निर्णय नं. ६५०६ - लिखत वदर जग्गा रोक्काा वदर ।

निर्णय नं. ६५०६ २०५५, ने.का.प. अङ्क २
संयुक्त इजलास
सम्माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा
माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल
संवत् २०५२ सालको दे.पु.नं. -२९७५
आदेश मितिः- २०५४।७।१८।२
विषयः- लिखत वदर जग्गा रोक्का वदर ।
निवेदक/वादीः जिल्ला बाजुरा बारबिस गा.वि.स. वडा नं. ५ बस्ने तिलक बहादुर शाह ।
विरुद्ध
विपक्षी/प्रतिवादीः कृषि विकास बैंक, मार्तडी बाजुरा समेत जम्मा ४ ।
§ वादी तिलक बहादुर शाहलाई प्रतिवादी शेर बहादुर शाहले लिखत गरी राजिनामा गरी दिएको जग्गा पुनः निज प्रतिवादी शेर बहदुरले नै सोही जग्गा कृषि विकास बैंक बाजुरा मार्तडीमा धितोमा राखी कृषि विकास बैंकको पत्रानुसार माल कार्यालय, बाजुरा मार्तडीबाट रवक्का रहेको जग्गा फुकुवा गरी पाउं भनी लेनदेन व्यवहारको ४० नं. रोक्का पत्र सारेको मितिले थाहा पाएको ३५ दिन नागरिक अधिकार ऐन, २०१२ को दफा १९ एवं मुलुकी ऐन अ.वं. ३६ नं. को आधारमा दिएको फिरादका सम्बन्धमा पुनरावेदन अदालत दिपायलबाट मिति २०५१।१०।३।३ मा फैसला गर्दा फिरादीले दावी लिंदाका वखत उल्लेख गरेको मुलुकी ऐन लेनदेन व्यवहारको ४० नं. वमोजिम भए गरेको मितिले २ वर्ष भित्र नालेस गर्नु पर्नेमा सो नगरी २०५०।१।१० मा मात्र प्रस्तुत फिराद परेको देखिंदा फिरादवाला स्वयंले स्वीकार गरेको लेनदेन व्यवहारको ४० नं. वमोजिम भए गरेको मितिले २ वर्ष भित्र नालेस गर्नु पर्नेमा सो नगरी २०५०।१।१० मा मात्र प्रस्तुत फिराद परेको देखिंदा फिरादवाला स्वयंले स्वीकार गरेको लेनदेन व्यवहारको ४० नं. वमोजिमको हदम्याद भित्रको प्रस्तुत फिराद नदेखिंदा मुद्दाको तथ्य भित्रै प्रवेश गर्न पर्ने नहुंदा अ.वं. १८० नं. वमोजिम खारेज हुने ठहर्छ भनी पुनरावेदन अदालत दिपायलले मिति २०५१।१०।३ मा गरेको फैसला मनासिवै हुंदा सो फैसला कुनै परिवर्तन गरी रहनु पर्ने स्थिति नदेखिंइ सदर हुने ।
(प्र.नं. २०)
पुनरावेदक वादी तर्फबाटः- x
विपक्षी प्रतिवादी तर्फबाटः- x
अवलम्वित नजिरः- x
फैसला
न्या. मोहन प्रसाद शर्माः पुनरावेदन अदालत दिपायल डोटीको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः-
२. शेर बहादुर शाहले १९९४ सालको जांचमा आप्नो दर्ता हक भोग भएको भु. सु. ७४ नं. फाराम भरेको ता.मु. हरि विक्रम शाहको तालुकी भित्रको कि.नं. ११६ तिरो रु. ४।५० को जयागडी खेत आफ्नो सन्तान दरसन्ताको हक दावी छाडी मेरो निवेदन दिई माल कार्यालय बाजुराबाट रु. ६०००। को लिखत रजिष्ट्रेशन पारित गरी दिएको मेरो हक भोगको जग्गा हो । विपक्षीले सो जग्गालाई कर्जा संरक्षणको लागि कृषि विका बैंक, बाजुरामा धितो दिई विक्री वितरण गर्न मैले नपाउने गरी माल कार्यालयबाट रोक्का राखिएको पर्चाको नक्कल सारी लिंदा थाहा भएकोले जानी बुझि धितो बन्धनमा लिई लेनदेन व्यवहारको २५ र नागरिक अधिकार ऐन समेतको विपरीत भै जग्गा रोक्का गरेकाले गैह्र कानूनी लेनदेनको लिखत बदर गरी जग्गा रोक्का फुकुवा गरी पाउं भन्ने फिराद दावी ।
३. शेर बहादुर शाहका नाउंमा दर्ता भएको कि.नं. ११६ को जयागडी खेत कृषि विकास बैंक बाजुराबाट जग्गा रोक्का गरी दिन अनुरोध भै आए वमोजिम जग्गा रोक्का राखी जानकारी कृषि विकास बैंकलाई पठाएको हो । मिति २०३५।१।१८ को राजिनामा पारितमा ऋणि शेर बहादुर, धनी तिलक बहादुर उल्लेख छ । माल कार्यालयको मोठमा साविकवालाको नाम कट्टा गरी हालवालाको नाम अभिलेखमा राख्ने व्यवस्था भई सकेको नहुंदा मोठमा दर्तावालाको नाम साविकै राखिएको हो । कृषि विकास बैंकले सिधै कि.नं. ११६ को जग्गा रोक्का राखि दिनु भनेबाट पछिको लागि जग्गा रोक्का अभिलेखमा राखिएको हो भन्ने माल कार्यालय, बाजुरा र सो कार्यालयका हाकिमको तर्फबाट परेको प्रतिउत्त।र पत्र ।
४. शेर बहादुर शाहले आफ्नो एकलौटी हकभोग कि.नं. ११६ को ६ रोपनी जग्गा समेत बैंकलाई कर्जा सुरक्षंण वापत धितोमा दिएको मालपोत कार्यालय बाजुराबाट यो जग्गा मिति २०३५।१२।८ मा रोक्का राखिएको अरु कसैको हक नभएको जग्गा धितो लिनुपूर्व जग्गाको स्थलगत नीरिक्षण मूल्याङ्कन गरी मिति २०३५।१२।१ मा प्रतिवेदन पेश भएको अवस्थामा प्रतिवादी शेर बहादुर शाहको हक भोगमा रहेको निरीक्षण प्रतिवेदनबाट उल्लेख गरेको पाइन्छ । फिरादीको हक कायम भएको भए जग्गाको स्थलगत निरीक्षण हुंदाका बखत दावी विरोध हुनुपर्ने सो कुनै नभएको, पूर्ण विवरण प्राप्त पछि विवादित जग्गा धितोमा लिई जग्गा रोक् राख्न लगाएको धितोमा राखिएका सम्पत्ति ऋणिको हकभोगमा देखिएको र रोक्का समेत राखिएको जानकारी मालपोत कार्यालयबाट प्राप्त भएपछि ऋण लगानी गरिएको हो । सो जग्गा फुकुवा हुने होइन । विवादित जग्गा रोक्का राख्ने निकायका मालपोत अधिकृत ऋणि शेर बहादुर शाह समेतको मृत्यु पश्चात आफूले झूठ्ठा विवरण पारी सार्वजनिक बैंक जस्तो संस्थानको ऋण असुरक्षित गर्ने दुश्प्रयासले मात्र यो फिराद दावी लिएको हुनु, बैंकले रोक्का राखेको जग्गाको रोक्का फुकुवा नहुने हुंदा झूठ्ठा फिराद खारेज गरी पाउं भन्ने कृषि विकास बैंक बाजुराको तर्फबाट परेको प्रतिउत्तर पत्र ।
५. वाढीबाट मिति २०३५।१।१८ मा पारित सक्कल राजिनामा र प. कृषि विकास बैंकबाट मिति २०३५।१२।६ को सक्कल तमसुक पेश गर्न लगाई अ.वं. ७८ नं. अन्तर्गत प्रतिवादी र वादीलाई देखाई सुनाई बयान गराई पेश गर्नु भन्ने पुनरावेदन अदालत, दिपायल डोटीको आदेश ।
६. वादीबाट पेश गरेको मिति २०३५।१।१८ को पारित सक्कल राजिनामा देखें । यो कागज सद्दे होइन जालसाजबाट खडा भएको हो । बैंकको कर्जा डुवाउने हेतुले शेर बहादुर शाहिको अचल सम्पत्ति जग्गालाई जालसाजीबाट यो लिखत खडा गरेका हुन, विक्रेता शेर बहादुर शाहको नाउंमा रहेको प्रमाण मोठ उतार गरी बेंकमा पेश गर्दा माल कार्यालयबाट मिति २०३५।५।६ मा प्रमाणित गरिएको छ । जुन प्रमाणको लागि पेश गरेको छ यसैबाट जालसाज हो भन्ने सिद्ध हुन्छ । ल्याप्चे तथा लिखत दस्तखत रेखा विशेषज्ञबाट जांच गरेमा प्रस्ट हुने हुंदा सो गरी पाउं भन्ने कृषि विकास बैंक बाजुराको तर्फका वा.ल झुसे साउदले गरेको वयान ।
७. मिति २०३५।१२।६ को सक्कल तमसुकमा भएको लिखत र ल्याप्चे शेर बहादुरकै हो । उल्लेखित जयागडी खेत मेरो पक्षलाई मिति २०३५।१।१८ मा राजिनामा रजिष्ट्रेशन पारित गरी सकेपछि मेरो पक्षको हक हुन आएको जग्गाको हक मेटाउने र धितो रकम विपक्षीहरुले मिली खाने उद्देश्यले कागजात लिखत खडा गरेका हुन । म बाट पेश भएको लिखत सद्दे सांचो हो भन्ने समेत व्यहोराको वादीका वा टेकबहादुर रावतको वयान ।
८. मिति २०३५।५।६ सम्म कृषि विकास बैंकमा धितो राखेको जग्गा शेर बहादुर कै नाउंमा कायम रहेको दर्ता श्रेस्ता प्रमाणित नक्कललाई देखाई पेश गरेपछि कृषि विकास बैंकले ऋण लगानीको लागि सम्पूर्ण प्रकृया अपनाई स्थलगत निरीक्षण गरी प्रतिवेदन समेतको आधारमा उक्त जग्गा धितोमा लिई ऋण लगानी गरेको हो, वादीको वयान झूठ्ठा हो । शेर बहादुर शाहको छोरालाई समेत बुझि पाउं भन्ने व्यहोराको कृषि विकास बैंक तर्फका वा. झुसे साउदले अदालतमा गरेको वयान ।
९. मिति २०३५।१।१८ को लिखत सद्दे सांचो हो बेंकको ऋण डुवाउने उद्देश्यले खडा नभै मिति २०३५।१।१८ मा पारित भएको छ । विपक्षीहरुले मिति २०३५।१२।६ मा जालसाजपूर्ण तरिकाले धितो राखी मेरो पक्षको हक मेटाउनका लागि जालसाज गरेका हुन । मेरा साक्षी र विपक्षीका एकासंगोलको छोरा शंकर बहादुर शाह बुझि पाउं भन्ने वादीका वा. टेक बहादुर राउतले अदालतमा गरेको वयान ।
१०. वादीका साक्षिका नाउंमा वन्दसवाल जारी गरी बुझेन र रेखा जांचका लागि विशेषज्ञकहां पठाउने, मिति २०३५।१।१८ का लिखतका साक्षी बुझ्ने, विक्रेता शेर बहादुरको छोरा शंकर बहादुरलाई अ.वं. १३९ नं. अन्तर्गत बुझ्ने भन्ने समेत व्यहोराको मिति २०५०।८।१५ को आदेश ।
११. मिति २०३५।१।१८ को लिखत देखाउंदा देखें । माल कार्यालय बाजुराका हाकिम भोज बहादुर शाह, तिलक बहादुर शाह सनाखतमा बस्ने रुपबहादुर शाह, डवले कुमाल, गगन सिंह थापा र पदम बहादुर शाह मिली जालसाज गरेका विवादित जग्गामा मेरो पनि दावी लाग्ने ०२२ सालमा मेरा नाउंमा ७ नं. फाराम भरिएको तिलक बहादुरले सद्दे व्यवहारबाट पारित गरेको भए मेरो पनि मञ्जुरी लिनुपर्ने मलाई लिखतको फटकेमा राख्नुपर्ने सो नहुंदा जालसाजबाट खडा गरेको हो भन्ने समते बुझिएका शंकर बहादुर शाहले गरेको वयान ।
१२. शंकर बहादुर शाह प्रतिवादी सरह देखिएकाले निजलाई तारेखमा राखि निजले आफ्नो वयानमा पोलाह गरेको व्यक्तिहरुलाई झिकाई बुझी र निजले दिएको प्रमाण ७ नं. फाराम समेत सम्बन्धित निकायबाट झिकाउने भन्ने आदेश ।
१३. विक्रेता शेर बहादुर शाह, क्रेता म भै मिति २०३५।१।१८ मा पारित गरी लिएको कि.नं. ११६ को जग्गाको लिखत जालसाज होइन, सद्दे सांचो हो । हाम्रो जिल्लामा ७ नं. फाराम भरिने अवस्थामा शेर बहादुर शाहलाई राजनीति आरोप लागि मरे जिउनाको पत्ता नलागेको हुंदा निज शेर बहादुरको हिस्साको सबै जग्गा शंकर बहादुरका नाउंमा ७ नं. फाराम भरिएको हो । यो कि.नं. ११६ को जग्गामा शंकर बहादुर शाहको हक लाग्ने होइन मैले खरिद गरी लिएको हुं । २०४१ सालमा बुवाको मृत्यु पछि निजले आफ्नो जग्गा खोजी गर्नेपर्ने विक्री भएको जग्गा जानकारी लिई वदर तर्फ जानुपर्ने सव नगरी रोक्का वदर तर्फ दिएको मुद्दामा आई हाल थाहा भएको भनाई झूठ्ठा हो, शेर बहादुर शाहले कृषि विकास बैंकबाट लिएको कर्जा समेत मैले तिर्नुपर्छ भनी झूठ्ठा वयान गरेका हुन भन्ने तिलक बहादुर शाहको वयान ।
१४. विवादित कि.नं. ११६ को जया जग्गा धितो दिई शेर बहादुर शाहले धितो वापत ऋण माग गरेको र बैंक नियमानुसार धितो जग्गा निजको भोग चलनको हो होइन र अन्य कसैलाई धितो बन्धक दिएको छ, छैन भनी मालपोत कार्यालय बाजुराबाट जानकारी लिई रोक्का राखी ऋण दिएको हो सो मिति भन्दा अगाडि विक्री वितरण भएको विषयमा बैंकलाई कुनै जानकारी प्राप्त नभएकोले बैंकको नियमानुसार कार्यलाई जालसाज गरी खडा गरेको भन्ने तिलक बहादुर शाहको वयान झूठ्ठा हो भन्ने समेत हर्ष बहादुर वोहराको वा. तिलक बहादुर चन्दले अदालतमा गरेको वयान ।
१५. तिलक बहादुर चन्दलाई तारेखमा राख्ने भन्ने आदेश ।
१६. मिति २०३५।१।१७ र २०३५।१२।६ का दिन वादी प्रतिवादी कहां थिए थाहा छैन, भेटघाट भएको छैन । मिति २०३५।१।१५ को राजिनामा तिलक बहादुरलाई शेर बहादुरले राजिनामा गरिदिएको कि.नं. ११६ को गडो खेत हो । तमसुक सद्दे हो भन्ने वादीको साक्षी रंगे दमाइले वन्दसवालद्वारा गरेको वकपत्र ।
१७. प्रस्तुत फिराद लेनदेन व्यवहारको ४० नं. को हदम्याद दुई वर्षभित्र दायर भएको नदेखिंदा तथ्य भित्र प्रवेश गरी निर्णय गर्नुपर्ने अवस्था नदेखिंदा अ.वं. १८० नं. वमोजिम खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत दिपायल डोटीबाट मिति २०५१।१०।३।३ मा भएको फैसला ।
१८. हदम्याद भित्रको मेरो फिराद दावी छंदा छदै हदम्याद नघाइएको भनी अ.वं. १८० नं. वमोजिम खारेजी फैसला गरेको पनुरावेदन अदालत दिपायलको फैसला गैर कानूनी भएकोले सो फैसला वदर गरी दावी वमोजिम हक इन्साफ गरी पाउं भन्ने समेत व्यहोराको वादीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
१९. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको पुनरावेदन सहितको सम्पूर्ण मिसिल अध्ययन गरी पुनरावेदन अदालत दिपायलले मिति २०५१।१०।३ मा गरेको फैसला मिले नमिलेको के रहेछ ? सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
२०. यसमा प्रतिवादी शेर बहादुर शाहका नाउंको कि.नं. ११६ को चा.मा.मु. १०। तिरो रु. ४।५० लाग्ने जयागडी खेत जग्गा मिति २०३५।१।१७ मा रु. ६,०००। मा माल कार्यालयमा गै प्रतिवादीबाट पारित लिएकोमा सोही जग्गा मिति २०३५।१२।८ मा निजै प्रतिवादी ऋणि भै धितोका लागि कृषि विकास बैंकमा राखी कृषि विकास बैंक समेतबाट उक्त जग्गा धितोमा लिई माल कार्यालय मार्तडीमा रोक्का राख्न पठाई माल कार्यालय मार्तडिले समेत रवक्का राखी दिएको कुरा मिति २०४९।११।२५ मा नक्कल लिंदा थाहा पाएकोले नक्कल लिएको ३५ दिन भित्र लेनदेन व्यवहारको ४० नं. नागरिक अधिकार ऐन, २०१२ को दफा १९ एवं मुलुकी ऐन अदालती वन्दोवस्तको ३६ नं. वमोजिम फिराद गर्न आएको छु भन्ने फिराद दावी र वादीले प्रतिवादीबाट उल्लेखित जग्गा लिखत पारित गराई लिएको भएतापनि नापजांच नभएको कारण मोठमा साविक जग्गावालाको नाम रही रहेको कारणबाट कृषि विकास बैंकबाट रोक्का राखिदिने भन्ने उल्लेख भै आए अनुसार रोक्का गरिएको भन्ने माल कार्यालयको धितो लिंदाका वखत विवादित जग्गा प्रतिवादी शेर बहादुरकै नाममा हकभोग रहनुको साथै जग्गाको स्थलगत निरीक्षण गर्दा समेत विपक्षीबाट कुनै वाधा विरोध नआएको कारण उक्त जग्गा धितोमा स्वीकारी मालमा रोक्का राख्न पठाई रोक्का पश्चात ऋण प्रदान गरिएको भन्ने कृषि विकास बैंक बाजुरा मार्तडीको तर्फबाट र उक्त विवादित जग्गा वादीले मेरा बावु शेर बहादुर शाहसंगबाट वन्धकी लिने भनी जालसाजपूर्ण तवरले राजिनामा पारित गराएका हुन र उक्त जग्गा वादीको भएको भए मौकैमा नामसारी हकभोग गर्नु पर्नेमा सो नगरी हाल १५ वर्ष पछि आएर मेरो बावु शेर बहादुर शाहको मृत्यु पश्चात फिराद गरेकोले उक्त जालसाजी गरे उपर सजायमा हुनु पर्दछ भन्ने समेत अ.वं. १३९ नं. वमोजिम बुझिएका प्रतिवादी शेर बहादुर शाहका छोरा शंकर बहादुर शाहको वयानबाट देखिएको प्रस्तुत मुद्दामा निर्णय तर्फ विचार गरी हेरिंदा वादी तिलक बहादुर शाहलाई प्रतिवादी शेर बहादुर शाहले लिखत गरी राजिनामा गरी दिएको जग्गा पुनः निज प्रतिवादी शेर बहादुरले नै सोही जग्गा कृषि विकास बैंक बाजुरा मार्तडीमा धितोमा राखी कृषि विकास बैंकको पत्रानुसार माल कार्यालय, बाजुरा मार्तडीबाट रोक्का रहेको जग्गा फुकुवा गरी पाउं भनी लेनदेन व्यवहारको ४० नं. रोक्का पत्र सारेको मितिले थाहा पाएको ३५ दिन नागरिक अधिकार ऐन, २०१२ को दफा १९ एवं मुलुकी ऐन अ.वं. ३६ नं. को आधारमा दिएको फिरादका सम्बन्धमा पुनरावेदन अदालत दिपायलबाट मिति २०५१।१०।३।३ मा फैसला गर्दा फिरादीले दावी लिंदाका वखत उल्लेख गरेको मुलुकी ऐन लेनदेन व्यवहारको ४० नं. वमोजिम भए गरेको मितिले २ वर्ष भित्र नालेस गर्नु पर्नेमा सो नगरी २०५०।१।१० मा मात्र प्रस्तुत फिराद परेको देखिंदा फिरादवाला स्वयंले स्वीकार गरेको लेनदेन व्यवहारको ४० नं. वमोजिमको हदम्याद भित्रको प्रस्तुत फिराद नदेखिंदा मुद्दाको तथ्य भित्रै प्रवेश गर्न पर्ने नहुंदा अ.वं. १८० नं. वमोझिम खारेज हुने ठहर्छ भनी पुनरावेदन अदालत दिपायलले मिति २०५१।१०।३ मा गरेको फैसला मनासिवैं हुंदा सो फैसला कुनै परिवर्तन गरी रहनु पर्ने स्थिति नदेखिंइ सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदक तारेखमा नरहेको हुंदा फैसलाको जानकारी पुनरावेदकलाई दिई मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा हामी सहमत छौं ।
माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल
इति सम्बत् २०५४ साल कार्तिक १८ गते रोज २ शुभम् ------