निर्णय नं. ६५२० - लिखत वदर

निर्णय नं. ६५२० २०५५, ने.का.प. अङ्क ३
पूर्ण इजलास
माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
संवत् २०५१ सालको दे.पु.इ.नं. -५९
फैसला मितिः- २०५४।९।१८।६
मुद्दाः- लिखत वदर ।
पुनरावेदक/ वादीः का.जि.का.न.पा. वडा नं. ७ चावहिल डेरा गरी बस्ने मुरारी प्रसाद शर्माको मु.स. गर्ने ऐ.ऐ. बस्ने गिता देवी रिमाल समेत जम्मा २ ।
विरुद्ध
विपक्षी/प्रतिवादीः का.ज.भगवान स्थान गा.पं. वडा नं. ७ वस्ने भुवनमान शाक्यको मु.स. गर्ने मसिन माया शाक्य ।
§ मिति २०३३।९।२ मा विवादको लिखत भएको देखिन्छ । सो लिखत हुंदाका वखत वहाल रहेको लेनदेन व्यवहारको १० नं. मा “आफूले आर्जेको भए संग वस्नेको मन्जुरी लिनु पर्दैन” भन्ने उल्लेख भएको पाइन्छ । प्रतिवादीको दाता नन्दन प्रसादले मिति २०२५।१२।१८ मा विवादित जग्गा राजिनामा गरि लिएको देखिन्छ । यसरी नन्दन प्रसादले राजिनामा गरि लिएको हुंदा निजको पालाको आर्जन भन्ने देखिन्छ । फिरादपत्रको प्रकरण २ मा वादी मध्येकी राधा देवी शिक्षिका भै र मुरारी प्रसाद कर्मचारी भएकाले वाहिर वस्ने गरेको भन्ने उल्लेख भएको हुंदा उक्त जग्गा वादीहरुले आर्जेको भन्न नमिल्ने देखिन्छ । वाल कुमारीलाई २०२४।५।३० मा यिनै दाता नन्दन प्रसादले वक्स गरिदिएपछि सो सम्पत्तिको पैतृक स्वरुप समाप्त भएको देखिन्छ । पैतृक सम्पत्तिको रुपमा तत्कालीन समयमा नन्दन प्रसादले वक्स गरिदिंदा यी वादीहरुको उजुर परेको पनि देखिएन । साथै चिन्तन राजलाई मिति २०२४।३।२१ मा कि.नं. ७२ को जग्गा हक छाडी दिंदा पनि यी वादीहरुले उजुर गरेको देखिएन । यसरी प्रतिवादीका दाता नन्दन प्रसादले घरको व्यवहार गरी आएको देखिन आएको अवस्था समेत हुंदा निजले तत्काल प्रचलित कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा लिखत गरी लिनुदिनु गरेको देखिंदा वादीहरुको मन्जुरी लिई रहनु पर्ने अनिवार्यता नदेखिने ।
(प्र.नं. २०)
पुनरावेदक वादी तर्फबाटः- विद्वान अधिवक्ता श्री हरिहर दाहाल
विपक्षी प्रतिवादी तर्फबाटः- विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुद रेग्मी र विद्वान अधिवक्ता श्री पिताम्वर सिलवाल
अवलम्वित नजिरः-
फैसला
न्या. लक्ष्मण प्रसाद अर्यालः सर्वोच्च अदालत पूर्ण इजलासको फैसला उपर विन्तिपत्र परी यस अदालतवाट इन्साफ जांचको लागि निस्सा प्रदान भई यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं निर्णय यस प्रकार छः-
२. विपक्षी मध्येका नन्दन प्रसाद, मुरारी प्रसादको शाख्यै भाई र राधादेवीका देवर हुनुहुन्छ । हामीहरुका पिता तथा ससुरा २०२३ साल चैत्र ६ गते स्वर्गे हुनु भएवाट आमा सूर्य कुमारी र वहांका जेठो छोराको विधवा वुहारी राधादेवी, मुरारी प्रसाद र नन्दन प्रसाद समेत जम्मा ४ अंशियार जीवित छौं । राधादेवी विधवा भएकी र सन्तान समेत केहि नहुंदा का.जि. चिकमूंगल डेरा गरी स्कूलको शिक्षिका भै धेरै वर्ष देखिन घरवाट अलग वस्ने गरी आएको, मुरारी प्रसाद नोकरीको सिलसिलामा विराटनगर, गोर्खा खटि गएकोले, वाहिर जिल्ला तिर वस्नु परेको, उपत्यकामा नै वसेका अवस्थामा पनि जहान परिवार नमिल्नाको कारण म घर वाहिरै डेरा गरी आएकोले घरमा विपक्षी भाई, आमा पिताजी वस्ने गरी आएको, पिताजी परलोक भएपछि आमा सूर्य कुमारी र नन्दन प्रसाद मात्र घरमा वस्ने गरी आएका थियौं । हामी अंशियारका बीच अंशवण्डा भएको छैन । म मुरारी तथा राधादेवी समेतको हक लाग्ने साविक भगवान स्थान गा.पं. वा.नं. २ को हाल का.न.पं. वा.नं. ७ मा पर्ते भुरुङखेल टोलको पश्चिम भाईका नामा खरिद गरेको बगैचामा विपक्षी मध्येका भुवनराज शाक्यले मानिस लगाई जग खन्न लागेको भन्ने थाहा पाई म साविक वा.नं. ८ पर्ने ज्यापुटोलको वहालको घरवाट हेर्न जांदा साच्चिकै सो घर वगैचा खन्न लागेको रहेछन, सो घरमा आमा भाई समेतलाई नदेखी वहाहरु कहां जानु भयो भनी नजिकै छिमेकमा सोध्दा यो घर शाक्यजीलाई तपाईका भाई आमाले राजिनामा गरि दिनु भयो भन्ने समेत जवाफ पाएको । शाक्यजीलाई मेरो समेत हक लाग्ने घर जग्गा कसरी लिनु भयो भन्दा भाईका नाउंमा दर्ता नामसारी भएको जग्गा र घर आमा साक्षी राखि लिएको हुं भन्नुभयो । मेरो मंजुर वेगर तपाईहरुले मात्र घर वेचि रुपैया लिई कतिमा कहिले वेच्नु भयो भनी आमा र भाइलाई भन्दा २०३३ साल पौष महिनामा बेचेको हो, जम्मा रु. ३९,०००। आएको थियो । त्यो पनि घर खर्च भईसकेको छ, तपाइको र भाउजुको भाग २।४ दिनमा दिउला भनेकोले हप्ता दिन भन्दा वढी पर्खदा हाम्रो भागको रुपैया दिने नियत नगरी विपक्षी भुवनराज शाक्यसंग मिली उजुर गर्ने म्यादै समाप्त गरिदिने नियत गरेवाट भु.प्र. का. काठमाण्डौ आई २०३३ साल पौष महिनाको रजिष्ट्रेशन श्रेस्ता हेर्दा विपक्षीहरुले राजिनामा गरी लिनु दिनु गरेको लिखत पत्ता लगाई २०३४।२।९ गते नक्कल सारी लिई हेर्दा मेरो समेत हक लाग्ने उक्त्त घरजग्गा धनि विपक्षी भुवनराज ऋणी विपक्षी नन्दन प्रसाद भै २०३३।८।२९ मा घरसारको रु.३९,०००। को राजिनामा लेखि आमा समेत साक्षी वसी २०३३ साल पौष २ गतेमा हाम्रो समेत हक लाग्ने घरजग्गा हाम्रो मंजुरी वेगर राजिनामा गरी लिनुदिनु गरेवाट लेनदेन व्यवहारको १० नं. वमोजिम म्याद भित्र फिराद गर्न आएका छौ । २०३३।९।२ मा रजिष्ट्रेशन पास गरी लिनु दिनु गरेको राजिनामको ४ खण्डको २ खण्ड हाम्रो भाग जति वदर गरी पाउं भन्ने समेतको संयुक्त फिरादपत्र ।
३. वादीहरु सूर्य कुमारी मर्नु भन्दा अगाडि नै मानो छुट्टी अलग भै वसेको, नन्दन प्रसाद र निजको आमा सगोलमा वसी आएको भन्ने कुरा वादी दावीवाटै देखिन आउछ । नन्दन प्रसादसंग निजको आमा साक्षी राखी रु. ३९,०००। मा २०३३।९।२।५ मा रजिष्ट्रेशन पारित गरी लिएको घरजग्गा नन्दन प्रसादले २०२५ साल चैत्र ११ गते रोज २ मा घरसारमा र २०२५।१२।२८ मा का.प.जि. चावहिल भगवान वहाल वस्ने वालकुमारी खनालसंग लिखतमा लेखिएका ४ किल्ला भित्रको श्री पशुपति अमालकोट कचहरी कार्यालयमा दर्ता भएको भुवहालको रु. १।५८ तिर्नुपर्ने भुठाखोला जग्गा लम्वाई हात १९ गज हात, १२ को जग्गामा वनेको का.जि. चावहिलको भुइतले घर समेत फार्छे राजिनामा गरी लिई निजको आफ्नै आर्जनबाट खरिद गरी लिई आज सम्म वसी भोगी आई २०२६ सालमै आफ्नो नाउंमा सो कचहरी कार्यालयमा दर्ता गरी भोगी आएको घरजग्गा राजिनामा फार्छे गरी दिएको हो, निज वादीहरु पहिले नै मानो छुट्टी अंशवण्डा भै सकेको त्यसरी पहिले नै निजहरुको वावु नपर्दै पहिले देखिनै मानो छुट्टि सकेपछि नन्दन प्रसादले आफ्नो आर्जनवाट किनेको घरजग्गा लेनदेन व्यवहारको ८ नं. र अंशवण्डाको १९ नं. ले र १८ नं. ले वेच विखन गर्न पाउने हुंदा र असामी नन्दन प्रसादले रु. २०,०००। मा पशुपति अमालकोट कचहरीमा भुवहाल रु.३। तिर्नुपर्ने मध्येको रु.२। तिर्नुपर्ने जग्गा जग्गा र घर समेत २०२४।३।३१ मा रजिष्ट्रेशन पास गरी का.वि. जुद्धसडक वस्ने चिन्तनराज पाण्डेलाई विक्री गरेकोमा र अर्को भुवहाल रु. १। तिर्ने वाल कुमारीलाई २०२४।५।२० मा वक्सपत्र दिएको कुरामा हामीहरुको समेत हक लाग्ने हुंदा सो वक्सपत्र विक्री गरेको कुरा वदर हुनुपर्छ भन्ने यी वादीहरुको उजुर छैन, निजहरु पहिलेदेखि नै मानो छुट्टि अंश लिई सकेको भन्ने कुरा देखिन आउने प्रष्टै छ । त्यसो हुंदा नन्दन प्रसादले आफ्नो आर्जनबाट किनी विक्री गरेको हुंदा र निज वादीहरु सगोलमा रहे वसेको नभै पहिले नै मानो छुट्टी अलग भै वसी सकेको व्यक्ति हुंदा लेनदेन व्यवहारको १० नं. नलाग्ने ऐन लगाई फिराद गरेकोले वादी दावी खारेज गरी पाउं भन्ने समेत प्रतिवादी भुवनराजको प्रतिउत्तर ।
४. प्रतिवादी मध्येका अर्को नन्दन प्रसादले म्यादै गुजारी प्रतिउत्तर नदिई बसेका, वादी प्रतिवादी दुवैका साक्षीहरुको आ आफ्नो मिलानको वकपत्र ।
५. यिनै वादीहरुले यिनै प्रतिवादी नन्दन प्रसाद र वालकुमारी उपर रहि जग्गा सम्वन्धमा २०२४।५।२० र २०२५।१२।१८ मा गरेको लिखत उपर जालसाजी मुद्दा दायर गरेकोमा सो लिखतहरु उपरको उजुरी म्याद भित्रको नभै सो मुद्दा खारेज भै फैसला भएकोले यो वादी दावी वमोजिमको जग्गा २०२५।१२।१८ मा वालकुमारीवाट प्रतिवादी नन्दन प्रसादले खरिद गरेको देखिंदा यस्तो आफ्नो आर्जनको जग्गा विक्री गर्न अरुको मन्जुरी लिनु नपर्ने कुरा लेनदेन व्यवहारको १० नं. मा उल्लेख भै रहेकोले यस्नोमा वादीहरुको मन्जुरी लिनु पर्ने अवस्था नदेखिदा प्रतिवादी नन्दन प्रसादले विक्री गरेको सदरै हुने हुंदा उक्त लिखत वदर गरी पाउं भन्ने दावी झूट्टा ठहर्छ भन्ने समेतको शुरु काठमाण्डौ जिल्ला अदालतको फैसला ।
६. का.जि.अ.को फैसलामा चित्त वुझेन भन्ने समेतको वादीको म.क्षे.अ.मा पुनरावेदन परेको ।
७. अ.वं. २०२ नं. वमोजिम प्रतिवादीलाई झिकाई पेश गर्ने भन्ने समेतको म.क्षे.अ.को आदेश ।
८. वादी दावी वमोजिम ४ खण्डको २ खण्ड लिखत वदर हुने ठहर्छ भन्ने समेत म.क्षे.अ. को फैसला ।
९. म.क्षे.अ.को फैसला उपर इन्साफ जांच गरी पाउं भन्ने प्रतिवादी भुवनराजको श्री ५ महाराजाधिराज सरकारको जुनाफमा विन्तिपत्र परेकोमा यो विन्तिपत्र जाहेर हुंदा यसमा वेहोरा जांचो भए यसमा लेखिएको मध्यमान्चल क्षेत्रीय अदालतवाट छिनिएको मुद्दाको मिसिल झिकाई इन्साफ जांची कानून वमोजिम गर्नु र निवेदकलाई सो को जनाउ दिनु भन्ने श्री ५ महाराजाधिराजवाट हुकुम वक्सेको छ भनी मौसूफ सरकारको विशेष जाहेरी विभागवाट लेखी आए वमोजिम देवानी विविधमा दर्ता भई संयुक्त इजलास समक्ष पेश हुंदा अ.वं. २०२ नं. वमोजिम झगडिया झिकाउने भन्ने एक जना माननीय न्यायाधीशको राय भई पूर्ण इजलासमा पेश भएकोमा झ.झि. गर्ने गरी आदेश भएको रहेछ ।
१०. वादीहरु मुरारी प्रसाद र राधादेवी तथा प्रतिवादी नन्दन प्रसादले विवाहित दिदी वालकुमारीलाई २०२४।५।२० गते हालै देखिको वक्सपत्र गरिदिएको र वालकुमारीवाट सोही घरजग्गा नन्दन प्रसादले २०२५।१२।१९ मा राजिनामा पारित गराई लिएको देखिन्छ । यसवाट नन्दन प्रसादले आफ्नो नीजि आर्जनवाट सो घरजग्गा खरिद गरेको भन्ने स्थिति देखिदैन । लेनदेन व्यवहारको १० नं. वमोजिम संगालको अचल सम्पत्ति वेच विखन गर्दा एकाघर संगका अंशियार सबै साक्षी वसेका वा निजहरुको मंजुरीको लिखत गरिदिएको नभएमा रजिष्ट्रेशन भएको मितिले १ वर्ष सम्म थाहा पाएको ३५ दिनभित्र उजुर गर्यो भन्ने निजको हकजति सो सम्पत्ति निजलाई फिर्ता दिनुपर्छ भन्ने व्यवस्था भएको पाइन्छ । अतः वादी दावी वमोजिमको मिति २०३३।९।२ को लिखतमा लेखिएको घरजग्गाको ४ खण्डको २ खण्ड लिखत वदर हुने ठहर्याएको म.क्षे.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने समेत मा.न्या. श्री पृथ्वी वहादुर सिंहको राय रहेछ ।
११. नन्दन प्रसादको नाउंमा दा.खा. समेत भएको कि.नं. ७२ मध्येको केही जग्गा निजले मिति २०२४।३।२१ मा चिन्तनराजलाई र वांकी रहेको जग्गा २०२४।५।३० मा हालै देखिको वक्सपत्र गरी दिई सोही आधारमा वालकुमारीको हक कायम भएको तथा निजले मिति २०२५।१२।१८ मा नन्दन प्रसादलाई नै राजिनामा गरी दिएको देखिन्छ । सो जग्गामा आफु समेतको हक लाग्ने भए वालकुमारीले वक्स गरी लिएकै अवस्थामा कानूनको म्यादभित्र उजुर दिई आफ्नो हक जति वदर गराउन सक्नुपर्ने थियो, सो वमोजिम गराई लिन सकेको पाइन्न । यसरी हालैको वकसपत्र तथा दा.खा. समेत गराई लिने वालकुमारीको हक पक्का भै सकेको देखिन्छ । नन्दन प्रसादले वालकुमारी लाई हालै देखिको वकसपत्र गरी दिएको र वालकुमारीले यिनै नन्दन प्रसादलाई राजिनामा गरी दिएकोमा जालसाजी गरे भनी दावी लिई चलेको मुद्दामा वादी दावी खारेज हुने ठहर्याई मा.क्षे.अ. वाट फैसला भै अन्तिम रुपमा रहेको समेतबाट सो लिखतहरु कायमै रहेको मान्नु पर्ने हुन आयो । यस अवस्थामा वादी दावी नपुग्ने ठहर्याएको शुरु जिल्ला अदालतको इन्साफ मनासिव भै म.क्षे.अ. को इन्साफ गल्ती ठहर्छ भन्ने समेत मा.न्या. हिरणेश्वरमान प्रधानको राय रहेछ ।
१२. यसमा वावु मदन मोहन रिमालका नाउंमा दर्ताका जग्गा वावुकै पालामा कि.नं. ७१ र ७२ कायम गरी कि.नं. ७१ मुरारी प्रसाद शर्मा रिमाल र कि.नं. ७२ नन्दन प्रसाद शर्मा रिमालको नाउंमा नापी भै निजहरुकै नाउंमा दा.खा. समेत भै कि.नं. ७२ मध्ये केही जग्गा नन्दन प्रसादले २०२४।३।२१ मा चिन्तन राजलाई र वांकी जग्गा २०२४।५।३० मा बालकुमारी खनाललाई वक्सपत्र गरी दिएको देखिन्छ । सोही जग्गा मिति २०२५।१२।१८ मा बालकुमारीले नन्दन प्रसादलाई राजिनामा गरि दिएको र नन्दन प्रसादले मिति २०३३।०।२ मा भुवनराज शाक्यलाई राजिनामा पास गरि दिएको मिसिल सामेल रहेको राजिनामा लिखतवाट देखिन्छ । हाम्रो समेत हक लाग्ने जग्गा हाम्रो मंजुरी वेगर नन्दन प्रसादले भुवनराजलाई राजिनामा पास गरिदिएकोले हाम्रो हक जति लेनदेन व्यवहारको १० नं. वमोजिम वदर गरी पाउं भन्ने फिराद दावी भएको पाइन्छ । लेनदेन व्यवहारको १० नं. मा अंश नभएका अंशियारले संगोलको चल अचल सम्पत्ति बेचविखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफुखुसी गर्न पाउने, अरुको मंजुरी लिनु नपर्नेमा वाहेक अरुमा एकाघरसंगका अंशियार सवै साक्षी वसेको वा निजहरुले मंजुरीको लिखत गरी दिएको भए मात्र पक्का ठहर्छ । साक्षी पनि नवसेको र मंजुरको लिखत पनि नभए मंजुरी नहुनेले रजिष्ट्रेशन भएको मितिले एक वर्षसम्म थाहा पाएको ३५ दिन भित्र उजुर गर्यो र निजको मंजुरी ठहरिएन भने निजको हक जति सो सम्पत्ति निजलाई फिर्ता गराई दिनुपर्दछ भन्ने उल्लेख भएको पाइन्छ । वादी दावी वमोजिम विवादित घरजग्गामा वादी समेतका हक लाग्ने भए नन्दन प्रसादले बालकुमारीलाई र चिन्तनराजलाई हक छाडी दिएकै अवस्थामा लेनदेन व्यवहारको १० नं. वमोजिम नालेश उजुर गरी आफ्नो हक जति वदर गराउन सक्नु पर्ने, सो वमोजिम गराई लिएको देखिन नआएवाट उक्त सम्पत्तिमा बालकुमारीको हक पक्का भैसकेको मान्नु पर्ने हुन्छ । यसरी नन्दन प्रसादले बालकुमारीलाई दिएको मिति २०२४।५।३० को लिखत वदर तर्फ कारवाही नगरी सो लिखत अनुसार वालकुमारीको हक पक्का भै राजिनामा सदर कायम रहेको अवस्थामा नै लेनदेन व्यवहारको १० नं. वमोजिम लिखत वदर तर्फ यी वादीहरुको नालेश उजुर गर्न सक्ने अधिकार समाप्त भैसकेको छ । अर्कोतर्फ नन्दन प्रसादले वालकुमारीलाई वक्सपत्र गरी दिएको वालकुमारीले पुनः नन्दन प्रसादलाई नै हक छाडी दिई हाम्रो हक मेट्ने गरी जालसाजी गर्यो भनी यी वादीहरुले नन्दन ठहर्याई म.क्षे.अ. वाट मिति २०३७।११।३० मा फैसला भै अन्तिम भै वसेबाट सो लिखतहरु सदर कायम रही रहेको देखियो । अतः माथि उल्लेख गरिए वमोजिम विवादित जग्गामा वादीको हक कायम रहेको नदेखिंदा वादी दावी पुग्न नसक्ने ठहर्याएको शुरु का.जि.अ. तथा म.क्षे.अ.को इन्साफलाई ठीक ठहर्याएको सर्वोच्च अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री हिरण्यशवरमान प्रधानका राय मनासिव देखिंदा सोही सदर हुने ठहर्छ भन्ने समेत सर्वोच्च अदालत पूर्ण इजलासको फैसला ।
१३. उल्लेखित स.अ.को फैसलामा चित्त वुझेन । मुलुकी ऐनको २०३४।९।२७ को संशोधन पूर्वको सम्पत्तिमा नीजि आर्जनको भन्ने सवाल उठ्न सक्दैन फलतः लेनदेन व्यवहारको १० नं. र अंशवण्डाको १८ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ६(क) को प्रत्यक्षतः त्रुटि भएको छ ।
१४. जहांसम्म वावु मदन मोहन रिमालका नाउं दर्ताको जग्गा वावुकै पालामा कि.नं. ७१ र ७२ कायम गरी कि.नं. ७१ मुरारी प्रसाद शर्मा रिमाल र कि.नं. ७२ नन्दन प्रसाद शर्मा रिमालको नाउंमा नापी भै निजहरुकै नाउंमा दा.खा. समेत भएको भन्ने आधार वुंदाको हकमा यथार्थता कुन प्रमाणको आधारमा सम्मानीत पूर्ण इजलासबाट उपयुक्त कुरा व्यक्ति भएको भन्ने कुरा प्रकट हुंदैन, किनकी मुरारी प्रसादको नाउंमा कुनै जग्गा ने दर्ता रहेको छैन । दर्ता नै नरहेकोमा मुरारी प्रसादको नाउंमा कि.नं. ७१ दर्ता रहेको छ भनिनु सर्वथा त्रुटि हो । वस्तुतः कथित कि.नं. ७१ मा हाम्रो भोग चलन पनि छैन ।
१५. यसका अतिरिक्त मदनमोहन रिमालको जेठी वुहारी म विधवा राधादेवी शर्माले संगोलको कुनै सम्पत्ति पाएको छैन भन्ने ज्वलन्त तथ्यलाई पनि दृष्टिपात गरिएको छैन ।
१६. उपर्युक्तानुसार सम्मानित अदालतको निर्णय त्रुटिपूर्ण एवं अन्यायिक भएकोले दोहोर्याई इन्साफ जांची दिनु भन्ने हु.प्र. वक्स पाउं भन्ने समेत व्यहोराको श्री ५ को जुनाफमा मुरारीको मु.स. गर्ने गितादेवी समेतको विन्तिपत्र परी प्रस्तुत मुद्दा यस अदालतमा आएको रहेछ ।
१७. यसमा अंशियार भएमा दुवै थरको मुख मिलेको देखिन्छ । अंशवण्डा तथा मानो छुट्टिएको भन्ने प्रतिवादको समर्थन गर्ने कानून वमोजिमको प्रमाण पेश भएको पाइदैन । संगोलमा रहेको अवस्थामा कुनै अंशियारले आर्जन गरेको सम्पत्ति संगोलको सम्पत्ति हो भन्ने अनुमान गर्नुपर्ने र जालसाजी मुद्दाको फैसलाले हक दिलाई सकिएको भन्ने आधारमा खारेज गरेको सो फैसलाले निवेदकको हकमा असर नपर्ने । संगोलको सम्पत्तिमा सबै अंशियारको भाग लाग्नेमा लेनदेन व्यवहारको १० नं. ले लिखत वदरमा दावी नपुग्ने भन्न नमिल्ने भई इन्साफ नमिलेको देखिएकोले इन्साफ जांचको लागि निस्सा दिइएको छ । विपक्षी र मिसिल समेत झिकाई वृहत पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०५१।७।२५।६ को आदेश ।
१८. नियम वमोजिम पेशी सूचीमा चढी यस इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले वावु मदनमोहनका जेठा छोराको विधवा वुहारी राधा देवी, छोराहरु मुरारी प्रसाद र नन्दन समेत अंशियार भएको कुरामा विवाद छैन । मेरो पक्ष मुरारी प्रसाद र राधादेवीले अंश पाएको अवस्था पनि छैन र उनिहरु शुरु देखि नै जागिरको शिलशिलामा घरवाहिर वसिरहेको अवस्था छ । यस्तो अवस्थामा विपक्षी नन्दन प्रसादले संगोलको सम्पत्ति एकलौटी रुपमा वेचविखन गर्न पाउने हैन । विवादको सम्पत्ति पैतृक सम्पत्ति नभई विपक्षी नन्दन प्रसादको स्वआर्जनको हो भन्ने सम्वन्धमा कुनै स्रोत देखाउन सक्नु भएको छैन । मुलुकी ऐनको २०३४ को संशोधन पूर्वको सम्पत्तिलाई स्वआर्जनको हो भन्ने मिल्ने पनि होइन । अतः नन्दन प्रसादले विपक्षी भुवनराजसंग मिली २०३३।९।२ मा रजिष्ट्रेशन पास गरी मेरो पक्षको समेत हक लाग्ने घरजग्गा निजको मन्जुरी वेगर लिनुदिनु गरेको राजिनामाको ४ खण्डको २ खण्ड वदर गरिनुपर्दछ भन्ने समेत र विपक्षीको तर्फवाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री पिताम्वर सिलवालले विपक्षी वादीहरु मेरो पक्ष भुवनमानको दाता नन्दन प्रसादसंग नवसी अलग्गै वसेको भन्ने कुरा फिराद लेखबाटै स्वीकार गरेको अवस्था छ । यस्तो अवस्थामा मेरो पक्षको दाता नन्दन प्रसाद र विपक्षीहरु मानो छुट्टीई आ आफ्नो खतिउपति गरिरहेको र दाता नन्दन प्रसाद संग निजको आमा संगोलमा वसी आएको अवस्था छ । यस्तो अवस्थामा नन्दन प्रसादले २०२५।१२।२८ मा वालकुमारी खनालवाट फार्छे राजिनामा गरी लिएको जग्गालाई स्वआर्जनको जग्गा नभनेर के भन्ने ? त्यसमा पनि उक्त जग्गा भुवनराजलाई दिंदा एकाघर संगवस्ने नन्दन प्रसादको आमालाई साक्षी राखेको अवस्था छ । यही जग्गानै २०२४।५।३० मा वकसपत्र गरी यिनै नन्दन प्रसादले वालकुमारीलाई दिएको कुरामा कुनै आपत्ति छैन तर त्यसपछि वालकुमारीवाट २०२५।१२।१८ मा दाता नन्दन प्रसादले लिई २०३३।९।२।५ मा भुवनराजलाई दिंदा आपत्ति किन ? अतः उल्लेखित अवस्था हुंदा नन्दन प्रसादले आफ्नो स्वआर्जनको सम्पत्ति भुवनराजलाई हक छाडी दिएको हुंदा त्यसमा विपक्षीको हक लाग्ने होइन तसर्थ विपक्षी माग वमोजिम लिखत वदर हुनुपर्ने होइन भन्ने समेत व्यहोराको वक्स प्रस्तुत गर्नुभयो ।
१९. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा उल्लेखित वहस तथा प्राप्त मिसिल अध्ययन गरी हेर्दा सर्वोच्च अदालत पूर्ण इजलासको मिति २०४६।९।२५।३ को फैसला मिलेको छ, छैन ? त्यसमा पनि निर्णय दिनु पर्ने देखिन आयो ।
२०. यसमा २०३३।९।२ मा विवादको लिखत भएको देखिन्छ । सो लिखत हुंदाका वखत वहाल रहेको लेनदेन व्यवहारको १० नं. मा “आफूले आर्जेको भए संग वस्नेको मन्जुरी लिनु पर्दैन” भन्ने उल्लेख भएको पाइन्छ । प्रतिवादीको दाता नन्दन प्रसादले राजिनामा गरि लिएको हुंदा निजको पालाको आर्जन भन्ने देखिन्छ । फिरादपत्रको प्रकरण २ मा वादी मध्येकी राधा देवी शिक्षिका भै र मुरारी प्रसाद कर्मचारी भएकाले वाहिर वस्ने गरेको भन्ने उल्लेख भएको हुंदा उक्त जग्गा वादीहरुले आर्जेको भन्न नमिल्ने देखिन्छ । वाल कुमारीलाई २०२४।५।३० मा यिनै दाता नन्दन प्रसादले वक्स गरिदिएपछि सो सम्पत्तिको पैतृक सम्पत्तिको रुपमा तत्कालीन समयमा नन्दन प्रसादले वक्स गरिदिंदा यी वादीहरुको उजुर परेको पनि देखिएन । साथै चिन्तन राजलाई मिति २०२४।३।२१ मा कि.नं. ७२ को जग्गा हक छाडी दिंदा पनि यी वादीहरुले उजुर गरेको देखिएन । यसरी प्रतिवादीका दता नन्दन प्रसादले घरको व्यवहार गरी आएको देखिन आएको अवस्था समेत हुंदा निजले तत्काल प्रचलित कानूनी व्यवस्थाको परिप्रेक्ष्यमा लिखत गरि लिनुदिनु गरेको देखिंदा वादीहरुको मन्जुरी लिई रहनु पर्ने अनिवार्यता देखिएन ।
२१. यसरी उपरोक्तानुसार उल्लेखित तथ्य एवं विवरणवाट प्रतिवादी भुवनराज शाक्यलाई दाता नन्दन प्रसादले मिति २०३३।९।२ मा राजिनामा गरिदिंदा वादीहरुको मन्जुरी लिई रहनुपर्ने कानूनी अनिवार्यता नदेखिंदा २०४६।९।२५ को यस अदालतपूर्ण इजलासको फैसला मिलेको देखिंदा मुनासिव ठहर्छ । मिसिल नियमानुसार गर्नु ।
उक्त रायमा हामी सहमत छौं ।
माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
इति सम्बत् २०५४ साल पौष १८ गते रोज ६ शुभम् ------