निर्णय नं. ८६९० - अंश

ने.का.प. २०६८, अङ्क ९
निर्णय नं. ८६९०
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रेम शर्मा
माननीय न्यायाधीश श्री कमलनारायण दास
संवत् २०६६ सालको दे.पु.नं. ०७७८
फैसला मितिः २०६८।२।२५।४
मुद्दाः– अंश ।
पुनरावेदक वादीः जिल्ला बाग्लुङ्ग, भीमगिठे गाउँ विकास समिति, वडा नं.४ गैरागाउँ बस्ने तुलसीदेवी कुँवर समेत
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः ऐ. ऐ. बस्ने हिरालाल कुँवर समेत
शुरु फैसला गर्ने :
मा.न्या.भोलानाथ चौलागाई
पुनरावेदन फैसला गर्ने :
मा.मु.न्या.श्री जागेश्वर सुवेदी
मा.न्या.श्री पोषनाथ शर्मा
§ अंशियारको बराबर अंश हक लाग्ने कुरामा कुनै द्विविधा छैन । महिलाले प्राप्त गर्ने अंश हकको स्रोत भनेको वैवाहिक नाताले पतितर्फको पैतृक सम्पत्ति र अविवाहित अवस्थामा जन्मको नाताबाट बाबुतर्फको पैतृक सम्पत्तिबाट अंश प्राप्त गर्ने कानूनबमोजिमका अंशका हकदार हुन् । यिनीहरूले कसैको कृपा वा दया–मायाबाट अंश पाउने नभई कानूनी प्रावधानबाट नै अंश पाउने हकदार भएकाले महिला तथा बालबालिकालाई नाम मात्रको अंश दिने कलुषित भावना तथा उद्देश्यले अभिप्रेरित भई गरिएका त्यस्ता लिखतलाई आधार मानी नाम मात्रको अंश दिने किसिमले निचोडमा पुग्नु भनेको न्यायको मार्ग अवरोध गर्नु समान हुने ।
(प्रकरण नं.४)
§ पैतृक सम्पत्ति हाँगाको नाताले पहिला बाबु र त्यसपछि सन्ततिमा सरी आउने भए तापनि त्यस्तो पैतृक सम्पत्ति बाबुको एकलौटी मान्नु पर्ने ऐनको मनसायविपरीत हुने ।
(प्रकरण नं.५)
§ अंशको हक अंशियार भएका नाताले स्वतः प्राप्त गर्ने हक हुँदा यसरी स्वतः प्राप्त गर्ने अंश जस्तो नैसर्गिक कानूनी हकलाई निष्क्रिय वा संकुचित पार्ने गरी भएको कुनै लिखतले कानूनी मान्यता प्राप्त गर्न नसक्ने ।
§ अंशियारहरूले पारस्परिक सहमतिबाट आफूहरूले आफ्नो अंश हक प्रयोग गर्न सक्दछन । तर, त्यसरी अंशियारबीच कुनै लिखत वा व्यवहार गर्दा त्यस्तो कुनै अंशियारले आफूले अंश दिनुपर्ने अन्य अंशियारको असहमति हुँदाहुँदै उसको अंश हकलाई सीमित वा संकुचित गर्ने गरी कुनै लिखत गर्न पाईंदैन । अंश हक जस्तो नैसर्गिक अधिकारलाई कुण्ठित हुने गरी खडा भएको त्यस्ता लिखत स्वतः बदरभागी हुने ।
(प्रकरण नं.६)
पुनरावेदक वादीतर्फबाटः विद्वान अधिवक्ताद्वय गोपालप्रसाद शर्मा, र केशव पराजुली
प्रत्यर्थी प्रतिवादीतर्फबाटः विद्वान अधिवक्ता कृष्णनाथ शर्मा
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ मुलुकी ऐन, अंशबण्डाको १९(१) नं.
फैसला
न्या.प्रेम शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय निम्नानुसार छ :–
विपक्षीमध्येका हिरालाल म तुलसीका जेठाजु र हामी चन्द्र र गीताका जेठाबाबा नाताका हुनुहुन्छ । विपक्षी बलबहादुर म तुलसीका पति र हामी चन्द्र र गीताका पिता नाताका हुनुहुन्छ । रुद्रलालका २ श्रीमती मध्ये पार्वती तर्फबाट विपक्षी हरिलाल र बलबहादुर र २ छोरीहरूको जन्म भएको र अर्की दुर्पतीबाट चुँडाबहादुरको जन्म भएको थियो । सबै अंशियारको विवाह भइसकेको एवं दुर्पती र चुँडाबहादुरले समेत पहिले नै अंश लिई अलग बसी आएकाले एकासगोलका मूल अंशियारमा विपक्षी हिरालाल र बलबहादुर हुनुहुन्छ । विपक्षी बलबहादुर र म तुलसीदेवीको तर्फबाट छोरा फिरादी चन्द्रकान्त र छोरी गीता गरी २ छोराछोरीको जन्म भएको र हालसम्म हामीहरूको विवाह समेत भएको छैन । तसर्थ पति पिता बलबहादुरको अंश खाने अंशियारमा हामी फिरादी जना ३ र विपक्षी बलबहादुर १ गरी जना ४ छौं । घरको पैतृक सम्पत्ति एवं सोबाट बढे बढाएको सम्पूर्ण सम्पत्ति जिम्मा हुने विपक्षी हिरालालले मूल अंशियार आफू एवं अर्का विपक्षी बलबहादुरबीचमा बण्डा नहुँदै मिति २०५१।१२।३० मा अर्का प्रतिवादी लक्ष्यबहादुरलाई अंश भरपाई गरिदिएका छन् । त्यस्तै मिति २०६०।१२।१४ मा पुनः हिरालाल दिने र बलबहादुर लिने भई अंशबण्डाको लिखत गरेकाले उक्त लिखतहरू हामीलाई अंशमा मार्ने, हामीलाई नोक्सान पुर्याई आफूहरूलाई मात्र फाइदा पुर्याउने उद्देश्यले तयार गरिएको हुँदा जालसाजतर्फ छुट्टै फिराद गरेका छौं । सोमा सोही मुद्दाबाट न्याय पाउने नै छौं । विपक्षी अन्यायवालाहरूले मिति २०६१।१०।१० का दिन अंश दिदैनौं सकेको गर भनी एक मुख भई हाँक जवाफ दिनुभएकाले यो फिराद गरेका छौं । हाम्रो अंश गर्नुपर्ने सम्पूर्ण चल अचल सम्पत्ति विपक्षीहरू जिम्मामा भएकाले निजहरूबाट फाँटवारी लिई सो सम्पत्तिलाई २ खण्ड गरी सोमध्ये १ खण्ड पति पिता प्रतिवादी बलबहादुर कुँवरको भागमा पर्न आउने सम्पत्तिबाट अविवाहित छोरा चन्द्रकान्त समेतको विवाह खर्च पर सारी बाँकी सम्पत्तिबाट ४ भागको ३ भाग अंश पाऊँ भन्ने समेतको फिराद पत्र ।
विपक्षीहरूले निजकै पति पिता बलबहादुरबाट अंश पाउने हुन् । विपक्षी बलबहादुर र म हिरालालबीच मिति २०१७।२।२९ मा घरायसी बण्डापत्र भइसकेको हो । निजको अंश भागमा परेको जग्गा नापी हुनु अगावै मलाई एकमुष्ठ रु. १,००,०००।– मा दिई गएका हुन् । ती जग्गा नापीका बखत मैले मेरा नाउँमा दर्ता गराएका हुँ । विपक्षी बलबहादुर र वादीहरू भारतको बम्बईमा बसी आएका छन् । त्यसरी अलग भइसकेका प्रतिवादी बलबहादुरले मिति २०६०।१२।२२ मा अंशमुद्दा दर्ता गरेकाले बाध्य भई मिति २०६०।१२।२४ का दिन बण्डापत्र पारीत गरी वादीका पति पितालाई दिएको हो । प्रतिवादी बलहादुरका उपर मैले करकाप मुद्दा दिएको रिसईवीले उनै बलबहादुरले विपक्षीहरूलाई उठाई यो मुद्दा पार्न लगाएका हुन् । तसर्थ झूठा नालेसबाट फुर्सद दिलाई पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी लक्ष्यबहादुर कुँवरको हकमा अ.वं. ८३ नं. अनुमति लिई आफ्नो हकमा समेत प्रतिवादी हिरालाल कुँवरको प्रतिउत्तर पत्र ।
प्रतिवादी बलबहादुर कुँवरका नाउँको म्याद मिति २०६१।१२।१० मा टाँस तामेल भएकोमा सो म्यादभित्र निज प्रतिवादीले प्रतिउत्तर नगरी शुरु म्यादै गुजारी बसेको ।
वादीका साक्षी रामुलाल घिमिरे र प्रतिवादीका साक्षी मनबहादुर क्षेत्री, जयभद्र सापकोटा, नारायणप्रसाद शर्माको बकपत्र भै मिसिल संलग्न रहेको ।
मेरो जिम्मा बण्डा गर्नुपर्ने केही छैन भनी वादीले मिति २०६३।४।१७ मा र प्रतिवादी लक्ष्यबहादुरको हकमा संरक्षक भई आफ्ना हकमा समेत हिरालाल कुँवरले मिति २०६३।५।१ मा पेश गरेको तायदाती फाँटवारी मिसिल संलग्न रहेको ।
प्रतिवादी बलबहादुर कुँवरको नाउँको फाँटवारी वादीले मिति २०६३।९।३ मा पेश गरी मिसिल संलग्न रहेको ।
वादी प्रतिवादीबाट पेश भएको तायदातीमा उल्लेख भएको सम्पत्तिलाई २ खण्ड गरी सोमध्ये १ खण्ड वादीका पति पिता प्रतिवादी बलबहादुर कुँवरको भागमा पर्न आउने सम्पत्तिबाट अविवाहित छोरा वादी चन्द्रकान्त र छोरी गीताको अंशबण्डाको १७ नं. बमोजिम विवाह खर्च परसारी बाँकी सम्पत्तिबाट ४ भागको ३ भाग वादीहरूले बण्डा छुट्याई लिन पाउने ठहर्छ । प्रतिवादीले तायदातीमा देखाएको ऋणको हकमा पछि साहूको नालेस परेका बखत ठहरे बमोजिम हुने नै हुँदा यस मुद्दाबाट केही बोली रहनु नपर्ने ठहर्छ भन्ने शुरु बाग्लुङ्ग जिल्ला अदालतको मिति २०६४।५।३१ को फैसला ।
हाम्रो पैतृक सम्पत्ति कति थियो भन्ने कुरा ७ नं. फारम र २०१७ सालको बण्डापत्र हेरिंदा प्रष्ट हुन्छ । मैले दुःखले आर्जेको स्वआर्जनको सम्पत्ति बण्डा नलाग्नेमा बण्डा लगाइएको अवस्था हुँदा सो सम्पत्ति म हिरालालको स्वआर्जन कायम गरिपाऊँ । वादीका पति पिताले आफ्नो अंश भई लगी गइसकेको स्थितिमा वादीहरूलाई थप अंश दिनुपर्ने होइन । तसर्थ जालसाज मुद्दामा प्रस्तुत गरिएका आधार समेतबाट शुरुको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिउत्तर जिकीर बमोजिम गरिपाऊँ भन्ने प्रतिवादी हिरालाल कुँवर समेतको पुनरावेदन जिकीर ।
प्रत्यर्थी वादी तुलसीदेवीका पति बलबहादुर कुँवर र निजका दाजु हिरालाल कुँवरका बीच मिति २०६०।१२।२४ मा अंशबण्डाको लिखत पारीत भएको देखियो । प्रतिवादीमध्येका बलबहादुरले आफ्नी पत्नी तथा छोराछोरीको हक मेट्ने नोक्सान पार्ने उद्देश्यले अंशबण्डा लिखत गरेको मान्न सकिने सम्मको चित्त बुझ्दो आधार खुल्न आएको पाइएन । मूल अंशियारहरूका बीचमा भएको व्यवहारको विषयमा त्यसपछिका हाँगाका (पछिल्ला पिंढी वा तहका) अंशियारहरूले अन्यथा प्रमाणित नभएसम्म प्रश्न उठाउन पाउने स्थिति नदेखिएको समेतका कारणबाट जिल्ला अदालतले गरेको मिति २०६४।५।३१ को फैसला फरक पर्न सक्ने भई विचारणीय देखिँदा छलफलका लागि प्रत्यर्थी झिकाई आए वा अवधि व्यतीत भएपछि नियमानुसार पेश गर्नु । साथै यसमा प्रतिउत्तर पत्र व्यहोराबाट देखिएको वादी बलबहादुर, प्रतिवादी हिरालाल कुँवर समेत भएको मिति २०६०।१२।२४ मा दर्ता भएको भनिएको अंश मुद्दाको मिसिल र रु. एकलाख बिगो अङ्क उल्लेख भएको तमसुक लिखत करकापबाट भएको भनी चलेको अंश मुद्दाको मिसिल समेत बाग्लुङ्ग जिल्ला अदालतबाट झिकाई साथै राखी पेश गर्नु भन्ने पुनरावेदन अदालत, बाग्लुङ्गको मिति २०६४।११।१५ को आदेश ।
वादीहरूका लोग्ने पति प्रतिवादी बलबहादुरका श्रीमती तुलसीदेवी, छोरा चन्द्रकान्त र छोरी गीता समेत गरी ४ अंशियार देखिँदा बलबहादुर कुँवरको अंश भाग सम्पत्तिबाटसम्म विवाह हुन बाँकी रहेका निजका छोरा चन्द्रकान्त र छोरी गीताको विवाह खर्च पर सारी ४ भागको ३ भाग अंश वादीहरूलाई दिलाई भराई पाउनेगरी ठहर गर्नुपर्नेमा मिति २०६०।१२।२४ को पारीत बण्डापत्रले छुट्टिभिन्न भइसकेका हिरालाल कुँवरको सम्पत्तिबाट समेत अंश पाउने ठहर गरी भएको शुरु बाग्लुङ्ग जिल्ला अदालतको मिति २०६४।५।३१ को फैसला सो हदसम्म नमिलेकोले केही उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, बाग्लुङ्गको मिति २०६६।३।३ को फैसला ।
२०१७ सालमा हिरालालले ३ भागको १ भाग भनी बलबहादुरको अंश बुझिलिएका, हिरालाल र बलबहादुर बीच बण्डा नहुँदै २०५१ सालमा लक्ष्यबहादुरले रु. ४३,३००।– बराबरको अंश लिएका, मिति २०६०।१२।२४ मा रु. ५,९१,५००।– बराबरको हिरालालको भागमा र रु. ६१,०००।– बराबरको बलबहादुरको भागमा पर्ने गरी बण्डा लिखत खडा भएको र सो लिखत जीउनी अंश वा छोडपत्रको लिखत समेत नभएको र सो लिखतमा बलबहादुरले थोरै अंश लिने र हिरालालले धेरै अंश लिनुपर्ने वस्तुगत आधार कारणहरू खुलाएको छैन । तसर्थ, उक्त लिखतबाट हाम्रो अंशको हकाधिकारमा आघात पुगेको प्रष्ट हुँदाहुँदै दावी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर उल्टी गरी दावी पुग्ने ठहराएको जिल्ला अदालतको फैसला सदर गरिपाऊँ भन्ने व्यहोराको वादीहरूको संयुक्त पुनरावेदन जिकीर ।
वादीले आफ्नो पति र जेठाजु समेतबाट अंश दिलाई पाऊँ भनी दावी गरेकोमा प्रतिवादीमध्येका जेठाजु हिरालालले अघि मिति २०१७।२।२९ मा घरसारमा बण्डा गरी भाइको अंश भागको सट्टा रु. एक लाख दिई निजको अंश भागको जग्गा नापीमा आफ्नो नाममा दर्ता गराई लिएको तथा मिति २०६०।१२।२४ मा वादीका पति र आफूबीच बण्डा पारीत गरी छुट्टिएको समेत भनी प्रतिवाद गरेको पाइन्छ । सोही पारीत भएको मिति २०६०।१२।२४ को बण्डापत्रको आधारमा यी वादीले आफ्नो पति र पिताबाट मात्र अंश पाउने भनी पुनरावेदन अदालतबाट फैसला भएको पाइन्छ । वादीका पति बलबहादुरले मिति २०६०।१२।२२ मा अन्य प्रतिवादीहरू उपर अंश मुद्दा दिएकोमा सो मुद्दाको रोहबाट अंश पाउने नपाउने भन्ने निर्णय नभई तामेलीमा रहेको देखिन्छ । वादीका पतिले दिएको सो मुद्दामा मिलापत्र वा अन्य व्यहोराबाट सो मुद्दा अन्त्य नभएपछि सोही फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सो मितिसम्मको अंशियारहरूको नामको सम्पत्तिबाट वादीलाई अंश दिलाउनु पर्ने अवस्था एकातिर रहेको छ भने मुद्दा पर्दापर्दै गरेको व्यवहार सदर नहुने र मुद्दा परेपछि हक हस्तान्तरण गरेको मान्य नहुने भन्ने समेत यस अदालतबार्ट स् विभिन्न मुद्दामा नजीर प्रतिपादन भइरहेको अवस्था अर्कोतिर रहेको छ । तसर्थ, फिराद परेको अघिल्लो दिनसम्मको सम्पत्तिबाट वादीलाई अंश नदिलाई मुद्दा पर्दापर्दै प्रतिवादीहरू बीच भएको बण्डापत्रलाई मान्यता दिई वादीहरूले आफ्नो पतिबाट मात्र अंश पाउने ठहराएको पुनरावेदन अदालत, बाग्लुङ्गको फैसला मिलेको नदेखिई फरक पर्न सक्ने हुँदा विपक्षी झिकाई उपस्थित भए वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतको मिति २०६७।१।१५ को आदेश ।
नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दाको पुनरावेदन सहित मिसिल अध्ययन गरियो । पुनरावेदक वादीतर्फबाट उपस्थित विद्वान अधिवक्तहरू श्री केशबराज पराजुली एवं गोपाल प्रसाद शर्माले प्रतिवादीहरू हिरालाल र बलबहादुरले वादीहरूलाई अंशबाट बञ्चित गर्नका लागि मिति २०६०।१२।२४ मा बण्डापत्र गरेका र सो बण्डापत्रमा यी वादीहरूका पति पिता बलबहादुरले के कति कारणले थोरै अंश पाउने हो सो समेत केही उल्लेख नगरेकाले प्रतिवादीहरूको त्यस्तो कार्यबाट वादीहरूको अंश हक मेटिन नसक्ने हुँदा वादीहरूले निजहरूका पति पिता प्रतिवादी बलबहादुरको भागबाट मात्र अंश पाउने ठहराएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण रहेको छ । तसर्थ प्रतिवादीहरूको सम्पूर्ण सम्पत्तिबाट अंश पाउने ठहराएको शुरु जिल्ला अदालतको फैसला सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी प्रतिवादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कृष्णनाथ शर्माले वादीहरूका पति पिता बलबहादुर कुँवरले प्रतिवादी हिरालालबाट मिति २०६८।१२।२४ मा अंश बुझिलिई सकेकाले वादीहरूले हिरालालको भागबाट अंश पाउने होइनन् । तसर्थ, दोस्रो पुस्ताका यी वादीहरूले निजहरूको पति पिताबाट मात्र अंश पाउने हुँदा प्रतिवादी हिरालाल समेतको भागबाट अंश पाउने ठहराएको शुरु जिल्ला अदालतको फैसला त्रुटिपूर्ण रहेकोले सोहदसम्म उल्टी गरी वादीहरूले निजहरूका पति पिताबाट मात्र अंश पाउने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेकै हुँदा सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
विद्वान अधिवक्ताहरूले उपरोक्तबमोजिम गर्नु भएको बहस समेत सुनी हेर्दा पुनरावेदन अदालत, बाग्लुङ्गको फैसला मिले नमिलेको के रहेछ र पुनरावेदन जिकीर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने भएको छ ।
यसमा पति पिता बलबहादुरको अंश खाने अंशियारमा हामी फिरादी जना ३ र विपक्षी बलबहादुर १ गरी जना ४ जना भएको र घरको पैतृक सम्पत्ति एवं सोबाट बढे बढाएको सम्पूर्ण सम्पत्ति विपक्षीमध्ये मूल अंशियार हिरालालको जिम्मामा रहकै अवस्था बण्डा नहुँदै मिति २०५१।१२।३० मा अर्का प्रतिवादी लक्ष्यबहादुरलाई अंश भरपाई गरिदिएका छन् । त्यस्तै मिति २०६०।१२।२४ मा पुनः हिरालाल दिने र बलबहादुर लिने भई अंशबण्डाको लिखत गरेकाले उक्त लिखतहरू हाम्रो अंश मार्ने नियतले खडा गरेको हुँदा सोमा जालसाजतर्फ छुट्टै फिराद गरेको हुँदा हाम्रो अंश गर्नुपर्ने सम्पूर्ण चल अचल सम्पत्ति विपक्षीहरू जिम्मामा भएकाले निजहरूबाट फाँटवारी लिई सो सम्पत्तिलाई २ खण्ड गरी सोमध्ये १ खण्ड पति पिता प्रतिवादी बलबहादुर कुँवरको भागमा पर्न आउने सम्पत्तिबाट अविवाहित छोराछोरी दुईको विवाह खर्च पर सारी बाँकी सम्पत्तिबाट ४ भागको ३ भाग अंश पाऊँ भन्ने वादी दावी भएकोमा दावीबमोजिम वादीहरूले अंश पाउने ठहर गरेको शुरुको फैसला केही उल्टी गरी प्रतिवादीमध्ये बलबहादुरको अंश भागमा रहेको भनिएको कि.नं.८०६ बाट मात्र वादीहरूले अंश पाउने ठहर गरेको पुनरावेदन अदालत, बाग्लुङको फैसलाउपर वादीहरूको पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको पाइयो ।
२. निर्णयतर्फ विचार गर्दा यसमा मूल पूर्खा रुद्रलालका दुई श्रीमतीमध्ये दुर्पतीबाट चुडाबहादुर र पार्वतीतर्फबाट हिरालाल र बलबहादुर दुई छोरा भएकोमा विमातृ तर्फका छोरा चुडाबहादुर पहिले नै आफ्नो अंश भाग लिई अलग भएका र पार्वतीतर्फबाट जन्म भएका छोराहरूमा जेठो प्रतिवादी हिरालाल र कान्छो वादीहरूका पति पिता बलबहादुर भई वादीहरू हिरालालको भाइ बुहारी तथा भतिजा भतिजी तथा बलबहादरको पत्नी तथा छोरा छोरी नाताको भई नाता सम्बन्धमा यी वादी प्रतिवादीबीच कुनै विवाद रहेको देखिँदैन । प्रतिवादीमध्ये वादीहरूका पति पिता बलबहादुरले मिति २०६१।१२।१० मा म्याद बुझिलिई प्रतिउत्तर नफिराएको र अर्का प्रतिवादी हिरालाल कुँवरले वादीका पति पिताले आफूबाट मिति २०६०।१२।२४ मा बण्डापत्र पारीत गरी अंश भाग लिई सकेको हुँदा निज बलबहादुरबाट मात्र वादीहरूले अंश पाउने हुन्, आफूबाट पाउने होइनन् भनी प्रतिवाद लगाएको पाइन्छ । वादीहरूले पहिले नै अंश लिई पाइसकेको भन्ने जिकीर नभएको हुँदा वादीहरूले अंश पाउने कुरामा विवाद भएन । तर बलबहादुरको अंश भागबाट मात्र अंश पाउने भन्ने प्रतिवादी हिरालालको जिकीर रहेको देखिन्छ । अब यी वादीहरूले निजहरूका पति पिता बलबहादुरको अंश भागबाट मात्र अंश पाउने हुन् वा प्रतिवादी हिरालालको अंशभागबाट समेत अंश पाउने हुन भन्ने प्रश्न निरोपण गर्नुपर्ने देखिन आयो ।
३. वादी प्रतिवादीबीच नातामा बिवाद नदेखिई मुख मिलेको भए तापनि मूल रुपमा कोबाट के कति भाग अंश पाउने भन्ने सम्ममा बिवाद रहेको देखिन्छ । वादीहरूका पति पिता प्रतिवादी बलबहादुरले २०१७ सालमै अंशबापत रु एक लाख बुझिलिएको भनी प्रतिवादीमध्येका हिरालालले जिकीर लिएपनि अंश बुझेको भनिएको आधिकारिक लिखत पेश गर्न सकेको नहुँदा वादीका पिताले २०१७ सालमा अंश बुझेका हुन् वा होइनन् भन्नेतर्फ विवेचना गरिरहनु पर्ने कुनै औचित्यता देखिएन । यिनै वादीहरूका पति पिता प्रतिवादी बलबहादुरले यसै मुद्दाका अन्य प्रतिवादी हिरालालउपर मिति २०६०।१२।२२ मा अंश मुद्दा दर्ता गराएपछि मिति २०६०।१२।२४ मा निज बलबहादुर र हिरालालका बीच बण्डापत्र पारीत गरेका कारण सो अंश मुद्दा तामेलीमा रहेको भन्ने देखिन्छ । तर मिति २०६०।१२।२४ मा हिराराल र बलबहादुरबीच गरिएको भनिएको कथित बण्डापत्रको लिखतमा मूल्य रु. ६१,०००।– जाने कि.नं. ८०६ को ज रो. ३–१–३–३ मात्र बलबहादुरको भागमा र मूल्य रु.५,९१,५००।– जाने ज.रो. ८०–१३–२–३ जग्गा प्रतिवादीमध्ये हिरालालको भागमा पारी समान दुई अंशियारका बीचमा समान बण्डा नगरी एक अंशियार र अर्को अंशियारबीच ज.रो. ७७–११–३–० जग्गा असामान्य रुपमा असमान पारी बण्डापत्र गरिएको देखिन्छ ।
४. अंशियारको बराबर अंश हक लाग्ने कुरामा कुनै द्विविधा छैन । महिलाले प्राप्त गर्ने अंश हकको स्रोत भनेको वैवाहिक नाताले पतितर्फको पैतृक सम्पत्ति र अविवाहित अवस्थामा जन्मको नाताबाट बाबुतर्फको पैतृक सम्पत्तिबाट अंश प्राप्त गर्ने कानूनबमोजिमका अंशका हकदार हुन् । यिनीहरूले कसैको कृपा वा दया–मायाबाट अंश पाउने नभई कानूनी प्रावधानबाट नै अंश पाउने हकदार भएकाले महिला तथा बालबालिकालाई नाम मात्रको अंश दिने कलुषित भावना तथा उद्देश्यले अभिप्रेरित भई गरिएका त्यस्ता लिखतलाई आधार मानी नाम मात्रको अंश दिने किसिमले निचोडमा पुग्नु भनेको न्यायको मार्ग अवरोध गर्नु समान हो ।
५. पिता पुर्खाहरूको सम्पत्तिमा निजको शेष पछि क्रमशः हकवालाहरूमा हक सरी जाने कानूनी व्यवस्था रहेको छ । तर बाबुको नामको सम्पत्ति प्रतिवादीमध्ये हिरालालले सबै आफ्नो नाममा दर्ता गराएको र प्रतिवादीमध्ये वादीका पति, पिता बलबहादुरले यी प्रतिवादी हिरालालसँग अंश मुद्दा दायर गरेपछि आपसमा बण्डापत्र गरी कि.नं. ८०६ को ज रो. ३–१–३–३ बलबहादुरको भागमा र ज.रो. ८०–१३–२–३ जग्गा प्रतिवादीमध्ये हिरालालको भागमा पारी एक अंशियार र अर्को अंशियारबीच ज.रो. ७७–११–३–० असमान फरक पारिएको छ । अंशबण्डाको १९ नं. को देहाय १ ले पिता पुर्खाका पालाको चल अचल सम्पत्तिमध्ये चलमा सबै र अचलमा आधीसम्म घर ब्यवहार चलाउन स्वास्नी, छोरा, छोरी वा विधवा बुहारीको मञ्जूरी लिन नपर्ने र सो भन्दा बढी घर ब्यबहार चलाउनु पर्दा पनि उपरोक्त अंशियारहरूको मञ्जूरी लिनुपर्ने भन्ने कानूनी ब्यवस्था गरेको पाइन्छ । तर प्रतिवादी बलबहादुरले घर व्यवहार चलाउने प्रयोजनको लागि उक्त सम्पत्ति अरु कसैलाई बिक्री व्यवहार गरेको वा अंश कम लिएको भन्ने नभै यसको विपरीत आफ्ना सन्ततिलाई अंश दिनु नपरोस् भन्ने उद्देश्यले आफनो भागमा अति नै न्यून जग्गा राखी सबै सम्पत्ति दाजु हिरालालको भागमा पर्ने गरी भेदभावपूर्ण ब्यवहार गरिएको देखिन्छ । पैतृक सम्पत्ति हाँगाको नाताले पहिला बाबु र त्यसपछि सन्ततिमा सरी आउने भए तापनि त्यस्तो पैतृक सम्पत्ति बाबुको एकलौटी मान्नु पर्ने ऐनको मनसाय कदापी होइन ।
६. प्रतिवादी हिरालाल कुँवर र बलबहादुर कुँवर बीच मिति २०६०।१२।२४ मा र नं. १९५५ बाट बण्डापत्रको लिखत पारीत भएको देखिन्छ । उक्त बण्डापत्रमा वादीका पतिको भागमा नाममात्रको अंश भाग राखिएको भन्ने तथ्य माथि विवेचना भइसकेको छ । अंशको हक अंशियार भएका नाताले स्वतः प्राप्त गर्ने हक हुँदा यसरी स्वतः प्राप्त गर्ने अंश जस्तो नैसर्गिक कानूनी हकलाई निष्क्रिय वा संकुचित पार्ने गरी भएको कुनै लिखतले कानूनी मान्यता प्राप्त गर्न सक्दैन । अंशियारहरूले पारस्परिक सहमतिबाट आफूहरूले आफ्नो अंश हक प्रयोग गर्न सक्दछन तर त्यसरी अंशियारबीच कुनै लिखत वा व्यवहार गर्दा त्यस्तो कुनै अंशियारले आफूले अंश दिनु पर्ने अन्य अंशियारको असहमति हुँदाहुँदै उसको अंश हकलाई सीमित वा संकुचित गर्ने गरी कुनै लिखत गर्न पाईंदैन । अंश हक जस्तो नैसर्गिक अधिकारलाई कुण्ठित हुने गरी खडा भएको त्यस्ता लिखत स्वतः बदरभागी हुने हुँदा वादीहरूको अंश हक कुण्ठित हुने गरी प्रतिवादीहरू बीच भएको मिति २०६०।१२।२४ र नं. १९५५ को पारीत बण्डापत्रको लिखत सदर कायम रहन सक्ने देखिएन । साथै यिनै वादी र यिनै प्रतिवादीहरू भएको यसै लगाउको २०६६ सालको फौं.पु.नं. ०५३९ को जालसाजी मुद्दामा प्रतिवादीहरू बलबहादुर र हिरालाल बीच भएको २०६०।१२।२४ र नं. १९५५ को पारीत बण्डापत्रको लिखत वादीहरूको हकमा सम्म बदर भई उक्त प्रतिवादीहरूको उक्त कार्य जालासजी हुने ठहरी आज यसै इजलासबाट फैसला भइसकेकोले यी वादीहरूले प्रतिवादी हिरालाल कुँवरबाट समेत अंश पाउने देखियो ।
७. मूल अंशियाराहरूका बीचमा अंशबण्डा नहुँदै प्रतिवादी हिरालालले आफ्नो छोरा लक्ष्यबहादुरलाई मिति २०५१।१२।३० मा अंश भर्पाइको लिखत गरिदिएको देखिए तातापनि सो सम्पत्ति सगोलकै रहेको देखिएको र सगोलको जुनसुकै अंशियाराको नाउँमा रहेको सम्पत्ति बण्डा लाग्ने नै हुँदा प्रतिवादी लक्ष्यबहादुरको नाउँमा रहेको सम्पत्ति समेत बण्डा लाग्ने देखियो । तसर्थ सबै प्रतिवादीहरूबाट वादीहरूले अंश पाउने ठहर गर्नुपर्नेमा प्रतिवादीमध्ये बलबहादुर कुँवरबाट मात्र वादीहरूले अंश पाउने ठहर गरेको पुनरावेदन अदालतको फैसला मिलेको देखिएन ।
८. अतः माथि विवेचित आधार प्रमाणबाट वादी प्रतिवादीहरूबाट पेश भएको तायदातीमा उल्लिखित सम्पूर्ण सम्पत्तिलाई २ भाग गरी सोमध्ये १ खण्ड वादीहरूका पति पिता बलबहादुर कुँवरको भागमा पर्न आउने सम्पत्तिबाट अविवाहित दुई जना छोराछोरीको कानूनबमोजिम विवाह खर्च पर सारी बाँकी सम्पत्तिबाट ४ भागको ३ भाग अंश वादीहरूले बण्डा छुट्टाई लिन पाउने ठहर्छ । प्रतिवादी हिरालाल समेतबाट वादीहरूले अंश पाउने ठहर गर्नुपर्नेमा बलबहादुर कुँवरबाट मात्र अंश पाउने ठहर गरेको पुनरावेदन अदालत, बाग्लुङ्गको फैसला मिलेको नदेखिँदा उल्टी हुन्छ । दावीबमोजिम वादीहरूले अंश पाउने ठहर गरेको शुरु बाग्लुङ जिल्ला अदालतको मिति २०६४।५।३१ को फैसला सदर हुने ठहर्छ । अरुमा तपसीलबमोजिम गर्नू ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत, बाग्लुङ्गको मिति २०६६।३।३ को फैसला उल्टी भै बाग्लुङ्ग जिल्ला अदालतको मिति २०६४।५।३१ को फैसला सदर हुने ठहरेकोले पुनरावेदन अदालत, बाग्लुङ्गले कायम गरेको लगत राख्नु नपर्ने हुँदा बाग्लुङ्ग जिल्ला अदालतको मिति २०६४।५।३१ को फैसलाको तपसील खण्डमा उल्लेख भएबमोजिम वादीहरूले बण्डा छुट्याई पाऊँ भनी दरखास्त गरे नियमानुसार बण्डा छुट्याई दिनु भनी शुरु बाग्लुङ्ग जिल्ला अदालतमा लेखी पठाउनू –––––––––––––१
नपुग कोर्टफी रु. ७,३११।– र यस अदालतमा पुनरावेदन गर्दा १५% ले हुने कोर्टफी रु.१११२।– बापत कोर्टफी ऐन, २०१७ को दफा २३(ख) बमोजिम सुविधा प्राप्त गरी वादीहरूले पुनरावेदन गरेका हुँदा बण्डा छुट्याउंदाका बखत वादीहरूबाट उक्त रकम लिई सदर स्याहा गर्नु भनी शुरुमा लेखी पठाउनू –––२
वादीले फिरादसाथ राख्नुपर्ने कोर्टफी तथा यस अदालतमा पुनरावेदन गर्दा राखेको थप १५ प्रतिशत कोर्टफी समेत जम्मा रु.८४२३।– प्रतिवादीबाट भराई पाउने हुँदा प्रतिवादीको जेथा देखाई दरखास्त दिए केही दस्तूर नलिई भराई दिनु भनी शुरु अदालतमा लेखी पठाउनू ––––३
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ––––४
उक्त रायमा सहमत छु ।
न्या.कमलनारायण दास
इति संवत् २०६८ साल जेठ २५ गते रोज ४ शुभम्
इजलास अधिृकत : फणिन्द्र पराजुली