शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६९९९ - कस्तुरी मारी विना बिक्री सम्बन्धमा

भाग: ४३ साल: २०५८ महिना: असार अंक:

निर्णय नं. ६९९९      ने.का.. २०५      अङ्क ३.

 

संयुक्त इजलास

माननीय न्यायधीश श्री राजेन्द्रराज नाख्वा

माननीय न्यायधीश श्री केदारप्रसाद गिरी

सम्वत २०५२ सालको फौ.पु.नं. १४६२

फैसला मितिः २०५७।११।१९।६

 

मुद्दाः कस्तुरी मारी विना बिक्री सम्बन्धमा ।

 

पुनरावेदक/वादीः रे.भोगेन्द्र रायमाझीको प्रतिवेदनले श्री ५ को सरकार

प्रत्यर्थी

प्रत्यर्थी/प्रतिवादीः जिल्ला धादिङ्ग सेरतुङ्ग गा.वि.. वडा नं. ५ बस्ने पन्द घले समेत

 

§  ७० दिन भित्र पुनरावेदन गर्न नसकेको कारण देखाई अ.वं. ५९ नं. अन्तर्गत उक्त ७० दिन गुज्रेको मितिले ३० दिन भित्र थमाइ पाउन निवेदन दिई म्याद थमाइ २०५१।५।९ मा मात्र प्रतिवादीहरुले पुनरावेदन दर्ता गराएको देखिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ दफा ३१() मा त्यस्तो फैसला उपर ३५ दिन भित्र पुनरावेदन अदालतमा पुनरावेदन लाग्ने व्यवस्था भइरहेको पाइन्छ । तर ७० दिनको पुनरावेदन म्याद दिएकोले ७० दिन भित्र पुनरावेदन लाग्ने हो कि भन्नेतर्फ विचार गर्दा कानूनद्वारा तोकिएको म्याद भन्दा घटि बढी हुने गरि पुनरावेदन गर्ने म्याद दिंदैमा त्यसरी दिएको म्याद भित्र पुनरावेदन लाग्ने नभई कानूनद्वारा निर्दिष्ट गरिएको म्याद भित्रै पुनरावेदन गर्नु पर्ने हुन्छ । विधायिकाबाट ऐनमा नै प्रष्टरुपले तोकि दिएको पुनरावेदन गर्ने म्याद अन्यथा हुने गरी घटी बढी उल्लेख गर्दैमा त्यस्तो घटी बढी कायम रहन सक्ने नभई कानूनद्वारा निर्दिष्ट मँयद नै कायम हुने हुँदा सम्बन्धित मुद्दाका पक्ष विपक्षले पनि कानूनद्वारा निर्दिष्ट म्यादलाई नै अनुशरण गरी सोही म्याद भित्रै पुनरावेदन गर्नुपर्ने हुन्छ ।

 

§  प्रस्तुत मुद्दामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ दफा ३१() द्वारा निर्दिष्ट ३५ दिन म्याद भित्र प्रतिवादीहरुले पुनरावेदन नगरी २०५१।२।२ मा तामेल भएको पुनरावेदन गर्ने म्यादबाट ३५ दिन र अ.वं. ५९ नं. ले थमाउन पाउने म्याद ३० दिन नघाई २०५१।५।१९ मा आयर मात्र दायर भएको देखिंदा त्यस्तो पुनरावेदन ग्रहण गरी इन्साफ गर्न नमिल्ने भई पुनरावेदनै खारेज गर्नुपर्नेमा सो नगरी इन्साफ गर्ने गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेको नदेखिएकोले उल्टी हुने ।

(प्र.नं. १९ र २०)

 

पुनरावेदक वादी श्री ५ को सरकार तर्फबाटः विद्वान सह न्यायाधिवक्ता श्री पुष्पराज कोइराला

प्रत्यर्थी प्रतिवादी तर्फबाटः X

अवलम्वित नजिरः X

 

फैसला

न्या.राजेन्द्रराज नाख्वाः पुनरावेदन अदालत राजविराजको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९()() अन्तर्गत वादी श्री ५ को सरकारको पुनरावेदन परी दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः

       .    मिति २०४९।५।७ गते साँझ ७:३० बजे तिर जोरसल्ले प्रवेशद्वारका कर्मचारी र श्री नयाँ गुल्मका सिपाही समेतको सक्रियातामा जिल्ला धादिङ्ग सेरतुङ्ग गा.वि.. वडा नं. ५ बस्ने पन्द घले, .. का अम्वर तामाङ्ग र फलाम तामाङ्गको खानतलासी लिंदा कस्तुरी विना एक खुकुरी थान ३, कस्तुरीको सुकुटी मासु पोका २ र निजहरुको आफ्नो ओड्ने ओछ्याउने कपडा समेतका समानहरु बरामम भएकोले पक्राउ गरी आवश्यक कार्यवाहीको लागि सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय पठाइएको भन्ने समेत व्यहोराको भोगेन्द्र रायमाझीको प्रतिवेदन ।

       .    श्रावण १५ गते म लगायत फलाम तामाङ र अम्वर तामाङ घरबाट हिंडी काठमाडौं मनाङ्गी भन्ने गोफ्ले साहुलाई भेटी हामीलाई निजले लुक्ला आउने टिकट समेत दिएको हुँदा ऐ. २३ गते लुक्ला आई अर्को दिन स्यांगवोचे गई पासो थाप्दा भदौ ६ गते सम्ममा भाले कस्तुरी १ र पोथी कस्तुरी १ परेकोले सो को विना लैजादा जोरसल्ले प्रवेशद्वारमा पक्राउ परेको हो  । पहिले पौष महिनामा पनि सोही जङ्गलबाट भाले कस्तुरी १ मारी मनालङ्गी गोफ्ले साहुलाई प्रति तोला रु.३५००। का दरले विना बिक्री गरेका भन्ने समेत व्यहोराको अभियुक्त पन्द घलले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयमा गरेको साविती बयान ।

       .    म सहित पन्द घले र अम्वर तामाङ्गले २०४९।५।६ गते कस्तुरी मारी ऐ. ७ गते लिएर जाँदा जोरसल्ले प्रवेशद्वारमा पक्राउ परेको हो । पन्द घलेले गोफ्ले साहुलाई चिनाएको र निज साहुले हाम्रो प्लेनको टिकट किनी खर्चको लागि रु. ४०० का दरले दिएका र विनाको प्रति तोला रु.३५००। दिने कुरा गरेको थिए । सोनाम मेरो सालो पर्छ भन्ने समेत व्यहोराको फलाम तामाङ्गले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय सोलुमा गरेको बयान ।

       .    पन्द घलले, फलाम तामाङ्ग र म सहित स्यांगवोचे जङ्गलबाट कस्तुरी मृत मारी विना लिएर जाँदा जोरसल्लेमा पक्राउ परेको हौं भन्ने समेत व्यहोराको अम्वर तामाङ्गले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयमा गरेको बयान ।

       .    यी व्यक्तिहरुबाट कस्तुरीको वीना मासु समेत बरामद भएकाले यिनीहरु कस्तुरी मारी विना बिक्री गर्ने मानिस हुन भन्ने समेत एकै मिलानको मिति २०४९।५।९ को सर्जमिन मुचुल्का ।

.    अभियुक्त पन्द घले, फलाम तामाङ्ग र अम्वर तामाङ्गले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ दफा ५() को वर्खिलाप कार्य गरेकोले सोही ऐनको दफा २६() अनुसार जनही रु. २५०००। जरिवाना र ५ वर्ष कैद सजाय गरी पाउँ भन्ने समेत व्यहोराको मिति २०४९।५।१० को फिराद पत्र ।

       .    मैले मेरा साथीहरुसँग मिली कस्तुरी मार्ने र विना बिक्री गर्ने समेतको काम गरेको हुँ भन्ने समेत व्यहोराको पन्द घलेले मिति २०४९।५।१६ मा सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय सोलुका नि. प्रमुख संरक्षण अधिकृत समक्ष गरेका बयान ।

       .    मैले कस्तुरी मृग मार्ने कार्यमा भाग लिएकै हुँ र गोफ्ले साहुले सामान टिकट समेत खरिद गरी दिएको हुँदा वीना उसैलाई बेच्ने विचार गरेको थियौं भन्ने समेत व्यहोराको अभियुक्त अम्वर तामाङ्गले नि. प्रमुख संरक्षण अधिकृत समक्ष गरेका बयान ।

       १०.   पासो थापी कस्तुरी मृग मारेको हुँ । वीना बिक्रीबाट धेरै पैसा कमाउन सकिन्छ भन्ने अभिप्रायले मृगको शिकार गरी विना बेच्ने गरेको भन्ने समेत व्यहोराको फलाम तामाङ्गले नि. प्रमुख संरक्षण अधिकृत समक्ष मिति २०४९।५।१६ मा गरेको बयान ।

       ११.   प्रतिवादीहरु पन्द घले, फलाम तामाङ्ग र अम्वर तामाङ्गलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ दफा २६() अनुसार जनही ५ वर्ष कैद र पच्चीस हजार रुपैया जरिवाना हुने ठहर्छ भन्ने समेत व्यहोराको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको मिति २०५१।१।२५ को फैसला

       १२.  हामीसँग जवरजस्तीपूर्ण तवरले लिएको साविती र त्रुटिपूर्ण बरामदी मुचुल्कालाई आधार मानी शुरु कार्यालयले गरेको फैसला वदर गरी हक इन्साफ गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरु पन्द घले, अम्वर तामाङ्ग र फलाम तामाङ्गको संयुक्त पुनरावेदन पत्र ।

       १३.  विशेष अदालत ऐन, २०३१ को दफा ८() बमोजिम प्रतिवादीको मुद्दा हेर्ने अधिकार समक्ष नभै निमित्त समक्ष बयान भएको देखिएको, मुलुकी ऐनको ढाँचामा बयान नभएको, बयानमा प्रतिवादीको साक्षी सबुद नसोधिएको नखुलाएको, मुद्दा हेर्ने अधिकारी समक्ष दशी पेश नभएको, सनाखत नभएको, सजाय पनि हदै सम्मको भएका देखिएकोले शुरुको इन्साफ फरक पर्ने देखिंदा प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराज सप्तरीको मिति २०५२।३।२७।३ को आदेश।

       १४.  यसमा पुनरावेदक प्रतिवादी पन्द घले, अम्वर तामाङ्ग फलाम तामाङ्ग समेतले कस्तुरी मारी वीना बिक्री गर्ने कार्यमा आफ्नो संलग्नता रहेको भनी आरोपित कसूर गरेकोमा साविती रही गरेको बयान, निजहरुबाट कस्तुरीको वीना १ समेत बरामद भएको बरामदी समेतको आधारमा पुष्टी हुन गएको अवस्था र स्थितिमा निजहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ दफा ५() को अपराध गरेको देखिन आउँदा उक्त ऐनको दफा २६() बमोजिम कसूरको मात्रा अनुसार प्रतिवादीहरुलाई  शुरुले गरेको सजाय चर्को पर्ने देखिंदा निजहरुलाई जनही १ वर्ष कैद र रु. ५०००। जरिवाना हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत राजविराजको मिति २०५२।७।१३ को फैसला ।

       १५.  पुनरावेदन अदालतको उक्त फैसलामा चित्त बुझेन । प्रतिवादीहरु अनुसन्धान अधिकारी तथा मुद्दा हेर्ने अधिकारी समक्ष कसूरमा सावित छन् । निजहरु उपर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत कसूर कायम भएको छ । उक्त ऐन अनुसारको मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची भित्र पर्ने नभै श्री ५ को सरकार वादी भई चल्ने मुद्दा हो । सो मुद्दामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ दफा ३१() अनुसार ३५ दिन भित्र पुनरावेदन परेको भए मात्र ग्रहण गर्नु पर्नेमा पुनरावेदन अदालत राजविराजबाट कानूनले थमाउन पाउने हदम्याद समेत गुज्रि पर्न आएको पुनरावेदन पत्र ग्रहण गरी गरेको फैसला उक्त ऐन र मुलुकी ऐन अ.वं. १९३ नं. समेतको त्रुटी गरी गरेको हुँदा वदर गरी शुरु सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको फैसला अनुसार नै वादी दावी बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन पत्र ।

       १६.   यसमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०४९ दफा ३१() मा तोकिएको अदालत वा अधिकारीले गरेको निर्णय वा आदेश उपर सो निर्णय वा आदेश भएको ३५(पैंतिस) दिन भित्र पुनरावेदन अदालतमा पुनरावेदन लाग्ने भन्ने व्यवस्था भएकोले सो व्यवस्था अनुरुप प्रस्तुत पुनरावेदनमा सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय सोलुबाट मिति २०५१।१।२५  मा भएको फैसला उपर पैंतीस दिन भित्र पुनरावेदन अदालत राजविराजमा पुनरावेदन लाग्न सक्नेमा सो पैंतीस दिन नघाई मिति २०५१।५।९ मा परेको पुनरावेदन लिई हेरेको पुनरावेदन  अदालतको फैसला नमिली फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम छलफलको लागि प्रत्यर्थीहरु झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासबाट मिति २०५७।२।२३ मा भएको आदेश ।

       १७.  नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकार तर्फबाट रहनु भएका विद्वान सहन्यायाधिवक्ता श्री पुष्पराज कोइरालाले प्रतिवादीहरु आफूले कसूर गरेमा अनुसन्धान अधिकारी र मुद्दा  हेर्ने अधिकारी समक्ष सावित रहेका छन् । निजहरुको सँग साथबाट अवैध कस्तुरीको विना थान एक समेत बरामद भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ दफा ३१() मा शुरु फैसला उपर चित्त नबुझे ३५ दिन भित्र सम्बन्धित पुनरावेदन अदालतमा पुनरावेदन लाग्न सक्ने व्यवस्था स्पष्टरुपले भइरहेको अवस्थामा सो म्याद नघाई दिएको पुनरावेदन लिई इन्साफ बोलेको पुनरावेदन अदालतको फैसला वदर भई शुरुबाट भएको फैसला सदर कायम रहनु पर्दछ भनी गर्नु भएको वहस सुनी पुनरावेदन सहितका मिसिल संलग्न प्रमाण कागजात अध्ययन गरी हेर्दा पुनरावेदन अदालत राजविराजले गरेको फैसला मिले नमिलेको के रहेछ ? र पुनरावेदन जिकिर बमोजिम हुने वा नहुने के हो ? भन्ने सम्बन्धमा नै निर्णय दिनु पर्ने हुन आयो ।

       १८.  यसमा निर्णय तर्फ विचार गर्दा प्रतिवादीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ दफा ५() को वर्खिलाप कार्य गरेकाले सोही ऐनको दफा २६() अनुसार जनही रु. २५०००। जरिवाना र ५ वर्ष कैद सजाय गरी पाउँ भन्ने समेतको मुख्य फिराद दावीमा प्रतिवादीहरुले कस्तुरी मृग मारेमा सावित भई बयान गरेको प्रस्तुत मुद्दामा शुरु सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृतले प्रतिवादीहरु तीनैजनालाई कसूरदार ठहर्‍याई जनही कैद वर्ष ५ र रु. २५,०००। जरिवाना गर्ने गरेको फैसला आंशिक उल्टी गरी प्रतिवादीहरुलाई जनही कैद वर्ष १ र रु.,०००। जरिवाना गर्ने गरेको पुनरावेदन अदालत राजविराजको फैसला उपर वादी श्री ५ को सरकारको तर्फबाट प्रस्तुत पुनरावेदन परेको पाइन्छ ।

       १९.   यसमा प्रतिवादीहरु पन्द घले समेतका तीनै जना अभियुक्तहरुलाई फिराद दावी बमोजिम कसूरदार ठहर्‍याई सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृतले मिति २०५१।१।२५ मा गरेको फैसला उपर प्रतिवादीहरुको २०५१।५।१९ मा मात्र पुनरावेदन अदालतमा पुनरावेदन परेको पाइन्छ । सो २०५१।१।२५ मा भएको फैसला उपर चित्त नबुझे ७० दिन भित्र पुनरावेदन गर्न भनी प्रतिवादीहरुका नाममा म्याद जारी भएकोमा सो म्याद प्रतिवादीहरुले २०५१।२।२ मा बुझेको मिसिल संलग्न निजहरुको भरपाइबाट देखिन्छ । ७० दिन भित्र पुनरावेदन गर्न नसकेको कारण देखाई अ.वं. ५९ नं. अन्तर्गत उक्त ७० दिन गुज्रेको मितिले ३० दिन भित्र थमाइ पाउन निवेदन दिई म्याद थमाइ २०५१।५।९ मा मात्र प्रतिवादीहरुले पुनरावेदन दर्ता गराएको देखिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ दफा ३१() मा त्यस्तो फैसला उपर ३५ दिन भित्र पुनरावेदन अदालतमा पुनरावेदन लाग्ने व्यवस्था भइरहेको पाइन्छ । तर ७० दिनको पुनरावेदन म्याद दिएकोले ७० दिन भित्र पुनरावेदन लाग्ने हो कि भन्नेतर्फ विचार गर्दा कानूनद्वारा तोकिएको म्याद भन्दा घटि बढी हुने गरि पुनरावेदन गर्ने म्याद दिंदैमा त्यसरी दिएको म्याद भित्र पुनरावेदन लाग्ने नभई कानूनद्वारा निर्दिष्ट गरिएको म्याद भित्रै पुनरावेदन गर्नु पर्ने हुन्छ । विधायिकाबाट ऐनमा नै प्रष्टरुपले तोकि दिएको पुनरावेदन गर्ने म्याद अन्यथा हुने गरी घटी बढी उल्लेख गर्दैमा त्यस्तो घटी बढी कायम रहन सक्ने नभई कानूनद्वारा निर्दिष्ट मँयद नै कायम हुने हुँदा सम्बन्धित मुद्दाका पक्ष विपक्षले पनि कानूनद्वारा निर्दिष्ट म्यादलाई नै अनुशरण गरी सोही म्याद भित्रै पुनरावेदन गर्नुपर्ने हुन्छ ।

       २०.  तसर्थ प्रस्तुत मुद्दामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ दफा ३१() द्वारा निर्दिष्ट ३५ दिन म्याद भित्र प्रतिवादीहरुले पुनरावेदन नगरी २०५१।२।२ मा तामेल भएको पुनरावेदन गर्ने म्यादबाट ३५ दिन र अ.वं. ५९ नं. ले थमाउन पाउने म्याद ३० दिन नघाई २०५१।५।१९ मा आयर मात्र दायर भएको देखिंदा त्यस्तो पुनरावेदन ग्रहण गरी इन्साफ गर्न नमिल्ने भई पुनरावेदनै खारेज गर्नुपर्नेमा सो नगरी इन्साफ गर्ने गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेको नदेखिएकोले उल्टी हुने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।

 

तपसिल

       प्रतिवादी पन्द घले, अम्वर तामाङ्ग र फलाम तामाङ्ग के, माथि ठहर खण्डमा उल्लेख भए बमोजिम पुनरावेदन अदालत राजविराजको इन्साफ उल्टी हुने ठहरी फैसला भएकोले पुनरावेदन अदालत राजविराजले निजहरुको हकमा गर्ने गरेको कैद र जरिवाना कायम रहन नसक्ने भै सो पुनरावेदन अदालतको फैसला अनुसारको कैद र जरिवानको लगत काटी दिन र शुरुले कायम गरेको कैद र जरिवाना यथावत रहेन हुँदा सो बमोजिम बाँकी कैदको लगत दिनु र जरिवाना असूल गर्नु भनी शुरु सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयलाई लेखी पठाउनु......

मिसिल नियमानुसार गरी बुझाई दिनु................

 

उपयुक्त रायमा सहमत छु ।

 

प्र.न्या.केदारप्रसाद गिरी

 

इति संवत २०५७ साल फाल्गुण १९ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु