निर्णय नं. ६५२३ - कर्तव्य ज्यान

निर्णय नं. ६५२३ २०५५, ने.का.प. अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री टोप वहादुर सिंह
संवत् २०५२ सालको फौ.पु.नं. -११२५
फैसला मितिः- २०५४।५।१६।२
मुद्दाः- कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादीः जिल्ला प्युठान उदयपुर कोट गा.वि.स. वडा नं. २ भोडावारी बस्ने चन्द्र वहादुरकी श्रीमती लली सर्केनी।
विरुद्ध
विपक्षी/वादीः सुन्तली सर्केनीको जाहेरीले श्री ५ को सरकार ।
§ प्र. लली सर्केनीले अधिकार प्राप्त अधिकारी समक्ष साविती वयान गरेको देखिए पनि निजको उक्त साविती अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हन नआएको र अदालत समक्ष कसूर अपराध गरेकोमा पूर्ण इन्कार रही वयान गर्ने यी प्रतिवादी लली सर्केनीले नै जाहेरवालीको घरमा आगो लगाई दिएको हो भनी देख्ने कुनै चश्मदिद साक्षी समेत मिसिल प्रमाणबाट देखिन नआएको स्थितिमा ज्यान जस्तो गम्भीर अपारधमा दोषी ठहराउन न्यायसंगत नहुने हुंदा निजले अभियोगबाट सफाइ पाउने ।
(प्र.नं. २०)
पुनरावेदिका प्रतिवादी तर्फबाटः- विद्वान अधिवक्ता श्री केदार गौतम
विपक्षी वादी श्री ५ को सरकार तर्फबाटः- विद्वान सरकारी अधवक्ता श्री नरेन्द्र कुमार पाठक
अवलम्वित नजिरः-
फैसला
न्या. कृष्णजंग रायमाझीः पुनरावेदन अदालत नेपालगंजको मिति २०५१।४।२६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१)(ख) अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदन सहितको मिसिलको संक्षिप्त विवरण यस प्रकार छः-
२. हाम्रो जग्गामा वसेका छौं, हाम्रै भांडा वर्तनमा पकाई खान्छौ भनी नन्द लाली सर्केनी र निजको लोग्ने चन्द्र वहादुर सार्कीले सोही विषयमा काटछौं मार्छौ भनी भन्ने र तिमीहरुको घरमा आगो लगाइ दिन्छौ भनी झै झगडा मारपीट समेत गरी रहने हुंदा मेरो लोग्ने गंगे सार्कीलाई कमाई गर्न २०४७ साल मार्ग महिनामा भारत पठाएको हुं । २०४७।१२।१२ गते सांझ ८।३० वजेको समयमा हामी सवै जहान परिवार घरभित्र खाना खाई रहेको अवस्थामा नन्दहरु र माया चुमी खाना खाई आफ्नो दिदीको घरमा साथ दिन घरबाट आंगनमा निस्कंदा घरको छानामा आगो लागेको देखी रुदै कराउदै घरमा आगो लाग्यो भनेकोले म छोराछोरी लिई वाहिर आई गुहार पुकार गर्दा सासु जैसरा वाहिर निक्लन लाग्दा आगो लागेको छाना शरीरमा खसेको देखी गाउंलेहरुले आगोबाट निकालेर कसले आगो लगायो भनी सोधपुछ गर्दा आगो निभाउने काममा गाउंकै टेक वहादुर सार्की आफ्नो घरबाट आउन लाग्दा आंपको रुख मुनि पोखरी भन्ने ठाउंमा आई पुग्दा लली सर्केनी दगुर्दै घर तर्फ जान लागेको देखेका छौं भनेको हुंदा पुरानो कुरालाई लिएर चन्द्र वहादुर सार्कीले आगो लगाउनमा मुख्य भई बचन दिए अनुसार निज ललीले आगो लगाएको शंका लागि जाहेरी दिन आएको छुं । घरभित्र मानिस छ भन्ने कुरा जानी जानी घरमा आगो लगाई दिएको हुंदा कारवाही गरी पाउं भन्ने सुन्तली सर्केनीको जाहेरी दरखास्त ।
३. कागजपत्रको वाकस निकाल्न गई वाकस लिई वाहिर वलेसीमा निस्कन लाग्दा पालीको पाखा खसी चोलो साडी सल्की आगो निभाउन आएका छिमेकी समेतले कपडा काटी मलाई बचाए । अर्को दिन उपचारको लागि प्युठान अस्पतालमा ल्याए । के कसरी आगो लाग्यो भन्ने सम्वन्धमा माहिली छोरी लली सर्केनी र जुवाई चन्द्र वहादुर सार्की समेतले घरायसी रिट्ठइवीको कारणवाट वेला वेलामा काट्छु मार्छु घरमा आगो समेत लगाई दिन्छु भनी हिड्ने गर्दथे । मेरो भाई टेक वहादुर सार्की घरमा आगो लागेको देखि मेरो घरमा आउनु लाग्दा वाटोमा मेरो छोरी लली आफ्नो घर तर्फ दौडिदै गएको देखेको भन्ने समेत सुनेकोले छोरीले जुवाई चन्द्र वहादुरको सल्लाह र षडयन्त्रबाट आगो लगाई दिएको हुनु पर्छ भन्ने पिडित जैसरा सर्केनीको कागज ।
४. जाहेरवाली सुन्तली सर्केनीसंग ३, ४ वर्ष अघि देखि जग्गा भाडा सम्वन्धमा झै झगडा हुने गर्दथ्यो । २०४७ साल मार्ग महिनामा निजको लोग्ने मेरो सहोदर दाजु गंगे सार्की भारत गएका थिए । दाजु घरमा नभएको मौका छोपी चैत्र १२ गतेको सांझको खाना खाई सकेपछि मेरो लोग्ने चन्द्र वहादुर सार्कीको सल्लाह अनुसार छोरा छोरीलाई सुताई माइती घरमा मानिसहरुलाई मार्ने उद्देश्यले घरबाट सल्लाह लिई ऐ. ८ वजेतिर माइती घरमा गै घरको वाहिर मानिस नभएको देखि घरभित्र को को छन भनी चियो गर्दा जली पिडित भएकी मेरी आमा वहिनी माया समेतले खाना खाई रहेको देखि सोही मौका छोपी सलाइ कोरी घरको पश्चिमतर्फ वालीमा आगो लगाई कसैले देख्छन कि भनी आफ्नो घर जान लाग्दा पोखरी भन्ने ठाउंनिर पुग्दा टेक वहादुर, सार्कीका ३ वावु छोरा आगो निभाउन आउंदा देखेका हुन र निजहरुले पनि मलाई देखेका हुन । २, ३ वर्ष अघि लोग्ने चन्द्र वहादुर र दाजु गंगे विच मारपिट भई वोलचाल आवत जावत थिएन । सोही रिसइवीवाट लोग्ने र मेरो सल्लाहबाट माइती घरमा आगो लगाई दिएको हुं भन्ने लली सर्केनीले प्रहरीमा गरेको वयान ।
५. आगो निभाउने काममा आउन लाग्दा आंप र पिपलको छहारीमा मानिस आएको देखि राती छहारीमा कुन मानिस उभिएको छ भनी भन्दा भाईले ४, ५ पटक वोलाउंदा नवोलेको, ढुंगाले हान्नु पर्यो भन्दा लली सर्केनीले म हुं भनेको र हामी आगो निभाउने काममा गयौं । घर पुरै जली सकेको थियो । जली पिडित भएको फुपूलाई वारीमा कपडाले छोपी राखेका थिए । कसले आगो लगाई दियो भनी गाउंलेहरु सोधपुछ गर्दा ललीलाई वाटोमा भेटेको कुरा हामीले जानकारी गराएका हौं । माइती घरमा आगो लागेको अवस्था घटना स्थलमा नगै आफ्नो घर तउफ लागेको र बाटोमा वोलाउंदा नवोलेको कारणवाट निजले नै आगो लगाएको पूर्ण विश्वास लाग्छ, चन्द्र वहादुर सार्कीले पहिला जाहेरवालीको लोग्ने र घर परिवारलाई काट्छौं मार्छौ भन्थे लोग्नेको सर सल्लाहबाट ललीले आगो लगाएको हुनुपर्छ यी दुवै लोग्ने स्वास्नी खराव चाल चलनका मानिस हुन भन्ने हुकुम वहादुर सार्की, टेक वहादुर सार्की, र सोही मिलानको नम वहादुर सार्कीले कागज गरेको ।
६. मेरो छोरा वुहारीले ३, ४ वर्ष अघि वनमा घांस काट्न गएकी अवस्थामा नाकमा लगाएको फुली सुनको हराईछिन । सो फुली सुन्तली सर्केनीले फेला पारेकी छन भन्ने थाहा पाई फुली माग्न जांदा नदिएको हुंदा झै झगडा परी मारपिट समेत भएको थियो । सोही रिसइवी साधन गर्ने विचारले श्रीमती लली सर्केनीसंग कसैले थाहा नपाउने गरी आगो लगाई दिनु पर्ट भनी सर सल्लाह गरेका थिए । मिति २०४७।१२।१२ गते सांझ खानपीन गरी श्रीमतीलाई गंगै भारतमा गएको छ आगो लगाई देउ भनी मैले भनेपछि निजले सो कुरा मानी जेहरवालाको घरमा आगो दिई केही वेरपछि घरमा फर्की गंगेको घरमा सलाई कोरी आगो लगाई दिएं भागी घरतर्फ आउन लाग्दा मानिस दौडेको आवाज सुनी बाटोमा पर्ने पोखरा आंप र पिपलको छायामा लुकी रहेको अवस्था टेक वहादुर सार्की समेतले भेटाएका हुन भनी ललीले म संग कुरा गरेकीले थाहा पाएको हुं । मैले घरमा आगो लगाएको होइन ललीलाई अराई पठाएको हुं भन्ने चन्द्र वहादुर सार्कीले प्रहरीमा गरेको वयान ।
७. मिति २०४७।१२।२३ गते रातीको अं. ३ वजे तिर मेरी आमा जैसरा सर्केनीको महेन्द्र अस्पताल दाङमा उपचार हुंदाहुंदै मृत्यु भएकोले लली सर्केनीलाई मुलुकी ऐन ज्यान सम्वन्धी महल वमोजिम कारवाही गरी जली क्षति भएको धनमाल समेतको विगो भराई पाउं भनी जि.प्र.का. दाङमा माया सर्केनीले दिएको जाहेरी ।
८. जिल्ला प्रहरी कार्यालय दांगबाट भएको घटनास्थल लास जांच प्रकृति मुचुल्का मिसिल सामेल रहेको ।
९. चन्द्र वहादुर सार्कीको मिलेमतोबाट लली सर्केनीले घरमा मानिस छन भन्ने जानीजानी आगोलगाई दिई जैसरा सर्केर्नी जली मृत्यु भएको हुंदा आगो लगाउनेको १ र २ नं. तथा ज्यान सम्वन्धीको १ नं. विपरित अपराध गरेको हुंदा ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम प्र. चन्द्र वहादुर सार्की र लली सर्केनीलाई संजाय भै आगलागीबाट नष्ट भएको विगी रु. ६,१७८।- प्रतिवादीहरुबाट भराई दिन र प्रतिवादी चन्द्र बहादुर सार्की व्लेडद्वारा आफ्नो घांटी सेरी आत्महत्या गर्ने प्रयास गरेकोले प्युठान अस्पतालमा उपचारको लागि पठाएको हुंदा उपचार भै फिर्ता आएपछि प्रस्तुत गरिने हुंदा प्र. लली सर्केनीलाई मिसिल साथ पठाइएको छ भन्ने व्यहोराको प्रहरी प्रतिवेदन माग दावी ।
१०. मिति २०४७।१२।१२ गतेको रात ८ वजेको समयमा म घरैमा छुं । सो रातको ६ वजेतिर छोरा छोरीहरुलाई खुवाई सकेपछि छोरा छोरीहरु सुत्न लागेर ओछयान वनाई छोरा छोरीहरु सुताई मेरो काखेको वच्चा र विरामी छोरा याम वहादुरलाई छेउमा राखी ओछ्यानमा गै रेडियो सुनी वसी राखें, विरामी छोरालाई कौसीमा दिसा वसाली सकेपछि पारीबाट मामा टेक वहादुर कराएको सुनि मेरो घरबाट म सानी आमा खुसलीको घरको वारीमा सासू निमा र वुहारी वारीमा वसेको रहेछन । म पनि त्यहां पुगी मेरो आमाको ३रमा आगलागी भएकोले म वेहोस भएर रुदै कराउदै गरेको थिएं । सानी आमाले नरोउ भनीने र सानीआमा पानी लिएर जाउ भनेर फाल्ने कुरा फाली सक्यौं हामी गएर के गर्न सक्छौं तिम्रो पनि विरामी वच्चा छ मेरो पनि वच्चा छ भोली विहान पानी लिई जाउंला भनेको हुंदा म पनि घरमा आई सुतें । उज्यालो भएपछि आमाको घरमा गै आगो निभाउन लाग्यो । मैले आगो लगाई दिएको होइन, आमा जैसराको मिति २०४७।१२।२३ गते महेन्द्र अस्पताल दांगमा मृत्यु भयो भन्ने जि.प्र.का. प्युठानमा सुनेको हुं । कसले आगो लगाई दिएका हुन मलाई थाहा छैन भन्ने समेत व्यहोराको लली सर्केनीले अदालतमा गरेको वयान ।
११. मेरा जहान केटाकेटी समेत चन्द्र वहादुर वाठा मगर डाक्टर आएकोले टि.टि. को खोप लगाउन भनी गएको थिए । वेलुकी ७ वजेको समयमा म दुर्गा वहादुर सार्की, खिम वहादुर सार्की समेत सिखारी भन्ने ठाउंमा गएका छौं । उल्लेख गरेको मितिमा घरमै नभएको मानिसले आगो लागि गरेको होइन मिति २०४७।१२।१२ गते घरबाट हिंडी ऐ. १३ गते मात्र घरमा आएको हुं । घर आगलागी भई जलेको थियो । कसले आगो लगाई दिएको हो मलाई थाहा छैन । मेरो श्रीमतीलाई प्रहरी हवलदार राम वहादुर समेत भई बलात्कार गर्न खोजी महिला वस्ने प्रहरी हिरासत कोठाको ढोकाको कव्जा छुटेको देखेको र मैले सो कुरा सहन नसकी मलाई सही छाप गर्न लागेको कोठामा टोपाज व्लेड फेला पारेको थिएं । र मैले हामतमा लिई म वस्ने गरेको हिरासत कोठामा आई कोही नभएको अवस्थामा उक्त व्लेडले मेरो घांटी म आफै सेरी आत्महत्या गर्न खोजेको हुं । टेक वहादुर सार्कीको एकनाले भरुवा वन्दुक मैले र खगेश्वर शर्माले वरामद गारई दिएको र प्रहरी थानामा बुझाई दिएको कारणले सोही रिसइवीबाट म उपर नभए नगरेको झुठ्ठा आरोप लगाएका हुन झुठ्ठा आरोपबाट फुर्सद पाउं भन्ने समेत चन्द्र वहादुर सार्कीले अदालतमा गरेको वकपत्र ।
१२. चन्द्र वहादुर वाठा, नर वहादुर वाठा, पूर्ण वहादुर सार्की, जुग वहादुर सार्की, सुन्तली सर्केनी समेतको वकपत्र मिसिल सामेल रहेको ।
१३. वकपत्र समेतका अन्य कागजातबाट प्रमाणित हुन आएको नदेखिएको स्थितिमा सिर्फ शंकाको भरमा दोषी ठहर गर्न न्यायोचित नहुने हुंदा प्र.चन्द्र वहादुर सार्कीले आरोपित कसूर बाट सफाई पाउने ठहर्छ । जैसरा सर्केनीले प्रहरी डोरमा टेक वहादुर सार्की समेतको भनाई उल्लेख गर्दै प्र.लली सर्केनीले आगो लगाएको कुरा उल्लेख गरी कागज गरी दिएको र वारदातको समयमा आफ्नो घरमा छुं भन्ने कुराको समर्थन आफ्नो साक्षी समेतबाट प्रमाणित गराउन नसकेकोले निजलाई जाहेरवालीको विगो भराई मुलुकी ऐन, ज्यान सम्वन्धीको महलको १३(३) नं. वमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहर्छ । जन्मकैदको हदैसम्म सजांय गर्दा बच्चाहरुको भविष्य अन्धारमय हुने भएको कुरा निर्विवाद भएकोले यी प्रतिवादीलाई हदैसम्म सजांय गर्दा चर्को पर्ने देखि ४ वर्ष कैद गर्न मनासिव हुने देखि अ.वं. ११८ नं. वमोजिम राय लेखी निकासाको लागि जाहेर गरेको भन्ने समेत व्यहोराको प्युठान जिल्ला अदालतको फैसला ।
१४. छोरीलाई चन्द्र वहादुर सार्कीको सल्लाह र षडयन्त्रबाट छोरी लली सर्केनीले घरुमा आगो लगाइदिएको हुनुपर्छ भन्ने समेत व्यहोराको पिडित जैसरा सर्केनीले मौकैमा कागज समेत गरी दिएकोबाट शुरुले निज चन्द्र वाहादुरलाई सफाइ दिने गरी भएको फैसला त्रुटीपूर्ण हुंदा वदर गरी पाउं भन्ने समेत व्यहोराको पु.वे.अ. समक्ष परेको श्री ५ को सरकारको पुनरावेदन ।
१५. प्र. चन्द्र वहादुर सार्कीले आरोपित कसूर गरेको भन्ने कुरा पुष्टी हुने शंका सहित सवुद प्रमाणको अभावमा निज प्रतिवादीलाई अभियोगबाट सफाइ दिने ठहराएको र प्र. लली सर्किनीको हकमा निजको अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविति वयान अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भै रहेको देखिन आएको आधारमा निज प्र. लली सर्कीनीलाई ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सर्वश्वसहित जन्मकैद हुने भनी ठहर गरेको समेत शुरु प्युठान जि.अ.को इन्साफ मनासिव ठहर्छ । प्रतिवादीको पारीवारिक स्थिति समेतलाई मध्य नजर राखी निज प्र. लली सर्किनीलाई कैद वर्ष ४ गर्न उपर्युक्त देखिएको भनी शुरु अ.वं. १८८ नं. वमोजिम व्यक्त गरेको राय पनि मनासिव छ । प्रस्तुत मुद्दाको मिसिल साधक सदरको लागि श्री सर्वोच्च अदालतमा पठाउनु भन्ने समेत पुनरावेदन अदालत नेपालगंजको मिति २०५१।४।२६ को फैसला ।
१६. पुनरावेदन अदालत नेपालगंजले शंकाको आधारमा मलाई कसूर दार ठहर्याई गरेको फैसला त्रुटीपूर्ण हुंदा उक्त फैसला वदर गरी अभियोगबाट सफाइ पाउं भन्ने समेत प्र. लली सर्किनीको यस अदालत समक्ष पर्न आएको पुनरावेदन पत्र ।
१८. यसमा प्र. लली सर्किनीको पुनरावेदन परेकै देखिंदा साधकको लगत कट्टा गरी दिएको छ । पु.वे. प्रतिवादी लली सर्किनी कसूर गरेकोमा अदालतमा इन्कार रहेको प्रहरीमा भएको सावितीलाई दृष्टि गर्ने भरपर्दो प्रमाणको अभाव देखिंदा दावीको अभियोग कायम गरी संजाय गरेको पुनरावेदन अदालत नेपालगंजको फैसला नमिली फरक पर्ने देखिंदा अ.वं. २०२ नं. समेत वमोजिम विपक्षी झिकाउनु भन्ने समेत यस अदालतको मिति २०५४।१।२४ को आदेश ।
१८. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी हेर्दा यस्मा पुनरावेदिका प्रतिवादी लली सर्किनीको तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री केदार गौतमले प्र. लली सर्किनीले प्रहरी प्रतिवेदन दावी वमोजिम कसूर गरेको छैन, प्रहरी समक्षको निजको साविती स्वतन्त्र प्रमाणबाट पुष्टि नभएको अवस्थामा कर्तव्य ज्यान जस्तो गम्भिर अपराधमा कसूरदार ठहराई गरेको पु.वे.अ. नेपालगंजको फैसला वदर हुनुपर्छ भन्ने समेत र विपक्षी वादी श्री ५ को सरकार तर्फबाट उपस्थित हुनु भएका सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार पाठकले जाहेरवालीले जाहेरी दरखास्त दिंदा यी प्रतिवादीले घरमा आगो लागाई दिएको भनी नाम उल्लेख गरेको र मौकाको कागजातमा रिसइवी रहेको समेत देखिइएको हुंदा प्रतिवादी लली सर्किनीले घरमा लगाएको आगोको कारणबाट मृतक जैसरा सर्किनीको मृत्यु भएको हुंदा निजलाई प्रहरी प्रतिवेदन माग दावी वमोजिम संजाय हुने ठहराएको फैसला सदर कायम हुनुपर्छ भन्ने समेत वहस प्रस्तुत गर्नुभयो ।
१९. दुवै पक्षको वहस जिकिर समेत सुनी यी प्रतिवादी लली सर्किनीलाई ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहराएको शुरु प्युठान जिल्ला अदालतको निर्णयलाई सदर हुन ठहराएको पुनरावेदन अदालत नेपालगंजको फैसला मिले नमिलेको के रहेछ भनी हेरी निर्णय तर्फ विचार गर्दा यस्मा जाहेरवाली सुन्तली सर्किनीको घरमा चन्द्र वहादुर सार्कीको मिलेमतोबाट लली सर्किनीले मिति २०४७।१२।१२ गतेको राती आगो लगाई दिएको र सोही आगोमा परी सोही पिडाबाट जैसरा सर्किनीको मिति २०४७।१२।२३ गते मृत्यु भएकोले प्रतिवादीहरुलाई ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम संजाय गरी पाउं भन्ने समेत मुख्य प्रहरी प्रतिवेदन माग दावी देखिन्छ । प्रतिवादी मध्येका चन्द्र वहादुर सार्कीले अभियोगबाट सफाइ पाउने ठहरी शुरु जिल्लाः अदालत तथा पुनरावेदन अदालत नेपालगंज समेतका दुई तहबाट फैसला भई सकेको छ । प्रतिवादी मध्येकी लली सर्किनीलाई ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम संजाय हुने ठहर भए उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको जाहेरी दरखास्त हेर्दा घरमा आगो लागेको देखी निभाउन गाउंकै टेक वहादुर सार्की, हुकुम वहादुर र नम वहादुर सार्की आउंदा निजहरुले लली सर्किनी लाई दगुर्दै गरेको देखेको भनेको हुंदा पुरानो रिसइवीले निजै लली सर्किनी ले आगो लगाई दिएकोमा शंका लाग्छ भन्ने मुख्य जाहेरी जिकिर देखिन्छ । वाटोमा लली सर्किनीलाई भेट्ने भनिएका टेक वहादुर, हुकुम वहादुर र नम वहादुर सार्कीले प्रहरी समक्ष कागज गर्दा, चैत्र १२ गतेको राती घरमा आगलागी हुंदा निभाउन भनी जांदा वाटोमा लली सर्किनीलाई भेटेको र निजले मेरो घरमा आउ, मेरो घरको छानो वचाई देउ भनिन्, माइती घरमा आगो लागेको देखेपछि घटनास्थलमा नआएका हुनाले निजैले आगो लगाई दिएको हुनुपर्छ भनी शंकासम्म व्यक्त गरेको देखिन्छ । जाहेरवालीको घरमा आगोलागी भएको कुरामा सर्जमीनका सम्पूर्ण व्यक्तिहरुको मतैक्यता भएतापनि के कसले कसरी आगो लगायो भन्ने सम्वन्धमा सर्जमीनका अधिकांश व्यक्तिहरुले आगो लगाएको आफ्नु आंखाले नदेखेको कारण भन्न सक्तिन भनी लेखाई दिएका छन । सर्जमीनका केही मानिसले टेक वहादुर सार्की समेतले आगो निभाउन जांदा बाटोमा लली सर्किनीलाई भेटयो भनेकोले निज ललीले नै आगो लगाई दिएको हुनुपर्छ भनी यी प्रतिवादीले कसूर गरेकोमा शंका सम्म जनाएका र अदालत समक्ष आई वकपत्र गर्दा समेत सोही कुरालाई पुष्टि गरेका छन ।
२०. जाहेरवाली सुन्तली सर्किनीले अदालत समक्ष वकपत्र गर्दा पनि आगो लगाएकोले देखिन, आगो लगाई लली मेरो घरबाट फर्की जांदा वाटामा टेक वहादुर समेतले भेटेका रहेछन भनी निजहरुको भनाइका आधारमा यी प्रतिवादीलेकसूर गरेको हुनु पर्छ भनी शंकासम्म जाहेर गरेकी छन । यसरी प्रस्तुत मुद्दाको उठान नै टेक वहादुर, नम वहादुर र हुकुम वहादुर समेत तीन जनाले वाटोमा लली सर्किनीलाई भेटेकोले निजले नै आगो लगाई दिएको हुनुपर्छ भनी अनुमानका भरमा व्यक्त गरेको भनाइका आधारमा भएको देखिन्छ भने वादी तर्फका मुख्य गवाहको रुपमा समेत रहेका ती व्यक्ति मध्ये कुनै व्यक्तिले पनि अदालत समक्ष उपस्थित भै आफूले प्रहरी समक्ष गरेको कागजको व्यहोरालाई पुष्टि गर्न सकेको देखिंदैन । प्र. लली सर्किनीले अधिकार प्राप्त अधिकारी समक्ष साविती वयान गरेको देखिए पनि निजको उक्त साविती अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हुन नआएको र अदालत समक्ष कसूर अपराध गरेकोमा पूर्ण इन्कार रही वयान गर्ने यी प्रतिवादी लली सर्किनीले नै जाहेरवालीको घरमा आगो लगाई दिएको हो भनी देख्ने कुनै चश्मदिद साक्षी समेत मिसिल प्रमाणबाट देखिन नआएको स्थितिमा ज्यान जस्तो गम्भिर अपराधमा दोषी ठहराउन न्याय संगत नहुने हुंदा निजले अभियोगबाट सफाई पाउने ठहर्ने ठहर्छ । पुनरावेदन अदालत नेपालगंजले प्र. लली सर्किनीलाई ज्यान सम्वन्धी महलको १३(३) नं. वमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहराएको फैसला मिलेको नदेखिंदा उल्टी हुन्छ । थुनामा रहेकी प्र. लली सर्किनीले आरोपित कसूरबाट सफाई पाउने ठहरेकोले अन्य मुद्दाबाट थुनामा राख्नु नपर्ने भए निजलाई थुनाबाट छाडी दिनु भनी सम्वन्धित कारागारमा छिटो संचार साधनबाट लेखि पठाई दिनु । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्यायाधीश श्री टोप वहादुर सिंह
इति सम्बत् २०५४ साल भाद्र १६ गते रोज २ शुभम् ------