निर्णय नं. ६९९२ - जिउ मास्ने बेच्ने

निर्णय नं. ६९९२ ने.का.प. २०५७ अङ्क ३.४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
सम्वत् २०५५ सालको फौ.पु.नं. २०१९
सम्वत् २०५७ सालको निवेदन नं. ३२१३
फैसला मितिः २०५७।१०।१९।५
मुद्दाः जिउ मास्ने बेच्ने ।
पुनरावेदक/प्रतिवादीः जि. रसुवा यार्सा गा.वि.स. वडा नं. १ घर भै हाल कारागार शाखा सुन्धारा, काठमाडौंमा थुनामा रहेको पासाङ दावा तामाङ (लोप्चन) ।
विरुद्ध
विपक्षी/वादीः पोडे तामाङनी समेतको जाहेरीले श्री ५ को सरकार ।
§ साविक ऐनले सजाय भागी नबनाएकोमा हालको ऐनले सजाय भागी बनाएको अवस्था प्रस्तुत मुद्दामा देखिन नआई मुलुकी ऐन जीउ मास्ने बेच्नेको महल र जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ समेत दुबै ऐनहरुले मानिस बेच बिखन गर्ने कार्यलाई अपराध मानि सजायको व्यवस्था गरि राखेको र सजायको हकमा केही फरक देखिए पनि निज प्रतिवादीलाई मुलुकी ऐन जीउ मास्ने बेच्नेको महलको १ नं. ले हुने कैद सजायको हदभन्दा कम अर्थात जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) ले व्यवस्था गरेको न्यूनतम हदको सजाय गरेको देखिन आउँछ । यसरी जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ को व्यवस्थाले मात्र प्रस्तुत मुद्दामा प्रतिवादीलाई प्रतिकूल असर पारेको अर्थात दण्ड सजाय गरेको भन्ने अवस्था देखिन आएन ।
§ मुद्दाको दायरी अभियोजन तथा प्रमाणको भारको निर्धारण लगायतका कार्यविधिगत कुरा मुद्दा कारवाही चल्दाको अवस्थामा विद्यमान रहेको कानून अनुसार हुने कुरा हो । कार्यविधि कानूनले कसैको हक अधिकार श्रृजना गर्ने नभई कार्यविधि सम्म निश्चित र नियमति गर्ने हुन्छ । कार्यविधि कानूनले कार्यविधि सम्म व्यवस्थित गनेृ हुँदा निवेदन वा उजुरी जुनसुकै वखत परेको भएपनि त्यसमा कारवाही हुँदको अवस्थामा विद्यमान कार्यविधि सम्बन्धी कानूनी प्रक्रिया अपनाउुन पर्ने ।
§ मुद्दा कारवाहीरत अवस्थामा विद्यमान कार्यविधिगत व्यवस्था नै सो मुद्दामा अवलम्वन गर्नु पर्ने हुन आउँछ । प्रस्तुत विवादमा मुद्दा कारवाही चल्दाको अवस्था जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ समते जारी भै लागु भै सकेको देखिन्छ । सो ऐनको दफा ११ ले उक्त ऐनलाई विशेष ऐनको स्थान दिएको हुँदा सामान्य कार्यवित्रिलाई अपवादित गर्न सक्ने उक्त ऐनको कार्यविधिगत व्यवस्था अनुसार जाहेरवाला (पिडीत) ले प्रतिवादीले ललाई फकाई बम्बैको बेश्यालयमा बेची आएको भन्ने समेत मौकामा गरि दिएको बयान तथा सो बयान प्रमाणित भै अदालतमा गरि दिएको वकपत्र थप समर्थन गरि दिएको अवस्था र सो ऐनको दफा ७ बमोजिम विडीतको बयान झुठ्ठा हो र बेचबिखन वा बेश्यावृत्तिमा लगाउने उद्देश्यले लगेको होइन भन्ने कुराको युक्तियुक्त प्रमाण प्रतिवादीले पुर्याउन सकेको नदेखिएको समेत का अवस्थालाई आधार बनाई पुनरावेदन प्रतिवादी पासाङ दावा तामाङ (लोप्चन) ले जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ को दफा ४(क)को कसूरमा ऐ. दफा ८.१ अनुसार कैद वर्ष १० (दश) गर्ने गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५५।५।१६ को इन्साफ मिलकै देखिंदा सदर हुने ।
(प्र.नं. २४ र २५)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री पूर्णचन्द्र पौडेल
विपक्षी वादी तर्फबाटः विद्वान सह न्यायाधिवक्ता श्री नरेन्द्रकुमार पाठक
अवलम्वित नजिरः ने.का.प. २०४९, नि.नं. ४४४९, पृ. २८
फैसला
न्या.लक्ष्मणप्रसाद अर्यालः पुनरावेदन अदालत पाटनको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) अन्तर्गत प्रतिवादीको यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ ।
२. यस रसुवा यार्सा गा.वि.स. वडा नं. १ बस्ने पासाङ दावा तामाङले २०४१ साल देखि ललाई फकाई गरि दुःख हृने गाउँमा के बस्ने, विदेश जाउँ खान लगाउन राम्रो प्रवन्ध मिल्छ भनि फकाई ०४२।१।१ गते विहान घाँस काट्न गएको अवस्थामा पाटी भन्ज्याङ हुँदै काठमाडौंबाट बम्बै भन्ने वेश्यालयको ठाउँमा पुर्याई बम्बैमा २०४७ साल श्रावण महिना सम्म बसी भाद्र महिनामा आएको हुँदा पासाङ दावा लोप्चन तामाङलाई कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको ०४७।६।२० को जोहरी दरखास्त ।
३. २०४१ साल देखि नै विभिन्न लोभलाल्चा देखाई रसुवा जिल्ला यार्सा गा.वि.स. वडा नं. १ बस्ने पासाङ दावा तामाङले गरिव भएको कारणले ०४२।१।१ गते घाँस काट्न गएको अवस्थामा सिसाङ तामाङनी, दिक्की तामाङ समेत हामी ४ जनालाई पैसा कमाउने इच्छाले विदेश लगि गएका थियौं । तर यस्को विपरीत हुन पुग्यो भन्ने समेत व्यहोराको जाहेरवाली लक्की तामाङनी र पोडे तामाङनीको प्रमाणित बयान ।
४. जीउ मास्ने बेच्न मुद्दाको अभियुक्त पासाङ दावा लोप्चन तामाङलाई पक्राउ गर्न पठाएकोमा निज अभियुक्त गाउँ घरमा नभएको भन्ने बुझिएको हुँदा सोही व्यहोरा लेखी पेश गरेका छौं भन्ने समेत व्यहोराको प्र.ह. शंकर थापा समेतको प्रतिवेदन ।
५. अभियुक्त पासाङ दावा लोप्चन तामाङलाई डोर मुकामा उपस्थित गराउन खटाएकोमा निज गाउँ घरमा तदारुखताका साथ खोजतलास गर्दा फेला नपरको भन्ने समेत व्यहोराको प्र.ह. चित्रबहादुर चौलागांईको प्रतिवेदन ।
६. म समेत लक्की तामाङनी, पोड तामाङनी र दिक्की तामाङनी समेत ४ जनालाई रसुवा जिल्ला यार्सा गा.वि.स. वडा नं. १ बस्ने पासाङ दावा तामाङले ललाई फकाई बम्बैमा लगेको हो । निज अभियुक्त पासाङ दावा लोप्चन तामाङलाई यसै कागजद्वारा कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको ०४७।७।१९ को रिसाङ तामाङनीको ठाडो कागज ।
७. मिति ०४२।१।१ गते लक्की तामाङनी, दिक्की तामाङनी र पोड तामाङनी समेत सिफलेप जंगलमा घाँस काट्न गएको मौका पारी फकाई बम्बै लाने रसुवा जिल्ला यार्सा गा.वि.स. वडा नं. १ बस्ने पासाङ दावा तामाङ हो । निजको चरित्र समेत ठिक छैन भन्ने समेत व्यहोराको मिति ०४७।७।१९ को अधिकांश सर्जमिनका मानिसहरुले लेखाई दिएको एक मिलानको सर्जमिन मुचुल्का ।
८. अभियुक्त पासाङ दावा तामाङले जाहेरीवाली लक्की तामाङनी, पोड तामाङनी र दिक्की तामाङनी समेतलाई ललाई फकाई विदेश भारत बम्बैमा पुर्याई जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ को दफा ४(क) अनुसारको अपराध गरेकोले ऐनको दफा ८(१) अनुसारको माग दावी लिई फरार अभियुक्त पासाङ दावा लोप्चन तामाङको हकमा मु.ऐन. अ.वं. ९४ नं. बमोजिम अदालतबाटै वारेण्ट जारी भई प्रहरी प्रतिवेदन मागदावी बमोजिम सजाय हुन मिसिल कागजात प्रहरी प्रतिवेदन साथ संलग्न राखि यसै प्रहरी प्रतिवेदनबाट मुद्दाको कारवाही शुरु हुन सादर अनुरोध गरिएको छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
९. घाँस काट्न गएको बेलामा ललाई फकाई हरेक कुरा गरि फकाए पछि हामी विश्वासमा परी २०४२ सालमा पोडे तामाङनी समेतका ४ जना गएको र बम्बैको कोठामा राखी दावा पासाङ तामाङले बिक्री गरि गएछ, सो कुरा हामीहरुलाई सोही बम्बैका मानिसहरुले भनेबाट थाहा पाएको हुँ, ५ वर्षपछि बम्बैबाट २०४७ सालमा घरमा आएको हो भन्ने समेत व्यहोराको जाहेरवाला लक्की तामाङनी र पोडे तामाङनीले अदालतमा गरेको एक मिलानको बकपत्र ।
१०. प्रतिवादीले मेरो छोरी लक्की र गाउँकै केटी पोडे तामाङनीलाई फकाई बम्बै पुर्याएछ, ५ वर्ष पछि घरमा आए, प्रतिवादी उपर जाहेरी गरेको ठीक साँचो हो भन्ने समेत व्यहोराको सरजमिनका निमा कोल्साङ भन्ने निमकाल्साङ तामाङले अदालतमा गरेको बकपत्र ।
११. प्रतिवादीले केटीहरु बम्बै लगेका हुन, ५ वर्षपछि घरमा आई निजहरुले जाहेरी गरेको हुन, अरु कुरा सर्जमिनमा लेखाई दिएको छु भन्ने समेत व्यहोराको सर्जमिनका दिलबहादुर तामाङले अदालतमा गरेका बकपत्र ।
१२. प्रतिवादकिा नाउँमा वारेण्ट जारी भई रीतपूर्वक तामेल भएकोमा प्रतिवादीले म्यादै गुजारी बसेकाले प्रतिवादीका नाउँमा अंश रोक्का राख्नु र प्रतिवादी हाजिर गर्ने गरी अ.व. १९० नं. बमोजिम प्रस्तुत मुद्दा मुलतवी राख्ने भन्ने २०४८।८।१६ को आदेश बमोजिम प्रतिवादीले केही जग्गा बेचबिखन गरि सकेको केही जग्गा ऋण लिई बिक्री गर्न नपाउने गरि कृषि विकास बैंकमा धितो राखेको, घर भत्की पाताल भएको, चल सम्पत्ति केही नभएको, अरु अंशियार र निजको परिवार समेत नभएको, कहाँ गएको थाहा छैन भन्ने समेत व्यहोराको ०४८।१२।११ को अंश रोक्का मुचुल्का ।
१३. मिति २०४१ साल मंसिर महिना देखि ०४२।३।२२ गते सम्म गोरखा दरवारमा दानी आपा महाआपा सुदिङबाट पुरानो डिजाइनमा काम गरि बसेको थिएँ । केटीहरु को कस्ले फकाए मलाई थाहा भएन । ०४४ सालमा गोरखाबाट काठमाडौं हनुमान ढोकामा काम गरि फर्कि आउँदा केटीहरुले उजूर गरेको छ भनि गरि जि.प्र.का रसुवामा ३ हप्ता थुनामा बसि जिम्मा जमानीमा छाडिदिएबाट सोही वखतदेखि काठमाडौं गई बसेको हुँ, केटीहरुलाई को कस्ले फकाई कहाँ लगी बेचेको हो वा के गरे मलाई थाहा भएन । २०४४ सालमा मलाई पक्राउ गरी ल्याँदा जाहेरी दिने पोडे तामाङनी र लक्की तामाङनी समेतका ५ जना जि.प्र.का. रसुवामा देखेको हुँ र निजहरुको जाहेरी अनुसार पक्राउ गरि ल्याएको हो । केटीहरुलाई मेरो विरोधी कार्साङगी तामाङ र डिल बहादुर तामाङले षडयन्त्र रची केटीहरुलाई फकाई पोल गर्न लगाएको हो । मैले फकाई बम्बै लगी बिक्री गरेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी पासाङ दावा लोप्चन तामाङले शुरु अदालमा गरेको बयान ।
१४. प्रतिवादी पासाङ दावा तामाङ अभियोग पत्र अनुसार केटीहरुलाई ललाई फकाई विदेश भारत बम्बैमा लगी बिक्री गर्ने खालको मानिस होइन । २०३५ साल देखिनै काठमाडौं तिर गएर बसेको थियो रे, काठमाडौं नयाँ बसपार्कमा सिमेण्ट काम पेटी ठेक्का पनि गर्थे । पिडीत केटीहरुको र प्र. पासाङ दावा तामाङ बीच पुरानो रिसइवी के थियो मलाई थाहा छैन । अरु कुरा म खुलाउन सक्दिन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी मेन्दो छिरिङ थोकरले अदालतमा गरेको बकपत्र ।
१५. प्रतिवादी पासाङ दावा लोप्चन तामाङले पिडीत जाहेरवालीहरु पोडे तामाङनी र लक्की तामाङनीलाई ऐनको दफा ४(क) अनुसार भारत बम्बैमा लगि बिक्री गरेको ठहर्छ । सो ठहर्नाले निज प्रतिवादी पासाङ दावा लोप्चन तामाङलाई जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) अनुसार १०(दश) वर्ष कैद हुने समेत ठहर्छ भन्ने समेत व्यहोराको ०५४।९।९ को रसुवा जिल्ला अदालतको फैसला ।
१६. कानूनको गलत व्याख्या गरि गरेको फैसला खारेजभागी हुँदा झुठ्ठा पोल उजूरबाट सफाइ दिलाई पाउँ भन्ने समेत व्यहोराको पासाङ दावा तामाङको पुनरावेदन अदालत पाटन ललितपुरमा परेको पुनरावेदन पत्र ।
१७. २०४२।१।१ को वारदात देखाई जाहेरी परेकोमा २०४३।७।२४ देखि लागु भएको ऐनको आधारमा प्र. लाई कसूरदार ठहराएको शुर फैसला फरक पर्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने पु.वे.अ. पाटनको २०५५।३।२ को आदेश
१८. पुनरावेदक प्रतिवादी पासाङ दावा तामाङले कसूर गरेको ठहर्याई सोही अनुरुप कैद समेत गर्ने ठहराएको रसुवा जिल्ला अदालतको मिति २०५४।९।९ को इन्साफ न्यायोचित देखिंदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति २०५५।५।१६ को फैसला ।
१९. प्रतिवादीले जाहेरवाली समेतलाई बिक्री गर्यो भन्ने जाहेरी एवं जाहेरवालीहरुको बयान बकपत्रको आधारमा वादी पक्षले जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ को दफा ४(क) को कसूरमा ऐ दफा ८(१) बमोजिमको प्र. उपर सजायको माग दावी लिएको छ । तर वारदातको अवधि २०४२ सालदेखि २०४७ सालसम्म कायम गरि वारदातको समयको अपव्याख्या गरेको त्रुटिपूर्ण छ । जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३, २४ कार्तिक २०४३ बाट मात्र लागु भएको हो । २०४२ साल वैशाख महिनामा केटीहरु बिक्री गर्यो भन्ने अभियोगमा २०४३ कार्तिक २४ गते बनी लागू भएको ऐन अन्तर्गतको कसूर कायम गरि सजाय गरेको संविधान विपरीत छ । सम्बन्धित कानूनमा नै विशेष व्यवस्था भएमा बाहेक कुनै पनि सारवान कानूनले पश्चातदर्शी प्रभाव पार्दैन । उक्त जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ लागू भएपछि पनि मुलुकी ऐन जीउ मास्ने बेच्नेको महल बहालै रहेको र २०४२ साल बैशाखमा बिक्री गरेको मान्दा पनि सो सामान्य कानून लागू हुने, सो कानून अन्तर्गत प्रमाणको भार वादीले पुर्याउनु पर्ने हुन्छ । प्रतिवादीले केटीहरु बेचेको भन्ने ठोस प्रमाण पेश गर्न नसकेको स्थितिमा कसूरदार ठहर्याएको त्रुटिपूर्ण छ । तसर्थः प्रतिवादीले साक्षी प्रमाण जुटाई आफ्नो सफाइको यथेष्ट प्रमाण पुर्याई राखेको स्थिति विद्यमान भैरहेको हुँदा शुरु र पुनरावेदन अदालतको फैसला उल्टी गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र
२०. यसमा वारदात हुँदाको अवस्थामा मुलुकी ऐन जीउ मास्ने बेच्नेको महल बमोजिम सजाय हुने कसूरका सम्बन्धमा त्यसपछि जारी भएको जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ बमोजिम शुरु जिल्ला अदालतले सजाय गरेकोलाई सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला फरक पर्ने हुँदा अ.वं. २०२ नं. बमोजिम छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५७।३।८ को आदेश ।
२१. प्रस्तुत मुद्दामा मैले गरेको पुनरावेदन पत्रको तेश्रो पानाको छब्बीसौं हरफमा “अस्पष्ट व्याख्या” हुनु पर्नेमा टाइपको त्रुटिबाट “अपव्याख्या” हुन गएको र चौथो पानाको बा¥हौ हरफमा पनि अस्पष्ट व्याख्या हुनपर्नेमा अपव्याख्या हुन गएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम २९ बमोजिम टाईपबाट हुन गएको त्रुटि सच्याई पाउँ भन्ने व्यहोराको प्र. को कारागार शाखा मार्फत प्रेषित भै यस अदालतमा द.नं. ३२१३ मिति २०५७।९।११ मा प्राप्त निवेदन पत्र ।
२२. नियम बमोजिम दैनिक पेशीसुचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री पुर्णचन्द्र पौडेलले वादी पक्षले २०४२ साल बैशाखमा केटीहरु बेचिएको भनि प्रतिवादी उपर आरोप लगाएको छ, तर सो कथित वारदात भएको भनिएको वखत बहाल रहेको मुलुकी ऐन जीउ मास्ने बेच्नेको महल बमोजिम आरोपपत्र पेश भएको छैन । वारदात भनिएको पछि अर्थात २०४३ साल कार्तिक २४ गते जन्मिएको ऐन अन्तर्गतको आरोप लगाइएको छ । कुनै विशेष कानूनले विशेष व्यवस्था गरेमा बाहेक सारवान कानूनले पश्चातदर्शी असर पार्न सक्तैन । त्यस्तो पश्चातदर्शी असर पार्ने कुरा सो ऐनमा लेखिएको छैन । तसर्थ अभियोगपत्र नै खारेज हुनुपर्ने स्थिति हुँदा सजाय गरेको त्रुटिपूर्ण छ । वादी पक्षले अंगालेको जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ ले प्रमाण ऐन, २०३१ को दफा २५ लाई बहिष्कृत गरेको, तर मुलुकी ऐन जीउ मास्ने बेच्नेको महल अन्तर्गतको आरोपमा कुरामा प्रमाण ऐन, २०३१ को दफा २५ आकर्षित हुने भै प्रमाणको भार वादीले पुर्याउनु पर्ने हुँदा पछि बनेको विशेष ऐन लगाई प्रतिवादीले प्रमाणको भार पुर्याउनु पर्ने नपुर्याएको भन्ने समेत अर्थ लगाई सजाय गरेको कानूनी व्यवस्था तथा स्थापित नजिर समेतको विपरीत हुँदा शुरु सदर गरि पुनरावेदन अदालत पाटनले प्रतिवादीलाई कसुरदार ठहर्याएको त्रुटिपूर्ण फैसला उल्टी गरि झुठ्ठा उजुरदावीबाट प्रतिवादीलाई सफाइ दिलाई पाउँ भनि बहस गर्नु भयो । प्रत्यर्थी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान सह–न्यायाधिवक्ता श्री नरेन्द्रकुमार पाठकले जाहेरी दरखास्तबाट प्रतिवादीले ललाई फकाई मिति २०४२ साल वैशाख १ गते हिडी बम्बई पुर्याएको र २०४७ साल भाद्र महिनामा त्यहाँबाट भागी आएको भन्ने देखिंदा २०४२ सालबाट २०४७ सालसम्म नै वारदातको निरन्तरता छ, तसर्थ जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ अन्तर्गतको अपराध कायम गर्न नमिल्ने स्थिति छैन । यस्तोलाई सो कानूनको पश्चातदर्शी प्रयोग भन्ने स्थिति रहदैन । मुलुकी ऐन जीउ मास्ने बेच्नेको महल समेतले प्रतिवादीको कार्यलाई अपराध नै घोषित गरेको, प्रतिवादीबाट भएको वारदातको निरन्तरता बेचिएको जाहेरवाली २०४७ सालमा वेश्यालयबाट भागी नआएतक कायम नै रहेकोले २०४३ लामा लागू भएको विशेष जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन बमोजिम कसूरदार ठहराई गरेको शुरुको सदर गरेको पुनरावेदन अदालत, पाटनको इन्साफ मनासिव हुँदा सदर होस् भन्ने समेत बहस गर्नु भयो ।
२३. उपयुक्त वहस जिकिर समेत सुनि इन्साफ तर्फ विचार गर्दा पुनरावेदक प्रतिवादी पासाङ दावा तामाङ (लोप्चन) ले जाहेरवाला लक्की तामाङनी समेतलाई ललाई फकाई विदेश भारत बम्बईको कोठीमा पुर्याई बिक्री गरेको भन्ने आरोपमा प्रतिवादीलाई जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) अनुसार कैद वर्ष १०(दश) गर्ने गरि भएको शुरु फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालतबाट फैसला भएको देखिन्छ । प्रतिवादीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्रमा मुख्यरुपले जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३, २०४३।७।२४ बाट लागु भएको, प्रस्तुत वारदात २०४२।१।१ का दिन भई मुलुकी ऐन जीउ मास्ने बेच्नेको महल लागु रहेको अवस्थामा घटेकाले पछि आएको जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन अन्तर्गत अभियोग पत्र दायर गर्न र सजाय गर्न संविधान र नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ३(ख) को प्रतिवन्धात्मक बाक्याशं अनुसार पनि नमिल्ने भन्ने जिकिर लिएको देखिन्छ । यस अदालतबाट विपक्षी झिकाउने गरि भएको आदेशमा पनि मुख्यतः सोही कुरालाई आधार दिएको देखिन आउँछ
२४. जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ ले मुलुकी ऐन जीउ मास्ने बेच्नेको महललाई खारेज नगरी सो पूरानो कानूनी व्यवस्थालाई समेत क्रियाशिल नै राखि Carry On गरेको कुरा उक्त ऐनको दफा ११ मा मुलुकी ऐन जीउ मास्ने बेच्नेको महलमा जुनसुकै कुरा लेखिएको भएतापनि यो ऐनमा लेखिए जनि कुराम यसै ऐन बमोजिम हुनेछ भन्ने उल्लेखनबाट प्रष्ट हुन आउँदछ । यसरी मुलुकी ऐन जीउ मास्ने बेच्नेको महललाई यथावत राखी जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ लाई विशेष स्थान दिएको पाइन्छ । यस्तो पुरानो ऐनलाई यथावत राखि नयाँ व्यवस्था सँगसँगै (Concurrently) लागु हुने व्यवस्था नयाँ ऐनले पुरानो ऐनलाई खारेज गर्ने खालको व्यवस्था नभई पुरानो ऐनलाई पनि यथावत राख्ने वेग्लै प्रकारको कानूनी व्यवस्थाका सम्बन्धमा उपरोक्त नेपाल कानूनी व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ३(ख) को प्रतिवन्धात्मक वाक्यांश आकर्षित हुने अवस्था देखिन आउँदैन । खारेज भएको ऐन अनुसार सजाय गरेको भन्ने अवस्था पनि प्रस्तुत मुद्दामा भएको समेत देखिन्न । मुलुकी ऐन जीउ मास्ने बेच्नेको महलको १ नं. ले प्रतिवाद उपर लागेको आरोपको सम्बन्धमा २० वर्ष कैद हुने व्यवस्था गरेकोमा जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) मा मानिस बेच बिखन गर्ने व्यक्तिलाई १० वर्ष देखि बीस वर्ष सम्म कैद हुन सक्ने उल्लेख भएको देखिन्छ । पुनरावेदक प्रतिवादीलाई उक्त जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ दफा ८(१) अनुसार १०(दश) वर्ष मात्र कैदको सजाय गर्ने गरि भएको शुरु फैसला पुनरावेदन अदालतबाट सदर भएको देखिन आउँछ । यसरी साविक ऐनले सजाय भागी नबनाएकोमा हालको ऐनले सजाय भागी बनाएको अवस्था प्रस्तुत मुद्दामा देखिन नआई मुलुकी ऐन जीउ मास्ने बेच्नेको महल र जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ समेत दुबै ऐनहरुले मानिस बेच बिखन गर्ने कार्यलाई अपराध मानि सजायको व्यवस्था गरि राखेको र सजायको हकमा केही फरक देखिए पनि निज प्रतिवादीलाई मुलुकी ऐन जीउ मास्ने बेच्नेको महलको १ नं. ले हुने कैद सजायको हदभन्दा कम अर्थात जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) ले व्यवस्था गरेको न्यूनतम हदको सजाय गरेको देखिन आउँछ । यसरी जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ को व्यवस्थाले मात्र प्रस्तुत मुद्दामा प्रतिवादीलाई प्रतिकूल असर पारेको अर्थात दण्ड सजाय गरेको भन्ने अवस्था देखिन आएन ।
२५. मुद्दाको दायरी अभियोजन तथा प्रमाणको भारको निर्धारण लगायतका कार्यविधिगत कुरा मुद्दा कारवाही चल्दाको अवस्थामा विद्यमान रहेको कानून अनुसार हुने कुरा हो । कार्यविधि कानूनले कसैको हक अधिकार श्रृजना गर्ने नभई कार्यविधि सम्म निश्चित र नियमति गर्ने हुन्छ । कार्यविधि कानूनले कार्यविधि सम्म व्यवस्थित गनेृ हुँदा निवेदन वा उजुरी जुनसुकै वखत परेको भएपनि त्यसमा कारवाही हुँदको अवस्थामा विद्यमान कार्यविधि सम्बन्धी कानूनी प्रक्रिया अपनाउनु पर्ने भन्ने समेतका कानुनी सिद्धान्त यस अदालतबाट निवेदक घनश्याम बस्नेत विपक्षी उच्चस्तरीय समिति दाङ समेत भएको उत्प्रेषण मुद्दा (ने.का.प. २०४९, नि.नं. ४४४९, पृ. २८) समेतमा प्रतिपादित भैरहेको देखिन्छ । तसर्थः मुद्दा कारवाहीरत अवस्थामा विद्यमान कार्यविधिगत व्यवस्था नै सो मुद्दामा अवलम्वन गर्नु पर्ने हुन आउँछ। प्रस्तुत विवादमा मुद्दा कारवाही चल्दाको अवस्था जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ समते जारी भै लागु भै सकेको देखिन्छ । सो ऐनको दफा ११ ले उक्त ऐनलाई विशेष ऐनको स्थान दिएको हुँदा सामान्य कार्यवित्रिलाई अपवादित गर्न सक्ने उक्त ऐनको कार्यविधिगत व्यवस्था अनुसार जाहेरवाला (पिडीत) ले प्रतिवादीले ललाई फकाई बम्बैको बेश्यालयमा बेची आएको भन्ने समेत मौकामा गरि दिएको बयान तथा सो बयान प्रमाणित भै अदालतमा गरि दिएको वकपत्र थप समर्थन गरि दिएको अवस्था र सो ऐनको दफा ७ बमोजिम विडीतको बयान झुठ्ठा हो र बेचबिखन वा बेश्यावृत्तिमा लगाउने उद्देश्यले लगेको होइन भन्ने कुराको युक्तियुक्त प्रमाण प्रतिवादीले पुर्याउन सकेको नदेखिएको समेत का अवस्थालाई आधार बनाई पुनरावेदन प्रतिवादी पासाङ दावा तामाङ (लोप्चन) ले जीउ मास्ने बेच्न कार्य(नियन्त्रण) ऐन, २०४३ को दफा ४(क) को कसूरमा ऐ. दफा ८.१ अनुसार कैद वर्ष १० (दश) गर्ने गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५५।५।१६ को इन्साफ मिलकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरि बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.अरविन्दनाथ आचार्य
इति संवत २०५७ साल माघ १८ गते रोज ५ शुभम ।