शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८१३७ - उत्प्रेषणयुक्त परमादेश

भाग: ५१ साल: २०६६ महिना: श्रावण अंक:

निर्णय नं. ८१३७     २०६६ साउन,अङ्क ४

 

सर्वोच्च अदालत, एक न्यायाधीशको इजलास

माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी

सम्बत २०६५ सालको रिट.नं. WO..०६१३

आदेश मितिः २०६५।१२।२४।२

 

विषयः उत्प्रेषणयुक्त परमादेश 

 

      निवेदकः जिल्ला झापा गरामुनी गा.वि.स वडा नं. ६ घर भै हाल पद्मकन्या क्याम्पस    वागबजारमा  वि.वि.एस. प्रथम वर्षमा अध्यनरत रही स्वतन्त्र विद्यार्थी युनियनको      चुनावमा अखिल (क्रान्तिकारी), अनेरा स्ववियु (एकिकृत) को संयुक्त प्यानलको तर्फबाट   सभापति पदको उम्मेदवार मेनुका बराल

विरुद्ध

      विपक्षीः स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन परिचालन समितिका संयोजक तथा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर काठमाडौंका शिक्षाध्यक्ष प्रा.सूर्यलाल अमात्य समेत

 

§  निवेदकले निवेदनमा निर्वाचनमा उल्लेख भएका व्यहोरा निवेदकको भनाई सिवाय अन्य कुराबाट पुष्टि हुन सकेको अवस्था छैन । निवेदकले उल्लेख गर्नु भएको नियम ३५२ को कानूनी व्यवस्था विपरीत के कस्तो कारण निर्वाचन भएको निवेदक स्वयमले भन्न नसकेको समेतबाट प्रथम दृष्टिबाट नै निवेदकको मागबमोजिम आदेश जारी हुनसक्ने पर्याप्त आधार कारण नदेखिँदा लिखित जवाफ मागी रहनु नपर्ने 

(प्रकरण नं. ३)

 

निवेदक तर्फबाटःविद्वान अधिवक्ता श्री सोमनाथ सापकोटा

विपक्षी तर्फबाटः

अवलम्वित नजीरः

सम्बद्ध कानूनः

§  त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियमावली, २०५० को परिच्छेद् ८३ नियम ३५२ र ३५२(क)(ख)(ग)(घ)

 

आदेश

नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ अन्तर्गत धारा १०७(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदन यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने हुँदा निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छः

निवेदक २०६५।१२।६ गते तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पद्मकन्या क्याम्पसमा अखिल क्रान्तिकारी, अनेरास्ववियु, अनेरास्ववियु (एकिकृत) को तर्फबाट संयुक्त प्यानल बनाई सभापति पदको उम्मेदवार थिएं । निर्वाचन धाँधलीसहितको हुने क्रियाकलाप विपक्षीले देखाएकोले हाम्रो प्यानलको आवाजमा अनिश्चितकालीन समयको लागि निर्वाचन स्थगित भयो । धाधलीरहित ढंगबाट निर्वाचन गर्ने वातावरण भएपछि निर्वाचन गर्ने, सो सम्बन्धमा विद्यार्थी संगठनहरू, निर्वाचन समितिसमेतको छलफल भएको र पछि मिति तोक्ने कुरा तय भएकोमा २०६५।१२।१२ मा क्याम्पस प्रमुखले वैठक वोलाए । सवैको सहमतिबाट निर्वाचन मिति तय गर्ने भनिएता पनि २०६५।१२।१४ मा क्याम्पस प्रमुखले निर्वाचन संयोजक हेमचन्द्र नेपाललाई पत्र लेखी त्रि.वि.वि. केन्द्रीय कार्यालयको २०६५।१२।९ को निर्णयअनुसार स्थगित निर्वाचन २०६५।१२।१७  मा सम्पन्न गर्नु भन्ने पत्र जवर्जस्त रूपमा पठाइयो । सवैको सहमतिमा निर्वाचन तय गर्ने भन्ने ज्ञापनपत्र दिई आश्वासनसमेत पाएकोमा एकाएक एकपक्षीय रूपमा निर्वाचन मिति तय गरी म एंव मेरो प्यानललाई निर्वाचनमा भागै लिन नसक्ने वातावरण वनाइयो । हाम्रो पक्षकालाई कुट्ने पिट्ने, वाहिरबाट मानिस ल्याउने, नक्कली परिचयपत्र वितरण गर्ने, टिपेक्स प्रयोग गरी मतपत्रमै धाँधली गरी निर्वाचन गरियो । निर्वाचन अधिकृतका सहिछाप नभएका मतपत्रसमेत प्रयोग गरी एकलौटी रूपमा निर्णय परिणाम घोषणा गरियो । आमनिर्णयको मान्यता विपरीत रहेको निर्वाचन, त्यसको परिणाम एवं विपक्षीको कार्य अन्तरिम संविधान, २०६३ को धारा १२, १३(१)(२)(३) त्रि.वि. संगठन तथा शैक्षिक प्रशासन नियमावली, २०५० को परिच्छेद ८३ नियम ३५२ समेतको त्रुटिपूर्ण हुँदा उक्त गैरकानूनी निर्वाचन बदर गरी पुनः अर्को निर्वाचन गर्नु भन्ने विपक्षीका नाममा उत्प्रेषणलगायतका परमादेशको आदेश जारी गरिपाऊँ । निवेदनको अन्तिम टुंगो नलागेसम्म गैरकानूनी रूपमा निर्वाचित घोषित गरिएका पदाधिकारीलाई स्ववियूमा कार्य आरम्भ नगर्नु नगराउनु भनी अन्तरिम आदेश समेत जारी गरिपाऊँ भन्ने निवेदन 

नियमबमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी निर्णयार्थ इजलाससमक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सोमनाथ सापकोटाले निवेदक समेतका विद्यार्थी संगठन एवं विपक्षी क्याम्पस प्रशासनबीच सहमति भई रोकिएको निर्वाचन सवैको सहमतिमा मिति तोकी निर्वाचन गरिने भन्ने सहमति भएकोमा एकपक्षीय रूपमा क्याम्पसको छापै नलागेको प्याडमा निर्वाचन समितिका संयोजकलाई मिलेमतोमा राखी निर्वाचन मिति कायम गरिनु नै त्रुटिपूर्ण छ । मतपत्र निर्वाचन अधिकृतका सही वेगरका छन् । क्रान्तिकारी विद्यार्थीलाई निर्वाचनमा वञ्चित गराउने ध्येयबाट मारपीट भएको छ । पत्रपत्रिकाले सो कुरा लेखेका छन । यस्तो अवस्थामा एकपक्षीय रूपमा निर्वाचन परिणाम घोषणा गरिएको छ । त्यस्तो निर्वाचनले मान्यता प्राप्त गर्न नसक्ने हुँदा बदर हुनु पर्दछ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो 

उपरोक्तबमोजिम विद्वान अधिवक्ताको बहस समेत सुनी मिसिल अध्ययन गरी निवेदकको मागबमोजिमको आदेश जारी हुने हो होइन भनी निर्णय दिनुपर्ने हुन आयो 

२.    निर्णयतर्फ विचार गर्दा निवेदक २०६५।१२।६ मा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अखिल क्रान्तिकारीको तर्फबाट सभापतिको उम्मेद्वार रहेकोमा निवेदकसमेतको प्यानललाई हराउन विपक्षीबाट कुट्ने पिट्ने धम्काउने कार्य भएको हुँदा हाम्रो ज्ञापन पत्र समेतको कारणबाट निर्वाचन स्थगित भएको थियो । सवै विद्यार्थीको सहमतिमा निर्वाचन मिति तय गरिने सहमति भएकोमा सो विपरीत २०६५।१२।१७ मा निर्वाचन मिति तोकी धाँधली गरी हामीलाई निर्वाचनमा वञ्चित गरी एकलौटी निर्वाचन परिणाम घोषणा गरिएको विपक्षीको कार्य गैरकानूनी हुँदा सो निर्वाचन परिणाम नै बदर हुन पर्दछ भन्ने निवेदन रहेको पाइयो 

३.    यसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्बन्धमा निवेदकले त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियमावली, २०५० को परिच्छेद् ८३ नियम ३५२ बाहेक अन्य कानून देखाउन सकेको छैन । नियम ३५२ (क) ले युनियन निर्वाचनका लागि क्याम्पस प्रमुखले १ निर्वाचन अधिकृत र सहयोगीहरू आवश्यकताअनुसार तोक्ने, (ख) ले निर्वाचन अधिकृतले निर्वाचनसम्बन्धी कार्यविधि तर्जुमा गरी निर्वाचन गराउने, (ग) ले मत बराबर भएमा निर्वाचन अधिकृतले गोलाप्रथाद्वारा निर्णय गर्ने र (घ) ले निर्वाचनमा विद्यार्थीहरूले आफ्नो संगठन वा स्वतन्त्र वा व्यक्तिगत रूपमा उम्मेद्वारी दिन सक्ने व्यवस्थासम्म गरेको देखिन्छ । निवेदकले निवेदनमा निर्वाचनमा उल्लेख भएका व्यहोरा निवेदकको भनाई सिवाय अन्य कुराबाट पुष्टि हुन सकेको अवस्था छैन । निवेदकले उल्लेख गर्नु भएको नियम ३५२ को कानूनी व्यवस्था विपरीत के कस्तो कारण निर्वाचन भएको निवेदक स्वयम्ले भन्न नसकेको समेतबाट प्रथम दृष्टिबाट नै निवेदकको मागबमोजिम आदेश जारी हुनसक्ने पर्याप्त आधार कारण नदेखिँदा लिखित जवाफ मागिरहनु पर्ने अवस्था देखिन आएन । प्रस्तुत निवेदन खारेज हुने ठहर्छ । मिसिल नियमबमोजिम बुझाई दिनू 

                             

इति संवत् २०६५ चैत २४ गते रोज २ शुभम् ....

 

इजलास अधिकृतः कविप्रसाद न्यौपाने

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु