निर्णय नं. ४९९१ - लेनदने

निर्णय नं:– ४९९१ २०५१, ने.का.प. अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा
माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
सम्वत् २०५१ सालको दे.प्र.नं.– १८९४
आदेश मितिः– २०५१।९।१९।३
मुद्दाः लेनदने ।
पुनरावेदक/प्रतिवादीः– चितवन जिल्ला खेरहनी गा.वि.स. वडा नं. ७ बस्ने श्याम बहादुरको पत्नी राधादेवी पन्तको वा. भै आफ्नो हकमा समेत ऐ ऐ बस्ने श्याम बहादुर पन्त
विरुद्ध
वादीः– चितवन जिल्ला भरतपुर न.पा.वाड नं. ३ बस्ने तीर्थ प्रधान
§ कपाली लिखतको हकमा लेनदेन व्यवहारको ४० नं. आकर्षित हुने अवस्था नहुने ।
§ लिखतमा ब्याज लिने दिने सम्बन्धमा कुनै कुरा उल्लेख भएको पाइएन । लेनदेन व्यवहारको ६ नं. मा लिखत मा ब्याज नलेखिएकोमा ब्याज पाउँदैन भन्ने व्यवस्था भएको समेतबाट व्याज भराई पाउने भन्न नमिल्ने ।
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुष्ण प्रसाद भण्डारी
विपक्षी वादी तर्फबाट : विद्वान अधिवक्ता श्री बद्री बहादुर कार्की
अवलम्वित नजीर : x
फैसला
न्या. मोहन प्रसाद शर्मा : प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. विपक्षीले म सँग मिति २०३९।१।१७ मा रु. १,२५,०००।– एक लाख पच्चिस हजार कर्जा लिनु भै प्रमाणमा प्रस्तुत जग्गा राजीनामा गरी विपक्षी पत्नी राधादेवी पन्त किनारामा साक्षी बसी राजीनामा लिखत गरी दिनु भएको छ । उक्त लिखत ऐनका म्याद भित्र रजिष्ट्रेशन गरी नदिनु भएकोले कपाली हुन गएको छ । उपरोक्त रुपैयाको साँवा ब्याज दिनोस भनी विपक्षीहरुलाई भन्दा तिम्रो रुपैयाको साँवा ब्याज बुझाउँदैनौं । तिम्रो खुबी भए हाम्रो नाउँमा नालिश गर भनी अन्यायपूर्ण जवाफ दिनु भएको फिराद गर्न आएको छु । अतः साँवा रु. १,२५,०००।– को लिखत मितिदेखि आजतकको ब्याज रु. ६२२९१।६३ समेत जम्मा रु. १८७२९१।६३ र मुद्दा किनारा नै विगो भरी भराउ हुँदाका दिन तर्कको ऐन बमोजिम ब्याज समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।
३. विपक्षी बादीसँग मेरो अघि देखि मुधा परी झगडिया भएको हुनाले निजको अनेकौं जालझेल गरेको नमूना यो फिराद हो । निजले फिरादमा जग्गाको ४ किल्ला राखी राजीनामा गरी दिएको भन्ने उल्लेख गरेका छ्न । ब्याज बुझाउनु पर्ने भनी लिखतले बाध्य गर्न सक्दैन । वादीले मेरो दाजु भैरव बहादुरलाई ०४३।१।१० मा रु ५५,०००।– (पचपन्न हजार) बुझाउने लिखत लेखि दिएकोले सो को फोटोकपी पेश गरेको छु । भैरव बहादुरकी श्रीमती भाउजुले मलाई मरो नाउँमा ०३९।१।१७ मा गरी दिएको भरपाई लिखतबाट निजले रु. २७,०००।– दिने कबूल गरेका रहेछन् । यस प्रकार निज वादीले हामी पति पत्नीलाई झुक्याई कुन लिखत गराइ लिएको भए हामीलाई थाहा छैन । उक्त लिखतमा आय टिकट नटाँसीएको हुँदा कानूनी मान्यता प्राप्त छैन । अतः वादीको झुठ्ठा दावीबाट फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको जिकिर ।
४. मैले पश गरेको भरभाइबाट नै एक लाख पच्चिस हजार रुपिया दिएको भन्ने कुरा झुठ्ठा देखिएको रुपैयाको बुझाउँछ भनी कबूल भएको पनि नदेखिएको टिकट पनि नटाँसिएको गैह्र कानूनी लिखतलाई सद्देकीते छुट्याई बयान गर्न आवश्यक नभएता पनि सही छाप मेरो हो कीर्ते भन्न सकिन्न भन्ने समेत व्यहोराको प्र.वा.स. श्याम बहादुर पन्तले गरेको बयान ।
५. प्रतिवादीले पेश गरेको कागजमा लागेको तिर्थ प्रधान भन्ने सहीछाप मेरै हो । विपक्षीलाई रु. २७,०००।– दिन बाँकी छैन । विपक्षीले पेश गरे बमोजिम निजलाई बुझाउन पर्ने छैन निजलाई रुपैया बुझाई सकेपछि टिपन हाल छैन भनी भनेकोले विश्वासमा परी रहेको छु, अतः उक्त लिखत निस्क्रीय ठहर गरी पाउँ भन्ने समेत प्र.वा. सम बहादुर फेवालीको बयान रहेछ।
६. वादी दावीको लिखत प्रतिवादी श्याम बहादुरकै हस्ताले लेखि आफुले सहिछाप गरी एकाघरको पत्नीलाई समेत साक्षी राखेको देखिंदा लिखत निजले नै तयार गरेको र लिखतमा उल्लेखित रुपैया १,२५,०००।– बाट रु. २७,०००।– कटाई बाँकी रहेको रु. ९८,०००।– र सो को हुने कानून बमोजिमको ब्याज वादीले प्र. बाट भरी पाउने ठहर्छ भन्ने समेत चितवल जिल्ला अदालतको फैसला ।
७. वादी दावी बमोजिम साँवा ब्याज पुनरोवेदक प्रतिवादीबाट वादीलाई भराई दिने ठहराई शुरु जिल्ला अदालतले गरेको इन्साफ मनासिव देखिंदा पुनरोवेदन जिकिर पुग्न नसक्ने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत हेटौंडाको फैसला ।
८. उक्त फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को देहाय १(क) र (ख) समेतको त्रुटी भएको हुँदा मुद्दा दाहोर्याई पाउँ भन्न समेत व्यहोराको प्रतिवादीको यस अदालतमा निवेदन परेको रहेछ ।
९. यस्मा जुन लिखतको आधारमा साँवा ब्याज भराई पाउँ भनेको छ सो मिति २०३९।१।१७ को लिखतमा ब्याज लिने दिने कुरा देखिएको देखिंदैन । मुलुकी ऐन लेनदेन व्यवहारको ६ नं. मा लिखतमा ब्याज नलेखिएकोमा ब्याज पाउँदैन भन्ने कानूनी व्यवस्था भई रहेकोमा त्यस्तो लिखतबाट ब्याज समेत भराईने गरेको चितवल जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०४९।१।१५ को फैसलामा लेनदेन व्यवहारको ६ नं. को व्याख्यात्मक त्रुटी देखिंदा न्याय प्रशासन ऐन, ०४८ को दफा १२ उपदफा १ खण्ड (क) बमोजिम प्रस्तुत मुद्दामा दोहोर्याउने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतबाट मिति २०५०।११।१८ मा भएको आदेश ।
१०. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण भण्डारी लिखतमा ब्याज बुझाउन पर्ने कबूल नगरिएको हुँदा ब्याज लिन पाउँदैन र जुन मितिमा कर्जा लिएको छ भन्ने छ सोही मितिमा रु. सत्ताइ हजारको भर्पाई लेखि दिएको पेश छ सो भर्पाई लिखतबाट वादीले दावी गरे बमोजिमको कर्जा दिएको रहेनछ भन्ने प्रष्ट भएबाट पुनरावेदन अदालत हेटौंडाको फैसला बदर हुनु पर्छ भनी र विपक्षी वादी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री बद्री बहादुर कार्कीले २०३९।१।१७ को लिखत विपक्षी प्रतिवादी श्याम बहादुर पन्त आफैले तयार गरी निजका एकाघरको श्रीमती राधादेवी पन्तलाई साक्षी समेत राखी कर्जा लिएको, जुन लिखत कानून बमोजिम नै भएबाट पुनरावेदन अदालत हेटौंडाको इन्साफ सदर हुनु पर्छ भनी गर्नु भएको बहस समेत सुनियो ।
