शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५७६ - जग्गा हटक खिचोला चलन

भाग: ४० साल: २०५५ महिना: कार्तिक अंक:

निर्णय नं. ६५७६          ने.का.प. २०५५            अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा

सम्बत् २०५३ सालको दे.पु.नं. २८४२

फैसला मिति : २०५५।६।२२।५

 

मुद्दा : जग्गा हटक खिचोला चलन ।

 

पुनरावेदक/वादी : जिल्ला रुपन्देही बसौली गा.वि.स. वडा नं. ५ गुणी बस्ने मग्गल कोहार

विरुद्ध

प्रत्यर्थी : ऐ.ऐ. बस्ने चिनक अहिर समेत जम्मा ४

 

§  वादीले दिएको फिराद पत्रको प्रकरण १ को (ग) मा वादीको ०४७।२।१।३ मा मात्र शुरु रुपन्देही जिल्ला अदालतमा फिरादपत्र परेको देखिन्छ । सो सम्बन्धमा प्रचलित कानूनी व्यवस्थातर्फ दृष्टिगत गरी हेर्दा मुलुकी ऐन जग्गा मिच्नेको महलको १८ नं. मा जग्गाका कुरामा थाहा पाएको मितिले ६ महिना भित्रै नालेश नदिए लाग्न सक्दैन भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दाका सन्दर्भमा समेत ०४६।१।६ को वारदातको सम्बन्धमा सो मितिले ६ महिना भित्र नालेश दिनुपर्नेमा नदिई ०४७।२।१।३ मा मात्र यी वादीले प्रतिवादीहरु उपर नालेश पर्न आएको देखिएबाट सो हदम्याद नाघी पर्न आएको मुद्दा खारेज हुने ठहर गरी पुनरावेदन अदालत बुटवलबाट मिति २०५२।७।२१।३ मा भएको फैसला मिलेकै देखिँदा मनासिव ठहर्ने ।

(प्र.नं. ११)

 

पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता शुदर्शननिधि तिवारी

प्रत्यर्थी तर्फबाट :

अवलम्बित नजिर :

 

फैसला

न्या. हरिश्चन्द्रप्रसाद उपाध्याय : पुनरावेदन अदालत बुटबलको मिति २०५२।७।२१ को फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :

२. तप्ये सुरदावाङर मौजे पिपरा बस्ने उमतवा भरिन संग ०७ सालमा मेरा नाउँमा खरिद गरि लिएको जग्गा समेतको मिनही घरवास जग्गा हाल बसौली गा.पं. वडा नं. ५ को जग्गा नापि भै विभिन्न कित्ता कायम भएको सोहि मिनही घरवास जग्गा भूमिसुधार लागु हुँदा भू.सं. नियम २०२१ को नियम १८ को उप नियमबमोजिम जग्गाको फाँटवारी पेश गरी मेरा पिता मोहन कोहारले ०२२।९।१९ मा अनुसूची फारामको क्रमसंख्या ११ मा जग्गाको चौहदी सडक सो पूर्व मुरलीको घर जग्गाको दक्षिण हिनुको घर सो उत्तर कुला सो पश्चिम ज.वि. ०१२ जग्गा मैले भोग चलन गरी आएको र हाल सो जग्गामा दक्षिण पश्चिम तर्फ १७ हात लम्बा १५ हात चौडा इटाको दिवाल पक्कि लिन्टरको छानो पूर्व मोहडा भएको घर १ सोहि पूर्व दक्षिण २५ हाल लम्बा १५ हात चौडा कच्चि पक्कि इटाको दिवाल खपडाको छानो भएको उत्तर मोहडाको घर १, सो घरको उत्तर पूर्व तर्फ २२ हात लम्बा, ६ हात चौडा खरको छाना भएको धारा र १, सोही धाराको उत्तर दक्षिण तर्फ कुल निर पूर्व पश्चिम १५ हात लम्बा उत्तर दक्षिण ६ हात चौडा खरको छाना भएको छाप्रो वनाई गाई भैसीलाई पानी खुवाउने हौदी घर बनाएपछि पनि उत्तर तर्फ मेरो जग्गा वाँकी रहेको ९ हाते चौडा जग्गामा खुटा गाडी भैसी गाई वाँधी आएको मेरो एकलौटी हक भोगको जग्गा हो २०४७ साल वैशाख ६ गतेका दिन विपक्षीहरुले मेरो वाँकी रहेको ९ हात चौडा ६३ हात लम्वा ७ धुर जग्गामा गाडेको खुटा उखाली मेरो जग्गामा पूर्व पश्चिम हुँदै वाटो बनाउन जवरजस्ती गरेकाले मेरो ७ धुर जग्गाको खिचोला मेटाई चलन चलाई पाउँ भन्ने समेत फिराद दावी ।

३. वादीको कुनै खाली जग्गा छैन । वादीले उल्लेख गरेको ठाउँमा ७ हात उत्तर दक्षिण ५४ हात पूर्व पश्चिम बाटो छ, सो बाटो मुरली लगायतका सवै गाउँका मानिसहरुको आवत जावत गर्ने बाटो हो । सो जग्गालाई मिसाउन यस्तो गलत भूमिका बनाई दावी गरेका हुन् । सो वाटोमा विपक्षीको कुनै हक छैन, सार्वजनिक बाटो भएकाले बाटो नै कायम हुनुपर्ने हो । नापी नक्सा भएमा पनि प्रष्ट हुनेछ । कुला देखि दक्षिण तर्फ बाटो छ, म मुरलीको धारी मोहडा पश्चिम तर्फ छ, वादीको दावी सवै गलत हो झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिउत्तर जिकिर ।

४. वादी प्रतिवादीको साक्षी र २०४९।८।१३ को नापनक्सा मुचुल्का मिसिल सामेल रहेको ।

५. प्रतिवादीहरुले उक्त जग्गालाई सार्वजनिक वाटो भनेको तर नक्साबाट बाटो कतै नदेखाएको घर छाप्रा हेण्ड पाईप समेत भएको जग्गालाई बाटो भन्न सकिने अवस्था नहुँदा वादी दावी बमोजिम खिचोला गरेको ठहर्छ । खिचोला मेटाई चलन चलाई दिनु भन्ने शुरु रुपन्देही जिल्ला अदालतको मिति २०५०।८।२३ को फैसला ।

६. शुरु जिल्ला अदालतको फैसलामा चित्त बुझेन । जग्गा खिचोला मुद्दामा वारदात मिति २०४६।१।६ उल्लेख गरी मिति २०४७।२।१ मा फिराद दर्ता गरेको अवस्थामा हदम्याद नाघी परेको दावीलाई खारेज गर्नुपर्नेमा खिचोला ठहराएको शुरुको फैसला उल्टी गरी पाउँ भन्ने प्रतिवादीको पुनरावेदन अदालत बुटबलमा परेको पुनरावेदन पत्र ।

७. शुरु रुपन्देही जिल्ला अदालतको इन्साफ फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी वादीलाई झिकाई आएपछि पेश गर्नु भन्ने २०५२।३।१९ को पु.वे.अ. बुटबलको आदेश ।

८. वादीको जग्गामा २०४६।१।६ मा प्रतिवादीले खिचोला गरेको सम्बन्धमा सो मितिबाट ६ महिना भित्रै मिति २०४६।७।९ सम्ममा वादीको नालेस नपरी सो हदम्याद नघाई २०४७।२।१ मा प्रतिवादीहरु उपर नालेश दिएको देखिएको अवस्थामा वादीको फिराद खारेज गर्नुपर्नेमा इन्साफ गरेको शुरु रुपन्देही जिल्ला अदालतको २०५०।८।२३।४ को फैसला बदर भै वादीको फिरादपत्र खारेज हुने ठहर्छ भन्ने २०५२।७।२१।३ को पुनरावेदन अदालत बुटबलको फैसला ।

९. ०४६ साल चैत्र मसान्तसम्म विवाद नभएको भन्ने उल्लेख भै २०४७।१।६ गते विपक्षीहरुले हटक खिचोला गरी झगडा मारपिट अशान्ति गरेको शान्ति सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन र कुटपिट मुद्दाको मिसिल संलग्न रहेको केश फाराम समेतबाट २०४७।१।६ मा नै विवाद परेको सो मितिले ज.मि.को १८ नं. को हदम्याद शुरु हुने र शुरु अदालतबाट प्रमाणको मूल्याङ्कन गरी खिचोला गरेको ठहराएको इन्साफ सदर गर्नुपर्नेमा उल्टी गरी दावि खारेज गरेको पुनरावेदन अदालत बुटवलको फैसला प्रमाण ऐन, २०३१ को दफा ५४ ले बदरभागी हुँदा सो फैसला उल्टाई शुरु जिल्ला अदालतको फैसला सदर कायम राखि पाउँ भन्ने समेत व्यहोराको वादी मग्गम कोहारको यस अदालतमा पर्न आएको पुनरावेदन ।

