निर्णय नं. ६५२८ - कर्तव्य ज्यान

निर्णय नं. ६५२८ २०५५, ने.का.प. अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा
माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
संवत् २०४९ सालको फौ. पु .नं. -४०६
फैसला मितिः- २०५४।७।१९।३
मुद्दाः- कर्तव्य ज्यान ।
पुनरावेदक/ प्रतिवादीः जिल्ला सप्तरी डिमन गा.वि.स. वडा नं. ८ बस्ने दिन दयाल वाजपेयी ।
विरुद्ध
प्रत्यर्थी/वादीः विन्दावती केवटनीको जाहेरीले श्री ५ को सरकार ।
§ विन्देश्वर केवटको मृत्यु कुटपिटबाट लागेको घाउबाट भएको तथ्य लाश प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदनबाट समर्थित हुनुका साथै वारदात देख्ने वावुलाल रसिलाल गंगाइ र वेचैनको चश्मदिद वकपत्रबाट पुष्टि हुन गएको समेतबाट प्रतिवादी दिनदयाल वाजपेयीलाई मुलुकी ऐन ज्यान सम्वन्धीको १४ नं. वमोजिम १० वर्ष कैद सजाय गर्ने ठहर्याएको पूर्वान्चल क्षेत्रीय अदालतको निर्णय मिलेकै देखिंने ।
(प्र.नं. ३२)
पुनरावेदक प्रतिवादी तर्फबाटः- विद्वान अधिवक्ता श्री सतिश खरेल
प्रत्यर्थी वादी तर्फबाटः- विद्वान उप सरकारी अधिवक्ता श्री शरद कुमार खड्का ।
अवलम्वित नजिरः- ने.का.प. २०५३ अंक ६ नि.नं. ६२१९
फैसला
न्या. हरि प्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम यस अदालतको अधिकार क्षेत्र भित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छः-
२. मिति २०३८।४।२४ का दिन डाढा गा.पं. तर्फ हाल खवर बुझ्दै जांदा सो दिन विन्देश्वर केवटलाई रामानंन्द, भरत, जितेन्द्र यादव समेत ३०।३२ जना मानिसको हुल भई कुटपिट गर्दै मधवापुर गा.पं. तर्फ लगे भन्ने बुझि सो तर्फ पत्ता लगाउंदै गरेकोले जाहेर गरेको छु । र त्यसपछि घाइते भारदह अस्पताल ल्याएको थाहा पाई ट्कद्वारा सगरमाथा अंचल अस्पतालमा ल्याई भर्ना गरेको छु भन्ने समेत व्यहोराको प्र.ह. प्रेम कुमार अधिकारीको प्रतिवेदन ।
३. मिति २०३८।४।२५ गते राती ९.३० वजे घाइते विन्देश्वरी उपचार गर्दा गर्दै मर्यो भन्ने बुझिन आएको र सो ठाउंमा गई हेर्दा मरिरहेको देखेकोले कानून वमोजिम होस भन्ने प्र.ह. नरेश कुमार मिश्रको मिति २०३८।४।२६ को प्रतिवेदन ।
४. कुटपिटबाट मर्ने मृतक विन्देश्वरीको शरिर केहि सुनिएको, दाहिने हात प्लाप्टर गरेको, वाया तालुमा चोट, मुखबाट रगत आइरहेको, शरिरको विभिन्न ठाउंमा शरिरको यत्रतत्र चोट लागेको भन्ने समेत व्यहोराको मित २०३८।४।२६ को लाश प्रकृति मुचुल्का ।
