निर्णय नं. ४९८६ - फैसला वदर

निर्णय नं:– ४९८६ २०५१, ने.का.प. अङ्क १०
पूर्ण इजलास
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
सम्वत २०४८ सालको दे.पु.इ.नं. ८१
फैसला मितिः– २०५१।८।८।५
मुद्दाः– फैसला वदर ।
पुनरावेदक/प्रतिवादीः– लुम्बिनी अंचल रुपन्देही जिल्ला कदैया गा.वि.स. वडा नं. ७ बस्ने रामलखन तिवारी ।
विरुद्ध
वादीः– ऐ ऐ बस्ने बच्चाराम भन्ने रामवचत तिवारी
§ प्रमाण ऐन, २०३१ को दफा ६ तथा अंशवण्डाको तत्कालिन १८ नं. को व्यवस्थाले पनि सगोलको अंशियारले सगोल अवस्थामा कमाएको आर्जन भाग लाग्ने र सगोलको अंशियाहरुमा जसको नाउँमा रहेको सम्पत्ति पनि सगोलको अंश लाग्ने सम्पत्ति हुने ।
(प्र.नं. १६)
§ विवादको वादीको नाउँको सम्पत्ति उखडा जग्गा भै २०२१ सालमा १३ वर्षको उमेरमा प्राप्त गरेको मिसिल प्रमाणबाट देखिन्छ । बाबु छोराले नै उखडामा जग्गा प्राप्त गरी दुबैको नाममा जग्गा रहेको देखियो । १३ वर्षको वादीले आफ्नो श्रमले कमाई उखडामा जग्गा प्राप्त गरेको भन्न स्वाभाविक नदेखिने ।
(प्र.नं. १६)
§ सगोलको ठहरी फैसला भएपछि वादी पनि अंश मुद्दाका प्रतिवादीको छोरा भै सगोलै रहेको अवस्थामा निजको नाउँमा रहेको कारणबाट नै प्रस्तुत विवाद जग्गामा वादीको एकलौटी हक भन्न सकिने अवस्था नुहेन ।
(प्र.नं. १७)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणी राज सिंह मल्ल
विपक्षी वादी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश बस्ती ।
अवलम्वित नजीर – x
फैसला
न्या. कृष्णजंग रायमाझी : सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ (क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः–
२. विपक्षी मध्ये शिवनारायण भन्ने रामलखन तिवारी मेरा बाबा हुन् । म नावालख हुँदाका अवस्था बबा आमाको वैमनस्यता भै २०२१ साल अगाडि आम र मलाई अलग्याई दिएको हो । सो समयमा हाम्रो अचल सम्पत्ति केही नभै चल सम्पत्ति हातहातै बाँडी हर्दी गाउँको माटाको देवाल १ खरको छानो भएको घर वण्डा गरी बाबु र हामी आमा छोरा भिन्न बसी उसै वखत जिमिदार सुरेन्द्र बहादुर रायको सिर जग्गाबाट बाबु राम लखनले र जिमिदार भुलन सिंहको सिरबाट मैले उखडा जग्गा जोत भोग गरी आएको थिएँ । २०२१ सालमा लागू भएको उखडा ऐन नियम बमोजिम छुट्टाछट्टै फाराम भरी प्रमाण समेत पाई आफ्नो हर जति नम्बरीमा परिणत गराई सर्वे नापी हुदा बोगडी गा. प. वार्ड नं. १ कि.नं. २८२ ज. वि. ०–०–८, ऐ वडा नं. २ कि. नं. ८३ को ज. वि. ०–०–१९, ऐ वार्ड नं. ३ कि. नं. २७५ ज. वि. ०–८–१५, ऐ ऐ कि. नं. ३०३ को ज. वि. ०–३–१, ऐ ऐ कि. नं. ५८० को ज. वि. ०–१०–३, ऐ ऐ कि. नं. ६५४ को ज. वि. ०–३–३, ऐ ऐ कि. नं. ६५६ ज. वि. ०–३–०, ऐ ऐ वडा नं. ४ (क) कि. नं. २६ को ज. वि. ०–०–१६, ऐ ऐ कि. नं. २८ को ज. वि. ०–०–१२, ऐ ऐ कि. नं. ३० को ज.वि. १–१–० ऐ ऐ कि. नं. ५८ को ज.वि. ०–१–१०, ऐ ऐ कि.नं. ४८५ ज.वि.०–४–१२, ऐ ऐ कि. नं. ५३६ ज.वि. ०–३–१६, ऐ ऐ कि. नं. ६४५ ज. वि. ०–२–३ ऐ ऐ कि. नं. ६७७ को ज. वि. ०–५–६, ऐ ऐ कि. नं. ६८२ को ज. वि. ०–११–३ समेतका जग्गा नापी दर्ता भई जग्गाधनी प्रमाणपत्र पाइ भोगचलन गरी आएकोमा विपक्षी रामलखन तिवारीले वच्चाराको जग्गामा अघि मेरो हक भएको छ भनी गाउँमा हल्ला गरेकाले बुझ्दा विपक्षीहरु एक आपसमा अंश मुद्दा गरी मेरो हक दर्ताका जग्गा वादी रामलखनबाट अंशमा तायदाती दाखिल भई २ जनाको आधि आधि वण्डा गर्ने गरी रुपन्देही जिल्ला अदालतबाट मिति २०३२।३।३२ मा फैसला भई पुनरावेदन परी अंचल अदालतले पनि शुरु सदर गरी फैसला भई सो फैसला उपर शिवनारायण भन्ने रामलखनले पुनरावेदन गर्ने अनुमति नपाई अन्तिम भई उल्लेखित जग्गा विपक्षीहरुले लिनु दिनु गरी बीच बीचमा अंश मुद्दा गरी फैसला वण्डा गरी लिने गरेको फैसला वदर गरी पाउँ भन्ने समेत व्यहोराको वादी बच्चाराम भन्ने रामवचन तिवारीको फिराद पत्र ।
३. म उपरको वादी दावी झुठ्ठा हो । वादी र वादीको आमा मेरी श्रीमती अलग भिन्न बसी छुट्टै आर्जन गरी आएको मैले अलग आर्जन गरी अलग व्यवहार गर्दै आएको छु । म उपरको झुठ्ठा दावीबाट फुर्सद दिलाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी शिवनारायण भन्ने रामलखन तिवारीको प्रतिउत्तर पत्र ।
४. विपक्षीको बाबु शिवनारायण भन्ने रामलखन तिवारी र मेरो बीच अंशमुद्दा चली निजले तारिख गुजारेको कारणबाट मैले तायदाती फाँटवारी दिई आधा अंश पाउने ठहरी भएको फैसला वदर हुनु पर्ने होइन । भुठ्ठा वादी दावीबाट फुर्सद दिलाई झुठ्ठा दावी गरेमा वादीलाई नै सजाय गरी पाउँ भन्ने समेत व्यहोरा प्रतिवादी रामलखन तिवारी प्रतिउत्तरपत्र ।
५. वादी दावीको जग्गा वादीका नाउँमा दर्ता रहेको र प्रतिवादी शिवनारायण भन्ने रामलखनका नाउँमा छुट्टै दर्ता समेत देखिनाले वादी दावीको जग्गा वण्डा हुने र यसरी वादीलाई बुझ्दै नबुझी वादीको नाउँमा जग्गा वण्डा हुने ठहरेको अवस्थामा वादीको हक नपुग्ने भन्न न्यायोचित भएन । तसर्थ अंश मुद्दा गरी सो फैसलाबाट वण्डा हुने ठहरेको वादी दावीको जग्गा वादीको कायम हुने ठहर्छ भन्ने समेत २०३८।११।२९ को रुपन्देही जिल्ला अदालतको फैसला ।
६. २०४०।११।१ को हुकुम प्रमागी बमोजिम प्रतिउत्तर कायम राखी पुनः २०४०।१२।३० मुद्दा दायरीमा दर्ता भई कारवाही समेत भएको रहेछ ।
७. वादी दावीमा कि. नं. ६५४ को जग्गा समेत दावी लिएको, तर उक्त कि. नं. ६५४ को जग्गा अंश मुद्दाबाट प्रतिवादीले प्राप्त गरेको नदेखिदा सो जग्गा बाहेक अरु वादी दावी बमोजिम जग्गा वादीको उखडा जग्गा निजी आर्जनको देखिदा वादी दावी बमोजिम फैसला वदर हुने ठहर्छ भन्न मिति २०४२।७।२५ गतेको रुपन्देही जिल्ला अदालतको फैसला ।
८. उक्त फैसलामा चित्त बुझेन । सम्पूर्ण मिसिलको छानवीन गरी शुरु अदालतबाट प्रमाण नै नबझी नजिरलाई आधार बनाई भएको फैसला वदर गरी झुठ्ठा दावीबाट फुर्सद दिलाई पाउँ भन्ने समेत व्यहोराको लुम्बिनी अंचल अदालतमा परेको पुनरावेदन ।
९. दर्तावालालाई बुझ्दै नबुझी प्रतिवादी नबनाई भएको अंशमुद्दाको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरित मान्नु पर्ने हुँदा उखडाबाट वादीका नाउँमा दर्ता हुन आएको जग्गासम्म अंशमुद्दाको फैसला वदर गरेको शुरुको इन्साफ मुनासिव ठहर्छ भन्ने मिति २०४३।५।१९ गतेको लुम्बिनी अंचल अदालतको फैसला ।
१०. वादीलाई नबुझेको कारणले मात्र मेरो अंश हकबाट मलाई वंचित गर्ने गरेको शुरु अदालतको फैसलालाई सदर गर्ने गरेको लुम्बिनी अंचल अदालतको फैसला कानूनी त्रुटीपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको रामलखन तिवारीले प. क्षे. अ. मा गरेको निवदेन पत्र ।
११. लुम्बिनी अंचल अदालतको पुनरावेदन फैसला त्रुटीपूर्ण हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने प. क्षे. अ. को मिति २०४४।११।१३ गतेको आदेश ।
१२. अंशमुद्दामा वादी रामलखनको यी वादीलाई प्रतिवादी बनाउन सकेको नदेखिएको तथा पेटबोलीबाट पनि निजलाई बुझेको देखिन नआएको अवस्थामा वादी बच्चाराम भन्ने रामवचनको उखडाबाट निजी तवरले प्राप्त गरी आफ्नो नाउँमा दर्ता गराएको सम्पत्तिलाई अंश मुद्दामा वादी रामलखनले तायदातीमा उल्लेख गरी आधा वादीले वन्दा पाउने गरी भएको फैसला न्यायिक सिद्धान्तको विपरित देखिंदा उखडाबाट वादीको नाउँमा दर्ता हुन आएको जग्गासम्मको अंशमुद्दाको फैसला वदर गर्ने गरेको शुरु रुपन्देही जिल्ला अदालतको इन्साफ सदर गरेको लुम्बिनी अंचल अदालतको इन्साफमा कानूनी त्रुटी भएको नदेखिंदा प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पश्चिममाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१३. प. क्षे. अ. को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ६ र ५४ को प्रत्यक्ष कानूनी त्रुटी गरी सर्वोच्च अदालतबाट प्रतिवादित सिद्धान्त विपरित निर्णय भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने रामलखन तिवारीको यस अदालतमा पर्न आएको निवेदन पत्र ।
१४. प. क्षे. अ. ले गरेको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ६ को व्याख्यात्मक त्रुटी भएको देखिंदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ (५) (ख) अनुसार पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।
१५. अंश मुद्दामा वादी राम लखनले यी वादी बच्चाराम भन्ने रामवचनलाई प्रतिवादी बनाउन सकेको देखिंदैन र पेटबोलीबाट पनि बुझेको देखिन नआएको अवस्थामा निजले उखडाबाट प्राप्त गरेको जग्गामा यी प्रतिवादीले अंशमुद्दाको तायदातीमा उल्लेख गरी आधा वादीले वण्डा पाउने गरी भएको फैसला मिलेको नदेखिंदा उखडाबाट वादीको नाउँमा दर्ता हुन आएको जग्गासम्मको अंशमुद्दाको फैसला बदर गर्ने गरेको शुरु जिल्ला अदालतले इन्साफलाई सदर गरेको लुम्बिनी अंचल अदालतको इन्साफमा कानूनी त्रुटी नभएको भनी गरेको प. क्षे. अ. को फैसला मनासिव ठहर्छ भन्ने मा. न्या. श्री गजेन्द्र केशरी वास्तोलाको राय र वादीले जग्गा कमाएको नाताबाट हक प्राप्त २०३४ साल अघि नै गरेको देखिंदा त्यसलाई निजी आर्जन मानी वण्डा गर्नु नपर्ने भनी मान्नु कानूनसँग नुहँदा सगोलमा छँदै आर्जन गरेका सम्पत्ति रामलखन र शिवनारायण भन्ने रामलखनका बीच अंश वण्डा भएको कानून संगत देखिंदा प. क्षे. अ. ले वादीका नाउँमा रहेको उखडाबाट प्राप्त गरेको जग्गा वण्डा पाउने गरी भएको फैसला बदर गर्ने गरेको निर्णय उल्टी हुन्छ भन्ने मा.न्या. श्री गोविन्द बहादुर श्रेष्ठको छुट्टै राय भएको मिति २०४८।९।२६ को राय बाझी फैसला ।
१६. प्रस्तुत मुद्दा पुनरावेदक प्रतिवादी तर्फका विद्वान अधिवक्ता श्री चुडामणी राज सिंह मल्ले प्रस्तुत गर्नु भएको वहस नोटमा वादीका बाबु शिवनारायण भन्ने रामलखन तिवारीसँग अंशमुद्दा पर्दा मरो पक्षले अंश पाउने मुद्दा पर्दा ठहर भएकोमा वादीको बाबुले स.अ. बाट २०३६।२।१९ मा पुनरावेदन गर्न अनुमती समेत नपाएबाट म अंश मुद्दा पर्दा मेरो पक्षले अंश पाउने ठहर भएकोमा वादीको बाबुले स.अ. बाट २०३६।२।१९ मा पुनरावेदन गर्न अनुमती समते नपाएबाट म अंश पाउने अंशियार भएकोमा विवाद रहने, उखडा भनेको राजीनामा वकसपत्र सरह तुरुन्त दर्ता हुने जग्गा नभई साविक देखि उखडा कमाई आएको जग्गा मात्र मोहीको नाउँमा दर्ता हुने भएकोमा दर्ता हुँदा वादी नावालक देखिएकोले वादीको बाबुकै केही उखडा जग्गा बादीको नाउँमा दर्ता भउको स्पष्ट हुन्छ, ने. का. प. २०४३ अंक ९ पृष्ठ ८६१, ने. का. प. २०४४ अंक ३ पृष्ठ २७३ मा प्रकाशित भएको नजिर समेतको आधारमा प. क्षे. अ. को फैसला उल्टी हुनु पर्ने भनी उल्लेख गरेको देखिन्छ । त्यस्ते विपक्षी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रकाश वस्तीले मेरो पक्ष र निजको पिता पहिले नै छुट्टी भिन्न भै अलग अलग बसेका हुन, कुनै पनि सम्पत्ति नभएकोले लिखत गर्नु पर्ने आवश्यक नपरेको हो, वादीको नाउँमा दर्ता भएको उखडा जग्गा निजी आर्जनको हो । मेरो पक्षलाई अंश मुद्दामा प्रतिवादी पनि नबनाइएको र पेटबोलीबाट पनि नबुझिएको, आफ्नो हकको जग्गा अंशवण्डा लाग्ने गरी भएको फैसलालाई बदर गरी पाउन आएको हुँदा प. क्षे. अ. ले गरेको इन्साफ सदर हुनु पर्छ भनी गर्नु भएको बहस समेत सुनियो ।
१७. यसमा आज निर्णय सुनाउन भनी पेश हुन आएको प्रस्तुत मुद्दामा उल्लेखित वहसहरुलाई समेत ध्यानमा राखी मिसिल अध्ययन गरी निर्णय तर्फ विचार गर्दा अंश मुद्दामा यो वादी प्रतिवादी नभएको र पेटबोलीबाट बुझिएको पनि देखिंदैन, तापनि प्रस्तुत मुद्दामा वादीको अ. वं. ८६ नं. अन्तर्गत फिराद परेको देखिएको छ । अ. वं. ८६ नं. हेर्दा फैसला डिसमिस मिलापत्र खारेज भएकाले आफ्नो समेत हक जाने रहेछ भने आफ्नो हक जतिमा फिराद गर्न सक्ने व्यवस्था देखिन्छ । अंश मुद्दाबाट यो वादीको बाबु र प्रतिवादी रामलखन सगोलको अंशियार ठहरी अंश पाउने भएको फैसला निजहरुका हकमा अन्तिम नै छ । प्रमाण ऐन, २०३१ को दफा ६ तथा अंशवण्डाको तत्कालीन १८ नं. को व्यवस्थाले पनि सगोलको अंशियारले सगोल अवस्थामा कमाएको आर्जन भाग लाग्ने र सगोलको अंशियारहरुमा जस्को नाउँ रहेका सम्पत्ति पनि सगोलको अंश लाग्ने सम्पत्ति हुने देखिन्छ । विवादको वादीको नाउँको सम्पत्ति उखडा जग्गा भै २०२१ सालमा १३ वर्षको उमरेमा प्राप्त गरेको मिसिल प्रमाणबाट देखिन्छ । बाबु छोराले नै उखडामा जग्गा प्राप्त गरी दुबैको नाममा जग्गा रहेको देखियो । १३ वर्षको वादीले आफ्नो श्रमले कमाई उखडा जग्गा प्राप्त गरेको भन्न स्वाभाविक देखिन्न । सगोल ठहरी फैसला भएपछि वादी पनि अंशमुद्दाका प्रतिवादीको छोरा भई सगोलै रहेको अवस्थामा निजको नाउँमा रहेको कारणबाट नै प्रस्तुत विवाद जग्गामा वादीको एकलौटी हक भन्न सकिने अवस्था छैन । अन्य प्रमाण वादीले गुजार्न सकेको देखिएन । तसर्थ अंश मुद्दाको फैसलाबाट अ. वं. ८६ नं. अन्तर्गत वादीको हक गएको भन्न सकिने अवस्था नहुँदा वादी दावी पुग्न सकदैन । फैसला वदर गर्ने गरेको फैसला उल्टी हुन्छ । माननीय न्यायाधीश श्री गोविन्द बहाुदर श्रेष्ठको राय मनासिव छ । अरु तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी पुग्न नसक्ने ठहरेकाले पुनरावेदक प्रतिवादीले तत्कालीन लुम्बिनी अंचल अदालतमा राखेको कोर्टफी रु. १।५०, प. क्षे. अ. मा राखेको कोर्टफी १।५० तथा यस अदालतबाट पुनरावेदनको अनुमती पाई राखेको कोर्टफी रु. १।५० समेत जम्मा कोर्टफी रु. ४।५० विपक्षी वादीबाट भरी पाउने हुँदा सो भराई पाउँ भनी विपक्षी वादीको यसे सरहदको जेथा देखाई कानूनका म्याद भित्र दरखास्त पर्न आए भराई दिनु भनी शुरु जि.अ. मा लेखी पठाउन का.जि.अ. मा लगत दिनु १ माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादी दावी नपुग्ने ठहरेकाले शुरु रुपन्देही जिल्ला अदालतको फैसलाले वादीलाई भराई दिने गरेको कोर्टफी रु. २६।– पुनरावेदक रामलखनले लुम्बिनी अंचल अदालतमा पुनरावेदन गर्दा धरौट राखेको देखिएको र उक्त धरौट वादीलाई भराई दिन नपरी पु.वे. प्रतिवादीलै नै फिर्ता खर्च पाउन हुँदा सो फिर्ता पाउँ भनी कानूनका म्याद भित्र दरखास्त पर्न आए फिर्ता खर्च लेखी दिन शुरु जि. अ. मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु ।
उक्त रायमा हामी सहमत छौं ।
न्या. केशव प्रसाद उपाध्याय
न्या. लक्ष्मण प्रसाद अर्याल
इति सम्वत् २०५१ साल मंसिर ८ गते रोज ५ शुभम् ।