शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ५०१७ - ज्यान मार्ने उद्योग ।

भाग: ३६ साल: २०५१ महिना: चैत्र अंक: १२

निर्णय नं. ५०१७      २०५१, ने.का.प.       अङ्क १२

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह

माननीय न्यायाधीश श्री ओम भक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री कृष्ण जंग रायमाझी

सम्बत् २०४७ सालको फौ.पु.इ.नं.२७

फैसला मितिः २०५१।८।१।५ मा

विषयः ज्यान मार्ने उद्योग ।

 

निवेदकः भक्तपुर जिल्ला भ.पु. न.पा. वडा नं.२ बस्ने इश्वरी बोहजु ।

विरुद्ध

विपक्षी : आस बहादुरको जाहेरीले श्री ५ को सरकार ।

 

§  मुलुकी ऐन, ज्यान सम्बन्धी महलको कानूनी व्यवस्था समेतलाई विचार गर्दा ज्यान मार्ने उद्योगको अपराध ठहर हुनको लागि ज्यान मार्ने मनसाय, सो मनसाय अभिब्यक्त गर्न ज्यान मार्नेसम्मको कार्य गरी कुनै वाहिरी तत्वको हस्तक्षेपले गर्दा ज्यान मार्न नसकेको हुनुपर्ने ।

(प्र नं. २१)

§  दुवै पक्ष बीच रिसइवि भएको कतैबाट देखिन नआएको समेतबाट प्रतिवादीले ज्यान मार्ने मनसायले चक्कु प्रहार गरेको भन्न मिल्ने नदेखिने ।

(प्र नं. २२)

§  ज्यान मार्ने मनसाय नभएको र दुवै पक्षको बीच कुटपीट भएको भन्ने समेत देखिएबाट प्रस्तुत मुद्दाको वारदातको प्रकृति कुटपीटको महल अन्तर्गत पर्ने देखिँदा कुटपिटतर्फ परिणत गर्ने गरेको शुरु भक्तपुर जिल्ला अदालतको फैसला मनासिव देखिने ।

(प्र नं. २२)

 

निवेदक तर्फबाट : विद्वान बरिष्ठ अधिबक्ता श्री कृष्ण प्रसाद भण्डारी, विद्वान वरिष्ठ अधिबक्ता श्री कुसुम श्रेष्ठ, विद्वान अधिबक्ता श्री सुवास नेम्वाङ

विपक्षीको तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री सत्य नारायण प्रजापती

अवलम्बित नजीर : x

 

फैसला

          न्या. सुरेन्द्र प्रसाद सिंह : पूर्ण इजलासबाट दोहराई हेरी कानून बमोजिम निर्णय गर्नु भनी श्री ५ बाट हुकुम प्रमाङ्गी बक्स भै आए अनुसार यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

          २. २०३८।७।१४ गतेका दिन मेरो कान्छो छोरा रामेशवर बोहजुलाई भ.पु.जि. ताथली गा.पं. वार्ड नं. ८ मा आइरहेको अवस्था माहिलो छोरा इश्वरी राजले मार्ने मनसायले चक्कुले हानेको घाइतेलाई अस्पतालमा भर्ना गरेको छु । ज्यान मार्ने नियतले चक्कु प्रहार गरी भाग्ने इश्वरी राज वोहजुलाई प्रहरीद्वारा खोजतलास गरी कारवाही गरी पाउँ भन्ने समेत आशा वहादुरको जाहेरी दरखास्त ।

          ३. ०३८।७।१४ का दिन भाई रामेश्वर समेत १०।१५ जना खेत तर्फ जान लागेको, धानको विषयमा भनाभन भई भाईले नोलले हिर्काए पछि नाम थाहा नभएको ब्यक्तिको हातबाट चक्कु खोली भाईलाई भुडीमा रोपी, निजका साथमा रहेका ब्यक्तिहरुले लछार पछार गरेकाले कुन कुन ठाउँमा हिर्काए थाहा भएन, भागी आउँदा हुलले घेरी रहेको अवस्था प्रहरीले पक्राउ गरी हस्पीटल लगी ०३८।७।१५ गते डिस्चार्ज भएको हो भन्ने समेत इश्वरी राज वोहजुको प्रहरी समक्ष गरेको कागज ।

          ४. खेतमा गएको बखत इटुमरी भन्ने ठाउँमा म सँग नारायण भक्त, हरी बहादुर, विश्वलाल, कृष्ण राज, विश्वनाथ थिए । इश्वरी राज घर फर्कन लागेको रहेछन् निजले म सँग कुस्ती खेल्ने मानिस को छ भनी भन्दा हामीले कोही पनि छैन जाउ हामी हाम्रो काममा जान्छौ भनी साथीहरु अघि, अघि र म पछि थिए त्यसै अवस्थामा इश्वरी राजले एक्कासी मेरो पिठ्युमा चक्कु हाने, त्यसपछि पेटमा पाखुरामा हानेपछि विषलाल समेतले चक्कु खोसे, म बेहोस भए, अरु थाहा पाइन भन्ने समेत घाइते रामेश्वर बोहजुको कागज ।

          ५. हामी खेतमा फर्की जाँदा इश्वरी राज घरतिर जान लागेका रहेछन् हामीसँग रामेश्वर पनि थिए जाँदैका बखत निजले म सँग कुस्ती खेल्ने मानिस को छ भनी भन्दा तिमिसँग कुस्ती खेल्ने कोही छैन तिमी तिम्रो बाटो जाउ हामी हाम्रो काममा जान्छौ भनी हामी अघि अघि लाग्यौं, रामेश्वर हाम्रो पछाडि थियो, निजहरु भनाभन गर्दै थिए । त्यसै वखत इश्वरीराजले चक्कुले हानेछ, रामेश्वरको कराएको आवाज सुनी फर्की हेर्दा चक्कुले धमाधम हानी रहेको देखि म समेतलाई डर लागी के गरेको भनी भन्दा इश्वरी राज बोहजुको चक्कुको चोटबाट रामेश्वर भुइमा लडे, निजको हातको चक्कु खोस्दा मेरो हातमा घाउ लाग्यो, भन्ने समेत विषलाल र सोही मिलानको रामेश्वर बोहजु साथ रहेका नारायण बोहजु, विश्वनाथ, कृष्णराम, हरी बहादुर समेतको प्रहरी समक्ष गरेको कागज ।

          ६. इश्वरी राजले रामेश्वरलाई चक्कुले हान्दा निज भुईमा ढलेको थियो रामेश्वरका साथीहरुले इश्वरीको हातमा भएको चक्कु खोसेपछि निज घटनास्थलबाट भागे, रामेश्वरलाई इश्वरीले चक्कु रोपेको हो भन्ने समेत व्यहोराको रत्न लाल कवाल समेतले गरि दिएको सर्जमिन मुचुल्का ।

          ७. रामेश्वरलाई इश्वरीराजले ज्यान मार्ने उद्योग गरेकोले निज उपर ज्यान सम्बन्धीको १५ नं. बमोजिम कारवाही गरी पाउन माग दावी भएको प्रतिवेदन ।

          ८. मैले रामेश्वरलाई ज्यान मार्ने उद्योग गरेको होइन भन्ने समेत इश्वरी राजले अदालतमा गरेको बयान ।

          ९. ०३८।७।२६ मा जि.प्र.का. भक्तपुरमा गरि दिएको बयान राजिखुसीले गरेको हो सोही बमोजिमको बयानलाई कायम गरी पाउँ सो बाहेक अरु भन्नु वाँकी छैन भन्ने समेत हरी बहादुर बोहजु समेतका देख्ने चश्मदित गवाह जना ५ ले अदालतमा गरेको बकपत्र ।

          १०. अघि इश्वरी राज वोहजु झगडा गर्ने खालको मानिस होइन झगडा गरेको मलाई थाहा छैन भन्ने समेत प्रतिवादीका साझी ब्रह्मकोजु समेत ३ जनाको बकपत्र ।

          ११. सर्जमिनमा लेखाएको ब्यहोरा सुने, सोही बमोजिम बकपत्र कायम गरी पाउँ भन्ने समेत सर्जमिनका मानिस कृष्ण कुमार कोजुले समेतको बकपत्र ।

          १२. मार्ने नियत विद्यमान नरहेमा कुटपीटको महल अन्तर्गत सजाय हुने देखिनाले ज्यान सम्बन्धीको १२ नं. बमोजिम जाहेरवाला समेतलाई झिकाई कुटपीटको महल अन्तर्गत मुद्दा चलाएका बखत ठहरे बमोजिम हुने गरी हाल तामेलीमा राखी दिने ठहर्छ भन्ने समेत भक्तपुर जि.अ. को ०३९।६।३ को फैसला ।

          १३. ज्यान मार्ने उद्योग वारदात कायम भै प्रतिवादी समेतले स्वीकार गरेको वारदातलाई कुटपीटमा परिणत गरी गरेको भक्तपुर जि.अ. को इन्साफ न्याय सँगत नहुँदा बदर गरी वादी दावी बमोजिम गरी पाउँ भन्ने समेत वादी श्री ५ को सरकार तर्फबाट ०३९।१०।१२ मा म.क्षे.अ. मा पुनरावेदन ।

          १४. केश फारमबाट रामेश्वरलाई पेटमा चोट लागेको देखिएको प्रतिवादीले उक्त चोट प्रहार गर्दा विषलाल समेतका मानिसले देखि छुट्याएको देखिएको घटनास्थलमा प्रयोग भएको इन्चको चक्कु बरामद भएको र अरुले नछुट्याएको भए रामेश्वरको ज्यान मर्नेसम्मको घटनास्थलको स्थिति समेत देखिँदा प्रतिवादी इश्वरी राज बोहजुले ज्यान मार्ने उद्योग गरेको आरोपबाट सफाई दिएको भक्तपुर जि.अ. को इन्साफ नमिलेको देखिँदा उल्टी हुन्छ प्र. इश्वरी राज बोहजुलाई ज्यान सम्बन्धीको १५ नं. बमोजिम १० वर्ष कैद हुने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४०।१२।१५ गतेको फैसला ।

          १५. मार्ने सम्मको कार्य र स्पष्ट मनसाय पूर्वक मार्ने नियत राखेर गरेको कार्य ज्यान सम्बन्धीको १५ नं. अन्तर्गत पर्छ, यी दुवै अन्तर बस्तुहरु मेरो हकमा विद्यमान छैनन् अदालत समक्ष बयान गर्दा छुरी हिर्काएमा इन्कार रही आफूमाथि कुटपीट भै व्यहोरा भएको जिकिर लिएको छु जुन तथ्य अन्य प्रमाणको साथ एकजना प्रहरीको प्रतिवेदनबाट पुष्टी भएको छ यो कुरालाई विचारै नगरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ज्यान सम्बन्धीको १५ नं., अ.वं. १८४, १८५ प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को गम्भीर कानूनी त्रुटिपूर्ण गरेको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादी इश्वरी राज बोहजुको ०४१।४।१७ मा यस अदालतमा दिएको निवेदन ।

          १६. प्रस्तुत मुद्दामा घाइते हुने रामेश्वर बोहजु र प्रतिवादी इश्वरी राज बोहजु का विचमा भीडन्त, कुटपीट भएको कुरा विवादरहीत देखिन्छ । प्र. इश्वरी राज बोहजुले प्रहरी समक्ष मिति ०३८।७।१४ गते बयान गर्दा आफू समेत सख्त घाइते भई प्रहरीले उठाई हस्पीटल लगी भर्ना गरी ०३८।७।१५ गते बेलुका डिस्चार्ज भएको हुँ भनेबाट दोहरो कुटपीट भएको कुरा सिद्ध हुन्छ । प्र. इश्वरी राज उक्त घटना स्थलमा एक्लै भएको र पिडित पक्षपट्टि घटीमा ६ जना भएको कुरामा विवाद छैन यस्तो अवस्थामा प्र. इश्वरी राजले मार्ने उद्देश्यले रामेश्वरलाई छुरी प्रहार गरेको भन्ने भनाई युक्तसँगत देखिन्न । साथै वारदातमा प्रयोग भएको छुरी अदालतबाट सनाखत नहुनुको अतिरिक्त प्र. इश्वरी राजले उक्त छुरी अर्का पक्षका मानिसबाट खोसी लिई आफू उनीहरुो पिटाईबाट बच्न प्रहार गरेको हुँ भनी बयान गरेको देखिएको समेत हुँदा यस्तो स्थितिमा प्र. इश्वरी राज बोहजुले रामेश्वरलाई मार्ने नियतले छुरी प्रहार गरेको भन्नु न्यायसंगत नहुँदा ज्यान मार्ने उद्योग गरेको ठहराई ज्यान सम्बन्धीको १५ नं. बमोजिम १० वर्ष कैदको सजाय गर्ने गरेको म.क्षे.अ. को फैसलामा ज्यान सम्बन्धीको १५ नं. को त्रुटि भई न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ (५) (ख) को अवस्था विद्यमान देखिँदा पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने यस अदालत डिभिजन बेन्चको ०४१।३।२९ को आदेश ।

          १७. प्र. इश्वरी राजले रामेश्वर बोहजु माथि चक्कु प्रहार गरेमा अदालतमा इन्कार रहे पनि घाउ जाँच केश फारमबाट देखिएको, रामेश्वरको पेटमा लागेको घा चोट कसरी लाग्यो सो भन्न सकेको पाईदैन यस स्थितिमा रामेश्वर बोहजुले चक्कु प्रहार गरेको होइन भन्ने प्र. इश्वरी राजको बयान पत्यार लायक देखिएन । प्रतिवादी इश्वरीराज बोहजुले घाइते रामेश्वरलाई चक्कु प्रहार गरी ज्यान मार्ने उद्योग गरेको ठहराई निजलाई ज्यान सम्बन्धीको १५ नं. बमोजिम १० वर्ष कैदको सजाय गर्ने गरेको म.क्षे.अ. को इन्साफ मनासिव ठहर्छ भन्ने यस अदालत संयुक्त इजलासको मिति २०४१।९।२६ को फैसला ।

          १८. ज्यान सम्बन्धी महलको १५ नं. अनुसार ज्यान मार्ने उद्योग हुन निश्चित अवस्था हुनुपर्ने, जाहेरी भनाई केश फाराम र अन्य सबुद प्रमाणबाट पुष्टी भएको छैन, प्रमाण ऐन, २०३१ को दफा ३, २२ र ५४ को उलङ्घन गरी सर्वोच्च अदालत डिभिजन बेन्चबाट २०४१।९।२९ मा भएको फैसला दोहोर्‍याई हेरिदिनु भनी हु.प्र. बक्स पाउँ भनी प्रतिवादी इश्वरी राज वोहजुले विन्तिपत्र चढाएकोमा मिसिल झिकी पूर्ण इजलासबाट दोहर्‍याई हेरी कानून बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमाङ्गी बक्स भै आएको ।

          १९. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रतिवादी इश्वरी राज बोहजु तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिबक्ता द्वय श्री कृष्ण प्रसाद भण्डारी श्री कुसुम श्रेष्ठ तथा विद्वान अधिबक्ता श्री सुवास नेम्वाङले ज्यान मार्ने उद्योगमा मार्ने मनसाय प्रमुख तत्व हुन्छ प्रस्तुत मुद्दामा सो कुरा तर्फबाट देखिएको छैन । रामेश्वर ६ जनाको साथमा थिए भने प्रतिवादी एक्लै भएको देखिन्छ । कुनै पूर्व योजना बनाएर यो घटना घटेको पनि देखिँदैन । आक्रोसबाट प्रहार गरेको देखिन आउँछ कुनै तेश्रो पक्षको हस्तक्षेपबाट ज्यान मार्ने कारवाही रोकिन गएको होइन निवेदक महेन्द्र राय बम विरुद्ध श्री ५ को सरकार भएको ज्यान मार्ने उद्योग मुद्दामा पूर्ण इजलासबाट २०५०।११।१२ मा भएको फैसला समेतका आधारमा प्रतिवादीले ज्यान मार्ने उद्योग गरेको देखिन आउँदैन । तसर्थ प्रहरी प्रतिवेदनमा ज्यान मार्ने मनसाय भएको भनी उल्लेख गर्दैमा ज्यान मार्ने मनसाय रहेको भन्न मिल्दैन भनी बहस प्रस्तुत गर्नुभयो । त्यस्तै श्री ५ को सरकार तर्फबाट उपस्थित विद्वान सरकारी अधिबक्ता श्री सत्यनारायण प्रजापतिले प्रतिवादी इश्वरीराज वोहजुले रामेश्वर बोहजुलाई मार्ने मनसायले घातक हतियार चक्कु प्रहार गरेको, विषलाला समेतका मानिसले नछुट्याएको भए मार्नेसम्मको कृया हुने स्थिति थियो । तसर्थ प्रतिवादीले ज्यान मार्ने उद्योग गरेको ठहर्‍याएको संयुक्त इजलासको फैसलाले सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

          २०. आज निर्णय सुनाउनको निमित्त पेश हुन आएको प्रस्तुत मुद्दामा पक्षविपक्ष तर्फबाट उपस्थित विद्वान कानून व्यवसायीहरुले प्रस्तुत गर्नु भएको उपरोक्त वहस समेत सुनी सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०४१।९।२६ मा भएको फैसला मिले नमिलेको के रहेछ सो को निर्णय दिनुपर्ने देखिन आयो ।

          २१. मुलुकी ऐन, ज्यान सम्बन्धी महलको कानूनी व्यवस्था समेतलाई विचार गर्दा ज्यान मार्ने उद्योगको अपराध ठहर हुनको लागि ज्यान मार्ने मनसाय, सो मनसाय अभिब्यक्त गर्न ज्यान मार्नेसम्मको कार्य गरी कुनै वाहिरी तत्वको हस्तक्षेपले गर्दा ज्यान मार्न नसकेको हुनु पर्ने देखिन्छ ।

          २२. प्रस्तुत मुद्दाको तथ्य तर्फ हेर्दा २०३८।७।१४ का दिन पिडित रामेश्वर खेत तर्फ जान लागेको बखत इटुमरी भन्ने ठाउँमा प्रतिवादी इश्वरी राजसँग एक्कासी भेट भै घटना घट्न गएको देखिन्छ । वारदातको अवस्था रामेश्वरका साथ अन्य पाँच जना भएको देखिन्छ भने प्रतिवादी इश्वरी राज एक्लै भएको देखिन्छ । रामेश्वरका साथै जाने नारायण भक्त, विश्वनाथ, कृष्णराम समेतका ब्यक्तिहरुले गरेको कागजबाट समेत रामेश्वर र इश्वरीराज बिच भनाभन भएको देखिएको छ । त्यस्तै रामेश्वरले मौकामा तयार गर्दा आफू सहित ६ जना ब्यक्ति खेत तर्फ जान लाग्दा इश्वरी राजसँग भेट भएको र निजले एक्कासी पिठ्यु, पेट, पाखुरामा चक्कुले हानेको भनी उल्लेख गरेको देखियो । प्रतिवादी इश्वरीराजले २०३८।७।१७ मा प्रहरीमा बयान गर्दा दुई दाजु भाई बिच भनाभन भै भाईले नोलले हिर्काएको र निजको साथ रहेको ब्यक्तिहरुले समेत लछारपछार गरेकोले आफू समेत खस्त घाइते भएको र प्रहरीले उठाई हस्पिटल लगी भर्ना गरी २०३८।७।१५ गते बेलुका डिस्चार्ज भएको हुँ भनी उल्लेख गरेको पाइयो । प्रतिवादीले रामेश्वरलाई प्रहार गरेको भनेको चक्कु रामेश्वरका साथ गएका मानिसहरुबाट प्रतिवादीले खोसी प्रहार गरेको देखिन्छ । दुवै पक्ष बीच रिषइवि भएको कतैबाट देखिन नआएको समेतबाट प्रतिवादी इश्वरी राजले रामेश्वर बोहजुलाई ज्यान मार्ने मनसायले चक्कु प्रहार गरेको भन्न मिल्ने देखिएन । ज्यान मार्ने मनसाय नभएको र दुवै पक्षको विच कुटपिट भएको भन्ने समेत देखिएबाट प्रस्तुत मुद्दाको वारदातको प्रकृति कुटपिटको महल अन्तर्गत पर्ने देखिँदा कुटपिट तर्फ परिणत गर्ने गरेको शुरु भक्तपुर जिल्ला अदालतको फैसला मनासिव भै तामेलीमा राख्ने गरेकोसम्म मिलेको देखिएन । प्रतिवादीलाई ज्यान सम्बन्धी महलको १५ नं. बमोजिम १० वर्ष कैद हुने ठहर्‍याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला सदर गरेको संयुक्त इजलासको मिति २०४१।९।२६ को फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।

         

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादी इश्वरी राज वोहजुले सफाई पाउने ठहरेकोले म.क्षे.अ. को २०४०।१२।१५ को फैसला तथा सर्वोच्च अदालत संयुक्त इजलासको २०४१।९।२६ को फैसलाले राख्ने गरेको लगत बमोजिम गर्नु नपर्ने हुँदा उक्त फैसलाहरुले राख्ने गरेको लगत कट्टा गरी दिन शुरु जि.अ. मा लेखी पठाई दिन का.जि.अ. मा लगत दिनु ........................

निवेदक प्रतिवादी इश्वरी राज बोहजुले सर्वोच्च अदालको मिति २०४१।१।७ को आदेश अनुसार धरौट राखेको रु. ५४००।तथा २०४७।५।१२ को आदेश अनुसार घरौट राखेको रु १०८०।समेत धरौट राखेको रु ६४८०।निजले फिर्ता पाउने हुँदा सो फिर्ता पाउँ भनी कानूनका म्याद भित्र दरखास्त पर्न आए फिर्ता खर्च लेखी दिनु भनी का.जि.अ. मा लगत दिनु । ........................

पिडित पक्ष रामेश्वर बोहजुले कुटपिट तर्फ मुद्दा चलाउनु चाहे यसै मिसिलबाट कारवाही गर्न गर्नु भनी शुरु जि.अ. मा लेखी दिनु । ........................

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या. ओमभक्त श्रेष्ठ

न्या. कृष्णजंग रायमाझी

 

इति सम्बत् २०५१ साल मंसीर १ गते रोज ५ शुभम्

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु