निर्णय नं. ६५२२ - लुटपिट

निर्णय नं. ६५२२ २०५५, ने.का.प. अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
माननीय न्यायाधीश श्री टोप वहादुर सिंह
संवत् २०५२ सालको फौ.पु.नं. -११४३
आदेश मितिः- २०५४।४।२९।४
मुद्दाः- लुटपिट ।
पुनरावेदक/वादीः जिल्ला सिन्धुली लाम्पन्टार गा.वि.स. वडा नं. २ बस्ने सुर्य प्रसाद तिमल्सिना ।
विरुद्ध
विपक्षी/प्रतिवादीः जिल्ला सिन्धुली हतपते गा.वि.स. वडा नं. ८ बस्ने रंगलाल अधिकारी ।
§ वादीकै साक्षीहरुले लुटपिटको वारदातको समयका सम्वन्धमा फरक फरक कुरा उल्लेख गरी वकपत्र गरेका र यो यस्ले यो व्यहोराबाट लुटपिट गरी लगेको भनी स्पष्ट भन्न नसकेको अवस्था मिसिल संलग्न साक्षीहरुको वकपत्रबाट समेत देखिन्छ । यसरी वादीकै साक्षीहरुले वारदातको समय र सहभागिताका वारेमा एकिनका साथ स्पष्ट प्रमाणित हुने गरी भन्न लेखाउन समेत सकेको अवस्था नदेखिएको र पुनरावेदक तर्फबाट तारिख गुजारी वसेको अवस्था समेत देखिएकोले शुरु फैसला उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेकै देखिंदा मनासिव ठहर्ने ।
(प्र.नं. ११)
निवेदक तर्फबाटः-
विपक्षी तर्फबाटः-
अवलम्वित नजिरः-
फैसला
न्या. टोप वहादुर सिंहः पुनरावेदन अदालत, जनकपुरको २०५१।९।२७ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छः-
२. मेरो नाम दर्ताको जि. सिन्धुली आमवोटे गा.वि.स. वार्ड नं. ७(क) कि.नं. २४ को ०-१४-८ जग्गामा पाकेको धान वाली २०४८।७।२६ को राति ९ वजे लठ्ठीले हानी नोक्सान गरी लुटपिट समेत गरेकोले उक्त नोक्सानी भएको १७ मुरी थान दिए थान र निदए प्रति पाथी रु. १५।- ले हुने जम्मा रु. ५१००।- विपक्षीबाट दिलाई भराई लुटपिटको ४ नं. वमोजिम संजाय गरी पाउं भन्ने समेत व्यहोराको फिराद दावी ।
३. उक्त वारदातको मित भन्दा एकदिन अगाडि नै घर गाउं छोडी भारतको मधुवनीमा गई औषधी उपचार गरी उक्त २६ र २७ गते त्यही वसी २९ गते मात्र घर आई पुगेकोले उक्त वारदातमा म संलग्न थिएं भन्ने दावी झुठो भएकोले फुर्सद पाउं भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।
४. उक्त वारदात भएको दिन म दिनानाथको घरमा गएको थिएं । भोलिपल्ट रंगलालले वादीको धान लठ्ठीले हानी नोक्सान पारी दिए भन्ने कुरा सुनेको हुं भन्ने वादीका साक्षी कृष्ण प्रसाद र २०४८।७।२८ गते वादीको धान झारी नोक्सान पारी दिएको छ भनी प्रतिवादी रंगलालले भनेको सुनेको हुं भन्ने वादीकै साक्षी पुष्पलाल २०४८।७।२६ गतेका दिन वेलुका ७ वजे वादीको खेतको धान झारी दिनु भन्नु भयो र वादीलाई सुनाई दिनु भनी राती ८.३० वजे मेरो घरवाट हिड्नु भएको थियो । त्यो कुरा मैले वादीलाई सुनाई दिएको थिएं भन्ने समेत व्यहोराको वादी साक्षी शान्ति प्रसाद मिति २०४८।७।२६ को अं. १ वजे राति दावीको जग्गाको धान नोक्सान पारी दिएको मैले देखेको हुं भन्ने समेत व्यहोराको वादीको साक्षी छविलाल र वाली नोक्सान पारी दिएको मैले देखेको हुं भन्ने समेत व्यहोराको वादीको साक्षी छविलाल र वाली नोक्सान पारी दिए भनी वादी र अन्य २, ४ जना मानिसले भनेको सुनेको हुं भन्ने समेत व्यहोराको वादीको साक्षी दिनानाथको वकपत्र ।
५. मिति २०४८।७।२६ गतेका दिन प्रतिवादी रंगलाल जनकपुर जान्छु भनी हिडेका थिए भन्ने प्रतिवादीका साक्षी नरनाथ, शिवप्रसाद र २०४८।७।२६ का दिन प्र. रंगलाल मेरो घरमा वास वसेको हुंदा वादीको धानवाली नोक्सान पारेको होइन भन्ने प्रतिवादीकै साक्षी गोविन्द प्रसादको वकपत्र ।
६. प्रतिवादीले घटना घटेको समय वाहिर गएको भन्ने जिकिर लिएको भए तापनि त्यसको ठोस प्रमाण दिन नसकेको र निजका साक्षी शिव प्रसाद र नरनाथले गरेको वकपत्रको व्यहोरा प्रतिउत्तरको जिकिरसंग एक आपसमा नमिली एक आपसमा विरोधाभास भएको र अन्यत्र छुं भन्ने कुराको स्वतन्त्र एवं ठोस प्रमाण प्रतावदीले पुर्याउन सकेको मिसिल प्रमाणबाट नदेखिंदा प्रस्तुत मुद्दामा वादी दावी वमोजिम प्रतिवादीले लुटपिट गरेको ठहर्छ भन्ने समेत व्यहोराको सिन्धुली जिल्ला अदालतको फैसला ।
७. प्रतिउत्तर जिकिरलाई मेरो साक्षीहरु समेतबाट समर्थन भएको देखि रहेको अवस्थामा रातको वारदातमा मानिसले मानिस देखि चिन्न नसक्ने अवस्थामा चश्मदिद गवाहको अभावमा वादी दावी अनुसार मैले लुटपिट गरेको ठहराई शुरु सि.जि. वाट भएको फैसला त्रुटिपूर्ण हुंदा इन्साफ उल्टाई पाउं भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, जनकपुरमा परेको पुनरावेदन जिकिर ।
८. फौज्दारी मुद्दामा दावी प्रमाणित गर्ने भार वादीमा हुने सिद्धान्त प्रतिकूल प्रमाणको विवेचना गरी लुटपिट ठहराइएको शुरुको इन्साफ फरक पर्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाउने भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरबाट भएको आदेश ।
९. यसरी लुटपिट गरेको अवस्थामा देखेको हो भन्ने सक्ने वादीका साक्षीको अभावमा प्रतिवादीले वादी दावी वमोजिम लुटपिट गरेको हो रहेछ भनी भन्न सकिने अवस्था भएन । तसर्थ शुरु जिल्ला अदालतले वादी दावी वमोजिम प्रतिवादीहरुले लुटपिट गरेको ठहर गरेको फैसला मिलेको देखिएन । शुरु सिन्धुली जिल्ला अदालतको मिति २०५०।१।२२ को फैसला उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरको फैसला ।
१०. पुनरावेदन अदालत जनकपुरको फैसला त्रुटिपूर्ण हुंदा उक्त फैसला वदर गरी शुरु सिन्धुली जिल्ला अदालतको मिति २०५०।१।२२ को फैसला कायम गरी पाउं भन्ने समेत व्यहोराको यस अदालतमा परेको वादीको पुनरावेदन ।
११. नियमानुसार पेश हुन आएको प्रस्तुत पुनरावेदन सहित मिसिल अध्ययन गरी हेर्दा वादी दावी वमोजिम प्रतिवादीले लुटपिट गरेको ठहर्याएको शुरु जिल्ला अदालतको फैसला उल्टी गरेको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेको छ छैन ? भन्ने विषयमा निर्णय दिनु पर्ने देखिन आयो । निर्णय तर्फ विचार गर्दा यसमा कि.नं. २४ को ०-१४-८ जग्गामा पाकेको धानवाली मित २०४८।७।२६ मा विपक्षीले लुटपिट समेत गरेकोले उक्त नोक्सानी भएको १७ मुरी धान दिए धानै र नदिए प्रति पाथी रु.१५।- ले हुने जम्मा रु.५१००।- विपक्षीबाट दिलाई भराई लुटपिटको ४ नं. वमोजिम संजाय समेतको माग दावी गरी फिराद पर्न आएकोमा प्रतिवादी उक्त अभियोगमा पूर्ण रुपमा इन्कार रहेको पाईन्छ । शुरु जिल्ला अदालतले लुटपिट गरेको ठहराई फैसला गरेकोमा प्रमाणको अभावमा लुटपिट गरेको नठहर्ने भनी पुनरावेदन अदालत जनकपुरको उक्त शुरु फैसला उल्टी गरे उपर वादीको प्रस्तुत पुनरावेदन यस अदालतमा पर्न आएको देखियो । वादीकै साक्षीहरुले लुटपिटको वारदातको समयका सम्वन्धमा फरक फरक कुरा उल्लेख गरी वकपत्र गरेका र यो यस्ले यो व्यहोराबाट लुटपिट गरी लगेको भनी स्पष्ट भन्न नसकेको अवस्था मिसिल संलग्न साक्षीहरुको वकपत्रबाट समेत देखिन्छ । यसरी वादीको साक्षीहरु वारदातको समय र सहभागिताका वारेमा एकिनका साथ स्पष्ट प्रमाणित हुने गरी भन्न लेखाउन समेत सकेको अवस्था नदेखिएको पुनरावेदक तर्फबाट तारीख गुजारी वसेको अवस्था समेत देखिएकोले शुरु फैसला उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत जनकपुरको फैसला मिलेकै देखिंदा मनासिव ठहर्ने । वादीको पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्यायाधीश श्री केदारनाथ उपाध्याय
इति सम्बत् २०५४ साल श्रावण २९ गते रोज ४ शुभम् -----