११. पुनरावेदन मदालत हेटौंडाको फैसला वदर हुनु पर्ने हो होइन भनी निर्णय तर्फ विचार र्दा यस्मा विपक्षीले मसँग मिति २०३९।१।१७ मा कर्जा लिनु भएको म्याद भित्र नबुझाएको हुँदा साँवा ब्याज भराई पाउँ भनी वादी दावी भएकोमा विपक्षी वादीले हामी पति पत्नीलाई झुक्याई कुन लिखत गराइ लिए हामीलाई थाहा छैन, सक्कल लिखत हेर्न पाए नामाकरण गर्ने छु र आय टिकट नटाँसेको हुँदा कुनै कानूनी मान्यता छैन भन्ने समेत प्रतिउत्तर जिकिर रहेको पाइन्छ । विवादिन लिखतलाई हेर्दा उक्त लिखत पुनरावेदक प्रतिवादी श्याम बहादुर पन्तले आफ्नै हस्ताले लेखी सहिछाप गरी एकाघरको श्रीमती समेतलाई साक्षी राखेको देखिन्छ । लिखतमा उल्लेख भए बमोजिमको कर्जा लिएको भन्ने उल्लेख भएबाट उक्त लिखत स्वतः कपाली हुन्छ । कपाली लिखतको हकमा लेनदेन व्यवहारको ४० नं. आकर्षित हुने व्यवस्था भएन । लिखतमा ब्याज लिने दिने सम्बन्धमा कुनै कुरा उल्लेख भएको पाइएन । लेनदेन व्यवहारको ६ नं. मा लिखतमा ब्याज नलेखिएकोमा ब्याज पाउँदैन भन्ने व्यवस्था भएको समेतबाट ब्याज भराई पाउने भन्न मिलने । पुनरावेदक प्रतिवादी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ताले इजलास समक्ष देखाएको २०४५ सालको दे.पु.नं. ९२ वादी केशर बहादुर रायमाझी प्रतिवादी पुण्य विक्रम राणा भएको कपाली साँवा ब्याज समेत दिलाई पाउँ भन्ने मुद्दाको स्थिति र यस मुद्दाको स्थिति फरक भएको देखिंदा उक्र मुद्दाको वादी दावी बमोजिम साँवा र ब्याज समेत भराउने गरेको शुरु जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला केही उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसिल
पुनरावेदक प्रतिवादी माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु पुनरावेदन अदालत हेटौंडाको फैसला केही उल्टी हुने ठहरेकोले शुरु चितवल जिल्ला अदालतले गरेको साँवा ब्याज समेतको सम्पूर्ण लगत कट्टा गर्नु भनी शुरु चितवल जिल्ला अदालतमा लेखी पठाउनु १ माथि इन्साफ खण्डमा लेखिए अनुसास शुरु र पुनरावेदन अदालत हेटौंडाको इन्साफ केही उल्टी हुने ठहरेकोले वादी दावी बमोजिम साँवा रु. ९८,०००।– भराई पाउँ भनी प्रतिवादीको यसै सरहदको जेथा देखाई वादीको दण्ड सजाय ४२ नं. को म्याद भित्र दरखास्त परे अढाई दस्तूर लिई उक्त विगो भराई दिन लगत राख्नु भनी शुरु चितवल जिल्ला अदालतमा लेखी पठाउनु २ माथि इन्साफ खण्डमा लेखिए अनुसार शुरु र पुनरावेदन अदालतको इन्साफ केही उल्टी हुने ठहरेकोले वादीले फिराद गर्दा राखेको कोर्टफी रु. ४४३१।२५ प्रतिवादीले पु.वे.अ. हेटौंडामा मिति २०४९।२।१९ मा धरौट राखेको मध्ये साँवा रकमको मात्र कोर्टफी रु. ३,२१०।– प्रतिवादीबाट भराई पाउँ भनी कोर्टफी ऐन, २०१७ को दफा १५ (११) को म्याद भित्र द रखास्त परे केही दस्तूर नलिई उक्त धरौट रकमबाट भराई दिनु र बाँकी रु. १,२२१।२५ दण्ड सजायका ५१ नं. को म्याद भित्र फिर्ता माग गर्न आए प्रतिवादीलाई केही दस्तूर नलिई फिर्ता दिनु भनी शुरु चितवल जिल्ला अदालतमा लेखी पठाउनु ।
मिसिल नियमानुसार गरी बुझाई दिनु
उक्त रायमा हामी सहमत छु ।
न्या. गोविन्द बहादुर श्रेष्ठ
इति सम्वत् २०५१ साल पौष १९ गते रोज ३ शुभम् ।