निर्णय नं. ४९८९ - उत्प्रेषण

निर्णय नं:– ४९८९ २०५१, ने.का.प. अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा
माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
सम्वत् २०४८ सालको रिट नं.– १७३६
आदेश मितिः– २०५०।६।१८।२
विषय : उत्प्रेषण ।
निवेदिकाः जिल्ला कंचनपुर महेन्द्रनगर नगरपालिक वडा नं. २ बस्ने जानकीदेवी चन्द ।
विरुद्ध
विपक्षी : जिल्ला कंचनपुर महेन्द्रनगर नगरपालिक वडा नं. २ बहुलिया बस्ने गोविन्द बोहरा । ऐ ऐ उल्टाखाम बस्ने सुमेरु चन्द कन्चनपुर जिल्ला अदालत, महेन्द्रनगर ।
§ रिट क्षेत्रबाट विवाहो कि. नं. ३२६ को जग्गा निजी स्त्रीधनको हो वा होइन भनी तथ्यको निरोपण गरी छुट्याउन नमिल्ने ।
(प्र नं. ९)
§ जुन लिखत निवेदिकाका पति सुमेरु चन्दले गरी दिनु भएको छ सो लिखतमा गोबिन्द बोहरासँग कर्जा लिंदा सुमेरु चन्दले विवादको कित्ता जग्गा मेरा अंश, हक चलन भोगको मेरी श्रीमती जानकी देवीको नाउँमा दर्ता भन्ने बोली पारी मिति २०४२।१०।११ भएको कागजमा स्वयं निवेदिका जानकी देवी साक्षी बसेको समेत देखिंदा लिलामीको कारवाही गैरकानूनी भयो भन्ने स्थिति नदेखिने ।
(प्र नं. ९)
निवेदिका तर्फबाट : – x
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार श्रेष्ठ
अवलम्वित नजीर : x
आदेश
न्या. त्रिलोक प्रताप राणा : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवदेनका संक्षिप्त विवरण यस प्रकार छः
२. विपक्षी गोविन्द बोहरा वादी र विपक्षी सुमेरु चन्द प्रतिवादी भई कंचनपुर जिल्ला अदालतमा चलेको २०४६ सालको दे.नं. १३।८२ को र २०४६ सालको दे.नं. १४।८३ को गरी जम्मा दुईवटा लेनदेन मुद्दामा विपक्षी गोविन्द बोहराले कंचनपुर जिल्ला अदालतबाट मिति २०४७।५।२५।२ मा दुबै मुद्दामा गरी साँवा र ब्याज कोर्टफी आदि गरी जम्मा रु. ३७,९१६।२६ भरी पाउने ठहर भै फैसला भएको थियो । विपक्षी गोविन्द बोहराले म निवेदिका जानकी देवी चन्दका नाउँमा दर्ता रहेको कसैलाई कुनै तवरले वण्डा गरी दिनु नपर्ने मुलुकी ऐन स्त्री अंश धन अन्र्तगत को मेरो एकलौटी निजी सम्पत्ति जी. कंचनपुर तत्काल महेन्द्र नगर नगरपालिका वडा नं. २ प्लट नं. ४ को कि. नं. ३२६ को ज.वि.०–१२–८ जग्गा सुमेरु चन्दको जेथाको रुपमा देखाई विगो भराई पाउन कंचनपुर जिल्ला अदालत समक्ष झठ्ठा व्यहोरा निवेदन दिनु भएको रहेछ । सोही सूचनाको आधारमा उक्त मरो जग्गा मिति २०४८।६।२ गतेका दिन कंचनपुर जिल्ला अदालतको प्रागणमा लिलाम बढाबढ गरिने भन्ने सूचना २०४८।५।१२ मा प्रकाशित भएको भएपनि हालसम्म लिलाम बढाबढ गर्ने काम भएको छैन । यसरी विपक्षीहरुको एक आपसमा मुद्दा परी मलाई थाहा पत्ता नदिई मेरो उक्त जग्गा विपक्षी जिल्ला अदालतले गैर कानूनी तवरले लिलाम गर्न लागेको सम्पूर्ण काम कारवाही वदर गरी पाउन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) अन्तर्गत यो निवेदन गरेको छु । मेरो लिखित निवेदन जिकिर यस प्रकार छ ।
(क) दुई पक्ष बीचको लेनदेन मुद्दामा म कुनै वादी प्रतिवादी होइन । मैले गोविन्द बोहरा सँगबाट कुनै रकम कर्जा लिएको भनी दावी पनि छैन । यस्तो अवस्थामा विपक्षी गोविन्द बोहराले विपक्षी सुमेरु चन्दबाट विगो भरी भराऊ गरी लिन पाउने ठहरी फैसला हुँदैमा मेरो एकलौटी स्त्री अंश धन अन्तर्गतको माथि उल्लेखित गरेको जग्गा लिलाम गरी विगो भराउन पाउने होइन मिति २०४७।५।२५।२ का दुबै फैसलाको तपरिल खण्डमा समेत प्रतिवादी सुमेरु चन्दको नेपाल सरहदको जेथा देखाई भरी पाउन दरखास्त दिन आए दस्तुर लिई भरी भराउ गरी दिनु भन्ने उल्लेख हुँदा हुँदै विपक्षी गोविन्द बोहराले मेरो जग्गा निवेदनमा उल्लेख गर्दैैमा अदालतले विगो भराउन गरी गरिएको सम्पूर्ण काम कारवाही गैर कानूनी छ । विपक्षी गाविन्द बोहराले मेरो जग्गामा खिचाला गरी वाली लुटपिट समेत गरेकोले मैले निज विपक्षी उपर जग्गा खिचाला वाली लुटपिट समेत मुद्दा दिई मैले जिती सकेको छु ।
(ख) दुई पक्ष बीचको लेनदेन मुद्दामा म वादी प्रतिवादी केही होइन । यस्तो हुँदा हुँदै पनि विपक्षी गोविन्द बोहराले विगो भरी भराउ गरी पाउन मेरो नाउँमा दर्ता भएको कसैलाई कुनै व्यहोराले वण्डा गरी दिन नपर्ने मेरो निजी एकलौटी स्त्री धन अन्तर्गतको सम्पत्ति कि.नं. ३२६ को जग्गा विगाहा ०–१२–८ जग्गालाई विपक्षी सुमेरु चन्दका जेथा भनी उल्लेख गरी मलाई समेत नबुझी मलाई कुनै थाहा पत्ता जानकारी समेत नदिई गैर कानूनी रुपमा मेरो सो जग्गा लिलाम गर्ने गरी निजको सम्पूर्ण काम कारवाहीहरुबाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२ (१) (ङ) र १७ (१) समतल प्रदान गरेको मौलिक हक कुण्ठित भएको संविधानको धारा २३।८८ (२) अन्तर्गत यो निवेदन गर्न आएको छु । विपक्षीहरका मेरो लिलाम गर्ने गरिएका सम्पूर्ण काम कारवाही वदर गरी उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ भन्ने रिट निवदेनको मुख्य जिकिर ।
३. यसमा के कसो भएको हो विपक्षीहरुबाट लिखत जवाफ मगाइ आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने एक न्यायाधीशको इजलासको मिति ०४८।१०।१ को आदेश ।
४. वादी गोविन्द बोहरा प्रतिवादी निवेदिका जानकी देवी चन्दको एकाघरको लोग्ने सुमेरु चन्द भएको रु. ८६८०।– को लेनदेन मुद्दा – १, ऐ ऐ को रु. १९०००।– को लेनदेन मुद्दा १ समेत गरी जम्मा २ मुद्दाहरुको मुद्दा किनारा हुन भन्दा अगावै विपक्षी सुमेरु चन्दले आफ्नो नामबाट आमा धनादेवीको नाउँमा र श्रीमती जानकीदेवी चन्दका नाउँमा नामसारी गराएका जग्गाहरु बिक्री वितरण गर्न सक्ने हुँदा सो जग्गाहरु रोक्का राखिदिन मालपोत कार्यालयका नाउँमा आदेश जारी गरी पाउँ भनी वादी गोविन्द बोहराले यस अदालतमा दिएको निवेदन बमोजिम उक्त जग्गा राख्ने आदेश भएकोमा सो आदेश उपर धनादेवीको हकमा समेत जानकी देवी चन्दले श्री महाकाली अंचल अदालतमा निवेदन दिएको र म.क्षे.अ. बाट मिति २०४२।१०।११ को लिखत रु. १९०००।– को कर्जा वापत प्रतिवादी सुमेरु चन्दको श्रीमती जानकीदेवी चन्द १–२–२ जग्गा मध्ये उत्तर तर्फबाट ०–१२–० जग्गासम्म लिखितमा डिक राखेको र सो लिखतमा निज जानकी देवी समेत साक्षी बसेको हुँदा निज जानकी देवी कि.नं. ३२६ को ०–१२–८ जग्गासम्म रोक्का राख्न नमिल्ने भन्ने आदेश भएकोमा सो आदेश उपर निज जानकी देवीले सु.प.क्षे.अ.मा निवदेन दिएकी मा कानून बमोजिम गर्न‘ भन्ने तोक लागि आएपछि चित्त बुझाई बसेको हुन् । सो आदेश बमोजिम निवेदिकाको कि.नं. ३२६ को जग्गा कंचनपुर मालपोत कार्यालयबाट रोक्का राखेको छ । अन्तिम फैसला भएपछि सो रोक्का राखेको जग्गाबाट नै विगो भरी भराउमा वादीको दरखास्त परी कारवाही भएकोमा हाल मलाई कुनै जानकारी नै नभएको भन्ने निवेदिकाको व्यहोरा झुठ्ठा हो । आफ्नो नाउँको उक्त जग्गाबाट सा वादी गोविन्द बोहराको दुबै तमसुकको विगो समेत भरी भराउन सक्ने भन्ने कुरा निवेदिकाले म.अं.अ. को मिति ०४७।३।१५ मा भएको रोक्का राख्ने आदेश हुँदा नै थाहा पाइसेकेको छ । निवेदिकाले उल्लेख गरे अनुसार निजको जेथा जग्गा स्त्री अंश धन नभई मुलुकी ऐन दण्ड सजायको २६ नं. बमोजिम साहुको धन खाँदा सँगै बस्ने सबै अंशियारको अंशबाट साहुले भरी पाउने भन्ने भएका कानूनी व्यवस्था अनुसार निवेदिकाको उक्त रोक्का भई रहेको जायजेथाबाट वादीले आफ्नो विगो भरी पाउने र भरी भराउ तर्फ निवेदकले दिएको दरखास्तमा कानून बमोजिम नै कार्यान्वयन भएको हो । निवेदक प्रतिवादी सुमेरु चन्दको श्रीमती भएको निजको नाउँको दर्ताको म.न.पा.वा.नं. २ कि.नं. ३२६ को ज.वि. ०–१२–८ जग्गा मध्ये पश्चिम दक्षिण दिशा तर्फबाट पञ्चकृत मूल्याङ्कन बमोजिम हुन आउने ज.वि. ०–५–१९ जग्गा वादी गोविन्द बोहराले सुमेरु चन्दसँग लिन पर्ने रु. ४००६७।८८ वापत सकार गरी लिन मन्जुर गरेकोले सो जग्गा साविक जग्गाधनी जानकी देवी चन्दको नाउँबाट वादी गोविन्द बोहराको नाउँमा दर्ता गरी दिने मालपोत कार्यालय कंचनपुरमा लेखि पठाउन भन्न मिति २०४८।७।१७ को यस अदालतबाट पर्चा खडा भएको । निवेदकलाई यस सम्बन्धमा कुनै थाहा जानकारी नदिई लिलाम गर्न कारवाही गरेको भन्ने रिट निवेदन असत्य हुँदा यस अदालतबाट भएको फैसला कार्यान्वयन सम्बन्धी कारवाही सदर राखी निवेदिकाको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत कंचनपुर जिल्ला अदालतको लिखित जवाफ ।
