निर्णय नं. ४९०९ - अंश

निर्णय नं. ४९०९ ने.का.प. २०५१ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
२०५० सालको द. विविध नं.: १०५, १०६
फैसला मिति : २०५०।१२।८।२
मुद्दा : अंश ।
निवेदक : भक्तपुर जिल्ला चपाचो गा.वि.स. वडा नं. १ वस्ने जगतमाया श्रेष्ठ ।
ऐ.ऐ. बस्ने इन्द्र बहादुर श्रेष्ठ
विरुद्ध
विपक्षीः ऐ ऐ बस्ने सूर्यभक्त श्रेष्ठ
ऐ ऐ बस्ने रामसुन्दर श्रेष्ठ
ऐ ऐ बस्ने सूर्यमाया श्रेष्ठ
ऐ ऐ बस्ने कृष्णसुन्दर श्रेष्ठ
ऐ ऐ बस्ने कृष्णचन्द्र श्रेष्ठ
§ वादी प्रतिवादीहरु अंशियार भएको कुरामा कुनै विवाद देखिएन । अंशियार हो भन्ने कुरामा मुख मिलेपछि निजहरु बीच रीतपूर्वकको अंशवण्डा भए गरेको लिखत प्रमाण पेश हुन नसकेको अवस्थामा अंशवण्डा भै सकेको भनी अनुमान गर्न नमिल्ने ।
§ २००४ सालको लिखत अनुसार मैले बकसपत्र पाएको घर बण्डा हुनुपर्ने होइन भन्न जिकिर तर्फ विचार गर्दा पुनरावेदक जनगतमाया समेतले विवादित घर नै आफूले पाएको भनी सबूद पेश गर्न सक्नु भएन । २००४ सालको लिखतमा घरको विवरण उल्लेख भएको देखिँदैन भने जगतमायाले विवादित घर आफै नक्सा पास गरप् बनाएको भन्ने दावी लिएको हुँदा पहिले नै बकस पाई सकेको भन्न नमिल्ने ।
(प्र. नं. २०)
निवेदक तर्फबाट : विद्वान अधिबक्त श्री तिर्थराज बसौला
विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री प्रकाश वस्ती र विद्वान अधिबक्त श्री श्याम प्रसाद खरेल
अवलम्बित नजीर : x
फैसला
न्या.सुरेन्द्र प्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर विशेष जाहेरी विभागमा दर्ता भई यस अदालतमा पर्न आएको प्रसतुत निवेदनका संक्षिप्त ब्यहोरा एवं निर्णय यस प्रकार छ ।
२. हाम्रो ससुरा तथा बाजेका ४ भाई छोराहरुमा अंशवण्डा भएको छैन । हाम्रा पति तथा पिताको पनि मृत्यु भैसकेकोले हक खाने हामी हौं । मिति २०४१।९।१२ मा हामीलाई घरमा बस्न नदिई निकाला गरेकोले बाजे तथा ससुराको सम्पत्तिमा एक भाग विपक्षी सूर्यभक्तलाई एक भाग सूर्यमायाँ र निजका छोरालाई र १ भाग हामीलाई दिलाई अड्डैबाट चलन चलाई पाउँ भन्ने समेत व्यहोराको जगतमाया र इन्द्र बहादुरको संयुक्त फिराद पत्र ।
३. बाजेबाट पाउनु पर्ने अंश हामीले समेत पाएको छैनौं । हामीले वादीलाई निकाला गरेका छैनौं । भ.पु. जि. ठिमी चपाचो बजारको २ नाले ७ कबले २ तले घर १९९९।१०।२५ मा तुईसिलाई भोग बन्धकी दिएकोमा मैले माइतबाट ल्याएको पैसाबाट निखनी बाजेले मलाई पारित गरी दिएकोले उक्त सम्पत्ति बण्डा नलाग्ने स्वतः सिद्ध छ । हामीहरुको जिम्मा कुनै सम्पत्ति नभएकोले हामीले वण्डा दिनु पर्ने होइन भन्ने समेत ब्यहोराको चन्द्रभक्त, सूर्यमाया, रामसुन्दर, श्याम सुन्दर, कृष्ण सुन्दर समेतको संयुक्त प्रतिउत्तर पत्र ।
४. बाजे छँदैमा हामी सूर्यभक्त र कृष्णचन्द्रलाई भिन्न गराई दिई भ.पु.जि. ठिमी चपाचो बजारको ब्लक नं. १।११३ को घरमा बसी आएका छौं । वादीको परिवार र चन्द्रभक्तका परिवार पनि सोही ठाउँमा छुट्टै वसी आएका छन् । त्यसरी छुट्टै वसी खती उपतो आ–आफूले ब्यहोरी आएकोले वादीलाई हामीले अंश दिनु पर्ने होइन । वावुआमालाई हामीले नै पालेको र काजकृया समेत हामीले नै गरेकोले वादीलाई हामीले अंश दिनुपर्ने होइन भन्ने समेत ब्यहोराको सूर्यभक्त समेतको प्रतिउत्तर पत्र ।
५. २००२ सालमा सूर्यमानले पाएको राजिनामा लिखत भित्रको सम्पत्ति बाहेक तायदातीमा उल्लेखित सम्पत्तिबाट ४ खण्डको १ खण्ड वादीले पाउने ठहर्छ भन्ने समेत ब्यहोराको शुरु जिल्ला अदालतको मिति २०४५।१।९ को फैसला ।
६. सगोलका अंशियारका नाममा भएको सम्पत्तिबाट अंशवण्डा गर्नुपर्नेमा नगरेको उक्त फैसलामा चित्त बुझेन, हामीले दिएको तायदाती बमोजिमको सम्पत्तिबाट अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको वादीको वागमती अञ्चल अदालतमा परेको पुनरावेदन पत्र ।
७. २००२ सालमा भिन्न भैसकेको छलंङ्ग हुँदा हुँदै पुनः अंश दिलाउने गरेको शुरु भक्तपुर जिल्ला अदालतको फैसलामा चित्त बुझेन, फिराद नै खारेज गरिपाउँ भन्ने समेत ब्यहोराको प्रतिवादी कृष्णचन्द्र श्रेष्ठ समेतको बागमती अञ्चल अदालतमा परेको पुनरावेदन पत्र ।
८. २००२ सालको फार्छै पत्रबाट सूर्यमायाले प्राप्त गरेको घर समेत बण्डा हुने ठहर गर्नु पर्नेमा सो बण्डा नहुने ठहर गरेको सम्म शुरु जि.अ. को फैसला मिलेको नदेखिँदा केहि उल्टी हुन्छ । तायदातीमा उल्लेखित अन्य सम्पत्ति बण्डा हुने ठहराएको हदसम्म भ.पु.जि.अ. को फैसला मनासिव ठहर्छ भन्ने समेत ब्यहोराको बागमती अञ्चल अदालतको मिति २०४६।२।२४ को फैसला ।
९. मेरो दाईजोको घरजग्गा समेत बण्डा गर्ने गरेको वागमती अञ्चल अदालतको इन्साफमा चित्त बुझेन भन्ने समेत ब्यहोराको वादी जगतमाया र इन्द्र बहादुरको म. क्षे.अ. मा परेको पुनरावेदन पत्र ।
१०. २००२ सालमा हामी छुटी भिन्न भैसकेकोले वादीलाई हामीले अंश दिनु नपर्ने हुँदा वादी दावी खारेज गरी पाउँ भन्ने समेत व्यहोराको सूर्यभक्त र कृष्णभन्द्रको म.क्षे.अ. मा परेको पुनरावेदन पत्र ।
११. २००२ सालमा मैले प्राप्त गरेको कानूनले बण्डा गर्नु नपर्ने घरजग्गा समेत बण्डा हुने ठहराइएको वा.अ.अ. को फैसला सो हदसम्म उल्टी गरीपाउँ भन्ने समेत ब्यहोराको सूर्यमाया श्रेष्ठको म.क्षे।अ.मा परेको पुनरावेदन पत्र ।
१२. बा.अं.अ. को फैसला नमिली फरक पर्ने भएबाट झगडिया झिकाई पेश गर्नु भन्ने समेत ब्यहोराको म.क्षे.अ. को मिति २०४६।६।११ को आदेश ।
१३. २००२ सालमा सूर्यमायाले पाएको राजिनामा लिखित भित्रको सम्पत्ति बाहेक तायदातीमा उल्लेखित सम्पत्तिबाट ४ खण्डको १ खण्ड अंश वादीले पाउने ठहर्याएको भक्तपुर जिल्ला अदालतको इन्साफ मानासिव ठहर्छ । सो हदसम्म बा.अं.अ. को इन्साफ उल्टी हुन्छ भन्ने समेत ब्यहोराको म.क्षे.अ. को फैसला ।
१४. मेरो दाईजोको घर जग्गा समेत बण्डा गर्ने गरेको म.क्षे.अ. को इन्साफमा चित्त बुझेन भन्ने समेत ब्यहोराको जगतमाया र इन्द्र बहादुरको निवेदन पत्र ।
१५. यसमा यसै लगाउनको तायदाती बदर र जालसाजी मुद्दामा अनुमति प्राप्त भएको सो समेत साथै राखी पेश गर्नु भन्ने यस अदालतको मिति ०४८।११।२७ को आदेश ।
१६. यसमा यसै लगाउनको यिनै वादीले दिएको जालसाजी र तायदाती बदर मुद्दामा पुनरावेदनको भनुमति प्रदान भई यसै अदालमा कारवाही भइरहेको देखिएकोले प्रसतुत मुद्दामा म.क्षे.अ.बाट उल्लेखित मुद्दामा भएको फैसलाको आधारमा बादी दावीको २००४ सालको लिखतको सम्पत्ति बण्डा गर्ने गरेको र २००२ सालको लिखतको सम्पत्ति बण्डा नहुने गरेको म.क्षे.अ. को फैसला इन्साफ जाँच गर्न पर्ने अवस्था भएको देखिएकोले दोहोर्याई हेर्न निस्सा प्रदान गरिएको छ । नियम बमोजिम पेश गर्नुभन्ने यस अदालतको ०५०।१।१६ को आदेश ।
१७. यसमा यसै सँग सम्बन्धित रिट नं. ६६८ मा भएको आदेश बमोजिमको कार्य सम्पन्न गरी साथै राखी नियम बमोजिम पेश गर्नु भन्ने यस अदालतको मिति ०५०।१०।३ को आदेश ।
१८. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रसतुत मुद्दामा निवेदक वादीको तर्फबाट रहनु भएका विद्वान अधिबक्त श्री तिर्थराज वसौलाले २००२ सालको लिखत हामी वादीहरुलाई सुनाएकै छैन । रजिष्ट्रेशन पारित भएको लिखतमा सवै छोराहरु साक्षी बसेको भनी म.क्षे.अ. ले आधार लिएको छ, तर सवै छोरा साक्षी बसेका छैनन् । सूर्यमायाको धनले खरिद गरेको भन्ने कुनै प्रमाण छैन । २००४ सालको लिखतलाई जालसाजी भनी बयान गरेपछि जालसाजी तर्फ पनि निर्णय हुनुपर्ने । मेरो पक्षको दाताको बचन भक्तपुर इलाका ठिमी गाप्चा मूल सडक भनी लेखिएको छ । ०२२ सालमा जगत मायाले घर बनाउन नक्सा पास गराउँदा ४ किल्लामा मूल सडक छेउ पर्ने देखिन्छ भन्ने समेत बहस प्रसतुत गर्नु भयो । प्रतिवादी सूर्यमाया, राम, श्याम र कृष्णको तर्फबाट रहनु भएका विद्वानज अधिबक्ता श्री श्याम प्रसाद खरेलले २००२ सालको लिखत पारित भएको छ जालसाजी मुद्दा नै परिसकेपछि सुनाउनु पर्ने आवश्यकता छैन । मेहरमानबाट पाएको बकसपत्रमा ४ किल्ला छैन भन्ने समेतको बहस जिकिर लिनु भयो । प्रतिवादी सूर्यभक्त र कृष्णचन्द्रको तर्फबाट रहनु भएका विद्वान अधिबक्त श्री प्रकाश बस्तीले दाइजो भन्दैमा बण्डा हुन नसक्ने भन्न नमिल्ने भनी विभिन्न सिद्धान्त प्रतिपादन भएका छन् । २००४ सालको लिखतको घर नं.१।९४ हो भनी जगतमायाले प्रमाणित गर्न सकेका छैनन भन्ने वहस प्रसतुत गर्नु भयो ।
१९. यसमा ४ भागको एक भाग अंश पाउँ भन्ने वादी र अंश दिनु पर्ने होइन भन्ने प्रतिवादी जिकिर भएको प्रसतुत मुद्दामा म.क्षे.अ. को इन्साफ मिले नमिलेको के हो हेरी निर्णय दिनु पर्ने हुन आयो ।
२०. यसमा वादी प्रतिवादीहरु अंशियार भएको कुरामा कुनै विवाद देखिएन । अंशियार हो भन्ने कुरामा मुख मिलेपछि निजहरु बीच रीतपूर्वकको अंशवण्डा भए गरेको लिखत प्रमाण पेश हुन नसकेको अवस्थामा अंशवण्डा भै सकेको भनी अनुमान गर्न मिलेन । तसर्थ वादीले प्रतिवादीहरुबाट ४ खण्डको १ खण्ड अंश पाउने ठहर्छ । २००२ सालको लिखतबाट सूर्यमायाले पाएको घरको सम्बन्धमा विचार गर्दा सो घर १९९९ सालमा ससुरा जुजुलालले बन्धकी दिएको कुरामा पनि वादी प्रतिवादीले स्वीकार गरेको पाइन्छ । सो घर जुजुलालले निखनाई लिँदा बुहारीसँग रुपैया लिई निखनेको कुरा घरसारसमा भएको राजिनामाको लिखतमा खुलेका लर सूर्यभक्त समेतका छोराहरु साक्षी बसेको तथा २००२।६।९ को पारित लिखतमा पनि घरसारको लिखतको ब्यहोरा उल्लेख भएको देखिन आउँछ । सो लिखत जालसाजी हो भनी वादीले दिएको मुद्दा पनि वादी दावी खारेज हुने ठहर गरेको म.क्षे.अ. को इन्साफ आज यसै इजलासबाट सदर भएको हुँदा सो लिखत बमोजिम सूर्यमायाले प्राप्त गरेको बर बण्डा गर्न मिलेन । अव २००४ सालको लिखत अनुसार मैले बकसपत्र पाएको घर बण्डा हुनुपर्ने होइन भन्न जिकिर तर्फ विचार गर्दा पुनरावेदक जनगतमाया समेतले विवादित घर नै आफूले पाएको भनी सबूद पेश गर्न सक्नु भएन । २००४ सालको लिखतमा घरको विवरण उल्लेख भएको देखिँदैन भने जगतमायाले विवादित घर आफै नक्सा पास गरप् बनाएको भन्ने दावी लिएको हुँदा पहिले नै बकस पाई सकेको भन्न मिलेन । तसर्थ २००२ सालमा सूर्यमायाले पाएको राजिनामा लिखत भित्रको सम्पत्ति बाहेक तायदायीमा उल्लेखित सम्पत्तिबाट ४ खण्डको १ खण्ड अंश वादीले पाउने ठहर गरेको म.क्षे.अ. को इन्साफ मनासिव हुँदा सदर हुने ठहर्छ । देवानी विविध नं. १०५ बाट निर्णय भैसकेको हुँदा दे.वि.नं. १०६ मा कुनै निर्णय गर्नु परेन । यसको लगत कट्टा गरी दिनु । मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. गोविन्द बहादुर श्रेष्ठ
इति सम्बत २०५० साल चैत्र ८ गते रोज २ शुभम्