निर्णय नं. ६९९५ - भ्रष्टाचार

निर्णय नं. ६९९५ ने.का.प. २०५८ अङ्क ३.४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
सम्वत् २०५३ सालको फो.पु.नं. १२७३
फैसला मितिः २०५७।११।३।४
मुद्दाः भ्रष्टाचार ।
पुनरावेदक/प्रतिवादीः कास्की जिल्ला राखी गा.वि.स. वार्ड नं. ४ वरालडाँडा बस्ने अर्जुनप्रसाद वराल ।
विरुद्ध
प्रत्यर्थी/वादीः वीरेन्द्र वहुमुखी क्याम्पस भरतपुरको पत्रले श्री ५ को सरकार ।
§ पुनरावेदक प्रतिवादीले आफ्नो भाउजु गंगादेवीको प्रवेशपत्र लिई आफू परीक्षा हलमा प्रवेश गरी निजको सट्टाम आफैले परीक्षा दिने प्रयत्न गरेको कुरा निजले अदालत समक्ष गरेको वयानबात समेत स्वीकार गरेको देखिन्छ । निजबाट बरामद भएको परीक्षाको प्रवेशपत्रमा परीक्षार्थीको नाम गंगादेवी देवकोटा र परीक्षार्थीको फोटो रहने स्थानमा भने पुनरावेदक प्रतिवादीको आफू फाटो देखिई महिलाको प्रवेश पत्रमा पुरुषको फोटो टाँसिएको पाइन्छ । निज प्रतिवादीले अदालतमा बयान गर्दा भाउजूको नाममा निजैको प्रवेशपत्र लिई परीक्षा दिन गएको कुरा स्वीकार गरी आफूले आफ्नो फोटो टाँसेको कुरामा भने इन्कारी गरेको देखिएतापनि अरु कसैले आफ्नो फोटो लगि अरुको प्रवेशपत्रम टाँसी पुनः आफैलाई फिर्ता गरेको भन्ने कुरा नै अपत्यारिलो हुने देखिन्छ । यसरी आफ्नो फोटो सहितको प्रवेशपत्र साथमा लिई प्रतिवादी परीक्षा हलमा प्रवेश गरी भाउजूको नाममा परीक्षा दिन बसेको कुरा स्पष्टरुपमा खुल्न आएको देखिंदा विद्वान अधिवक्ताले प्रतिवादी मनसायपूर्वक अपराध गर्ने नियतले परीक्षा हलमा परीक्षा दिन प्रवेश नगरेको भनी गर्नु भएको वहस जिकिरसँग यो इजलास सहमत हुन सकेन ।
§ प्रतिवादी अर्जुनप्रसाद वराललेल त्रिभुवन विश्व विद्यालय जस्तो संगठित संस्थाले गंगादेवीले मात्र परीक्षा दिन पाउने शर्त राखी प्रदान गरेको प्रवेश पत्रबाट सो प्रवेशपत्रमा निर्धारित गरेका शर्तहरुको प्रतिकूल कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ मा उल्लेखित गैरकानूनीस् लाभ वा हानी पुर्याउने वदनियतले कुनै व्यक्रिले काम गरेमा दण्ड सजाय हुने गरी निषेध गरेका कसूर अपराध गर्ने प्रयत्न सम्म गरेको देखिई अपराधिक कार्य पुरा गरी सकेको नदेखिएकोले विद्यमान अवस्थामा शुरु चितवन जिल्ला अदालतले गरेको कैदको सजायको हदसम्मको इन्साफ केही उल्टी गरी पुनरावेदक प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ ले रु. १५०। जरिवाना हुने ठहर गरी भएको पुनरावेदन अदालत हेटौडाको इन्साफ मनासिव देखिंदा सदर हुने ।
(प्र.नं. १८ र १९)
पुनरावदेक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री अर्जुनप्रसाद लम्साल
प्रत्यर्थी वादी तर्फबाटः X
अवलम्वित नजिरः X
फैसला
न्या अरविन्दनाथ आचार्यः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।
२. उल्लेखित प्रतिवादी अर्जुनप्रसाद वरालले अवैध रुपले गंगा देवी देवकोटाको नाममा परीक्षा दिएको भेटिएकोले निज देवकोटाको प्रवेश पत्रको सक्कलै कपि समेत संलग्न राखी विरेन्द्र वहुमुखी क्याम्पस भरतपुरको च.नं. ८३५ मिति ०५०।३।६ को पत्रसाथ आवश्यक कारवाही गरी दिनु हुन भनी जिल्ला प्रहरी कार्यालयमा भरतपुरमा लेखि पठाएको ।
३ जिल्ला प्रहरी कार्यालय भरतपुरले निज प्रतिवादीलाई किर्ते मुद्दाको अनुसन्धान गर्ने सिलसिलामा जिल्ला सरकारी वकिल कार्यालय भरतपुरमा आवश्यक निर्देशन पाउन उक्त प्रवेश पत्रको फोटाकपी सहित प्रतिवेदन गरेको ।
४. वीरेन्द्र वहुमुखी क्याम्पसको च.नं. ८४१ को मिति ०५०।३।८ को पत्रसाथ निरीक्षकहरु सहायक केन्द्राध्यक्ष समेतको अर्काको परीक्षामा सामेल भएको वारेको केन्द्राध्यक्ष (क्याम्पस) प्रमुख) लाई दिएको निवेदन जिल्ला प्रहरी कार्यालयम थप प्रमाणको लागि पठाइएको ।
५. यसरी किर्ते मुद्दाको सिलसिलामा जिल्ला सरकारी अधिवक्ता समक्ष जि.स.व.का भरतपुर जिल्ला प्रहरी कार्यालय भरतपुरका प्र.नि.नरेस कुमार प्रधानले अभियुक्त वरालसँग वयान कागज गराएको देखिएको भएतापनि जि.स.व.का भरतपुरको मिति ०५०।३।११ को निर्णय अनुसार उक्त मुद्दा किर्तेमा चलाउन नमिल्ने भै भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गत कारवाही गर्नु पर्ने देखिएकोले सम्बन्धित विशेष प्रहरी अधिकृत कहाँ पठाउनु पर्ने भएबाट सम्पूर्ण मिसिल सहित जिल्ला प्रहरी कार्यालय भरतपुरको च.नं. ६७५५ मिति ०५०।३।१३ मा जिल्ला कार्यालयमा प्राप्त भएको ।
६. श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू तथा विशेष प्रहरी अधिकृत प्रशासन कार्यालयले मुद्दाको अनुसन्धान गरि सम्बन्धित अदालतमा मुद्दा दायर गर्नको लागि व.प्र.अ. श्री ऋषिकेश पौडेललाई वि.प्र.अ. तोकिएको ।
७. गंगा देवी देवकोटा मेरो माहिली भाउजू भएको र निज विरामी भई परीक्षा दिन नसक्नु भएको कारणले म आफैंले उनको परीक्षामा केवल हाजिर हुने मात्र विचार गरेको थिए र परीक्षा हलमा पनि प्रवेश गरे तर यस्तो कार्य गर्ने विचार नभएकोले उत्तरपुस्तिकामा हाजिर समेत नलेखी उत्तरपुस्तिका त्यसै छाडी परीक्षा हल छोडेर उत्तरपुस्तिकामा प्रश्नहरुको कुनै जवाफसमम लेखिन । जस्को सक्कलै उत्तरपुस्तिका वीरेन्द्र वहुमुखी क्याम्पस भरतपुरमा परीक्षाका सुपरिटेण्डेन्टले राख्नु भएको थियो । गंगादेवी देवकोटा आई.ए.प्रथम वर्षको केवल एक विषयमा मात्र परीक्षा दिनुपर्ने थियो र उक्त विषयको परीक्षामा यो साल उपस्थित नभएमा पूनः सम्पूर्ण विषयहरु दिनुपर्ने हुँदा केवल हाजिर मात्र गर्ने विचार गरेको थिए । गंगा देव् देवकोटाको नामको प्रवेश पत्रमा मेरो फोटो टाँसेको ठीक हो भनि निज अर्जुनप्रसाद वरालले जिल्ला कार्यालयमा मिति ०५०।३।१३ मा गरेको वयान कागज ।
८. मैले ०४९ सालमा प्रविणता प्रमाण पत्र तहको पहिलो वर्षको अंग्रेजी विषयको परीक्षा दिन परीक्षा केन्द्र वीरेन्द्र वहुमुखी क्याम्पस भरतपुरमा राखी परीक्षा फर्म भरेको हुँ । प्रवशे पत्र नबुझेको हुँदा रोल नम्वर थाहा भएन । अर्जुनप्रसाद वराल मेरो एकाघरका देवर हुन । निज पृथ्वी नारायण क्याम्पस पोखरामा वि.कम.प्रथम वर्षमा अध्ययन गर्दछन् । निजलाई मैले मेरो नामबाट परीक्षा दिन पठाएको होइन भन्ने समेत व्यहोराको प्र.गंगादेवी ०५०।४।१९ गते गरेको वयान कागज ।
९. उल्लेखित सवूद प्रमाण समेतका आधारमा निज प्रतिवादी अर्जुनप्रसाद वरालले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ बमोजिम संगठित संस्थाले निर्धारित गरेको नियम कार्यविधि वा स्वीकार गरेका शर्त जानी जानी उल्लंघन गरेकोले निजलाई सोही ऐनको सोही दफा बमोजिम हदैसम्मको सजाय हुनुपर्ने माग दावी लिई सम्बन्धित मिसिल मानिस यसैसाथ पेश गरिएको छ भन्ने समेत अभियोग माग दावी ।
१०. गंगादेवी मेरा भाउजू हुन । पत्रमा भएको व्यहोरा अनुसार परीक्षा दिन लागेको कुरा झुठ्ठा हो केवल परीक्षा भवनमा प्रवेश गरेको मात्र हो । ०४९ सालको मानवीकीको प्रथम वर्षको अंग्रेजीको परीक्षा शुरु हुँदा म भरतपुरको श्री वीरेन्द्र वहुमुखी क्याम्पसको प्रागनमा थिए । परीक्षा शुरु भएपछि परीक्षा कोठामा म प्रवेश गरे । प्रवेशको करिव ५ मिनेटपछि परीक्षाका गार्डद्वारा मलाई कोठाबाट निकालियो । जिल्ला प्रहरी कार्यालय भरतपुरमा ल्याई आवश्यक जाँचुबुझ गरी प्रमुख जिल्ला अधिकारीको कार्यालयमा मलाई उपस्थित गराइयो । मिसिल संलग्न रहेको गंगा देवी देवकोटाको परीक्षा प्रवेशपत्र उक्त परीक्षा कोठमा मैले आफ्नो साथमा लिएर गएको थिए । सो प्रवेशपत्रमा रहेको फोटो मेरो हो तर मैले सो फोटो टाँसेको होइन । यो फोटो कसरी सो प्रवेश पत्रमा टाँसियो मलाई थाहा भएन । अंग्रेजी विषय जाँच दिनु पर्ने थियो । यसवर्ष परीक्षामा उपस्थित नभएमा अर्को साल सबै विषयहरु जाँच दिनु पर्ने भएको हुनाले र निज गंगा देवकोटा विरामी परि आउन नसकेको कारणले परीक्षामा उपस्थित मात्र हुने उद्देश्यले परीक्षा कोठा म गएको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी अर्जुनप्रसाद वरालले शुरु अदालतमा गरेको वयान ।
११. प्रतिवादी आफ्नो भाउजूलाई फाईदा दिलाउने गरी त्रि.वि. जस्तो संस्थाले निजको भाउजूले जाँच दिन पाउने गरी प्रदान गरेको अधिकार तथा सुविधाको दुरुपयोग गरि भाउजूको नामबाट प्रतिवादीले जाँच दिन गएको काम भ्र.नि.ऐन २०१७ को दफा ८ को प्रतिकूल ठहर्छ । अतः निजलाई ३ महिना कैद हुन्छ भन्ने चितवन जिल्ला अदालतको मिति ०५०।१२।३।४ को फैसला ।
१२. मैले मेरो भाउजूको सट्टामा परीक्षा दिन गएको होइन । केवल उपस्थित हुने मात्र हुने उद्देश्यले मात्र गएको थिए । मेरो साथबाट उत्तरपुस्तिका पनि बरामद नभएको अवस्थामा चितवन जिल्ला अदालतको मेरो आफ्नो भाउजूको नाउँको प्रवेश पत्र लिएर जाँच दिन गएको भन्ने कानूनी आधार लिएको फैसला त्रुटिपूर्ण छ । प्रवेश पत्र लिएर जाँदैमा परीक्षा दिन गएको भन्न मिल्दैन । त्रि.वि.संस्थाले भाउजूको जाँच दिन पाउने गरी प्रदान गरेको अधिकार तथा सुविधाको दुरुपयोग गरी भाउजूको नामबाट मैले जाँच दिन गएको होइन, मैले कुनै खराब नियत लिई त्यस्तो कार्य नगरेको हुँदा चितवन जिल्ला अदालतको फैसला वदर गरी न्याय पाउँ भन्ने समेत पुनरावेदक प्रतिवादी अर्जुनप्रसाद वरालको पुनरावेदन जिकिर ।
१३. यसमा परीक्षा दिने व्यक्तिको सट्टाम त्यसमा व्यक्ति आफै हुँ भनि परीक्षा दिन जाने व्यक्तिले त्रि.वि. संग कुनै शर्त कवुलियत गर्ने नहुँदा त्यस्तो व्यक्तिका सम्बन्धमा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ लागु हुने प्रश्न विचारणीय भै सो दफा बमोजिम गरेको शुरु सजाय फरक पर्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम छलफलको लागि सरकारी वकीललाई सूचना दिई पेश गर्नु भन्ने पुनरावेदन अदालतको मिति ०५२।९।१३।५ को आदेश ।
१४. पुनरावेदकले परीक्षा दिई अपराधिक कार्य पूरा गरीसकेको देखिई परीक्षा दिन शुरु गरेको भन्ने अभियोग रहेको र प्रतिवादीले पनि आफूले भाउजूको सट्टा आफैले परीक्षा दिने भन्ने उद्देश्यले मात्र परीक्षा हलमा प्रवेश गरेको भन्ने वयान गरेको समेत देखिएकोले गलत तरिकाले परीक्षा दिने कसूरको प्रयत्न गरेको सम्मको अवस्था देखिंदा चितवन जिल्ला अदालतले कैदको सजाय गरेकोसम्म मिलेको नदेखिंदा सो हदसम्म केही उल्टी भै पुनरावेदक प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ ले रु. १५०। जरिवाना हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत हेटौडाको मिति ०५२।१०।२९ को फैसला ।
१५. म प्रतिवादी उपर पहिले किर्ते मुद्दा र पछि भ्रष्टाचार निवारण ऐन अन्तर्गत मुद्दा चलाउने गरिएबाट एउटै कसूरमा १ पटकभन्दा बढी मुद्दा चलाईने छैन भन्ने संवैधानिक प्रावधान विपरीत कारवाही गरिनाको साथै त्रि.वि.वि.को क्षेत्राधिकार भित्रको विवादलाई विशेष प्रहरी मार्फत भ्रष्टाचार निवारण ऐन अन्तर्गत मुद्दा चल्न नै नसक्ने अवस्थाको ख्याल नगरी मलाई जरिवाना गर्ने गरी भएको पुनरावेदन अदालत हेटौडाको फैसला उल्टी गरी अभियोगबाट सफाइ पाउँ भन्ने समेत पुनरावेदक प्रतिवादी अर्जुनप्रसाद वरालले यस अदालतमा गरेको पुनरावेदन ।
१६. नियमानुसार। साप्ताहिक तथा दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितका मिसिल कागजात अध्ययन गरी पुनरावेदक प्रतिवादीक तर्फबाट वहसमा उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री अर्जुनप्रसाद लम्सालले देवर अर्जुनप्रसाद वराल खराब नियतले भाउजूको परीक्षा दिन नगएको, आफ्नो परीक्षा दिन भाउजूले पनि नपठाएको समेतबाट प्रतिवादीले मनसायपूर्वक कसुरु अपराध गर्ने नियत राखेको देखिंदैन । त्रिभुवन विश्वविद्यालयको कानूनी प्रावधान अनुसार परीक्षामा कसैले अनियमितता गरेमासर्वप्रथम परीक्षा संचालन समितिले प्रारम्भिक कारवाही गरी परीक्षा दिनबाट बन्चित गर्नुका साथै फौज्दारी अभियोगतर्फ कारवाही चलाउनु पर्नेमा केन्द्राध्यक्षले सिधै जिल्ला प्रशासनकार्यालयमा कारवाहीको निमित्त पठाई भ्रष्टाचार निवारण ऐन अन्तर्गत मुद्दा चलाइएकोमा कार्यविधिगत त्रुटी हुनाले प्रस्तुत मुद्दा नै खारेज हुनुपर्ने अवस्थामा माग दावी नै नभएको जरिवाना गर्ने गरी पुनरावेदन अदालतबाट भएको फैसला उल्टी गरी सफाइ पाउनु पर्दछ भनि वहस गर्नु भयो ।
१७. प्रतिवादी अर्जुनप्रसाद वरालले गंगादेवीको नाममा परीक्षा दिन गएको भन्ने कुरा स्वीकार गरी भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ बमोजिम संगठित संस्थाले निर्धारित गरेको नियम, कार्यविधि वा स्वीकार गरेको शर्त जानी जानी उल्लघंन गरेकोले निजलाई सोही ऐनको सोही दफा बमोजिम हदैसम्मका सजाय हुनुपर्ने अभियोग माग दावी तथा भाउजूको अंग्रेजी विषय जाँच दिनुपर्नेमा यस वर्ष परीक्षामा उपस्थित नभएमा अर्को वर्ष सबै विषयमा जाँच दिनुपर्ने भएको र निज गंगादेवी विरामी भै आउन नसकेको कारणले परीक्षामा उपस्थित मात्र हुने उद्देश्यले परीक्षा कोठामा गएको हुँ भन्ने समेत व्यहोराको प्रतिवादीले अदालत समक्ष गरेका बयान भएको प्रस्तुत मुद्दाम चितवन जिल्ला अदालतको फैसला केही उल्टी हुने ठहर्याई पुनरावेदन अदालतबाट भएको फैसला मिले नमिलेकोतर्फ नै निर्णय दिनु पर्ने देखियो ।
१८. अब इन्साफ तर्फ विचार गर्दा पुनरावेदक प्रतिवादीले आफ्नो भाउजु गंगादेवीको प्रवेशपत्र लिई आफू परीक्षा हलमा प्रवेश गरी निजको सट्टाम आफैले परीक्षा दिने प्रयत्न गरेको कुरा निजले अदालत समक्ष गरेको वयानबात समेत स्वीकार गरेको देखिन्छ । निजबाट बरामद भएको परीक्षाको प्रवेशपत्रमा परीक्षार्थीको नाम गंगादेवी देवकोटा र परीक्षार्थीको फोटो रहने स्थानमा भने पुनरावेदक प्रतिवादीको आफू फाटो देखिई महिलाको प्रवेश पत्रमा पुरुषको फोटो टाँसिएको पाइन्छ । निज प्रतिवादीले अदालतमा बयान गर्दा भाउजूको नाममा निजैको प्रवेशपत्र लिई परीक्षा दिन गएको कुरा स्वीकार गरी आफूले आफ्नो फोटो टाँसेको कुरामा भने इन्कारी गरेको देखिएतापनि अरु कसैले आफ्नो फोटो लगि अरुको प्रवेशपत्रम टाँसी पुनः आफैलाई फिर्ता गरेको भन्ने कुरा नै अपत्यारिलो हुने देखिन्छ । यसरी आफ्नो फोटो सहितको प्रवेशपत्र साथमा लिई प्रतिवादी परीक्षा हलमा प्रवेश गरी भाउजूको नाममा परीक्षा दिन बसेको कुरा स्पष्टरुपमा खुल्न आएको देखिंदा विद्वान अधिवक्ताले प्रतिवादी मनसायपूर्वक अपराध गर्ने नियतले परीक्षा हलमा परीक्षा दिन प्रवेश नगरेको भनी गर्नु भएको वहस जिकिरसँग यो इजलास सहमत हुन सकेन । प्रतिवादीले गरेको कार्यबाट निज स्वयंलाई फाइदा नभएतापनि गंगादेवीलाई फाइदा पुर्याउने उद्देश्य राखेको स्पष्ट देखिंदा प्रस्तुत मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ मा आकर्षक हुने नै देखिंदा भ्रष्टाचार निवारण ऐन अन्तर्गत मुद्दा चल्न नै नसक्ने भनी पुनरावेदकले दिएको पुनरावेदन जिकिर तथा निजलाई प्रस्तुत भ्रष्टाचार मुद्दा अभियोग माग दावी लिई जिल्ला अदालतमा मुद्दा दायर गरिएको देखिएकोले एउटै कसूरमा दुई पटक मुद्दा चलाइएको भन्ने पुनरावेदक प्रतिवादीले लिएको पुनरावेदन जिकिर पनि मनासिव देखिन आएन ।
१९. अतः निज प्रतिवादी अर्जुनप्रसाद वराललेल त्रिभुवन विश्व विद्यालय जस्तो संगठित संस्थाले गंगादेवीले मात्र परीक्षा दिन पाउने शर्त राखी प्रदान गरेको प्रवेश पत्रबाट सो प्रवेशपत्रमा निर्धारित गरेका शर्तहरुको प्रतिकूल कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ मा उल्लेखित गैरकानूनीस् लाभ वा हानी पुर्याउने वदनियतले कुनै व्यक्रिले काम गरेमा दण्ड सजाय हुने गरी निषेध गरेका कसूर अपराध गर्ने प्रयत्न सम्म गरेको देखिई अपराधिक कार्य पुरा गरी सकेको नदेखिएकोले विद्यमान अवस्थामा शुरु चितवन जिल्ला अदालतले गरेको कैदको सजायको हदसम्मको इन्साफ केही उल्टी गरी पुनरावेदक प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ८ ले रु. १५०। जरिवाना हुने ठहर गरी भएको पुनरावेदन अदालत हेटौडाको इन्साफ मनासिव देखिंदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.भैरवप्रसाद लम्साल
इति संवत २०५७ साल फाल्गुण ३ गते रोज ४ शुभम ।