निर्णय नं. ६६१४ - खिचोला मेटाई पाउँ समेत

निर्णय नं. ६६१४ ने. का. प. २०५५ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
संवत् २०५३ सालको दे. पु. नं......२६४७
संवत् २०५३ सालको दे. पु. नं......२९४९
फैसला मितिः २०५५।२।२०।४
मुद्दाः खिचोला मेटाई पाउँ समेत ।
पुनरावेदक/प्रतिवादीः ल. पु जि. ललितपुर नगरपालिका वडा नं. २१ मिखा वहाल बस्ने लक्ष्मण महर्जन समेत दुई जना ।
विरुद्ध
विपक्षी/वादीः ल. पु. जि. ल. पु. उपमहानगरपालिका वार्ड नं. २२ बस्ने आशाकाजी बज्राचार्य ।
पुनरावेदक/वादीःजि. ललितपुर उपमहानगरपालिका वार्ड नं. २२ बस्ने आशाकाजी बज्राचार्य ।
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीःजि. ललितपुर ललितपुर उपमहानगरपालिका वडा नं. २१ बस्ने लक्ष्मण महर्जन समेत दुई जना ।
§ विवादित जग्गामा वादीको भोग भए पनि दर्ता र हकको नाताले वादीको हक कायम नभए पछि सो जग्गालाई आफ्नू भनी दावी गर्न नमिल्नेमा जग्गाको हकाधिाकार कायम भएको जग्गावाला प्रतिवादीले जग्गामा खिचोला ठहर्याएको पुनरावेदन अदालत पाटनको इन्साफ सम्म नमिलेको हुँदा उल्टी हुने ।
(प्र. नं. १३)
पुनरावेदनः वादी तर्फबाटः विद्वान अधिवक्त श्री राधेश्याम अधिकारि
प्रत्यर्थी प्रतिवादी तर्फबाटःविद्वान अधिवक्त श्री शम्भु थापा, विद्वान अधिवत्तः श्री हीरा रेग्मी
अवलम्वित नजीरःने.का.प. २०२१, नि.नं. २६१ ने.का.प. २०३० अंक १, नि.नं. ७१९
फैसला
न्या. गोविन्द वहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।
२. च्यासल टोलको अघि देखि आफैले भोगी आएको घर पाताल जग्गाको सांध पूर्व बाटो पश्चिम धन लालको वारी उत्तर तापाहिंटी बस्ने माधव लाल खडगीको जग्गा, दक्षिण आफ्नो जग्गा र घर यति ४ किल्ला भित्रको उत्तर तर्फ ६०’, ७’’ पूर्वतर्फ २९’, ४’’ पश्चिम तर्फ ३६’ समेत जग्गा १२५’, ११’’ जग्गा तिन तिरबाट पर्खाल बनाउन ल. पु. न. पा. मा मिति ०२७।१२।३० मा दर्खास्त गरी २०२८।२।१४ गते पास पुर्जि गरी दिएबाट नक्सा बमोजिम पर्खाल बनाई क्याम्पस भित्रको घर जग्गा भोग चलन गरी आएको थिए । २०२२ सालको नापीमा ल. पु. न. पा. वडा नं. १५ (घ) कि. नं. ५१ बाट नापी भएको रहेछ । विपक्षीको बाजे शिव दासको जग्गा समेत एउटै कित्ता भई मेरो समेत कित्ता घुसी नापी भएको रहेछ । शिवदास मरि सकेको निजको छोरा धन लाल महर्जनले लक्ष्मी महर्जनलाई र मिति ०३४।४।१६ मा ०।४।१ जग्गा लक्ष्मी महर्जनले मोती मायालाई हालै देखिको वक्सपत्र गरी दिएको उक्त कि. नं. ५१ को जग्गा मध्ये धन लालले ०३३।१।४ मा नानी मायालाई राजिनामा गरी दिई सो मध्ये ०–३–३–२ जग्गा नानीमायाको नाममा कित्ताकाट भई दर्ता हुन गएको कि. नं. १०५ को क्षेत्रफल १–१५–१–२ वाकी भएको रहेछ मेरो कम्पाउण्ड भित्रको जति कित्ता काट गरि मेरा नाउँमा दर्ता गरीपाउँ भनी मा. पो. का. ल. पु. मा २०४७।२।