निर्णय नं. ४९०७ - नाउँ सारी गरी पाउँ ।
निर्णय नं. ४९०७ २०५१, ने.का.प. अङ्क ५
पूर्ण इजलास
माननीय न्यायाधीश श्री ओम भक्त श्रेष्ठ
माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
२०४७ सालको दे.पु.इ.नं.– ७८
फैसला मितिः २०५१।३।२।५ मा
मुद्दाः नाउँ सारी गरी पाउँ ।
निवेदक/बादीः का.जि. का.न.पा. वडा नं. १२ हाल २१ ब्रम्हटोल बस्ने सरस्वती चुडामणी बज्राचार्यको मु.स. गर्ने ऐ की पत्नी पद्म कुमारी बज्राचार्य ।
ऐ. ऐ. बस्ने आशाकाजी बज्राचार्य ।
ऐ. ऐ. बस्ने श्याम चुडामणीको मु.स. गर्ने नानी मैयाँ बज्राचार्य ।
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ. ऐ. बस्ने मुनिन्द्र चुडामणी बज्राचार्य
§ बादी प्रतिवादी अंसी अंसी भएकोलमा बिवादा देखिँदैन । एकाको जग्गा उनाउ ब्यक्तिले दर्ता गराएको नभै एक अंसियारको नाउँमा दर्ता भएको जग्गा अर्को अंसियारले आफ्नो समेत नाउँमा नामसारी गरि पाउन दावी लिएकोले हदम्याद नाघेको भन्न नमिल्ने ।
(प्र. नं. १४)
§ अंसियारहरु बीच बण्डा नछुट्याई रही आएको जग्गा अंसियार मध्ये कस्ले आफ्नो नाउँमा दर्ता गराएको कारणबाट मात्रै अरु अंशियारहरुको हक जान सक्ने स्थिति नदेखिने ।
(प्र. नं. १४)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री मुकुन्द रेग्मी
विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री अनुप राज शर्मा
अवलम्बित नजीर : ह
फैसला
न्या. ओमभक्त श्रेष्ठ : नेपालको संविधान, २०१९ को धारा ७२ (ख) बमोजिम दोहर्याई हेरी दिनु भनी श्री ५ महाराजाधिराज सरकारबाट हु. प्र. बक्स भई पूर्ण इजलासको लगतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त ब्यहोरा यस प्रकार छ :
२. कुलमानको तीन स्वास्नीमा जेठी हर्मजु निज तर्फका इन्द्र चुडामणी, ब्रम्ह चुडामणी, माहिली विपक्षीका बाबु हेम चुडामणीकी आमा विद्या, कान्छी जगतमाया निज तर्फ प्रेमबज्र समेत पाँच छोराहरु भएको कुलमानको परलोक पछि कान्छी स्वास्नी जगतमाया र निजको छोरा प्रेमबज्रले अंश मुद्दा दिई ६ खण्डको २ खण्ड अंश दिने गरी फैसला भए बमोजिम १९९८।८।५ मा रा.दे.अ. बाट बण्डापत्र खडा गरि छुट्टाई दिएबाट ६ अंसियार भन्नेकुरा प्रष्ट देखिएको हामीहरुको अंश हकको जग्गा मध्ये ६ खण्डको १ खण्डका दरले मोहीबाट आजसम्म बाली दिइ खाई भोगी आएको का.न.पं. वडा नं. २(ख) कि.नं. ७०, ७१, ७२, ७९, १२२ का जग्गा एक अंसियार विपक्षीका बाबु हेम चुडामणीको नाउँमा दर्ता गराई हामीले ६ खण्डको १ खण्डका दरले भोगी आएकोमा बण्डा पत्र बमोजिम उक्त जग्गा ६ खण्डको १ खण्डका दरले नामसारी गरि दिन पर्यो भनी भन्दा आलटाल गरी रहेको र निज हेम चुडामणी पनि गएको भाद्र ७ गते परलोक भएकोले विपक्षीलाई भन्दा नामसारी नगरी दिने मुराद गरेकोले जगतमाया र प्रेमबज्रको हकमा निजहरुले नै उजुर गरी लिने छन् हामी तिन जनाको हकमा ६ अंशको ३ अंश जग्गा विपक्षीका बाबुबाट विपक्षीका नाउँमा नामसारी गरी हामीहरुका नाउँमा नामसारी गरिपाउँ भन्ने समेत ब्यहोराको आसाकाजी समेत ३ जनाको फिरादपत्र ।
३. वादी दाबीको जग्गा पिता हेम चुडामणी बज्राचार्यले २०२३ सालमा दजर्ता गरी ज.ध.प्र.पु. प्राप्त गरेको वादी समेतको हक लाग्ने जग्गा दर्ता गराएको भए दर्ता बदरमा फिराद गर्नु पर्ने थियो, २०२३ सालमा नै दर्ता गराएको कुरा बादीले थाहा पाएपछि उस बखत ज.मि. को १८ नं. को म्याद भित्र फिराद गर्नुपर्ने, विपक्षी वादी र मेरो पिता विच १९९८ साल मार्ग ५ गते नै बण्डापत्र भएको हुँदा पिताको नाउँमा दर्ता भएको कि.नं. ७०, ७१,७२, ७९, १२२ का जग्गाहरु विपक्षी वादीको नाउँमा नामसारी गरी दिनु नपर्ने गरी वादी दावाबाट फुर्सद पाउँ भन्ने मुनिन्द्र चुडामणीको प्रतिउत्तर पत्र ।
४. वादीहरुको समेत अंश हक लाग्ने जग्गा प्रतिवादीका बाबुले २०२३ सालमा दर्ता गराएको भए उसै बखत बदर गरि आफ्नो नाउँमा दर्ता गराउन पर्ने सो गराउन सकेको समेत नदेखिँदा वादी दावी पुग्न नसक्ने ठहर्छं भन्ने समेत ब्यहोराको का.जि.अ. को मिति २०४०।२।९ को फैसला।
५. जग्गामा तेरो मेरो परेको प्रष्ट देखिए पछि लाग्ने कोटफी लिई हक बेहकमा निर्णय गर्नु पर्नेमा सो नगरी हराएको फैसला कानून संगत नहुँदा बदर गरी दावी अनुसारको इन्साफ गरि पाउँ भन्ने आसाकाजी समेतको बा.अ.अ. मा परेको पुनरावेदन पत्र ।
६. विवादित जग्गा वादीहरुको हकको नभए यो जग्गा वादीको हो भनी प्रतिवादीले भन्न देखाउन सक्नु पर्नेमा नसकेबाट फिल्ड बुकमा उल्लेख भए बमोजिम ६ अंसियारको हक लाग्ने जग्गाहरु नापी भएको देखिँदा ६ भाग लगाउँदा हुन आउने ३ भाग मध्ये १।१ भाग वादीहरुले नामसारी गरी दिन पाउने हुँदा वादी दावी नपुग्ने गरी गरेको फैसला उल्टी हुने ठहर्छ भन्ने बा.अ.अ. को २०४०।९।२५ को फैसला ।
७. मेरा पिताको एकलौटी हक भएको जग्गा पिता स्वर्गे भएपछि मेरो हक हुन आएकोमा ६ भागको ३ भाग मध्ये १।१ भाग यी वादीले नामसारी गरी दिन पाउने नहुादा बा.अं.अ. को फैसला उल्टाई पाउन पुरनावेदनको अनुमति पाउँ भन्ने मुनिन्द्रको म.क्षे.अ. मा परेको निवेदनपत्रमा २ वर्षभित्र नालेस नपरी २०३८।५।३० मा नालेस पर्न आएको देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको म.क्षे.अ. को २०४१।४।२३ को आदेश ।
८. अंसी अंसी बीच बण्डा नछुट्याई रही आएको जग्गामा जो जसको नाउँमा भदर्ता भए पनि अन्य अंसीले दावी दिन पाउने नै हुँदा बा.अं.अ. को फैसला मनासिब ठहर्छ भन्ने म.क्षे.अ. का. २०४३।४।२७ को फैसला ।
९. म.क्षे.अ. को फैसला त्रुटीपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीको यस अदालतमा पर्न आएको निवेदनमा मु.ऐ.अ.व. १८४ नं. को त्रुटी देखिएकोले न्या.प्र.सु.ऐन, २०३१ को दफा १३ (५)(ख) को अवस्था विद्यामान हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने मिति २०४३।७।२९ को आदेश ।
१०. दर्तावाला मरिसकेकोमा निजका छोरा मुनिन्द्र चुडामणीको नाउँमा नामसारी गरी निजबाट पनि हाम्रो नाउँमा नामसारी गरि पाउँ भन्ने वादीका दावा कानून संगत नदेखिँदा वादी दावा पुग्न नसक्ने ठहर्याएको शुरुको इन्साफ मनासिव ठहर्छ । वा.अं.अ. को इन्साफ सदर गरेको म.क्षे.अ. को इन्साफा उल्टी हुने ठहर्छ भन्ने यस अदालत संयुक्त इजलासको मिति २०४५।१२।७ को फैसला ।
११. २०२३ सालमा कानूनका री पुर्याई दर्ता भएको होइन हामीहरु समेत अंसियार देखिए पछि दर्ताको नाताले मात्र दर्तावालाको हक हुन्छ भन्ने देखिँदैन भन्ने कानूनी सिद्धान्त समेत प्रतिपादन भएका प्रतिपादित कानूनी सिद्धान्तहरु एकै प्रश्नमा वाँझिनुको साथै प्रचलित कानूनको गलत ब्याख्या भएको हुँदा स.अ. संयुक्त इजलासको उक्त फैसला नेपालको संविधान धारा ७२(ख) अन्तर्गत पूर्ण इजलासबाट मुद्दा दोहोर्याई हेरि दिनु भन्ने श्री स.अ. को नाउँमा हुकुम प्रमाङ्गी बक्स पाउँ भन्ने पद्म कुमारी समेतले न्यायीक समिति मार्फत् श्री ५ महाराजाधिराका हजुरमा चढाएको निवेदन पत्र ।
१२. सर्वोच्च अदालतको २०४५।१२।७ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटी देखिन आई सर्वोच्च अदालतको अघिको निर्णय जाँच्न आवश्यक देखिएकोले दोहोर्याई पाउने आदेश बक्सन श्री ५ महाराजाधिरा सरकारका हजुरमा न्यायिक समितिले जाहेर गरेकोमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहराई हेरी दिनु भनी हु.प्र. बक्स भै आएको ।
१३. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा सम्पूर्ण मिसिल कागजात अध्ययन गरी निवेदक तर्फबाट उपस्थित विद्वान परिष्ठ अधिबक्त श्री मुकुन्द रेग्मीले जग्गा दर्ता गर्ने निर्णय भएको छैन, मा.पो.का. को २०३९।९।३० को पत्रबाट ज.ध.प्र.पु् दिँदा २०२३ सालमा कुनै निर्णय नभएको भनेको, प्रतिवादीका बाबुले रै.प. गरी ज.ध.प्र.पु. पाउन मिति २०३६।१२।१२ मा द.नं. १४२३ बाट दिएको निवेदन मा कि.नं. १२२ लाई मात्र एकलौटी भनेको अरु कि.नं. ७०, ७१, ७२ र ७९ लाई ६ खण्डको १ खण्ड मेरो भनेको तर बाँकी जग्गा कुन हो देखाउन नसकेको १९९९ सालको बण्डा बमोजिम जग्गा छुट्टाइएको देखिँदैन भन्ने र विपक्षी प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिबक्त श्री अनुप राज शर्माले एकासगोलका हो भनी विपक्षीहरुले भन्न सकेका छैनन् । मुल दर्ता फुटिसकेको छ । २०००।३।२४ मा १९९९ सालको फैसला बमोजिम गोला राखी बण्डा छुट्टाई दिन भनी रा.का.दे.बाट पर्चा भए बमोजिम ६ भागको १ भाग दर्ता गराएको, दर्ता बदरमा दावी नभएको, २०२३ सालमा नै दर्ता भएकोमा २०३८।५।३० मा परेको फिराद हद म्याद समेतको आधारमा खारेज भागी छ भनी गर्नु भएको बहस जिकिर समेत सुनियो ।
१४. यस्मा वादी प्रतिवादी अंसि अंसि भएकोमा विवाद देखिँदैन । एकाको जग्गा उनाउ ब्यक्तिले दर्ता गराएको नभै एक अंसियारको नाउँमा दर्ता भएको जग्गा अर्को अंसियारले आफ्नो समेत नाउँमा नामसारी गरि पाउन दावी लिएकोले हद म्याद नाघेको भन्न मिलेन । १९९९ सालको अंस मुद्दाको फैसलाबाट ६ अंसियार कायम भएकोलमा सो फैसला बमोजिम सबै अंसियारहरुले अंश छुट्टाई लिएको नदेखिएको, उक्त अंश मुद्दाको वादी हेम चुडामणीले ६ खण्डको १ खण्ड जग्गा फुटाई २००६ सालमा रसिद लिई कुत समेत तिरि आएको, सो आधारमा नापीका बखत ६ खण्डठको १ खण्ड जग्गा भिडाएको भनी विादको सम्पूर्ण जग्गाहरु दर्ता गराएको देखियो । नापी फिल्डबुकमा विवादित जग्गा ६ जना अंसियारहरुको भनी मोहीहरुले लेखाइ दिएको र निजहरुले अदालमा आई गरेको बयानबाट समेत सो समर्थीत हुन आएको देखिन्छ । क्षेत्रफलको हिसावबाट हेर्दा पनि प्रतिवादीका बाबुले ६ खण्डको १ खण्ड दर्ता फुटाई लिएको जवग्गाको क्षेत्रफल १–०–३ हुन आउने र विवादित जग्गाका क्षेत्रफल ६–५–० भएबाट पनि ६ खण्डको १ खण्ड सम्पूर्ण विवादको जग्गा रहेछ भन्न पनि मिलेन । प्रतिवादीका बाबुले दर्ता गराए बाहेक वाँकी अरु जग्गा पनि छ भनी प्रतिवादीले भन्न सकेको समेत देखिएन । अंसियारहरु बीच बण्डा नछुट्टई रही आको जग्गा अंसियार मध्ये कसैले आफ्नो नाउँमा दर्ता गराएको कारणबाट मात्र अरु अंसियारहरुका हक जान सक्ने स्थिति समेत नदेखिँदा ६ भागका ३ भाग मध्ये १।१ भाग बादीहरुले आफ्नो नाउँमा नामसारी दर्ता गराई लिन पाउने ठहराएको बागमती अंचल अदालतका फैसला सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालको इन्साफ मनासिब भै शुरुको सदर गरेको यस अदालत, संयुक्त इजलासको मिति २०४५।१२।७ का फैसला उल्टी ठहर्छ अरु तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम शुरु जि.अ. को फैसला सदर गरेका यस अदालत संयुक्त इजलासको मिति २०४५।१२।७ को फैसला उल्टी हुने ठहरेकोले उक्त फैसलाको तपसिल खण्डले राख्ने गरेको लगत बमोजिम गर्नु नपर्ने हुँदा सो को लगत कट्टा गरि दिन का.जि.अ. मा लेखि पठाउनु ................. १
निवेदक वादीहरु के माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकाले निजहरुले राखेको कोर्टफि रु १।– विपक्षी प्रतिवादीबाट भरि पाउने हुँदा सो भराई पाउँ भनि प्रतिावदीबाट भरि पाउने हुँदा सो भराई पाउँ भनि प्रतिवादीको यसै सरहदका जेथा देखाइ कानूनका म्याद भित्र दरखास्त पर्न आए भराइ दिनु भनी का.जि.अं मा लगत दिनु ................. २
निवेदक वादीहरु कै माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकाले यस अदालत संयुक्त इजलासको मिति २०४५।१२।७ का फैसलाले निवेदक वादीहरुले विपक्षी प्रतिवादीलाई भराई दिने गरेको कोर्टको रु ३।– निवेदकहरुले २०४७।८।२० मा का.जि.अ. मा धरौटी राखेको देखिएको उक्त धरौटी निवेदक वादीले नै फिर्ता पाउने हुँदा सो फिर्ता पाउँ भनी कानूनका म्याद भित्र दरखास्त पर्न आए फिर्ता खर्च लेखि दिन भनी का.जि.अ. मा लगन दिनु .................... ३
माथि इन्साफ खण्डमा लेखिए बमोजिम बा.अं.अ. को फैसला सदर गरेको म.क्ष.अ. को इन्साफ मुनासिब ठहरेकाले विवादित कि.नं. का जग्गा मध्ये ६ भागको ३ भाग निवेदन वादीहरुको नाउँमा नामसारी गरि दिनु भनी सम्बन्धित मा.पो.का. मा लेखि पठाई दिनु ..................... ४
उक्त रायमा हामी सहमत छौं ।
न्या. लक्ष्मण प्रसाद अर्याल
न्या. कृष्णजंग रायमाझी
इति सम्बत् २०५१ साल आषाढ २ गते रोज ५ शुभम् ।