शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५२७ - कर्तव्य ज्यान ।

भाग: ४० साल: २०५५ महिना: असार अंक:

निर्णय नं. ६५२७    ०५५, ने.का.प.      अङ्क ३

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री अरविन्द नाथ आचार्य

माननीय न्यायाधीश श्री उदय राज उपाध्याय

सम्वत २०५३ सालको फौ.पु.नं.–१३५५

संवत् २०५४ सालको साधक नं. :– २१८

फैसला मितिः २०५४।५।२४।३

 

मुद्दाः कर्तव्य ज्यान ।

पुनरावेदीका/प्रतिवादी : पर्वत जिल्ला शंकर पोखरी गा.वि.स. वा.नं. ४ घर भै हाल कारागार शाखा पर्वतमा थुनामा रहेकी सिता कुमारी लामगोदे

बिरुद्ध

प्रत्यर्थी/वादी : दण्डपाणी लामगादेको जाहेरीले श्री ५ को सरकार

 

§  लाठा, ढुंगा र साधारण सानातिना हात हतियारले कूटी हानी रोपी घोची वा अन्य ज्यान मार्ने गैर कुरा गरी ज्व्यान मरेमा संजाय व्यहोर्नु पर्ने गरी ज्यान सम्वन्धीको १३ (३) नम्वरमा कानूनी व्यवस्था गरेको र घाटी अचेटी मार्ने कृया ज्यान मार्ने गैर कुरा भित्र पर्ने हुनाले समेत निज प्रतिवादी सिता कुमारीलाई ज्यान सम्वन्धीको १३(३) नम्वर वमोजिम संजाय गर्ने ठहर्‍याएको पुनरावेदन अदालत वागलुङको फैसला मिलेकै देखिंदा मनासिव ठहर्ने ।

 

प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री लाल वहादुर थापा

बिपक्षी तर्फबाट :

अबलम्वित नजीर :

 

फैसला

न्या. उदयराज उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ र १० अनुसार यस अदालतमा परेको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा निम्न अनुसार छ ।

२. मिति ०५०।९।९ गते विहान ७ वजेको समयमा पर्वत जिल्लाशंकर पोखरी गा.वि. वडा नं. ४ स्थित भिरकुलो भन्ने ठाडो खोल्समिा एकजना मृतक शिशुको पुरुष जाति वच्चाको लाश देखिएकोले घटनास्थल लाश प्रकृति समेत जो जे वुझ्नु पर्ने हो वुझि आवश्यक कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको दण्डपाणी लामगादेको मिति ०५०।९।९ को जाहेरी दरखास्त ।

३. पूर्व मजाकेटार खेतमा लैजाने तेस्रो ढुंगो, उत्तर वांसेको गांज र दक्षिण तिजुको सानो रुख यति ४ किल्ला भित्र भिरकुलो भन्ने ठाडो खोल्सोमा सो खोल्साको वायां तर्फ किनारामा १ मृतक पुरुष अं. १० महिनाको वच्चाको लाश देखिएको र मृतक वच्चाको घांटीमा निलडाम समेत देखिएको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।

४. घटनास्थल तत्काल वांसको सुप्लामा रगतको टाटा लागेको वरामद भएको पर्वत शंखर पोखरी गा.वि.स. वडा नं. ४ वस्ने टिकाराम तिवारी समेतको वरामदी मुचुल्का ।

५. उक्त वच्चा जन्माई मारी फाल्ने व्यक्ति सिता कुमारी लामगादे उपर शंका लागेको हुँदा पक्राउ गरी दाखिल गरेका छौं । कानून वमोजिम होस् भन्ने समेत व्यहोराको प्र.ना. नि. मेष राज पौडेलको समेतको प्रतिवेदन ।

६. मिति ०५०।८।२३ गते मेरो नारायण प्रसाद लामगादेसंग विधिपूर्वक विवाह भएको हो । विवाह हुनुभन्दा अगाडी देखि नै मेरो माइतिघर नजिक शंकर पोखरी गा.वि.स. वडा नं. ३ वस्ने हरि प्रसाद अधिकारीसंग मेरो कहिले काही यौन सम्पर्क हुने गर्दथ्यो । सोही सम्पर्कबाट गर्भिणी भै ४।५ महिना पूगेपछि निज हरि प्रसादसंग सल्लाह लिई वच्चा जन्मनासाथ मारी फाली दिनु केही हुँदैन भनेको हुँदा निज हरि प्रसाद मेरो काका नाता पर्ने र हालको विवाहित श्रीमानसंग दाम्पत्य जिवन सुखमय तरिकाबाट वित्छकी भन्ने उद्देस्यले ०५०।९।८ गते विहान ५।४० वजेको समयमा पुरुष जातीको वच्चा जन्माई घांटी अचेटी मारी मेरै घर नजिक शंकर पोखरी गा.वि.स. वडा नं. ४ स्थित भीरकुलो भन्ने ठाडो खोल्सीमा फाली दिएको हुँ भन्ने समेत व्यहोराको अभियुक्त सिता कुमारी लामगादेको साविती वयान कागज ।

७. सर्वप्रथम विहानमा मिति ०५०।९।९ गते घरबाट दिशा पिसाव गर्न भनी घर नजिकै भिरकुलो भन्ने ठाडा खोल्सामा जांदा मृतक पुरुष जाति वच्चा भरखरै पाई जन्माई फाले जस्तो वच्चाको लास देखि जाहेरवाला समेतलाई जानकारी दिएको हुँ भन्ने समेत व्यहोराको नरहरी शर्माको कागज ।

८. अभियुक्त सिता कुमारी लामगादेले वच्चा जन्माउदाको अवस्थामा लगाएको रगतको टाटो लागेको रातो पेटिकोटको लक्ष्मीदत्त लामगादे समतेले गरी दिएको वरामदी मुचुल्का ।

९. सिता कुमारी लामगादे हामीहरुको सहोदर छोरी हुन निज गर्भिणी छिन भन्ने थाहा भएन । वच्चा जन्माई फाल्नेमा निजै सिता कुमारी उपर शंका लाग्छ । सो अवैध गर्भ हाम्रै छिमेकीका हरि प्रसाद अधिकारी वारदात पछि फरार रहेकोले निजसंग सम्पर्क रही पूर्व सहमतीबाट वच्चा जन्माई मारी फालेको हुनु पर्छ भन्ने समेत व्यहोराको छविलाल अधिकारी र नरपति अधिकारीको एकै मिलानको कागज ।

१०. निज सिता कुमारी लामगादेलाई विधिपूर्वक ०५०।९।२३ मा छोरा नारायण प्रसाद लामगादेले विवाह गरी ल्याए पश्चात घरमा वसी रहेकी र छोरा वारदातको ५ दिन अगावै नोकरी गर्न दिल्ली तर्फ गै वसेका छन् । निज सिता कुमारी गर्भवती छिन भन्ने केही थाहा थिएन । ०५०।९।८ गते म नछुने भएकी र विरामी समेत छु भनी आफू सुत्ने कोठा भित्रै सुतेकी थिईन । एक्कासी मिति ०५०।९।९ मा वच्चा जन्माई मारी फालेको हल्ला हुँदा म समेत गै हेर्दा उक्त वच्चाको लाश देखेको हुँ र वच्चा जन्माई फाल्ने व्यक्ति को रहेछ भनी सोधखोज गर्दा मेरै बुहारी सिता कुमारी उपर शंका लागि प्रहरी जिम्मा दिई पठाएको छ । वच्चा जन्माई फाल्नेमा निज सिता कुमारी उपर पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको विष्णु प्रसाद लामगादेको कागज ।

११. मिति ०५०।९।८ गते म नछुने भएको छु । मलाई अर्को कपडा दिनुहोस फेर्नु पर्‍यो भनी आफू सुत्ने गरेको कोठाबाट मैले कपडा दिई सो दिनभरी कोठामै सुती रहेकी थिइन । गर्भवती थिईन भन्ने केही जानकारी भएन । उक्त वच्चा जन्माई मारी फाल्नमा निज सिता कुमारी उपर पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको गंगा देवी लामगादेको कागज ।

१२. घांटीमा दवाव भएको कारणबाट श्वास प्रश्वास रोकिन गै मृत्यु भएको भन्ने समेत व्यहोराको जिल्ला स्वास्थ्य कार्यालय पर्वतको पोष्टमार्टम रिर्पोट ।

१३. निजै सिता कुमारी लामगादेले गर्भ धारणा गरेको र वच्चा समेत जन्माई सकेको भन्ने समेत व्यहोराको जिल्ला स्वास्थ्य कार्यालय पर्वतको स्वास्थ्य परिक्षण रिर्पोट निज सिता कुमारीको वावु छविलाल अधिकारी विवाह हुनु भन्दा केही दिन अगाडी हामीहरुको गांउहरुमा आई मेरो छोरी सितालाई नारायण प्रसादसंग विवाह गरी दिनु पर्‍यो भनी भनेका थिए हामीले पनि सोही कुरालाई स्वीकार गरी नारायण प्रसादसंग यही ०५०।८।२३ गते विवाह भै आफ्नो घरमा वसी आएकी थिइन । हामीहरुलाई गर्भवती छिन् भन्ने कुरा थाहा भएन । उक्त वच्चा जन्माई मारी फाल्नेमा निज सिता कुमारी उपर पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको तुलसी प्रसाद लामीछाने र जागेश्वर लामगादे समेतको एकै मिलानको कागज ।

१४. निज सिता कुमारीको विवाह पूर्व आफ्नो काका नाता पर्ने हरि प्रसाद अधिकारसिंग करणी लिनु दिनु भै निज हरी प्रसाद लामगादेकोविर्यबाट निज सिता कुमारीले गर्भधारणा गरी गर्भ धारण भएकै अवस्थामा नारायण प्रसाद लामगादेसंग निजको विवाह गर्ने कार्य सम्पन्न भै निज नारायण प्रसादको घरमा गै वसेको व्यथा निज सिता कुमारीलाई वच्चा जन्माउने व्यथा राति मिति ०५०।९।८ गते विहान पुरुष जातिको वच्चा जन्मी सकेपछि सो वच्चालाई दुवै हातले अठ्याई मारी शंकर पोखरी गा.वि.स. वडा नं. ४ स्थित भिरकुलो भन्ने ठाडो खोल्सोमा फाली गएका भन्ने कुरा निज सिता कुमारीको कागजबाट देखिने पोष्टमार्टम रिर्पोटवाट पनि उल्लेख भएको देखिंदा हरि प्रसाद अधिकारी अवैध गर्भधारण गरी जन्मेको वच्चालाई निर्ममता तवरले निज अभियुक्त सिता कुमारी लामगादेले कर्तव्य गरी मुलुकी ऐन, ज्यान सम्वन्धीको महलको १ नं. विपरितको ऐ. ऐनको १३(३) वमोजिमका तरीकाले ज्यान मारेको हुँदा उक्त अभियुक्त सिता कुमारीलार्इ सोही नं. वमोजिम संजाय हुन र अवैध गर्भ धारण गराई जन्मेको वच्चालाई मार्ने षडयन्त्र भूमिका निर्माण गर्ने हरि प्रसाद अधिकारीलाई ऐ. ऐनको १६ नं. वमोजिम संजाय हुन पक्राउ परेको सिता कुमारी र सम्वन्धित मिसिल यसैसाथ प्रस्तुत गरिएको व्यहोरा अनुरोध गरिएको छ । साथै फरार रहेको हरि प्रसाद अधिकारीलाई अदालतबाटै संहावना वारेन्ट जारी भै माग वमोजिम संजाय हुन पनि अनुरोध गरिन्छ भन्ने समेतको प्रहरी अभियोग पत्र ।

१५. मलाई ०५०।९।७ गते वुलकी ३ वजेबाट पेट दुख्ने विचार भै विहानपख भिरकुलो भन्ने ठाडो खोल्सीमा दिशा वस्न जांदा पेट वढी दुखी वेहोस भएकी र पछि होसमा आउँदा छोरा जातक जन्मी मरेको अवस्थामा त्यही छाडी घर गै नछुने भए भनी वसेकी हुँ । उक्त वच्चा माईती घर शंकर पोखरी गोवि.स. वडा नं. ३ वस्ने हरि प्रसाद अधिकारी र मेरो विच भएको वैशाख महिनाको सहवासवाट रहन गएको गर्भ हो । गर्भ रहेको कुरा अरुलाई नभनेको र हरि प्रसादसंग भन्दा जन्मेपछि मारेर फाल्नु भन्नु भएको थियो तर वच्चा मरेकै जन्मेको हुँदा त्यही छाडी दिए मरेकै वच्चा जन्मेको हुँदा मेरो उपरको माग दावी झुठा हो । वच्चा मरेको हुँदा हातमा समाती अलि पर लगी राखेको हुँ भन्ने समेतको अभियुक्त सिता कुमारी लामगादेको मिति ०५०।९।२८ को शुरु जिल्ला अदालतमा वयान ।

१६. अभियुक्तले प्रहरीमा गरेको साविती वयान लास प्रकृति मुचुल्का तथा लाश जांच रिपोर्टबाट समेत समर्थित हुन आएको हुँदा साविति वयान अभियुक्तको सिद्धमा लिन मिल्ने देखिन्छ । तसर्थ दावी वमोजिम अभियुक्तलाई ज्यान सम्वन्धी महलको १३(३) वमोजिम जन्म कैदको संजाय हुने ठहर्छ । आफ्नो माहिला वुवा नातासंग सहवासवाट गर्भधारण गरी लोकोपवाद र सामाजिक लान्छनाबाट वच्न गरेको कसुरको संजाय चर्को पर्ने जाने देखिएकोले अ.वं. १८८ नं. वमोजिम ६ वर्ष कैदको संजाय उपर्युक्त हुने हुँदा सिफारीस साथ साधक जाहेर गर्नु भन्ने मिति ०५१।११।२८ को पर्वत जिल्ला अदालतको फैसला ।

१७. गाउँको माझमा गाउँलेको सार्वजनिक शौचालयको रुपमा उपभोग गरी आएको खोल्सीमा वुझिएका कसैले पनि रोएको कराएको सुनेको भनी भन्न लेख्न सकेका छैन । ज्युदो जन्मिएको वच्चालाई मारी फालेको प्रमाण नभए अन्यथा प्रमाणित नभएसम्म जन्मेको वच्चा मरेकै अनुमान गर्नुपर्छ भनी सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादन भै रहेकोले मरेकै वच्चा जन्मेकोलाई जन्माई मारेको ठहराई गरेको फैसलामा चित्त वुझेन आरोपित कसुरवाट सफाई पाउँ भन्ने लामगादेको पुनरावेदन अदालत वागलुङमा परेको पुनरावेदन पत्र ।

१८. पुनरावेदीका प्रतिवादी सिता देवीले काका नाता पर्ने प्रतिवादी हरि प्रसादसंग अवैध यौन सम्वन्ध कायम गर्दा गर्भ रहन गएको कुरामा विवाद रहेन । सो गर्भबाट जन्मेको जातक वच्चा मृतक जन्मेको भन्ने कतैबाट खुल्न पनि आउदैन । त्यस्तो स्थितिमा पुनारवेदीका प्रतिवादी सिता देवी लामगादेले अधिकार प्राप्त अधिकारी समक्ष जातक ज्युदै जन्मेको र जन्मेपछि घांटीमा अचेटी मारी फालेको हुँ भनी साविति वयान दिएकीलाई चिकित्सकको अस्पताल पोष्ट मार्टम रिर्पोटबाट समेत समर्थन गरेको देखिएबाट निजको अदालत समक्ष भएको इन्कारीलाई सत्य मान्न नमिल्ने हुँदा अवैध गर्भबाट जन्मेको वच्चालाई निजले मात्रै कर्तव्य गरी हत्या गरेको देखिंदा मुलुकी ऐन, ज्यान सम्वन्धी महलको १३(३) वमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहर्छ । शुरु जिल्ला अदालतले जन्मकैद मात्र गर्ने गरेको फैसला सो हदसम्म नमिलेको हुँदा केही उल्टी हुने ठहर्छ । वच्चा ज्युदो जन्मी मारेको नभई मरेकै वच्चा जन्मेको भन्ने पुनरावेदीकाको पुनरावेदन जिकिर पुग्न सक्दैन । शुरु जिल्ला अदालतले अ.वं. १८८ नं. वमोजिमको राय लगायत तर्फ विचार गर्दा पुनरावेदीका करीव १८ वर्षकी कलिली उमेरकी हुनाका साथै आफ्नो काका नाता पर्ने प्रतिवादी हरि प्रसाद अधिकारीको गर्भ धारणा गरेको कारणले सामाजिक लान्छना तथा लोकोपवादको सामना गर्न नसकी डरको कारणले जातकको हत्या भएको देखिंदा शुरु जिल्ला अदालतले पुनरावेदीकालाई सर्वश्व सहित जन्म कैद हुँदा शुरु पर्वत जिल्ला अदालतले ६ वर्ष कैद गर्ने उपर्युक्त हुने गरी लगाएको राय उपर्युक्त नै देखिंदा साधक सदरको लागि सम्मानित सर्वोच्च अदालतमा पठाएको छु भन्ने पुनरावेदन अदालत बागलुङको फैसला ।

१९. प्रस्तुत मुद्दामा जिउदो वालक जन्मेको भनी वादी पक्षले प्रमाण पुर्‍याउन सकेको अवस्था छैन । प्रहरीमा भएको वयानलाई प्रमाण ऐन, २०३१ को दफा ९(२) (क) अनुसार मेरो विरुद्ध प्रमाण लिन मिल्ने होइन । पोष्टमार्टम गर्ने डाक्टरले अदालत समक्ष उपस्थित भई आफ्नो रिर्पोट समर्थन गर्नु पर्नेमा अनुपस्थित भै आफ्नो राय शंकास्पद रहेको पुष्टि गरेका छन । प्रत्यक्षीदर्शी प्रमाणको अभाव छ । पुनरावेदन अदालतवाट मलाई दोषि सावित गर्ने आधार शंकाजन्य छन् । कुनै पनि गडाक गर्ने आधार शंकारहित प्रकृतिका मुद्दामा शंकारहित प्रमाणको मात्र आधार लिनु पर्नेमा सो नभै प्रहरीमा अन्य स्वतन्त्र प्रमाणले समर्थन नगरेको वयान मात्र फैसलाको आधार वन्न पुगेको छ । म निर्दोषलाई सर्वश्व सहित जन्मकैद गर्ने गरी भएको पुनरावेदन अदालत वागलुङको फैसला पूर्णतः कानूनी त्रुटीपूर्ण हुँदा सो फैसला वदरभागी रहेकोले पर्वत जिल्ला अदालत र पुनरावेदन अदालत वागलुङको फैसला वदर गरी आरोपित कसूरबाट सफाई दिलाई इन्साफ पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा परेको पुनरावेदन पत्र ।

२०. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री लाल वहादुर थापाले प्रतिवादी सफाई पाउनु पर्छ भनी पुनरावेदन जिकिरको समर्थन गर्दै गर्नु भएको वहस सुनि इजलाश समक्ष प्रस्तुत मिसिल अध्ययन गरी हेर्दा यसमा पुनरावेदन अदालत वागलुङको फैसला मिले नमिलेको के रहेछ सो उपर निर्णय दिनु पर्ने भएको छ । यसमा प्रतिवादी सिता कुमारी लामगादेको पुनरावेदन परेकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १०(३) को व्यवस्था अनुसार पुनरावेदन कै रोहबाट हेरिने हुँदा साधको लगत कट्टा गरि दिएको छ ।

२१. यसमा जिउँदो वच्चा जन्मेको भनी वादी पक्षले प्रमाण पुर्‍याउन सकेको अवस्था छैन । प्रत्यक्षदर्शी प्रमाणको अभाव छ । ज्यान जस्तो गम्भीर प्रकृतिको मुद्दामा शंका रहित प्रमाणको आधार लिनु पर्नेमा सो नभई अन्य स्वतन्त्र प्रमाणले समर्थन नगरेको मेरो इच्छा विपरित प्रहरीमा भएको वयानलाई आधार लिई मलाई कसूरदार ठहर्‍याएको शुरु र पुनरावपेदन अदालतको फैसला त्रुटीपूर्ण हुँदा वदर गरी मलाई सफाई हुनुपर्छ भन्ने मुख्य पुनरावेदन जिकिर रहेको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजात अध्ययन गरी निर्णय तर्फ विचार गर्दा प्रतिवादी सिता कुमारीले नारायण प्रसादसंग मिति २०५०।८।२३ मा विवाह हुनु पूर्व गर्भाधारण गरी मिति २०५०।९।८ मा वच्चा जन्माई घांटी अचेटी मारेकोले ज्यान सम्वन्धीको १३(३) नम्वर वमोजिम संजाय गरी पाउँ भन्ने अभियोग पत्रबाट माग दावी गरीए वमोजिमको कसूर स्वीकार गरी प्रारम्भिक कारवाहीमा अधिकार प्राप्त अधिकारी समक्ष वयान गरेको देखिन्छ । यस सम्वन्धमा वुझिएका छविलाल नरनी अधिकारी, विष्णु प्रसाद, गंगा देवी, तुलसी प्रसाद, भागेश्वर समेतका विभिन्न व्यक्तिले निज सिता कुमारीले आरोपित कसुर गरेको खम्वीर हुने व्यहोराको कागज गरी निज उपर गडाड गरेको देखिन्छ ।

२२. जातक वच्चाको शव परिक्षण प्रतिवेदनबाट समते निज सिता कुमारीकै सावितिको पुष्ट्याई भएको पाइन्छ । अदालतमा वयान गर्दा म वेहास भएकी र पछि होसमा हाउँदा हेर्दा छोरा जातक जन्मेको रहेछ । निज जातक छोरा मरेको अवस्थामा रहेछ भन्ने व्यहोरा उल्लेख गरी मरेको वच्चा जन्मेको हो भन्ने जिकिर लिए पनि सो कुराको पुष्ट्याई हुने प्रमाण मिसिल संलग्न रहेको भएको पाईदैन । लाठा, ढुंगा र साधारण सानातिना हात हतियारले कुटी हानी रोपी घोची वा अन्य ज्यान मार्ने गैर कुरा गरी ज्यान मरेमा संजाय व्यहोर्नु पर्ने गरी ज्यान सम्वन्धीको १३ (३) नम्वरमा कानूनी व्यवस्था गरेको र घाटी अचेटी मार्ने कृया ज्यान मार्ने गैर कुरा भित्र पर्ने हुनाले समेत निज प्रतिवादी सिता कुमारीलाई ज्यान सम्वन्धीको १३(३) नम्वर वमोजिम संजाय गर्ने ठहर्‍याएको पुनरावेदन अदालत वागलुङको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न स्क्दैन ।

२३. तर निज सिता कुमारीले १८ वर्षको उमेरमा गर्भधारण गरेकी र सो गर्भ रहेको अवस्था विवाह भएको लोकलाजबाट वच्न र दाम्पत्य जिवन सुखमय तरीकावाट वितोस भन्ने उद्देस्यले जन्मेको जातकको घांटी अचेटी मार्नु परेको भन्ने मिसिलको रोहबाट देखि नआएकोले निजलाई ऐन वमोजिम संजाय गर्दा चर्को पर्ने हुँदा अदालती वन्दोवस्तको १८८ नं. वमोजिम कैद वर्ष ५ हुन्छ, अरुमा तपसिल वमोजिम गर्नु ।

 

तपसिल

उपरोक्त ठहर खण्डमा प्रतिवादीलाई ५ वर्ष कैद हुने भएकोले सो वमोजिम लगत कस्नु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउनु ........... ।

सरोकारवालाले नक्कल माग्न आए कानून वमोजिम दस्तुर लिई नक्कल सारी सराई दिनु ....... १

मिसिल नियम अनुसार गरी बुझाई दिनु ... १

 

उक्त रायमा म सहमत छु ।

 

न्या. अरविन्दनाथ आर्चाय

 

इति संवत् २०५४ साल भाद्र २४ रोज ३ शुभम् ...... ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु