शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ५०२० - उत्प्रेषण

भाग: ३६ साल: २०५१ महिना: चैत्र अंक: १२

निर्णय नं. ५०२०           २०५१, ने.का.प.            अङ्क १२

 

संयुक्त इजलास

सम्माननीय का.मु. प्रधान न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

सम्बत् २०५० सालको रिट नं. ३४८५

आदेश मिति : २०५१।९।१८।२

विषय : उत्प्रेषण ।

 

निवेदक : जिल्ला मोरङ विराटनगर नगरपालिका वडा नं. ३ स्थित पशुपति खाद्य तेल उद्योग (प्रा) लिमिटेडको तर्फबाट ऐ. को अधिकार प्राप्त संचालन जि. सिरहा लहान नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४२ को शिवरत्न शारदा ।

विरुद्ध

प्रत्यर्थी : श्री ५ को सरकार, उद्योग विभाग, त्रिपुरेश्वर, काठमाण्डौ ।

श्री ५ को सरकार, कर विभाग, लाजिम्पाट, काठमाण्डौ ।

श्री ५ को सरकार, कर कार्यालय, विराटनगर ।

 

§  निवेदकको पशुपति खाद्य तेल उद्योगले ०३८।९।५ गतेका दिन उद्योग विभागबाट इजाजत प्राप्त गरी ०३८।१२।१७ गतने देखि कम्पनी रजिष्टर भई ०४०।२।३ देखि औद्योगिक उत्पादन शुरु गरेको पाइन्छ । उद्योग स्थापनाको अवस्थाको तत्काल प्रचलित कानूनी व्यवस्था हेर्दा औद्योगिक ब्यवसाय ऐन, २०३८ को दफा ९(१)(क) मा उत्पादनमूलक उद्योगमा कोरा माल वा अर्ध प्रशोधित माल वा उत्पादन वा खेर गइरहेको मालको प्रयोग वा पुनः प्रयोग गरी प्रशोधन वा उत्पादन गर्ने देहायका उद्योगहरु भन्दै देहाय (१) मा आवश्यक उपभोग्य बस्तु उत्पादन गर्ने उद्योग भित्र चामल, दाल, पीठो, तेल, चीनी, खाडसारी, दुध, घीउ, दुग्ध पदार्थ, पाउरोटी, विस्कुट, चिया, कपडा, जुत्ता, चप्पल, सावुन, सलाई, कागज, सीसाकलम, कलम, मसी, स्टेसनरी सामान तथा औषधी उत्पादन गर्ने र कपास जिनीङ र कपास स्पिनिङ्ग उद्योग भन्ने उल्लेख भएको पाइन्छ । सोही ऐनको १०(क) ३ मा उपभोग्य बस्तु उत्पादन गर्ने उद्योगलाई दुई वर्षको निमित्त थप अतिरिक्त आयकर छुट दिने व्यवस्था गरेको देखिन्छ । निवेदकको उद्योगबाट प्रशोधित तेल उत्पादन गरेको र प्रशोधित तेल पनि औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा ९ अन्तर्गत उपभोग्य बस्तु अन्तर्गत परेको देखिन्छ । निवेदकको उद्योगले प्रशोधित तेल उत्पादन गर्ने हुँदा औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(क) ३ बमोजिम २ वर्षको निमित्त थप आयकर छुट दिन मिल्दैन भनी विपक्ष सरकारी अधिबक्ताले आफ्नो बहसमा समेत प्रस्तुत गर्नु भएको छ । दफा ९(१)(क) मा आवश्यक उपभोग्य बस्तुमा प्रशोधन वा उत्पादित दुवै चिजलाई उल्लेख गरी खण्ड (१) मा तेललाई समेत जनाएको देखिन्छ । यस ब्यवस्थाको आधारमा तेल भन्नाले सर्स्यु तोरी वा तीलको गेडाबाट उत्पादन हुने तेल मात्र हो भनी ब्याख्या गर्न मिल्दैन । उक्त कानूनी व्यवस्थानुसार तेल भित्र उत्पादन वा प्रशोधन दुवै तरिकाबाट तयार भएको तेललाई मान्नु पर्ने ।

(प्र. नं. १२)

