निर्णय नं. ४९९० - कर्तव्य ज्यान

निर्णय नं:– ४९९० २०५१, ने.का.प. अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
सम्वत् २०४९ सालको फौ.पु.नं. ४६१, ५१५, ४२९
आदेश मितिः– २०५१।३।२७
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक/वादीः दिल बहादुर सेठीको जाहेरीले श्री ५ को सरकार ।
विरुद्ध
विपक्षी : जि. डडेलधुरा औमेरु गा.वि.स. वडा नं. ३ बस्ने गगन सिंह बोहरा
ऐ ऐ बस्ने धर्मा कुमारी सेठी
ऐ ऐ बस्ने श्रीमती मैना देवी सेठी
पुनरावेदकः जि. डडेलधुरा अजयमेरु गा.वि.स. वार्ड नं. ६ घर भै हाल कारागार शाखा डडेलधुरामा थुनामा रहेकी मेनादेवी सेठी ।
विरुद्ध
विपक्षी : दिल बहादुर सेठीको जाहेरीले श्री ५ को सरकार ।
पुनरावेदकः जि. डडेलधुरा अजयमेरु गा.वि.स. वार्ड नं. ३ टिटाली बस्ने गगन सिंह बोहरा ।
विरुद्ध
विपक्षी : दिल बहादुर सेठीको जाहेरीले श्री ५ को सरकार ।
§ वारदात अवस्था उपस्थित नभई मृतक मृत्यु पश्चात लास दवाउने क्रियामा सरिक भएको देखिंदा निजलाई ज्यान सम्बन्धी १७ (३) नं. आकर्षित नहुने भई सोही महलको ४ नं. आकर्षित हुने ।
(प्र.नं. ३२)
पुनरावेदक वादी तर्फबाट : विद्वान उप–सरकारी अधिवक्ता श्री टीका बहादुर हमाल
विपक्षी प्रतिवादी तर्फबाट : x
अवलम्वित नजीर : x
आदेश
न्या. गोविन्द बहादुर श्रेष्ठ : पुनरावेदन अदालत मुकाम महेन्द्र नगरको फैसला उपर यस अदालतमा दुबै पक्षको पुनरावेदन दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः–
२. यस्मा मेरी बुहारी कलावती सेठी २०४६।२।२ का दिन राती सुतेको समय पारी घर जग्गाको लालपूर्जा नगद रु. ६०००।– उसैले पहिरी राखेकी ४० तोला चाँदी र १ तोला सुन समेत लगी बेपत्ता भएकी हुँदा खोज तलास गर्दा उसको माइती घरमा पनि नभेटिएकीले खोज तलास गरी पाउँ भनी मैना देवी सेठीले अजमेरु गा.पं. मा दिएको मिति २०४६।२।४ को निवेदन ।
३. म पशुपति प्रसाद गण तेधरी ब्यारेक धनगढीमा कार्यरत रहेको वेला घरमा बृश्री ५ को सरकार आमा र श्रीमती कलावती मात्र भएकी अवस्थामा २०४६।१।३० का दिन कलावती नगद रु. ६५००।– र निजले लगाएको चाँदी ४० तोला र सुन १ तोला समेत लगी बेपत्ता भएकी र खोज तलास गर्दा फेला नपरेकीले खोज तलास गरी पाउँ भनी निजको फोटो समेत संलग्न गरी दिन बहादुर सेठीले जि.प्र.का. डडेलधुरामा मिति २०४९।२।९ मा दिएको हुलिया निवेदन ।
४. म धनगढीमा कार्यरत हुँदा तिम्री श्रीमती २०४६।१।३० बाट हराएकीले त्यहाँ आएकी भनी मलाई २०४६।२।४ गते खबर प्राप्त भएपछि निजको माइती घरमा भन्दा त्यहाँ पनि फेला नपरेको जेठ ७ गते बिदा लिई घरमा गएको आमाले तिम्री श्रीमती धनमाल समते लिई भागेको हो भनेपछि ऐ ९ गते हुलिया निवेदन दिएको हुँ । ऐ १२ गतेका दिन रेवले खोलामा चीलहरु घुमीरहेको देखि शंका लागि म समेतका गाउँलेहरुले गई हेर्दा मेरी श्रीमतीले लगाउने गरेको ब्लाउज चिने र एकदमै गन्ध आएको थियो लास पानीको तालमा भएकोले पुनः आमालाई सोध्दा निज कलावतीले २०४७।१।३० का दिन धनगढी जान दिएनौ थाहा पाउलीस भनेकी थिइन् राती खाना खाई सुती सकेको अवस्था पारी नजिकैको घाँस राख्ने गोठमा पासो लगाएकी रहिछ ऐ ३१ गते विहान घाँस लिन जाँदा मैले देखेपछि डोरी काटेर लासलाई छोपी सोही राती लासलाई डोकोमा हाली रेवले खोलाको पानीको तालमा फाली आएको हुँ भनी भनेकीले कानून बमोजिम आवश्यक अनुसन्धान कारवाही गरी पाउँ भन्ने दिल बहादुर सेठीको २०४६।२।१३ को जाहेरी दरखास्त ।
५. पूर्व रेवले खोलाको भीर, पश्चिम ऐ खोलाकै भीर, उत्तर दक्षिण रेवले खोला र उत्तर तर्फ पूर्व पश्चिम जाने गोरेटो बाटो यति चार किल्ला भित्र पर्ने रेवले खोलामा अलिकति पानी भएको र २ वटा पानीको सोनो पोखरी (खाल्टो) माथिल्लो पोखरी करिब ५ फिट गहिरो र ५।५ फिट गोलाकार भएको तल्लो पोखरी करिव ४ फिट गहिरो भएको र ६।७ फिटकपो गोलाकार भएको यि दुबै पोखरी मध्ये दक्षिण तर्फको पोखरीमा हेर्दा कलेजी रंगको पोलिष्टरको ब्लाउज भेटिएको अन्य चीज बस्त नभेटिएको उत्तर तर्फको पोखरीमा मानिस पसी निकाली हेर्दा माथि म्याउलको सेटाहरु राखेको उक्त सेटा बाहिर निकाल्दा पानी भित्र ५ फिट लामो मानव अस्थिपन्जर निस्केको । सो अस्थिपन्जरमा मासु नभएको, अस्थिपन्चरको खुट्टा देखि टाउकोसम्म निहुरिएको, दुइटै हातको हड्डी छुट्टीई अलग भएको, एक हातको हड्डी छुट्टिएर मात्र फेला परेको उक्त पोखरीबाट बाँधेको रातो हरियो धर्का भएको झोला र पोलिष्टरको साडी – १ डो (इजार) टुटेको पेटीकोट – १ निस्केको । उक्त झोला खोली हेर्दा चप्पल जोर – १, ब्लाउज थान – १ सल – १ ब्लाउज – १ नाइनलको साडी – १ ऊनी स्वीटर – १ धोती – १ हाते रुमाल – १ पुरानो रुमाल – १ ३ लुमको डोरी थान – १ सानो गोल सिसा – १ समेत फेला परेको सम्पूर्ण लुगा कपडाहरु श्रीमती कलावती सठीका हुन् भन्ने घटनास्थल तथा लास प्रकृति मुचुल्का ।
६. उक्त मानव अस्थिपन्जर आईमाई मानिसको हो भन्ने मेडिकल अधिकृतको लास जाँच प्रतिवेदन ।
७. २०४६ बैशाखको अन्तिम शनिवारको दिन खाना खाई सुती सकेपछि बुहारी बाहिरबाट घरमा आउँदा छोरा परदेशमा भएको बेला तँ किन यसरी रातीसम्म बाहिर बस्छेस भन्ने विषयमा झगडा हुँदा नून पीस्ने लोडीले बुहारीको कन्चटमा मैले हान्दा अइया सम्म पनि भन्न नपाई त्यही घोप्टीई मरेकी हो । मरेपछि मैले सो लासलाई एक्लै पिठ्यूमा बोकी गाई बाध्ने गोठमा लगी राखी ढोका बन्द गरी दिएकी र भोलिपल्ट जेठ १ गते विहान ज्वाई गगन सिंह बोहराको घरमा गई निजलाई बोलाई मेरो घरमा ल्याइसकेपछि मात्र सबै कुरा निजसँग मैल भन्दा निजले प्रहरीमा जाहेर गर्नुपर्छ भनेका थिए मैले आफ्नो मान्छे तपाई मात्र हो अरु कोही छैन यो लासलाई खोलामा फाली दिनु पर्यो भन्दा बेलुकी आउँदा भनी घर गएका हुन् । आइतवार विहान मेरी छोरी १५ वर्षकी धर्मा कुमारी गोठमा घाँस हाल्न जाँदा निजले पनि सो लास देखेपछि सो कुरा मलाई भनेकी र मैले यो कुरा कसैलाई नभन्नु भनेकी हुँ । सोही दिन राती १०–१२ बजेतिर ज्वाई गगन सिंह बोहरा मेरो घरमा आएका र निजलाई डोकोमा लास बोकाई छोरी धर्माकुमारीलाई पनि साथमा लिई लास खोलामा फाल्न गएको हो लास दवाउनमा छोरी धर्माले सहयोग गरेकी थिइनन् भोलि पल्ट जेठ २ गते लास हेर्न जाँदा लास बाहिर देखिएकोले ढुङ्गा र म्याउलाको सेटाहरुले लासलाई पानी भित्र दवाएको हुँ भन्ने समेत व्यहोराको अभियुक्त मैनादेवी सेठीले प्रहरीमा गरेको सावित बयान ।
८. मैनादेवी सेठीले प्रहरीमा गरको बयानमा उल्लेख गरे बमोजिमको भूमिका निभाएको कुरामा सावित भै अभियुक्त गगन सिंह बोहराले प्रहरीमा भएको बयान ।
९. २०४९ साल जेष्ठ शुरु दिन विहान गाई गोरुलाई घाँस हाल्न गोठमा जाँदा भाउजु कलावतीको लास देखि आमालाई भनेपछि आमाले चुप लाग कसैलाई नभन्नु भनेकी थिइन सोही राती भिनाजु गगन सिंह पनि आएका रहेछन् आमाले मलाई पनि उठाइन भिनाजुले लास डोकोमा बोकी रेवल खोलाको पानीको तालमा फाली आएको हुन निजहरुको साथमा म पनि गएकी हुँ कसैलाई नभन्नु भनेकोले कसैलाई पनि भनेकी थिइन भन्ने अभियुक्त धर्माले प्रहरीमा गरेको बयान ।
१०. रेवले खोलामा चील घुमीरहेको देख्दा जाहेरवाला दिल बहादुर सेठीको साथमा सो खोलामा हेर्न म पनि हुँ । मृतक कलावतीको ब्लाउज पानीको तालमा थियो । दिल बहादुर सो ब्लाउज चिनेपछि घरमा आई निजकी आमा मैना देवीलाई सोद्धा झुण्डिई मरेपछि मैले लासलाई पानीको तालमा फालेकी हुँ भनेपछि दिल बहादुर सेठी र म समेत भै जि.प्र.का. मा जाहेर गर्न गएका हौं पछि थाहा हुँदा मैना देवीले मारेकी र गगनसिंह समेत भै लास फालेका भन्ने सुनेको हुँ भनी रुद्रीलाल शाहले सर्जमिनमा लेखाई दिएको ।
११. मेरी बुहारी कलावती हराएकी छन् भनी मैना देवी सेठीले पञ्चायतमा निवेदन दिएकी र छोरालाई पनि सोही कुरा खबर गरेकी छोरा आएपछि निजले प्रहरीमा हुलिया दरखास्त दिएको । पछि रेवले खोलामा चिल घुमिरहेको देखि त्यहाँ गै हेर्दा दिल बहादुरले पानीको तालमा रहेको आफ्नो श्रीमतीको ब्लाउजलाई चिनी सो कुरा आमालाई सोद्धा बुहारी पासो लगाई मरेपछि मैले फालेको हुँ भनी भनेकी र छोराले सोही जाहेरी प्रहरीमा दिएको हो पछि मैना देवी सेठीले बुहारीलाई मारेकी र ज्वाई गगन सिंहलाई बोलाई लास फालेको रहेछ भन्ने सुनेको हुँ, निज मैना देवी र मृतक बहारी कलावतीको कहिले काही झगडा पनि हुने गर्दथ्यो भन्ने समेत व्यहोराको डम्बर सिंह पनेरु समेतका मानिसहरुले गरी दिएको करिव एकै मिलानको सर्जमिन मुचुल्का ।
१२. अभियुक्त मैनादेवी सेठीले मुलकी ऐन ज्यान सम्बन्धीको १० को १ नं. को कसूर गरेका सिश्री ५ को सरकार हुन आएकोले ऐ महलको १३ (३) बमोजिम सर्वश्व सहित जन्मकैदको सजाय हुन र अभियुक्त गगन सिंह बोहराले ज्यान सम्बन्धी १७ नं. को कसूर गरेको देखिएकोले ऐ को दहाय ३ बमोजिम सजाय हुन र ज्यान सम्बन्धीको ४ नं. बमोजिम थप सजाय समेत हुन तथा अभियुक्त धर्माकुमारी सेठीले ज्यान सम्बन्धीको २३ नं. को कसूर गरेकोले ऐ को २५ नं. अनुसारको सजाय हुन भन्ने माग दावी लिई पेश गरिएको प्रहरी प्रतिवेदन ।
१३. मैले प्रहरीमा गरेको बयान राजीखुशीले गरेको होइन । सिस्नु लगाएका र पैतालामा लठ्ठी हानी डर त्रास देखाई बयान गरेकी हुँ । छोरीको जाहेरीमा उल्लेख गरेको कुरा मैले भनेको होइन । किन यस्तो जाहेरी दियो थाहा छैन । बुहारी कलावतीलाई कसले मार्यो थाहा छैन भन्ने अभियुक्त मैना देवी सेठीले अदालतमा गरेको बयान ।