५. मिति २०३८।४।२४ गते गाउंको वैधनाथ तिवारीको खेतमा हामी लोग्ने स्वास्नी धानको विउ उखेल्न गई काम गरी रहेको अवस्थामा रमानन्द वाजपेयी समेतका मानिस आई मेरा लोग्नेलाई फलामका छड लाठी समेतले कुटपिट गरी मरे भन्ने सम्झी वेहोस वनाई भागी गएकोले तत्काल भारदह अस्पताल पुर्याई औषधि गराउंदा आराम नभई भोलिपल्ट सगरमाथा अंचल अस्पताल लगेकोमा उपचार हुंदा हुंदै रातको ९.३० वजे सोही कुटपिटको पिरले मृत्यु भएकोले प्रतिवादीहरुले कर्तव्य गरी मारेकोमा कानून वमोजिम सजाय गरी पाउं भन्ने समेत व्यहोराको मृतकको श्रीमती विन्दावती केवटनीको मिति २०३९।४।२७ को जाहेरी दर्खास्त ।
६. मैले कुटपिट गरी विन्देश्वरलाई मारेको होइन । गंगापुरको चोरीमा विन्देश्वरलाई माधवापुरको कैलु मुसहर, खटी मुसहर, सुकना मुसहर, सौतन मुसहर फनिया मुसहर समेतले कुटपिट गरी सितारामको घरमा थुनेको छन भन्ने सुनेको, सोही कुटपिटको पिरले मृत्यु भएको हुनुपर्छ भन्ने समेत व्यहोराको प्रतिवादी सोमिया मुसहरको प्रहरीमा कागज ।
७. विन्देश्वरलाई मैले कुटपिट गरी मारेको होइन । कुसमा मुसहर समेतका व्यक्तिले कुटपिट गरी मारेको भन्ने सुनेको हुं भन्ने समेत व्यहोराको रुन्दीलाल मुसहरको प्रहरीमा कागज ।
८. मैले विन्देश्वरलाई कुटपिट गरी मारेको होइन । को कसले कुटपिट गरे थाहा छैन भन्ने प्रतिवादी हरीशंकर वाजपेयीले प्रहरीमा गरेको कागज ।
९. वारदात समयमा म हलो जोति रहेको अवस्था सोही खेतको वाटो गरी रामरुप साहु समेतलाई लाठी वन्दुक वोकी जान लागेको देखेको हुं । पछि विउ उखेली रहेका विन्देश्वरलाई कुटपिट गरी मधवापुर तर्फ गए भन्ने सुनि भन्ने समेत प्रतिवादी वालेश्वर केवटले प्रहरीमा गरेको वयान ।
१०. विन्देश्वर र हामी समेत विउ उखेली रहेको अवस्था ३०।३५ जना मानिस आई विन्देश्वरलाई कुटपिट गरे । रमानन्द, रुन्दीलाल, हरिशंकर, रामशंकर, दन दयाल, भरत तिवारी, जितेन्द्र यादवलाई चिन्यो । अरुलाई चिन्न सकेनौ । उपचार गराउंदा गराउंदै राजविराज अस्पतालमा विन्देश्वरको मृत्यु भएको हो भन्ने समेत मिल्दो जुल्दो व्यहोराको १४ जनाको सर्जमिन मुचुल्का ।
११. शकलित सवुद प्रमाण समेतबाट पक्राउ भई आएका हरी शंकर, रामशंकर, दिनदयाल, रुन्दीलाल, सोभियार र भरत तिवारी, रमानन्द, जितेन्द्र यादव समेत ८ जनाले कुटपिट गरेको देखिंदा निजहरुलाई ज्यान सम्वन्धीको १४ नं. वमोजिम सजाय गरी पाउं र प्रतिवादी वालेश्वरको हकमा हाजिर जमानी दिन नसक्दा मात्र दाखिल गरेको हो । अन्य प्रतिवादीहरुलाई मुद्दा चलाउन प्रमाण नपुगेको भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन माग दावी ।
१२. प्रहरीमा मेरो स्वेच्छाले कागज भएको होइन । मिति २०३८।४।२४ गतेका दिन म घरैमा छु । विन्देश्वर कहां थिए, कसले कुटपिट गरे थाहा छैन भन्ने समेत प्रतिवादी रुन्दीलालको अदालतमा वयान ।
१३. प्रहरीमा मैले स्वेच्छाले नै वायन गरेको हुं । मैले वनिदेश्वरलाई कुटपिट गरेको होइन । रिसइवीबाट पोल गरेका मात्र हुन भन्ने समेत प्रतिवादी हरि शंकर वाजपेयीको अदालतमा वयान ।
१४. प्रहरीमा भएको कागज मलाई पढी नसुनाई सहि गराएका हुन । विन्देश्वरीलाई कसले कुटपिट गरे थाहा छैन मैले कुटपिट गरेको होइन । रिसइवीले जाहेरी दिने र सर्जमिनले पोल गरेका हुन भन्ने समेत प्रतिवादी राम शंकर वाजपेयीको अदालतमा वयान ।
१५. प्रहरीमा पढी नसुनाएको कागजमा सहि गरेको हुं । मर्ने विन्देश्वरलाई मैले कुटपिट गरेको होइन । कसले कुटपिट गरे थाहा छैन । रिसइवीले पोल गरेको हो भन्ने समेत प्रतिवादी दनदयाल वाजपेयीको वयान ।
१६. प्रहरीले कुटी कागज गराएका हुन । मैले राजिखुशीले गरेको होइन । विन्देश्वरलाई मैले कुटेको छैन । निजलाई कसले कुटे सो पनि थाहा छैन । विन्देश्वर मरेको कुरा प्रहरीमा थाहा पाए भन्ने प्रतिवादी सोभिया मुसहरको अदालतमा वयान ।
१७. अदालतमा खोजी भएका वखत उपस्थित हुने छु भनी कागज गरी प्रतिवादी वालेश्वर कामत छुट्टि गएको ।
१८. मर्ने विन्देश्वर केवटलाई म समेत भई कुटपिट गरी मारेको होइन । वारदात समय अघिदेखि नै म लौकहीया छु । इवीवाट जाहेरी दिने र सर्जमिनले पोल गर्ने गरेका मात्र हुन । म निर्दोष छु भन्ने समेत व्यहोराको प्रतिवादी जितेन्द्र यादवको अदालतमा वयान ।
१९. वारदात समय म गाउंघरमा नभई भारत मावलीमा थिए । मावलीवाट भैसिलिई आउंदा चोरीको भैसि भनी पक्राउ गरी कारवाही भई जमानिमा छुटेर मिति २०३८।४।२५ मा मात्र घर आएको छु । इववाट पोल परेको मात्र हो भन्ने समेत प्रतिवादी रमानन्द वाजपेयीको अदालतमा वयान ।
२०. वारदात समय म गाउं घरमा नभई भिनाजु रमानन्दको मावली गएर सगै फर्केको हुं । म समेत भई विन्देश्वरलाई कुटपिट गरी मारेको होइन भन्ने समेत प्रतिवादी भरत प्रसाद तिवारीको वयान ।
२१. प्रतिवादीहरुका साक्षी, अन्य देख्ने र सर्जमिनका मानिसहरुको पनि वकपत्र भई मिसिल समेत रहेको वयान ।
२२. सवुद प्रमाणको अभावमा प्रतिवादीहरुलाई सजाय गरी पाउं भन्ने प्रहरी प्रतिवेदन दावी पुग्न नसक्ने ठहर्छ भन्ने समते व्यहोराको मिति २०४२।९।८ को सप्तरी जिल्ला अदालतको फैसला ।
२३. प्रतिवादीहरुलाई प्रहरी प्रतिवेदन माग दवीबाट सफाई दिएको इन्साफ त्रुटिपूर्ण छ । जाहेरवाला समेत वुझि प्रतिवादीहरुलाई प्रहरी प्रतिवेदन माग दावी वमोजिम सजाय गरी इन्साफ पाउं भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फवाट पूर्वान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पत्र ।
२४. विन्देश्वर कुटपिटको चोटवाट मरेको देखिन्छ र सर्जमिनका मानिसले सर्जमिनमा लेखेको व्यहोरा अदालतमा समर्थन गरी वकपत्र लेखाएका छन । तसर्थ प्रतिवादीहरुलाई सफाइ दिने गरेको इन्साफ फरक पर्ने देखिएकोले छलफलको लागि अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने पूर्वान्चल क्षेत्रीय अदालतको मिति २०४५।१।२२ को आदेश ।
२५. मृतक विन्देश्वर केवटको पोष्टमार्टम रिपोर्ट हेर्दा निजको शरिरमा यत्रतत्र घा चोट परेको र मृत्यु टाउकोमा परेको चोटवाट भएको भन्ने देखिन्छ । वावुलाल समेतका ४ जना साक्षीहरुले चश्मदिद रुपवाट यिनै प्रतिवादीहरुले मृतक विन्देश्वरलाई कुटपिट गरेको हो भनी वकपत्र गरेको देखिन्छ । प्रतिवादीहरु मध्ये क कस्को कुटाईले विन्देश्वरको मृत्यु भएको हो भन्ने तर्फ विचार गर्दा, चश्मदिद साक्षीहरुको वकपत्र हेर्दा वावुलाल, रसिलाल, गंगाई र वेचेनको वकपत्रमा चारैजनाले प्रतिवादी हरिशंकर, प्रतिवादी दिनदयाल र प्रतिवादी रमानन्द वाजपेयीको नाउं कुटपिट गर्ने मध्ये देखेका हो भन्ने देखिन्छ । राम शंकरलाई रसिलाल र गंगाईले देखेको भन्न नसकेको प्रतिवादी भरत तिवारीलाई वेचेनर गंगाईले देखेको भन्न नसककेवाट निज राम शंकर र भरत तिवारीका हकमा कसूर शंकारहित तवरले प्रमाणित मान्न मिलेन । निजहरुको हकमा र प्रतिवादी जितेन्द्र यादव, रुन्दीलाल, सुमिया समेतलाई चश्मदिदहरुले पोल्न नसकेवाट निजहरुलाई समेत सफाइ दिएको शुरु सप्तरी जिल्ला अदालतको फैसला इन्साफ मनासिव ठहर्छ । प्रतिवादी हरि शंकर वाजपेयी र दिन दयाल वाजपेयी समेतको कुटपिटवाट विन्देश्वर केवटको मृत्यु भएको भन्ने जाहेरी तथा चश्मदिद साक्षीहरुको वकपत्र समेत वाट प्रमाणित हुन आएकोले निजहरुलाई सफाई दिएको शुरु सप्तरी जिल्ला अदालतको इन्साफ मिलेन । अतः उल्टी हुने भई प्रहरी प्रतिवेदन वमोजिम निजहरुलाई ज्यान सम्वन्धीको १४ नं. अनुसार कैद वर्ष १० का दरले साजय हुने ठहर्छ भन्ने समेत व्यहोराको पूर्वान्चल क्षेत्रीय अदालत धनकुटाको मिति २०४५।४।१५ को फैसला ।
२६. वारदात हुंदै नभएको स्थानमा वारदात भएको हो भनी वक्ने तथाकथित चश्मदिद गवाहको वकपत्रलाई आधार मानी निजहरुको भनाइलाई जांच वुझ गरी सत्य वकेका हुन वा होइनन् भन्न तर्फ ध्यानै नदिई हाम्रो सामान स्तरको प्रमाण भएको व्यक्तिलाई सफाइ दिने र हामीलाई अपराधी ठहराउने गरी सम्मानित सर्वोच्च अदालतवाट प्रतिपादित नजिरहरुलाई समेत मान्यता नदिइ गरेको फैसला न्याय प्रशासन सुधार ऐन, २०३१ को (संशोधन सहित) को दफा १३ को त्रुटिपूर्ण भएको हुंदा उक्त ऐनको दफा १३.५(ख)(ग) अनुसार पुनरावेदनको अनुमति पाउं भन्ने प्रतिवादी दिन दयाल वाजपेयीको यस अदालतमा परेको निवेदन पत्र ।
२७. यसमा प्रत्यक्षदर्शी भनिएका व्यक्तिहरुको सरजमिनको भनाइ र अदालतको वकपत्रमा गरेको वयानमा एक रुपता नआउको र परस्परमा नमिलेको निजहरुको वकाइ भरपर्दो र विश्वसनीय नदेखिएको, वारदातस्थल गंगापुर वा डांढा गाउं कहां भएको भन्ने एकिन नभएको अदालतबाट वारदातको स्थल एकिन अनुसन्धान गरी प्रहरी प्रतिवेदन पेश गर्ने आदेश हुंदा गंगापुरमा समाति कुटपिट गर्दै डांणा गाउंमा मर्यो भनी छोडी अभियुक्तहरु भागे भनेको, यसरी वारदात स्थलमा नै शंकास्पद स्थिति भएको र यस सर्वोच्च अदालत फुल वेन्चवाट पदम वहादुर खत्री वि.डम्वर सिंह महत क्षेत्री भएको गोली हान्यो भन्ने मुद्दामा (ने.का.प. २०२१ अंक ३ पृ.५३) वारदात देख्ने चश्मदिद गवाहहरुको वयानमा नै मिलान नभएर र गवाह अभियुक्तको झगडिया समेत भएमा गवाहको वयानलाई अन्य सवुद प्रमाणवाट समर्थन हुन नआएमा अभियुक्तहरुलाई शंकाको सुविधा प्राप्त हुने भन्ने स्थापित नजिर सिद्धान्त पनि भएकोले पू.क्षे.अ. को फैसलामा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(४) को खण्ड (ग) समेतको त्रुटि विद्यमान देखिदा उक्त दफा १३ को उपदफा (७) अनुसार दफा १३ को उपदफा (५) को खण्ड (ग) अन्तर्गत दिइएको छ । कानून वमोजिम गर्नु भन्ने यस अदालतको मिति २०४८।१२।१० को आदेश ।
२८. आदेशानुसार पुनरावेदन दायरीमा दर्ता भएको रहेछ ।
२९. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजात अध्ययन गरी पुनरावेदक प्रतिवादीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री सतिश खरेलले प्रतिवादी दिन दयाल वाजपेयी प्रहरी र अदालत दुवैमा इन्कार छन । जाहेरवाली विन्दावती केवटनीले वारदात स्थल डांढामा भएको भनेको छन भने अभियोग पत्रमा वारदात स्थल गंगापुर चौरमा भएको भन्ने देखिन्छ । प्रत्यक्षदर्शी भनिएका व्यक्ति समेतले प्रत्यक्ष देखेको भनी स्पष्टसाथ भन्न सकेको पाईदैन । साक्षीहरुको कथन विरोधाभास भएको र वारदात स्थलमा नै विवाद रहेको हुंदा पुनरावेदकले सफाइ पाउनु पर्छ भनी र प्रत्यर्थी वादी श्री ५ को सरकारका तर्फबाट विद्वान उप सरकारी अधिवक्ता शरद कुमार खडकाले जाहेरीलाई प्रमाण ऐन, २०१३ को दफा १० ले प्रमाणमा लिन मिल्दछ । जाहेरीमा लेखिएको स्थलमा नै वारदात भएको पुष्टि भएको र वकपत्र गर्ने वैद्यनाथ समेतले वारदात भएको होइन भनी भन्न नसकेको र सर्जमिनका मानिसले समेत मौकामा कागज गर्दा प्रतिवादीलाई पोल गरेका हुंदा पूर्वान्चल क्षेत्रीय अदालतको फैसला सदर गरी पाउं भनी गर्नु भएको वहस समेत सुनी प्रतिवादी दिन दयाल वाजपेयी समेतलाई ज्यान सम्वन्धीको १४ नं. अनुसार १० वर्ष कैद सजाय गर्ने गरेको पूर्वान्चल क्षेत्रीय अदालतको फैसला मिले नमिलेको के रहेछ भनी निर्णय दिनु पर्ने देखियो ।
३०. यसमा प्रतिवादी हरिशंकर, रामशंकर, दिनदयाल, रुन्दीलाल, शोभिया मुसहर भरत तिवारी, रमानन्द र जितेन्द्र यादव समेत ८ जनाले मृतक विन्देश्वरलाई मार्ने उद्देश्यले कुटपिट गरेका र सोहि चोटका पिरले निजको मृत्यु भएको देखिंदा निजहरुलाई ज्यान सम्बन्धीको १४ नं. वमोजिम सजाय गरी पाउं भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन माग दावी भएकोमा प्रहरी प्रतिवेदन माग दावी पुग्न नसक्ने ठहराएको शुरु सप्तरी जिल्ला अदालतको फैसला उपर वादी श्री ५ को सरकारको तत्कालिन पूर्वान्चल क्षेत्रीय अदालतमा पुनरावेदन परी पूर्वान्चल क्षेत्रीय अदालतबाट प्रतिवादी हरिशंकर वाजपेयी र दिनदयाल वाजपेयीलाई ज्यान सम्बन्धीको १४ नं. अनुसार १० वर्ष कैद सजाय हुने, अन्य प्रतिवादीलाई सफाई दिइने ठहर्याएको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई नियमानुसार पेश हुन आएको रहेछ ।
३१. मिसिल संलग्न कागजात हेर्दा हरिशंकर वाजपेयी, रामशंकर वाजपेयी समेतका व्यक्तिहरुले लाठी छड लिई मिति २०३८।४।२४ गतेका दिन मेरो लोग्ने विन्देश्वरको मृत्यु भएको हुँदा विपक्षीहरुलाई सजाय गरी पाउं भन्ने मृतककी श्रीमती विन्दावती केवटनीको किटानी जाहेरी छ । टाउकोमा लागेको चोट (हेड इन्जुरी Head injury) बाट मृत्यु भएको भन्ने शव परीक्षण प्रतिवेदनबाट देखिन्छ । सर्जमिनका मुनचुन कामैत रसिलाल कामैत, गंगाइ कामैत समेतका व्यक्तिहरुले प्रतिवादीहरुले प्रहार गरेको चोटबाट नै विन्देश्वरको मृत्यु भएको भनी स्पष्ट लेखाई दिएका छन् । प्रतिवादीहरु आरोपित कसूर गरेमा अधिकार प्राप्त अधिकारी र अदालत समक्ष समेत इन्कार छन् । अपराधबाट बच्न र कानूनी सजायबाट उम्कन प्रतिवादे अदालतमा जे जस्तो झुठो कुरा पनि गर्न सक्ने परिप्रक्ष्यमा निजहरुको इन्कारी वयानलाई मुद्दाको समुचित तथ्य संग भिडाएर हेर्नु पर्ने भनी राम असिस महतो कोइरी विरुद्ध फुल कुमारी महतोका जाहेरीले श्री ५ को सरकार भएको कर्तव्य ज्यान मुद्दामा संयुक्त इजलासबाट (ने.का.प. २०५३ अंक ६ नि.नं. ६२१९) सिद्धान्त समेत प्रतिपादित भएको देखिन्छ । तसर्थ अन्य प्रमाणहरु तर्फ समेत हेर्दा सर्जमिनका मानिसहरु मध्ये वावु लाल, रसिलाल गंगाई र वेचैन कामैतले अदालत समक्ष आई स्पष्ट रुपमा प्रतिवादी हरि शंकर वाजपेयी दिन दयाल वाजपेयी समेतका व्यक्तिले विन्देश्वरलाई लाठी छड इत्यादिले कुटपिट गरेका र सोहि चोट पिरको कारणले निजको मृत्यु भएको हो भनी स्पष्ट साथ वकी लेखाई दिएका छन् । निजहरु चारै जनाले प्रतिवादी दिनदयाल वाजपेइको नाम कुटपिट गर्ने मध्ये देखेको भनी वकपत्र गरेका छन । मृतक विन्देश्वरसंग यी प्रतिवादीको पूर्व रिसइवी रहे भएको कुरा स्वयं प्रतिवादीहरुले स्वीकार गरेका छन् । यसबाट विन्देश्वरलाई कुटपिट गर्ने मनसाय यि प्रतिवादीहरुको रहेनछ भन्न मिल्ने देखिएन । वारदातस्थलका सम्बन्धमा विवाद देखिएको भन्ने सम्बन्धमा जाहेरीमा उल्लेख गरिएको र सर्जमिन भएकै ठाउंमा वारदात भएको हो भन्ने जिल्ला प्रहरी कार्यालय तथा स.अ. तथा स.अ. कार्यालय राजविराजको २०३८।५।३०।३ को प्रतिवेदनबाट देखिन्छ । सर्जमिनका रसिलाल कार्मेत केवट समेतले डिमन गा.पं. अन्तर्गत वैद्यनाथ तिवारीको खेतमा वारदात भएको भनी वकपत्र गरिदिएको देखिन्छ । प्रत्यक्षदर्शी भई वकपत्र गर्ने सर्जमिनका वावुलाल, रसिलाल, गंगाइ र वेचैन कामै समेत यि प्रतिवादीहरुको झगडिया भएको वा रिसइवि रहे भएको पनि मिसिलबाट देखिंदैन र प्रत्यक्षदर्शीको रुपमा अदालत समक्ष आई वकपत्र गर्ने वावुलाल, रसिलाल, गंगाई र वैचैन कामैतको वकपत्रमा समेत तात्विक भन्नता रहे भएको समेत पाइदैन । यस स्थितिमा यस अदालतबाट पुनरावेदनको अनुमती प्रदान गर्ने गरेको मिति २०४८।१२।१० को आदेशमा उल्लेखित वादी पदम वहादुर खत्री प्रतिवादी डम्वर सिंह महत क्षेत्री भएको गोली हान्यो भन्ने मुद्दामा (ने.का.प. २०२१ अंक ३ पृष्ठ ५३) प्रतिपादित नजिर प्रस्तुत मुद्दामा आकर्षित हुने देखिदैन । तसर्थ पुनरावेदनको अनुमति प्रदान गर्ने यस अदालतको मिति २०४८।१२।१० को आदेश संग यो इजलास सहमत हुन सकिएन ।
३२. उपरोक्त विश्लेशणबाट विन्देश्वर केवटको मृत्यु कुटपिटबाट लागेको घाउबाट भएको तथ्य लाश प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदनबाट समर्थित हुनुका साथै वारदात देख्ने वावुलाल रसिलाल गंगाइ र वेचैनको चश्मदिद वकपत्रबाट पुष्टि हुन गएको समेतबाट प्रतिवादी दिनदयाल वाजपेयीलाई मुलुकी ऐन ज्यान सम्बन्धीको १४ नं. वमोजिम १० वर्ष कैद सजाय गर्ने ठहर्याएको पूर्वान्चल क्षेत्रीय अदालतको निर्णय मिलेकै देखिंदा मनासिव ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको प्रतिलिपि महान्यायाधिवक्तको कार्यालयलाई दिई मिसिल नियम वमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.कृष्ण कुमार वर्मा
इति सम्बत् २०५४ साल कार्तिक १९ गते रोज ३ शुभम् ------