निर्णय नं. ६६०६ - जालसाजी

निर्णय नं. ६६०६ ने. का. प. २०५५ अङ्क १०
पूर्ण इजलास
माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
सम्बत् २०५२ सालको फौ.पु.ई. नं. ......२०
फैसला मितिः २०५५।१।१७।५
मुद्दा : जालसाजी ।
पुनरावेदक/वादीः जि. जाजरकोट खलंगा गा. वि. स. वडा नं. २ बस्ने दिपकजंग शाह ।
विरुद्ध
विपक्षी/प्रतिवादीः जि. सल्यान कालागाउँ गा. वि. स. वडा नं. ३ बस्ने यज्ञ विक्रम शाह ।
§ प्रत्यर्थी तर्फका विद्वान अधिवक्ताले यस अदालतबाट एकपटक मुद्दा दोहोर्याई हेरी निर्णय निर्णय गरिसकेको अवस्था भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा ११ र १२ को व्यवस्था बमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेर्न नमिल्ने भन्ने जिकिर लिएको पाइएकोले सो तर्फ हेर्दा यस अदालतबाट फैशला भएको मितिले २ वर्ष भित्र निवेदन परेको रहेछ भन्ने इन्साफ जाँच गर्नु पर्ने भए दोहोराई हेरिदिनु भन्ने भई आएको हुकुम प्रमांगीको व्यहोराबाट देखिन आउँछ । मिति ०४६।४।३१ को फैसला उपर ०४६।१२।१२ मा अर्थात २ वर्ष भित्र विन्तिपत्र परेको देखिंदा दोहोराई हेर्न नमिल्ने भन्ने विद्वान कानून व्यवसायीको जिकिरसँग सहमत हुन नसकिने ।
(प्र. नं. २६)
§ विवादित घर जग्गा चक्र बहादुरको नाममा दर्ता भएको निजले हक छोडेको र प्रतिवादी दीर्घजंगले हक प्राप्त गरेको रीतपूर्वकको लिखतको अभावमा निज चक्र बहादुरकी श्रीमती ढाल कुमारीको मौखिक भनाइबाट यज्ञ विक्रमका दाता दिर्घजंगको विवादीत घर जग्गामा हक हुने अवस्था पनि नदेखिंने ।
(प्र. नं. २९)
§ माथि उल्लेखित भए बमोजिम १९६८ को लिखतबाट वादीका प्रबाजे नरजंग, १९८६ को वण्डापत्रबाट वादीका बाजे शमसेर जंग र ०२९ सालको वण्डा पत्रको लिखतबाट वादीको अंश भागमा परेको वादीको हक भोगको जग्गा यी प्रतिवादीहरु मिली लिनु दिनु गरेको देखिन आयो । आफ्नो हक भोगमा नरहेको अर्काको हकको अर्काको हक मेट्ने गरी कागज बनाए वा बनाउन लगाएमा समेत किर्ते कागजको ३ नं. ले जालसाजी ठहर्ने ।
(प्र. नं. ३०)
पुनरावेदन वादी तर्फबाटःविद्वान अधिवक्ता श्री श्रीहरी अर्याल
विपक्षी प्रतिवादी तर्फबाटःविद्वान अधिवक्ता श्री बद्रि बहादुर कार्की र विद्वान अधिवक्ता श्री कुलदेव राज शाही
अवलम्वित नजिरः X
फैसला
न्या. उदयराज उपाध्यायः यस अदालतको पूर्ण इजलासको मिति २०४६।४।३१ को फैसला पुर्ण इजलासबाट एक पटक दोहोर्याई हेरी दिनु भन्ने हु. प्र. बक्स पाउँ भनी श्री ५ महाराजाधिराजको हजुरमा वादी दिपक जंगले चढाएको विन्ति पत्र यस अदालतमा प्राप्त भै पेश हुँदा इन्साफ जाँच गर्नु पर्ने देखिएको भन्ने आदेसानुसार दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा यस प्रकार छः
२. ०३९ सालदेखि मेरो भोग चलनमा आई भोग गरी रहेकोमा विपक्षीले मेरो हक मेटाउने गरी घर कर तिरेको रसिद गा. पं. सचिव खीम बहादुरले गरिदिने सो रसिदको प्रमाण दिई दीर्घजंगले उक्त मेरो समेत हक लाग्ने समुच्च घर यज्ञ विक्रमलाई राजिनामा गरिदिने र निज यज्ञ विक्रमले लिनेगरी जालसाजी गरी ठूलो पहरो सो पूर्व रिठा रुख सो दक्षिण हिरा जंग सो उत्तर तेज विक्रमको वारीबाट पश्चिम यदी ४ किल्ला भित्रको ४६ हात लम्बाई १६ हात चौडाई भूईंतला समेत ४ तला १७ कोठा २ कवल ढुङ्गाको छाना ईटाको गारो भएको समुच्चै घर मध्ये दक्षिणतर्फको आधा घर मेरो हक लाग्नेमा हक मेट्ने मेटाउने उद्देश्यले राजिनामा भित्र पारी जालसाजी गरेकोले कीर्ते कागजको १० नं. बमोजिम विपक्षीलाई सजाय गरी मेरो हकको रजिष्ट्रेशन समेत बदर गरी पाउँ भन्ने समेत व्यहोराको दिपक जंगको फिराद पत्र ।
३. प्र. पं. हरिप्रसादको तोक अनुसार पंचायत वडाका व्यक्तिले घर कर बुझाउने गरी आएको हुँदा वडा नं. २ थाप्ले बस्ने कृष्ण बहादुर, ढाल कुमारी, गणेश बहादुर दिर्घजंग घर कर बुझाउन आएकोले बुझी भरपाई दिएको हुँ मैले जालसाजी गरि दिएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी खीम बहादुर शाहको प्रतिउत्तर पत्र ।
४. जाजरकोट थाप्लेको घर तपाईले आफू खुस गर्नु होस हामी केही हक खिचोला बुझाई यज्ञ विक्रमलाई बिक्री गरेको हुँ वादीको हक पुगेको घर हक मेट्ने नियतले घरकर बुझाई विक्री गरेको होइन भन्ने समेत व्यहोरोको प्रतिवादी दीर्घजंगको प्रतिउत्तर पत्र ।
५. शक्तिवर जंग शाहको शेषपछि १९८९ सालमा चक्र बहादुर शाहका नाउँमा घरधुरी दर्ता भई निजको र निजको भाई दीर्घ जंग शाहलाई रु. १२,०००। दिई घर लिनु दिनु गरेको हो । जालसाज गरे भन्ने फिराद झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादी यज्ञ विक्रमको प्रतिउत्तर पत्र ।
६. फिरादिहरुको हक भोगको संपत्तिमा हकभोग मेटाउने उद्देश्यले प्रतिवादीले लिनु दिनु गरी जालसाजी गरे गराएको ठहर्दैन वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत व्यहोराको जाजरकोट जिल्ला अदालतको मिति ०३९।८।२८ को फैसला ।
७. सो इन्साफमा चित्त बुझेन जिल्ला अदालतको फैसला बदर गरी फिराद दावी बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको वादी दिपक जंगको तत्कालीन भेरी अंचल अदालतमा परेको पुनरावेदन ।
८. शुरु इन्साफ मनासिव ठहर्छ भन्ने समेत व्यहोराको तत्कालीन भेरी अंचल अदालतको मिति ०४०।२।२५ को फैसला ।
९. सो फैसला त्रुटी पूर्ण हुंदा पुनरावेदनको अनुमती पाउँ भनी वादीको तत्कालीन मध्य पश्चिमाञ्चल क्षेत्रिय अदालतमा परेको निवेदन ।