१४. मैले प्रहरीमा गरेको बयान मेरो राजीखुशी होइन । प्रहरीले कुटपिट गरेकोले सो बयान मैले गरेको हुँ । कतावली हराएको कुरा मैले सासुबाट थाहा पाएको हुँ पछि निजले लास रेवले खोलामा फेला परेको सुनेको हुँ । सासुले प्रहरीमा गरेको बयानमा किन मेरो नाम त्यसरी भन्न भयो थाहा छैन भन्ने अभियुक्त गगनसिंह बोहराले अदालतमा गरेको बयान ।
१५. कलावती सेठी कसरी मरी मलाई थाहा छैन । प्रहरीमा गरेको बयान गराई सही गराएको होइन सिस्नु लगाई बयान गराई सही गराएका हुन आमाले प्रहरीमा गरेका बयानमा किन त्यसरी लेखाउनु भयो थाहा छैन । सर्जमिनका मानिसले किन लेखाए थाहा छैन भन्ने समेत व्यहोरा अभियुक्त धर्माकुमारी सेठीले अदालतमा गरेको बयान ।
१६. कलावती मृत्यु पोइजन खुवाई भएको जस्तो लाग्छ जाहेरी दरखास्तमा उल्लेख भएको कुरा ठीक छ । तेज बहादुर ऐर र मेरी श्रीमती कलावतीको नजाइज सम्बन्ध भएको शंका लाग्छ । तेज बहादुर ऐर मैना देवी र गगन बहादुरको सल्लाह भै वास्तविक रहस्य म सँग नखुलाई छिपाएको हो निज तिनै जनाको षडयन्त्रबाट कलावतीको मृत्यु भएको हुनु पर्छ भन्ने जाहेरवाला दिन बहादुर सेठीले अदालतमा गरेको बयान ।
१७. मैले सर्जमिनमा लेखाई दिएको कुरा ठीक छ कलावती पासो लगाई मरेको भन्ने कुरा मैना देवीकै भनाईबाट थाहा पाएको हुँ भन्ने व्यहोराको सर्जमिनका करण सिंह ऐरको बकपत्र ।
१८. कलावतीलाई मैना देवीले मारी गगन सिंह समेत भै लास दवाएको कुरा निज प्रतिवादीकै मुखबाट सुनेको हुँ भन्ने समेत व्यहोराको सर्जमिनका रुद्र लाल शाहको बकपत्र ।
१९. मैना देवीकै भनाई अनुसार कलावतीलाई निजैले मारेको हो गगन सिंह र धर्माकुमारी लास दवाउन सहयोग भएको थियो भन्ने लाग्छ भन्ने सर्जमिनका रण बहादुर शाहको बकपत्र र करिव सोही मिलानको सर्जमिनका दल बहादुर सेठीको बकपत्र ।
२०. कलावती सेठीको मृत्यु मैनादेवी सेठीकै कर्तव्यबाट भएको हो भन्ने सर्जमिनका प्रयोग सेठी डम्बर सिह पनेरु तथा नन्दलाल अवस्थीको बकपत्र ।
२१. मृतक कलावती सेठी र मैनादेवीको बीच झगडा भै रहने कुरा मृतक कलावतीका बुबाले दिल बहादुरलाई लेखेको पत्र समेतबाट समर्थन हुन आएको जाहेरवालाको किटानी जाहेरी, सर्जमिनका व्यक्तिहरुको किटानी बकपत्र, मानव अस्थिपन्जर स्वास्नी मानिसको भन्ने मेडिकल अधिकृतको पोष्टमार्टम रिपोर्ट जाहेरवालाले यस अदालतमा गरेको किटानी बकपत्र समेतबाट प्र. मैनादेवी सेठीले ज्यान सम्बन्धी महलको १० नं. र १ नं. को परिभाषित कसूर गरेको प्रमाणबाट देखिन आएकोले निजलाई प्रहरी प्रतिवेदन माग दावी अनुसार सजाय हुने ठहर्छ । अर्का प्र. गगन सिंह बोहराले कलावतीलाई मारेको कुरा थाहा पाई मोकेमा सम्बन्धित निकायमा उजुर गर्नुको सट्टा लास दवाउनमा लागेकोले निजले ज्यान सम्बन्धी दफा ४ बमोजिमको कसूर गरेको हुनाले ६ महिना कैद हुने ठहर्छ र अर्का प्र. धर्मा सेठीले आफ्नी आमा र भिनाजुलाई बचाउनका लागि जाहेर नगरी बसेको देखिनाले ज्यान सम्बन्धीको महलको दफा २५ अनुसार रु. २०।– जरिवाना हुने ठहर्छ भन्ने शुरु डडेलधुरा जिल्ला अदालतको मिति २०४८।१०।५ को जाहेरी फैसला ।
२२. मैले गरेको बयान राजीखुशी होइन, अदालतमा गरेको मेरो सत्य बयानको फैसला मूल्याङ्कन नै भएन । जाहेरवालाको जाहेरी स्वयंमा विरोधाभास छ । जाहेरीमा किटानी छैन । सर्जमिनले मलाई फसाउनको लागि बकपत्र गरेको हुनाले त्यसैलाई किटानी बकपत्र भन्न मिल्दैन मेरो प्रहरीमा गरेको भनिएको तथा कथित सावितीलाई नै मान्यता दिने हो भने पनि मलाई ज्यान सम्बन्धी महलको देहाय १० अनुसार सजाय हुनु पर्ने हो यसरी मलाई फौजदारी न्याय सिद्धान्त विपरीत गरी गरेको फैसला वदर गरी हक इन्साफ पाउँ भन्ने प्रतिवादी मैना देवी सेठीको पुनरावेदन पत्र ।
२३. अभियुक्त गगन सिंह बोहराले ज्यान सम्बन्धी १७ नं. अनुसार कसूर गरेकोले सोको देहाय ३ बमोजिम सजाय गरी ४ नं. को थप सजाय समेत माग गरेकोमा मुख्य कसूरमा सजाय नगरी थप सजाय मात्र गरेकोले निजलाई वादी बमोजिम सजाय गरी पाउँ भन्ने दावी श्री ५ को सरकारको पुनरावेदन पत्र । मैले आफ्नो सत्य व्यहोराको इन्कारी बयान अदालतमा गरेको छ मरेको १ दिनपछि मैना देवीले लास फाल्न ज्वाई नाताको हुँदा विश्वास मानी मद्दत मागेको भन्ने उल्लेख छ । यस स्थितिमा ज्यान सम्बन्धीको १७ नं. आकर्षित हुने नै होइन शुरुले त्यस तर्फ सजाय नगरेकोले वादी दावी निष्कृय रहेको छ । वादीले दावीलाई पुष्टी गर्न सकेको छैन कथित साविति कुनै प्रमाण हुन सक्ने होइन । मैले सासु मैना देवीले मारे भनेको कसूर जाहेर नगरे तर्फ कानूनले दण्डनीय नमानेको हुँदा सजाय गरेको गैर कानूनी हुँदा वदर गरी सफाइ पाउँ भन्ने प्रतिवादी गगन सिंह बोहराको पुनरावेदन पत्र ।
२४. प्रतिवादी मैना देवीले प्रहरी समक्ष भएको बयान कागजमा सावित भई घटनाक्रम बताउँदा मृतक बुहारीले तेरो छोरासँग तै बस म जान्छु भनेको कुरामा रिस थाम्न नसकी तत्कालै लोहराले कन्चटमा हिर्काउँदा मृत्यु भएको भनी भनेकी र सोही मिलानको भनाई निजकै छोरा जाहेरवाला दिल बहादुरले अदालतमा समेत बकेको देखिदा निज मैना देवीका हकमा तत्काल उठेको रिस थाम्न नसकी मारेको देखिंदा ज्यान सम्बन्धी को १३ नं. आकर्षित नहुने भई १४ नं. आकर्षित हुने ठहर्छ । शुरु डडेलधुरा जिल्ला अदालतले ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सजाय गर्ने गरी गरेको फैसला मिलेको नदेखिंदा केही उल्टी हुने ठहर्छ । अर्को प्रतिवादी गगनसिंहका हकमा विचार गर्दा मृतकलाई मार्नेमा सहयोग एवं षडयन्त्र गर्नमा निजको कुनै संलग्नता दर्शिन नआएबाट पुनरावेदन माग दावी अनुसार १७ नं. को सजाय गरी पाउँ भन्ने जिकिर पुग्न सक्तैन । शुरु जिल्ला अदालतले ज्यान सम्बन्धीको ४ नं. अनुसार सजाय गरे तर्फ सजाय पाउनु पर्ने भन्ने पुनरावेदन जिकिर तर्फ हेर्दा मैनादेवीले मारी गोठमा लास राखी खबर गरेपछि गगन सिंह आई लास दवाउने छिपाउने कार्यमा आफ्नो सासु मैना देवीलाई सहयोग गरेको देखिंदा शुरु डडेलधुरा जिल्ला अदालतको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत मुकाम महेन्द्र नगरको फैसला ।
२५. प्र. मैना देवीले मृतक कलावतीलाई समय समयमा झगडा गरी दुःख दिने गरेको कुरा दिलिप सिंह थापाले जाहेरवाला दिल बहादुरलाई लेखेको पत्र र सर्जमिनका व्यक्तिहरुबाट भएको मचुल्काबाट स्पष्ट हुन्छ, कलावतीलाई मार्ने नियत नराखेको भए बुहारीले लगाएको गहनाहरु आफ्नो ज्वाइ गगन सिंह बोहराबाट निकाल्नु पर्ने औचित्य देखिंदैन । कलावतीलाई मारी लास दवाउनु र बुहारी हराएको भनी गा. वि. स. मा हुलिया दिई छोरालाई समेत झुठ्ठाखबर गरेकोबाट प्र. मैनाको अपराधिक मनसाय र पूर्व नियोजित षडयन्त्र रहेको स्पष्ट हुँदा हुँदै पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरबाट उपरोक्त तथ्यलाई बेवास्ता गरी गरेको फैसला त्रुटीपूर्ण हुँदा प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजाय गरी पाउँ भन्ने श्री ५ को सरकारको पुनरावेदन पत्र ।
२६. प्रहरीमा गरेको बयानलाई आधार लिंदै दोषी ठहर्याएकोले प्रमाण ऐन, २०३१ को दफा ९ को त्रुटी भएको छ । आफ्नी बुहारीलाई आफैले कर्तव्य गरी मारेको भए चुप लागि बस्ने थिएँ होला । तर चाँडो खोज खबरको लागि गा.वि.स. मा निवेदन दिएको छु । पोष्टमार्टममा अस्थिपन्जर जमानाको हो भनी लेखेता पनि मृतक कलावतीकै हो भनी लेखिएको छैन, सर्जमिनका मानिसले किटानीसाथ बकेका छैनन्, शंकाको सुविधा अभियुक्तले पाउने भन्ने कानूनी सिद्धान्तको समेत विपरित भएकोले पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको फैसला त्रुटीपूर्ण भएकोले वदर गरी कसूरबाट सफाई पाउँ भन्ने समेत प्रतिवादी मैनादेवी सेठीको पुनरावेदन पत्र ।
२७. मैले ज्यान सम्बन्धीको ४ वा १७ नं. अन्तर्गतको कुनै कसुर गरेको छैन । आरोपित कसूरमा अदालतमा इन्कारी बयान गरेको छु । कसूरदार ठहर्याउने कुनै प्रमाण विद्यमान छैन, प्रहरीको साविती बयान मेरो इच्छा विरुद्ध भएकोले प्रमाण ऐन, २०३१ को दफा ९(२) अनुसार प्रमाणित हुन सक्दैन । मार्ने सम्मको मनसाय, देख्ने साक्षी वा परिस्थितिजन्य साक्षीहरु पनि मेरो विरुद्ध नभएको स्थितिमा पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरले मलाई दोषी ठहर्याई गरेको फैसला त्रुटीपूर्ण हुँदा वदर गरी सफाई पाउ भन्ने समेत प्रतिवादी गगन सिंह बोहराको अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
२८. नियम बमोजिम पेशी सूचीमा बढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्वान उपसरकारी अधिवक्ता श्री टीका बहादुर हमालले प्रतिवादी मैना देवीले मृतक कलावतीलाई समय समयमा कलझगडा गरी दुःख दिने गर्दथिन । सो कुरा दिलीप सिंह थापाले जाहेरवाला दिल बहादुर सेठीलाई लेखेको पत्र र सर्जमिनका व्यक्तिहरुबाट समेत पुष्टी भएको छ । प्रतिवादी मैनादेवीले मृतक कलावतीले लगाएको गहना ज्वाइ गगन सिंह बोहराबाट निकाल्न लगाएको छ । यदि प्रतिवादी मैनादेवी मृतक कलावतीलाई मार्नको लागि पूर्व नियत नराखेको भए बुहारीले लगाएको गहना ज्वाई गगन सिंहबाट निकाल्न लगाउनु पर्ने स्थिति रहदैन । मृतक कलावतीलाई मारी लास दवाउन र बुहारी हराएको भनी गा.वि.स. मा हुलिया दिई छोरालाई समेत झुठ्ठा खबर गरेबाट प्रतिवादी मैनादेवीको अपराधिक मनसाय र षडयन्त्र रहेको स्पष्ट हुन्छ । यस कारण निज प्रतिवादीले ज्यान सम्बन्धी १३ (३) नं. बमोजिम सजाय हुनु पर्दछ । अर्को प्रतिवादी गगन सिंह बोहराले आफ्नो सासुले मृतक कलावतीको ज्यान मारेको कुरा थाहा पाइ प्रहरी, पञ्चायत र अन्य गाउँले मानिसहरुलाई जाहेर नगरी मृतक कलावतीको लास दवाउनमा सासु मैनादेवीलाई मद्दत गरेको कुरा अधिकार प्राप्त अधिकारी समक्ष स्वीकार गरेको छ । यस अवस्थामा अपराध घटेको कुरा छिपाई लास दवाउन मद्दत गरेको हुँदा निजलाई ज्यान सम्बन्धीको १७(३) नं. र ज्यान सम्बन्धी ४ नं. बमोजिम थप सजाय समेत हुन पर्दछ । त्यस्तै गरी अभियुक्त धर्मा कुमारी सेठीले भाउजु (मृतक) कलावती सेठीको लास गोठमा देखी उक्त कुरा आमालाई भन्दा आमाले चुप लाग यो कुरा कसैलाई नभन्नु भनेकी र मृतकको लास भिनाजु गगन सिंह बोहराले बोकी लैजादा म पनि गएकी हुँ भनी बयान दिएकीले आमा र भिनाजुले गरेको अपराध सम्बन्धी कहि कतै जाहेर नगरी आमा र भिनाजुलाई अपराधबाट बचाउने उम्काउने नियम लिई निजले मुलुकी ऐन ज्यान सम्बन्धी महलको २३ नं. को कसूर गरेको हुँदा ज्यान सम्बन्धीको २५ नं. बमोजिम सजाय हुनु पर्छ । यसकारण पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरबाट प्रतिवादी मैना देवी सेठीलाई ज्यान सम्बन्धी को १४ नं. बमोजिम १० वर्ष कैद गर्ने गरेको इन्साफ र प्रतिवादी गगन सिंह बोहरालाई ज्यान सम्बन्धी महलको ४ नं. बमोजिम ६ महिना कैदको सजाय गरेको इन्साफ उल्टी गरी प्रतिवादीहरुलाई शुरु प्रहरी प्रतिवेदन माग बमोजिम सजाय गरी पाउँ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।
२९. अब पुनरावेदन अदालत महेन्द्रनगरको इन्साफ मिलेको छ, छैन सो विषयमा निर्णय दिनु परेको छ ।
३०. यसमा निर्णय तर्फ विचार गर्दा प्रतिवादी मैना देवी अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा बुहारी र आफ्नो भनाभन हुँदा बुहारीले आफूलाई तेरो छोरासँग तै बस भनी मृतक बुहारीले भन्दा रिस उठी रिस थाम्न नसकी लोहोराले कन्चटमा हान्दा उक्त लोहोराले कन्चटमा लाग्न गएछ । निज बुहारी सोही ठाउँमा घोप्टीइ ऐया पनि नगरेकी र बुहारीलाई के भएछ भनेर हातले छाम्दा मरी सकेकी रहिछ र बुहारीको लासलाई भित्रबाट म एक्लीले पिठ्युमा बोकी मेरै बस्ने गरेको घरको गाई गोरु बाँध्ने गोठमा लगी राखेको र ज्वाई गगनसिंहलाई बोलाई बोकाएर मेरै घर नजीक पर्ने रेवल खोलाको पानीको तालमा फाली आऐको हो । बुहारीले लगाएको गहना ज्वाई गगनसिंहलाई फुकाल्न लगाई उक्त गहना मैले राखेकी हुँ भनी बयान गरी दिएकी छिन र मृतक कलावतीले लगाएको गहना बरामत भएको, मृतकको कोठाबाट चिठी बरामत भएको र लुगाबाट मेरो श्रीमतीको नै मृत्यु भएको हो भनी जाहेरवालाले लेखाएको र लास जाँच प्रतिवेदनमा पनि प्रतिवादी मैना देवीले भनेको रेवले खोलाको पानीको तालमा बरामद भएका हड्डीहरुबाट महिलाको हड्डी भन्ने कुरा उल्लेख भएबाट कलावतीको मृत्यु कर्तव्यबाट भएकै देखिन आयो ।
३१. अब यी प्रतिवादीहरुका हकमा विचार गर्दा मैना देवीले अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा सासु बुहारी भनाभन हुँदा तत्काल उठेको रिसबाट लोहोराले कन्चटमा हानेको र मृत्यु भई सकेपछि गोठमा राखी लुकाई ज्वाई गगन सिंहलाई बोलाई लास फाल्न दवाउन लगाई बारम्बार गई लास सडाउने कार्य गरेको भन्ने कुरा उल्लेख गरेकी र सो कुरा आफ्नो छोरा जाहेरवाला दिल बहादुरले पनि अदालतमा समेत उपस्थित भई आफ्नी श्रीमतीलाई मारेको कुरा यकिन गरी बकी लेखाई दिएका छन । सर्जमिनका मानिसहरु नन्द लाल वस्ती, डम्बर सिंह पनेरु समेतका व्यक्तिहरुले अदालत समेतमा आई मृतक कलावतीलाई प्रतिवादी मैना देवीकै कर्तव्यबाट मारेकोमा विश्वास लाग्छ भन्ने समेतका कुराहरु बकी लेखाई दिएका पाइन्छ । यस अवस्थामा मृतक कलावतीको मृत्यु प्रतिवादी मैनादेवीकै कर्तव्यबाट भएको भन्ने कुरा देखिन आउँछ । अब शुरु जिल्ला अदालतले ज्यान सम्बन्धीको १३ (३) नं. बमोजिम सजाय गरेको हकमा विचार गर्दा सासु बुहारीको भनाभन हुँदा मृतक बुहारीले सासु प्रतिवादीलाई तेरो छोरासँग तै बस भनेकीले तत्काल उठेको रिस थाम्न नसकी लोहोराले कन्चटमा हिर्काई तत्कालै मृत्यु भएको तथ्य प्रमाणित भई रहेको तथा नियोजित तरीकाले मारेको नभई भनाभन भई लोहोराले प्रहार गरेको चोटको परिणामतः भएको मृत्युमा ज्यान सम्बन्धी १४ नं. अन्तर्गत पर्ने हुँदा शुरु जिल्ला अदालतले ज्यान सम्बन्धीको १३ (३) नं. बमोजिम सजाय गर्ने गरी गरेको फैसला उल्टी गरी ज्यान सम्बन्धीको १४ नं. बमोजिम १० वर्ष मात्र कैद सजाय गर्ने गरेको पुनरावेदन अदालत दिपायलको इन्साफ मनासिव ठहर्छ ।
३२. अर्का प्रतिवादी गगन सिंह बोहराको हकमा विचार गर्दा बुहारी मृतक कलावतीलाई तत्काल उठेको रिस थाम्न नसकी लोहोराले हिर्काएर मारेपछि लास दवाउनको लागि ज्वाई गगन सिंह बोहरालाई बोलाई रेवले खोलाको पानीको तालमा फालेको भनी प्रतिवादी मैनादेवीले अपराध गरेकोमा सावित भई गगनसिंह बोहरालाई पोली अधिकार प्राप्त अधिकारी समक्ष बयान दिएकी र यी प्रतिवादी गगन सिंह बोहराले पनि सासुको अह्रोट मानी मृतकको लास दवाउन रेवले खोलाको पानीको तालमा फाली आएको भनी अधिकार प्राप्त अधिकारी समक्ष सावित भई बयान दिएका छन् । सर्जमिनका नन्दलाल अवस्थी, लाल बहादुर शाह लगायतका मानिसहरुले पनि मृतको लास दवाउने कार्यमा प्र. मैना देवीलाई सहयोग पुर्याएको हो भनी अदालत समेतमा आई बकपत्र गरी दिएका छन् । यसरी प्रतिवादी गगन सिंह बोहराले सासुले कर्तव्य गरी मारेकोमा मृतकको लासलाई दवाउने कार्यमा सरिक भएको कुरा प्र. मैना देवीको बयान जाहेरवालाको भनाई र सर्जमिन एवं अन्य घटनाक्रम तथा मिसिलसंलग्न प्रमाणबाट देखिएको र वारदात अवस्था उपस्थित नभई कलावतीको मृत्यु पश्चात लास दवाउने क्रियामा सरिक भएको देखिंदा निजलाई ज्यान सम्बन्धी १७ (३) नं.आकर्षित नहुने भई सोही महलको ४ नं. आकर्षित हुने हुँदा सो ऐन प्रयोग गरी सजाय गरेको समेत पुनरावेदन अदालत दिपायल महेन्द्रनगरको इन्साफ मनासिव ठहर्छ । श्री ५ को सरकार र मैना देवी तथा गगन सिंह समेतको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. गोविन्द बहादुर श्रेष्ठ
इति सम्वत् २०५१ साल असार २७ गते रोज शुभम्