शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४८९६ - उत्प्रेषण

भाग: ३६ साल: २०५१ महिना: श्रावण अंक:

निर्णय नं. ४८९६     २०५१, ने.का.प.       अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री रुद्र वहादुर सिंह

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

सम्बत २०५० सालको रि.नं. २९०४

आदेश मिति : २०५०।१२।३।४

विषय : उत्प्रेषण

 

निवेदक : सुर्खेत जिल्ला वाविया चौर गा.वि.स. वडा नं. २ घर भै हाल वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतमा अध्ययनरत कविराम पुरी ।

विरुद्ध

विपक्षी : त्रि.वि.वि. परीक्षा नियन्त्रण कार्यालय, जमल १

ऐ.का. परीक्षा नियन्त्रक डा. तुल्सीराम बैद्य १

केन्द्राध्यक्ष कृष्ण बहादुर रेग्मी क्याम्पस प्रमुख बीरेन्द्रनगर बहुमुखी क्याम्पस, सुर्खेत १

परीक्षा समिति, त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, जमल ।

 

§  चिट प्रयोग गरेकोमा निजको सो सालको परीक्षा रद्द गरेको कानून संगत नै देखिन आयो । अनुचित कामको अनुपातमा अरु १ वर्षदेखि ३ वर्ष हदै सम्मका लागि न परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्कासन गर्ने निर्णय गर्दा निर्णय गर्दा विनियमको व्यवस्था अनुसार कसूर र सजायको विचमा अनुपातिक संयोजन परिक्षा समितिको सो निर्णयमा खुलेको देखिएन । हदैसम्मको सजाय गर्नु पर्ने आधार कारण वा अवस्था खुलाउनु पर्नेमा नखुलेकोले ३ वर्ष सम्म नै परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरेको निर्णय विनियमको व्यवस्था अनुरुप भएको नदेखिने ।

(प्र.नं. १०)

§  तजविजीको न्यूनतम १ वर्ष भन्दा बढी निष्काशनको सजाय गर्नु पर्ने अवस्था सो निर्णयबाट खुल्न नआएको यस स्थितिमा तजविजीको न्यूनतम १ वर्षको लागि निष्काशन रहने र सो भन्दा बढी अरु २ वर्षको लागि निष्काशन गर्नु उपयुक्त देखिँदा सो हदसम्म सो निर्णय कायम रहने र सो भन्दा बढी अरु २ वर्षको निष्काशन कायम रहन नसक्ने हुनाले २०५२ र २०५३ सालको लागि समेत भएको निष्काशन गर्ने सो समितिको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

(प्र.नं. १०)

 

निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री शिव प्रसाद सिग्देल

विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री बद्री नरसिंह राजभण्डारी, विद्वान अधिबक्ता श्री शिवराज अधिकारी

अवलम्बित नजिर :

 

आदेश

न्या. रुद्र वहादुर सिंह : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदन समेतको संक्षिप्त ब्यहोरा यस प्रकार रहेछ ।

२. म निवेदक बीरेन्द्र बहुमुखी क्याम्पसको कानून संकाय तर्फको प्रविणता प्रमाणपत्र तहको दोश्रो वर्षको परिक्षा समेत दिइसकेको तर अंग्रेजी विषयमा अनुतिर्ण भएकोले विपक्षीहरुले संचालन गरेको २०५०।६।१२ गते सो विषयको पुनः परीक्षा दिएको थिएँ । ०५० सालमा संचालित प्रविणता प्रमाणपत्र तहको परीक्षाको सिलसिलामा राजनैतिक शास्त्र विषयको प्रश्न पत्र सो सुर्खेत केन्द्रमा विपक्षी केन्द्राध्यक्ष र खटी गएका पर्यवेक्षकको लापरवाहीले गर्दा परीक्षाको दिन भनदा अघावै खोलिएको विषयमा २०५०।६।६ मा केही बाद विवाद भएको थियो । प्रश्न पत्रको खाम वाहिर राजनीति शास्त्र भन्ने उल्लेख हुँदा हुँदै अर्को विषय करार कानूनको परीक्षाको दिन सो राजनीति शास्त्र विषयको प्रश्न पत्र खोलिएको कारणले त्रि.वि. र परीक्षार्थीहरुको नोक्सानी बेहोर्नु परेको विषयमा म एक विद्यार्थी पनि भएको नाताले कुराकानी गरेको थिएँ । सो रिसइवीले मेरो साथमा नभएको चिट समेत फेला परेको र पर्यवेक्षक माथि अभद्र व्यवहार गरेको भन्ने कथित प्रतिवेदन बनाई परीक्षा नियन्त्रण कार्यालयमा पठाइएको रहेछ । सोही आधारमा परीक्षा समितिले २०५०।६।२९ मा मैले यस वर्ष दिएको सम्पूर्ण विषयको परीक्षा रद्द गर्नुका साथै आउँदो २०५३ सालसम्म त्रि.वि.द्वारा संचालित कुनै पनि परीक्षामा बस्न नपाउने गरी निष्काशन गर्ने निर्णय भएको कुरा विपक्षी परीक्षा नियन्त्रकले २०५०।६।२९ मा सूचना प्रकाशित गरेको कुरा २०५०।७।१५ मा थाहा पाई विपक्षी परीषानियन्त्रक कार्यालयमा बुझन जाँदा सो कुराको एक प्रति सूचना समेत प्राप्त भयो । विपक्षीहरुको उक्त निर्णयनियमावली विपरित भएको र निर्णय गर्दा सुनवाईको मौका नदिई बदनियतपूर्वक गरेको निर्णइ स.अ. पु.ई. बाट रि.पू.इ.नं. ३२ नि.नं. ४६०२ ने.का.प.२०४९ अंक ८ पृ.सं. ७५२ मा प्रतिपादित नजिरको विपरित भएको र नेपाल अधिराज्यको संविधान २०४७ को धारा ११, १२(२) ङ र धारा १६ समेतबाट प्रदत्त हकमा आघात परेको तथा अन्य वैकल्पिक उपचारको अभावमा संविधानको धारा २३ र ८८(२) अन्तर्गत यो निवेदन गर्न आएको छु । अतः २०५०।६।२९ को सूचना अनुसारको निर्णय उत्प्रेषणद्वारा बदर गरी मलाई परीक्षामा सम्मिलित हुन र त्रि.वि. अन्तर्गतका क्याम्पसहरुमा भर्ना हुन चाहेमा अर्को समेत गरी पठन पाउन गर्न दिनु भन्ने परमादेश समेत जारी गरी पाउँ भन्ने समेतको रिट निवेदन ।

३. विपक्षीहरुबाट लिखित जवाफ मगाउने भन्नेयस अदालत एक न्यायाधीशको इजलासको भन्ने यस अदातल एक न्यायधीशको इजलासको आदेश ।

४. अन्तरिम आदेश जारी गरी गाउँ भन्ने निवेदकको निवेदन ।

५. निवेदकले कुनै चिट प्रयोग गरेको छैन भन्ने कुरा निजको उत्तर पुस्तिका साथ संलग्न भै आएको निजकै हस्ती देखिने चिट र उत्तर पुस्तिकाबाट स्पष्ट देखिन्छ निजले कसैमाथि हातपात र अभद्र व्यवहार गरेको छैन भन्ने हकमा सो परीक्षा केनद्रका केन्दाध्यक्षले जिल्ला प्रहरी कार्यालय बीरेन्द नगरलाई कारवाहीको लागि लेखेको पत्र र यसै विषयलाई लिएर नेपाल प्राध्यापक संघ क्याम्पस इकाई समिति सुर्खेत क्याम्पस (शिक्षा) को २०५०।६।१४ मा बसेको बैठकबाट घोर भत्सर्ना गर्दै सुरक्षाको ग्यारेन्टीका लागि उपकूलपतिलाई लेखेको पत्र तथा बीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतको मिति ०५०।६।१२ को निवेदक उपर सजाय गर्ने सिफारिस गरी परीक्षा समितिले लेखेको पत्र समेतबमा आधारमा त्रि.वि.वि. परीषा समितिले पर्याप्त आधार प्रमाण लिई निजलाई निष्काशन समेत गरेको छ । निवेदकको जिकिर तथ्य सम्बन्धी भएकोले रिट क्षेत्रबाट निरोपण गर्न मिल्दैन । परीक्षामा अभद्र व्यवहार गरेमा निष्काशित हुन सक्ने भन्ने कुरा प्रवेश पत्रमा प्रष्टसंग उल्लेख भएको हुँदा निजलाई पूर्व जानकारी भएको मान्नु पर्छ । विनियम अनुसार अभद्र व्यवहार गरेमा सो वर्षको परीषा रद्द गरी १ वर्ष देखि ३ वर्षसम्म निष्काशित गर्न सकिने भएको हुँदा विनियमानुसार भएन भन्ने भनाई निराधार छ । रिट निवेदनमा उल्लेखित नजिर यसमा आकर्षित हुने अवस्था छैन । तसर्थ कानून बमोजिम कारवाही गरिएको हुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने समेतको त्रि.वि.वि. परीक्षा नियन्त्रण कार्यालय परीक्षा समिति र परीक्षा नियन्त्रक डा. तुल्सीराम वैद्यको संयुक्त लिखित जवाफ ।

६. अन्तरिम आदेशको छलफलको लागि विपक्षीलाई ३ दिनको सूचना दिने भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।

७. लिखित जवाफ प्राप्त भैसकेकोले अन्तरिम आदेश जारी गर्नु परेन भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।

८. निवेदकले परीक्षामा अभद्र व्यवहार गरेको हुँदा नियमानुसार सजाय गर्न शिफारिस गरिएको हो । विद्यार्थीको भविष्य विगार्ने नियतले विना आधार हचुवा किसिमले कारवाही चलाएको होइन भन्ने समेतको केन्द्राध्यक्ष कृष्ण बहादुर रेग्मीको लिखित जवाफ ।

९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ यस इजलासमा पेश हुन आएको प्रस्तुत रिट निवेदन सहितको फाइल अध्ययन गरी निवेदक तर्फका विद्वान अधिबक्ता श्री शिव प्रसाद सिग्देलले निराधार आरोप लगाई सफाइ दिने मौकै नदिई अध्ययन गरी परीक्षा दिने जस्ता कुरामा पूर्वाग्रह पिडीत भै विपक्षीहरुले हदैसम्म सजाय गरेको त्रुटिपूर्ण हुँदा बदर हुनु पर्छ भनी र विपक्षी त्रि.वि.वि. तर्फका विद्वान अधिबक्ता श्रीबद्रीनरसिंह राजभण्डारीले र केन्द्राध्यक्ष तथा बीरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख कृष्ण बहादुर रेग्मीको तर्फका विद्वान अधिबक्ता श्री शिवराज अधिकारी समेतले परिक्षामा अभद्र व्यवहार गरेकोले विनियम अनुसार नै कारवाही भएको हुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत गर्नु भएको बहस समेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत  निवेदनमा माग बमोजिमको आदेश जारी गर्नु पर्ने हो होइन सो को निर्णय दिनु परेको छ ।

१०. निर्णय तर्फ विचार गर्दा यसमा त्रिभुवन विश्व विद्यालयद्वारा संचालित २०५० सालको प्रविणता प्रमाणपत्र तह द्वितीय वर्षको अग्रेजी परिक्षाको दिन २०५०।६।१२ गते सुर्खेत केन्द्रबाट परीक्षा दिँदा कुनै चिट प्रयोग नगरी र कसैमाथि हातपात अभद्र व्यवहार समेत गरेको थिइन । पर्यवेक्षकको लापरवाहलिे गर्दा परीक्षा दिन भन्दा अगावै प्रश्नपत्र खोलिएमोमा वादविवाद भएको थियो । त्यसै कुरालाई लिएर भएको चिट फेला परेको र पर्यवेक्षक माथि अभद्र व्यवहार गरेको भन्ने कथित प्रतिवेदनका आधारमा सो परीषा रद्द गरी अरु ३ वर्ष २०५३ सालसम्मको परीक्षामा सम्मीलित हुन नपाउने गरी निष्काशन समेत गरेको विनियम विपरीत हुँदा सो निर्णय बदर गरी पाउँ भन्ने निवेदकको मुख्य जिकिर भएकोले निवेदकले परिक्षा भवनमा अमर्यादित व्यवहार गरी परीक्षा भवनबाट बाहिर निष्काशन गर्न लाग्दा पर्यवेक्षक सहायक प्राध्यापक श्री अम्बर बहादुर बस्नेतलाइृ कुटपिट गाली बेइज्जती समेत गरेकोले त्रिभुवन विश्वविद्यालय वार्षिक परीक्षा प्रणाली सम्बन्धी विनियम ०३७ को दफा २३ को उपदफा (१२) बमोजिम सो परीक्षा रद्ध गर्नुका साथै २०५३ साल सम्मको त्रिभुवन विश्वविद्यालयद्वारा संचालित हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गर्ने भन्ने परीक्षा समितिबाट भएको निर्णय  र तत्सम्बन्धी सूचना समेत कानून अनुरुप नै छ भन्ने लिखित जवाफबाट देखिन्छ । निवेदकले परीक्षामा  प्रयोग गरेको चिट निजको उत्तर पुस्तिकामा समावेश गरी राखेको र निजले सो अवसरमा अभद्र व्यवहार गरेकोले कारवाहीको लागि बहुमुखी क्याम्पस सुर्खेतबाट परीक्षा नियन्त्रकलाई शिफारिस गरि पठाएको सो विषयलाई लिएर नेपाल प्राध्यापक संघ क्याम्पस इकाई समिति सुर्खेतले निर्णय गरी प्राध्यापकहरुको सुरक्षा र मर्यादाका लागि त्रिभुवन विश्व विद्यालयको उप कुलपतीलाई पत्र पठाएको र सोहि आधारमा परीक्षा समितिले २०५०।६।२९ मा निर्णय गरेको समेत त्रिभुवन विश्वविद्यालयको सम्बन्धित फाइल र निर्णय कितावबाट समेत देखिन आयो । त्रिभुवन विश्व विद्यालय वार्षिक परीक्षा प्रणाली सम्बन्धी विनियम, २०३७ को दफा २३ को उपदफा (१२) मा परीक्षा भवनमा कुनै परिक्षार्थीले अनुचित कार्य गरेको ठहरिन आएमा परीक्षा समितिले सो गरेको अनुचित कार्यको अनुपातमा सो परीक्षा रद्द गर्नुका साथै निजलाई अरु एक वर्ष देखि ३ वर्षसम्म विश्व विद्यालयबाट संचालित हुने कुनै परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गर्न सक्दछभन्ने व्यवस्था भएको पाइन्छ । परीक्षा समितिको निर्णय हेर्दा निवेदकले परीक्षा भवनभित्र अमर्यादित व्यवहार गरेकोले निजलाई परीक्षा भवनबाट निष्काशन गर्न खोज्दा त्रिभुवन विश्व विद्यालय परिक्षा नियन्त्रण कार्यालयबाट खटाइएका पर्यवेक्षक सहायक प्राध्यापक श्री अम्बर बहादुर बस्नेतलाई कुटपिट गरी गाली बेइज्जती समेत गरेको हुनाले त्रिभुवन विश्व विद्यालय वार्षिक परिक्षा प्रणाली सम्बन्धी विनियम, २०३७ को दफा २३ को उपदफा (१२) अनुसार निज सम्मिलित भएको यस वर्षको सम्पूर्ण विषयहरुको परीक्षा रद्द गर्नुका साथै वि.सं. २०५३ साल सम्मको त्रिभुवन विश्वविद्यालयद्वारा संचालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गर्ने निर्णय गरेको पाइयो । निवेदकले चिट प्रयोग गरेको झिकाई आएको सम्बन्धित फाइल संलग्न निजको उत्तर पुस्तिकासाथ उक्त चिट संलग्न  गरी राखेकोबाट देखिन्छ । त्यसरी चिट प्रयोग गरेकोमा निजको सो सालको परीक्षा रद्द गरेको कानून संगत नै देखिन आयो । अनुचित कामको अनुपातमा अरु १ वर्षदेखि ३ वर्ष हदै सम्मका लागि न परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्कासन गर्ने निर्णय गर्दा निर्णय गर्दा विनियमको व्यवस्था अनुसार कसूर र सजायको विचमा अनुपातिक संयोजन परिक्षा समितिको सो निर्णयमा खुलेको देखिएन । हदैसम्मको सजाय गर्नु पर्ने आधार कारण वा अवस्था खुलाउनु पर्नेमा नखुलेकोले ३ वर्ष सम्म नै परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरेको निर्णय विनियमको व्यवस्था अनुरुप भएको देखिन आएन । तजविजीको न्यूनतम १ वर्ष भन्दा बढी निष्काशनको सजाय गर्नु पर्ने अवस्था सो निर्णयबाट खुल्न नआएको यस स्थितिमा तजविजीको न्यूनटम १ वर्षको लागि निष्काशन रहने र सो भन्दा बढी अरु २ वर्षको लागि निष्काशन गर्नु उपयुक्त देखिँदा सो हदसम्म सो निर्णय कायम रहने र सो भन्दा बढी अरु २ वर्षको निष्काशन कायम रहन नसक्ने हुनाले २०५२ र २०५३ सालको लागि समेत भएको निष्काशन गर्ने सो समितिको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । फाइल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. केदारनाथ उपाध्याय

 

इति सम्बत २०५० साल चैत्र ३ गते रोज ४ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु