शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४९९७ - लिखत दर्ता बदर

भाग: ३६ साल: २०५१ महिना: माघ अंक: १०

निर्णय नं:४९९७  २०५१, ने.का.प.           अङ्क १०

संयुक्त इजलास

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपोन

 

सम्बत् २०४० सालको दे.पु.नं.:१०४९

फैसला मिति २०५१।५।८।४

मुद्दाः लिखत दर्ता बदर ।

पुनरवेदिका/बादिः ललितपुर जिल्ला ललितपुर नगरपालिका वडा नं ७ सुबहाल बस्ने दुरमाया महर्जन ।

विरुद्ध

विपक्षी/प्रतिवादी : ललितपुर जिल्ला ललितपुर नगरपालिका वडा नं. ७ सुवहाल बस्ने चिरीमै महर्जन ।

ऐ ऐ वडा नं. १३ इखालखु बस्ने प्रागलाल श्रेष्ठ

ऐ. ऐ. वडा नं. ९ बस्ने आलु महर्जन ।

ऐ. ऐ बस्ने वडा नं. ७ डुपाट बस्ने स्यान महर्जन ।

 

§  शेष पछिको बकस पत्र गरी दिनेको शेषपछि अर्थात मृत्यु पछि मात्र सो शेष पछिको बकसपत्र पाउनेको सो बकसपत्रको सम्पत्तिमा हक पुग्न सक्ने हो र दाताले आफ्नो जिवनकालमा सो सम्पत्ति फेरि अरुलाई दिन नसक्ने अवस्था देखिन नआउने ।

(प्र. नं. १५)

§  जसले आखिरसम्म राम्रोस्याहार सुसार पर्याई रिझाउंछ उसैलाई सम्पत्ति वकसपत्र गरी दिनु कुनै अस्वाभाविक देखिन नआउने ।

(प्र. नं. १५)

पुनरावेदक वादीको तर्फबाट : विद्धान अधिवक्ता श्री प्रकाश बस्ती

विपक्षी प्रतिवादीको तर्फबाट : बिद्धान अधिवक्ता चण्डेश्वर श्रेष्ठ ।

अवलम्वित नजीर : x

फैसला

          न्या. अरविन्द आचार्य : मध्यमान्चल क्षेत्रिय अदालतको फैसला उपर पनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा पुनरावेदनको अनुमति प्रदान भै पुनरावेदनको लगतमा दर्ता पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ ।

          २. आमा अष्टका दुई छोरी मध्ये म एक चिरीमै हो । मेरो विवाह न्हुछे महर्जनसँग भएपश्चात म र मेरो पति आमाको घरमा राखिएको थियो । आमाको स्याहार संभार पालन पोषण गर्दै आए वापत आमाले बसी आएको घर मिति २०३३।६।१० मा शेष पछिको बकसपत्र पारित गरिदिनु भएको थियो । आमाको मिति ०४०।५।३ मा देहान्त भएपश्चात पनि सो घरमा हामीले मर्मत गरेको र हाम्रो भोग चलन समेत छ । विपक्षीले अदालतमा बहाल भराई घरबाट उठाई पाउँ भनि फिराद दिएको थाहा पाई प्रमाण खण्डमा उल्लेखित जग्गाधनी प्रमाण पुर्जा हेर्दा मिति २०३९।११।१५ मा हालै देखिएको बकस पत्र पास गरिएको रहेछ । सो लिखत आमाले गरिदिएको हो होइन शंकाजनक छ । एक लिखत छँदा छँंदै दोश्रो लिखत हुन मिल्ने होइन । मेरो शेषपछिको बकसपत्र विपक्षीेले बकसपत्र खडा गरेका मितिपछि वदर गरिएको छ । तसर्थ एक लिखत जिवीत छंदैं पुनः अर्को लिखत खडागरी सो लिखतको आधारमा भएको दर्ता बदर गरी ललितपुर नगर पंचायत वडा नं. ७ कि. नं. १३६ को घरमा हक कायम समेत गरी दोहोरो गराएकोमा संजाय समेत गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।

          ३. वादीको हकको श्रोत शेषपछिको वदर भैसकेको छ । त्यस आधारमा आएको प्रस्तुत फिरादपत्र खारेज हुनु पर्ने हो । २०३९ साल देखि आमालाई मैलेनै पाली आएको छु । सो घर वादीले मर्मत गरेको होईन । वहालमा बस्न मागेकोले मिति ०३९।११।१५ देखि निज न्हुछे महर्जनलाई बस्न दिएको छु । दाता आमा अष्टले २०३९ सालमा हालैको बकसपत्र पारित गरि दिनु भएको मिति देखिनै उक्त घरमा मेरो हकमै साविकको पुरानो घर भत्काई नयाँ घर बनाउन नक्सा पास समेत गरि सकेको छु । घर खाली गर्न यी वादीलाई सूचना गर्दा घर खाली गरी नदिएकोले घरबाट उठाई पाउन मुद्दा दायर गरि सकेको छु । आमाको अन्य जग्गा पनि मैले नै अपुताली पाएको छु । अतः वादीको फिराद खारेज गरिपाउँ भन्नसमेत व्यहोराको चिरीमै र मगंलमान सयुंक्त प्रतिउत्तर पत्र ।

          ४. प्रतिवादीले पेश गरेको मिति २०३९।११।१ को हालै देखिएको बकसपत्र जालसाजी र किर्ते हो भन्ने समेत व्यहोराको वादी वारिस न्हुछे महर्जनको बयान ।

          ५. मैले पेश गरेको मिति २०३९।११।१ को लिखत सद्दे हो भन्ने समेत व्यहोराको प्रतिवादी वारिस मगंलमान डंगोलको ब यान ।

          ६. प्रतिवादीले प्राप्त गरेको हालै देखिएको बकस पत्र र सो बकसपत्रको भएको दर्ता खारेज समेत कानून संगत नै देखिएको हुँदा सो लिखत दर्ता बदर गरी हक कायम गरि पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको शुरु ललितपुर जिल्ला अदालतको मिति २०४४।३।८ को फैसला ।

          ७. ललितपुर जिल्ला अदालतको त्रुटीपूर्ण निर्णय बदर गरी फिराद दावी बमोजिम इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादीको तत्कालिन वाग्मती अचंल अदालतमा परेको पुनरावेदन पत्र ।

          ८. मिति २०३९।११।१ मा दुवै थरीलाई सुनाई मन्जुर सनाखत भै दुबै थरीको सहि छाप भई पारीत भएको लिखत सद्दे हो । किर्ते भन्ने वादीको भनाई झुठा हुँदा सजाय गरिपाउँ भन्ने समेत व्यहोराको प्रयाग लाल, आलु महर्जन र श्याम महर्जनका वारिस श्याम प्रसाद सुवेदीले गरेको बयान ।

          ९. आमाको अन्य विभिन्न कित्ताहरु समेत मेरै हक भोगमा छ भनि प्रतिवादीले प्रतिउत्तरको प्रकरण ९ मा उल्लेख गरेको देखिन्छ । त्यस तर्फ वादीको कुनै पुनरावेदन जिकिर समेत देखिन नआएको यस अवस्थामा प्रतिवादीले बकसपत्र पाएको रहेनछ भन्ने कुरा देखिन आउंदैन । मिसिलमा संलग्न रहेको सबूद प्रमाणबाट समेत लिखत सद्दे साँचो रहेको कुरामा शंका गर्नु पर्ने स्थान देखिन आउदैन यसर्थ शुरु जिल्ला अदालतबाट भएको निर्णय मुनासिव ठहर्छ भन्ने समेत वाग्मती अंचल अदालतको मिति २०४५।१२।१ को फैसला ।

          १०. दोहोरो लिखत हुन नसक्नेमा मलाई हराई भएको शुरु निर्णय मनासिव ठहर्‍याई वाग्मती अंचल अदालतबाट भएको फैसला त्रुटीपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीको तत्कालिन मध्यमान्चल क्षेत्रिय अदालतमा निवेदन परेकोमा वाग्मती अंचल अदालतको फैसला दानबक्सको २ नं. प्रतिकुल देखिंदा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको मध्यमांचल क्षेत्रीय अदालतको आदेश ।

          ११. वादीले आफ्नो फिराद लेखमा नै निजले पाएको शेषपछिको बकसपत्र दाताले जिवनकालमा नै वदर गरेको कुरालाई स्विकार गरेको देखिन आउँछ । तसर्थ प्रतिवादीको हालै देखिको बकसपत्रलाई सद्दे ठहर गरी प्रतिवादीको दर्ता दाखिल खारेज गरी हक कायम गरी पाउँ भन्ने वादी दावी नपुग्ने ठहर्‍याएको ललितपुर जिल्ला अदालतको फैसला सदर गरी वाग्मती अंचल अदालतले गरेको इन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्यमान्चल क्षेत्रिय अदालतको मिति २०४६।१२।३० को फैसला ।

          १२. उक्त फैसलामा चित्त बुझेन । दान बक्सको १, , , , ५ नं. लेनदेन व्यहोरको २५, २८ नं. रजिष्ट्रेशनको ३४ नं. जग्गा पजनीको १७ नं. तथा जग्गा मिच्नेको १८ न. समेतको त्रुटी हुँदा उक्त फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी वादीको यस अदालतमा परेको निवेदन ।

          १३. यसमा दाता अष्ट कुमारी महर्जनको दुई छोरीहरु बुद्ध माया महर्जन र चिरीमै महर्जन हुन् । दाता अष्ट कुमारी महर्जन मिति २०३३।६।११ मा जेठी छोरी बुरमायालाई शेष पछिको बक्सपत्र पास गरी दिई त्यसपछि मिति २०३९।११।१ मा कान्छी छोरी चिरीमै महर्जनलाई भने हालै देखिको कक्सपत्र पास गरिदिएको देखिन्छ । मुलुकी ऐन दानबक्सको महलको २ नं. मा दाताले शेषपछिको बक्स गरि दिएकोमा चित्त नबुझेमा जहिलेसुकै वदर गर्न पाउने प्रावधान भएको देखिएता पनि सोहि नं. मा वदर गराउने कार्यविधि समेत तोकि त्यसरी वदर गरिदिएको जनाउ शेषपछिको बक्सपत्र पाउने व्यक्तिलाई बाटाका म्याद वाहेक ७ दिन भित्र पठाउनु वाध्यात्मक व्यवस्था देखिएकोमा सो वमोजिम कार्य विधि नअपानाई २०३९।११।१ मा कान्छी छोरी चिरीमैलाई हालै देखिएको बक्सपत्र गरी दिएको उक्त दानबक्सको २ नं. को व्याख्यात्मक त्रुटी गरी वाग्मती अंचल अदालतको इन्साफ सदर गरी भएको म. क्षे. अ. को फैसलामा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) बमोजिमको अवस्था विद्यमान हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत संयुक्त ईजलासको मिति २०३९।१२।२।२ को आदेश ।

          १४. नियम बमोजिम पेशी सुचिमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदिकाको वादीको तर्फबाट उपस्थित विद्धान अधिवक्ता श्री प्रकाश वस्तीले मेरो पक्षलाई शेषपछिको बक्सपत्र गरिदिएको अचल सम्पति पुनः विपक्षीलाई हालैको बक्सपत्र पास गरी दिएको लिखतको जेष्ठताको आधारमा मेरो पक्षलाई गरिदिएको लिखतले मान्यता पाउन पर्दछ । उक्त शेषपछिको बक्सपत्र बदर नहुंदै हालैको बक्सपत्र दिन मिल्ने होईन । तसर्थ वादी दावी नपुग्ने ठहर्‍याएको मध्यमांचल क्षेत्रिय अदालतको फैसला बदर गरी पाउँ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो । विपक्षी प्रतिवादी तर्फबाट उपस्थित विद्धान अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठले मेरो पक्षले पाएको हालैको बक्सपत्रको लिखतमा प्रकृति फरक फरक भएको र दाताकै जिवनकालमा शेषपछिको कक्सपत्र बदर भएको वादीले समेत स्वीकार गरेको हुँदा मध्यमांचल क्षेत्रिय अदालतको फैसला सदर हुनु पर्ने भन्ने व्यहोराको वहस प्रस्तुत गर्नु भयो ।

          १५. यसमा मध्यमाचंल क्षेत्रिय अदालतको फैसला मिले नमिलेको के रहेछ सो को निर्णय दिनु पर्ने भै निर्णय तर्फ विचार गर्दा यसमा पुनरावेदिका वादी बुरमाया महर्जन र विपक्षी चिरीमै महर्जन, अष्ट कुमारीको छोरीहरु अर्थात दुुई दिदी बहिनी भन्ने देखिन्छन् । अष्ट कुमारीले मिति २०३३।६।१० मा बुरुमायालाई शेषपछिको बक्सपत्र गरि दिई सकेको घर मिति २०३९।११।१ मा चिरीमैलाई हालै देखिको बक्सपत्र गरि दिएको रहेछ र यसैबाट यो विवाद खडा भएको देखिन आयो । यसरी अष्ट कुमारीले बुरुमाया महर्जनलाई शेषपछिको वक्सपत्र गरिदिई सकेपछि सोहि घर फेरी चिरीमैलाई हालै देखिको बक्सपत्र गरि दिन पाउने हो होईन तथा पछिल्लो हालै देखिको बक्सपत्र लिखत बदर हुने हो होईन भन्ने मूल प्रश्न भएकोले यस तर्फ विचार गरी हेर्दा अष्ट कुमारीले बुरुमायालाई मिति २०३३।६।१० मा गरि दिएको शेषपछिको बक्सपत्र लिखत दानबक्सको २ नं. अनुसार वदर गर्ने कारवाही गराई मिति २०३९।११।२६ मा मालपोत कार्यालयबाट वदर भै सो वदर गरिएको जनाउ वादी पक्षलाई दिएको पनि मिसिल संलग्न कागजातबाट देखिन आउँछ । शेषपछिको बक्सपत्र गरिदिनेले पछि सो वदर गराउन चाहेमा सो वदर गर्न सक्ने व्यवस्था दान वक्सको २ नं. मा भएको र सोहि बमोजिम अष्ट कुमारीले सो शेषपछिको वदर गराउन भन्दा अगाडिनै मिति २०३९।११।१ मा प्रतिवादी चिरीमैलाई हालै दिएको बक्सपत्र लिखत गरिदिएको देखिने भए तापनि पनि मूलतः शेषपछिको बक्सपत्र गरिदिनको शेषपछि अर्थात मृत्युपछि मात्र सो शेषपछिको बक्सपत्र पाउनेको सो बक्सपत्रको सम्पत्तिमा हक पुग्न सक्ने हो र दाताले आफ्नो जिवनकालमा सो सम्पति फेरी अरुलाई दिन नसक्ने अवस्था देखिन आउँदैन । यस अनुरुप अष्ट कुमारीको मिति २०४०।५।३ मा मृत्यु हुनु अधि चिरीमैलाई हाल देखिको बक्सपत्र लिखित गरिदिएको देखिन आउँछ । अष्ट कुमारीले आफ्नो समान छोरीहरुमा पनि पहिलो जेठी बुरमायालाई र पछि सो घर कान्छी छोरी चिरीमैलाई लिखत गरि दिएको देखिन्छ । तथापी जसले आखिर सम्म राम्रो स्याहार सुसार पुर्‍याई रिझाउँछ उसलाई सम्पत्ति बक्सपत्र गरी दिनु कुनै अस्वाभाविक देखिन आउदैन । शेषपछिको बक्सपत्र लिखत वदर हुनु भन्दा पहिले नै हालै देखिको बक्सपत्र गरिदिएको तर्फ पनि सो बदर गराउने कार्य सम्म केहि दिनपछि मात्र पुरा भएको देखिन्छ तर अष्ट कुमारीले आफ्नो हकको सम्पत्ति शेष पछिको बक्सपत्र पाउने बुरमायाको त्यसमा हक नपुग्दै चिरीमैलाई हालै देखिको बक्सपत्र गरिदिएको अवस्था हुंदा २०(२५ दिनको सो अन्तरालबाट कुनै तात्विक फरक पर्ने देखिन आउँदैन । उपयुक्त विश्लेषणबाट मिति २०३३।६।१० को शेषपछिको बक्सपत्र लिखत मिति २०३९।११।१० को हालै देखिको बक्सपत्र लिखत भएकोमा दोहोरो लिखतको अर्थ गर्न मिल्ने देखिन नआउने भएबाट समेत यस सम्बन्धमा पुनरावेदकको तर्फबाट विद्धान अधिवक्ता श्री प्रकाश वस्तीले बुरुमायाले पाएको मिति २०३३।६।१० को शेषपछिको बक्सपत्र लिखित जेठो भएकोले पनि सोहि लिखत कायम हुनु पर्छ भनी गर्नु भएको वहस जिकिरसँग यो इजालस सहमत हुन सकेन । तसर्थ २०३९।११।१ मा चिरीमैलाई गरिएको हालै देखिको बक्सपत्र लिखत वदर नहुने ठहराई इन्साफ सदर गरेको मध्यमांचल क्षेत्रिय अदालतको इन्साफ मनासिव ठहर्छ । पुनरावेदिका वादीले पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. नरेन्द्र बहादुर न्यौपाने ।

 

ईति सम्वत् २०५१ साल भाद्र ८ गते रोज ४ शूभम्

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु