निर्णय नं. ६५४२ - जग्गा खिचोला
निर्णय नं. ६५४२ ने.का.प. २०५५ अङ्क ५
पूर्ण इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री मोहन प्रसाद शर्मा
माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा
माननीय न्यायाधीश श्री टोप बहादुर सिंह
माननीय न्यायाधीश श्री दिलिप कुमार पौडेल
सम्बत् २०५३ सालको दे.पु.इ.नं................१०४
फैसला मितिः २०५५।६।२३।६
मुद्दाः जग्गा खिचोला ।
पुनरावेदक/प्रतिवादी : सिन्धुपाल्चोक जिल्ला वांसवारी गा.वि.स. वडा नं. २ वस्ने गणेश बहादुर नेपाल ।
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ. वस्ने शिवलोचन नेपाल खत्री ।
§ प्रतिवादीले पेश गरेको वहश नोट साथ संलग्न सिन्धुपाल्चोक माल कार्यालय, चौताराको प.सं. ०३८।३९ च.नं. ५२७ को दर्ता उतार पत्रमा पनि निज प्रतिवादी शिवलोचन नेपालको नाममा गिनेरीवोटे खेत ।११।७।४ को १ कित्ता र ।५।३ को कित्ता १ गरी दुई कित्ता जग्गासम्म निज प्रतिवादीका नाममा दर्ता रहे भएको पाइन्छ भन्ने मालपोत विभाग सिन्धुपाल्चोक मालको मिति २०३८।५।११ को प.सं. २०३८।३९ च.नं. ६७ को पत्रमा गिनेरोवोटे खेत ।२२।१५ मध्ये ।११।७।४ को कित्ता १ र ऐ. खेत ।१०।६ मध्ये ।५।३ को कित्ता गरी दुई कित्ता २०२८ सालको रैतानी लगतबाट रैति गणेश बहादुर नेपालको नाममा दर्ता रहेको भन्ने स्पष्ट खुलार्ई पठाएको पाइन्छ । प्रतिवादीले पेश गरेको २०३८।१०।१८ को पत्र र उक्त २०३८।५।११ को पत्र दुवैको दर्ता जोडदा ।२२।१५ र १०।६ कायम भै मूल दर्तासंग भिडन जाने समेत देखिन आएबाट विवादित जग्गामा वादीको हक नरहेको भन्न मिल्ने पनि देखिएन । अतः यस अदालत पूर्ण इजलासबाट मिति २०४६।५।६ मा वादी दावी वमोजिम खिचोला गरेको ठहर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी गरी वादी दावी नपुग्ने गरी भएको इन्साफ उल्टी हुने ठहर्छ । वादी दावी वमोजिम खिचोला गरेको ठहर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव हुने ।
(प्र.नं. १८)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी, विद्वान अधिवक्ता श्री प्रकाश वस्ती, विद्वान अधिवक्ता श्री गौतम थापा
प्रत्यर्थी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त, विद्वान अधिवक्ता श्री नारायण वल्लभ पन्त, विद्वान अधिवक्ता श्री मणीराज आचार्य
अवलम्वित नजिर :
फैसला
प्र.न्या.मोहन प्रसाद शर्मा : सर्वोच्च अदालत, पूर्ण इजलासको फैसला उपर श्री ५ महाराजाधिराज सरकारका हजुरमा विन्तिपत्र परी प्राप्त हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. १९ नं. सिन्धुमौजे आपचौर गिन्हारीवोटे खेत जम्मा माटो ।२२।१५ को कित्ता एक र ऐ. माटो ।१०।६ को कित्ता १ मध्ये भिन्न हुँदा आधा दाजु पुण्य प्रसादको भागमा र आधा माटो ।११।७।४ र ।५।३ को दुई कित्ता गिन्हारीवोटे खेत एकै चकला भई पूर्व इन्द्रावती गंगा पश्चिम मोटर हिडने मूल वाटो, उत्तर दाजु पुण्य प्रसादको भागको आधा खेत, दक्षिण ऐ. दाजु पुण्य प्रसादको खेत यति ४ किल्ला भित्रको जग्गा मेरो भागमा परेकोमा उक्त मेरो भागमा परेको माटो ।११।७।४ र माटो ।५।३ को खेत वावु पूर्णदत्तले मुक्तिनाथलार्ई रु.९९। मा ८८ सालमा वन्धकी दिई राख्नु भएको र लगाएको ऋण समेत वण्डा गर्दा उक्त थैली समेत मैले तिर्न पर्ने भई त्यस वखत निखन्न नसकी २००१ साल देखि नै विदेश तिर गएको म २०२४ साल आश्विनमा घर आई पुगेपछि बन्धकी जग्गा फिर्ता देउ भन्दा तिम्रो बाबुको दर्ताको तिम्रो अंशका जग्गा हो फिर्ता दिएं तिमीले नै भोग चलन गर २०२४ सालको वाली भने खान्छु भनी कागज गरी दिएकोले हालसम्म जग्गा भोग चलन गरी आएको छुं । मिति २०३०।३।२० गते विपक्षी शिवलोचनले अरु खेताला समेत लिई धान गोडी रहेको देखि किन गोडछौं भन्दा अवदेखि म नै कमाई खान्छु भनी खिचोला गरेकाले फिराद गर्न आएको छुं भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. राजीनामाबाट भोग तिरो गरेको जग्गा हो भोग वन्धकी लिएको होइन । वादीको सवै व्यहोरा झुठा हो । २०२५ साल देखि विपक्षीले भोग चलन गरेको भन्ने भनाइ झुठा हो, आषाढ महिनामा धान गोडने समय नै हुँदैन, धान केवल भाद्र महिनामा मात्र गोडने काम हुन्छ । यसप्रकार अव्यवहारीक काल्पनिक वनावटी भन्ने स्वयम वादी लेखले नै प्रष्ट गरेको छ । त्यसो हुँदा वादीको लेखाई अनुसार वादीको हकै नभएको जग्गामा वादीले धानवाली लगाउने प्रश्न पनि छैन । वादी दावा भएको जग्गा विपक्षीका वावु वा विपक्षी कुनै कसैको हक छैन । विना हक अधिकार दिएको फिराद हुँदा खारेज गरी झुठ्ठा फिराद गरेमा वादीलार्ई नै संजाय गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
४. वादी दावीको खेत कित्ता २ वादी गणेश बहादुरको हकको भन्ने कुरा स्पष्ट र एकिन हुन आयो । मेरो हकको भनी प्रतिउत्तरमा जिकिर गरी पछि तारिख छाडि वसेको देखिन आएकोले वादी दावा वमोजिम गणेश बहादुरको हकको जग्गामा प्रतिवादी शिवलोचनले खिचोला गरेको ठहर्छ भन्ने समेत व्यहोराको मिति २०३८।५।२८ गतेको सिन्धुपाल्चोक जिल्ला अदालतको फैसला ।
५. उपरोक्त फैसलामा चित्त बुझेन मेरो पुनरावेदन जिकिर र प्रतिउत्तर पत्र जिकिर वमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको वागमती अंचल अदालतमा पर्न आएको प्रतिवादीको पुनरावेदन ।
६. आफ्नो हक नभएको जग्गालार्ई प्रतिवादीले आफ्नो हकको भनी दावी गरेबाटै खिचोला गरेको देखिने हुँदा वादीले खिचोला मेटाई लिन पाउने गरी शुरु जिल्ला अदालतले गरेको फैसला मिलेकोले पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको वागमती अंचल अदालतको मिति २०३९।१२।१८ गतेको फैसला ।
७. उपरोक्त फैसलामा चित्त बुझेन, अ.वं. ८२ ज.मि.को १८ नं. ज.प.को १७ नं. को प्रत्यक्ष कानूनी त्रुटीपूर्ण फैसला भएको हुँदा पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको मध्यान्चल क्षेत्रीय अदालतमा पर्न आएको निवेदन पत्र ।
८. बागमती अन्चल अदालतको फैसलामा प्रमाणको मूल्यांकन सम्बन्धी त्रुटी हुन गएको छ । तसर्थः न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ (३) को आधारमा माग बमोजिम पुनरावेदनको अनुमति दिएको छ भन्ने समेत व्यहोराको म.क्षे.अ. सिंगलबेन्चको मिति २०४१।४।१६ गतेको आदेश ।
९. वादीको फिरादको ४ किल्ला संग मिति २०३९।६।७।५ को नक्साको ४ किल्ला मिले भिडेको र प्रतिवादीले आफ्नो नाममा दर्ता रहेको प्रमाण समेत पनि देखाउन नसकेको र प्रतिउत्तरमा खुलार्ईएको ४ किल्लासंग नक्साको ४ किल्ला मिल्न भिडन नआएको र प्रतिवादीले राजीनामाबाट पाएको भनेकोमा राजीनामा समेत पेश गर्न नसकेको समेतबाट वादी दावी समर्थित भएको हुँदा वादी दावी वमोजिम प्रतिवादीले खिचोला गरेको ठहर्याएको शुरुको सदर गरेको बागमती अन्चल अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको फैसला ।
१०. मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा अ.वं. ८२, ७८,१८५ (क) १८४ तथा प्रमाण ऐन, २०३१ को दफा ३४ समेतको त्रुटी हुँदा चित्त बुझेन, पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादीको यस सर्वोच्च अदालतमा पर्नआएको निवेदन पत्र ।
११. निवेदकका हकमा सम्म ऋण निश्चित गर्ने गरेको भूमिसुधार कार्यालय, ललितपुरको मिति २०३३।६।२८ गतेको निर्णय पर्चालार्ई सर्वोच्च अदालतबाट मिति २०२४।११।२४ मा बदर भएकोमा प्रतिवादीको दाजुको हकमा बदर नभएसम्म प्रतिवादीका हकमा हकमा ठहर भएकोलार्ई प्रमाणमा लिई निर्णय गर्न पर्नेमा त्यसलार्ई प्रमाणमा नलिई निर्णय गरेको मध्यमान्चल क्षेत्रीय अदालतको निर्णयमा प्रमाण ऐन, २०३१ को दफा ५४ अ.वं. १८४ (क) १८५ नं. समेतको त्रुटी हुदा अनुमति दिएको भन्ने समेत यस सर्वोच्च अदालत, संयुक्त इजलासको मिति २०४२।१२।१३।४ को आदेश ।
१२. यस अदालत संयुक्त इजलासमा मतक्य हुन नसकी स.अ. पूर्ण इजलास समक्ष पेश हुन गएकोमा स.अ. पूर्ण इजलासबाट विवादित जग्गामा वादीको हक अधिकार रही रहेको मान्न मिलेन । विवादित जग्गामा मेरो यो यस कारणले हक हुन आएको भनी राजीनामा दर्ता प्रमाण लगायतका ठोस सबुद प्रमाण वादीले पेश गर्न नसकेको हुँदा खिचोला गर्यो भन्ने वादी दावा मिलेको देखिएन । वादी दावी वमोजिम खिचोला गरेको ठहर्छ भनी शुरुको सदर गरेको बाग्मती अन्चल अदालत तथा मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको २०४६।५।६। को स.अ. पूर्ण इजलासको फैसला ।
१३. उक्त फैसला उपर चित्त बुझेन, मालपोतबाट प्राप्त दर्ता उतार समेतबाट विवादित जग्गा मेरो नाममा दर्ता भई रैतानी लगत र तिरो तिरेको रसिद समेत सामेल रहेको हुँदाहुदै उपर्युक्त सबुद प्रमाणहरुको कुनै मूल्यांकन एवं न्यायिक मनको प्रयोग नगरी हचुवाको आधारमा प्रतिवादीले खिचोला गर्यो भन्ने वादी दावी मिलेको देखिएन भनी भएको फैसला कानूनको प्रत्यक्ष त्रुटीपूर्ण, प्रतिपादित नजिरको प्रतिकूल एवं विपरित भएकाले इन्साफ जाँच गरी हेरि दिनु भन्ने हुकुम प्रमाङ्गी बक्स पाउँ भन्ने समेत व्यहोराको गणेशबहादुर नेपाल खत्रीको श्री ५ महाराजधिराजका हजुरमा परेको बिन्तिपत्र ।
१४. यसमा विवादित जग्गा पिता मुक्तिनाथले धिर्जमान तथा पिताम्बरसंग राजीनामा गराई लिएको भनी प्रतिवादीले जिकिर लिएकोमा उक्त राजीनामाको लिखतहरु प्रतिवादीले पेश गर्न सकेको देखिदैन । सिन्धुपाल्चोक मालको मिति २०३८।५।११ को पत्रबाट विवादित जग्गा वादीको नाउँमा दर्ता रहेको साथै निजले नै तिरो तिरान गरी भोग चलन समेत गरी आएको देखिदा वादी दावा मिलेको देखिएन भनी यस अदालतबाट मिति २०४६।५।६ मा भएको फैसला इन्साफ जाँच गरी हेर्नुपर्ने देखिन आएकोले इन्साफ जाँचको निस्सा प्रदान गरिएको छ, विपक्षी झिकाई नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको २०५३।६।१८ को आदेश ।
१५. यसमा तिन जना न्यायाधीशहरु भएको पूर्ण इजलासको फैसला दोहोर्याई पाउँ भनी बिन्तिपत्र परी सो बिन्तिपत्र यस अदालतमा प्राप्त भै संयुक्त इजलास समक्ष पेश भई दोहोर्याई दिने निस्सा प्रदान भएको देखिन्छ । प्रस्तुत मुद्दा तिनभन्दा बढी संख्या भएको न्यायाधीशहरुको इजलाशबाट हेरीनु पर्ने देखिंदा नियमानुसार गरी तीन भन्दा वढी न्यायाधीशहरु भएको पूर्ण इजलासमा पेश गर्नु भन्ने यस अदालत पूर्ण इजलासको मिति २०५३।१२।७ को आदेश ।
१६. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री सुन्दर लाल चौधरी र विद्वान अधिवक्ता श्री प्रकाश वस्ती, विद्वान अधिवक्ता श्री गौतम थापाले र प्रत्यर्थी तर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त, विद्वान अधिवक्ता श्री नारायण बल्लभ पन्त विद्वान अधिवक्ता श्री मणीराज आचार्यले गर्नु भएको बहस जिकिर सुनी पेश भएको वहस नोट अध्ययन गरी आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा जि. सिन्धुपाल्चोक सिन्धुमौजे आपचौर गिन्हारीबोटे खेत माटो २२।१५ को कित्ता १ र ऐ. माटो ।१०।६ पाथीको कित्ता १ मध्ये आधा पुण्य प्रसादको र आधा माटो ।११।७।४ र ।५।३ को २ कित्ता गिन्हारीबोटै खेत मेरो भएकोमा प्रतिवादी शिवलोचलनले खिचोला गरेकोले खिचोला मेटाइ चलन चलार्ई पाउँ भन्ने वादी दावी र विवादित जग्गा राजीनामाबाट भोग तिरो गरी लिएको जग्गा हो वादी दावी झुठ्ठा हो २०२५ साल देखि विपक्षीले भोग गरेको भन्ने कुरा झुठ्ठा हो उक्त जग्गामा वादीको हकै छैन भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा विवादित जग्गा साविकमा बावु पुर्णदत्तको नाममा दर्ता भएको भन्ने कुरामा विवाद देखिन आउदैंन । पूर्णदत्तका छोराहरुमा पूर्ण प्रसाद १ र यी वादी गणेश बहादुर १ भन्ने देखिन आउँदछ । बावु पूर्णदत्तको हकको उक्त विवादित जग्गामा छोराहरुको आधा आधा हक लाग्ने कुरा निर्विवाद छ । मिति २०३९।६।७।५ को नक्सा मुचुल्का हेर्दा साविक पूर्णदत्तको । २२।१५ र ।१०।६। २ कित्ता जग्गा भई आधाआधा अर्थात ।११।७।४, ।११।७।४ र ।५।३, ।५।३ को कित्ता कायम भई दुवै कित्तासंग साथै रहे भएको पनि देखिन्छ । वादी गणेश बहादुरको हक टुटेको वा बावुकै पालामा निजको हक टुटेको छ भन्ने कुराको कुनै सवुद प्रमाण प्रतिवादी पक्षबाट पेश दाखिल हुन सकेको देखिदैन ।
१७. जहाँसम्म प्रतिवादीको मेरो वुवा मुक्तिनाथले धिर्जीवर भन्ने धिर्जमानसंग राजीनामाबाट हक पारित गराई लिएको भन्ने जिकिर सम्वन्धमा प्रतिवादीले राजीनामाबाट हक प्राप्त भएको भन्ने कुराको जिकिर मात्र लिएको, तर राजीनामाको लिखत पेश दाखिल गर्न सकेको पाइदैन । प्रतिवादीले आफ्नो प्रतिउत्तर जिकिरमा मुख्यतया ऋण निश्चित गरी पाउँ भन्ने गोविन्दमान भन्ने गोविन्देश्वर मानले ल. पु. जि. भू. सु. कार्यालयमा दिएको ऋण निश्चित मुद्दामा भूमिसुधार कार्यालयले गरेको ऋण निश्चित उपर परेको रिट जारी भएको निर्णयलार्ई आधार वनाएको देखिन्छ । सो ऋण निश्चित मुद्दामा भूमिसुधारले ऋण निश्चित गरि सकेपछि रिट पर्दा राजीनामाको कुरा उठेपछि राजीनामा वा भोगबन्धकी के हो भन्ने विवाद उठेपछि भू.सु.अ.ले निर्णय गर्न पाउने अधिकार नरहेको हुदा ऋण निश्चित गर्नु नहुने भन्ने सम्म कुरा उठी रिट जारी भएको अवस्था देखिएकोले यी वादीको हकको आधा जग्गामा हक नभएको भन्न मिल्ने अवस्था देखिदैन साथै ऋण निश्चित मुद्दामा यी वादीलार्ई विपक्षी पनि बनाएको देखिदैन ।
१८. प्रतिवादीले पेश गरेको वहश नोट साथ संलग्न सिन्धुपाल्चोक माल कार्यालय, चौताराको प.सं. ०३८।३९ च.नं. ५२७ को दर्ता उतार पत्रमा पनि निज प्रतिवादी शिवलोचन नेपालको नाममा गिनेरीवोटे खेत ११।७।४ को १ कित्ता र ।५।३ को कित्ता १ गरी दुई कित्ता जग्गासम्म निज प्रतिवादीका नाममा दर्ता रहे भएको पाइन्छ भन्ने मालपोत विभाग सिन्धुपाल्चोक मालको मिति २०३८।५।११ को प.सं. २०३८।३९ च.नं. ६७ को पत्रमा गिनेरीवोटे खेत ।२२।१५ मध्ये ।११।७।४ को कित्ता १ र ऐ. खेत ।१०।६ मध्ये ।५।३ को कित्ता १ गरी २ कित्ता २०२८ सालको रैतानी लगतबाट रैति गणेश बहादुर नेपालको नाममा दर्ता रहेको भन्ने स्पष्ट खुलार्ई पठाएको पाइन्छ । प्रतिवादीले पेश गरेको २०३८।१०।१८ को पत्र र उक्त २०३८।५।११ को पत्र दुवैको दर्ता जोडदा ।२२।१५ र १०।६ कायम भै मूल दर्तासंग भिडन जाने समेत देखिन आएबाट विवादित जग्गामा वादीको हक नरहेको भन्ने मिल्ने पनि देखिएन । अतः यस अदालत पूर्ण इजलासबाट मिति २०४६।५।६ मा वादी दावी वमोजिम खिचोला गरेको ठहर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी गरी वादी दावी नपुग्ने ठहर गरी भएको इन्साफ उल्टी हुने ठहर्छ । वादी दावी वमोजिम खिचोला गरेको ठहर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा हाम्रो सहमती छ ।
मा.न्या. श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
मा.न्या. श्री राजेन्द्रराज नांख्वा
मा.न्या. श्री टोप बहादुर सिंह
मा.न्या. श्री दिलिप कुमार पौडेल
इति सम्बत् २०५५ असोज २३ गते रोज ६ शुभम् ।