१०. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट वहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री शुदर्शननिधि तिवारीले विवादित जग्गाको सम्बन्धमा ७ नं. फाँटवारीबाट अन्य कसैको हक भएको भन्ने कुरा देखिँदैन । हदम्यादको प्रश्नको सम्बन्धमा हेर्दा पनि फिरादपत्रमा ०४७ साल चैत्र मसान्त सम्म कुने विवाद नभएको भनी लेखिएको हुँदा प्रस्तुत मुद्दामा पुनरावेदन अदालतबाट मिति २०५२।७।२१ मा भएको फैसला उल्टी गरी शुरु जिल्ला अदालतको फैसला सदर हुनु पर्दछ भनी गर्नु भएको बहस जिकिर समेत सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदन अदालत बुटबलको मिति २०५२।७।२१।३ मा भएको फैसला मिले नमिलेको के रहेछ ? सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

११. यसमा मेरो निजी एकलौटी हक भोगको मिन्ही घरवासको जग्गामा बनाएको घरको उत्तरपट्टि वाँकी रहेको जग्गामा खुट्टा गाडी गाई भैसी बाँधी आइ रहेकोमा विपक्षीहरुले ०४६।१।६ गते खुट्टा उखेली जग्गा खनी ७ धुर जग्गा मिची बाटो बनाई दिएकोले विपक्षीहरुलाई सजाय गरी मेरो जग्गा मलाई दिलाई चलन चलाई पाउँ भन्ने समेत मुख्य फिराद जिकिर तथा वादीको घर देखि उत्तर तर्फ वादिको जग्गा नभै सार्वजनिक बाटो मात्र छ । २०४६।१।६ मा विपक्षी वादीको जग्गा खिचोला गरेको तथा कुनै वादविवाद भएको होइन भन्ने समेत मुख्य प्रतिउत्तर जिकिर रहेकोमा शुरु जिल्ला अदालतले वादी दावी बमोजिम खिचोला गरेको ठहर गरे उपर प्रतिवादीको पुनरावेदन अदालत बुटबलमा पुनरावेदन पर्दा पुनरावेदन अदालत बुटबलबाट ०४६।१।६ गतेका दिन विहान अन्दाजी ७:०० बजेको विवादको सम्बन्धमा ०४७।२।१ मा मात्र फिराद दर्ता गरेको भन्ने तथ्य रहेको पाइएको र जग्गाको कुरामा ज.मि.को १८ नं. ले थाहा पाएको मितिले ६ महिना भित्र नालेश दिनुपर्नेमा सो हदम्याद नघाई नालेश दिएकोमा सो नालेशै खारेज गर्नु पर्नेमा नगरी इन्साफ गरेको शुरु जिल्ला अदालतको फैसला नमिली बदर हुने ठहर्छ र फिराद समेत खारेज हुने ठहर्छ भनी मिति ०५२।७।२१ मा फैसला भए उपर वादीको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दामा निर्णय तर्फ विचार गर्दा वादीले दिएको फिराद पत्रको प्रकरण १ को (ग) मा वादीको ०४७।२।१।३ मा मात्र शुरु रुपन्देही जिल्ला अदालतमा फिरादपत्र परेको देखिन्छ । सो सम्बन्धमा प्रचलित कानूनी व्यवस्थातर्फ दृष्टिगत गरी हेर्दा मुलुकी ऐन जग्गा मिच्नेको महलको १८ नं. मा जग्गाका कुरामा थाहा पाएको मितिले ६ महिना भित्रै नालेश नदिए लाग्न सक्दैन भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दाका सन्दर्भमा समेत ०४६।१।६ को वारदातको सम्बन्धमा सो मितिले ६ महिना भित्र नालेश दिनुपर्नेमा नदिई ०४७।२।१।३ मा मात्र यी वादीले प्रतिवादीहरु उपर नालेश पर्न आएको देखिएबाट सो हदम्याद नाघी पर्न आएको मुद्दा खारेज हुने ठहर गरी पुनरावेदन अदालत बुटवलबाट मिति २०५२।७।२१।३ मा भएको फैसला मिलेकै देखिँदा मनासिव ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. राजेन्द्रराज नाख्वा

 

इति सम्बत् २०५५ साल आश्विन २२ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु