निर्णय नं. ५०१८ - अंश

निर्णय नं. ५०१८ २०५१, ने.का.प. अङ्क १२
पूर्ण इजलास
माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
सम्बत २०४५ सालको दे.पु.नं. – ६९
फैसला मितिः – २०५१।८।२२।५
मुद्दाः अंश ।
निवेदिका/वादी : मोरङ जिल्ला विराटनगर न.पा. वडा नं. ४ वस्ने उमादेवी पोखरेल ।
विरूद्ध
विपक्षी/प्रतिवादी : ऐ ऐ बस्ने लेखनाथ पोखरेल समेत ।
§ २०२४।८।३ मा भएको बण्डापत्रलाई वादीले अन्यथा भन्न नसकेको, बण्डा बराबर नभएको वा गलत तरीकाले भएको भए अंश बण्डाको महलको ३२ नं. बमोजिम म्यादभित्र उजूर बाजुर गर्न सक्नु पर्ने केही गर्न सकेको देखिँदैन । २०२४।८।३ मा भएको बण्डापत्र घरको मुली जीवनाथकै जीवनकालमा नै सबै अंशियारहरुको अंश भागको सम्पत्ति रीतपूर्वक छुट्टाई भएको देखिदा वादीका पति मोहन प्रसादको सहिछाप नभएकै कारणबाट उक्त बण्डापत्रले मान्यता नपाउने भन्न पनि नमिल्ने ।
(प्र.नं. १९)
§ जग्गा समेत जिउनीको भन्ने वादी र मेरो एकलौटी हकको भन्ने प्रतिवादी लेखनाथको भनाई भएकोमा एकलौटी हकको प्रमाण प्रतिवादीले दिन गुजार्न नसकेको समेतबाट उक्त जग्गा जिउनी मध्येकै वाँकी जग्गा देखिने ।
(प्र.नं. १९)
निवेदक तर्फबाट : विद्वान अधिबक्ता द्वय श्री हरिहर दाहाल, विद्वान अधिबक्ता श्री शम्भु थापा
विपक्षीको तर्फबाट : विद्वान अधिबक्ता श्री सुनिलचन्द्र पौडेल
अवलम्बित नजीर : x
फैसला
न्या. कृष्णजंग रायमाझी : संयुक्त इजलासबाट छिनिएको विन्तिपत्रमा लेखिएको अंश मुद्दा पूर्ण इजलासबाट दोहर्याई हेरी कानून बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराज सरकारबाट हुकुम प्रमाङ्गी बक्स भै आए अनुसार यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ ।
२. ससूरा जीवनाथका ५ भाई छोरामा जेठा तोपनाथ, माहिला प्र. लेखनाथ, साहिला मेरा पति मोहन प्रसाद, काहिला गुणराज र कान्छ हरिकुमार समेत हुन् । मेरा पति मोहन प्रसाद ०४ सालमा विदेश गएदेखि हालसम्म वेपत्ता हुनुहुन्छ । म सासू ससूरा तथा प्र. लेखनाथसँग सगोलमा बस्दै आएकोमा ०३२।१०।२६ मा घरायसी झगडा परी मलाई घरबाट निकाला गरेकोले मेरा पतिको १ भाग अंश दिनुहोस् भनी मौखिक रुपमा अनुरोध गर्दा मलाई थाहा नदिई श्रेस्ता मिलाई सकेको छु भनी प्र. लेखनाथ समेतले भनेबाट पनि बेपत्ता हुनु भएकोले मुख्य दाम काम गर्न प्र. लेखनाथ हुँदा निजबाट तायदाती लिई ५ भागको १, भाग मेरा पतिले पाउने अंश दिलाई मेरो जिम्मा लगाई पाउँ भन्ने समेतको उमादेवी पोखरेलको फिराद पत्र ।
३. वादीको लोग्ने बेपत्ता भएतापनि आसामको अन्ता भन्ने ठाउँमा गोठवाली वसेको छ । हामी एकाघर सगोलमा बस्न नसक्दा २०२४।८।३ मा परदेश जाने समेतका अंश भाग लगाई लेखत खडा गरेको पास समेत भइसकेको छ । वादीका लोग्नेको भाग अंशको जग्गाको आयस्ता वादीले मोहीहरबाट बुझी सोको भरपाई समेत दिएका छन् । हामी २०२४ सालमा ऐन बमोजिम छुट्टी भिन्न भएको हुँदा वादी दावी झुठ्ठा एवं लाग्नै नसक्ने हुँदा खारेज गरी पाउँ भन्ने समेतको प्र. लेखनाथको प्रतिउत्तर ।
४. विदेशमा गएका छोराको समेत अंश भाग लगाई बण्डा पत्र खडा गरी रजिष्ट्रेशन पास भइसकेको छ । वादीको लोग्नेको भागको आयस्ता वादीले नै खाँदै आएका छन् । आसामको अजन्तामा वादीको लोग्ने हुँदा फिराद लाग्न नसक्ने भन्ने समेतको जीवनाथको प्रतिउत्तर पत्र ।
५. छुट्टिई भिन्न भएको जेठाजूसँग अंश दावी लाग्न नसक्ने हुँदा वादी दावी खारेज हुने ठहर्छ भन्ने समेतको मोरङ जि.अ. को फैसला ।
६. उक्त इन्साफमा चित्त बुझेन सो बदर गरी फिराद लेख बमोजिम इन्साफ गरी पाउँ भन्ने प्र. उमादेवीको पू.क्षे.अ. मा परेको पुनरावेदन ।
७. वादीले पतिको भागमा दावी गर्न सक्ने देखिदा शुरु मोरङ जि.अ. को फैसला बदर गरिएको छ । पुनः ऐन बमोजिम निर्णय गर्नु भन्ने समेतको पू.क्षे.अ. को फैसला ।
८. पू.क्षे.अ. को फैसला उपर प्र. लेखनाथको पुनरावेदनको अनुमतिको लागि सर्वोच्च अदालतमा निवेदन परी पुनरावेदनको अनुमति प्राप्त गरी डिभिजन बेन्च समक्ष पेश हुँदा पू.क्षे.अ. को इन्साफ त्रुटिपूर्ण हुँदा बदर हुने ठहर्छ भन्ने समेतको फैसला भएको रहेछ ।
९. सर्वोच्च अदालत डिभिजन बेन्चको ०३६।१०।१४ कोनिर्णय दोहर्याई पाउँ भनी वादी उमादेवीको न्यायिक समिति मार्फत निवेदन परी नेपालको संविधानको धारा ७२ (ख) अन्तर्गत मुद्ददा दोहर्याउने सिफारिस जाहेर गर्ने ठहर्छ भन्ने समेतको न्यायिक समितिको पर्चा भई दोहरी फूल बेन्चको लगतमा दर्ता भएको ।
१०. डिभिजन बेन्चको फैसला कानून संगत नहुँदा पू.क्षे.अ. को इन्साफ नै मनासिव ठहर्छ । कानून बमोजिम ठहर गर्न मिसिल मोरङ जि.अ. मा पठाई दिने भन्ने समेतको सर्वोच्च अदालत फूल वेन्चको मिति ०३९।१।१४ को फैसला भई मोरङ जि.अ. मा सरी गएको ।
११. वादीले आफ्ना पति मोहन प्रसादको भाग बण्डा पाउने नै देखिँदा जीवनाथ जिम्मा रहेको निजको पतिको अंश बुझी लिन पाउने ठहर्छ भन्ने समेतको मोरङ जि.अ. को ०३९।५।२२ को फैसला ।
१२. मोरङ जि.अ. को इन्साफमा चित्त बुझेन । प्रतिवादीहरु समेतका अंशियारबाट नालेस परेको अघिल्लो दिनसम्मको तायदाती लिई ५ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेतको उमादेवी पोखरेलको पू.क्षे.अ. मा पुनरावेदन परेको ।
१३. वादीको लोग्नेको सही नपरेको बण्डा पत्रलाई मान्यता दिई गरेको मोरङ जि.अ. को इन्साफ फरक पर्ने भएवाट विपक्षी झिकाउने भन्ने पू.क्षे.अ. बाट आदेश भएको ।
१४. शुरु मोरङ जि.अ. को फैसला मनासिव ठहर्छ भन्ने समेतको पू.क्षे.अ. को ०४०।११।२८ को फैसला
१५. जीवनाथको सम्पत्तिमा मिति २०२४।८।३ मा रीतपूर्वक सवै अंशियारहरु बीच बण्डापत्र भएको कुरालाई अन्यथा मान्न मिलेन । मोहन प्रसादको अंश भागमा परेको जग्गा सर्भे नापीमा उमादेवी मोहन प्रसादको नाउँमा नापी भएको देखिन आएबाट अंश हकको जग्गा पाएकै मान्नु पर्यो । जीवनाथको जिउनीको रुपमा राखेको जग्गा १० विगाह भएको र निज परलोक भईसकेको अन्य भाइहरुले भाग बण्डा प्राप्त गरेको तर उमादेवीको लोग्ने मोहन प्रसादले जिउनी वापत कुनै जग्गा प्राप्त गरेको देखिएन । अंश मुद्दामा जिउनी पनि भागबण्डा हुन सक्ने हुँदा ०–१७–१६ जग्गा प्र. लेखनाथबाट वादीले जिउनी वापतको हक प्राप्त गर्ने ठहर्छ । सो पाउने नपाउने ठहराएको हदसम्म पू.क्षे.अ. को इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४४।३।८ को फैसला ।
१६. मुद्दा पर्दैको अवस्थामा विक्री व्यवहार गरेकोलाई मैले बदर गराउन नसकेको भनी लिइएको आधार त्रुटिपूर्ण छ । ०२४ सालको बण्डापत्रमा मेरो पति मोहन प्रसाद र मेरो मंजूरी र सहिछाप परेको छैन । अन्य अंशियारले २ विगाह जग्गा जिउनी वापत प्राप्त गरेका छन भने प्र. लेखनाथको जिम्मा ०–१७–१६ मात्र भएको भनिएको त्रुटिपूर्ण छ । विपक्षीहरुबाट तायदाती तथा अंश पाउने जग्गाको कागज नै नलेखी के कुन जग्गा अंश पाउने हो भन्ने नै स्पष्ट नखुलाई गरिएको फैसला अ.वं. को १८(क) १८५ को प्रतिकूल भएको । मेरो अंशमा सही नभए पछि मैले जिउनी राखेको स्वीकार गर्न नै मिल्दैन । तसर्थ सर्वोच्च अदालत संयुक्त इजलासबाट भएको फैसला पूर्ण इजलासबाट हेरी इन्साफ जाँच गरिदिनु भन्ने हु. प्र. बक्स पाउँ भनी उमादेवी पोखरेलले चढाएको विन्तिपत्रमा पूर्ण इजलासबाट हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हु.प्र. बक्स भै आएको ।
१७. नियम बमोजिम दैनिक पेशी सूचमिा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदिका वादी उमादेवी पोखरेलका तर्फबाट उपस्थित विद्वान अधिबक्ता द्वय श्री हरिहर दाहाल तथा श्री शंभु थापाले १० विगाहा जग्गा जिवनाथको जीउनी छुट्याइएकोमा जिवनाथकै जीवनकालमा मोहन प्रसाद बाहेक अरु भाईहरुले उक्त जिउनी भाग छुट्टाई वाँडी लिए । जसलाई जग्गा विक्री गरे पनि उमादेवीको भागको जग्गा उपलब्ध गराउने जिम्मा अंश खाने सबैको हुन्छ । २०२४।८।३ को अंशको तायदाती र ०२४।८।३ पछिको सम्पत्तिको तायदाती विपक्षीहरुबाट मगाई कुन सम्पत्तिबाट निवेदिकाले अंश पाउने हो त्यसबाट अंश दिइनु न्यायोचित हुन्छ । विपक्षीहरुले मोहन प्रसादको भागको जग्गा विक्री गरेको र ओखलढुङ्गाको भिरपाखा जग्गा उमादेवी र मोहन प्रसादको नाउँमा कपटपूर्ण तरिकाले नापीमा दर्ता गराएको हो । उक्त जग्गा निवेदिकाको अंश भागमा परेको थिएन, भनी बहस प्रस्तुत गर्नु भयो । त्यस्तै विपक्षी तर्फबाट उपस्थित विद्वान अधिबक्त श्री सुनिल चन्द्र पौडेलले २०२४ सालमा बण्डापत्र हुँदा वादीको पतिको भागमा समेत अंश छुट्टाइएकोमा अहिले आएर सम्पत्तिको तायदाती लिई अंश पाउने भनी गरेको नालेस कानूनसँगत छैन । गुणराजले २०३२ सालमा विक्री गरेकोमा विपक्षीले दर्ता बदरमा नालेशस नगरेबाट पनि अंशवण्डा भएकोलाई स्वीकार गरेको देखिन्छ । २०२४ सालमा मानो छुट्टिएपछि फिराद परेको अवस्थामा अंशियारहरुले आर्जित गरेको सम्पत्ति पनि बण्डा गर्नुपर्छ भन्न मिल्दैन । जीउनी समेतबाट निवेदिकाले भाग पाइसकेको हुँदा पुनः बण्डा हुन सक्ने होइन भन्ने समेत बहस प्रस्तुत गर्नु भयो।
१८. आज निर्णय सुनाउन भनीपेश हुन आएको प्रस्तुत मुद्दामा विद्वान कानून व्यवसायीहरुले गर्नु भएको उपरोक्त वहसहरु समेतलाई ध्यानमा राखी सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०४४।३।८ मा भएको फैसला मिले नमिलेको के रहेछ सो को निर्णय दिनु पर्ने देखिन आयो ।
१९. यसमा जिवनाथका ५ भाइ छोरा तोपनाथ, लेखनाथ, मोहनप्रसाद, गुणराज र हरिकुमार भएको र २०२४।८।३ मा अंशियारहरु बीच बण्डापत्र भएको र वादीका पति मोहन प्रसाद र हरिकुमार विदेह गएकोमा विवाद देखिँदैन । २०२४।८।३ को बण्डापत्रबाट वादीका पति मोहन प्रसाद र हरिकुमारको अंश भाग बाबु जिवनाथको जिम्मा रहेकोमा पछि हरि कुमार विदेशबाट फर्की आई उक्त बण्डापत्र अनुसारको आफ्नो भागको सम्पत्ति बुझिलिएको देखिन्छ । त्यस्तै अर्का अंशियार गुणराजले आफ्नो अंश भागको जग्गा २०३२।१।११ मा विक्री गरेको समेत देखियो । २०२४।८।३ मा भएको बण्डापत्रलाई वादीले अन्यथा भन्न नसकेको, बण्डा बराबर नभएको वा गलत तरीकाले भएको भए अंश बण्डाको महलको ३२ नं. बमोजिम म्यादभित्र उजूर बाजुर गर्न सक्नु पर्ने केही गर्न सकेको देखिँदैन । २०२४।८।३ मा भएको बण्डापत्र घरको मुली जीवनाथकै जीवनकालमा नै सबै अंशियारहरुको अंश भागको सम्पत्ति रीतपूर्वक छुट्टाई भएको देखिदा वादीका पति मोहन प्रसादको सहिछाप नभएकै कारणबाट उक्त बण्डापत्रले मान्यता नपाउने भन्न पनि मिलेन । ओखलढुंगा जिल्ला रातमाटे गा.पं. वडा नं. ७ अन्तर्गत कि.नं. २३८ समेतका १२ कित्ता जग्गाहरु कित्ताकाट भै सर्भेनापी टोलीमा उमादेवी मोहन प्रसादको नाउँमा नापी दर्ता भएको समेत देखिँदा २०२४।८।३ को बण्डापत्र अनुसार नै वादी प्रतिवादीहरु बीच अंशवण्डा भएको ठहराएको हदसम्म संयुक्त इजलासको फैसला मिलेकै देखियो । जहाँसम्म जिउनीको सवाल छ २०२४।८।३ को बण्डापत्रबाट जिनवनाथको भागमा करिव १० विगाहा जिउनी रहेकोमा विवाद देखिएन । जीवनाथ परलोक भएपछि गुणराज, हरिकुमार समेतका अंशियारहरुले उक्त जिउनी मध्ये पाँच भागको एक एक भागले हुने दुई विगाह जग्गा लिएको देखिँदा वादीले पनि जिउनी वापतको २ विगाह नपाउने भन्न मिलेन । जि. सुनसरी रामगन्ज गा.पं. वडा नं. १ (ख) कि.नं. ९ को ०–१७–१६ जग्गा निवेदिका वादीलाई दिलाउने गरेको संयुक्त इजलासको मिति ०४४।३।८ को फैसला देखिन्छ । संयुक्त इजलासले वादीलाई दिलाउने गरेको ०–१७–१६
वाहेक अरु १–२–३
जिउनी वापत निवेदिकाले पाउनु पर्ने देखियो । मालपोत कार्यालय सुनसरीको मिति २०४४।१।२७ को पत्रबाट रामगंज गा.पं. वडा नं. १ (ख) कि.नं. २ को १–१०–९ जग्गा प्रतिवादी लेखनाथ पोखरेलकै नाउमा दर्ता रहेको देखियो । उक्त जग्गा समेत जिउनीको भन्ने वादी र मेरो एकलौटी हकको भन्ने प्रतिवादी लेखनाथको भनाई भएकोमा एकलौटी हकको प्रमाण प्रतिवादीले दिन गुजार्न नसकेको समेतबाट उक्त जग्गा जिउनी मध्येकै वाँकी जग्गा देखिन आयो । तसर्थ उक्त कि.नं. २ को १–१०–९ मध्ये ज.वि. १–२–३
समेत जग्गामा निवेदिका वादीले हक पाउने ठहर्छ । कि.नं.९ को ज.वि. ०–१७–१६
मात्र लिाउने गरेको संयुक्त इजलासको फैसला सो हदसम्म मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम लेखनाथ पोखरेलको नाम दर्ताको मुनसरी जिल्ला रामगंज गा.वि.स. वडा नं. १ (ख) कि.नं. २ को ज.वि., १–१०–८ मध्ये ज.वि. १–२–३ समेत निवेदिका वादी उमादेवी पोखरेलले पाउने ठहरेकोले सो बमोजिमको जग्गा निजको नाउँमा दर्ता गरिदिन मा.पो.का. सुनसरीमा लेखी पठाउन का.जि. अ. मा लगत दिनु ...................... १
मिसिल नियमानुसार गरी बुझाई दिनु ...................... १
उक्त रायमा हामी हसमत छौं ।
न्या. रुद्र वहादुर सिंह
न्या. मोहन प्रसाद शर्मा
इति सम्बत् २०५१ साल मंसीर २२ गतने रोज ५ शुभम्