निर्णय नं. ४९९३ - उत्प्रेषण

निर्णय नं:– ४९९३ २०५१, ने.का.प. अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा
माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
सम्वत् २०५० सालको रिट नं. – ३३०६
आदेश मिति :– २०५१।७।१४।२
विषय :– उत्प्रेषण ।
निवेदक : जि. सप्तरी राजविराज न.पा. वडा नं. ९ घर भै हाल जिल्ला सुनसरी धरान न.पा. वडा नं. ८ स्थित त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान पूर्वाञ्चल क्याम्पसको प्रशिक्षक पदमा कार्यरत वर्ष ३५ को फुल कुमार देव ।
धरान न.पा. वडा नं. १२ वस्ने ऐ को प्रशिक्षक पदमा कार्यरत कृष्ण प्रसाद दाहाल
विरुद्ध
विपक्षी : त्रिभुवन विश्वविद्यालय सेवा आयोग कीर्तिपुर ।
§ बेग्ला बेग्लै पदमा बढुवाको लागि प्रशिक्षक र सहायक प्राध्यापकबाट बेग्ला बेग्लै उमेदवार माग गरी बढुवा गर्ने सूचना समेत प्रकाशित भएकोबाट पनि उप–प्राध्यापक पदमा कार्य गरिरहेको व्यक्ति पनि उमेदवार बन्न सक्छ भनी सम्झन नमिल्ने ।
(प्र.नं. ९)
रिट निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल
प्रत्यर्थी तर्फबाट :– विद्वान अधिवक्ता श्री वद्री नरसिंह राजभण्डारी
अवलम्वित नजीर :– x
आदेश
न्या. गोविन्द बहादुर श्रेष्ठ : नेपाल अधिराज्यको संविधान, ०४७ को धारा २३/८८ (२) बमोजिम पर्न आएको रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।
२. म निवेदक फुल कुमारले मिति ०३५।१२।१ म मेकानिकल इन्जिनियरिङ्ग विषयको सहायक प्रशिक्षक पदमा अस्थायी नियुक्ती पाई सेवामा प्रवेश गरेको छु । मिति २०४०।१।२८ देखि उप प्रशिक्षक भई ०४१।५।६ मा प्रशिक्षक पदमा बढुवा प्राप्त गरेको छु । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले संचालन गरेको समयमा ०४६।११।२१ मा वरिष्ठ प्रशिक्षक भएको थिए मिति ०४७।२।२० देखि मिति ०४९।६।३० सम्म सहायक क्याम्पस प्रमुख भई सेवा गरेको थिए । मेरो शैक्षिक योग्यता लण्डन स्थित द सोसाइटी अफ इन्जिनियर्सबाट स्नातक स्तरको ए.एस.ई. को उपाधी प्राप्त गरेको छु । त्यस्तै म निवेदक कृष्ण प्रसाद दाहालले नेपाली बिषयको उप प्रशिक्षक पदमा मिति २०४४।८।२८ मा करार सेवामा नियुक्ति पाई सेवा प्रवेश गरेको छु मिति ०४६।४।१ देखि अस्थायी प्रशिक्षक पदमा रही सेवा गर्दै आएकोमा ०४७।५।३१ देखि प्रशिक्षक पदमा स्थायी सेवा गर्दै आएको छु । म निवेदकले एम.ए. नेपाली विषयमा द्वितीय श्रेणीमा उतीर्ण गरेको छु ।
३. प्रत्यर्थीद्वारा विज्ञापन नं. ३।०४९।०५० बाट मेकानिकल बिषयको उप प्राध्यापक पद संख्या २ मा आन्तरीक प्रतियोगिताद्वारा पदपूर्ति गर्ने र सो पदको निमित्त त्रि.वि.वि. मा स्थायी रुपले कार्यरत उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिएकोमा म्यादै भित्र दरखास्त प्रस्तुत गरेको थिएं त्यस्तै विज्ञापन नं. १।०४९।०५० बाट नेपाली बिषयको उप प्राध्यापक पद संख्या २१ पदपूर्ति गर्ने भनी दरखास्त आव्हान गरिएकोमा म्याद भित्र म निवेदक कृष्ण प्रसाद दाहालले पनि दरखास्त आव्हान गरेको थिए । त्रि.वि. सेवा आयोगद्वारा मिति ०४९।१०।२२ मा प्रकाशित सूचनामा मिति ०५०।१।१४ देखि नेपाली विषयको उप प्राध्यापक पदको निमित्त र मिति ०५०।२।२ देखि इन्जिनियरिङ्ग विषयको उप प्राध्यापक पदको निमित्त अन्तरवार्ता हुने भन्ने कुरा उल्लेख गर्दै अन्तरवार्तामा सम्मिलित हुने उम्मेदवारहरुको सूची समेत प्रकाशित गरिएको रहेछ । जसमा हामी निवेदकको नाउ उल्लेख गरिएको रहनेछ । यसरी आफ्नो नाम अन्तवार्तामा सम्मिलित हुन पाउने उम्मेदवारहरुको सूचीमा उल्लेख नभएको देखेपछि मिति ०४९।१२।१२ मा प्रत्यर्थी आयोगका अध्यक्षज्यू समक्ष अन्तरवार्तामा हामीलाई सम्मिलित गराई पाउं भन्ने निवेदन प्रस्तुत गरेका थियौं । त्यस पछि पटक पटक प्रत्यर्थी आयोगका अध्यक्षज्यू समक्ष हामीले अनुरोध गर्दा पनि सकारात्मक दृष्टिकोण अवलम्वन नगरिएको र हामी निवेदकहरुको प्रशिक्षक पद भएको र सहायक प्राध्यापकको रुपमा ३ बर्षको अनुभव हुनु पर्ने भनेकोले विवश भै सम्मानीत अदालत समक्ष आएका छौं ।
४. त्रि.वि. सेवा आयोगको कार्यविधि सम्बन्धी विनियम, ०४९ को नियम १६.४.३ को देहाय खण्ड (क) मा आन्तरिक प्रतियोगितामा निर्धारित न्यूनतम योग्यता पुगेको त्रि.वि. मा कार्यरत स्थायी शिक्षकहरुले मात्र भाग लिन पाउने छन भन्ने प्रावधान छ । त्रि.वि.वि. द्वारा निर्धारित शैक्षिक योग्यताको हकमा म फुल कुमारले आवेदन गरेको मेकानिकल इन्जिनियरिङ्ग विषय उप प्राध्यापकको निमित्त त्रि.वि.वि. वा यसबाट मान्यता प्राप्त शिक्षक संस्थाबाट सम्बन्धित विषय लिई व्याचलर अफ इन्जिनियरिङ्ग डिग्री प्राप्त तथा महाविद्यालयमा कम्तिमा ३ बर्ष पढाएको अनुभव अथवा प्राविधक क्षेत्रमा कम्तिमा ३ बर्ष काम गरेको अनुभव हुनुपर्ने भन्ने र नेपाली विषयको उप–प्राध्यापकको लागि त्रि.वि.वि. वा यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा द्वितीय श्रेणीमा मास्टर डिग्री प्राप्त र महाविद्यालयमा सम्बन्धित विषयमा कम्तिमा ३ बर्ष पढाएको वा त्रि.वि. अन्र्तगतको अनुसन्धान केन्द्रमा कार्य गरेको अनुभव भन्ने उल्लेख छ उक्त योग्यताको शर्तलाई अक्षरशः व्याख्या गरिने हो भने सहायक प्राध्यापक भई ३ बर्ष पढाएको अनुभव हुनुपर्छ भन्ने तर्क गर्ने स्थिति देखिन्न प्रशिक्षकले पनि शिक्षक गर्ने भएकोले प्रशिक्षकको रुपमा पढाएको अनुभवलाई गणना नगर्ने र सहायक प्राध्यापक नै हुनु पर्ने भन्ने कुरा आकृष्ट हुन सक्दैन । यदि सहायक प्राध्यापक भएपछि ३ बर्ष पढाएको अनुभव आवश्यक रहेको भए निर्धारित आवश्यक न्यूनतम योग्यतामा पनि सहायक प्राध्यापक भई ३ बर्ष पढाएको अनुभव भन्ने कुरा व्यक्त भएको हुनु पर्ने हो । जबकी तदनुकुल उल्लेख नभएकोले प्रशिक्षकको रुपमा पढाएको ३ बर्षको अनुभवलाई उपेक्षा गर्न सकिन्न ।
५. ०४७ सालमा मात्र सहायक प्राध्यापक पदमा नियुक्त भएका दुर्गा प्रसाद वस्ती, अमरनाथ विश्वास, टंक बहादुर गलामी, महल मान श्रेष्ठ लगायतको उम्मेदवारहरुलाई सहायक प्राध्यापकको ३ बर्ष पढाएको अनुभव नभएतापनि प्रशिक्षक र उप प्रशिक्षकको रुपमा पढाएको अनुभव समेतलाई गणना गरी अन्तरवार्तामा सम्मिलित गराउने भन्ने सूचना गरिएको छ । हाम्रो र निजहरुको व्यक्तीगत फायललाई दृष्टिगत गरिएमा यर्थाथताको बोध हुनेछ प्रत्यर्थीहरुको काम कारवाही भेदभावपूर्ण छ । अतः उल्लेखित आधारहरुबाट नेपालको संविधान धारा ८८ (२) बमोजिम प्रत्यर्थी आयोगले हामी निवेदकलाई अन्तवार्तामा सम्मिलित नगराउने भन्ने गरेको कारवाही सूचना र निर्णय लगायत हामी निवेदकलाई नराखी गरिएको अन्तरवार्ताको कारवाही र तत सम्बन्धी सिफारिस र निर्णयलाई समेत उत्प्रेषणको आदेशद्वारा वदर गरी हामी निवदेकहरुलाई पनि आ–आफ्नो पदको निमित्त दिएको दरखास्त मुताविक अन्तरवार्तामा सम्मिलित गराएर मात्र आन्तरीक प्रतियोगिताको कारवाही सम्पन्न गर्न‘ भन्ने परमादेशको आदेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर ।
६. यसमा के कसो भएको हो रु निवेदन माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो विपक्षीहरुबाट लिखित जवाफ मगाई प्राप्त भएपछि नियमानुसार गरी पेश गर्न‘ भन्ने यस अदालत एक न्यायाधिश इजलासको आदेश ।
७. रिट निवेदकले आवेदन गर्न‘ भएको विज्ञापन नै आन्तरीक प्रतियोगिताद्वारा पदपूर्ति हुने पदमा न्यूनतम योग्यता पुगेको कुनै पनि उम्मेदवार वा कुनै तहमा कार्यरत त्रि.वि. का स्थायी शिक्षक वा कर्मचारीले आवेदन दिन सक्ने तर उप प्राध्यापकको आन्तरीक प्रतियोगिताको विज्ञापनमा त्रि.वि. सेवामा स्थायी सहायक प्राध्यापकले मात्र आवेदन दिन सक्दछन । त्रिभुवन विश्वविद्यालयमा शिक्षक तर्फ दुई छुट्टा छुट्टै किसिम रहेको राजपत्राङ्खित प्राध्यापन तर्फ सहायक प्राध्यापक तह शुरु प्रवेश तह भएको जसको पदपूर्ति शत प्रतिशत खुला प्रतियोगिताबाट हुन नसक्ने व्यवस्था त्रि.वि. सेवा आयोगको कार्य विधि सम्बन्धि विनियम, २०४९ को विनियम १६.१४ (घ) मा प्रष्ट गरिएको छ । अतएवः प्रशिक्षक र वरिष्ठ प्रशिक्षक भएका व्यक्ति उक्त सहायक प्राध्यापक पद भन्दा पनि एक तह माथीको उप प्राध्यापक पदमा आन्तरीक प्रतियोगिताद्वारा पदपूर्ति हुन नसक्ने प्रष्ट छ जबकी सहायक प्रशिक्षक वा उप प्रशिक्षकमा स्थायी उमेदवार वरिष्ठ प्रशिक्षकसम्म आन्तरीक प्रतियोगिताद्वारा पदपूर्ति हुन सक्ने र त्यस भन्दा माथी खुला प्रतियोगताद्वारा मात्र आवेदन दिन सक्दछन । त्रि.वि.वि. विनियमको परिच्छेद ११ को विनियम ११.१०.१८ को स्पष्टिकरण (२) मा अनुभव भन्नाले सहायक प्राध्यापक पदको लागि सम्बन्धित न्यूनतम योग्यता प्राप्त गरी सकेपछिको अनुभवलाई जनाउने व्यवस्था भएको र शिक्षकहरुको न्यूनतम योग्यता सम्बन्धी विनियमको परिच्छेद ११ मा शिक्षकहरुमा प्राध्यापक, उप प्राध्यापक र सहायक प्राध्यापक मात्र उल्लेख भएको । सहायक प्राध्यापकमा प्रशिक्षकहरु आन्तरीक प्रतियोगिताबाट आउन नसक्ने भएको हुंदा एक तह माथिको उप प्राध्यापकको पदमा प्रशिक्षकले आन्तरीक प्रतियोगिताबाट नियुक्ति हुन नसक्ने प्रष्ट छ । सहायक प्राध्यापक पदको एम. ए. स्तरसम्म प्राध्यापन गर्न‘ पर्दछ जबकी प्रशिक्षकहरुले प्राक्टिकल समेत विषयमा सम्बन्धित काममा सहयोग गर्न‘ मात्र हो अतः पद नै फरक भएको व्यहोरा शब्द आफैमा पर्याप्त छ कसैले एम. ए. अध्ययन गरी तल्लो पदमा नोकरी गर्दछ भने निजको अनुभव सहायक प्राध्यापकको अनुभव भनी निजलाई उप प्राध्यापक पदमा पदोन्नती गर्न मिल्दैन भन्ने समेत व्यहोराको त्रि.वि. सेवा आयोग कीर्तिपुरको लिखित जवाफ ।
८. नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनमा रिट निवेदकहरुको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले मेरो पक्षले उप–प्राध्यापकको लागि चाहिने न्यूनतम शैषिक योग्यता प्राप्त गर्न‘ भएको छ साथै महाविद्यालयमा कम्तिमा ३ बर्ष पढाएको अनुभव समेत भएको अवस्थामा प्रशिक्षकको रुपमा पढाएको अनुभवलाई गणना नगर्ने र उप–प्राध्यापकमा बढुवा हुन सहायक प्राध्यापक नै हुनु पर्ने भन्ने कुरा कानून र नियमसंग नमिल्ने हुंदा र साथै दुर्गा प्रसाद वस्ती समेतका उमेदवारलाई सहायक प्राध्यापकको ३ बर्ष पढाएको अनुभव नभएता पनि शिक्षकमा उप–प्रशिक्षकको रुपमा पढाएको अनुभव समेतको गणना गरी बढुवा गरिएको कार्यबाट समान स्थितिका व्यक्तिहरुमा असमान व्यवहार भएको हुंदा माग बमोजिमको आदेश जारी गरी पाउं भनी आफनो वहस जिकिर प्रस्तुत गर्न‘ भयो । प्रत्यर्थी त्रिभुवन विश्वविद्यालय सेवा आयोगको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री वद्री नरसिंह राजभण्डारीले प्रशिक्षक र सहायक प्राध्यापकको लागि निश्चित न्यूनतम शैक्षिक योग्यता फरक फरक छ प्रशिक्षकको लागि एस.एल.सी. देखि वी.ए. सम्मको शैक्षिक योग्यता तोकिएको छ भने सहायक प्राध्यापकको लागि सम्बन्धित विषयमा डिग्री प्राप्त गर्न‘ अनिवार्य छ । सहायक प्राध्यापक पदबाट उप प्राध्यापक, उप प्राध्यापकबाट सह–प्राध्यापक र सह–प्राध्यापकबाट प्राध्यापकमा पदोन्नती हुने व्यवस्था छ तर प्रशिक्षकबाट सहायक प्राध्यापक वा उप–प्राध्यापक पदमा आन्तरीक प्रतियोगिताबाट पदोन्नती हुने व्यवस्था छैन तसर्थ रिट खारेज गरी पाउं भनी आफनो वहस जिकिर प्रस्तुत गर्नु भयो ।
९. विद्वान कानून व्यवसायीहरुले गर्नु भएको वहस जिकिर सुनी निर्णय तर्फ विचार गर्दा रिट निवेदन माग बमोजिमको आदेश गर्न मिल्ने नमिल्ने के हो भन्ने कुरामा निर्णय दिनु पर्ने देखिन्छ । यसमा उप–प्राध्यापक पदको लागि उमेदवार हुन सो पद भन्दा एक तह मूनिको सहायक प्राध्यापक भै ३ वर्ष प्राध्यापनको कार्य गर्नु पर्ने वान्छनीय योग्यता तोकिएको देखिन्छ । विज्ञापन नं. ३।०४९।५० को वरिष्ठ प्रशिक्षकको लागि बढुवा गर्ने विज्ञापनमा तोकिएको वान्छनीइ योग्यतामा प्रमाण पत्र तह पास गरी कार्य गरेको व्यक्तिहरुलाई उमेदवार स्वीकार गरिएकोबाट प्रशिक्षक पदमा वान्छनीय योग्यता स्नात्तकोत्तर बि.बि.ई पास गरेको भनी सम्झन मिल्दैन नत निवेदकहरुले सो कुरा प्रमाणित गर्न सकेकै देखिन्छ । वेग्ला वेग्लै पदमा बढुवाको लागि प्रशिक्षक र सहायक प्राध्यापकबाट वेग्ला वेग्लै उमेदवार माग गरी बढुवा गर्ने सूचना समेत प्रकाशित भएकोबाट पनि उपप्राध्यापक पदमा आन्तरिक बढुवाको लागि प्रशिक्षक पदमा कार्य गरिरहेको व्यक्ति पनि उमेदवार बन्न सक्छ भनी सम्झन नमिल्ने हुँदा समेत रिट निवेदकहरुको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फायल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त राय सहमत छु ।
न्या. मोहन प्रसाद शर्मा
इति सम्वत् २०५१ साल कार्तिक १४ गते रोज २ शुभम् ।