१०. पुनरावेदनको अनुमती प्रदान गरिएको छ भन्ने समेत व्यहोराको तत्कालीन मध्य पश्चिमाञ्चल क्षेत्रिय अदालतको मिति २०४०।९।१० को आदेश ।
११. फिरादीबाट पेश भएको वण्डापत्र र रसिद समेत जालसाजी हुन भनी प्रतिवादीहरुले गरेको बयान झुठ्ठा हो, फिरादीबाट पेश भएको कागज सद्दे हुन भन्ने समेत व्यहोराको दिपक जंगको वा. जय बहादुर खड्काले तत्कालीन म. प. क्षे. अ. मा गरेको बयान ।
१२. दीर्घ जंगको हक मेट्ने गरी हिरा जंग नृपजंग, दिपक जंङ्ग, प्र. पं. हरि प्रसाद समेतको मिलोपतोबाट उक्त सुनाएको र देखाएको घर कर तिरेको रसिद र ०२९।११।११ को वण्डा पत्र समेत जालसाजी खडा गरेका हुन भन्ने समेत व्यहोराको दीर्घ जंगको वा. पूर्ण सिंह वलीले तत्कालीन म. प. क्षे. अ. मा गरेको वयान ।
१३. घर कर बुझाएको रसिद समेत जालसाज गरेको हुनाले दिपक जंगले जालसाजीमा उजूर गरेका हुन् भन्ने समेत व्यहोराको हिराजंग, नृपजंग, हरिप्रसाद समेतको वारेस जय बहादुरले गरेको बयान ।
१४. आधामात्र घरमा हक भएकोमा पुरै घरको राजिनामा गरी लिनुदिनु गरेकोले आधा घर सम्मको लिखत जालसाज गरेको ठहर्छ । ०२९ सालको वण्डापत्र र घरसारको रसिदहरु जालसाज ठहर्दैन भन्ने समेत व्यहोराको तत्कालीन मध्य पश्चिमाञ्चल क्षेत्रिय अदालतको मिति ०४१।११।१५ को फैसला ।
१५. उक्त फैसलामा चित्त बुझेन सो फैसला त्रुटीपूर्ण हुँदा पुनरावेदनको अनुमती पाउँ भन्ने समेत व्यहोराको प्र. यज्ञ विक्रमको यस अदालतमा परेको निवेदन ।
१६. विक्री गरेको घरजग्गा प्रतिवादीका दाजुका नाममा दर्ता भएको र दाजुको शेष पछि प्रतिवादीको एकलौटी हक भएको हुँदा यज्ञ विक्रमलाई राजिनामा पारीत गरि दिएको देखिंदा जालसाजी गरेको ठहर्याएको मध्य पश्चिमाञ्चल क्षेत्रिय अदालतको निर्णयमा अ. वं. १८४ (क) १८५ र प्रमाण ऐनको दफा ५४ को त्रुटी भएको देखिदा पुनरावेदनको मनुमति प्रदान गरीएको छ भन्ने समेत व्यहोराको यस अदालत डिभिजन वेन्चको मिति ०४१।१२।२८ को आदेश ।
१७. यसमा वादीले आफ्नो हकको स्रोत १९६८।९।२१ को मञ्जूरनामालाई लिएको तर सो मञ्जुरनामा विवादीत घर वादीलाई दिएको भन्ने देखिंदैन । १९८९ सालको नापीमा विवादीत घर जग्गा प्रतिवादीको दाजु चक्र बहादुरका नाउँमा नापी भएको फिरादीको हकको घर नापी गराएको भए समयमै उजूरी गरी बदर गराउनु पर्दथ्यो । दाजुको मृत्यु पछि दीर्घजंगले घर जग्गा प्राप्त गरी प्र. यज्ञ विक्रम शाहलाई विक्री गरेको देखिन आएकोले वादी दावी नपुग्ने ठहराएको जाजरकोट जिल्ला अदालतको इन्साफ मनासिव ठहराएको भेरी अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ । जालसाजी ठहर्याएको म. प. क्षे. अ. को इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको यस अदालत डिभिजन वेन्चको मिति २०४३।५।२९।१ को फैसला ।
१८. उक्त फैसलामा चित्त बुझेन पूर्ण इजलासबाट दोहोर्याई हेरिदिनु भनी हुकुम प्रामाङ्गी बक्स पाउँ भन्ने वादी दिपक जंग शाहको श्री ५ महाराजाधिराजका जुनाफमा विशष जाहेरी विभाग मार्फत चढाउनु भएको विन्तीपत्र ।
१९. यसमा लेखिएको व्यहोरा साँचो भए विन्तिपत्रमा लेखिएको जालसाजी मुद्दाको मिसिल झिकी पूर्ण इजलासबाट दोहोर्याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने व्यहोराको श्री ५ महाराजाधिराज सरकारबाट बक्स भएको हुकुम प्रमाङ्गी सहितको विन्तिपत्र यस अदालतमा दर्ता हुन आएको ।
२०. फिराद दावी बमोजिम जालसाजी नठहर्याएको शुरु इन्साफ सदर गरेको भेरी अंचल अदालतको इन्साफ मनासिव ठहर्याई जालसाजी ठहराएको मध्यपश्चिमाञ्चल क्षेत्रिय अदालतको इन्साफ उल्टी गरेको यस अदालत डिभिजन बेन्चको मिति २०४३।५।२९।१ को इन्साफ मनासिव ठहर्छ भन्ने समेत व्यहोराको यस अदालत ३ (तीन) सदस्यीय पूर्ण इजलासको मिति २०४६।४।३१ को फैसला ।
२१. यस अदालतको तीन सदस्यीय पूर्ण इजलासको २०४६।४।३१ को फैसला त्रुटीपूर्ण भएकोले वृहत पूर्ण इजलासबाट एक पटक इन्साफ जाँची हेरिदिनु भन्ने स. अ. का नाउँमा हू. प्र. बक्स पाउँ भनि श्री ५ महाराजाधिराजका जुनाफमा वादी दिपक जंग शाहले चढाएको विन्तिपत्र ।
२२. उक्त विन्तिपत्र यस अदालतमा प्राप्त भई पेश हुँदा अंश वण्डा समेतबाट वादी तर्फ विवादको घरमा अधिहक रहेको देखिएको र हकछोडेको भन्ने प्रमाण नभएको अवस्थामा वादीको हक नभएको भन्न मिलेन । वादी समेतको अंश हकको घर प्रतिवादीहरुले लिनु दिनु गरेकोमा जालसाजी नठहर्याएको पुर्ण इजलासको फैसला छानविन गरि हेर्दा न्याय मिलेको देखिएन । तसर्थ श्री ५ महाराजाधिराजबाट बक्स भै आएको हु. प्र. बमोजिम इन्साफ जाँच गरी हेर्नु पर्ने हुँदा विपक्षीलाई झिकाई वादी कृष्ण बहादुर शाह समेत विपक्षी ढाल कुमारी शाह समेत भएको हकसफा गराई पाउँ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५२।५।२ को आदेश ।
२३. नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक वादी तर्फका विद्वान अधिवक्ता श्री श्रीहरी अर्यालले विवादको घर २०२९।११।११ को वण्डापत्रबाट मेरो पक्षको भएको २०३५ सालको घरकर बुझी रसिद गरी पाउँ भन्ने प्रधान पञ्च समक्ष निवेदन दिई सम्पुर्ण घरको तिरो बुझाई सोही आधारमा मेरो पक्ष दिपक जंगको हक मेट्ने गरी राजिनामा लिखत गरी दिएको चक्र बहादुरको श्रीमती चक्र कुमारी र छोरा कृष्ण बहादुरले ढाल कुमारी शाह, केशवजंग शाह, दीर्घजंग शाह, यज्ञविक्रम शाह उपर हक सफा मुद्दा दिएकोमा सो मुद्दाबाट पनि सो घर मेरो पक्षको भएको अवस्था हुँदा हुँदै जालसाज ठहर नगर्ने गरेको यस अदालतको पुर्णइजलासको निर्णय त्रुटीपूर्ण हुँदा दावी बमोजिम जालसाजी ठहर गर्नु पर्नेमा नगरेको यस अदालत पूर्ण इजलासको मिति ०४६।