञानेन्द्र दाई अन्य रामचन्द्र घिमिरे स्कूलका पाले दाईसमेत भई अस्पताल लगेको हो । प्रहरीमा गरेको कागजको व्यहोरा सहिछाप समेत मेरो हो भन्ने समेत व्यहोराको प्रहरीमा कागज गर्ने पुष्पा थिङ्गले शुरु अदालतमा गरेको वकपत्र ।
ख कुमारी र मृतक अ कुमार एउटै कक्षामा पढ्थे । ख कुमारीले चाहिँ अ कुमारसँग विवाह गर्न खोजेको वा पे्रम गर्न खोजेको अ कुमारले पढाईको कारणले गर्दा निजसँग प्रेम गर्न इन्कार गरेको कारण ख कुमारीले आवेशमा आएर चियामा बिषादि प्रयोग गरी हत्या गरेको हुनु पर्दछ । प्रहरीमा भएको कागज र सोमा लागेको सहिछाप समेत मेरो हो भन्ने समेत व्यहोराको वुझिएका मानिस रामकृष्ण हुमागाईले शुरु अदालतमा गरेको वकपत्र ।
मृतकले मलाई ख कुमारीले चियामा बिष राखी खुवाई भागी भनी लेखी सही गरेको चिठ्ठी जिल्ला प्रहरी कार्यालय ललितपुरमा देखेको हो । अ कुमार मेरो साथी हो । ऊ सोझो कहिले केटीको कुरा गर्ने सँगै हिड्ने आदि गर्दैन थियो । मिति २०६२।६।६ गते बेलुका उक्त घटना घटेको थियो । उक्त दिन ख कुमारी अ कुमारको कोठामा आई बसेकी र चिया खाऊँ भनी चिया पकाई अ कुमारलाई कागती लिन पठाई अ कुमारको चियामा बिष राखी आफ्नो चिया गिलासमा बिष नराखी चिया खुवाई गएकी हुन् । सोही कारणले निजको मृत्यु भएको हो । प्रहरीमा भएको कागजमा लेखिएको व्यहोरा र सोमा भएको सहिछापसमेत मेरो हो भन्ने व्यहोराको किरण खड्काले शुरु अदालतमा गरेको वकपत्र ।
ख कुमारीले अ कुमारलाई विष सेवन गराएकोले निजलाई अस्पतालमा उपचारको लागि लगिएकोमा निजको मृत्यु भइसकेको रहेछ । छोराको मृत्यु भएपछि निजका बुबा क बहादुरलाई फोन गरेपछि उनीहरू अस्पताल गई क बहादुरले मलाई पनि फोन गरी बोलाए । म अस्पताल गएँ । डाक्टरलाई मैले हाम्रो बिरामीको के कारणले मृत्यु भएको हो भनी सोध्दा बिष सेवनको कारणबाट मृत्यु भएको हो भनी जानकारी दिए । घटना भै सकेपछि अरुले भनेअनुसार ख कुमारीले अ कुमारलाई विष सेवन गराई मारेको हो । घटनास्थल मुचुल्काको कागजमा लागेको सहिछाप मेरो हो भन्ने समेत व्यहोराको प्रायः एकै मिलानको कृष्णबहादुर खड्का र नवराज महतसमेतले शुरु अदालतमा गरेको बकपत्र ।
मिति २०६२।६।७ गते पाटन अस्पतालमा सुरक्षाकर्मीले लास बुझनुस् भनी ख कुमारीले विष खुवाई घर गई भनी लेखिएको एउटा निजकै हस्ताक्षर भएको कापी देखाई विष सेवनबाट अ कुमारको मृत्यु भएको हो भनी आधार प्रमाणहरू देखाएपछि हामीले लास बुझेको हो । अन्य कुरा थाहा छैन । लास जाँच मुचुल्कामा लागेको सहिछाप मेरो हो भन्ने व्यहोराको रामकाजी खड्काले शुरु अदालतमा गरेको वकपत्र ।
उनीहरूको मनसाय के थियो थाहा भएन । अ कुमार ज्ञानेन्द्र घिमिरेको घरमा डेरा कोठा लिई बसेको र उक्त दिन ख कुमारीले विष खुवाएकी हुन् । अ कुमारको घर र मेरो घर सँगै हो । अ कुमारलाई अस्पताल लैजाँदा लैजाँदै बाटोमा मृत्यु भएको भनी फोन आएपछि हामी राती आयौं । केटो अति सोझो थियो । भोलिपल्ट सबैले भनेपछि हामी पुग्दा उक्त जानकारी पायौं । घटना विवरण कागज मेरो रोहवरमा भएको हो र सोमा लागेको सहिछाप समेत मेरो हो भन्ने व्यहोराको भरत बस्नेतले शुरु अदालतमा गरेको वकपत्र ।
ख कुमारीले अ कुमारलाई विष खुवाएको र सो कारणबाट निजको मृत्यु भएको भन्ने कुरा सुनेको हो । म पहिल्र्यै ललितपुर पाटनमा बस्थें । पुलिसले लास मुचुल्कामा भनेकोले मात्र थाहा पाएको हो । दुई जनामा अ कुमारको मात्र मृत्यु भएको हो । घटनास्थल मुचुल्कामा भएको सहिछाप मेरो हो भन्ने व्यहोराको सानु घिमिरेले शुरु अदालतमा गरेको वकपत्र ।
मिति २०६२।६।७ को जाहेरी दरखास्त मिति २०६२।६।७ को लास जाँच मुचुल्का र मिति २०६२।६।९ को किटानी जाहेरी दरखास्तसमेतको व्यहोरा सत्य तथा ठीक साँचो हो किनकी मेरो छोराले चिठी लेखेको आधारबाट पनि प्रष्ट हुन्छ । साथै उक्त कागजहरूमा भएको सहिछापसमेत मेरो हो भन्ने समेत व्यहोराको जाहेरवाला क बहादुरले शुरु अदालतमा गरेको वकपत्र ।
पोष्टमार्टम रिपोर्टमा लेखिएको कुरा ठीक साँचो हो । मृतकको पेट फुटेको छ । पेटभित्र ट्याव्लेट पनि भेटिएको थियो । सो धेरै सेवन भएबाट पेट फुटेको हुनसक्छ । पेटमा पहिलेदेखि अल्सर भएर, खाना पोइजन, कोरोसिभ पोइजन भएर पेटमा धेरै एसिडको निर्माण गर्ने खाने कुरा सेवन भएमा पनि त्यस्तो हुन सक्छ । ओभर डिस्टेन्सन भएर पनि हुनसक्छ भन्ने समेत व्यहोराको शव परीक्षण गर्ने डा.चन्द्रशोभा अमात्यले शुरु अदालतमा गरेको बकपत्र ।
मिति २०६३।७।३ को परीक्षण थिनलिएर क्रोम्याटोग्राफी प्रविधिबाट परीक्षण गरेको हो तर पछि थप नमूना र विवरणको आधारमा परीक्षण गरी पठाइएको हो । उक्त परीक्षण प्रतिवेदनमा उल्लिखित व्यहोरा सत्य साँचो हो भन्ने समेत व्यहोराको बिषादी परीक्षण गर्ने वैज्ञानिक प्रहरी निरीक्षक उद्धव बलामीले शुरु अदालतमा गरेको वकपत्र ।
मिति २०६२।६।१६ गतेको प्रतिवेदन म समेतबाट बिभिन्न वैज्ञानिक उपकरणको मद्दतले कम्प्यारीजन म्याथडबाट परीक्षण गरि प्रतिवेदन प्रस्तुत गरी पठाइएको हो । मिति २०६२।६।१४ को हस्ताक्षर परीक्षण प्रतिवेदनको व्यहोरा सत्य हो र सोमा भएको सही समेत मेरो हो भन्ने समेत व्यहोराको हस्ताक्षर परीक्षण गर्ने विशेषज्ञ अम्बिकाप्रसाद धितालले शुरु अदालतमा गरेको बकपत्र ।
प्रतिवादी ख कुमारी पढ्ने विद्यार्थी भएको र निजले त्यस्तो खराव काम गर्ने जस्तो लाग्दैन । निजको बानी व्यहोरा आचरण राम्रो थियो । निजले मृतकलाई विष खुवाउने कारण पनि थिएन । निजले खुवाएको भन्ने कुरामा मलाई विश्वास लाग्दैन । निजहरू बीच सामान्य प्रेम बसेको भन्ने कुरा सुनेको हो । अन्य कुरा मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी ख कुमारीको साक्षी शंकरप्रसाद लामिछानेले शुरु अदालतमा गरेको वकपत्र ।
ख कुमारी मेरो छिमेकी भएको हुनाले निजलाई मैले सानैदेखि चिनेको हो । निजको र मेरो घर तल्लो र उपल्लो घर हुँदा निजको वानी व्यहोरामा त्यस्तो खराव बानी व्यहोरा नभएको र निज लगनशील र पढाइमा ट्यालेन्ट भएको हुँदा निजले त्यस्तो बिष सेवन गराउने कार्य तथा अपराध गर्छिन् तथा गरे जस्तो लाग्दैन । निज प्रतिवादीले मृतक अ कुमारलाई बिष सेवन गराई मार्नुपर्ने कुनै कारणसमेत नभएको र निजले त्यस्तो अपराध नगरेको हुँदा अपराध नै नगरेका मानिसलाई सजाय हुनुपर्ने होइन । निजले अभियोग दावीबाट सफाइ पाउनु पर्दछ । निज मृतक र प्रतिवादीबिच घटना घटनुअघि कुनै वादविवाद भएको मैले थाहा पाएको छैन । मृतकको पिताले आफ्नो छोराको मृत्यु भएको कारणले सो कुरा उल्लेख गरेको होला । तर अन्य घटनास्थलमा बुझिएका मानिसले आफ्नो जातिगत तथा रिसइवीका कारण त्यसो भनेका हुन् । तर मलाई निजले बिष खुवाई मारेको भन्ने कुरामा विश्वास लाग्दैन भन्ने समेत व्यहोराको प्रतिवादी ख कुमारीको साक्षी कपिलदेव न्यौपानेले शुरु अदालतमा गरेको वकपत्र ।
मिति २०६२।६।६ गते बेलुकी लगभग ८:०० बजेतिर पसलमा गई म फर्किआउँदा ख कुमारीको घरमा रुवावासी चलेको सुनी केटाकेटी रोएका होलान् भनी भित्र छिर्न लाग्दा दुई चार जनाकै रुवावासी सुनेकोले के भएछ भनी हेर्न जान लाग्दा सोही घरका दाई गोविन्द्रहरि पोखरेलले मलाई छिटो आइज भनी बोलाउनु भयो । जाँदा निज ख कुमारीलाई बोकेर तल ल्याउन लाग्नु भएको थियो । के भयो भन्दा विष खाई भनेको सुने पछि कपिल दाईको घरमा वोलाउन गएँ । त्यसपछि त्यहीँबाट बज्रबाराही हेल्थपोष्टमा फोन गरी एम्वुलेन्स बोलाई त्यहाबाट पाटन अस्पताल ल्यायौं । त्यहाँ आएपछि केही बेरपछि दुबै जनाले विष खाएको भन्ने थाहा पाइयो । ख कुमारीको बानी व्यहोरा चालचलन हेर्दा उसले विष खुवाउनु पर्ने कारण देखिँदैन । उसले पनि दुवै जनाको सहमतिमा खाएको हो भन्ने सुनेको हो । दुई चार दिनअगाडि घरका आइमाईहरूबाट उनीहरू बीच प्रेम सम्बन्ध भएको कुरा थाहा थियो । त्यस बिषयलाई लिएर घरमा विवाद पनि भएको थियो । त्यसभन्दा पहिले केटाकेटीको विचमा झै-झगडा भएको थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी ख कुमारीका साक्षी पुरुषोत्तम न्यौपानेले शुरु अदालतमा गरेको वकपत्र ।
प्रतिवादी ख कुमारीले आफू अध्ययनरत् रहेको स्कूलको अ कुमार र सुभाष घिमिरेसँग अटो डायरीको बिषयलाई लिई वादविवाद गर्दा दुवैलाई मारी आफू पनि मर्ने भनी धम्काएको र सोही दिन साँझ अ कुमारको कोठामा गर्ई प्रतिवादीले साथमा ल्याएको विष चियामा हाली आफूले पनि सेवन गर्ने र अ कुमारलाई पनि खुवाउने कार्य गरी आफ्नै प्रेमी अ कुमारलाई विष खुवाई कर्तव्य गरी ज्यान मारेको ठहर्छ । निजलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(२) नं.बमोजिम सर्वश्वसहित जन्मकैद हुन्छ । साथै प्रतिवादीलाई बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा २ (क) बमोजिम नाबालिग रहेकी देखिँदा बालबालिकासम्बन्धी ऐनको दफा ११(३) नं.बमोजिम उमेर पुगेकालाई हुने सजायको आधा सजाय गर्दा चर्को पर्ने भएकाले अपराध हुँदाको अवस्था र परिस्थितिलाई विचार गर्दा निजलाई ६ वर्षको सजाय गर्न उचित हुँदा अ.वं.१८८ नं.बमोजिम राय व्यक्त गरिएको भन्ने समेत व्यहोराको मिति २०६३।१२।२९ को ललितपुर जिल्ला अदालतको र्पैmसला ।
मृतक र म प्रेमिका भएको कुरामा विवाद नरहेको र निजलाई मैले मार्नु पर्नेसम्मको कारण कहीँ कतैबाट पुष्टि हुन नसकेको अवस्थामा म निर्दोष व्यक्तिलाई हचुवाको भरमा कसूरदार ठहर गर्ने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी ख कुमारीको पुनरावेदन–पत्र ।
प्रतिवादी ख कुमारीको उमेर वैज्ञानिक तवरबाट परीक्षण गरी चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंजले दिएको रिपोर्टअनुसार निज नाबालक नभएको अवस्थामा सुरु जिल्ला अदालतले प्रतिवादीलाई नाबालक मानेर फैसला गरिसकेपछि बालबालिका ऐन, २०४८ को दफा ११(३) नं.बमोजिम सजाय गर्नुपर्नेमा उक्त ऐनबमोजिम सजाय गर्दा चर्को पर्न जाने भनी नाबालिकालाई हुने सजाय नगरी घटनाको अवस्था र परिस्थिति बमोजिम भनी ज्यादै न्यूनतम् सजायको राय व्यक्त गरी भएको फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म बदर गरी अभियोग दावीबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
मृतक र प्रतिवादीसमेत दुवैबाट बिष प्रयोग गरेको भन्ने उल्लेख भएको अवस्थामा पुनरावेदकले नै विष खुवाएको र निजकै कर्तव्य थियो भन्ने यकीन नभएको अवस्थामा शुरु फैसला फरक पर्न सक्ने हुँदा अ.वं.२०२ नं.तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम पुनरावेदन सरकारी वकील कार्यालय पाटनलाई जानकारी दिई पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६४।८।६ गतेको आदेश ।
प्रतिवादी ख कुमारीले आफ्नै प्रेमी अ कुमारलाई विष खुवाई कर्तव्य गरी ज्यान मारेको कुरामा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा पहिले दुबैलाई खान भनी तयार पारेको चियामा आफूले एक घुट्को मात्र खाई अरु सबै मृतक अ कुमारको गिलासमा खन्याई आफू घर गएको र पछि सोही विष सेवन गरेको कारणबाट अ कुमारको मृत्यु भएको भनी स्वीकारेको र अ कुमारले लेखेको मृत्युकालीन घोषणापत्रमा “मलाई चियामा विष मिसाएर खुवाई घर गएको“ भनी उल्लेख गरेको र सो नोट (घोषणा) मृतक अ कुमारकै भएको कुरा अघि पछिको हस्ताक्षरबाट समेत पुष्टि भइरहेको अवस्थामा अन्य कारणबाट र अरु कसैको संलग्नता बिना प्रतिवादी ख कुमारीकै कर्तव्यबाट मृतक अ कुमारको मृत्यु भएको कुरा प्रमाणित र सिद्ध हुन आएको देखिनाले ज्यानसम्बन्धीको १३(२) नं.बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय गर्ने र बालबालिकासम्बन्धी ऐनले आधी अर्थात् १० वर्ष कैद सजाय गर्ने गरेको ललितपुर जिल्ला अदालतको मिति २०६३।१२।२९।५ को इन्साफ मुनासिव हुँदा सदर हुने ठहर्छ । त्यसतर्फ प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । अ.वं.१८८ नं.बमोजिम भवितव्यको अवस्था दर्शाइ वर्ष ६ मात्र कैद गर्ने भनी शुरुबाट व्यक्त गरिएको रायतर्फ विचार गर्दा चियामा विष हाली खुवाई पछि मर्न सक्छ भन्ने कुरा जानी–जानी घरतर्फ हिडेको र सोही जरियाबाट मृतक अ कुमारको मृत्यु भएको देखिँदा प्रतिवादीको सो कार्यलाई भवितव्य भन्न नमिली माथि उल्लिखित कारण र परिबन्धबाट कर्तव्य नै देखिएबाट उक्त राय अप्रासांगिक भै न्यायोचित नदेखिँदा सो राय हटाई दिने ठहर्छ भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६४।८।२० को फैसला ।
मैले विष लगी मृतकलाई खुवाएको होइन । मृतककै उक्साहटमा मैले समेत विष सेवन गरेको हो । मैले सानो उमेरमै प्रेम गर्नु, विवाहको कुरालाई लिएर भावावेशमा आई प्रेमी अ कुमारले बिषय खाई दुबै सँगसँगै मरौं भन्दा सम्झाई बुझाई विष खानबाट रोक्न नसकी निजको उक्साहटमा आई आफू स्वयंले बिष खानु र तत्काल मर्न हुँदैन भन्ने विचार आई डर लागेकोले आत्तिएर घर जाँदा बिष खाएको कुरा आमा बुबाले थाहा पाई समयमै मलाई अस्पताल पुर्याई उपचार भएको कारण बाँच्न सफल हुनुबाट नै अभियोग दावीबमोजिमको आपराधिक दायित्व मैले व्यहोर्नु पर्ने होइन । विष खान खुवाउनमा मेरो कुनै भूमिका नभई मृतक प्रेमीकै उक्साहटमा लागी विष खानसमेत सरिक हुनु, मर्न डर लागी निजलाई त्यहीं छाडी घर जानु मेरो जानी बुझिकनको दोष नभई कच्चा उमेर अर्थात् बालापनको परिणति हो भन्ने स्पष्ट हुँदाहुँदै मलाई कसूरदार ठहर गरी सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला बालबालिकासम्बन्धी ऐन, २०४८ तथा बालबालिकासम्बन्धी महासन्धि १९८९ को मर्म र भावना समेत विपरीत छ । अतः सो फैसला बदर गरी अभियोग दावीबाट सफाई दिलाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी ख कुमारीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
प्रतिवादी नाबालक भन्ने देखिएको, प्रतिवादीले मृतक अ कुमारलाई मार्नुपर्नेसम्मको कुनै कारण नदेखिएको र पुनरावेदक/प्रतिवादी ख कुमारीको बयानअनुसार अ कुमार र आफू संयुक्त रुपले आत्महत्या गर्न एकैसाथ बिष खाई पुनरावेदकसमेत अस्पताल भर्ना भई उपचार गराएको देखिएकोले प्रतिवादीलाई १० वर्ष कैद गर्ने गरी भएको पुनरावेदन अदालत पाटनको मिति २०६४।८।२० को फैसला फरक पर्न सक्ने देखिँदा अ.वं.२०२ नं.बमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई पेशीको सूचना दिनु भन्ने यस अदालतको मिति २०६५।१०।८ को आदेश ।
नियमबमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको सम्पूर्ण मिसिल अध्ययन गरियो ।
यसमा प्रतिवादी ख कुमारीले चियामा विष मिसाई खान दिई कर्तव्य गरी अ कुमारको ज्यान मारेको वारदात स्थापित भएकाले प्रतिवादीलाई ज्यानसम्बन्धीको महलको १ र १३(२) नं को कसूरमा सोही १३(२) नं.अनुसार सजाय गरिपाऊँ भन्ने अभियोग मागदावी भएको प्रस्तुत मुद्दामा प्रतिवादीले आरोपित कसूर गरेको ठहर्याई निजलाई बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) नं.बमोजिम आधा सजाय गर्दा समेत चर्को पर्ने भनी अ.वं.१८८ नं.बमोजिम ६ वर्ष कैद गर्ने गरी शुरु ललितपुर जिल्ला अदालतबाट राय व्यक्त भई फैसला भएकोमा पुनरावेदन अदालत पाटनबाट मिति २०६४।८।२० मा शुरुबाट व्यक्त भएको राय हटाई प्रतिवादीलाई अभियोग पत्र माग दावी बमोजिम ज्यानसम्बन्धीको महलको १३(२) नं.अनुसार सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्याई बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) अनुसार वयष्कलाई हुने सजायको आधा अर्थात् १० वर्ष कैद सजाय गरेको शुरु ललितपुर जिल्ला अदालतको इन्साफ सदर गरेको फैसलाउपर प्रतिवादीको पुनरावेदन परी पेश हुन आएको देखियो ।
पुनरावेदक/प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय श्री हरिकृष्ण कार्की र श्री विनोद श्रेष्ठले प्रतिवादीले विष खुवाएको भन्ने तथ्य मिसिलबाट प्रमाणित हुँदैन । मृतकले नै बिष सेवन गरौं. भनी विष हाली बनाएको चिया दुबैले सेवन गरेको अवस्था छ । तत्कालै उपचार पाएरमात्रै प्रतिवादी पनि बच्न सफल भएकी हुन् । प्रतिवादीले आरोपित कसूर गरेको ठहर्याएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ भनी बहस गर्नुभयो । प्रत्यर्थी/वादीका तर्फबाट उपस्थित विद्वान् सह–न्यायाधिवक्ता श्री युवराज सुवेदीले प्रतिवादीले आरोपित कसूर गरेको ठहर्याएको पुनरावेदन अदालतको फैसला सदर हुनुपर्दछ भनी बहस गर्नुभयो ।
उल्लिखित बहससमेत सुनी पुनरावेदन अदालत पाटनको मिति २०६४।८।२० को फैसला मिलेको छ छैन भन्ने बिषयमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी ख कुमारीले अनुसन्धान अधिकारीसमक्ष र अदालतमा बयान गर्दा समेत मलाई मृतक अ कुमारले बोलाएकोले म निजको कोठामा गएकोमा निजले विवाहको प्रस्ताव राखेको र मैले अहिले हाम्रो विवाह गर्ने समय भएको छैन पहिला क्यारियर बनाउनु पर्छ भनेपछि मृतकले त्यसो भए हामी दुबै जना बिष खाई मरौं भनी चिया बनाई चियामा बिष मिसाई मलाईसमेत दिए निजले पनि खाए, मैले एक घुट्की खाएपछि तीतो भएको र मर्न डर लागेकोले दुबै गिलासको चिया एउटैमा खन्याई कोठाबाट निस्की घर गएकी हुँ, उपचारपश्चात् ् म बाँच्न सफल भएँ अ कुमारको मृत्यु भएछ, मैले चियामा बिषय मिसाई अ कुमारलाई खान दिएको होइन भनी आरोपित कसूरमा इन्कार रही बयान गरेको देखिन्छ ।
३. मृतकको Autopsy Report मा मृत्युको कारणमा Rapture of Stomach भन्ने उल्लेख भएको छ । घटनास्थल मुचुल्कामा देखिएको मृतकको कोठाको टेवलको ग्लासमा रहेको चिया जस्तो तरल पदार्थ र चियाको छोक्रामा तथा मृतकको भिसेरामा (Alkaloid Strychnine Sulphate) नामक विषादि फेला परेको भन्ने केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशाला महाराजगञ्जको मिति २०६२।७।३ को पत्रबाट देखिएको छ । उक्त परीक्षण गर्ने वैज्ञानिक उद्धव बलामीले अदालतमा बकपत्र गर्दा फेला परेको उक्त Alkaloid गु्रपभित्र कुकुर मार्न प्रयोग गरिने विषादि पर्दछ भनी बकपत्र गरेको देखिन्छ । त्यस्तै शवपरीक्षण गरी Autopsy Report दिने विशेषज्ञ डा.चन्द्रशोभा अमात्यले Strychnine Sulphate को सेवनबाट Stomach Rapture हुनसक्छ भनी बकपत्रसमेत गरेको देखिँदा उक्त Strychnine Sulphate नामक विषादिको सेवनबाट अ कुमारको मृत्यु भएको कुरा सिद्ध हुन आएको छ ।
४. मृतक अ कुमार र प्रतिवादी ख कुमारी एउटै कक्षा १० मा पढ्ने विद्यार्थी भएको र निजहरूवीच प्रेम सम्बन्ध रहेको भन्ने कुरा प्रतिवादी स्वयंको बयान र मिसिलसंलग्न अन्य प्रमाणहरूबाट देखिन्छ । घरबेटी ज्ञानेन्द्रप्रसाद घिमिरेको बकपत्रबाट मृतक र प्रतिवादी बारदातका समयमा कोठाभित्र चुक्कुल लगाई बसेको देखिन्छ । प्रतिवादी ख कुमारी र पुष्पा थिङको अभिकथनको मूल्याङ्कनबाट मृतक अ कुमारलाई निजको परिवारतर्फबाट विवाह गर्न दवाव आएकोमा निज मृतक अ कुमार र प्रतिवादी ख कुमारी आफूहरूवीच विवाह हुन नसक्ने निष्कर्षमा पुगी आपसी सल्लाह र सहमतिबाट चियामा विष हाली सेवन गरेको कारणबाट प्रस्तुत वारदात घट्न गएको छ । मुलुकी ऐन ज्यानसम्बन्धीको १ नं.मा कानूनबमोजिम बाहेक कसैले कुनै मानिसको ज्यान मार्न, मार्न लगाउन वा मार्नको लागि उद्योग गर्न हुँदैन भन्ने व्यवस्था भएबाट आपसी सहमतिमा विष सेवन गरी मुत्यु हुन गएमा आपराधिक दायित्वबाट कसैलाई उन्मुक्ति दिन कानूनतः मिल्दैन ।
५. प्रतिवादीले अनुसन्धानका क्रममा र अदालतमा समेत मृतकले नै बिष निकाली चियामा मिसाएको भनी बयान गरेको देखिए तापनि मिसिल संलग्न घटनास्थल मुचुल्का हेर्दा प्रतिवादीले बयान गरेअनुसारको बिष राखिएको कुनै भाँडो, प्याकेट वा खोल मृतकको कोठामा रहे भएको देखिंदैन । प्रथम जाँचबाट चिया र चियाको पत्तीमा विष नभेटिएपछि विशेष प्रविधिबाट पुनः जाँच गर्दा कुकुर मार्न प्रयोग हुने विषादि पाइएको भन्ने विशेषज्ञको राय रहेको छ । सोही प्रकृतिको विषादिको सेवनबाट मृतकको मृत्यु भएको भन्ने कुरा शव परीक्षण प्रतिवेदन र विशेषज्ञको बकपत्रबाट देखिएको छ । त्यस्तो विषादि प्रतिवादी ख कुमारीकी आमाले छिमेकीको कुकुरलाई खुवाई मारेको भन्ने गाऊँ समाजमा विवाद उठेको मिसिल संलग्न प्रमाणबाट देखिएकोले आफ्नो घरमा रहेको सोही विषादि यी प्रतिवादीले ल्याएकी होइनन् होला भन्ने स्थिति छैन । प्रतिवादीकै बयानअनुसार पनि मृतक कोठाबाहिर निस्किएको भन्ने देखिँंदैन । यसबाट अभियोग दावीअनुसार प्रतिवादीले नै बिष लिई गई चियामा मिसाई मृतकलाई खान दिएको र आफूले एक घुट्कीमात्र खाई दुबै ग्लासको बिषयुक्त चिया एउटैमा खन्याई अ कुमारलाई एक्लै छाडी प्रतिवादी कोठाबाट निस्किई आफ्नो घरतर्फ गएको भन्ने देखिन्छ । त्यस्तै मृतकको कोठाबाट बरामद भएको कपीमा रातो मसीले मलाई ख कुमारीले चियामा विष मिसाएर खुवाएको र घर गएको भनी लेखिएको व्यहोरा र हस्ताक्षर मृतक अ कुमारकै हो भन्ने विशेषज्ञको राय र अदालतसमक्ष भएको विशेषज्ञको बकपत्रबाट देखिएको छ । घटना विवरण कागज गर्ने रामचन्द्र घिमिरे र पुष्पा थिङको व्यहोराबाट मृतकले “मलाई विष पर्यो” भनी निजहरूसँग कागती मागेको र निजहरूले मृतकलाई कागती दिने क्रममा कापीमा लेखिएको उक्त व्यहोरा हामीले देखेका हौँ भनी अदालतमा बकपत्रसमेत गरेको देखिएबाट मृतकले होसहवासमै उक्त व्यहोरा कापीमा लेखेको भन्ने देखिन आयो । मर्नु अघि होस छँदै मृतकले यसरी आफ्नो मृत्युको कारणका सम्बन्धमा व्यक्त गरेको कुरा र कुनै घटनाका सम्बन्धमा सो घटनाबाट पीडित मानिसले मौकामा व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा १० र ११ अनुसार प्रमाणमा लिन मिल्ने नै हुँदा सो समेतलाई प्रमाणमा लिई प्रतिवादीले आरोपित कसूर गरेको ठहर्याई निजलाई अभियोग मांग दावीबमोजिम ज्यानसम्बन्धीको १३(२) नं.अनुसार सर्वश्वसहित जन्मकैद गर्ने ठहर्याएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला अन्यथा भएको देखिएन ।
६. प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष र अदालतमा बयान गर्दा समेत आफ्नो उमेर १५ वर्ष भनी लेखाएको देखिन्छ । चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंज क्याम्पस फरेन्सिक मेडिसिन विभागले प्रतिवादीको उमेर जाँच गरी दिएको रिपोर्टमा निजको उमेर १५ देखि १७ वर्षबीचको भन्ने उल्लेख भएको देखिन्छ । मिसिल संलग्न District Level Examination Board Lalitpur Mark-Sheet मा प्रतिवादी ख कुमारीको जन्म मिति २०४६।१०।१२ हो भन्ने उल्लेख भएको देखिएको छ । यसरी वैज्ञानिक जाँचबाट खुलाइएको निजको उमेरको सम्भावित तल्लो हदसँग प्रतिवादीको बयान र उल्लिखित मार्कसिटको व्यहोरा मिल्न आएको देखिँदा मार्कसिटमा उल्लिखित जन्ममिति नै प्रतिवादीको आधिकारीक जन्म मिति मान्नुपर्ने देखियो । त्यसका आधारमा वारदात हुँदा प्रतिवादीको उमेर १५ वर्ष ७ महिना २४ दिन रहेको देखिन आई बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा २(क) तथा ११(३) बमोजिम निजलाई उमेर पुगेको मानिसलाई हुने सजायको आधा सजाय गर्नुपर्ने हुँदा सो अनुसार आधा अर्थात् १० वर्ष कैद सजाय गर्ने ठहर्याएको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला समेत अन्यथा देखिएन ।
७. माथि गरिएको विवेचनाबमोजिम प्रतिवादीले आरोपित कसूर गरेको देखिए तापनि मिसिल संलग्न कागज प्रमाणबाट प्रतिवादी र मृतक एउटै स्कूलमा एउटै कक्षामा पढ्ने विद्यार्थी भएको र निजहरूबीच प्रेम सम्बन्ध रहे भएको भन्ने समेत देखिन्छ । मिसिलबाट प्रतिवादीले मृतक प्रेमीलाई मार्नु पर्नेसम्मको कुनै रीसइवी वा कारण रहे भएको भन्ने पनि देखिँदैन । प्रतिवादीको बयान व्यहोराबाट पनि दुबै जनाले सहमतिमा चियामा बिष हाली सेवन गरेको देखिन्छ भने प्रतिवादीलाई पनि Poisoning को सिकायतमा पाटन अस्पतालमा भर्ना गरी उपचार गराएको देखिन्छ । मृतकको उमेर १६ वर्ष र प्रतिवादीको उमेर १५ वर्ष रहेको देखिन्छ । यस्तो पृष्ठभूमिमा घट्न गएको प्रस्तुत मुद्दाको वारदातलाई वास्तवमा मनसायपूर्वक गरिएको जघन्य हत्याको वारदात नभई अपरिपक्व किशोर किशोरी प्रेमी प्रेमिकाले भावावेशमा आएर गरेको बिज्याइँ मान्नु पर्ने देखिन आएको छ । उमेर नपुगेका बालबालिकाको पूर्णरूपमा शारीरिक एवं मानसिक विकास भइसकेको नहुने र उनीहरूमा वयष्क मानिससरह आपराधिक मस्तिष्क (Mens Rea) को विकास समेत नहुने हुँदा उनीहरूलाई वयष्क मानिस सरह सजाय नगरी उनीहरूको शारीरिक र मानसिक अपरिपक्वताउपर विचार गरी उनीहरूको सर्वोत्तम हित (Best Interest) का लागि आवश्यकताअनुसार उन्मुक्ति, छूट वा सुविधा प्रदान गरी तुलनात्मक रूपमा कम सजाय गरिनु पर्दछ भन्ने बालविधिशास्त्रको स्थापित विश्वव्यापी मान्यताअनुरूप प्रस्तुत मुद्दामा प्रतिवादी ख कुमारीलाई ५ (पाँच) वर्ष कैदको सजाय गर्दा बालविधिशास्त्रको मकसद समेत पूरा हुने भएकोले अ.वं.१८८ नं.अनुसार निजलाई वर्ष ५(पाँच) कैद सजाय हुने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नू ।
तपसील
८. माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी ख कुमारीलाई पाँच वर्ष कैद सजाय हुने ठहरी फैसला भएकोले पुनरावेदन अदालतको फैसलाले राखेको लगत कट्टा गरी प्रतिवादी प्रहरी हिरासतमा रहेको मिति २०६२।६।९ देखि पाँच वर्ष अर्थात् मिति २०६७।६।८ सम्मको कैद लगत कायम गरी असूल गर्नु भनी शुरु ललितपुर जिल्ला अदालतमा लेखी पठाउनू ––१
शुरु फैसलाले राखेको सर्वश्वतर्फको लगत समेत कट्टा गर्नु भनी ललितपुर जिल्ला अदालतमा लेखी पठाउनू–––२
मिसिल नियमानुसार बुझाइदिनू––––––३
उक्त रायमा म सहमत छु ।
न्या.गिरीशचन्द्र लाल
इति संवत् २०६५ साल चैत १२ गते रोज ४ शुभम्….
इजलास अधिकृत : मातृकाप्रसाद आचार्य