निर्णय नं. ६९९८ - लिखत दर्ता वदर

निर्णय नं. ६९९८ ने.का.प. २०५८ अङ्क ३.४
संयुक्त इजलास
माननीय न्यायधीश श्री केदारनाथ आचार्य
माननीय न्यायधीश श्री राजेन्द्रराज नाख्वा
सम्वत २०५४ सालको दे.पु.नं. ४२८४
आदेश मितिः २०५७।९।२१।६
मुद्दाः लिखत दर्ता वदर ।
पुनरावेदक/वादीः जिल्ला झपा शिवगञ्ज गा.वि.स. वडा नं. १ बस्ने महाविरप्रसाद अग्रवाल ।
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः ऐ ऐ बस्ने श्यामसुन्दर अग्रवाल समेत ।
§ फिरादकर्ताले जुन लिखत दर्ता वदर गरि पाउँ भनि दावी लिएको छ सो लिखत २०४९।२।१९ मा पारित भएकोमा उक्त लिखत वदर गरि पाउँ भनि वादीले २०५१।८।६ मा मात्र अदालतमा नालिस दिएको देखिन्छ । यसरी लिखत तथा दर्ता वदर गरी पाउँ भनि गरेको फिराद दावी मुलकी ऐन लेनदेन व्यवहारको १० नं. को हद म्याद भित्र पर्न आएको नदेखिंदा वादी दावी नपुग्ने झापा जिल्ला अदालतको इन्साफ उल्टी गरी हदम्यादको अभावम वादी दावी खारेज हुने गरेको पुनरवेदन अदालत इलामको फैसला मिलेकै देखिंदा सदर हुने ।
(प्र.नं. १३)
पुनरावेदन वादी तर्फबाटः X
प्रत्यर्थी प्रतिवादी तर्फबाटःX
अवलम्वित नजिरःX
फैसला
न्या.राजेन्द्रराज नाख्वाः पुनरावेदन अदालत इलामको मिति २०५४।३।१६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।
२. पिता राजकिसन अग्रवालका २ छोरामा जेठा दाजु प्रयागचन्द्र कान्छा म फिरादी हुँ । हामीहरुको अंशवण्डा भएको छैन । दाजु प्रयागको ०३१ सालमा स्वर्गेवास भए पछि हामी एकासंगोलबाट दोकान गरि रहँदै बसेको अवस्थामा म विरामी भएकोले घरको दोकान समेत प्र. श्याम सुन्दरलाई जिम्मा लिई परिवार लिई भारतको हरियाणामा उपचार गराउन २०४९ सालको गै उपचार गराई २०५१ साल भाद्र ३० गते घरमा आउँदा दोकान नभएको घर व्यवहार लथालिङ्ग भएको देखि श्यामसुन्दरलाई हिसाब देखाउ भन्दा हिसाब देखाउदिन जाँहा गै के गर्नु पर्छ र जग्गा मेरै नाउँमा छ भन्ने जवाफ दिएको र मैले आर्जन गरेको सम्पत्तिबाट श्यामसुन्दरको नाउँमा खरिद गरि राखेको शिवगञ्ज गा.वि.स. वडा नं. को कि.नं. ४८८ को कित्ताबाट फोर गरि कि.नं. ९३० को ज.वि. ०–२–० जग्गा बिक्री गरेको भन्ने सुनी मालपोत कार्यालयबाट राजिनामा नक्कल लिंदा उक्त जग्गा प्र. मध्येकी भवानीदेवीलाई बिक्री गरेको थाहा पाएकोले फिराद गर्न आएको छु । यसरी मेरो समेत आर्जनबाट मैले खरिद गराएको विपक्षी श्यामसुन्दरको नाउँको मेरो समेत हक लाग्ने संगोलको जग्गा मेरो मञ्जुरी वेगर बिक्री गरेकोले शिवगञ्ज गा.वि.स. वडा नं. १ को कि.नं. ४८८ को कित्ताबाट फोर गरि कि.नं. ९३० को ज.वि. ०–२–० जग्गा मिति ०४९।२।१९ को लिखत मध्ये २ भागको १ भाग वदर गरि दर्ता वदर गरि मेरो नाउँमा दर्ता कायम गरि पाउँ भन्ने वादीको फिराद पत्र ।
३. वादी दावी बमोजिम लिखत दर्ता वदर हुने होइन । वादी तथा मेरा दाता श्यामसुन्दरको अग्रवालको पहिला नै अंशवण्डा भैसकेको हुँदा श्यामसुन्दर अग्रवालको निजी आर्जनको जग्गा खरिद गरेकी हुँ । वादी प्र. श्यामसुन्दरको एकासगोलको अंशियार नभै निज भारतीय नागरिक हुन । त्यसकारण वादी दावी सम्पूर्ण झुठ्ठा फिराद गर्ने वादीलाई नै सजाय गरि पाउँ भन्ने समेत व्यहोराको प्र. भवानीदेवी जोधानीको प्रतिउत्तर ।
४. वादी तथा मेरा बुबाको केही अचल सम्पत्ति नभएकाले २०१७ सालमा नै अंशवण्डा भै सकेकोले वादी एकासंगालको अंशियार होइनन् । मेरा बाबुको २०३१ सालमा परलोक भएपछि मैले दोकान गरि कमाएको मेरो मात्र सम्पत्तिबाट खरिद गरेको जग्गा मध्ये ०–२–० जग्गा भवानीदेवीलाई बिक्री गरेको हुँ । वादीले उक्त जग्गा मेरो नाउँमा खरिद गराएको समेत कुनै कुरा होइन । वादी दावी सम्पूर्ण झुठ्ठा हो । त्यसकारण मिति ०४९।२।१९ को लिखत र सो को आधारमा भएको दर्ता समेत कायम गरि पाउँ भन्ने प्र. श्यामसुन्दर अग्रवालको प्रतिउत्तर पत्र ।
५. आदेशानुसार दुवै पक्षका साक्षी समेत बुझिएको ।
६. वादीले दावी गरेको जग्गा निजको हक लाग्ने भन्ने कुराको कुनै लिखत प्रमाण दाखिल गर्न नसकेको र उक्त जग्गा वादीले प्रतिवादीको नाउँमा खरिद गराएको हो भन्ने कुराके पुष्टी हुने कुनै कुराको प्रमाण समेत वादीले पेश गरेको नदेखिएकोले श्यामसुन्दरको बिक्री गरेको आधा जग्गाको दर्ता वदर गरि मेरा नाउँमा दर्ता गरि पाउँ भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने झापा जिल्ला अदालतको २०५२।१०।१७ को फैसला ।
७. विपक्षी उपर अंश मुद्दामा समेत यसै अदालतमा पुनरावेदन गरि सकेको छु । विवादित जग्गा श्यामसुन्दरको मात्र निजि होइन । संगालमा छँदा संगालकै सम्पत्तिबाट मैले खरिद गरि लिएको हो । विपक्षीको नागरिकता भएकोले रजिष्ट्रेशन पारित गर्ने प्रयोजनको लागि मात्र निजको नाममा जग्गा दर्ता गराएकोले मेरो समेत अंश लाग्ने जग्गा विपक्षीले बिक्री गरेकोले फिराद दावी बमोजिम लिखत वदर गरि मेरा नाममा दा.खा. नामसारी गरी पाउँ भन्ने वादीको पुनरावेदन जिकिर
८. यस्मा यसै लगाउको दे.पु.नं.४५४ को अंश मुद्दामा विपक्षी झिकाउने आदेश भएको हुँदा यस मुद्दामा समेत अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई विपक्षी उपस्थित भए वा गुजारेमा नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत इलामको मिति २०५३।५।२४ को आदेश ।
९. यसमा वादीले जुन लिखत दर्ता वदर गरि पाउँ भनी दावी लिएको छ सो लिखत २०४९।२।१९ मा पारित भएकोमा प्रस्तुत फिराद २०५१।८।६ मा परेको देखिएकोले लेनदेन व्यवहारको १० नं. को म्याद भित्र प्रस्तुत फिराद परेको नदेखिंदा हदम्यादको आधारमा प्रस्तुत नालेस खारेज हुने ठहर्छ, शुरुले गरेको इन्साफ उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत इलामको २०५४।३।१६ को फैसला।
१०. लगाउको दे.नं. १५२/४५४ को अंश मुद्दामा अंशियार ठहरी अंश पाउने फैसला भएपछि मेरो मञ्जुरी विना मेरो हक मार्ने गरि प्र. भवानी देवीलाई लिखत पारित गरि दिएकोम मेरो अंश हक सम्म वदर गर्नु पर्नेमा फिराद दावी नै खारेज गर्ने गरेको पुनरावेदन अदालतको फैसला वदर गरी उक्त लिखत वदर गरी पाउँ भन्ने वादीको पुनरावेदन पत्र ।
११. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनपत्र सहित मिसिल समेत अध्ययन गरि शुरु जिल्ला अदालतको फैसला उल्टी गरेको पुनरावेदन अदालत इलामको इन्साफ मिलेको छ छैन भनी निर्णय दिनु परको छ ।
१२. निर्णयतर्फ विचार गर्दा, पिता रामकिसन अग्रवालको २ छोरा जेठा प्रयागचन्द्र कान्छो म फिरादी हौं । दाजु प्रयागचन्द्रको २०३१ सालमा मृत्यु भएपछि पनि हामी अंशवण्डा नगरी व्यापार गरि भाउजु र श्यामसुन्दर समेत संगोलमा बसी आएकोमा म उपचारको लागि भारत गएको वखतमा संगालको सम्पत्ति बाट भतिजा श्यामसुन्दर सावालक भएपछि निजको नाममा खरिद गरि राखेको संगोलको कि.नं. ९३० ज.वि. ०–२–० जग्गा श्यामसुन्दरले विपक्षी भवानीदेवी जोधानीलाई जालसाजी पूर्वक बिक्री गरेको हुँदा उक्त २०४९।२।१९ को लिखतको जग्गाको २ भागको १ भाग लिखत वदर गरी मेरो नाममा दर्ता कायम गरि पाउँ भन्ने वादी दावी भएकोमा, वादी एकासगोलको अंशियार नभै पितासँग २०१ठ सालमै छुट्टी अलग भएको र मैले पिताको मृत्युपछि दोकान गरी स्वआर्जनबाट खरिद गरेको जग्गा बिक्री गरेको हुँदा वदर हुनुपर्ने होइन भन्ने प्रतिउत्तर भएकोमा वादी दावी नपुग्ने गरेको शुरु जिल्ला अदालतको फैसला उपर वादीको पुनरावेदन अदालतमा पुनरावेदन पर्दा शुरु फैसला उल्टी गरी फिराद दावी नै खारेज गरेको फैसला उपर वादीको प्रस्तुत पुनरावेदन पर्न आएको देखिन्छ ।
१३. यसमा फिरादकर्ताले जुन लिखत दर्ता वदर गरि पाउँ भनि दावी लिएको छ सो लिखत २०४९।२।१९ मा पारित भएकोमा उक्त लिखत वदर गरि पाउँ भनि वादीले २०५१।८।६ मा मात्र अदालतमा नालिस दिएको देखिन्छ । यसरी लिखत तथा दर्ता वदर गरी पाउँ भनि गरेको फिराद दावी मुलकी ऐन लेनदेन व्यवहारको १० नं. को हद म्याद भित्र पर्न आएको नदेखिंदा वादी दावी नपुग्ने झापा जिल्ला अदालतको इन्साफ उल्टी गरी हदम्यादको अभावम वादी दावी खारेज हुने गरेको पुनरवेदन अदालत इलामको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरि बुझाई दिनु ।
उपयुक्त रायमा सहमत छु ।
प्र.न्या.केशवनाथ आचार्य
इति संवत २०५७ साल पौष महिना २१ गते रोज ६ शुभम् ।