५. म गोविन्द बोहराबाट निवेदिकाको एक घरको लाग्ने सुमेरु चन्द २०४०।५।१० मा रु. ८६८०।– र मिति २०४२।१०।११ मा रु. १९,०००।– कर्जा लिई तमसुक गरिदिएको र उक्त तमसुक गरिदिंदा आफ्नु श्रीमती जानकी देवी चन्दका नाउँमा दर्ता भएको कि.नं ७८ को १–२–२ मध्ये उत्तर पट्टीको ०–१२–० जग्गा चलनभोग गर्नु भनी देखि दिएको र निवेदिका जानकीदेवी चन्द समेत तमसुकमा साक्षी बसेकी छिन । निवेदिकाको लोग्ने सुमेरु चन्दले मेरो उक्त तमसुकी रुपैया मार्ने नियत लिई म समेत उपर करकापसँग दुईवटा कागज गरायो भन्ने मुद्दा कंचनपुर जिल्ला अदालतमा दायर गरेपछि सो मुद्दामा आफू हार्ने ठहराई निवेदिकाबाट म उपर दुईवटा लुटपिट एकवटा कुटपिट एकवटा जग्गा खिचोला मुद्दा दायर गराएका थिए । दुबै स्त्री पुरुष मिली मेरो रुपिया खाने नियत लिई म माथि मुद्दा गरेका हुन् । अंश वण्डाको ८ नं. ले सुमेरु चन्द घरको मुख्य मानिस हुँदा निजले गरेको व्यवहार गोश्वारा धनबाट चल्ने व्यवस्था छ । भूभि सम्बन्धी ऐन, २०२१ को दफा २ को देहाय (ग) मा परिवारको व्याख्या गर्दा परिवार मानिनेछन, भनिए पछि सुमेरु चन्दले लिए आएको रुपैया निजको श्रीमती निवेदिका भएको र निवेदिकाको नाउँमा दर्ता रहेको सम्पत्तिबाट मैले भराई लिन पाउने र रुपैयाले खामको जेथा जती अदालतले लिलाम गर्न नपाउने र लिलाममा कसैले नबोले पछि मैले सकार गर्न नपाउने कुन ऐनले व्यवस्था गरेको छ सो कुरा निवेदिकाले प्रष्टसाथ उल्लेख गर्न सकेको छैन । मिति २०४८।६।२० मा लिलाम हुने भई २०४८।५।१२ मा कंचनपुर जिल्ला अदालतले सूचना प्रकाशित गरेको कुरा निवेदिकाले थाहा पाई सो कार्य वदर गरी पाउँ भनी यो रिट निवेदन दिएकी हुन् । उता निवेदिकाको किता नं. ३२६ जग्गा विगाहा ०–१२–८ जग्गा रोक्का कायम रहेको कुरा निवेदिकालाई महाकाली अंचल अदालतको निर्णयबाट थाहा भएकै छ ।
६. निवेदिकाले माथि लेखिए बमोजिम झुठ्ठा निवेदन दिई सम्मानीत अदालतलाई भ्रममा राख्नु खोजेको कारण र कंचनपुर जिल्ला अदालतको लिखित जवाफ समेतलाई दृष्टिगत गरी रिट रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत विपक्षी गोविन्द बोहराको लिखित जवाफ ।
७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयको लागि इजलास समष पेश भएको प्रस्तुत रिट निवेदनमा रिट निवेदक तर्फबाट कोही उपस्थित हुनु भएन । विपक्षी तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार श्रेष्ठले निवेदिकाको पति सुमेरु चन्दले विपक्षीसँग कर्जा लिएको कागजमा निवेदिका समेत साक्षी बसेकी छिन् । सुमेरु चन्दले पैसा नतिरेपछि विपक्षी गोविन्द बोहराले जिल्ला अदालतमा फिराद दायर गर्यो । मुद्दा चल्दा चल्दैको अवस्थामा विपक्षी निवेदिकाका पति सुमेरु चन्दले निवेदिका र आप्नो आमाको नाउँमा जग्गा पास गराएको छ । जग्गा रोक्क राखेकोमा निवेदिकाले उजुरी समेत गरिन् । उक्त जग्गा मेरो स्त्री धन अन्तर्गतको हो भनी उजुरी दिएपनि सु.प.क्षे.अ. ले सो कुरालाई मानेन । रोक्का गरेको कागजमा आफू समेत साक्षी बसेको छ । मिति ०४७।९।२० मा रोक्का गरेको कुरालाई वदर गर्न निवेदिका २०४८ सालमा रिट निवेदन दिन आएकी छिन । विलम्वको सिद्धान्तबाट समेत प्रस्तुत रिट निवेदन खारेज हुनु पर्दछ भनी वहस गर्नुभयो ।
८. प्रस्तुत रिट निवेदनमा निवेदिकाको माग बमोजिम रिट जारी हुने नहुने के हो सो बारे निर्णय दिनुपर्ने हुन आयो । यस्मा रिट निवेदिका जानकी देवी चन्दले विपक्षी गोविन्द बोहरा बादी र विपक्षी सुमेर चन्द प्रतिवादी भई कंचनपुर जिल्ला अदालतमा चलेको २०४६ सालको दे. नं. १३।८२ को र २०४९ सालको दे.नं. १४८३ को गरी जम्मा २ वटा लेनदेन मुद्दामा विपक्षी गोविन्द बोहराले कंचनपुर जिल्ला अदालतबाट मिति २०४७।५।२५।२ मा दुबै मुद्दामा गरी साँवा ब्याज कोर्टफी आदी गरी जम्मा रु. ३७,९१६।२६ भरी पाउने ठहर भै फैसला भएको सिलसिलामा विपक्षी गोविन्द बोहराले म निवेदिकाको नाउँमा दर्ता रहेको स्त्री अंश धन अन्र्तगत को मेरो एकलौटी निजी सम्पत्ति जी. कंचनपुर तत्काल महेन्द्रनगर नगरपालिका वडा नं. २ प्लट नं. ४ को कि. नं. ३२६ को ज.वि.०–१२–८ जग्गा सुमेरु चन्दको जेथाको रुपमा देखाई विगो भराई पाउन कंचनपुर जिल्ला अदालत समक्ष झठ्ठा व्यहोरा निवेदन दिई सो आधारमा मेरो जग्गा मिति २०४८।६।२ गतेका दिन कंचनपुर जिल्ला अदालतको प्राँङ्गणमा लिलाम बढाबढ गरिने भन्ने सूचना २०४८।५।१२ मा प्रकाशित भएको भएपनि हालसम्म लिलाम बढाबढ गर्ने काम भएको छैन । यसरी विपक्षीहरुको एक आपसमा मुद्दा परी मलाई थाहा पत्ता नदिई मेरो उक्त जग्गा विपक्षी जिल्ला अदालतले गैर कानूनी तवरले लिलाम गर्न लागेको सम्पूर्ण काम कारवाही वदर गरी पाउँ भनी नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत यो निवेदन गरेकी छु भन्ने रिट निवेदकको मुख्य भनाई भएको पाइन्छ । विपक्षी गोविन्द बोहरा प्रतिवादी निवेदिका जानकी देवी चन्दको एकाघरको लोग्ने सुमेरु चन्द भएको रु. ८,६८०।– को लेनदेन मुद्दा – १ ऐ ऐ को रु. १९०००।– को लेनदेन मुद्दा–१ समेत गरी जम्मा २ मुद्दाहरुमा मुद्दा किनारा हुन भन्दा अगावै विपक्षी सुमेरु चन्दले आफ्नो नाउँबाट आमा धनादेवीको नाउँमा र श्रीमती जानकीदेवी चन्दका नाउँमा समेत नामसारी गराएका जग्गाहरु बिक्री वितरण गर्न सक्ने हुँदा सो जग्गा रोक्का राखिदिन मालपोत कार्यालयका नाउँमा आदेश जारी गरी पाउँ भनी वादी गोविन्द बोहराले यस अदालतमा दिएको निवेदन बमोजिम उक्त जग्गा रोक्का राख्ने आदेश भएकोमा सो आदेश उपर धनादेवीको हकमा समेत जानकी देवी चन्दले श्री महाकाली अंचल अदालतमा निवेदन दिएको र म.अं.अ. बाट मिति २०४२।१०।११ को लिखत रु. १९०००।– को कर्जा वापत प्रतिवादी सुमेरु चन्दको श्रीमती जानकीदेवी चन्दको १–२–२ जग्गा मध्ये उत्तर तर्फबाट ०–१२–० जग्गासम्म लिखितमा डिक राखेको र सो लिखतमा निज जानकी देवी समेत साक्षी बसेको हुँदा निज जानकी देवीको कि.नं. ३२६ को ०–१२–८ जग्गासम्म रोक्का राखेको मिलेकै र सो बाहेकको अरु जग्गा रोक्का राख्न नमिल्ने भन्ने आदेश भएकोमा सो आदेश उपर निज जानकी देवीले सु.प.क्षे.अ.मा निवदेन दिएकीमा कानून बमोजिम गर्न‘ भन्ने तोक लागि आएपछि चित्त बुझाई बसेकी र आदेश बमोजिम कंचनपुर मालपोत कार्यालयबाट सो कि.नं. ३२६ को जग्गा रोक्का राखेको छ । यसरी रोक्का राखेको जग्गा विगो भरी भराउमा वादीको निवेदन परी कारवाही भएकोमा मलाई जानकारी नै नभएको भन्ने निवेदिकाको व्यहोरा झुठ्ठा हो । आफ्नो नाउँको उक्त जग्गाबाट साहु वादी गोविन्द बोहराको दुबै तमसुकको विगो समेत भरी भराउन सक्ने भन्ने कुरा निवेदिकाको म.अं.अ. को मिति ०४७।३।१५ मा भएको रोक्का राख्ने आदेश हुँदा नै थाहा पाइसेकेको छ र निवेदिकाको स्त्री अंश धन नभई मुलुकी ऐन दण्ड सजायको २६ नं. बमोजिम साहुको धन खाँदा सँगै बस्ने सबै अंशियारको अंशबाट साहुले भरी पाउने भन्ने भएको कानूनी व्यवस्था अनुसार निवेदिकाको उक्त रोक्का भई रहेको जायजेथाबाट वादीले आफ्नो विगो भरी पाउने र भरी भराउ तर्फ निवेदिकाले दिएको दरखास्त उपर कानून बमोजिम नै कार्यान्वयन भएको हो । निज प्रतिवादी सुमेरु चन्दको श्रीमती भएकी र निजको नाउँको दर्ताको उक्त कि.नं. ३२६ को ज. विगाह ०–१२–८ जग्गा मध्ये पश्चिम दक्षिण दिशा तर्फबाट पञ्चकृत मूल्याङ्कन बमोजिम हुन आउने ज.वि. ०–५–१९ जग्गा जग्गा वादी गोविन्द बोहराले सुमेरु चन्दसँग लिनु पर्ने रु. ४००६७।८८ वापत सकार गरी लिन मन्जुर गरेकोले सो जग्गा साविक जग्गाधनी जानकी देवी चन्दको नाउँबाट वादी गोविन्द बोहराको नाउँमा दर्ता गरी दिने मालपोत कार्यालय कंचनपुरमा लेखि पठाउने भन्ने मिति २०४८।७।१७ को यस अदालतबाट पर्चा खडा भएकोले निवेदकलाई यस सम्बन्धमा कुनै थाहा जानकारी नदिई लिलाम गर्न कारवाही गराएको भन्ने रिट निवेदनको व्यहोरा झुठ्ठा हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत कंचनपुर जिल्ला अदालतको लिखित जवाफ र त्यस्तै विपक्षी गोविन्द बोहराबाट पनि निवेदिका र विपक्षी सुमेरु चन्द एकाघरका लोग्ने स्वास्नी भएका र कर्जा लिंदाको अवस्थामा तमसुक गरिदिंदा पनि आफ्नो श्रीमती जानकी देवी चन्दका नाउँमा दर्ता भएको कि.नं ७८ को १–२–२ मध्ये उत्तर पट्टीको ०–१२–० जग्गा चलनभोग गर्नु भनी देखि दिएको र निवेदिका जानकीदेवी चन्द समेत तमसुकमा साक्षी बसेकीले अंश वण्डाको ८ नं. ले सुमेरु चन्द घरको मुख्य मानिस हुँदा निजले गरेको व्यवहार गोश्वारा धनबाट चल्ने व्यवस्था भएको र भूभि सम्बन्धी ऐन, २०२१ को दफा २ को देहाय (ग) मा परिवारको व्याख्यामा व्यवस्था भए अनुसार सुमेरु चन्दले लिए आएको रुपैया निजको श्रीमती निवेदिका भएकी र निवेदिकाको नाउँमा दर्ता रहेको सम्पत्तिबाट मोल भराई लिन पाउने र रुपैयाले खामेको जेथा जती अदालतले लिलाम गर्न नपाउने र लिलाममा कसैले नबोले पछि मैले सकार गर्न नपाउने कुन ऐनले व्यवस्था गरेको छ मिति २०४८।६।२० मा लिलाम हुने भई २०४८।५।१२ मा कंचनपुर जिल्ला अदालतले सूचना प्रकाशित गरेको कुरा निवेदिकाले थाहा यो झुठ्ठा निवेदन दिएकी र उता निवेदिकाकोे किता नं. ३२६ जग्गा विगाहा ०–१२–८ जग्गा रोक्का कायम रहेको कुरा पनि निवेदिकालाई महाकाली अंचल अदालतको निर्णयबाट थाहा भएकै हुँदा कंचनपुर जिल्ला अदालतको लिखित जवाफ समेतलाई दृष्टिगत गरी रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत विपक्षी गोविन्द बोहराको लिखित जवाफको मूल भनाई भएको पाइन्छ ।
९. रिट निवेदनको व्यहोरा तथा विपक्षीहरुको लिखित जवाफ समेतलाई दृष्टिगत गर्दा यसमा रिट निवेदकले विवादीत जिल्ला कंचनपुर तत्कालीन महेन्द्रनगर नगर पञ्चायत वडा नं. २ प्लट नं. ४ कित्ता नं. ३२६ को जग्गा विगाह ०–१२–८ जग्गा मेरो स्त्री अंश धनको महल बमोजिम निजी सम्पत्ति हो । त्यस्तो सम्पत्ति मेरो लोग्ने सुमेरु चन्दको लेनदेन मुद्दामा विगो भराउने सन्दर्भमा लिलामीमा कारवाही चलाएको मिलेन सो कारवाही उत्प्रेषणको आदेशद्वारा वदर गरी पाउँ भन्ने रिट निवेदनको मुख्य जिकिर लिनु भएकोमा रिट क्षेत्रबाट विवादको उक्त कि. नं. ३२६ को जग्गा निजी स्त्री धनको हो वा होइन भनी तथ्यको निरोपण गरी छुट्याउन मिल्दैन । जुन लिखत निवेदिकाका पति सुमेरु चन्दले गरी दिनु भएको छ सो लिखतमा गोबिन्द बोहरासँग कर्जा लिंदा सुमेरु चन्दले विवादको कित्ता जग्गा मेरा अंश, हक चलन भोगको मेरी श्रीमती जानकी देवीको चन्दको नाउँमा दर्ता भन्ने बोली पारी मिति २०४२।१०।११ भएको कागजमा स्वयं निवेदिका जानकी देवी साक्षी बसेको समेत देखिंदा लिलामीको कारवाही गैरकानूनी भयो भन्ने स्थिति देखिएन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. जोगेन्द्र प्रसाद श्रीवास्तव
इति सम्वत् २०५१ साल असोज १८ गते रोज २ शुभम्