निर्णय नं. ६६१६ - हक सफा

निर्णय नं. ६६१६ ने. का. प. २०५५ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
संवत् २०५१ सालको दे. पु. नं......३३३५
फैसला मितिः २०५५।४।११।२
मुद्दाः हक सफा ।
पुनरावेदक/प्रतिवादीः जिल्ला रुपन्देही वडवलिया गा. वि. स. वार्ड नं. २ घर भै हाल सिलौटिया ७ बस्ने अमुका अहिर ।
विरुद्ध
प्रत्यर्थी/वादीः ऐ. ऐ. बस्ने वेचन अहिर ।
§ वादीलाई आफ्नो जग्गाको भोग गर्न दावीको जग्गा नभै नहुने त्यस्तो खास रुपबाट सन्धी सर्पन पर्ने भन्ने देखिन आउदैन । निकास बाटो र पानिको श्रोत समेत अलग अलग भएको देखिएको स्थितिमा केवल वादी प्रतिवादीको जग्गाको सांधसम्म जोडिएकोमा सन्धि सर्पन नै पर्या भन्न मिल्ने देखिएन । प्रतिवादीले राजिनामा गरी लिएको जग्गा बादीको पुख्यौंली जग्गा भएको कारणबाट मात्र वादीले लिन खोजेको देखिन आउने भएबाट वादी दावी पुग्न नसक्ने ठहर्याउनु पर्नेमा फिराद दावी बमोजिम हक सफा गर्ने गरेको शुरु रुपन्देही जिल्ला अदालतको फैसला वदर गरेको पुनरावेदन अदालत बुटवलको इन्साफ त्रुटीपूर्ण हुँदा उल्टी भई वादी दावी नपुग्ने ।
(प्र. नं. १३)
पुनरावेदक/ प्रतिवादीको तर्फबाटःविद्वान अधिवक्ता श्री शम्भु थापा
प्रत्यर्थी /वादी तर्फबाटः विद्वान अधिवक्ता श्री विलेन्द्र कंडेल
अवलम्वित नजिरःX
फैसला
न्या. अरविन्द नाथ आचार्यः पुनरावेदन अदालत वुटवलको मिति २०५१।३।१९ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अनुसार पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ ।
२. मुल पुरुष समाउका २ छोरा जेठा झिन्कु कान्छा वंशराज भै झिन्कुको छोरा अचवा निज अक्षवरको श्रीमती मुरारी अहिरनी हुन वंशराजको छोरा म फिरादी हुँ यस प्रकार मेरो र मुरातीको बीच देवर भाउजुको नाता कायम छ । म वेचन अहिर र अक्षवरको बीच अंश मुद्दा चली यसै अदालतबाट फैसला भई बण्डा छुट्टाई आ आफ्नो दर्ता भोगचलन गरी आएकोमा अक्षवरको मृत्यु भै निजका नाउको जग्गा मुरातीका नाऊमा दर्ता हुन आएको जग्गा हो म वेचन अहिर र मुराती भिन्न भएका हकवाला हौ मुराती अहिरनीले आफ्नो नाउँमा दर्ता रहेको जिरु गा. पं. वोदवलिया वार्ड नं. २ कि. नं. ३४३, ३४५, ३३९ वडा नं. १ (ख) कि. नं. ३५२ वडा नं. ५ कि. नं. २६७, २६९, २७१, २७३, २७५, २७७, २७९ समेतको ज. वि. १–१५–१५ जग्गा विपक्षी अमुका अहिरलाई २०४४।१।७ मा राजिनामा पारित गरी दिएकोले म वेचन अहिरनको सन्धिसर्पन र हकवाला समेत हुँदा निखनाई पाउँ भनी रजिष्ट्रेशन दस्तुर र थैली समेतको विगो रु. ४२,८००।– मालपोत कार्यालयमा धरौटी राखी दरखास्त दिंदा निखनी लिनपाउने ठहरी मालपोत कार्यालयबाट २०४४।९।३ मा निर्णय भएको सो निर्णय उपर लुम्बिनी अन्चल अदालतमा पुनरावेदन परी कारवाही हुँदा मालपोत कार्यलयको ०४४।९।३ को निणय वदर गरी दिएको छ । ३५ दिन भित्र रुपन्देही जिल्ला अदालतमा नालिस गर्न जानु भनी निवेदक वेचन अहिरनलाई सुनाई दिने भनी लु. अ. अदालतबाट ०४५।६।१० मा फैसला भएको र मेरो भाउजु मुरारी अहिरनले अमुका अहिरनलाई पारित गरी दिएको उल्लेखित किल्लाहरु र मेरो कि. नं. ३४२, ३४४, ३४०, ३५३, २६८, २७०, २७२, २७४, २७६, २७८, २८० समेतको जग्गामा सिंचाईको लागि पानी र हलो गोरु समेत लैजान पर्ने मेरो साधमा सन्धिसर्पन पछि विपक्षी अमुकालाई निखनी दिनुहोस भनी अनुरोध गर्दा नमानी जवाफ दिएको हुँदा लेनदेन व्यवहारको ११, १६ नं. र रजिष्ट्रेशनको ३५ नं. तथा लु. अ. अ. को फैसला मितिले ३५ दिन भित्र फिराद गर्न आएको छु । मिति ०४४।१।७ को लिखत लेनदेन व्यवहारको ११, १६ र रजिष्ट्रेशनको ३५ नं. बमोजिम निखनाई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।
३. मुरातीबाट ०४५।१।७ मा राजिनामा गराई लिएको जग्गा बादीले सन्धिसर्पन पर्दैन र हक निखनाई लिन पाउने पनि होइन वादीको र मेरो जग्गा पूर्व पश्चिम भएपनि बीचमा आली भएको र सो ठाउँमा सार्वजनिक बाटो समेत नहुँदा र पानी कुलो समेत सो ठाउँमा छैन मेरो जग्गामा जानपर्ने पानी समेत लैजान पर्ने अवस्था छैन सो जग्गामा बाटो समेत नभएकोले गोरु लैजान पर्ने र सन्धिसर्पन पर्ने हकवालाले लेनदेन व्यवहारको १० नं. को म्याद रजिष्ट्रेशन भएको मितिले ६ महिना सम्म थाहा पाएको ३५ दिन भित्र थैली धरौट राखी दरखास्त दिनपर्ने बाध्यात्मक कानून व्यवस्था भएको सगोलका परिवार उमेर पुगेको जोसुकैले थाहा पाए मुख्यले थाहा पाएको ठहर्छ भन्ने उक्त दफा मै व्यवस्था छ । मुराती अहिरनले म अमुका अहिरनलाई ०४४।१।७ मा राजिनामा पारित गरी दिएको बदर गरी पाउँ भनी बसन्ती अहिरनले मुराती र म अमुका अहिरन उपर दिएको लिखत वदर मुद्दाको इतलायनामा तामेल हुँदा बादीको एका घरको छोरा रामबृक्ष अहिर साक्षी बसी ०४४।२।२८ मा तामेल भएको सो समयमा नै रामबृक्षलाई ०४४।१।७ को राजिनामा परित भएको कुरा ०४४।२।२८ मा थाहा भएपछि एकाघरको बावु वेचन अहिरनले थाहा नपाउने प्रश्नै आउदैन वादीले मौकामा राजिनामा गराएको कुरा जानकारी भएको प्रस्तुत फिरादमा थाहा पाएको मिति उल्लेख गर्न र मालपोत कार्यालयमा दिएको मेरो प्रतिउत्तरुलाई खण्डन गर्न नसकेको हो थाहा पाएको मिति लोप गरि दावामा म्याद भित्र धरौट राखेको भन्न र प्रस्तुत फिरादबाट इन्साफ गर्न मिल्दैन र वादीले हक सफा गर्न पाउने समेत होइन वादीदावा झुठ्ठा हो भन्ने समेत अमुका अधिरको प्रतिउत्तर जिकिर ।
४. वादी र प्र. का दाता मुराती हकवाला भएको देखिएको र नक्साबाट विक्री भएका जग्गा र वादीको जग्गा एक आपसमा जोडिई सन्धिसर्पन परेको समेत देखिंदा फिराद दावी बमोजिमका जग्गा वादीलाई निखनाई दिने ठहर्छ भन्ने शुरु जिल्ला अदालतको फैसला ।
५. राजिनामा पारित भएकै अवस्था वादीलाई थाहा भएको वादीका एकाघरका छोराले पछि राजिनामा लिखत वदर मुद्दाको म्याद तामेलीमा साक्षी समेत बसेको छ । सो मितिले म्याद भित्र फिराद पर्न आएको छैन । राजिनामाका कागज वादीलाई के कती कारणले सन्धिसर्पन पर्ने हो सो फैसलामा उल्लेख समेत नगरी निखन्न पाउने ठहराई गरेको फैसला त्रुटीपूर्ण हुँदा वदर गरी न्याय पाउँ भन्ने प्रतिवादीको पुनरावेदनपत्र ।
६. वादी र जग्गादाता कहवाला भएका, नक्साबाट विवादित जग्गावादीलाई सन्धिसर्पन परेको देखिन आएकोले फिराद दावी बमोजिमको जग्गा वादीलाई निखनाई दिने ठहर्याएको शुरु रुपन्देही जिल्ला अदालतको फैसला मिलेकै देखिंदा मनासिव ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत वुटवलको मिति २०५१।३।१९।१ को फैसला ।
७. दाता मुरातीले म प्रतिवादीलाई मिति २०४४।१।७ मा राजिनामा पारित गरी दिएको जानकारी वादी वेचन अहिरका एकाघरका उमेर पुगेका छोरा रामवृक्ष अहिरनलाई मिति २०५४।२।२८ मा नै थाहा जानकारी हुँदा मिति २०४४।५।१२ मा नक्कलसारी थाहा पाएको भन्ने वादी झुठ्ठा हो मुरातीले मलाई राजिनामा रजिष्ट्रेशन पारित गरी दिएको जग्गा विपक्षीको जग्गा संग सन्धिसर्पन पर्दैन । दुवै जग्गामा जान छुट्टै बाटो छ जसबाट आ–अफ्नो जग्गामा जान सकिन्छ र विपक्षीको जग्गामा पानी सिंचाई गर्न पनि मेरो जग्गाबाट पानी लैजानु पर्दैन वादीको जग्गा र मेरो जग्गा आली भडेल छुट्याएको छ । तेस्रो व्यक्तिको जग्गा विचमा नभएको भन्दैमा सन्धिसर्पन परेको भन्ने कदापी मिल्दैन । सांध सम्म जोडिएको आधारमा सन्धि सर्पन पर्ने ठहर्याएको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत वुटवलको इन्साफ त्रुटीपूर्ण हुँदा मुद्दा दोहोर्याई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी अमुका अहिरनको यस अदालतमा परेको निवेदन ।
८. जग्गा सांध जुट्दैमा स्वतः सन्धिसर्पन पर्छ भन्न मिल्नेदैन सन्धिसर्पन पर्नका लागि उक्त जग्गा हक सफा नहुँदा के कती मार्का पर्न जान्छ चित्त बुझ्दो तवरले प्रमाणीत हुनु पर्दछ । पुनरावेदन अदालत वुटवलको फैसलामा लेनदेन व्यवहारको ११ नं. को कानूनी त्रुटि देखिदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) अन्तर्गत दोहोर्याउने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालतको मिति २०५३।५।१० को आदेश ।
९. मिति २०४७।६।३० मा भएको नक्सामा विवादका जग्गाहरुको सवै भौतिक स्थिति एउटै जग्गामा नदेखाई छुट्टा छुट्टै नक्सामा देखाएको उक्त नक्सा बदर गरिदिएको छ । अव विवादका जग्गाहरुको स्पष्ट भौतिकस्थिति एउटै नक्सामा देखिने गरी अ.ब. १७१ नं. को रित पुर्याई पुनःनक्सा गरी पठाउनु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०५४।१०।१५ को आदेश ।
१०. आदेशानुसारको विवादित जग्गाको नक्सा मुचुल्का भै मिसिल सामेल रहेको ।
११. नियम वमोजिम मुद्दा पेशी सुचीमा वढी हुन आएको मिसिल अध्ययन गरी पुनरावेदन प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले पैतृक सम्पत्ति भएको र साँध सीमाना जोडिएको नाताले मात्र सन्धीसर्पन पर्ने हुँदैन । कुलो पानी र आवत जावत गर्ने व्यवस्थाको आधारमा सन्धीसर्पन निर्धारण गर्नुपर्त । वादीबाट सन्धिसर्पन पर्छ भन्ने र प्रत्यर्थी वादी तर्फबाट उपस्थित विद्वान अधिवक्त श्री लिलेन्द्र कंडेलले वादी र दावी वमोजिम सन्धिसर्पन पर्ने ठहर्याएको पुनरावेदन अदालत वुटवलको इन्साफ मनसिव छ छैन हेरी सो सम्वन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
१२. निर्णय तर्फ विचार गर्दा प्रतिवादीका दाता मेरा भिन्न भएका हकवाला मुराती अहिरनीले रुपन्देही जिल्ला वदवलिया गा. वि. स. का विभिन्न ११ कित्ताका ज.वि. १–१५–१५ जग्गा विपक्षी अमुका अहिरलाई विक्रि गरेकोले उक्त जग्गा मेरो जग्गामा पानी वाटो समेतका लागि सन्धिसर्पन पर्ने र हकवाला समेत हुँदा निखनाई पाउँ भन्ने वादी र मैले राजिनामा गरी लिएको जग्गा वादीको सन्धिसर्पन पर्दैन सो ठाउँमा सार्वजनिक बाटो र कुलो समेत नहुँदा सन्धिसर्पन नपर्ने तथ्य नक्साबाट पनि देखिने नै छ । वादीले हदम्याद नघाई फिराद दायर गरेकोले हकसफा गर्न पाउने होइन भन्ने प्रतिवादी भई विवाद उत्पन्न भएको प्रस्तुत मुद्दामा शुरु रुपन्देहि जिल्ला अदालतले वादी प्रतिवादीको जग्गा एक आपसमा जोडिएको समेत आधारमा सन्धिसर्पन पर्ने ठहर्याएको फैसला पुनरावेदन अदालत वुटवलबाट सदर भए उपर प्रतिवादीको यस अदालतमा पुनरावेदन परेको देखियो ।
१३. यसमा वादी प्रतिवादीका दाता मुराती अहिरनी हकवाला भएको तथ्य प्रमाणको अंश मुद्दाको मिसिलबाट देखिएको र उक्त नातामा विवाद समेत सिर्जना भएको नदेखिंदा त्यस तर्फ केही विवेचना गरिरहनु परेन । मुराती अहिरनबाट प्रतिवादी अमुका अहिरनले रजिष्ट्रेशन पारित गरि लिएको विभिन्न कित्ता जग्गा फिरादी वेचन अहिरनको सन्धिसर्पन पर्ने हो होइन भनि हेर्दा फिराद पत्रमा प्रतिवादीले राजिनामा रजिष्ट्रेशन पारित गरी लिएको जग्गामा यो यस्तो किसिमसंग सन्धिसर्पन पर्न गएको छ भनी वादीले दावी लिन र पुष्टि गर्न समेत सकेको पाइदैन । यस अदालतको मिति २०५४।१०।१५।४ को आदेश बमोजिम भई आएको नक्सा पुचुल्का हेर्दा वोडढवलिया गा. पं. वार्ड नं. २ को कि. नं. ३४३, ३४५, ३३९, वार्ड नं. १ (ख) को कि. नं. ३५४ वार्ड नं. ५ को कि.नं. २६७, २६९, २७१, २७३, २७५, २७७ र २७९ समेत जम्मा ११ कित्ता जग्गाहरु मध्ये न. नं. ४७ को वादीको कि. नं. २७२ र न. नं. ४८ को प्रतिवादीको कि. नं. २७१ एवं न. नं. ६९ को वादीको कि. नं. २७६ र न. नं. ७० को प्रतिवादीको कि. नं. २७५ को क्रमशः उत्तर र पूर्वतर्फ बाटो र नं नं. ५६ को वादीले कि. नं. २७८ र नं नं. ५७ को प्रतिवादीको कि. नं. २७७ को पश्चिम तर्फ कुलो सम्म पर्ने देखिन्छ । अन्य कित्ताका जग्गाहरु वादी प्रतिवादीका जग्गाहरुकै सांध सिमाना सम्म जोडिएको देखिन आएता पनि बाटो र कुलो सँग जोडिएको देखिन आउदैन । बाटो र कुलो सँग जोडिएको देखिएको कि. नं. २७२, २७६ र २८० को वादीको जग्गा नै बाटो र कुलो सँग जोडिएको देखिन्छ । यस स्थितिमा वादीलाई आफ्नो जग्गाको भोग गर्न दावीको जग्गा नभई नहुने त्यस्तो खास रुपबाट सन्धिसर्पन पर्ने भन्ने देखिन आउदैन । निकास बाटो र पानिको स्रोत समेत अलग अलग भएको देखिएको स्थितिमा केवल वादी प्रतिवादीको जग्गाको सांध सम्म जोडिएको सन्धिसर्पन नै पर्या भन्न मिल्ने देखिएन । प्रतिवादीले राजिनामा गरी लिएको जग्गा वादीको पुखौंली जग्गा भएको कारणबाट मात्र वादीले लिन खोजेको देखिन आउने भएबाट वादी दावी पुग्न नसक्ने ठहराउनु पर्नेमा फिराद दावी बमोजिम हक सफा गर्ने गरेको शुरु रुपन्देही जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत वुटवलको इन्साफ त्रुटीपूर्ण हुँदा उल्टी भई वादी दावी नपुग्ने ठहर्छ । अरु तपसिल बमोजिम गरी मिसिल नियमानुसार बुझाई दिनु ।
तपसिल
वादी वेचन अहिरके माथि इन्साफ खण्डमा उल्लेख भए बमोजिम हक सफा गराई पाउँ भन्ने दावी पुग्ने ठहर भएकोले निवेदन दिदा मालपोत कार्यालय रुपन्देहीमा राखेको राजिनामाको थैली रु. ४०,०००। र रजिष्ट्रेशन दस्तुर रु. २८००। समेत जम्मा रु. ४२,८००। फिर्ता पाउँ भनी ऐनका म्याद भित्र दरखास्त परे फिर्ता दिनु भनि मालपोत कार्यलय रुपन्देहीमा लेखी पठाउनु ..................१
उक्त रायमा म सहमत छु ।
न्या. इन्द्रराज पाण्डे
इति सम्वत २०५५ साल श्रावण ११ गते रोज २ शुभम्..........