शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८६९१ - जबर्जस्ती करणी

भाग: ५३ साल: २०६८ महिना: पौस अंक:

ने.का.प. २०६८,           अङ्क ९

निर्णय नं. ८६९१

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री अवधेशकुमार यादव

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

संवत् २०६६ CR८६८

फैसला मितिः २०६८।२।४।४

मुद्दाजवर्जस्ती करणी 

 

पुनरावेदक प्रतिवादीः जिल्ला मकवानपुर मन्थली गा.वि.स. वडा नं. २ अम्बाबेसी घर भई      हाल     कारागार कार्यालय शाखा पर्सा वीरगञ्जमा थुनामा रहेका जीवन रिजाल

विरुद्ध

प्रत्यर्थी वादीः क प्रसादको जाहेरीले नेपाल सरकार

 

शुरु फैसला गर्नेः

मा.जि.न्या.श्री बालचन्द्र शर्मा

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री राजेन्द्रप्रसाद राजभण्डारी

मा.न्या.श्री गिरिराज पौडेल

 

§  मुद्दा चलिसकेपछि खडा गर्न सकिने अप्रमाणित र परीक्षण गर्न समेत सम्भव नरहेको लिखतलाई प्रमाणमा लिन नमिल्नाले चिनालाई उमेरसम्बन्धी प्रश्नमा निर्णायक मान्न नसकिँदा त्यसलाई प्रमाणका रुपमा ग्रहण गर्न नसकिने 

(प्रकरण नं.७)

§  चिकित्सकले लेखिदिने उमेरसम्बन्धी प्रतिवेदनलाई विशेषज्ञको रायका रुपमा प्रमाणको वर्गमा राखिन्छ । अनुमानका आधारमा निकालिने निष्कर्षको बैज्ञानिक परीक्षणबाट पुष्टि हुन आवश्यक छ । प्रस्तुत परीक्षण गर्ने चिकित्सकको बकपत्रबाट निजको निष्कर्षमा बैज्ञानिक परीक्षणका आधार देखिँदैनन् । अन्य प्रमाणले देखाइरहेको वस्तुस्थितिप्रतिकूल राय निश्चयात्मक प्रमाण हुन नसक्ने 

(प्रकरण नं.८)

§  विद्यालयमा भर्ना हुँदाका बखत बाबु, आमा वा अभिभावकले उल्लेख गरी दिएको विवरणअनुरूप राखिएको अभिलेखअनुसार नै विद्यालयले खुलाई पठाएको जन्ममितिलाई नै आधार लिनुपर्ने 

§  भविष्यमा यसो पर्ला भनी कल्पना गर्न नसकिने अवस्थामा लेखाइएको जन्ममिति प्रमाणहरूको वर्गमा कसैको उमेर निर्धारण गर्ने सर्वोत्तम प्रमाण हो । कानूनले नै अन्यथा व्यवस्था गरेकोमा बाहेक विद्यालय भर्ना हुने क्रममा लेखाई दिइएको जन्ममितिमा अविश्वास गर्न नसकिने 

(प्रकरण नं.१०)

 

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय गोपालकृष्ण घिमिरे र नवराज उपाध्याय

प्रत्यर्थी वादी तर्फबाटः

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  जवर्जस्ती करणीको १, ३(१), १० नं.

§  बाल न्याय (कार्यविधि) नियमावली, २०६३ को नियम १५

§  बालबालिकासम्बन्धी ऐन, २०४८

 

फैसला

न्या.प्रकाश वस्तीः यसमा यस अदालतबाट मिति २०६४।९।१०।३ (नेकाप २०६४ अङ्क ९ नि.नं. ७८८० पृष्ठ १२०८) मा जारी भएको विशेष प्रकृतिका मुद्दाहरूको कारवाहीमा पक्षहरूको गोपनीयता कायम राख्ने निर्देशिका, २०६४ को दफा ३(१) बमोजिम पीडित र जाहेरवालाको नाम परिवर्तन गरी निजको वास्तविक नाम शिलवन्दी गरी मिसिल सामेल गरिएको छ । सो शिलवन्दी खाम फैसलाको अभिन्न अंग मानी अ.वं. २१ नं. बमोजिम तायदाती फारामको १ नं. कहिल्यै नसडाउने महलमा उल्लेख गरी अभिलेख राख्नू 

पुनरावेदन अदालत, हेटौडाको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ 

मिति २०६४।२।७ गते विहान अं. ८ बजेको समयमा जि. मकवानपुर मन्थली गा.वि.स.वडा नं.२ बस्ने शम्भु रिजालको छोरा बर्ष १७ को जीवन रिजालले मेरी ६ बर्षकी छोरी माया (परिवर्तित नाम) लाई ललाई फुलाई बलात्कार गरेकोले निजलाई आवश्यक कारवाहीको लागि पेश गरेको छु भन्ने समेतको क प्रसादको इलाका प्रहरी कार्यालय, ठिंगनमा दिएको निवेदन 

पीडित             मायाको योनी दुखेको, सुनिएको, रातोपन भई आएको, निजको योनी (Libia Minora) च्यातिएको देखिएको भन्ने समेत व्यहोराको ठिंगन हेल्थपोष्टको विरामी जाँच पूर्जा 

जि. मकवानपुर, मन्थली गा.वि.स.वडा नं.२ बस्ने शम्भु रिजालको बर्ष १७ को छोरो जीवन रिजालले मिति २०६४।२।७ गते बिहान अं.८:०० बजेको समयमा ऐ. बस्ने क प्रसादको बर्ष ६ की छोरी माया पढ्न गएको अवस्थामा फकाई फुलाई गरी जवर्जस्ती करणी गरी योनी समेत फाटेको हुँदा निज जीवन रिजाललाई कारवाही गरिपाऊँ भन्ने क प्रसादको निवेदन परेको हुँदा आवश्यक कारवाहीको लागि प्रतिवादी जीवन रिजाल र पीडित मायालाई पठाइएको छ भन्ने व्यहोराको ईलाका प्रहरी कार्यालय ठिंगनको पत्र 

मिति २०६४।२।७ गते बिहान अं. ५:३० बजेको समयमा मेरी ६ बर्षकी छोरी माया पढ्न गएको अवस्थामा सोही दिनको ८:०० बजेको समयमा अभियुक्त जीवन रिजालले आफ्नै घरको चोटामा लगी छोरीलाई जवर्जस्ती करणी गरेकाले कानूनबमोजिम कारवाही गरिपाऊँ भने समेत व्यहोराको क प्रसादको जाहेरी दरखास्त 

जि.मकवानपुर मन्थली गा.वि.स. वडा नं.२ स्थित प्रतिवादी जीवन रिजालले आफ्नै घरको माथिल्लो चोटामा लगी मिति २०६४।२।७ गते बिहान अं. ८:०० बजेको समयमा पीडित मायालाई जवर्जस्ती करणी गरेको भन्ने देखाइएको घरको चारकिल्लासहितको विवरण 

बिहानपख म र मेरो दाई अनील घिमिरेसँगै स्कूलमा पढ्न गएको बेलामा स्कूलकै कम्पाउण्डमा खेलिरहेको अवस्थामा जीवन रिजालले हामीलाई चकलेट खुवाउँछु भनी चोटामा लगी दाई अनीललाई बाहिर निकाली मलाई कोठामा राखी खाटमा सुताई मेरो पिसाब गर्ने ठाउँमा मामा जीवनले आफ्नो पिसाब गर्ने कुरा जोडी भित्र धकेली दुखाई दिनुभयो र मैले रुँदा मामाले छाडी दिनुभयो सो कुरा घरमा आई आमालाई भनी दिएको हुँ भन्ने समेत व्यहोराको पीडित मायाले गरी दिएको घटना विवरण कागज 

पीडित मायाको योनीको बाहिरपट्टि रातो डाम देखिएको भन्ने समेत व्यहोराको हेटौडा अस्पतालको रिपोर्ट 

मिति २०६४।२।७ गते विहान अं. ८ बजेको समयमा भान्जी माया र भान्जा अनील घिमिरे स्कूलको कम्पाउडमा खेलिरहेको अवस्थामा निजहरूलाई चकलेट दिने बहाना बनाई चोटामा बोलाई भान्जीलाई काखमा लिई गालामा किस खान थाले र ओठ समेत चुस्ता यौन उत्तेजना आयो । करणी गर्न मन लाग्यो । अनीललाई कपडा सिलाउने मेसिन भएको ठाउँमा बसाई सोही कोठाको पूर्वपट्टितर्फ कुनामा विस्तरासहितको खाटमा भान्जी मायालाई सुताई माथिबाट चढी मेरो लिङ्ग भान्जीको योनीमा घुसाई भित्र छिराउँदा भान्जीले रुन लाग्दा निजको मुख थुनी केहीमात्र छिराउँदा योनी च्यातिँदा रगत आएकाले छाडी दिई भान्जा भान्जीहरूलाई घरतर्फ पठाई म डरले भागी ललितपुर गई बसें । ऐ. १५ गते घरमा आउँदा ऐ. १७ गते जाहेरवालाले पक्राउ गरी निवेदनसहित ईलाका प्रहरी कार्यालय ठिंगनमा बुझाई दिएको हो भन्ने समेत व्यहोराको प्रतिवादी जीवन रिजालले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान 

मिति २०६४।२।७ गते बिहानपख मेरो छोरी माया र देवरका छोरा अनील घिमिरे स्कूलमा पढ्न गएको बेलामा निजहरू स्कूलको कम्पाउण्डमा खेली रहेको बेला प्रतिवादी जीवन रिजालले चकलेट दिने बहाना बनाई आफ्नो घरको चोटामा लगी अनील घिमिरेलाई बाहिर निकाली छोरी मायालाई चोटामा खाटमा सुताई जवर्जस्ती करणी गरी योनी समेत च्याती रगताम्य समेत बनाइएको कुरा निज छोरीबाट थाहा पाएको र निज प्रतिवादी जीवनलाई खोजतलास गर्दा काठमाडौंतर्फ भागी गएको भनी बुझिएको, गाउँलेहरूको सल्लाहअनुसार ईलाका प्रहरी कार्यालय ठिंगनमा निवेदन दिई मेरो पतिले ठिंगन हेल्थपोष्टबाट शारीरिक जाँच समेत गराई निज प्रतिवादीलाई पक्राउ समेत गरी जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा आवश्यक कारवाहीको लागि जाहेरी समेत दिनु भएको हो भन्ने समेत व्यहोराको पीडित मायाकी आमा ख कुमारीले गरी दिएको घटना विवरण कागज 

मलाई मिति थाहा छैन म र बहिनी माया बिहानपख स्कूलमा पढ्न गएको बेला कम्पाउण्डमा खेलिरहेको अवस्थामा मामा जीवन रिजाल आई तिमीहरू चोटामा हिंड चकलेट दिन्छु भनी लग्नुभयो । गएपछि मामा जीवनले बहिनी मायालाई काखमा लिई किस खान थाल्नु भयो, मलाई बाहिर निकाली दिई बहिनीमाथि चढी रहनु भएको थियो, बहिनी र मामा बाहिर निस्कनुभयो, बहिनी र म आफ्नो घरमा आई भोलिपल्ट ठूली आमालाई मामा जीवनले बहिनी मायामाथि चढेको कुरा भनी दिएको हुँ भन्ने समेत व्यहोराको अनील घिमिरेको घटना विवरण कागज 

मिति २०६४।२।७ गते बिहान अं. ८:०० बजेको समयमा जाहेरवाला क प्रसादको ६ बर्षकी छोरी माया स्कूलमा पढ्न गएको बेलामा प्रतिवादी जीवन रिजालले आफ्नो चोटामा लगी जवर्जस्ती करणी गरी गुप्ताङ्ग समेत च्याती दिएको कुरा सुनी थाहा पाएको हुँ भन्ने समेत करीव करीव एकै मिलान व्यहोराको सन्तबहादुर थोकर, भरत सापकोटा, टेकबहादुर दाहाल, सुनील नेगी, ईन्द्रप्रसाद दाहाल, सुनामसिँह भोलन र राष्ट्रपति तिमिल्सिनाले गरी दिएको घटना विवरण कागज 

शम्भुबहादुर रिजालको छोरा जीवन रिजालको जन्म विद्यालय अभिलेखअनुसार २०४८।१।२० गते भएको भन्ने व्यहोराको श्री भुटनदेवी उच्च माध्यमिक विद्यालयको पत्र च.नं. १०४ मिति २०६४।२।२० को जन्ममिति प्रमाणित गरिएको पत्र 

शम्भुबहादुर रिजालको छोरा जीवन रिजालको जन्म विद्यालय अभिलेखअनुसार २०४८।१।२० गते भएको भन्ने व्यहोराको श्री विद्याश्वरी माध्यमिक विद्यालयको मिति २०६४।३।३ को पत्र 

प्रतिवादी जीवन रिजालले बर्ष ६ की नावालिका मायालाई चकलेट दिन्छु भनी फकाई घरको कोठामा लगी योनीमा लिङ्ग जोडी केही प्रवेश समेत गराई जवर्जस्ती करणी गरी मुलुकी ऐन, जवर्जस्ती करणीको महलको १ नं. बमोजिमको कसूर अपराध गरेकोले प्रतिवादीउपर ऐ. महलको, ३(१) नं. बमोजिम सजाय गरी ऐ. महलको १० नं. बमोजिम प्रतिवादीबाट पीडितलाई क्षतिपूर्ति समेत दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको अभियोगपत्र 

मेरो उमेर १५ बर्ष मात्र हो । मिति २०६४।२।७ गते मायासँग देखभेट भएको छैन । मिति २०६४।२।८ गते काठमाडौं गई १२ गते बेलुका घरमा आई १३ गतेदेखि १७ गतेसम्म स्कूल जाने आउने गरिरहेको थिएँ । सो कुरा स्कूलबाट रेकर्ड झिकाई हेरे पनि हुन्छ । एक्कासी मलाई ७ गते मैले मायालाई करणी गरेको भनी पक्राउ गरेका हुन् । मैले करणी गरेको होइन, बाबु बाबु वीचको झगडाको विषयलाई लिएर फसाउनको लागि मउपर झूठ्ठा उजूर गरेका हुन् । मैले निज मायालार्ई करणी गरेको नहुँदा दावीबमोजिम सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी जीवन रिजालले शुरु अदालतमा गरेको बयान 

शुरु अदालतमा पिता क प्रसादको रोहवरमा पीडितले गरेको बकपत्र, जाहेरवाला लगायत घटनास्थल प्रकृति मुचुल्काका मानिसहरू चन्द्रलाल थिङ्ग, भीमबहादुर घिमिरे, मौकामा प्रहरीमा कागज गर्ने राष्ट्रपति तिमिल्सिना, अनील घिमिरे, पीडितको शरिर जाँच गर्ने चिकित्सक डा.गुणराज लोहनी, स्वास्थ्य परीक्षण गर्ने हेल्थ असिष्टेन्ट नगेन्द्रप्रसाद पटेल, प्रहरीमा कागज गर्ने सन्तबहादुर थोकर, पीडितकी आमा ख कुमारी, टेकबहादुर दाहाल, सुनील नेगी, भरत सापकोटा, ईन्द्रप्रसाद दाहाल, ईन्द्रबहादुर वि.क., चेतबहादुर रिजालले गरेको पृथक पृथक बकपत्र मिसिल संलग्न रहेको 

यसमा मिसिल संलग्न प्रमाणहरूबाट प्रतिवादीले आरोपित कसूर गरको देखिँदा प्रतिवादीलाई अभियोग माग दावीबमोजिम जवर्जस्ती करणीको ३(१) नं. ले कैद बर्ष १० हुने ठहर्छ । जवर्जस्ती करणीको १० नं. बमोजिम क्षतिपूर्तितर्फ पीडितलाई जवर्जस्ती करणी गरेको ठहर भएकाले प्रतिवादीको अंशभाग रोक्का राखी सोबाट आधी अंश क्षतिपूर्ति बापत यो फैसला अन्तिम भएको मितिले ३ महिनाभित्र पीडितलाई दिलाई दिने ठहर्छ भन्ने मकवानपुर जिल्ला अदालतको मिति २०६६।२।४ को फैसला 

शुरु फैसलामा मेरो चित्त बुझेन, कथित जाहेरी दरखास्त, पीडितको मिति २०६४।२।१९ गतेको अधिकारप्राप्त अधिकारीसमक्ष भएको कागज, पीडितको आमाको कागज र अभियोग खण्डमा समेत पीडित र अनील घिमिरे साथमा थिए भन्ने उल्लेख भएकोमा अनीलको भनाईलाई प्रमाणमा लिइएको छैन । जाहेरवालाको जाहेरी र मिसिल संलग्न मेराविरुद्धको कागज अन्यथा प्रमाणित भएको छ । अनुसन्धानमा प्रहरीले यातना दिई बयानमा सहीछाप गराएका हुन् भनी अदालतमा बयान गरेको छु । यसरी जवर्जस्ती गराएको बयानलाई प्रमाणमा लिन मिल्दैन । पीडितको शारीरिक परीक्षण गर्ने डा. गुणराज लोहनीले बकपत्र गर्दा पीडितको योनीको भित्री र बाहिरी भाग सामान्य रहेको भनी भनेबाट पनि म निर्दोष भएको प्रमाणित हुँदाहुँदै अभियोग दावीबमोजिम सजाय गर्ने गरेको शुरु फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीले पुनरावेदन अदालत, हेटौडामा दायर गरेको पुनरावेदन पत्र 

यसमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको मिति २०६४।२।१९ गतेको पत्रानुसार पुनरावेदक प्रतिवादीको उमेर १४ देखि १५ बर्षको देखिएको भनी उल्लेख भएको अवस्थामा निजलाई दावीबमोजिम सजाय गरेको शुरु ईन्साफ प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा छलफलको लागि पुनरावेदन सरकारी वकीलको कार्यालयलाई पेसीको जानकारी दिई पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश 

प्रतिवादीलाई अभियोग माग दावीबमोजिम जवर्जस्ती करणीको ३(१) नं. ले कैद बर्ष १० हुने ठहराई जवर्जस्ती करणीको १० नं. बमोजिम प्रतिवादीको अंशभाग रोक्का राखी सोबाट क्षतिपूर्ति बापत आधी अंश पीडितलाई दिलाई दिने गरी शुरु मकवानपुर जिल्ला अदालतबाट मिति २०६६।२।४ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६६।११।१८ को फैसला 

म प्रतिवादी पुनरावेदकले शुरु मकवानपुर जिल्ला अदालतसमक्ष बयान गर्ने क्रममा उमेर सम्बन्धी सोधिएको प्रश्नको जवाफमा स्पष्ट रुपमा आफ्नो भएको उमेर १५ बर्ष उल्लेख गरी जन्ममिति २०४९।१।१२ गते भनी लेखाएको छु । मेरो उमेरको विषयमा यकीन गर्न सक्ने आमा बुबाले म सानै छँदा जन्म कुण्डलीको रुपमा बनाइएको चिन्हमा समेत मेरो जन्म २०४९।१।१२ गते नै रहेको छ । मेरो उमेरको विषयमा यकीन गरी मात्र मुद्दा चलाउनु पर्नेमा मैले अध्ययन गरेको बिद्यालयहरूबाट मेरो जन्ममिति २०४८।१।२० गते भएको भनी लेखिआएको भन्ने मात्र आधारमा उमेर जस्तो सम्बेदनशील कुराको निराकरण गर्न मिल्ने होइन । अधिकारप्राप्त अधिकारीसमक्ष मलाई पढी नसुनाई मेरो ईच्छाविपरीत जवर्जस्ती गरी सहीछाप गराइएको बयान प्रमाण ऐन, २०३१ को ९(२) (ख) विपरीत रहेको हुँदाहुँदै सो बयानलाई मात्र मेरा विरुद्ध प्रमाणको रुपमा ग्रहण गरी, विशेषज्ञले दिएको राय र मैले प्रमाणको रुपमा पेश गरेको जन्म कुण्डली समेतको ठाडै उपेक्षा गरी मलाई १६ बर्ष उमेर पुगेको भनी १० बर्ष कैद सजाय र पीडितलाई आधा अंश समेत भराई दिने ठहराएको शुरु मकवानपुर जिल्ला अदालतले गरेको त्रुटिपूर्ण फैसलालाई नै सदर कायम गरेकोले पुनरावेदन अदालत, हेटौडाबाट भएको मिति २०६६।११।१८ को फैसला मुलुकी ऐन अ.वं. १८४(क) र अ.बं. १८५ नं. विपरीत हुँदा सो फैसला बदर गरी पुनरावेदन जिकीरअनुरूप सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र 

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय गोपालकृष्ण घिमिरे र नवराज उपाध्यायले हाम्रो पक्ष प्रतिवादी १६ बर्ष पूरा नभएको नाबालक हो भन्ने कुरा अदालतसमक्षको बयानमा उल्लेख गरी पेश गरेको जन्मपत्रिका (चिना टिप्पणी) बाट देखिई रहेको र पक्षको उमेर जाँच प्रतिवेदनबाट पनि १६ बर्ष नपुगेकोमा सो कुरालाई आधारमा नलिई शुरु फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण रहेको छ । मेरो पक्षले अदालतमा बयान गर्दा आरोपित कसूरमा इन्कार रही गरेको बयान साक्षीहरूको बकपत्रबाट समेत समर्थित भएको र पीडितको योनीमा देखा परेको केही खत चिन्हहरू करणीकै कारणबाट भएको भन्ने कुरा प्रमाणित हुन नसकी अभियोजक पक्षले आरोपित कसूर ठोस र शंकारहित तवरले पुष्टि गराउन नसकेको स्थिति हुँदा नाबालक अवस्थामा प्रतिवादीलाई आरोपित कसूर ठहर गरी सजाय गरेको पुनरावेदन अदालतको फैसला उल्टी भै प्रतिवादीले सफाइ पाउनु पर्दछ भनी बहस प्रस्तुत गर्नुभयो 

विद्वान अधिवक्ताहरूको उपर्युक्त बहस समेत सुनी पुनरावेदनसहितको मिसिल अध्ययन गरी हेर्दा प्रतिवादी जीवन रिजालले ६ बर्षीया पीडितलाई मिति २०६४।२।७ गते जवर्जस्ती करणी गरेको भनी मिति २०६४।२।१९ मा जाहेरवाला क प्रसादको जाहेरी परी उठान भएको प्रस्तुत मुद्दामा निज प्रतिवादीउपर जवर्जस्ती करणीको १ नं. बमोजिम सजाय गरी ऐ. १० नं. बमोजिम पीडितलाई क्षतिपूर्ति समेत दिलाई भराई पाऊँ भन्ने वादी नेपाल सरकारको तर्फबाट शुरु मकवानपुर जिल्ला अदालतमा अभियोगपत्र दायर भएको देखिन्छ । शुरु अदालतले प्रतिवादीले आरोपित कसूर गरेको देखिँदा अभियोग माग दावीबमोजिम जवर्जस्ती करणीको ३ (१) नं. ले कैद बर्ष । १० हुने ठहर्‍याई ऐ. १० नं. बमोजिम पीडितलाई क्षतिपूर्ति समेत भराई दिने गरी गरेको फैसलालाई प्रतिवादीको तर्फबाट पुनरावेदन परेकोमा सदर हुने ठहर्‍याएको पुनरावेदन अदालत, हेटौँडाको मिति २०६६।११।१८ को फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतसमक्ष पुनरावेदन परी निर्णयार्थ यस अदालतसमक्ष पेश हुन आएको देखिदा प्रस्तुत मुद्दामा मूलतः निम्न प्रश्नहरूमा विचार गरी पुनरावेदन अदालत, हेटौँडाको उक्त फैसला मिलेको छ छैन ? पुनरावेदन जिकीर पुग्न सक्छ सक्दैन भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने हुन आयो :

क) यी पुनरावेदक प्रतिवादीले पीडितलाई जवर्जस्ती करणीको आरोपित कसूर गरेका हुन होइनन् ?

ख) जवर्जस्ती करणीको कसूर गरेको भए सो अवस्थामा यी प्रतिवादीको उमेर १६ बर्ष पुगिसकेको थियो थिएन ?

 

२. प्रथम प्रश्नतर्फ विचार गर्दा यी पुनरावेदन प्रतिवादीउपर मिति २०६४।२।७ गते विहान अं. ८:०० बजेको समयमा आफ्नै घरको चोटामा लगी ६ बर्षीया पीडितलाई जवर्जस्ती करणी गरेकाले कानूनबमोजिम कारवाही गरिपाऊँ भनी परेको जाहेरीबाट प्रस्तुत मुद्दाको अनुसन्धान प्रारम्भ भएको देखिन्छ । पीडितले अनुसन्धान अधिकारीसमक्ष कागज गदार्, “मेरो पिसाब गर्ने ठाउँमा मामाले आफ्नो पिसाब गर्ने कुरा जोडी भित्र धकेली दुखाई दिनुभयोभनी लेखाई दिएको पाइन्छ भने अदालतमा बकपत्र गर्दा समेत मौकाको कागज समर्थन हुने गरी बकपत्र गरेको पाइयो । पीडितको मिति २०६४।२।१८ मा भएको स्वास्थ्य परीक्षण रिपोर्टमा, “Libia Minora raptureभएको भन्ने समेत उल्लेख भएको देखिन्छ भने यी पुनरावेदक प्रतिवादी स्वयं अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा पीडितलाई जवर्जस्ती करणी गरेकोमा सावित रहेको पाइन्छ 

३. सर्वप्रथम, करणीलाई पुष्टि गर्ने चिन्हहरू नदेखिएको भन्ने निजका विद्वान कानून व्यवसायीहरूको कथनतर्फ विचार गर्दा २०६४।२।७ को वारदातका सन्दर्भमा २०६४।२।१८ मा भएको परीक्षणमा वीर्य फेला परेन पीडितको योनीमा रगत फेला परेन भन्ने जस्ता जिकीरलाई तर्कसंगत मान्न मिल्दैन । वारदात ग्रामिण भेगको जनचेतनाको न्यूनस्तर रहेको क्षेत्रमा भएको वस्तुस्थिति पनि न्यायको रोहमा विचारणीय छ । प्रमाणको मूल्याङ्कन यान्त्रिक तवरले हुने नभई स्वाभाविकता र मानवीय संवेदनाका आधारमा हुने कुरा हो । छोरीको योनीको रगत, वीर्य तथा कपडा आदि जोगाएर परीक्षण गराइएन भन्दैमा अन्य स्वतन्त्र तथ्य प्रमाणले करणी भएको स्थापित भइरहेको अवस्थामा यो कसूर कोबाट भयो भन्ने पक्षमा नै प्रमाणहरूको मूल्याङ्कन गर्नु न्यायोचित हुन्छ । ६ बर्षीया नावालिका विरुद्ध यो अपराध भएबाट यो जवर्जस्ती करणी हो भन्ने कुरामा पनी कुनै दुविधा छैन । अपराध कोबाट भए भन्ने सन्दर्भमा जाहेरी दरखास्तमा उल्लिखित तथ्यहरूको विवेचना सवै भन्दा पहिले हुन आवश्यक छ 

४. यी पुनरावेदक प्रतिवादीले आफूउपरको जाहेरी व्यहोरा झुठ्ठा हो भन्ने जिकीर लिएको भए तापनि सोको पुष्ट्याई हुने भरपर्दो र तर्कसँगत तथ्य र प्रमाण मिसिलमा पाँइदैन भने अर्कोतर्फ प्रतिवादीउपरको किटानी जाहेरीलाई पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, वस्तुस्थिति मुचुल्का, पीडितको नाबालिग दाईको कागजलगायतका मिसिल संलग्न कागजात एवं पीडित र पीडितकी आमाले अदालतसमक्ष उपस्थित भै गरेका बकपत्रले पुष्टि गरिरहेको पाइन्छ । आफ्नो परिवारसँग रिसईवी रहेको कारण झूट्टा जाहेरी दिएका हुन् भन्ने समेत यी प्रतिवादीको पुनरावेदन जिकीर रहे पनि निजको परिवारसँग जाहेरवालाको के, कुन र कस्तो रिसइवी झगडा रहेको हो भन्ने कुरा प्रतिवादीले स्पष्टसँग उल्लेख गरी सबूद प्रमाणसमेतबाट पुष्ट्याई गराउन सकेको पाइएन । पीडित ६ बर्षकी छोरीको बाल्यावस्था, नारी अस्मिता र भविष्य नै कलंकित हुने गरी पीडितका बाबुले प्रतिवादीउपर मिथ्या आरोप दोषारोपण गरे होलान भन्न र मान्न पत्यारलायक कारण र अवस्था नहुँदासम्म कुनै पनि किसिमले तर्कसंगत देखिन आउदैन 

५. यी प्रतिवादीको मौकाको बयानलाई पीडितको कागज, पीडितको आमाको ठाडो कागज, वस्तुस्थिति मुचुल्का, पीडितको शरीर परीक्षण प्रतिवेदन समेतले समर्थित भै वादी पक्षका साक्षीहरूको अदालतमा भएको बकपत्रबाट थप पुष्टि भैरहेको अवस्थामा प्रतिवादीको अनुसन्धान अधिकारीसमक्षको साविती बयानलाई निजको जिकीरअनुरूप डर, त्रास र करकापमा पारी बलपूर्वक गराइएको साविती हो भन्न मिल्ने समेत देखिँदैन । निजको सो बयान समेत प्रमाणयोग्य नै देखिई उल्लिखित आधार र कारणबाट यी पुनरावेदक प्रतिवादीले पीडितलाई जवर्जस्ती करणी गरेको सिद्ध हुन आयो 

६. अब दोस्रो विचारणीय प्रश्नका रुपमा रहेको प्रतिवादीको उमेरका सम्बन्धमा विवेचना हुनु आवश्यक छ । कारण प्रतिवादी बालवालिकासम्बन्धी ऐनले सुविधा पाउने वर्गमा पर्ने रहेछन् भने यो कानूनले नै प्रदान गरेको सुविधा निजले पाउनु नै पर्ने हुन्छ 

७. यी प्रतिवादीले आफ्नो उमेर निर्धारण गर्ने क्रममा शुरु र पुनरावेदन अदालतले लिएको आधार समेत कानूनसम्मत् नरहेको भन्ने जिकीर लिई निजद्वारा पेश भएको जन्मपत्रिका (चिना टिप्पणी) तथा चिकित्सकले खुलाई दिएको उमेरलाई आधार मानी सोको आधारमा वारदात भएको भनिएको अवस्थामा आफ्नो उमेर १५ बर्ष कायम गरिनुपर्छ भन्ने समेत निजको जिकीर रहेको छ । सर्वप्रथम यी प्रतिवादीलाई बर्ष १७ को भनी जाहेरीमा उल्लेख भए पनि प्रतिवादी स्वयंले अनुसन्धानका क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा आफ्नो उमेर १६ बर्ष भएको भनी उल्लेख गरेको पाइन्छ । अनुसन्धानको क्रममा प्रतिवादीले अध्ययन गरेको स्कूलहरू भुटनदेवी उच्चमाध्यमिक र विद्याश्वरी मा.वि.बाट प्राप्त पत्रबाट निजको व्यक्तिगत विवरणपत्रहरूमा उल्लेख भएअनुसार प्रतिवादीको जन्ममिति २०४८।१।२० गते भन्ने देखिएको छ । अनुसन्धानकै क्रममा प्रतिवादीको उमेर चिकित्सकलाई जाँच्न पठाउँदा निजको उमेर १४/१५ बर्ष भनी लेखिआएको पाइन्छ । प्रतिवादीले अदालतमा बयान गर्दा पेश गरेको चिनामा निजको जन्ममिति २०४९।१।१२ उल्लेख भएको पाइन्छ । यसरी प्रतिवादीको उमेर सम्बन्धमा भिन्न भिन्न तथ्य प्रस्तुत गर्ने कागजात मिसिल संलग्न रहेकोले कुन प्रमाणलाई के आधारमा विश्वास गर्ने अर्को विचारणीय प्रश्न हो । प्रतिवादीको जिकीर अनूरुप निजबाट पेश भएको चिना र सोअनुसार हुन आउने उमेर सम्बन्धमा यी प्रतिवादीले मौकामा जिकीर लिई सो चिना पेश गर्न सकेको पाइंदैन । पेश गरिएको चिनाको समग्र अध्ययन गर्दा सो चिना बनाउने व्यक्तिको नाम नामेसीका साथै सो चिना खडा गरिएको मिति समेत कहीँ कतैबाट खुल्न आउँदैन । सो चिनाको स्वरुपबाटै जो कोही तत्सम्बन्धी ज्ञान भएको व्यक्तिबाट आग्रहका भरमा जहिलेसुकै बनाउन सकिने प्रकृतिको देखिएको छ । मुद्दा चलिसकेपछि खडा गर्न सकिने अप्रमाणित र परीक्षण गर्न समेत सम्भव नरहेको लिखतलाई प्रमाणमा लिन मिल्दैन तसर्थ सो चिनालाई प्रतिवादीको उमेरसम्बन्धी प्रश्नमा निर्णायक मान्न नसकिँदा त्यसलाई प्रमाणका रुपमा ग्रहण गर्न सकिने देखिँदैन 

८. चिकित्सकले लेखिदिने उमेर सम्बन्धी प्रतिवेदनलाई विशेषज्ञको रायका रुपमा प्रमाणको वर्गमा राखिन्छ । अनुमानका आधारमा निकालिने निष्कर्षको बैज्ञानिक परीक्षणबाट पुष्टि हुन आवश्यक छ । प्रस्तुत परीक्षण गर्ने चिकित्सकको बकपत्रबाट निजको निष्कर्षमा बैज्ञानिक परीक्षणका आधार देखिँदैनन् । अन्य प्रमाणले देखाइरहेको वस्तुस्थितिप्रतिकूल राय निश्चयात्मक प्रमाण हुन सक्दैन 

९. बाल न्याय (कार्यविधि) नियमावली, २०६३ को नियम १५ ले बालकको उमेरसम्बन्धी विवाद भएमा बाल अदालत वा बाल इजलासले निम्न कागजातको आधारमा बालकको उमेर निर्धारण गर्नुपर्नेछ भनी उमेर निर्धारणसम्बन्धी कानूनी व्यवस्था गरेको पाइन्छ । सो कानूनको अध्ययन गर्दा उमेरका सम्बन्धमा ’ ‘’ ‘’ ‘गरी चार विकल्प उल्लेख गरी प्राथमिकता क्रमलाई व्यवस्थित गरेको पाइन्छ । जसअनुसारः

(क) अस्पतालबाट जारी गरिएको बालकको जन्म प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति,

(ख) खण्ड बमोजिम प्रमाणपत्र नभएमा स्थानीय पञ्जिकारीबाट जारी भएको जन्मदर्ता प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति,

(ग) खण्ड बमोजिमको प्रमाणपत्र नभएमा विद्यालय चारित्रिक प्रमाणपत्रमा उल्लिखित जन्ममिति वा विद्यालय भर्ना हुँदाको बखत उल्लेख गरेको जन्ममिति,

(घ) खण्ड बमोजिमको प्रमाणपत्र नभएमा सरकारी अस्पतालबाट प्रमाणित उमेर

 

१०. यसरी उल्लिखित व्यवस्थाको प्राथमिकता क्रमअनुसार प्रस्तुत मुद्दामा खण्ड र खण्ड अनुरूपको प्रमाणपत्रको विद्यमानताको अभावमा खण्ड अनुरूपको प्रतिवादी स्वयं अध्ययनरत् विद्यालयमा प्रतिवादी भर्ना हुँदाका बखत निजका बाबु, आमा वा अभिभावकले उल्लेख गरी दिएको विवरणअनुरूप राखिएको अभिलेख अनुसार नै २/२ वटा विद्यालयले खुलाई पठाएको जन्ममितिलाई नै आधार लिनुपर्ने हुन्छ । भविष्यमा यसो पर्ला भनी कल्पना गर्न नसकिने अवस्थामा लेखाइएको जन्ममिति प्रमाणहरूको वर्गमा कसैको उमेर निर्धारण गर्ने सर्वोत्तम प्रमाण हो । कानूनले नै अन्यथा व्यवस्था गरेकोमा बाहेक विद्यालय भर्ना हुने क्रममा लेखाई दिइएको जन्ममितिमा अविश्वास गर्न सकिन्न । दुई दुईवटा विद्यालयबाट प्रतिवादीको जन्ममिति २०४८।१।२० भनी लेखिआएको भई बारदात मिति २०६४।२।७ सम्मको अवधि गणना गर्दा निजको उमेर १६।०।१७ अर्थात १६ बर्ष १७ दिन हुन पुग्दा निजले १६ बर्ष पूरा गरिसकेको मान्नुपर्ने हुन्छ । यसरी शुरु र पुनरावेदन अदालतबाट प्रतिवादीको उमेर निर्धारण गर्दा लिएको आधारलाई अन्यथा भन्न र प्रतिवादीको उमेर १६ बर्ष पूरा नभएको भन्ने पुनरावेदकका कानून व्यवसायीको बहस जिकीरसँग सहमत हुन सकिएन 

 

१. अतः उपरोक्त उल्लिखित आधार, कारण र प्रमाणबाट यी पुनरावेदक प्रतिवादीले पीडित नाबालिग माया (नाम परिवर्तित) लाई जवर्जस्ती करणी गरेको पुष्टि हुन आएको र सोको घटना वारदात हुँदाका अवस्था प्रतिवादीको उमेर १६ बर्ष पूरा भइसकेको देखिएकोले निजको हकमा बालबालिकासम्बन्धि ऐन, २०४८ आकृष्ट हुन नसक्ने समेत अवस्था हुँदा यी प्रतिवादीलाई अभियोग माग दावीबमोजिम जवर्जस्ती करणीको ३(१) नं. ले कैद बर्ष १० हुने ठहराई जवर्जस्ती करणीको १० नं. बमोजिम प्रतिवादीको अंशभाग रोक्का राखी सोबाट क्षतिपूर्तिबापत आधी अंश पीडितलाई दिलाई दिने गरी शुरु मकवानपुर जिल्ला अदालतबाट मिति २०६६।२।४ मा भएको फैसला सदर गरेको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६६।११।१८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू 

 

उक्त रायमा म सहमत छु 

 

न्या.अवधेशकुमार यादव

 

इति संवत् २०६८ साल जेठ महिना ४ गते रोज ४ शुभम्

 

इजलास अधिकृतःहरिराज कार्की

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु