शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९१८१ - अंश

भाग: ५६ साल: २०७१ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल

माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ

फैसला मिति : २०७१।३।१८।४

०६७–CI–००१२

 

मुद्दाअंश ।

 

पुनरावेदक/प्रतिवादी : जिल्ला बारा, गडहल गा.वि.. वडा नं. ५ बस्ने जितेन्द्रप्रसाद चौधरी

विरूद्ध

प्रत्यर्थी/वादी : जिल्ला बारा, गडहल गा.वि..वडा नं. ५ बस्ने मंगलप्रसाद फौजदार

 

§  प्रतिवादी बनाइएकी पियारिया देवीलाई बुझी प्रतिवादी पार्वतीदेवीका छोराहरू जितेन्द्र, उपेन्द्र र लोकेन्द्रसमेतलाई प्रतिवादी कायम गरिएको भए पनि निजहरूसँग तायदाती मागिएको नदेखिएको र यस्तै वादीकी आमा कलावती र दाजु भाइहरूसमेतसँग फाँटवारी मागिएको नदेखिनाले स्व. लालबाबुकी पत्नी पार्वतीदेवीबाट अंश पाउने भनी ठहर गरेपछि निजका छोराहरू जितेन्द्र, उपेन्द्र र लोकेन्द्रबाटसमेत र वादीकी आमा कलावती र वादीका अन्य दाजुभाइहरू मोहन, सोहन र महेन्द्रलाईसमेत मुलुकी ऐन, .बं. १३९ नं. बमोजिम नबुझेको भए बुझी निजहरूसमेत सगोलका अंशियार हुन् होइनन् यकिन गरी न्यायिक निरूपण गर्नुपर्नेमा सोबमोजिम बुझ्नुपर्ने प्रमाण बुझ्दै नबुझी भएको पुनरावेदन अदालत, हेटौंडाको फैसलामा प्रमाणको मूल्याङ्कनको रोहबाट त्रुटिपूर्ण देखिँदा बदर हुने ।

(प्रकरण नं. )

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट :

प्रत्यर्थी/वादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी ऐन, .बं. १३९, २०२ नं.

सुरू तहमा फैसला गर्ने :

            मा.जि.न्या.श्री प्रेमबहादुर के.सी.

पुनरावेदन तहमा फैसला गर्ने :

            मा.न्या.श्री उद्धवप्रसाद बाँस्कोटा

            मा.न्या.श्री गौरीबहादुर कार्की

 

फैसला

            न्या.गिरीश चन्द्र लाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९() बमोजिम पुनरावेदन अदालत, हेटौंडाको मिति २०६५।६।३० को फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्निर्णय यसप्रकार छ :

            मूलपुरूष ब्रम्हनारायणका ५ छोरा क्रमशः मुरलीधर, गोविन्धर, नन्दकिशोर, लालबाबु र ठाकुरप्रसाद हुन् । ब्रम्हनारायण, मुरलीधर, गोविन्धर र लालबाबुको स्वर्गवास भइसकेको छ । गोविन्धरको छोरा म फिरादी हुँ र विपक्षी ठाकुरप्रसादको छोरा विपक्षी मनोजकुमार हुन् । लालबाबुका पत्नी विपक्षी पार्वतीदेवी हुन् । विपक्षी ठाकुर तथा नन्दकिशोर मेरो काका, पार्वतीदेवी काकी तथा राजेन्द्र र मनोज मेरो भाइ नाताका हुन् । ब्रम्हनारायणको शेषपछि निजका पाँचैजना छोराहरू मानो छुट्टिई बसेको भए तापनि जग्गा जमिन सगोलमा भोगी आएकोमा अब अंशबन्डा गरौँ भन्दा विपक्षीहरूले इन्कार गरेको हुँदा ५ खण्डको १ खण्ड मेरो पिताको हुने अंश छुट्याई मेरो नाउँमा दर्तासमेत गराई पाउँ भन्नेसमेत व्यहोराको मुख्य फिराद दावी ।

            हामी पाँच अंशियार हुँदा ५ खण्डको १।१ खण्ड हाम्रो अंशहक हुँदा छुट्याई लिउँ भनी बारम्बार भन्दै आएका छौँ । वादीले हामीसरहका अन्य प्रतिवादीको उचलाहटमा लागी झुट्ठा फिराद गरेका हुन् । पाँचभागको १।१ भाग अंश लिन दिन इन्कार गरेका छैनौँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू नन्द किशोर र पार्वतीदेवीको संयुक्त प्रतिउत्तर जिकिर ।

            वादीलाई हामीले अंश दिनुपर्ने अवस्था छैन । वादीले गोविन्धरको आफू एकमात्र छोरा भनी उल्लेख गरे तापनि गोविन्धरका चार छोराहरू क्रमशः मोहन, सोहन विपक्षी मंगल तथा महेन्द्र हुन् । साथै गोविन्धरकी पत्नी कलावती जीवितै छन् । कलावती जीवित हुँदाहुँदै गोविन्धरको अंशभाग निज वादीले दावी गर्न मिल्दैन । त्यसै गरी लालबाबु जीवितै भए तापनि निजकी श्रीमती पार्वतीदेवी तथा ३ छोराहरू क्रमशः जीतेन्द्र, उपेन्द्र र लोकेन्द्र हुन् । वादीले पार्वतीलाई मात्र देखाई अधुरो फिराद गरेका छन् । पिता ब्रम्हदेवको जीवनकालमा पाँचै छोरा र आफ्नो अंशसमेत घरसारमा नरम गरम मिलाई २०२१ साल माघ १० गते छुट्याई दिनु भएको हो । सोही समयदेखि आआफ्नो खति उपति गरी अलग भिन्न भई आएको छ । सर्भे नापीमा आआफ्नो हकको जग्गा आआफ्ना नाउँमा एकलौटी दर्ता भएको छ । बन्डा नछुट्याएको भए त्यसरी छुट्टाछुट्टै सर्भे नापी गराउनुपर्ने अवस्था आउँदैन । विपक्षीका दाजु मोहनप्रसादले आफ्ना नाउँको जग्गा २०२६।५।२०, २०२८।६।२२, २०४२।९।८, २०५४।२।१८ मा राजीनामा गरिदिनु भएको छ । सगोलमा बसेको भए सगोलको अंशियारलाई त्यसरी जग्गा बिक्री गरिदिनुपर्ने अवस्था आउँदैन । पिता ब्रम्हनारायणको नाउँमा नापी भएको जग्गा जुन अंशियारको हकमा थियो सोही परिवारका नाममा नामसारी भएको छ । त्यसै गरी ब्रम्हनारायणको नाउँको कि.नं. ८५ मालपोत कार्यालयको निर्णयले नन्दकिशोरको नाउँमा दा.खा. भएको छ भने ठाकुरप्रसादको नाउँमा पनि त्यसै रीतले आएको छ । मोहन चौधरीको नाउँमा पनि त्यस्तै तरिकाले दा.खा. भएको छ । ब्रम्हनारायणले आफ्नो अंशको जग्गा बकस गरी म मनोजका नाउँमा आएको छ । यस प्रकार अंश हक छुट्टिई छुट्टाछुट्टै व्यवहार दर्ता भोग बिक्रीसमेत भएको हुँदा पुनः अंशबन्डा हुनुपर्ने अवस्था नै

छैन । वादी दावीबाट फुर्सद पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी ठाकुरप्रसाद र मनोजकुमारको संयुक्त प्रतिउत्तर जिकिर ।

            हाम्रोबीच अंशबन्डा वा मानो छुट्टिएको लिखत पारित नभए पनि हामी सगोलका अंशियार होइनौं । पिता, बाजेकै पालामा छुट्टि भिन्न भएको छ । हाम्रो अलगअलग नापी, दर्ता, भोग, खरिद बिक्री व्यवहार गरी आएका छौँ । आआफ्नो अंशहकको जग्गा छुट्टाछुट्टै दर्ता नामसारी गरेका हुँदा अंशबन्डा हुनुपर्ने अवस्था नै छैन । विपक्षीको आमा, दाजु भाइहरू रहे भएको कुरालाई निजले प्रकाशमा ल्याउनुभएको छैन । हामीबीच लेनदेन, किनबेचसमेत भएको हुँदा वादी दावी खारेज गरी अलग फुर्सद गरी पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी हरेन्द्रप्रसादको प्रतिउत्तर जिकिर ।

            प्रतिवादी राजेन्द्रप्रसादले प्रतिवाद नगरी सुरू म्यादै गुजारी बसेको ।

            ब्रम्हनारायणका ५ छोराहरू क्रमशः मुरलीधर, गोविन्धर, नन्दकिशोर, लालबाबु र ठाकुरप्रसाद हुन् । मुरलीधरका २ छोराहरू राजेन्द्र र हरेन्द्र हुन् । गोविन्धरका ४ छोरा मोहन, सोहन, मंगल र महेन्द्र हुन् । वादीकी आमा कलावतीदेवी हुन् । हाम्रोबीचमा अंशबन्डा भएको छैन । मैले पनि अंश पाउनुपर्छ भन्नेसमेत व्यहोराको अ.बं. १३९ नं. बमोजिम बुझिएका महेन्द्र फौजदारको बयान ।

            वादीका साक्षी मनोज चौधरी, प्रतिवादी ठाकुरप्रसादको साक्षी हरि पण्डित, प्रतिवादी हरेन्द्रको साक्षी रामाज्ञा यादव र प्रतिवादी नन्दकिशोरको साक्षी संजय चौधरीको बकपत्र ।

            लालबाबुको नाउँको कि.नं. ६७ र ७० को फिल्डबुकमा तथा नन्दकिशोरको कि.नं. ११ को फिल्डबुकमा किसानको व्यहोरामा अंश लिई भोगी आएको भन्ने उल्लेख भएकोबाट यिनीहरू एकासगोलका अंशियार हुन् भन्ने नदेखिई छुट्टि भिन्न भई बसेको देखिन्छ । मिसिल संलग्न प्रतिवादी ठाकुरप्रसाद र ब्रम्हनारायणबीचको मिति २०३७।१।१ को राजीनामा प्रतिलिपि, वादीका दाजु मोहनप्रसाद र प्रतिवादी पार्वतीदेवीका पति लालबाबुबीचको मिति २०५४।१।१८ को राजीनामा प्रतिलिपिबाट तथा स्व.ब्रम्हनारायणको नाउँको जग्गा नामसारी भएको मिति २०५७।८।३ को निर्णय मिसिलसमेतका प्रमाणहरूबाट वादी तथा प्रतिवादीहरूबीच अंशबन्डाको महलको ३० नं. बमोजिम छुट्टि भिन्न भै छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेको देखिँदा व्यवहार प्रमाणबाट बन्डा भइसकेको देखिँदा वादी दावी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू बारा जिल्ला अदालतबाट मिति २०६१।३।७ मा भएको फैसला ।

            विधिवत् अंशबन्डा भएको लिखत प्रमाण नहुँदा म वादीले अंश लिए पाएको देखिएको

छैन । साविकमा बन्डा भएको कुन जग्गा हाल के कुन हो सो देखिएको नहुँदा पहिल्यै बन्डा भइसकेको भन्ने मान्न मिल्दैन । कहिलेको बन्डापत्रबाट कुन अंशियारकोमा आएको भन्ने स्पष्ट नहुँदा केवल फिल्डबुकको किसान व्यहोरामा जनिएकै भरमा अंशबन्डा भइसकेको भनी मान्न मिल्दैन । आफूखुश गर्न पाउने जग्गा बिक्री गर्न बाधा नहुने कानूनी व्यवस्था हुँदा त्यसलाई प्रमाणमा लगाएर अंशबन्डा भइसकेको भन्न मिल्ने पनि होइन । पिता ब्रम्हनारायणको नाउँको जग्गा सगोलमा दर्ता सरी आएको हो । म पुनरावदेक वादी र प्रतिवादीहरूको बीचमा अंशबन्डा भएको वा छुट्टि भिन्न भएको कुनै प्रमाण नहुँदा सुरू बारा जिल्ला अदालतबाट भएको अंशबन्डाको ३० नं. को प्रत्यक्ष त्रुटिपूर्ण फैसला उल्टाई फिराद दावीबमोजिम ठहर गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको वादीपक्षको पुनरावेदनपत्र ।

            अंश दिन स्वीकार गर्ने प्रतिवादी नन्दकिशोर र पार्वतीदेवीबाट समेत अंश नपाउने ठहराई गरेको सुरूको फैसला फरक पर्न सक्ने देखिँदा छलफलको निमित्त अ.बं. २०२ नं. र पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाई हाजिर भए वा सो अवधि नाघेपछि नियमबमोजिम पेस गर्नु भन्ने २०६२।१।२० को पुनरावेदन अदालतको आदेश ।

            प्रत्यर्थी पार्वतीदेवी र लालबाबुको छोरा जीतेन्द्र, उपेन्द्र र लोकेन्द्रलाई आवश्यक परे पुनरावेदकबाट वतन खुलाउन लगाई अ.बं.१३९ नं. बमोजिम बुझी प्रत्यर्थीमध्येका ठाकुरप्रसाद फौजदारको प्रतिउत्तरको प्रमाण खण्डको प्रकरण ६, , ८ र ९ मा उल्लेख भएका नामसारीसम्बन्धी मिसिल सम्बन्धित कार्यालयबाट झिकाई आएपछि नियमानुसार गरी पेस गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६३।६।२९ को आदेश ।

            मूलपुरूष ब्रम्हनारायणका ५ छोरा मुरलीधर, गोविन्धर, नन्दकिशोर, लालबाबु र ठाकुरप्रसाद भएको भन्नेमा प्रतिवादीमध्येका मुरलीधरको छोराहरू राजेन्द्रप्रसाद र  हरेन्द्रप्रसाद हुन् । मुरलीधर र निजकी श्रीमतीको मृत्यु भैसकेको छ । माहिला छोरा गोविन्धरको पनि मृत्यु भैसकेको छ र निजकी श्रीमती कलावतीदेवी हालसम्म जीवितै छन् । निजका ४ छोराहरू यसै मुद्दाका वादी मंगलप्रसाद, मोहनप्रसाद, सोहनप्रसाद र महेन्द्रप्रसाद हुन् । साहिला छोरा नन्दकिशोर र निजकी श्रीमतीको मृत्यु भैसकेको छ । निजका २ छोरामा जेठा कमलेश्वर हुन् भने कान्छाको मृत्यु भैसकेको छ । त्यस्तै ब्रम्हनारायणका काहिला छोरा लालबाबुको स्वर्गवास भैसकेको छ भने पत्नी पार्वतीदेवी हुन् । निजका छोराहरू जीतेन्द्र, लोकेन्द्र र उपेन्द्र हुन् । कान्छा ठाकुरप्रसाद हुन् र निजकी एक श्रीमती छन् तथा एक छोरा मनोजप्रसाद हुन् । प्रस्तुत मुद्दा पर्नुअघि अंशियारहरूबीच अंशबन्डा भएको छैन । आमा पार्वती तथा हामी छोराहरू जीतेन्द्र, उपेन्द्र र लोकेन्द्रले आफ्नो पिता लालबाबुको अंश भाग पाउनुपर्ने हो । मूलपुर्खा ब्रम्हनारायणका पाँच छोराहरूबीच पाँच भाग लगाउनुपर्दछ भन्नेसमेत व्यहोराको लोकेन्द्र र उपेन्द्रको वारेस भई आफ्ना हकमा समेत जीतेन्द्र प्रसादले पुनरावेदन अदालतसमक्ष बयान गरी कारणीसरह तारिखमा रहेका रहेछन् ।

            फिराद गर्दा प्रतिवादी नबनाइएकी वादीकी आमा कलावती देवी तथा दाजु भाइ मोहनप्रसाद, सोहन तथा महेन्द्र चौधरीलाई सुरूबाट झिकाउने आदेश भएको र प्रतिवादीसमेत कायम गरिएको भएपछि २०६२।१।२० को आदेशबमोजिमको सूचना निजहरूलाई समेत दिनुपर्ने हुँदा सूचना जारी गरी नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६३।१२।१८ को आदेश ।

            मूलपुरूष ब्रम्हनारायणका ५ छोरा मुरलीधर, गोविन्धर, नन्दकिशोर, लालबाबु र ठाकुरप्रसाद भएको भन्नेमा प्रतिवादीमध्येका मुरलीधरको छोरा हरेन्द्रप्रसाद तथा ब्रम्हनारायणको छोरा प्रतिवादी ठाकुरप्रसाद र निजको छोरा प्रतिवादी मनोजकुमारले २०२१।१०।१० मै बाबु बाजे ब्रम्हनारायणले उहाँको जीवनकालमै अंश छुट्याई दिएकोले वादीलाई अंश दिनुपर्ने होइन भनी प्रतिउत्तर दिएको देखिन्छ । प्रतिवादीमध्येको नन्दकिशोर र लालबाबुको पत्नी पार्वतीदेवीले वादीलाई ५ खण्डको १ खण्ड अंश दिन मन्जुर गरी प्रतिउत्तर लगाएको देखिन्छ । अंश दिन मन्जुर गर्ने प्रतिवादीहरूसमेतबाट अंश नदिलाएको भनी झगडिया झिकाउने आदेश भएकोले मिसिल संलग्न फिल्डबुक उतार तथा विभिन्न मितिमा भएका राजीनामा, बकसपत्र जग्गादर्ताको मालपोत कार्यालयको निर्णयकागजसमेतको परिप्रेक्ष्यमा मुरलीधरको हाँगातर्फका प्रतिवादी राजेन्द्र र हरेन्द्रप्रसाद र प्रतिवादी ठाकुरप्रसाद फौजदार र मनोजकुमार फौजदारको हकमा बाहेक गरी अंश दिन मन्जुर गर्ने प्रतिवादी नन्दकिशोर र लालबाबुको पत्नी पार्वतीदेवी तथा वादीसँग फिराद परेको अघिल्लो दिनसम्मको अंशबन्डाको २०, २१, २२ र २३ नं.समेतको रीत पुर्याई तायदाती फाँटवारी लिई नपुग कोर्ट फी वादीबाट लिई नियमानुसार पेस गर्नु भन्ने मिति २०६४।८।२ को पुनरावेदन अदालतको आदेश ।

            प्रत्यर्थी प्रतिवादी पार्वर्तीदेवी फौजदार, पुनरावदेक वादी मंगलप्रसाद तथा प्रत्यर्थी प्रतिवादी नन्दकिशोरको हकमा कमलेश्वर फौजदारले छुट्टाछुट्टै पेस गरेको तायदाती फाँटवारी तथा दर्ता उतारसमेत मिसिल संलग्न रहेको । 

            मुरलीधरको हाँगातर्फका प्रतिवादी राजेन्द्र र हरेन्द्रप्रसाद फौजदार र प्रतिवादी ठाकुरप्रसाद फौजदार र मनोजकुमार फौजदारको हकमा बाहेक गरी अंश दिन मन्जुर गर्ने प्रतिवादी नन्दकिशोर र लालबाबुकी पत्नी पार्वतीदेवी तथा वादीसँग फिराद परेको अघिल्लो दिनसम्मको तायदाती फाँटवारी लिने भनी तायदाती फाँटवारी माग गरेकोमा प्रतिवादीमध्येकी लालबाबुकी श्रीमती पार्वतीदेवीले नरही गा.वि..वडा नं.१ को कि.नं. ७६ को ०० र ऐ गा.वि.. वडा नं. २ कि.नं.२६४ को ०० जग्गा देखाई बन्डा नलाग्ने निजी आर्जनको भनी तायदाती दिएको देखियो । तर निजी आर्जनको भएको स्रोत देखाएको देखिन आउँदैन । निजी आर्जनको भन्ने शब्द उल्लेख गर्दैमा मात्र निजी भन्न मिल्ने देखिन नआएकोले बन्डालाग्ने सम्पत्तिभित्रकै सम्पत्ति देखिन आयो ।

            अब अर्का प्रतिवादी नन्दकिशोर मरी मु..गर्ने प्रतिवादी कमलेश्वरले बन्डा लाग्ने कुनै सम्पत्ति नभएको भनी तायदाती फाँटवारी पेस गरेको देखिएकोले निजतर्फ विचार गर्नुपर्ने देखिन आएन ।

            अब पुनरावेदक वादी मंगलप्रसाद फौजदारले आफ्नो नामको सम्पत्तिको फाँटवारी नदेखाई दाजु सोहनप्रसादको श्रीमती पियारिया थरूनीको नामको २ कित्ता कि.नं. २४१ को ११५ र कि.नं. २८६ को ०१० जिल्ला बारा, खोपवा गा.वि.. वडा नं. ८ को जग्गा देखाई तायदाती फाँटवारी दिएको देखिन आउँछ, तर निज जग्गा दर्तावाला पियारिया थरूनी प्रस्तुत मुद्दामा प्रतिवादी नै नभएकी देखिएको र दाजुभाइ समानकी अंशियारसमेत भएको नदेखिएकीले बीचबीचमा नाम जोड्दै सम्पत्तिको फाँटवारी दिएको देखिएकोले त्यस्तो सम्पत्तिबाट अंशभाग पाउने भन्न पनि मिल्ने देखिन आएन ।

            तसर्थ प्रस्तुत मुद्दामा प्रतिवादी लालबाबुकी श्रीमती पार्वतीदेवीले पेस गरेको निजको नाउँदर्ताको जग्गाबाट मात्र ५ भागको १ भाग अंश वादी पुनरावेदकले पाउने ठहर्छ । सुरू बारा जिल्ला अदालतको मिति २०६१।३।७ को वादीदावी नपुग्ने ठहर्याएको फैसला सो हदसम्म नमिली उल्टि हुन्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६५।६।३० को फैसला ।

            जब ५ भागको १ भाग अंश वादीले पाउने भनी ठहर खण्डमा उल्लेख भएपछि स्वाभाविकरूपमा ब्रम्हनारायणका ५ वटै छोराहरूमा र तिनका हाँगामा अंश बन्डा नभएको भन्ने कुरा छर्लंङ्ग हुन्छ । यसरी वादीले देखाएको ५ अंशलाई सगोलको ठहर भैसकेपछि लालबाबुकी पत्नी पार्वतीदेवी, गोविन्धर र नन्द किशोरको बीचको सम्पत्तिमात्र बन्डा हुने अर्थ गरी भएको पुनरावेदन अदालत, हेटौंडाको फैसला विरोधाभाषपूर्ण भै त्रुटिपूर्ण छ । वादीदावीबमोजिम एवम्पुनरावेदन अदालत, हेटौंडाको ठहर खण्डको अन्तिम प्रकरणको मनसायबमोजिमसमेत वादीले भनेबमोजिम ब्रम्हनारायणको ५ वटै छोराहरू अर्थात्मुरलीधर, ठाकुरप्रसाद र तिनका हाँगाको सन्तान सगोलमै रहेको ठहर गरी न्याय पाऊँ ।

            वादीले देखाएको तथा प्रतिवादीले समेत स्वीकार गरेको पुस्तावलीबमोजिमका व्यक्तिहरू अर्थात्ब्रम्हनारायणका सम्पूर्ण ५ वटै छोराहरू तथा तिनीहरूको हाँगामा अंशबन्डा नभएको र आआफ्नो भोगसम्म गरी आएकोले मूलपुर्खा ब्रम्हनारायणका ५ छोराहरूबीच ५ भाग लगाउनुपर्दछ भनी पुनरावेदन अदालत, हेटौंडासमक्ष गरेको बयानको कुनै मूल्याङ्कन नै नगरी पुनरावेदन अदालत, हेटौंडाबाट भएको फैसलामा मुलुकी ऐन, .बं. १८४() नं. १८५ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ३ एवम्५४ को गम्भीर त्रूटी भएको छ ।

            ब्रम्हनारायणका छोरा मुरलीधरको हाँगाका राजेन्द्र र हरेन्द्र एवम्ठाकुरप्रसाद र मनोज कुमारबाटसमेत मुलुकी ऐन, अंशबन्डाको २०, २१, २२, र २३ नं. बमोजिम तायदाती फाँटवारी मागी मेरो बयान जिकिरबमोजिम ब्रम्हनारायणका ५ छोराहरूबीचको सम्पत्ति ५ भाग लगाई न्याय पाऊँ ।

            तसर्थ यी माथिका पुनरावेदन जिकिर एवम्मबाट मुकरर हुने कानून व्यवसायीको बहस बुँदालाई आधार मानी सगोलको अंशियारमा मुरलीधर र ठाकुरप्रसादको छोरालाई बाहेक गरी भएको फैसला त्रुटिपूर्ण हुँदा ब्रम्हनारायणको छोराहरूबीचको सम्पत्ति ५ भाग लगाई सो हदसम्म पुनरावेदन अदालत, हेटौंडाको फैसला उल्टि गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक प्रतिवादीको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।

            यसमा ब्रह्मनारायणका पाँच भाइ छोरा सबै वा तीमध्ये कोही सगोल वा भिन्न के हो निरूपण नगरी केवल प्रतिउत्तरलाई मात्र मान्यता दिई ५ भागको १ भाग अंश वादीलाई दिने फैसला हुँदा छुट्टि भिन्न भैसकेका भनी सुरू बारा जिल्ला अदालतले गरेको फैसला स्वीकारी पुनरावेदन नगर्ने पक्षले समेत अंश लिन पाउने पुनरावेदन अदालतको यस फैसलाबाट वादीको भाग हिस्सा घट्न जानेसमेतको स्थिति देखिएबाट पुनरावेदन अदालत, हेटौंडाले गरेको मिति २०६५।६।३० को फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०७०।६।९ को आदेश ।

            नियमबमोजिम दैनिक पेसीसूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सुरू र पुनरावेदन मिसिल अध्ययन गरी पुनरावेदन अदालत, हेटौंडाको फैसला मिले नमिलेको के रहेछ सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन

आयो ।

            मिसिल अध्ययन गरी हेर्दा पाँच खण्डको एक खण्ड अंश दिलाई पाउँ भन्ने फिराद दावी भएकोमा पाँच भागको एक भाग अंश दिन तयार छौं भन्ने कुनै प्रतिवादीको प्रतिउत्तर र अंश दिनुपर्ने होइन भन्ने कुनै प्रतिवादीको प्रतिउत्तर जिकिर भएकोमा व्यवहार प्रमाणबाट बन्डा भैसकेको देखिँदा वादीदावी पुग्न नसक्ने ठहराएको सुरू फैसलाउपर वादीको पुनरावेदन परेकोमा पुनरावेदन अदालत, हेटौंडाबाट केही उल्टि हुने ठहर भै सोउपर प्रतिवादीमध्येका जितेन्द्रप्रसाद चौधरीको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको रहेछ ।

            . निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दाका वादी, प्रतिवादी एवम्.बं. १३९ नं. बमोजिम बुझिएका अंशियारहरूका व्यहोराहरूबाट ब्रह्मनारायणका पाँच छोराहरू मूल अंशियार देखिएका छन् । ब्रह्मनारायणका पाँच भाइ छोरा सबै वा तीमध्ये कोही सगोल वा भिन्न के हो निरूपण नगरी केवल प्रतिउत्तरपत्रलाई मात्र मान्यता दिई वादीले अंश पाउने भनी पुनरावेदन अदालत, हेटौंडाबाट फैसला भएको देखिन्छ । ब्रम्हनारायणका अन्य छोरा मुरलीधर र ठाकुरप्रसादसमेतका हाँगातर्फ छुट्टी भिन्न भए नभएको बुझ्दै नबुझी पुनरावेदन अदालतबाट फैसला भएको छ । यसरी फैसला हुँदा सुरू बारा जिल्ला अदालतले छुट्टी भिन्न भैसकेको देखिनाले वादी दावी पुग्न नसक्ने भनी कसैले कसैबाट पनि अंश नपाउने गरी गरेको फैसलालाई स्वीकार गरी बसेका पुनरावेदन नगर्ने पक्षहरूलाईसमेत मर्का पर्न जाने हुन सक्तछ । यस्तो अवस्थामा वादीको भाग हिस्सा घट्न जानेसमेतको स्थिति देखिएबाट सो कुरातर्फ पुनरावेदन अदालतको फैसलाले ध्यान दिइएको पाइएन । वादी आफू ब्रह्मनारायणका ५ छोराहरूमध्ये गोविन्धरका छोरा भएको र वादीकी आमा कलावती पनि जीवितै रहेको देखिन्छ । वादीले अंशको दावी गर्दा ५ भागको १ भाग दावी गरेको देखिन्छ भने वादीका अन्य दाजुभाइहरू भएको पनि देखिन्छ । वादीकै दावीअनुसार मूल पुर्खाबाटै अंशबन्डा नभएको अवस्था मान्ने हो भने वादीका पुर्खा ५ भाइ भएको देखिँदा पाँच भागको एक भागमध्ये पाँचभागको एक भागमात्र वादीले अंश पाउने अवस्था हुन सक्ने देखिन्छ । पुनरावेदन अदालत, हेटौंडाबाट भएको फैसला अनुसार प्रतिवादी स्व.लालबाबुकी पत्नी पार्वतीदेवीले पेस गरेको निजको नाउँ दर्ताको जग्गाबाट मात्र वादीले अंश पाउने ठहर भएको छ जबकि वादीका पुर्खाहरूबीच अंशबन्डा भएको अवस्था मान्ने हो भने वादीले वादीकी आमा कलावतीसँगबाट मात्र अंश पाउने अवस्था हुन सक्तछ । वादी मंगलप्रसादले निजको दाजु सोहनप्रसादकी पत्नी पियारिया देवीका नाउँको सम्पत्ति तायदातीमा देखाएकोमा सोबाट अंशबन्डा भएको नदेखिएको हुँदा प्रतिवादी बनाइएकी पियारिया देवीलाई बुझी प्रतिवादी पार्वतीदेवीका छोराहरू जितेन्द्र, उपेन्द्र र लोकेन्द्रसमेतलाई प्रतिवादी कायम गरिएको भए पनि निजहरूसँग तायदाती मागिएको नदेखिएको र यस्तै वादीकी आमा कलावती र दाजु भाइहरूसमेतसँग फाँटवारी मागिएको नदेखिनाले स्व. लालबाबुकी पत्नी पार्वतीदेवीबाट अंश पाउने भनी ठहर गरेपछि निजका छोराहरू जितेन्द्र, उपेन्द्र र लोकेन्द्रबाट समेत र वादीकी आमा कलावती र वादीका अन्य दाजुभाइहरू मोहन, सोहन र महेन्द्रलाई समेत मुलुकी ऐन, .बं.१३९ नं. बमोजिम नबुझेको भए बुझी निजहरूसमेत संगोलका अंशियार हुन् होइनन् यकिन गरी न्यायिक निरूपण गर्नुपर्नेमा सोबमोजिम बुझ्नुपर्ने प्रमाण बुझ्दै नबुझी भएको पुनरावेदन अदालत, हेटौंडाको फैसलामा प्रमाणको मूल्याङ्कनको रोहबाट त्रुटिपूर्ण देखिँदा बदर गरिदिएको छ । अब जो जे बुझ्नुपर्दछ बुझी पुनरावेदन अदालत, हेटौंडाबाट नै मुद्दाको कारवाही किनारा गर्नु भनी तारिखमा रहेका पक्षलाई पुनरावेदन अदालत, हेटौंडाको तारिख तोकीदिई सुरू तथा पुनरावेदन अदालतको मिसिलसमेत पुनरावेदन अदालत, हेटौंडामा पठाई दिनू । प्रस्तुत मुद्दाको दायरीको लगतकट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.देवेन्द्रगोपाल श्रेष्ठ

 

इति संवत् २०७१ साल असार १८ गते रोज ४ शुभम् ।

इजलास अधिकृत : हेमबहादुर सेन

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु