निर्णय नं. ४९२१ - जग्गा खिचोला, चलन जालसाज

निर्णय नं. ४९२१ २०५१, ने.का.प. अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा
सम्बत् २०४९ सालको दे.पु.नं. – ५३९
फैसला मिति : २०५१।३।६।२ मा
मुद्दा : जग्गा खिचोला, चलन जालसाज ।
पुनरावेदक/वादी : जि. संखुवासभा सभापोखरी गा.वि.स. वडा नं. १ बस्ने चन्द्र प्रसाद राई ।
विरुद्ध
विपक्षी/प्रतिवादी : जि.संखुवासभा बाह्रविसे गा.वि.स. वडा नं. ८ बस्ने कुल प्रसाद राई ।
§ पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४२(१) मा पुनरावेदक वा प्रत्यर्थीले चाहेमा तारेखमा नवसे पनि हुन्छ भन्ने उल्लेख भएको छ । पुनरावेदन अदालत नियमावलीमा भएको यही व्यवस्था अनुसार पुनरावेदकले तारेखमा बस्नु पर्दैन भन्ने मुख्य पुनरावेदन जिकिर देखिन्छ । तर पुनरावेदकले पुनरावेदन दिएपछि कानून बमोजिम तारेखमा बसेको र मुद्दा अदालतमा विचारधीन रहेकै अवस्थामा बीचमा तारेख छोडेको देखिन्छ । यसरी पुनरावेदन अदालतको तारेख छोड्नु अगाडि पुनरावेदकले अदालतलाई त्यस सम्बन्धमा कुनै जानकारी दिएको छैन । यदि पुनरावेदकले तारेखमा नबसी मुद्दाको पूर्पक्ष गराउन चाहेको भए तोखमा बस्न नपरोस भनी अदालतमा निवेदन दिनु पर्ने र त्यस उपर अदालतले स्पष्ट आदेश गरेको अथवा तारेखमा बस्न नपर्ने गरी स्वीकृति दिएको हुनुपर्नेमा प्रस्तुत मुद्दामा पुनरावेदकले अदालतलाई कुनै जानकारी नै नदिई आफू खुशी तारेख छोडेको देखिन्छ । पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४२(१) मा भएको पुनरावेदकले चाहेमा तारेखमा नवसे पनि हुने भन्ने प्रावधानको अर्थ पुनरावेदकले अदालतलाई जानकारी नै नगराई अदालतबाट स्वीकृति नै नलिई आफूखुशी तारेख छोड्न पाउने हो भन्न सकिँदैन । नियमावलीमा भएको प्रावधान अनुसार पुनरावेदकले चाहेमा तारेखमा नवस्न सक्छ तर त्यसको लागि अदालतमा निवेदन दिई अदालतबाट तारेखमा बस्न नपर्ने स्वीकृति प्राप्त हुनु आवश्यक हुन जान्छ । तर यसमा अदालतलाई जानकारी सम्म नदिई पुनरावेदकको वारेसले मिति २०४८।१२।२ देखि तारेख गुजारेको अवस्थामा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४२(१) आकर्षित हुन सक्ने देखिएन । तसर्थ कानूनको मनसाय बमोजिम अदालतलाई जानकारी दिई निश्चित प्रकृया अपनाई पुनरावेदकले तारेख छोड्न सक्नेमा अदालतलाई कुनै जानकारी नै नदिई र अदालतको स्वीकृति नलिई आफू खुशी तारेख छोडेको र कानूनको म्यादभित्र थामे थमाएको समेत नदेखिँदा पुनरावेदकको वारेसले तारेख गुजारेको आधारमा अ.वं. १७९ नं बमोजिम पुनरावेदन अदालत विराटनगरले गरेको डिसमिस फैसला कानूनी त्रुटीपूर्ण नहुँदा सदर हुने ।
(प्र. नं. ७)
पुनरावेदक दावी तर्फबाट : विद्वान अधिबक्ता श्री टंक प्रसाद दुलाल
विपक्षी तर्फबाट : x
अवलम्बित नजीर : x
फैसला
न्या. पृथ्वी बहादुर सिंह : प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ :–
२. बाबु शेर बहादुरको हक भै ७।१४ नं. फाराम भरी ७ नं. फाराम क्र.सं. ४ मा परेको जगगा मध्ये तिरो रु. ।०५ लाग्ने अरुवोटे किपट खेत वारी २०४३।२।४ मा प्रतिवादीले किचोला गरेकोले किचोला मेटाई चलन पाउँ भन्ने फिराद दावी । अरुवोटे वारी मेरा वावु मोतिलालले एकलौटी भोगको मलाई अंश दिएको हो, किचोला गरेको होइन भन्ने प्रतिउत्तर जिकिर ।
३. प्रतिवादीले किचोला गर्यो भन्ने बादी दावी पुग्न नसक्ने र २०४३।२।४ को रु १०००।– को लिखत जालसाज ठहर्छ भन्ने समेत संखुवासभा जिल्ला अदालतको फैसला भएकोले जग्गा तर्फ सदर परेको र जालसाज नठहर्ने भन्ने कोशी अञ्चल अदालतको फैसला ।
४. कोशी अञ्चल अदालतले जग्गा तर्फ सदर गरेको र जालसाज नठहराई गरेको फैसलामा चित्त बुझेन सो फैसला उल्टाई पाउँ भनी पुनरावेदन परेकोमा पुनरावेदक वादी चन्द्र प्रसाद राईको वारेसले अदालतबाट तोकी पाएको तारेख मिति २०४८।१२।२ देखि गूजारी बसेको र निजले गुज्रेको तारेख थाम्ने थमाउने अवस्था समेत वाँकी नदेखिएकोले यो पुनरावेदन अ.वं. १७९ नं. बमोजिम डिसमिस हुने ठहर्छ भन्ने पुनरावेदन अदालत विराटनगरको मिति २०४९।३।१४ को फैसला ।
५. पुनरावेदन अदालतले गरेको डिसमिस फैसला त्रुटीपूर्ण छ । पुनरावेदन अदालत नियमावली २०४८ को नियम ४२ मा पुनरावेदक वा प्रत्यर्थीले तारेखमा नवसे पनि हुने स्पष्ट ब्यवस्था गरेको छ । यसबाट मैले तारेख छाड्दैमा उक्त मुद्दा डिसमिस हुने होइन । तसर्थ बेरीतसँग डिसमिस फैसला गरेको हदसम्म पुनरावेदन अदालतको फैसला बदर गरी मुद्दाको तथ्य भित्र प्रवेश गरी इन्साफ गरी पाउँ भन्ने समेत ब्यहोराको चन्द्र प्रसाद राईको यस अदालतमा परेको पुनरावेदन ।
६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान अधिबक्ता श्री टंक प्रसाद दुलालले पुनरावेदन अदालत नियमावली, २०४८ मा पुनरावेदकले चाहेमा तारेखमा बवसे पनि हुन्छ भन्ने ब्यवस्था भएको हुँदा नै मेरो पक्षले तारेख छोडेको हो । पक्षले तारेख छोडेमा पनि पुनरावेदन अदालतले कानून बमोजिम मुद्दाको निर्णय गर्नु पर्नेमा अ.वं. १७९ बमोजिम डिसमिस गरेको त्रुटिपूर्ण छ अतः पुनरावेदन अदालत विराटनगरले गरेको डिसमिस फैसला बदर गरी पाउँ भन्ने बहस जिकिर प्रस्तुत गर्नु भयो । अव विद्वान कानून व्यवसायीको बहस जिकिर सुनी मिसिल समेतको अध्ययन गरी हेर्दा पुनरावेदन अदालत विराटनगरले मिति २०४९।३।१४ मा अ. वं. १७९ नं. बमोजिम गरेको डिसमिस फैसला मिलेको छ, छैन निर्णय दिनु पर्ने देखियो ।
७. यसमा वादी चन्द्र प्रसाद राईले कोशी अञ्चल अदालतको फैसलामा चित्त नबुझी मिति २०४७।१२।१३।४ मा कोशी अञ्चल अदालत माफृत तत्कालिन पूर्वाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन दिएको देखिन्छ । यसरी पुनरावेदन दिएपछि पुनरावेदकको वारिस तारेखमा बस्दै आएकोमा मिति २०४८।१२।२ का दिन हाजीर हुने गरी पुनरावेदन अदालत विराटनगरबाट तोकी पाएको तारेख निज वारिसले गुजारी बसेको ब्यहोरा मिसिल संलग्न तारेख भर्पाईबाट देखिन्छ । यसरी पुनरावेदकको वारेसले अदालतबाट तोकिपाएको तारेख गुजारेको र थाम्ने थमाउने अवस्था पनि वाँकी नरहेको आधारमा पुनरावेदन अदालतले अ.वं. १७९ बमोजिम डिसमिस फैसला गरेको रहेछ । यसमा पुनरावेदकतर्फका विद्वान कानून व्यवसायीले पुनरावेदन अदालत नियमावलीमा भएको ब्यवस्था अनुसार नै आफ्नो पष तारेखमा नवसेको हुँदा मुद्दा डिसमिस हुने होइन भन्ने जिकिर लिनु भएको छ । अव यस सम्बन्धी कानूनी ब्यवस्थातर्फ हेर्दा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४२(१) मा “पुनरावेदक वा प्रत्यर्थीले चाहेमा तारेखमा नवसे पनि हुन्छ” भन्ने उल्लेख भएको छ । पुनरावेदन अदालत नियमावलीमा भएको यही व्यवस्था अनुसार पुनरावेदकले तारेखमा बस्नु पर्दैन भन्ने मुख्य पुनरावेदन जिकिर देखिन्छ । तर पुनरावेदकले पुनरावेदन दिएपछि कानून बमोजिम तारेखमा बसेको र मुद्दा अदालतमा विचारधीन रहेकै अवस्थामा बीचमा तारेख छोडेको देखिन्छ । यसरी पुनरावेदन अदालतको तारेख छोड्नु अगाडि पुनरावेदकले अदालतलाई त्यस सम्बन्धमा कुनै जानकारी दिएको छैन । यदि पुनरावेदकले तारेखमा नबसी मुद्दाको पूर्पक्ष गराउन चाहेको भए तोखमा बस्न नपरोस भनी अदालतमा निवेदन दिनु पर्ने र त्यस उपर अदालतले स्पष्ट आदेश गरेको अथवा तारेखमा बस्न नपर्ने गरी स्वीकृति दिएको हुनुपर्नेमा प्रस्तुत मुद्दामा पुनरावेदकले अदालतलाई कुनै जानकारी नै नदिई आफू खुशी तारेख छोडेको देखिन्छ । पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४२(१) मा भएको पुनरावेदकले चाहेमा तारेखमा नवसे पनि हुने भन्ने प्रावधानको अर्थ पुनरावेदकले अदालतलाई जानकारी नै नगराई अदालतबाट स्वीकृति नै नलिई आफूखुशी तारेख छोड्न पाउने हो भन्न सकिँदैन । नियमावलीमा भएको प्रावधान अनुसार पुनरावेदकले चाहेमा तारेखमा नवस्न सक्छ तर त्यसको लागि अदालतमा निवेदन दिई अदालतबाट तारेखमा बस्न नपर्ने स्वीकृति प्राप्त हुनु आवश्यक हुन जान्छ । तर यसमा अदालतलाई जानकारी सम्म नदिई पुनरावेदकको वारेसले मिति २०४८।१२।२ देखि तारेख गुजारेको अवस्थामा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४२(१) आकर्षित हुन सक्ने देखिएन । तसर्थ कानूनको मनसाय बमोजिम अदालतलाई जानकारी दिई निश्चित प्रकृया अपनाई पुनरावेदकले तारेख छोड्न सक्नेमा अदालतलाई कुनै जानकारी नै नदिई र अदालतको स्वीकृति नलिई आफू खुशी तारेख छोडेको र कानूनको म्यादभित्र थामे थमाएको समेत नदेखिँदा पुनरावेदकको वारेसले तारेख गुजारेको आधारमा अ.वं. १७९ नं बमोजिम पुनरावेदन अदालत विराटनगरले गरेको डिसमिस फैसला कानूनी त्रुटीपूर्ण नहुँदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. कृष्ण कुमार बर्मा
इति सम्बत् २०५१ साल असार ६ गते रोज २ शुभम्