५ मा निवेदन दिई कारवाही भइरहेको छ । लक्ष्मी श्रेष्ठ र गोपाल श्रेष्ठले स्किृत बिना बनाएको टहरा पर्खाल भत्काई पाउँ भनी का. उ. न. वि. योजना कार्यालयमा ०४७।११।२४ मा दिएको उजुरी निवेदनमा बयान गरी उजुरी निवेदन समेतको नक्कल सारी निंदा कि. नं. १०५ को क्षेत्रफल १–१५–१–२ जग्गा दर्ता गरी पाउँ भनी मा. पो. का. ल. पु. मा निवेदक लक्ष्मण र चिनी बावुले निवेदन दिई ०४६।५।१२ मा टिप्पणी सदर गरी दर्ता गरेको रहेछ र सो दर्तालाई कित्ताफोड गरी कि. नं. १६७ को क्षेत्रफल ०–५–२ कायम गरी गोश्वारामा राखेको र ०४७।२।१४ मा वण्डापत्र पास गरेको रहेछ । कि. नं. १६७ को पुर्व तर्फ कि. नं. १७० मिति ०४७।५।२७ मा गोपाल श्रेष्ठलाई क्षेत्रफल ०–१–० र पश्चिम तर्फको कि. नं. १७१ लक्ष्मी श्रेष्ठलाई ०–४–२ जग्गा ०४७।५।२९ मा हालैदेखिको वक्सपत्र गरी दिएको कुरा ०४७।११।२८ मा थाहा पाएको हलुनाले फिराद गर्न आएको छु अघि भोगचलन गरी आएको २०२७ सालमा नक्सा दर्खास्त दिइ २०२८ सालमा नक्सापास गरी पर्खाल बनाई भोगचलन गरी आएको जग्गा हामीलाई पत्ता नदिई नगर विकास समितिबाट सो मुद्दाको नक्कल सारी लिई ०४७।११।२८ मा छ महिना भित्र फिराद गर्न आएको छु । मिति ०४६।५।१२ मा निर्णय गराई लिएको सम्पुर्ण कारवाही दर्ता गर्ने गरेको हदसम्ममा र ०४७।२।१४ को वण्डा पत्र समेत वदर गरी विपक्षीहरुबाट खिचोला मेटाई मेरो नाउँमा दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको वादी आशाकाजीको फिराद दावी ।
३. हामी प्रतिवादीहरुले कानून बमोजिम प्राप्त गरेको सम्पत्तिको हक मेट्न कलुषित मनोभावना लिई झुठ्ठा फिराद दावी मात्र लिएको हो । विवादित कि. नं. ५१ को जग्गामा वादीले पास बनाई भोग चलन गरी आएको होइन । साविक देखि हामीहरुको भोगचलनको जग्गा हो । हाम्रो हकको जग्गा जति मात्र २०२२ सलामा बाजे शिवप्रसाद महर्जनको नाममा नाप नक्सा भई भोगचलन गरी आएका थियौं । केही जग्गा लक्ष्मी माया मोतिमाया तथा नानी माया महर्जन समेतलाई विभिन्न समयमा बाबु धन लाल महर्जनले हक छाडी विक्री वितरण गर्नु भएको हो । विक्रीबाट हामीहरुको नाउँमा कायम हुन आएको ल. पु. न. पा. वडा नं. १५ (घ) कि. नं. १०५ को क्षेत्रफल १–१५–१–२ जग्गा बाबुको मृत्यु पश्चात हामीहरुले संयुक्त रुपमा नामसारी दर्ता गरी पाउन निवेदन दिई मा. पो. का. ल. पु. बाट ०४६।५।१२ मा निर्णय भए बमोजिम हामीहरुको हक हुन आएको सार्वजनिक सूचना प्रकाशीत गर्दा समेत कसैको उजुर नपरेको हामीहरुले वण्डापत्र गर्दा संगोलमा रहेको कि. नं. १६७ को क्षेत्रफल ०–५–२ जग्गा मध्ये ०४७।५।२७ मा र. नं. ८६१ बाट कि. नं. १७० को जग्गा गोपाल श्रेष्ठलाई र कि. नं. १७१ को जग्गा लक्ष्मी श्रेष्ठलाई दिएका हौं । यस्तो कार्य गर्दा विपक्षी बादीलाई कुनै सूचना दिनु पर्ने होइन । अ. वं. ८२ नं. ले फिराद गर्न हकदैया छैन । कि. नं. १०५ को जग्गामा विपक्षीको जग्गा घुसेको छैन । कि. नं. १७० र १७१ को जग्गामा विना नक्सा टहरो र पर्खाल बनाएका हुन । निजले कि. नं. ५३ को जग्गामा पर्खाल लगाउनको लागि स्वीकृत लिदैमा कि. नं. १७० र १७१ को जग्गामा टहरो र पर्खाल बनाउन पाउने होइन । हामीले गोपाल श्रेष्ठ र लक्ष्मी श्रेष्ठलाई जग्गा दिई सकेपछी वलजफ्ती पर्खाल र टहरा बनाई हडपी खान सकिन्छ की भनी कि. नं. ५१ मा मेरो जग्गा घुसेको थियो, हक कायम गराई पाउँ भनी दावी जिकीर लिन मिल्ने होइन म्याद भित्र हक कायम गराउन सक्नु पर्ने थियो । सो म्याद नाघी दायर भएको प्रस्तुत फिराद खारेज गरी झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी लक्ष्मण महर्जन र चिनी बावु महर्जनको संयुक्त प्रतिउत्तर पत्र ।
४. विवादित न. ४ नं. ८, ९, १०, ११, ९, १४ र १२ को जग्गा कम्पाउण्ड वादीकै हक भोगको देखिन आएकोले मिसिल संलग्न प्रमाणबाट वादी दावी पुग्ने ठहर्छ भन्ने शुरु ललितपुर जिल्ला अदालतको फैसला ।
५. शुरु जिल्ला अदालतबाट भएको फैसलामा चित्त बुझेन एउटै कम्पाउण्ड भित्रको जग्गा नभएको र नक्सा पास बमोजिम वादीले ६० फिट ७ इन्च पर्खाल लगाएकोमा पछि गोपाल श्रेष्ठ र लक्ष्मी श्रेष्ठले जग्गा हालै देखिको वक्सपत्र पाई सकेपछि वादीले लिन खान सकिन्छ कि भन्ने दुराग्रह राखी जवरजस्ती पर्खाल लगाएको कुरा नक्सा सर्जमिनमा हामी पुनरावेदकको वारेसले जिरह लिएकोमा सो तर्फ ध्यान नै नदिई वादी दावी पुग्ने ठहर्याई गर्नु भएको उक्त फैसला पुर्वाग्रहबाट ग्रसित छ । शुरुको फैसला वदर गरी हाम्रो प्रतिउत्तर जिकिर बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदकको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
६. यसमा विवादीत जग्गाको प्रतिवादीको दर्ता श्रेस्ता हेर्दा ०२२ सालको सर्भेनापीबाटै प्रतिवादीको पक्षमा दर्ता भएको देखिएको, विवादीत जग्गाको वादीको हकको श्रेस्तालाई वादीले प्रष्ट्याउन नसेको पर्खाल लगाएको भन्ने मात्र आधारमा वादीको नाममा विवादीत जग्गा कायम गरी खिचोला गरेको ठहर्याएको शुरु जिल्ला अदालतको इन्साफ फरक पर्न जाने देखिंदा अ. वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थीलाई झिकाई आएपछि लगाउनको मुद्दाको समेत साथै राखि नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।
७. विवादित जग्गामा पुनरावेदक प्रतिवादीले अफ्नो भोग देखाउन नसकी वादीको निरन्तर भोग भई रहेको स्थितिमा नापी दर्ता सम्मको कारणले कानूनी प्रक्रियाबाट बाहेक प्रतिवादीले विवादित जग्गामा गैर कानूनी दखल गर्न नपाउने हुनाले प्रतिवादीले खिचोला गरेको ठहर्याएको हदसम्म शुरुको इन्साफ मिलेकै देखियो । सो हदसम्म पुनरावेदन जिकिर पुग्न सक्दैन । दर्ता वदरको हकमा भनी पुनरावेदक प्रतिवादीको नामका दर्ता वदर गरी वादीको नामको दर्ता गर्ने गरेको हदसम्मको शुरुको इन्साफ केही उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको फैसला ।
८. विवादिन जग्गामा हामी पुनरावेदकहरुको बाजे शिवदासको नाममा भएको नापी र हामी पुनरावेदकहरुको नाममा भएको दर्ताले कानूनी मान्यता प्राप्त गरी सकेपछि हाम्रो पुरा हकमा उक्त जग्गामा कुनै हक स्वमित्व र सरोकार नै नरहेका विपक्षी आशाकाजी वज्राचार्य उपर हामीहरुले सखचोला गर्ने भन्ने कुनै प्रश्न नै नउठनेमा विलकुलै मनोगत तर्क दिई खिचोलाको हकमा हाम्रो पुनरावेदन जिकिर नपुग्ने भनी भएको पुनरावेदन अदालतको फैसला बदरभागी छ । विवादित जग्गाको केही सानो अंशमा मात्र विपक्षीले अनधिकृत रुपमा सेफ्टी ट्याङ्की तथा टहरा निमार्ण गरेको स्थीतिमा त्यस्तो गैरकानुनी कार्यको नाताले विपक्षीलाई उक्त जग्गामा स्वामित्व एंम भोगाधिकारको अधिकार स्थापना हुने होइन विवादीद जग्गामा विपक्षीको कुनै प्रकारको हक स्थापित हुने आधार नभएकोमा हामी पुनरावेदकको पैत्रिक सम्पत्तिमा हामीहरुले नै खिचोला दखल गरेको ठहर्याएको शुरु तथा पुनरावेदन फैशला त्रुटीपूर्ण । विपक्षीले २०२८ सालमा नक्सा स्वीकृत लिंदा हाम्रो हक स्वामित्वको विवादित जग्गाको लागि भनेर स्वीकृति लिएको होइन भन्ने हाम्रो पुनरावेदन जिकिर तर्फ समेत विचारै नगरी उक्त जग्गा हामीहरुले गोपाल र लक्ष्मी श्रेष्ठलाई हक हस्तान्तरण गरी सकेपछी मात्र पर्खाल थपेका र सो विषयमा गोपाल श्रेष्ठको नगर विकासमा उजुरी परेकोमा त्यस्तो वास्ताविकता तर्फ कुनै ध्याननै नदिई भएको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण छ । अतः पुनरावेदन जिकिरहरुको कानूनी एवं न्यायिक मुल्यांकन गरी पु. वे. अ. पाटनबाट भएको फैसलाको दर्ता बदर तर्फको फैसलाको फैसला खण्डलाई यथावत कायमै राखि खिचोलातर्फ हाम्रो पुनरावेदन जिकिर नपुग्ने गरी भएको हदसम्मको अंश बदर गरी खिचोलातर्फ समेत हाम्रो शुरु प्रतिउत्तर जिकिर एवं पुनरावेदन जिकिर पुग्ने गरी खिचोलाको हकमा समेत वादी दावीबाट फुर्सद दिलाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी लक्ष्मण महर्जन समेतको पुनरावेदन जिकिर ।
९. विवादित घर जग्गामा म पुनरावेदकको अविछिन्न एवै निरन्तर हक भोगको रहेकोमा नापीका समयमा आफ्नो जग्गा दर्ता नगरेको कारणबाट मात्र मेरा नाममा दर्ता नहुने भन्न मिल्ने होइन विपक्षीहरुको हक नै नभएको उक्त विवादित जग्गामा विपक्षीहरुको नममा दर्ता कायम गर्ने गरी गरेको फैसला प्रत्यक्ष कानूनी त्रुटीपूर्ण छ । परापूर्वकालदेखि आफ्नो हमभोगमा रहेका चार किल्ला कम्पाउण्ड भित्र रहेको जग्गालाई विपक्षीहरुका नाममा दर्ता गरी दिने गरी भएको फैसला वदरभागी रहेको र मेरो हकभोगको जग्गा भएबाटै मैले पर्खाल लगाउँदा सैफ्टिी ट्यांकी टहरा बनाउदा कुनै विवाद नजनाई स्वीकृत प्रदान गरेबाटै प्रष्ट भएकोमा मेरा नाममा जग्गा दर्ता हुन नसक्ने ठहर गरी गरेको फैसला वदर गरी शुरु जिल्ला अदालतले गरेको फैसला सदर गरी न्याय पाउँ भन्ने समेत व्यहोराको वादी आशाकाजी वज्राचार्य समेतको यस अदालतमा परेको पुनरावेदन पत्र ।
१०. नियम बमोजिम दैनिक पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन तथा शुरु मिसिल समेत अध्यायन गरी पुनरावेदक आशाकाजी वज्राचार्य तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले नक्सा पास सम्बन्धमा भोगाधिकार मेरो पक्षको भएमा विवाद छैन । २०२८ साल देखिनै आशाकाजी महर्जनले पर्खाल टहरा, सेफ्टी ट्यांकी समेत बनाई बसी आएको प्रष्ट छ । मुद्दा पर्नु भन्दा अगाडीका कागज प्रमाणहरुबाट भोगाधीकार मात्र दिलाएको हकाधिकार नदिलाएको त्रुटीपूर्ण हुँदा मेरो पक्षको नाममा दर्ता नगर्ने गरेको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण हुँदा सो हदसम्म उल्टी गरी आशाकाजी बज्राचार्यका नाममा दर्ता गरिनु पर्छ भनी पुनरावेदक । प्रतिवादी लक्ष्मण महर्जन समेतका तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वउ श्री शंभु थामा र श्री हिरा रेग्मीले खाली जग्गामा कसैले पर्खाल लगाउदैमा कानूनी स्वामित्व समाप्त हुदैन । विवादीत जग्गा पुनरावेदक लक्ष्मण महर्जन समेतको हक स्वामित्वको हो भन्ने कुरा दर्ता, तिरो रसिद समेत कागज प्रमाणले पुष्टि गरेको हुँदा आफ्नो हक स्वामित्वको जग्गाम खिचोला गरेको ठहर्याई गरेको पुनरावेदन अदालत पाटनको फैसला त्रुटीपूर्ण छ । फिराद हदम्याद विहिन भएको र पुनरावेदक लक्ष्मण महर्जन समेतको दर्ता वदर नभएको स्थितिमा निजकै हक कायम समेत हुनु पर्ने हुँदा खिचोला ठहर्याई गरेको हद सम्म पु. वे. अ. को फैसला उल्टी गरी पाउँ भन्ने समेतको वहस सुनी पुनरावेदन अदालत पाटनको फैसला मिले नमिलेको के रहेछ भनी निर्णय दिनु पर्ने देखियो ।
११. निर्णय तर्फविचार गर्दा यसमा विवादग्रस्त कि. नं. ५१ मा २०२२ सालमा सर्भे नापी हुँदा प्रतिवादीको बाजे शिवदास महर्जनको नमममा नापी भएको तथ्यमा विवाद छैन । सोही जग्गाको केही हिस्साहरु शिवदासको छोरा धनलालले छोरी लक्ष्मी समेत व्यक्तिहरुलाई हक हस्तान्तरण गरी दिएको पाइन्छ र मालपोत कार्यालयको ०४६।५।१२ को निर्णयले उक्त जग्गा प्रतिवादीको नाममा दर्ता समेत भएको देखिन्छ । वादीले सो जग्गामा पर्खाल बनाएको भई भोग गरेकोबाट उक्त जग्गामा निजको हकाधिकार पुग्छ पुग्दैन भन्ने मूल प्रश्नमा विचार गर्दा हाम्रो कानूनी व्यवस्था भोगलाई भन्दा दर्तालाई वढी महत्व प्रदान गरेको पाइन्छ । दर्ता श्रेस्तानै हकको मूल श्रोत हो भनी ने. का. प. २०२१ नि. नं. २६१ को निवेदक वादी जानकी ओझेनी समेत विरुद्ध, हिराबहादुर खत्री समेत भएको जिमिदारी अयस्ता दिलाई पाउँ भन्ने मुद्दामा ने. का. प. २०३०, अंक १ नि. नं. ७१९ निवेदक नवराज मिश्र समेत विपक्षी मडेजपेल समेत भएको जग्गा मुद्दा समेतका विभिन्न मुद्दाहरुमा सवोच्च अदालतबाट निर्णयहरु भई राखेको समेत पाइन्छ । विवादित कि. नं. ५१ मध्येको जग्गामा वादीले दर्ता गर्न ०४७ साल अघि कहिल्यै प्रयत्न गरेको देखिंदैन । प्रतिवादीको नाममा दर्ता भए पश्चातनै वादीले यो नालेस गरेको छ । कि. नं. ५१ को दक्षिण सिमानामा रहेको वादीको हकाधिकारको कि.नं. ५३।५४ को कित्ताहरुमा नापी हुँदाका बखत नै वादीले आफ्नो नाममा नापी गराई दर्ता श्रेस्ता कायम गराएको छ । कि.नं. ५१ मा पनि निजको जग्गा घुसेको भए सोही अवस्थामा सो पनि नापी गराउन सक्नु पर्ने थियो ।
१२. कसैको दर्ताको जग्गामा कसैले पर्खाल बनाउछ वा भोग गर्छु भने त्यसबाट स्वतः नै सो जग्गमा भोग गर्ने हक कायम हुन्छ भन्न मिल्दैन । कानूनले निर्धारित गरेको प्रकृया अपनाई सो जग्गामा आफ्नु दर्ता श्रेस्ता प्रमाणित गराई हक अधिकार कायम नगराएसम् मभोगको मात्र आधारमा उक्त जग्गामा निजको हक कायम हुन सक्ने कानूनी स्थिति हुँदा प्रतिवादीको नाउँको दर्ता र प्रतिवादीहरु वीच भएको वण्डा पत्र वदर नहुने ठहर्याएको समेत पुनरावेदन अदालत पाटनको निर्णयमा उल्लेखित बुदा प्रमाणबाट दर्ता बदर गरी पाउँ भन्ने र वण्डापत्र वदर तर्फको वादी दावी नपुग्ने ठहर्याएको पुनरावेदन अदालत पाटनको निर्णय मनासिव ठहर्छ ।
१३. जग्गा खिचोला ठहर्याएको पुनरावेदन अदालत पाटनको निर्णय तर्फ विचार गर्दा विवादित जग्गामा वादीको भोग भएपनि दर्ता र हकको नाताले वादीको हक कायम नभएपछि सो जग्गालाई अफ्नु भनी दावी गर्न नमिल्नेमा जग्गाको हकाधिकार कायम भएको जग्गावाला प्रतिवादीले जग्गामा खिचोला ठहर्याएको पुनरावेदन अदालत पाटनको इन्साफ सम्म नमिलेको हुँदा उल्टी हुने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।
तपसिल
पुनरावेदन प्रतिवादी लक्ष्मण महर्जन समेतको माथि ठहर खण्डमा लखिए बमोजिम दर्ता बदर वण्डापत्र गरीपाउँ भन्ने वादी दावी नपुग्ने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला सदर हुने र खिचोला तर्फ प्रतिवादीले जग्गामा खिचोला गरेको ठहर्याएको फैसला सो हदसम्म उल्टी भई प्रतिवादीले जग्गामा खिचोला गरेको नठहरेकोले खिचोला तर्फको वादीले राखेको कोर्ट फि रु. ४२०।– वादीले प्रतिवादीबाट भरी पाउने ठहरी गरेको शुरु तथा पुनरावेदन अदालतको लगत कट्टा गरी दिनु र प्रतिवादीले पुनरावेदन गर्दा उक्त रकम ०४९।१२।३ मा पुनरावेदन गर्दा ल. पु. जि. अ. मा धरौटी राखेको देखिंदा उक्त रकम फिर्ता पाउँ भनी दरखास्त दिए नियमानुसार फिर्ता दिनु र निजले यस अदालतमा राखेको थप कोर्ट फि रु. ६७।५० वादीको यसै सरहदको जेथा देखाई भराई पाउँ भनी दरखास्त दिए निममानुसार भराई दिनु भनी शुरु जिल्ला अदालतमा लगत दिनु । मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. कृष्ण कुमार वर्मा
इति सम्वत् २०५५ साल जेष्ठ २० गते रोज ४ शुभम् ।