४।३१ को फैसला उल्टी हुनु पर्दछ भन्ने समेत व्यहोराको र प्रत्यर्थी प्रतिवादीहरुको तर्फका विद्वान अधिवक्ता श्री कुलदेव राज शाहीले ०४१।११।१५ मा मध्यपश्मिाञ्चल क्षेत्रिय अदालतले वादीलाई जिताएको र सो उपर अनुमतीको माग हुँदा २०४१।१२।२८ मा अनुमती प्राप्त भई ०४३।५।२९ मा सर्वोच्च अदालतबाट फैसला भएको सो फैसला उपर वादीले विन्तिपत्र हाली ०४३।११।१६ मा पूर्ण इजलासबाट मुद्दा दोहोर्याई दिनुभन्ने हु.प्र. भई ०४६।४।३१ मा पूर्ण इजलासबाट मुद्दा दोहोर्याई फैसला यथावत राखिएको । उक्त ०४६।४।३१ को फैसलामा वादीले चित्त नबुझाई सवारी सिविर पोखरामा पुनः विन्तिपत्र दिएको न्याय प्रशासन ऐन, २०४८ को दफा ११ र १२ ले सर्वोच्च अदालतबाट एक पटक दोहोर्याई हेरी निर्णय भएको मुद्दा फेरी हेरीने छैन भन्ने व्यवस्था भएकोले ०५२।५।२ को आदेशानुसार पुनः दोहोर्याई हेर्न मिल्दैन । यस इजलासले मुद्दा हेरिएको खण्डमा पनि वादीले आधार लिएको लिखत घरायसी लिखत हो । रीतपूर्वक पास भएको छैन । अंश हकबाट छोडपत्र गरिलिएको भन्ने पुष्टि हुन सकेको पनि छैन । नरजंगको नाममा १९६८ को लिखतले हक हस्तान्त्ररण भएको मान्न सकिने अवस्था छैन । १९६८ को लिखत १९८९ को महाजांच समेतबाट विवादित घरमा वादीको हक पुग्ने अवस्था नहुँदा दावी नपुग्ने ठहर गरेको यस अदालत पूर्ण इजलासको मिति ०४६।४।३१ को फैसला मिलेकै हुँदा सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको मुख्य वहस जिकिर प्रस्तुत गर्नु भयो ।
२४. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दाको मिसिल वादी तर्फका विद्वान अधिवक्ता श्री श्रीहरी अर्याल र प्रत्यथी तर्फका विद्धान अधिवक्ताहरु श्री कुल देवराज शाही र श्री वद्री वहादुर कार्कीले प्रस्तुत गर्नु भएको वहसनोट समेत अध्ययन गरी हेर्दा प्र. वाजे नरजंगको १९६८ को लिखतबाट र वाजेको १९८६ को वण्डापत्र लिखतबाट हक भाको निजहरुको शेषपछी बुवाको हक भै २०२९ सालको वण्डापत्र वमोजिम आफ्नो अंश हकमा परेको घर जग्गा विपक्षीहरु मिली विक्री गरेको कृया समेत जालसाजी घोषित गरी पाउँ भन्ने माग दावीमा मध्यपश्चिमान्चल क्षेत्रिय अदालतले दावी वमोजिम जालसाजी ठहर गरेको फैसला उल्टी गरी जालसाजी ठहर नहुने गरी वादी दावी पुग्न नसक्ने गरेको यस अदालत संयुक्त इजलासको मिति ०४३।५।२९ को फैसला सदर गरेको यस अदालत ३ (तीन) सदस्यीय पुर्ण इजलासको मिति ०४६।४।३१ को फैसला उपर विन्तिपत्र परी इन्साफ जाँच गर्ने आदेश भए वमोजिम प्रस्तुत मुद्दा यस पुर्ण इजलासमा पेश हुन आएको देखिन्छ ।
२५. उक्त तथ्य समावेश भएको प्रस्तुत मुद्दामा यस अदालत पूर्ण इजलासको मिति ०४६।४।३१ को फैसला मिलेको छ छैन ? भन्ने विषयमा निर्णय दिनु पर्ने देखिन आयो ।
२६. निर्णय तर्फ विचार गर्दा यसमा प्रत्यर्थी तर्फका विद्वान अधिवक्ताले यस अदालतबाट एक पटक मुद्दा दोहोर्याई हेरी निर्णय गरिसकेको अवस्थ भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा ११ र १२ को व्यवस्थाबमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेर्न नमिल्ने भन्ने जिकिर लिएको पाईएकोले सो तर्फ हेर्दा यस अदालतबाट फैसला भएको मितिले २ वर्ष भित्र निवेदन परेको रहेछ भने इन्साफ जाँच गर्नु पर्ने भए दोराई हेरी दिनु भन्ने भई आएको हुकुम प्रमाङ्गीको व्यहोराबाट देखिन आउछ । मिति ०४६।४।३१ को फैसला उपर ०४६।१२।१२ मा अर्थात २ वर्ष भित्र विन्तिपत्र परेको देखिंदा दाहोराई हेर्न नमिल्ने भन्ने विद्वान कानून व्यवसायीको जिकिर सँग सहमत हुन सकिएन ।
२७. अव फिराद दावी र पुनरावेदन जिकिर समेत बमोजिम पुर्ण इजलासको फैसला मिलेको छ छैन भन्ने तर्फ विचार गर्दा बुबा हिराजंग शाहले गरिदिनु भएको वण्डा पत्र र रजिष्ट्रेशन बमोजिम मेरो हक भोग भएको जाजरकोट खलंगा आदर्श गा. पं. वडा नं. २ तल्लोथाप्लेमा बनेको लम्बाई चौडाई ४६।१६ को पश्चिम नालको दक्षिण पट्टिको आधी घर विपक्षी दिर्घ जंग शाहले आफ्नो हक हो भनी विक्री गर्ने र विपक्षी यज्ञ विक्रम लिने गरी जालसाजी गरी मेरो हक मेटी अन्याय गरेकोले उक्त कार्य जालसाजी घोषित गरी विपक्षीलाई सजाय समेत गरी पाउँ भनी प्रस्तुत फिराद परेको देखिन्छ । मेरो हकभोगको घरजग्गा रजिष्ट्रेशन गरी दिएको वादीले उल्लेख गरेको लिखत कानून विपरीत छ, दाजु चक्र बहादुरका नाउँबाट मैले हकभोग गरी विक्री गरेको हो भन्ने समेत व्यहोराको दिर्घ जंग शाहको प्रतिउत्तर जिकिर रहेको पाईन्छ। जंगबहादुर शाहको छोराहरु नरजंग शाह र शक्तिवर जंग शाह भएकोमा नरजंग पट्टिका सन्तानमा वादी दिपक जंग र शक्तिवर जंगकी छोरी त्रिपुरा कुमारी, छोराहरु चक्र बहादुर र प्रतिवादी दीर्घजंग भएको समेत पुस्तावलीमा विवाद छैन । यस परिप्रेक्ष्यमा विवादीत घर जग्गा यी वादीको प्र. बाजे नरजंगको निज पछि क्रमशः वादीको हक भोगमा रहे नरहेको के हो भन्ने कुराको निरोपण हुनु पर्ने देखिन आउछ ।
२८. १९६८ को लिखतबाट वादीका पुर्खा प्रवाजे नरजंगको हकभोग रही वादीको अंश भागमा परेको घर जग्गा समेत विक्री राजिनामा पास गरी दिएको ०३५।९।११ को लिखतलाई नै जालसाजी भन्न वादीको मुख्य भनाई रहेको पाईन्छ । ठुलो पटाङरी देखि पूर्व रिठ्ठको रुख देखि पश्चिम छोरा जंग शाह देखि उत्तर तेज विक्रम शाहको वारी देखि दक्षिण ४ किल्ला भित्र बनेको घर मध्ये ४६ हात लम्बाई १६ हात चाङलो ढुङ्गाको छानो इटाको गारो भई तला समेत ४ तला, कोठा १७ भएको विचमा गारो भएको २ कवले पश्चिम नालको घरको हक हस्तान्तरण भएको भन्ने उक्त विवादीत लिखतमा उल्लेख भएको देखिन्छ । यसै लिखतबाट आफ्नो भाग समेत विक्री गरेको हक सघाई पाउँ भनी चक्र बहादुरकी श्रीमती चक्र कुमारी र निज तर्फका छोरा कृष्ण बहादुरको यी प्रतिवादी यज्ञ विक्रम शाह र ढालकुमारी समेत उपर मुद्दा परी उक्त मुद्दामा वादीहरुको हकभोग बमोजिम ५ खण्डको २ खण्ड विक्री वदर भई २ खण्डमा निज वादीहरुको हक कायम समेत हुने ठहरी ०३९।८।२८ मा भएको फैसला अन्तिम भै रहेको प्राप्त प्रमाण मिसिलबाट देखिन आउँछ । सो मुद्दाको फिराद पत्रमा विवादीत घरमा सगोलिबाट तिर्नु पर्ने नरजंग शाहको परेको ऋण कर्जा फछ्यौट गर्दा उक्त घरको दक्षिण तर्फको आधा घर नरजंग शाहको छोरा शमशेर जंग शाहलाई विक्री वितरण भएको रहेछ भन्ने उल्लेख गरेको र सो व्यहोरालाई अन्यथा हो र उल्लेखित नरजंग र शमशेर जंग भन्ने व्यक्ति अलग हुन यी वादीका प्रबाजे तथा बाजे होइनन् भनी प्रतिवादी यज्ञ विक्रमले भन्न र लेख्न सकेको उक्त मुद्दाको मिसिलबाट देखिन आउदैन ।
२९. मिति १९६८ साल पौष ९ गतेको कागजको व्यहोराबाट नरजंग शाह र १९८६।१।६ गतेको वण्डा पत्रबाट उल्लेखित घर जग्गा आधी शमशेर जंग शाहले लिएको हुँदा भनी उल्लेख गरी विवादीत घर वादीका बाजे शमशेर जंग शाहको नाममा भागवण्डा गरी हकभोग हुन आएको देखिन्छ । ०२९ सालको वण्डा पत्र बमोजिम विवादको घर जग्गा वादीको अंश भागमा परी हक हुन आएको भन्ने वादी कथनलाई प्रतिवादीहरुले गम्भिर रुपले खण्डन गरी वादीको घर जग्गा अर्कै हो भनी भन्न सकेको पाइदैन । उक्त १९८६ र २०२९ को पारित वण्डापत्रको लिखतलाई यी प्रतिवादीले अन्यथा भन्न सकेको छैन । ५ कोठाको घरकर बुझी रसिद गरी पाउँ भनी तत्कालीन प्रधान पञ्च समक्ष दीर्घजंगले ०३५।७।२५ मा निवेदन दिएकोमा सम्पुण घरको रसिद गरि दिए लिएको आधार लिई हकभोग गरेको भन्ने आधारमा यज्ञ विक्रमलाई मिति ०३५।९।११ को पारित राजिनामाबाट हक छोडी दिएको देखिन्छ । विवादीत घर जग्गा चक्र बहादुरको नाममा दर्ता भएको निजले हक छोडेको र प्रतिवादी दीर्घजंगले हक प्राप्त गरेको रीतपूर्वकको लिखतको अभावमा निज चक्र बहादुरको श्रीमती ढालकुमारीको मौखिक भनाईबाट यज्ञ विक्रमका दाता दीर्घजंगको विवादीत घर जग्गामा हक हुने अवस्था पनि देखिदैन ।
३०. माथि उल्लेख भए बमोजिम १९६८ को लिखतबाट वादीका प्र. बाजे नरजंग १९८६ को वण्डा पत्रबाट वादीका बाजे शमशेर जंग र ०२९ सालको वण्डा पत्रको लिखतबाट वादीको अंश भागमा परेको वादीको हकभोगको जग्गा यी प्रतिवादीहरु मिलि लिनु दिनु गरेको देखिन आयो । अफ्नो हकभोगमा नरहेको अर्काको कहको अर्काको हक मेट्न गरी कागज वनाए वा बनाउन लगाएमा समेत किर्ते कागजको ३ नं. ले जालसाजी ठहर्ने व्यवस्था उक्त ऐनले गरेको पाइन्छ ।
३१. तसर्थ उल्लेखित आधारमा प्रतिवादी दीर्घ जंग शाहले प्रतिवादी यज्ञ विक्रम शाहलाई गरिदिएको ०३५।९।११ को लिखत मध्ये वादीको हक सम्म मेट्ने गरी दिएको दावी बमोजिम आधासम्मको घर जग्गा लिने दिने गरेको कार्य सम्म जालसाजी ठहर गर्नु पर्नेमा जालसाजी ठहर गरेको तत्कालीन मध्य पश्चिमाञ्चल क्षेत्रिय अदालतको फैसला उल्टी गरी शुरु सदर गरेको तत्कालीन भेरी अञ्चल अदालतको फैसला सदर गरेको यस अदालत संयुक्त इजलासको मिति ०४३।५।२९ को फैसला सदर गरेको ३ सदस्यीय पूर्ण इजलासको मिति ०४६।४।३१ को इन्साफ मिलेको नदेखिंदा उक्त ०४६।४।३१ को फैसला बदर भै उल्टी हुन्छ । वादी दावी बमोजिम जालसाजी ठहर गरेको तत्कालीन मध्य पश्चिमाञ्चल क्षेत्रिय अदालतको मिति ०४१।११।१५ को इन्साफ मनासिव ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।
तपसिल
वादी दिपकजंग शाह के माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोले निजलाई जरिवाना गर्ने गरी राखेको शुरु जाजरकोट जिल्ला अदालत, तत्कालीन भेरी अञ्चल अदालत यस अदालत संयुक्त इजलास र पूर्ण इजलासको लगत राख्नु नपर्ने हुँदा उक्त लगतहरु कट्टा गरी दिनु भनी र उक्त फैसला बमोजिम को जरिवाना वादीले बुझाई सकेको भए सो फिर्ता पाउने हुँदा कानूनका म्याद भित्र फिर्ता माग गर्न आएमा निज वादीलाई फिर्ता दिनु भनी जाजरकोट जिल्ला अदालतमा लेखि पठाई दिनु..............१
प्रतिवादी यज्ञ विक्रम शाहके माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकाले तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रिय अदालतको फैसला बमोजिम निजलाई हुने ठहर भएको जरिवाना रु. ७५६।९१ यस अदालत मार्फत मिति ०४१।१२।१९ को पत्रद्वारा काठमाण्डौ जिल्ला अदालतमा गएको देखिंदा सो लगत कट्टा गर्नु र अरु वाँकी तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रिय अदालतको लगत बमोजिम गर्नु भनी शुरु जाजरकोट जिल्ला अदालतमा लेखी पठाएई दिनु....................................२
मिसिल नियमानुसार गरी बुझाई दिनु..........................३
उक्त रायमा म सहमत छौं ।
न्या. केशव प्रसाद उपाध्याय
न्या. कृष्णकुमार वर्मा
न्या. नरेन्द्र बहादुर न्यौपाने
न्या. हरिश्चन्द्र प्रसाद उपाध्याय
इति सम्वत् २०५५ साल वैशाख १७ गते रोज ५ शुभम्..........................