निर्णय नं. ६९९१ - अंश

निर्णय नं. ६९९१ ने.का.प. २०५७ अङ्क ३.४
संयुक्त इजलास
सम्मानीय प्रधान न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
माननीय न्यायधीश श्री केदारप्रसाद गिरी
सम्वत २०५४ सालको दे.पु.नं. ३५३०
आदेश मितिः २०५७।८।१९।२
मुद्दाः अंश
पुनरावेदक/प्रतिवादीः भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. ७ बस्ने चित्रबहादुर खड्का समेत।
विरुद्ध
प्रत्यर्थी/वादीः जिल्ला गोरखा, कनास गा.वि.स. वडा नं. १ बस्ने पुष्पकुमारी खड्का ।
§ नोकरीको दोरानमा निजको यू.एस.एड बाट प्राप्त छात्रवृत्तिमा भारत सरकारद्वारा संचालित दश महिने तालिम भारतको नयाँ दिल्लीमा लिएको, एभरेष्ट इङ्गलिस स्कूलमा नर्सिङ सुविधा पुर्याउँदै आए वापतको थप आर्जन रहेका साथै समय समयमा विभिन्न कक्षा संचालन गरिदिने र प्रश्नपत्र तयार गरिदिने सम्बन्धको निजका नाउँका प्रेषित पत्रहरुबाट नियमित सरकारी सेवा गरे वापतको आर्जनका साथै निजी ज्ञानशीपबाट समेत थप आर्जन गर्न सक्ने निजी ज्ञान र शीप भएकी व्यक्ति होइन रहिछन् भनी अन्यथा अर्थ लिइरहने अवस्था देखिंदैन। सरकारी नोकरी गरे वापत कर्मचारीको हैसियतले प्राप्त गर्ने कर्मचार संचय कोषबाट वितरीत २ वर्षे घर निर्माण सापटी समेत निजले लिएको भन्ने कुरा कोषको पत्रबाट देखिंदा निजका नाउँमा रहेको घर समेत निजकै निजी प्रयासबाटै निर्माण भएको भन्ने देखिन आउँछ । साथै घर निर्माणको लागि भनी ऋण लिएको भनी तायदातीमा उल्लेख भएको ऋण धनका सम्बन्धमा वादीले अन्यथा भन्न सकेको अवस्था पनि छैन । यस अदालतबाट भएका पूर्व विभिन्न निर्णयहरुमा निजी ज्ञापशीप वा प्रसासबाट आर्जन गरेको प्रमाणित नभएमा मात्र अंशियारक नाउँमा रहेको सम्पत्ति प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार सगोलको हो भन्ने अनुमान गरी वण्डा गर्नु पर्ने भन्ने सिद्धान्तहरु प्रतिपादन भएका पाइन्छन् । प्रस्तुत विवादमा प्रतिवादी सानुमाया खड्काको व्यक्तिगत अध्ययन, पेशा, अनुभव र दक्षता समेतक आधारमा उल्लेख भएका सम्पत्तिहरु आर्जन गर्न नसक्ने अवस्थाका व्यक्ति रहिछन् भनी अनुमान गर्न नसकिने अवस्था भै विवादित काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गतको कि.नं. २९८, कि.नं ४५७, ३०१, ४४३ को जग्गा र भक्तपुर कटुञ्जेको कि.नं. १४६९ मा बनेको घर पुनरावेदक प्रतिवादी सानुमाया खड्काको निजी ज्ञानशीप र प्रयासबाट आर्जन भएको निजी आर्जनको सम्पत्ति ठहरी ती सम्पत्ति अंशियारलाई बण्डा लाग्न अवस्था देखिन नआउने ।
(प्र.नं. २३)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री सुशिलकुमार पन्त
प्रत्यर्ती वादी तर्फबाटःX
अवलम्वित नजिरःX
फैसला
न्या.केदारप्रसाद गिरीः पुनरावेदन अदालत पोखराको मिति २०५३।१।२३ को फैसला उपर परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्याउने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यस प्रकार छः
२. केहर सिंहको छोरा प्रतिवादी चित्रबहादुर खड्काको श्रीमती मध्ये म फिरादी जेठी श्रीमती, प्रतिवादी सानुमाया खड्का कान्छी श्रीमती, प्रतिवादी स्वरुप खड्का र स्वदिप खड्का सानुमायाबाट जन्म भएको छोराहरु हुन् । म फिरादीको तर्फबाट एक छोरी सावित्रीको जन्म भै विवाह समेत भै सकेको छ । प्रतिवादी स्वरुप खड्का र स्वदिप खड्काको विवाह भएको छैन । विपक्षी प्रतिवादी चित्रबहादुर नोकरी गर्ने सिलसिलामा काठमाडौं उपत्यकामा नै बस्दै आएको र घरमा भएको गहना अन्नपात समेत बिक्री गरी रुपैंया र ससुरा केहर सिंहको नाममा रहेको जग्गामा भएको काठ समेत लगी भक्तपुर कटुन्जे गा.वि.स. वडा नं. ८(क) मा घडेरी जग्गा खरीद गरी घर बनाउनु भएको छ । साथै काभ्रेपलाञ्चोक जिल्लामा समेत जग्गा खरिद गरेको छ । म फिरादी गोरखाबाट २०५० सालको दशैंमा विपाक्षी पतिको हातबाट टिका लगाउन भक्तपुर जाँदा यहाँ किन आएको, यो घरमा बस्ने अधिकार छैन । गोरखाको घरमा पनि अबदेखि बस्न पाउँदिनस । अब देखि हामीसँग कुनै नाता पनि छैन भनि प्रतिवादीहरुले भनेकोले हामी ५ अंशियार भएको हुँदा विपक्षी चारै जनाबाट सबै चल अचल सम्पत्तिको तायदाती फाँटवारी लिई प्रतिवादी स्वरुप र स्वदिपको विवाह खर्च पर सारी ५ भागमा १ भाग म फिरादीलाई अंश दिलाई चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको फिराद–पत्र ।
३. वादी फिराद प्रथमतः हामी सबै प्रतिवादीहरु भक्तपुरमा रहे भएकोले अ.वं. २९(१) को देहाय २ र २९(२) को देहाय ४ विपरीत भएको हुँदा अधिकारक्षेत्रको त्रुटि साथै अंशवण्डाको १० नं. ले खान लाउन नदिए मात्र अंश दिनुपर्ने हुँदा खान लाउन दिई रहेको अवस्थामा वादीको फिराद खारेज गरी पाउँ । गोरखा जिल्लाको हाम्रो हक भोगको घरजग्गा नै पैतृक वण्डा लाग्ने सम्पत्ति हुन् । भक्तपुरको घर जग्गा निजी आर्जनको हँदा वण्डा नलाग्ने सम्पत्ति हो । वर्ष १२ को सुदिप खड्कालाई साबालक बनाई फिराद परेकोले निजको हकमा प्रतिउत्तर नपरेको हो भन्ने समेत व्यहोराको प्रतिवादीहरु चित्रबहादुर, सानुमाया र स्वरुप सिंहको संयुक्त प्रतिउत्तर–पत्र ।
४. वादीले प्रतिवादीहरुबाट अंश पाउनु पर्ने हो । प्रतिवादीले कान्छी श्रीमती ल्याई वादीलाई अंश दिन इन्कार गरेको हो भन्ने समेत व्यहोराको वादीको साक्षी मोहनबहादुर बानियाले गरेको बकपत्र ।
५. भक्तपुर घर जग्गा र काभ्रेपलाञ्चोकको जग्गा प्रतिवादीहरुको स्वआर्जनबाट बनेको हुँदा वण्डा लाग्नु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी पुर्णबहादुर खत्रीको वकपत्र ।
६. प्रतिवादी मध्ये सानुमायाको नाममा रहेको भक्तपुर र काभ्रेका जग्गा बकसपत्र तथा निजी आर्जन स्वरुप पेवा सरहको हुँदा वण्डा लाग्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादीको साक्षी तेजबहादुरको बकपत्र ।
७. वादी माइती मावलीमा बस्दै आएको छ । प्रतिवादीहरुबाट निजले अंश पाउनु पर्ने हो भन्ने समेत व्यहोराको वादीको साक्षी रेउत कुमारी खत्रीको बकपत्र ।
८. सानुमायाको नाउँमा रहेको काभ्रेको जग्गा बकसपबाट प्राप्त भएको र भक्तपुरको जग्गा स्वआर्जनबाट बनाएको हुँदा वण्डा लाग्ने होइन भन्ने समेत व्यहारोको प्रतिवादीका साक्षी रामभक्त श्रेष्ठले गरेको बकसपत्र ।
९. प्रतिवादीबाट वादीले अंश पाएको छैन । प्रतिवादीहरुको नाममा रहेको भक्तपुर र काभ्रेको जग्गा समेत वण्डा लाग्नु पर्ने हो । हाल वादी माइतीले बनाइ दिएको घर बसी आएको छु भन्ने समेत व्यहोराको वादीको साक्षी अम्बिका बानियाको बकपत्र ।
१०. प्रतिवादीहरुबाट वादीले अंश पाउनु पर्ने हो भन्ने समेत व्यहोराको वादीको साक्षी राममाया बानियाले गरेको बकपत्र ।
११. प्रतिवादीहरुको नाममा रहेको सम्पत्तिबाट वादीले अंश पाउनु पर्ने हो भन्ने समेत व्यहोराको वादीको साक्षी दत्तीरामले गरेको बकपत्र ।
१२. दुबैथरीबाट पेश दाखिल गरेका सम्पूर्ण चल अचल सम्पत्तिहरु निजी आर्जनको नभई सगोलकै सम्पत्ति भएको ठहर्छ । वादीले उक्त तायदाती फाँटवारीबाट दुई छोराहरुको विवाह खर्च पर सारी पाँच खण्डको एक खण्ड वादीले अंश पाउने ठहर्छ भन्ने समेत व्यहोराको गोरखा जिल्ला अदालतको मिति २०५२।२।२२ को फैसला ।
१३. अंश प्राप्त गर्न अंशियार हुनु नै पर्याप्त होइन । अंशवण्डाको १० नं. बमोजिम म चित्रबहादुरले वादीलाई गोरखा फिनामको सम्पूर्ण जग्गा र सम्पत्ति जिम्मा लगाइरहेको अवस्थामा कुनै कुरा नबोली गरेको शुरुको फैसला बदरभागी छ । प्रतिवादी मध्येका सानुमायाले आफूले ज्ञानशीपबाट कमाएको रकमबाट किनेको जग्गा र बनाएको घरका साथै बकसबाट प्राप्त जग्गा समेत वण्डा हुने गरी गरेको शुरु फैसला कानूनी त्रुटिपूर्ण छ । तसर्थ उक्त त्रुटिपूर्ण फैसला बदर गरी हाम्रो प्रतिउत्तर जिकिर बमोजिम इन्साफ पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, पोखरामा परेको प्रतिवादी चित्रबहादुर समेतको संयुक्त पुनरावेदन–पत्र ।
१४. वादीले फिरादमा सगोलको आर्जनबाट खरिद गरिएको भनेका जग्गाहरु त्यसरी खरिद गरिएको होइनन. भनी प्रतिवादीहरुबाट युक्तियुक्त खण्डन हुन सकेको अवस्था छैन । तसर्थ वादीले पाँच खण्डको एक खण्ड अंश पाउने ठहर्याएको शुरु जिल्ला अदालतको फैसला मिलेकै देखिंदा मुनासिव ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पोखराको मिति २०५३।१।२३ को फैसला ।
१६. प्रतिवादी मध्ये म सानुमायाले स्वआर्जनबाट खरिद गरेको सम्पत्ति र बकस पाएको सम्पत्ति सबै अंशियारलाई वण्डा हुने गरी गरेको फैसलामा अंशवण्डाको १८ नं. को गंभीर त्रुटी रहेको छ । सगोलको सम्पत्तिको काठ लगी घर बनाएको भन्ने फिराद भएकोमा त्यसको प्रमाण गर्ने भार प्रमाण ऐन, २०३१ को दफा २६ ले विपक्षी वादीको नै हुने हुँदा उक्त दफा समेतको गलत व्याख्या गरी गरेको पुनरावेदान अदालतको फैसला त्रुटिपुर्ण छ । हामी प्रतिवादीहरुको बसोबास भक्तपुरमा भएकोमा हामी उपर मुद्दा दिंदा अ.वं. २९(१)(२), २(४) ले भक्तपुर जिल्ला अदालतमा फिराद दिनुपर्नेमा सो नदिएकोले अधिकारक्षेत्रविहीन गोरखा जिल्ला अदालतले गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पोखराको फैसला अ.वं. २९(१)(२), २(४) को समेत गलत व्याख्या गरी भएको छ । तसर्थ कानूनी त्रुटिपूर्ण फैसला उपर मुद्दा दोहार्याई हेरी वादीलाई गोरखामा रहेको सम्पत्तिबाट मात्र ५ खण्डको १ खण्ड अंश दिलाई इन्साफ पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा प्रतिवादीहरुको पर्न आएको मुद्दा दोहर्याई हेरी न्याय पाउँ भन्ने समेत व्यहोराको संयुक्त निवेदन पत्र ।
१७. प्रतिवादीबाट पेश भएको तायदाती फाँटवारीमा उल्लेखित क्रमशः कि.नं. ४५७, २९८ र ३०१ को जग्गा प्रतिवादी मध्येको सानुमाया खड्काले बकसपत्रबाट पाएको देखिन आएकोले उक्त सम्पत्ति सबै अंशियार बीच वण्डा लगाउने गरेको पुनरावेदन अदालत, पोखराको फैसला अंशवण्डाको १८ नं. को व्याख्यात्मक त्रुटि र सम्वत् २०५० सालको दे.पु.नं. ११०६ को अंश मुद्दा (स.अ. बुलेटिन वर्ष ४, अंक २४, पूर्णाङ्क ९०) मा प्रतिवादीत नजिर समेतको प्रतिकूल भएको देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को आधारमा प्रस्तुत मुद्दामा दोहर्याउने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५४।५।६ को आदेश ।
१८. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरुको तर्फबाट विद्वान अधिवक्ता श्री सुशिलकुमार पन्तले प्रतिवादी मध्येकी सानुमाया खड्काले आफ्नो ज्ञानशीपबाट र संचय कोषको रकम र विभिन्न ठाउँमा विभिन्न सेवा तालिम गरे गराएको कार्यबाट आर्जन गरेको रकमका साथै लिएको ऋण र बकसपत्रबाट प्राप्त गरेको विवादको कि.नं. ४५७, २९८, ३०१, ४४३, १४६९ को जग्गा र १४६९ बनेको घरहरु अंशवण्डाको १८ नं. ले वण्डा नलाग्ने सम्पत्तिहरु हुन्, यी सम्पत्तिहरु पैतृक सम्पत्ति भएको वा पैतृक सम्पत्तिबाट बढे बढाएको सगोलको सम्पत्ति होइन । निजी सम्पत्ति हुन् । निजी होइन भनी उल्लेखित कि.नं. को घरजग्गा वण्डा लाग्ने ठहर गरेको सम्म शुरु सदर गरेको पुनरावेदन अदालत पोखराको फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म उल्टी हुनु पर्छ भन्ने समेत व्यहोराको मूख्य वहस जिकिर प्रस्तुत गर्नु भयो । प्रत्यर्थी वादीको वारेश बुद्धिबहादुर बानियाले विवादिन सम्पत्ति समेत सबै अंशियार बीच वण्डा लाग्ने सगोलको सम्पत्ति हुँदा वण्डा लाग्ने गरेको ठीक छ भन्ने समेत व्यहोराको जिकिर प्रस्तुत गर्नु भयो ।
१९. आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दामा मूलतः निम्न प्रश्नहरुको निराकरण हुनु पर्ने देखियो ।
(क) विवादित ४५७, २९८, ३०१, ४४३ र १४६९ को जग्गा र सो भक्तपुर जिल्ला अन्तर्गतको कि.नं. १४६९ मा बनेको घर समेतका सम्पत्तिहरु प्रतिवादी मध्येका सानुमाया खड्काको निजी ज्ञानशीप वा प्रयासबाट आर्जन भएको सम्पत्ति हो होइन ? र ती सम्पत्तिहरु अंशियार बीच वण्डा लाग्ने सम्पत्ति हो होइन ?
(ख) पुनरावेदन अदालतको फैसला मिलेको छ छैन ?
(क) पहिलो प्रश्नको निराकरणको लागि सर्वप्रथम तत् सम्बन्धी कानूनी व्यवस्थाको उल्लेखन हुनु उपयुक्त देखिन आउँछ । मुलकी ऐन अंशवण्डाको महलको १८ नं. ले मानो नछुट्टिई सँग बसेका अंशियार छन् भने जुनसुकै अंशियारले सगोलको सम्पत्तिबाट वा सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट बढे बढाएको सगोलको आर्जन र लेनदेन व्यवहारको महलको ८ नं. बमोजिम लगाएको ऋण सबै अंशियारलाई भाग लाग्छ । सो बाहेक कुनै अंशियारले आफ्नो ज्ञान वा शीप वा प्रयासबाट निजीआर्जन गरेको वा कसैबाट निजी तवरले दान बकस पाएको वा कसैको अपुताली परेको वा स्त्री अंशधनको महलको ५ नं बमोजिम पाएकोम त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफूखुसी गर्न पाउँछ । वण्डा गर्न कर लाग्दैन । अंश नभए पनि मानो छुट्टिई भिन्न बसेको वा रजिष्ट्रेशन नगरी खती उपती आफ्नो आफ्नो गरी आ–आफ्नो हिस्सासँग मात्र राखी खानु पिउनु गरेकोमा एकै ठाउँमा भए पनि मानो छुट्टिई भिन्न भएको ठहर्छ । त्यस्तो कमाएको धन लाएको ऋण आफ्नो आफ्नो हुन्छ भन्ने व्यवस्था गरेको देखिन्छ । यस १८ नम्बरले स्त्री अंशधनको ५ नम्बरको व्यवस्थालाई समेत समेटेको पाइँदा उक्त ऐनको उल्लेखन पनि प्रस्तुत विवादमा सान्दर्भिक हुन आउँछ । स्त्री अंशधनको ५ नं. मा स्वास्ती मानिसले आफ्नो दाइजो पेवा आफूखुस गर्न पाउँछन । मरेपछि यसले खानु भनी लिखत गरिदिएको रहेछ भने लिखतै बमोजिमा हुन्छ । त्यस्तो लिखत रलाई समेत समेटेको पाइँदा उक्त ऐनको उल्लेखन पनि प्रस्तुत विवादमा सान्दर्भिक हुन आउँछ । स्त्री अंशधनको ५ नं. मा स्वास्ती मानिसले आफ्नो दाइजो पेवा आफूखुस गर्न पाउँछन । मरेपछि यसले खानु भनी लिखत गरिदिएको रहेछ भने लिखतै बमोजिमा हुन्छ । त्यस्तो लिखत रहेनछ भने उसको सँग बसेका छोरा भए त्यस्तो छोराले, छोरा नभए भिन्न बसेका छोराले, त्यस्तो छोरा नभए लोग्नेले, लोग्ने नभए कन्या छोरीले, कन्या छोरी नभए विवाह भएकी छोरीले, ऊ नभए छोराको छोराले, छोराको छोरा नभए छोरीको छोराले ऊ पनि नभए हकवालाले पाउँ छ भन्ने व्यवस्था भएको देखिन्छ ।
२०. प्रस्तुत कानूनी व्यवस्थाको समूचित अध्ययनबाट अंशियार बीच वण्डा लाग्ने सम्पत्ति मध्ये (१) मानो नछुट्टिएको अंशियार हुनु पर्ने (२) संगालको सम्पत्ति हुनुपर्ने (३) संगोलको सम्पत्तिबाट वा खेती, उद्योग, व्यापार, व्यवसायबाट बढे बढाएको संगोलको आर्जन हुनु पर्ने देखिन आउँछ । त्यसै गरी अंशियार बीच वण्डा नलाग्ने सम्पत्तिमा (१) अंशियारले आफ्नो ज्ञान र शीप वा प्रयासबाट निजी आर्जन गरेको (२) कसैबाट निजी तवरले दान वा बकस पाएको (३) कसैको अपुताली परेको (४) स्त्री अंश धनको ५ नम्बर बमोजिम पाएको (५) मानो छुट्टी बसेको अवस्थामा कमाएको सम्पत्ति र ऋण धन हुनुपर्ने देखिन आउँछ ।
२१. प्रस्तुत विवादमा विवादित कि.नं. ४५७ समेतका प्रश्न नं. (१) उल्लेखित भएका ५ कित्ता जग्गा र घर प्रतिवादी मध्येको सानुमाया खड्का नाममा दर्ता भै निजको हकभोगमा रहेको भन्नेमा विवाद देखिंदैन । ती जग्गाहरु यी प्रतिवादी सानुमाया खड्काको नाममा विभिन्न मितिको राजीनामा र बकसपत्रबाट प्राप्त भएको र ती लिखतहरु अद्यापी कायमै रहेकोमा पनि विवाद छैन । पुनरावेदक प्रतिवादी मध्येकी यी सानुमाया खड्का यी सम्पत्तिहरु आर्जन गर्न सक्ने ज्ञानशीप भएको व्यक्ति हुन कि होइनन् भन्ने मूल प्रश्न प्रस्तुत विवादमा उत्पन्न भएको पाइन्छ । प्रमाण ऐन, २०३१ को दफा ६(२) ले अन्यथा प्रमाणित नभएसम्म एकाघरको सँगको अंशियारहरु मध्ये जुनसुकै अंशियारका नाममा रहको सम्पत्ति सगोल सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ भन्ने व्यवस्था भएबाट सगोलको अंशियार मध्ये कुनै अंशियारको नाउँम रहेको सगोलको सम्पत्ति सगोलको होइन भन्ने प्रमाणित गर्ने आधार छ छैन हेर्नु पर्ने हुन आउँछ । सम्पत्ति वण्डा सम्बन्धी विधायिकी मनसाय पनि यही रहेको देखिन्छ ।
२२. प्रस्तुत मुद्दा वादी प्रतिवादी दाजुभाइ वा बाबु छोरा नभै सौता र सौताका छोरा बीचमा चलेको छ । वादी पुष्मकुमारी खड्का प्रतिवादी चित्रबहादुर खड्का की जेठी श्रीमती र प्रतिवादी सानुमाया खड्का वादीकी सौता र प्रतिवादी चित्रबहादुरको कान्छी श्रीमती तथा अन्य प्रतिवादीहरु सानुमाया तर्फका छोराहरु रहेको भन्नेमा विवाद छैन । वादीले आफ्नो ठेगाना गण्डकी अंचल गोरखा जिल्ला फिनाम गा.वि.स. वडा नं ९ बस्ने भनी र प्रतिवादीहरुको ठेगाना गण्डकी अंचल गोरखा जिल्ला फिनाम गा.वि.स. वडा नं ६ घर भै हाल भक्तपुर कटुञ्जे गा.वि.स. वडा नं. ८(क) बस्ने भन्ने फिरादमा नै उल्लेख गरेबाट वादी र प्रतिवादी सगोल एकै घर परिवारमा बसी आएको अवस्था वादीको भनाइबाट देखिन आउँदैन । साथै पनि चित्रबहादुर नोकरी गर्ने भएकोले प्रायः काठमाडौं उपत्यकामा नै बस्ने गरेको र सानुमाया खड्का पतिकै साथमा साथसाथै रहने गरेको, म फिरादी गोरखाको घर जग्गाधनी बसेको भन्ने फिरादमा उल्लेख भएबाट यी प्रतिवादीहरु गोरखामा नबसी अन्यत्रै बस्ने गरेको भन्ने कुरामा समेत वादीले फिराद लेखेमा नै स्वीकार गरेको पाइन्छ । प्रतिवादी मध्येका चित्रबहादुर खड्का र सानुमाया खड्का दुबै सरकारी सेवामा रहेका र विपक्षी सानुमाया खड्का २०३१ सालदेखि स्टाफनर्स पदमा कार्यरत रही हाल स्वास्थ्य सेवा नर्सिङ्ग समूहको अधिकृत सातौं तहमा कार्यरत रहेको भन्ने कुरा मिसिल संलग्न रहेको तह मिलान समेतका कागजातबाट देखिन आउँछ । विवादित सम्पत्तिको श्रोत हेर्दा काभ्रेपलाञ्चोक जिल्लाको कि.नं. ४५०, २५८ र ३०१ को जग्गाहरु कान्छी बिष्टबाट २०३९।११।१६ मा पारित हालैदेखिको बकसपत्रबाट ऐ जिल्लाको कि.नं. ४४३ को जग्गा रु. २,०००/– मा ठूलीकान्छी पुखा श्रेष्ठ र सानीकान्छी पुखा श्रेष्ठबाट २०४४।१०।१९ को पारित राजीनामाबाट र भक्तपुर कटुञ्जे ८ ख को कि.नं. १४६९ को ०–३–३–३ जग्गा रु. १,००,०००/– मा श्यामकृष्ण भुजुबाट ०४६।८।१२ मा परित राजीनामा रहेको देखिन्छ । यी सबै कित्ताजग्गा प्रतिवादी सानुमायाको नाममा उल्लेख भए बमोजिम हक प्राप्त भएको र ती जग्गाहरु निजके हक भोगमा रही कि.नं. १४६९ मा घर समेत निर्माण गरी हाल निजको पति प्रतिवादी चित्रबहादुर र छोरा दिप र स्वरुप रहँदै आएको भन्ने देखिन आउँछ ।
२३. ती जग्गाहरु प्रतिवादी सानुमायाले फिराद लेखमा उल्लेख भए झैं गोरखाको घर सम्पत्ति खेतीपातीबाट प्राप्त रकम लगाई बढे बढाउको सम्पत्ति हो वा प्रतिवादी सानुमाया स्वयंले ज्ञानशीप वा प्रयासबाट आर्जन गरेको के हो भन्नेमभ मूल प्रश्न उपस्थित हुन आएको देखिंदा त्यसतर्फ विचार गर्दा माथि उल्लेख भए बमोजिम प्रतिवादी सानुमाया खड्का २०३१ साल देखिनै सरकारी नोकरीमा प्रवेश गरेकी र निजको नोकरी प्राविधिक किसिमको अर्थात विशेष प्रकारको भएको भन्ने विवाद भएन । नोकरीको दोरानमा निजको यू.एस.एड बाट प्राप्त छात्रवृत्तिमा भारत सरकारद्वारा संचालित दश महिने तालिम भारतको नयाँ दिल्लीमा लिएको, एभरेष्ट इङ्गलिस स्कूलमा नर्सिङ सुविधा पुर्याउँदै आए वापतको थप आर्जन रहेका साथै समय समयमा विभिन्न कक्षा संचालन गरिदिने र प्रश्नपत्र तयार गरिदिने सम्बन्धको निजका नाउँका प्रेषित पत्रहरुबाट नियमित सरकारी सेवा गरे वापतको आर्जनका साथै निजी ज्ञानशीपबाट समेत थप आर्जन गर्न सक्ने निजी ज्ञान र शीप भएकी व्यक्ति होइन रहिछन् भनी अन्यथा अर्थ लिइरहने अवस्था देखिंदैन । सरकारी नोकरी गरे वापत कर्मचारीको हैसियतले प्राप्त गर्ने कर्मचार संचय कोषबाट वितरीत २ वर्षे घर निर्माण सापटी समेत निजले लिएको भन्ने कुरा कोषको पत्रबाट देखिंदा निजका नाउँमा रहेको घर समेत निजकै निजी प्रयासबाटै निर्माण भएको भन्ने देखिन आउँछ । साथै घर निर्माणको लागि भनी ऋण लिएको भनी तायदातीमा उल्लेख भएको ऋण धनका सम्बन्धमा वादीले अन्यथा भन्न सकेको अवस्था पनि छैन । यस अदालतबाट भएका पूर्व विभिन्न निर्णयहरुमा निजी ज्ञापशीप वा प्रसासबाट आर्जन गरेको प्रमाणित नभएमा मात्र अंशियारक नाउँमा रहेको सम्पत्ति प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार सगोलको हो भन्ने अनुमान गरी वण्डा गर्नु पर्ने भन्ने सिद्धान्तहरु प्रतिपादन भएका पाइन्छन् । प्रस्तुत विवादमा प्रतिवादी सानुमाया खड्काको व्यक्तिगत अध्ययन, पेशा, अनुभव र दक्षता समेतक आधारमा उल्लेख भएका सम्पत्तिहरु आर्जन गर्न नसक्ने अवस्थाका व्यक्ति रहिछन् भनी अनुमान गर्न नसकिने अवस्था भै विवादित काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गतको कि.नं. २९८, कि.नं ४५७, ३०१, ४४३ को जग्गा र भक्तपुर कटुञ्जेको कि.नं. १४६९ मा बनेको घर पुनरावेदक प्रतिवादी सानुमाया खड्काको निजी ज्ञानशीप र प्रयासबाट आर्जन भएको निजी आर्जनको सम्पत्ति ठहरी ती सम्पत्ति अंशियारलाई बण्डा लाग्न अवस्था देखिन आउँदैन । सो सम्पत्तिलाई अंशवण्डाको महल १८ नं. को व्यवस्था बमोजिम वण्डा नलाग्ने निजी आर्जनको सम्पत्ति ठहर गर्नु पर्नेम सो लाई समेत सगोलको मानी वण्डा लाग्ने ठहर्याएको शुर गोरखा जिल्ला अदालतको मिति २०५२।२।२२ को फैसला सदर गरेको पुनरावेदन अदालत पोखराको फैसला सो हदसम्म नमिली उल्टी हुन्छ । उल्लेखित कि.नं. ४५७, २९८, ३०१ र ४४३ र भक्तपुर जिल्ला अन्तर्गतको कि.नं. १४६९ को जग्गा र सो कि.नं. १४६९ मा बनेको घर समेत वण्डा लाग्नु पर्ने भन्ने वादी दावी पुग्न सक्दैन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्रतिवादी सानुमाया खड्का समेतके – माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत पोखराको फैसला केह् उल्टीभै काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गतको प्रतिवादी यी सानुमाया खड्काको नाममा रहेको कि.नं. ४५७, २९८, ३०१ र ४४३ र भक्तपुर जिल्ला अन्तर्गतको कि.नं. १४६९ र सो मा बनेको घर वण्डा नलाग्ने ठहर भएकोले शुरु फैसलाको तपसीलको व्यहोरा यी ५ कित्ता जग्गा बाहेक गरी बाँकीमा मात्र वादीले ५ भागको १ भाग अंश पाउने हुँदा शुरु फैसलाको तपसीलमा उल्लेखित सो ५ कित्त बाहेक अरु बाँकी सम्पत्तिबाट ५ भागको १ भाग अंश छुट्याई पाउँ भनी कानूनका म्याद भित्र वादी माग गर्न आए वादीको भाग छ्ट्याई दिनु भनी शुरु गोरखा जिल्ला अदालतमा लेखी पठाई दिनु............१
पुनरावेदक प्रतिवादी सानुमाया खड्का समेत के, माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालतको फैसला केही उल्टी भै कि.नं. ४४३ समेतको ५ कित्ता जग्गामा वादी दावी नपुग्ने ठहरेकोले सोको तायदातीमा उल्लेखित जम्मा मोल रु. ५,२९,०००/– को ५ भागको १ भागले हुने रु. १,०५,८००/– को हुने शुरु कोर्ट फि रु. ३,३८६/– (वादीले कोर्ट फि ऐन २०१७ को दफा २३ बमोजिम पछि दाखेल गर्ने गरी नराखेको कोर्ट फि) मात्र सदर स्याहा गर्नु पर्नेमा पुनरावेदन अदालत पोखरामा यी प्रतिवादी समेतको पुनरावेदन पर्दा रु. ३,९३६/६७ धरौट राखेको देखिंदा सो धरौट वादीबाटै असूल उपर गर्नुपर्ने भएकोले कानूनको रीत पुर्याई रु. ३,३८६/– पुनरावेदक यी प्रतिवादीले फिर्ता पाउने हुँदा फिर्ता पाउँ भनी कानूनका म्यादभित्र यी पुनरावेदन प्रतिवादी माग गर्न आए फिर्ता दिनु दिलाउनु र बाँकी कोर्ट फि रु. ५५०/६७ सदर स्या गर्नु गराउनु भनी शुरु गोरखा जिल्ला अदालतमा लेखी पठाई दिनु...........२
पुनरोदक प्रतिवादी सानुमाया खड्का समेत के – माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरोदन अदालतको फैसला केही उल्टी भै कि.नं. ४५८ समेतको जग्गा वादी दावी नपुग्ने ठहर भएकोले सो कित्ता ५ को जग्गाको हुने शुरु कोर्ट फि रु. ३,३८६/– को १५% ले हुने कोर्ट फि रु. ५०७/– र यस अदालतमा पुनरोदन दर्ता हुँदा लागेको कोर्ट फि रु. ५०७/– समेत जम्मा कोर्ट फि रु. १,०१४/– प्रत्यर्थी वादीबाट भराई लिन पाउने हुँदा कानूनका म्याद भित्र उक्त कोर्ट फि वादीबाट भराई पाउँ भनी दरखास्त परे भराई दिनु भनी शुरु गोरखा जिल्ला अदालतमा लेखि पठाई दिनु.......३
पुनरावेदक प्रतिवादी सानुमाया खड्का समेत के, शुरु जिल्ला अदालतको फैसला उपर माथि उल्लेख भएको कि.नं. ४५८ समेतको जग्गा कित्ता ५ को हुने रु. ५,२९,०००/– को पाँच भागको १ भागको हुने रु. १,०५,८००/– को १५% ले हुने कोर्ट फि रु. ५०७/– ५०७/– गरी १,०१४/– मात्र कोर्ट फि लाग्नेमा पुनरावेदन अदालतमा पुनरावेदन दर्ता गर्दा र यस अदालतमा पुनरावेदन दर्ता गर्दा समेत क्रमशः रु. ५९०/५०, ५९०/५० समेत गरी १,१८१/– सदर स्याहा गरेको देखिएकोले बढी दाखेल भएको कोर्ट फि रु. १६७/– निजले फिर्ता पाउने हुँदा सो फिर्ता पाउँ भन्ने माग गर्न आए कानून बमोजिम फिर्ता दिनु भनी शुरु गोरखा जिल्ला अदालतमा लेखी पठाई दिनु.............४
प्रत्यर्थी वादी पुष्पकुमारी खड्का के माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरोदन अदालत पोखराको फैसला केही उल्टी भै कि.नं. ४५८ समेतका ५ कित्ता जग्गा र घर समेतमा वादी दावी नपुग्ने ठहरेकोले सो को हुने मोल विगो रु. ५,२९,०००/– को ५ भागको १ भागको हुने रु. १,०५,८००/– मा दावी नपुगेकोले सो विगोको हुने शुरु कोर्ट फि रु. ३,३८६/– वादीबाटै असूल उपर गर्नु पर्ने हुँदा नपुग कोर्ट फि रु. ३,३६१/– वादीबाट असूल उपर गर्नु भनी शुरु गोरखा जिल्ला अदालतमा लेखी पठाई दिनु...............५
नियमानुसार गरी मिसिल बुझाई दिनु.....................६
उपयुक्त रायमा सहमत छु ।
प्र.न्या.केशवप्रसाद उपाध्याय
इति संवत २०५७ साल मंसीर १९ गते रोज २ शुभम् ।