§  दफा ९(१)(क) मा उपभोग्य बस्तुमा प्रशोधन वा उत्पादित दुवै चिजलाई उल्लेख गरी खण्ड (१) मा तेललाई समेत जनाएको देखिन्छ । यस ब्यवस्थाको आधारमा तेल भन्नाले सर्स्यु तोरी वा तीलको गेडाबाट उत्पादन हुने तेल मात्र हो भनी ब्याख्या गर्न मिल्दैन । उक्त कानूनी व्यवस्थानुसार तेल भित्र उतपादन वा प्रशोधन दुवै तरिकाबाट तयार भएको तेललाई मान्नु पर्दछ , दफा ९(१) क मा उपभोग्य बस्तुको रुपमा उल्लेख भएको तेल शब्दले सिड (तेलहन) बाट प्राप्त हुने तेललाई मात्र जनिने हुँदा निवेदकको उद्योग क्रुड आयकल प्रशोधन गरी वनस्पति घिउ तेल उत्पादन गर्ने उद्योग हो तेलहनबाट तेल उत्पादन वा प्रशोधन गर्ने उद्योगले मात्र ऐ ऐनको दफा १०(क) ३ बमोजिम छूट पाउने हो भनी ब्याख्या गर्ने अधिकार एकद्वारा समितिलाई कुनै कानूनले दिएको समेत नदेखिने ।

(प्र. नं. १२)

§  औद्योगिक व्यवसाय ऐन, ०४९ को दफा २० मा औद्योगिक व्यवसाय ऐन, ०४९ को अन्तर्गत अनुमती प्राप्त गरी वा दर्ता गरी संचालन भएको उद्योगले अवधि किटिएको सुविधा तथा सहुलियतका सम्बन्धमा सोही ऐन बमोजिम र अवधि नकिटिएको सुविधा तथा सहुलियतका सम्बन्धमा यस ऐन बमोजिम पाउने भनेको र निवेदकका उद्योग औद्योगिक ब्यवसाय ऐन, २०३८ बमोजिम अवधि किटिएको सुविधा र सहुलियत पाउने उद्योग भएको र निवेदकको उद्योगले औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(२)(क) अन्तर्गत ५ वर्षको आयकर छुट सुविधा समेत पाइसकेको देखिदा निवेदकको पशुपति खाद्य तेल उद्योग प्रा.लि. लाई औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(क) ३ बमोजिम थप २ वर्ष आयकर छुट नदिने भनी प्रत्यर्थी उद्योग विभागको मिति २०५०।१।२७ र २०५०।२।१५ को निर्णय र २०५०।१।२९ र २०५०।२।१७ को पत्रहरु समेत त्रुटीपूर्ण देखिदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । निवेदकलाई तत्कालीन औद्योगिक ब्यवसाय ऐन, २०३८ को दफा १०(क)३ बमोजिम २ वर्षको थप आयकर छुट दिनु भनी विपक्षीहरुको नाउँमा परमादेशको आदेश समेत जारी हुने ।

(प्र. नं. १२)

 

निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री कमलनारायण दास

प्रत्यार्थी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री टीका बहादुर हमाल

अवलम्बित नजीर : x

 

आदेश

            का.मु.प्र.न्या. सुरेन्द्र प्रसाद सिंह : सर्वोच्च अदालत नियमावली, ०४८ बमोजिम पर्न आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :

            २. निवेदक पशुपति खाद्य तेल उद्योगले श्री ५ को सरकार उद्योग विभागबाट मिति ०३८।९।५ मा औद्योगिक इजाजत पाई मिति ०३८।१२।१७ का दिन कम्पनी रजिष्टर भई मिति ०४०।२।२३ देखि औद्योगिक उत्पादन गरी आएको मिति ०३८।९।५ मा औद्योगिक इजाजत पाउँदा उद्योगको स्थिर पूँजी रु १,६९,५०००।र उद्देश्यमा तोरी बदमा रेपसिड आयल प्रशोधन गर्ने रहेकोमा मिति ०४४।९।२९ का दिन उद्योग विभागबाट स्थिर पूँजी रु २,३३,७६,०००।र उद्देश्यमा वार्षिक ६००० मे.टन बनस्पती घीउको सट्टामा ३००० मे.टन वनस्पती घीउ र ३००० मे.टन वनस्पती तेल उत्पादन गर्ने गरी उद्देश्य परिवर्तनको स्वीकृति पाई तदनुरुप मिति ०४५।११।२४ देखि उत्पादन पनि प्रारम्भ भयो र कर विभागबाट ०४६।५।२० को पत्रद्वारा संचालन मिति देखि लागु हुने गरी औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १० (क) (२) क अन्तर्गत मूल्य अभिबृद्धिको आधारमा आयकर छूट सुविधा प्रदान गर्ने जानकारी गराइयो । औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १० (क) (३) बमोजिम उपभोग्य बस्तु उत्पादन गर्ने उद्योगलाई २ वर्षको निमित्त थप अतिरिक्त आयकर छूटको सुविधा प्रदान गर्नुपर्नेमा नगरिएको हुनाले सो प्रदान गरी पाउँ भनी अनुरोध गर्दै आएकोमा औद्योगिक व्यवसाय ऐनको दफा १० (क) (३) अन्तर्गत अतिरिक्त आयकर छूट सम्वन्धमा कारवाही भइरहेको भन्ने पत्र प्राप्त भयो । र मिति २०५०।१।२९ को पत्रानुसार २ वर्षको थजप आयकर छूट सुविधा पाउँ भन्ने सन्दर्भमा कारवाही हुँदा मिति ०५०।१।२७ को अनुसार सो सुविधा प्रदान गर्न नमिल्ने हुँदा विस्तृतिकरण गरे वापत २५ प्रतिशत कट्ट गर्ने सुविधा सम्बन्धमा वासलात पेश गर्न निमित्त सूचना दिइयो ।

            ३. औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(क) (३) अन्तर्गत आवश्यक उपभोग्य बस्तु उत्पादन गर्ने उद्योगले पाउने २ वर्षको थप अतिरिक्त आयकर के कारणले नपाउने भनी पत्रबाट खोधीएकोमा मिति २०५०।२।१५ को निर्णयानुसार ऐ दफा ९ (१) (क) (१) मा उल्लेखित आवश्यक उपभोग्य बस्तु उत्पादन गर्ने उद्योग अन्तर्गत प्रस्तुत उद्योग नपरेको हुँदा आयकर छूट सुविधाको लागि सिफारिस गर्न नमिल्ने भनी जानकारी दिइयो ।

            ४. पशुपति खाद्य तेल उद्योग (प्रा) लि. ले ०३८।९।५ का दिन इजाजत प्राप्त गरी ०३८।१२।१७ का दिन कम्पनी दर्ता गरेको र २०४०।३।२३ का दिन उत्पादन प्रारम्भ गरेको हुनाले तत्काल लागु रहेको ऐनको १०(क)(२) क अन्तर्गत मूल्य अभिबृद्धिको आधारमा उत्पादन प्रारम्भ गरेको मिति ०४०।३।२३ देखि लागु हुने गरी ५ वर्षको लागि आयकर छूट सुविधा पाएको कुरामा विवाद छैन । तत्काल लागु रहेको औद्योगिक व्यवसाय ऐनको दफा ९(१)(क)(१) मा आवश्यक उपभोग्य बस्तु उत्पादन गर्ने उद्योगको बर्गिकरण भित्र तेल, घिउ उत्पादन गर्ने उद्योग समेत परेको कुरामा विवाद देखिदैन । मूल्य अभिबृद्धिको आधारमा आयकर छूट सुविधा सिफारीस र सुविधा प्रदान गर्दा नै तत्काल लागु रहेको मूल ऐनको दफा १० (क)(३) अन्तर्गत २ वर्षको अतिरिक्त आयकर छूट सुविधा समेत प्रदान गर्नु पर्नेमा तत्काल सो सुविधा प्रदान नगरेको र हाल संशोधित ऐनको दफा ९ (१)(क) का उपखण्ड (१) र (२) लाई दोश्रो संशोधनले झिकेको कारणबाट ऐ को वर्गिकरण भित्र प्रस्तुत उद्योग नै नपरेको भनी स्वेच्छिक ब्याख्या गरी अतिरिक्त थप आयकर छूट सुविधाबाट बंचित गरिएको छ । तर ऐनको दोश्रो संशोधन हुनु पूर्व नै मिति ०४०।३।२३ मा उत्पादन शुरु गरी सकेको उद्योग भएकाले तत्काल लागु रहेको औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(क) २ (क) अन्तर्गत मूल्य अभिबृद्धिको आधारमा आयकर छूट सुविधा पाएपछि सो अतिरिक्त आयकर छूट सुविधा पनि सोही अनुकूल प्रदान गर्नु पर्नेमा औद्योगिक व्यवसाय ऐनको दफा ९ (१) (क) १ मा तेल, ध्यू उत्पादन गर्ने उद्योग प्रत्यक्ष रुपले समावेश हुँदा हुँदै पनि सो वर्गिकरण भित्र नपरेको अत्तो थपी सुविधा सिफारिस प्रदान गर्नबाट इन्कार गरिएको हुनाले औद्योगिक ब्यवसाय ऐनको दफा ९ (१) क (१), १० (क) (३) समेतको प्रत्यक्ष गंभीर कानूनी त्रुटिपूर्ण हुँदा बदरभागी छ ।

            ५. तसर्थ नेपाल कानून विपरित श्री ५ को सरकार उद्योग विभागबाट मिति ०५०।१।२७ र २०५०।२।१५ मा भएको निर्णय तथा सो को आधारमा लेखिएको मिति ०५०।१।२९ र मिति ०५०।२।१७ को पत्रहरु समेतबाट नेपाल अधिराज्यको संविधान ०४७ को धारा ११(१), १२(१) १२(२) र १७ द्वारा प्रदत्त तथा प्रत्याभूत मौलिक हक संवैधानिक हक आघातीत हुन गएको र त्यसको उपचारको माध्यम नेपाल कानूनमा विद्यमान नभएको हुनाले धारा २३ र ८८ अन्तर्गत निवेदन गर्न आएको छु । उत्प्रेषण लगायतका जुन चाहिने उपयुक्त रिट, आज्ञा, आदेश वा पूर्जिद्वारा उल्लेखित दुवै निर्णयलाई बदर गरी निवेदकलाई उल्लेखानुसार अतिरिक्त दुई वर्षको लागि आयकर छूट सुविधा प्रदान गर्नु भनी प्रतिरक्षीहरुको नाउँमा परमादेश समेत जारी गरिपाउँ भन्ने व्यहोराको परमादेश समेत जारी गरिपाउँ भन्ने व्यहोराको निवेदन ।

            ६. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश जारी किन हुन नपर्ने हो ? लिखित जवाफ विपक्षहरुबाट मगाई आएपछि पेश गर्नु भन्ने व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासबाट मिति २०५६०।३।२२ को आदेश ।

            ७. औद्योगिक ब्यवसाय ऐन अनुसार आयकर छूट सुविधा प्राप्त गर्न निमित्त उद्योग विभागमा दर्ता भएका औद्योगिक प्रतिष्ठान वा कम्पनीहरुले आआफ्नो कारोवार सम्बन्धमा संचालनको अवस्था वित्तिय स्तर समेतको आवश्यक विवरण पेश गरी उद्योग विभागले आयकर छूट दिने मिल्ने नमिल्ने निर्णय गरी सो को जानकारी गराएपछि मात्र छूट दिने विद्यमान व्यवस्था अनुरुप शुरुको ५ वर्षको जस्तो आवश्यक कागजात अतिरिक्त २ वर्षको निमित्त समेत प्राप्त गरे नगरेको जानकारी यस कार्यालयलाई रिट निवेदकले उपलब्ध नगराएको नयाँ कर निर्धारण सम्बन्धमा चित्त नबुझाई पुनरावेदन समेतको निमित्त धरौटी रकम दाखीला गरी सकेकाले प्रस्तुत रिट खारेज हुन अनुरोध छ भन्ने व्यहोराको कर कार्यालय विराटनगर तर्फबाट पेश हुन आएको लिखित जवाफ ।

            ८. यसै निवेदनमा कर कार्यालय विराटनगरले मिति २०५०।६।३ मा दिएको लिखित जवाफमा औद्योगिक व्यवसाय ऐन अनुसार आयकर छूट सुविधा प्राप्त गर्न निमित्त उद्योग विभागमा दर्ता भउको औद्योगिक प्रतिष्ठान वा कम्पनीहरुले आआफ्ना कारोवार सम्बन्धमा संचालनको अवस्था वित्तियस्तर समेतको आवश्यक विवरण पेश गरी उद्योग विभागले आयकर छूट दिन मिल्ने नमिल्ने निर्णय गरी सो को जानकारी गरिएपछि मात्र छूट दिने विद्यमान ब्यवस्था अनुरुप शुरुको ५ वर्षको जस्ता आवश्यक कागजात अतिरिक्त २ वर्षको निमित्त समेत, प्राप्त गरे नगरेको जानकारी तथा कर निर्धारण सम्बन्धमा चित्र बनुझाई पुनरावेदन समेतको निमित्त धरौटी रकम दाखीला गरी सकेको भन्ने कुरा प्रष्ट रुपमा रहेको । कानूनी उपचार पुनरावेदनको निमित्त धरौटी रकम दाखिला गरी सकेपछि कानूनी उपचारको बाटो छँदाछँदै संवैधानिक उपचारको हकमा आएको रिट खारेजभागी छ भन्ने व्यहोराको कर विभागको तर्फबाट पेश भएको लिखित जवाफ ।

            ९.  औद्योगिक व्यवसाय ऐन, ०४९ लागु भए पश्चात उद्योगलाई दिइने सुविधा र सहुलियत सम्बन्धमा सम्पूर्ण निर्णय गर्ने अधिकार उक्त औद्योगिक व्यवसाय ऐन, ०४९ को दफा १८ ले एकद्वारा समितिलाई दिएको छ । सो समितिको निर्णय बमोजिम नै विपक्ष निवेदकलाई सो २ वर्षको थप आयकर छूट सुविधा प्रदान नगरिएको हो । औद्योगिक व्यवसाय ऐन, २०३८ को मूल दफा ९(१) (क)(१) मा उल्लेख भएको तेल शब्दले केबल सर्स्यु, तिल, तोरी, जस्ता तेलहनबाट उत्पादन हुने तेललाई मात्र जनाउने हो । विपक्षको निवेदन अनुसार उक्त तेल शब्दले जुन सुकै प्रकारको तेललाई जानउने गरी ब्यापक ब्याख्या गर्न सकिने मनसाय उक्त दफा ९ को उपखण्ड १ को देखिँदैन । उक्त दफा ९(१)(क) १ को व्याख्याबाट तेहनबाट तेल उत्पादन वा प्रशोधित गर्ने उद्योग र गाई भैसी आदिको दूध घिउ आदि उत्पादन र प्रशोधन गर्ने उद्योगले मात्र सो छूट सुविधा पाउने हुनाले एकथर समितिको निर्णय बमोजिम विपक्ष उद्योगले औद्योगिक व्यवसाय ऐन २०३८ को दफा १०(क)(३) बमोजिम थप, आयकर विपक्ष निवेदकलाई दिएको कुनै हक अधिकारमा आघात पर्ने गरी निर्णय गरिएको नहुँदा रिट निवेदन खारेज गरी पाउँ भन्ने व्यहोराको उद्योग विभागको लिखित जवाफ ।

            १०.  नियमबमोजिम दैनिक कजलिष्टमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक तर्फबाट रहनु भएका विद्वान अधिबक्ता कमल नारायण दासले मेरो पक्षको पशुपति खाद्य तेल उद्योग मिति २०३८।९।५।१ मा उद्योग विभागमा औद्योगिक इजाजत पाई मिति ०३८।१२।१७ गतेका दिन कम्पनी रजिष्टर भई मिति ०४०।२।२३ देखि औद्योगिक उत्पादन प्रारम्भ गरेको हो । औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १० (क) को खण्ड (१) अन्तर्गत मेरो पक्षको उद्योगले ५ वर्षको लागि आयकर छूट सुविधा समेत पाइसकेको छ । मेरो पक्षको उद्योग दर्ता हुँदाको अवस्थामा बहाल रहेको औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा ९ (१)(क) १ अन्तर्गत तेल घिउलाई आवश्यक उपभोग्य बस्तु भनी परिभाषा तथा वर्गिकृत गरेको थियो उक्त ऐनको दफा १०(क)(३) मा आवश्यक उपभोग्य बस्तु उत्पादन गर्ने उद्योगलाई थप २ वर्षको लागि आयकर छूट दिने कानूनी व्यवस्था रहेको छ । निवेदकको उद्योगले तेल घिउ उत्पादन गर्ने उद्योग हुँदा औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा ९ (१) क (१) बमोजिम उद्योग भए पनि तेलहनबाट उत्पादन गर्ने उद्योगलार्य मात्र उक्त थप २ वर्षको आयकर सुविधा दिने हो भनी श्री ५ को सरकार कर विभाग र कर कार्यालयले समेत थप सुविधा दिनुपर्नेमा नदिने गरेको निर्णय मिलेको छैन । औद्योगिक व्यवसाय ऐन २०३८ को दफा १०(क) (३) बमोजिम थप सुविधा नदिने गरी गरेको निर्णय बदर गरी अतिरिक्त आयकर छूट सुविधा पाउनु पर्छ भन्ने बहस प्रस्तुत गर्नु भयो भने श्री ५ का तर्फबाट उपस्थित उप सरकारी अधिबक्ता श्री टीका बहादुर हमालले निवेदकको उद्योग तेहनबाट तेल उत्पादन गर्ने उद्योग होइन । निवेदकको पशुपति खाद्य तेल उद्योगले क्रुड आयललाई प्रशोधन गरी बनस्पति ध्यू र तेल उत्पादन गर्दछ । वनस्पति ध्यू र तेल उत्पादन गर्ने उद्योगले औद्योगिक ब्यवसाय ऐन, २०३८ को दफा १०(क) ३ ले ब्यवस्था गरेको अतिरिक्त आयकर छूट सुविधा पाउने होइन भन्ने बहस प्रस्तुत गर्नुभयो ।

            ११. यसमा माग बमोजिम रिट जारी हुने नहुने के हो त्यसतर्फ विचार गर्दा औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(क) को देहाय ३ बमोजिम अतिरिक्त थप दुई वर्षको लागि आयकर छूट नदिने गरेको मिति ०५०।१।२७ र २०५०।२।१५ को निर्णय बदर गरी पाउँ भनी रिट निवेदन पर्न आएको छ भने निवेदकको उद्योग तेल घिउ उत्पादन गर्ने भए पनि सरस्र्यू, तोरी, तील, जस्तो तेलहनबाट तेल उत्पादन गर्ने उद्योग नभएकोले अतिरिक्त दुई वर्षको लागि आयकर छुट दिन नमिल्ने र एकद्वार समितिले पनि सोही बमोजिम निर्णय गरेकाले उक्त ऐनको १०(क) ३ बमोजिमको सुविधा पाउने होइन भन्ने विपक्षहरुको तर्फबाट पेश भएको लिखित जवाफको मुख्य भनाई रहेको देखिन्छ ।

            १२. निवेदकको पशुपति खाद्य तेल उद्योगले ०३८।९।५ गतेका दिन उद्योग विभागबाट इजाजत प्राप्त गरी ०३८।१२।१७ गतने देखि कम्पनी रजिष्टर भई ०४०।२।३ देखि औद्योगिक उत्पादन शुरु गरेको पाइन्छ । उद्योग स्थापनाको अवस्थाको तत्काल प्रचलित कानूनी व्यवस्था हेर्दा औद्योगिक ब्यवसाय ऐन, २०३८ को दफा ९(१)(क) मा उत्पादनमूलक उद्योगमा कोरा माल वा अर्ध प्रशोधित माल वा उत्पादन वा खेर गइरहेको मालको प्रयोग वा पुनः प्रयोग गरी प्रशोधन वा उत्पादन गर्ने देहायका उद्योगहरु भन्दै देहाय (१) मा आवश्यक उपभोग्य बस्तु उत्पादन गर्ने उद्योग भित्र चामल, दाल, पीठो, तेल, चीनी, खाडसारी, दुध, घीउ, दुग्ध पदार्थ, पाउरोटी, विस्कुट, चिया, कपडा, जुत्ता, चप्पल, सावुन, सलाई, कागज, सीसाकलम, कलम, मसी, स्टेसनरी सामान तथा औषधी उत्पादन गर्ने र कपास जिनीङ र कपास स्पिनिङ्ग उद्योग भन्ने उल्लेख भएको पाइन्छ । सोही ऐनको १०(क) ३ मा उपभोग्य बस्तु उत्पादन गर्ने उद्योगलाई दुई वर्षको निमित्त थप अतिरिक्त आयकर छुट दिने व्यवस्था गरेको देखिन्छ । निवेदकको उद्योगबाट प्रशोधित तेल उत्पादन गरेको र प्रशोधित तेल पनि औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा ९ अन्तर्गत उपभोग्य बस्तु अन्तर्गत परेको देखिन्छ । निवेदकको उद्योगले प्रशोधित तेल उत्पादन गर्ने हुँदा औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(क) ३ बमोजिम २ वर्षको निमित्त थप आयकर छुट दिन मिल्दैन भनी विपक्ष सरकारी अधिबक्ताले आफ्नो बहसमा समेत प्रस्ुत गर्नु भएको छ । दफा ९(१)(क) मा आवश्यक उपभोग्य बस्तुमा प्रशोधन वा उत्पादित दुवै चिजलाई उल्लेख गरी खण्ड (१) मा तेललाई समेत जनाएको देखिन्छ । यस ब्यवस्थाको आधारमा तेल भन्नाले सर्स्यु तोरी वा तीलको गेडाबाट उत्पादन हुने तेल मात्र हो भनी ब्याख्या गर्न मिल्दैन । उक्त कानूनी व्यवस्थानुसार तेल भित्र उतपादन वा प्रशोधन दुवै तरिकाबाट तयार भएको तेललाई मान्नु पर्दछ , दफा ९(१) क मा उपभोग्य बस्तुको रुपमा उल्लेख भएको तेल शब्दले सिड (तेलहन) बाट प्राप्त हुने तेललाई मात्र जनिने हुँदा निवेदकको उद्योग क्रुड आयकल प्रशोधन गरी वनस्पति घिउ तेल उत्पादन गर्ने उद्योग हो तेलहनबाट तेल उत्पादन वा प्रशोधन गर्ने उद्योगले मात्र ऐ ऐनको दफा १०(क) ३ बमोजिम छूट पाउने हो भनी ब्याख्या गर्ने अधिकार एकद्वारा समितिलाई कुनै कानूनले दिएको समेत देखिँदैन । यस्तै प्रश्न समावेश भएको ०५० सालको रिट नं. ३४७२ मा यसै अदालतको संयुक्त इजलासबाट औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा ९(१) क को कानूनी प्रावधानले सर्स्यु, तोरी वा तोरीको गेडाबाट उत्पादन हुने तेल मात्र भन्ने उल्लेख भएको अर्थ गर्नु मिल्दैन भनी ब्याख्या समेत भई सकेको र औद्योगिक व्यवसाय ऐन, ०४९ को दफा २० मा औद्योगिक व्यवसाय ऐन, ०४९ को अन्तर्गत अनुमती प्राप्त गरी वा दर्ता गरी संचालन भएको उद्योगले अवधि किटिएको सुविधा तथा सहुलियतका सम्बन्धमा सोही ऐन बमोजिम र अवधि नकिटिएको सुविधा तथा सहुलियतका सम्बन्धमा यस ऐन बमोजिम पाउने भनेको र निवेदकका उद्योग औद्योगिक ब्यवसाय ऐन, २०३८ बमोजिम अवधि किटिएको सुविधा र सहुलियत पाउने उद्योग भएको र निवेदकको उद्योगले औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(२)(क) अन्तर्गत ५ वर्षको आयकर छुट सुविधा समेत पाइसकेको देखिदा निवेदकको पशुपति खाद्य तेल उद्योग प्रा.लि. लाई औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(क) ३ बमोजिम थप २ वर्ष आयकर छुट नदिने भनी प्रत्यर्थी उद्योग विभागको मिति २०५०।१।२७ र २०५०।२।१५ को निर्णय र २०५०।१।२९ र २०५०।२।१७ को पत्रहरु समेत त्रुटीपूर्ण देखिदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । निवेदकलाई तत्कालीन औद्योगिक ब्यवसाय ऐन, २०३८ को दफा १०(क)३ बमोजिम २ वर्षको थप आयकर छुट दिनु भनी विपक्षीहरुको नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । प्रत्यर्थीहरुको जानकारीको लागि आदेश प्रतिलिपि महान्यायाधीबक्ताको कार्यालय मार्फत पठाई मिसिल नियम बमोजिम गरी बुझाई दिनू ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. पृथ्वी बहादुर सिंह

 

इति सम्बत २०५१ साल पौष १८ गते रोज २ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु