निर्णय नं. ६६१९ - अंश दपोट

निर्णय नं. ६६१९ ने. का. प. २०५५ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल
संवत् २०५२ सालको दे. पु. नं......२७८०
फैसला मितिः २०५४।८।२५।४
मुद्दाः अंश दपोट ।
पुनरावेदक/वादीः काठमाण्डौ जिल्ला खड्का भद्रकाली गा. वि. स. वडा नं. ८ घर भै हाल का. म. न. पा. वडा नं. ६ बौद्ध डेरा गरी बस्ने कमल खत्री समेत ४ जना ।
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः काठमाण्डौ जिल्ला खड्का भद्रकाली गा. वि. स. वडा नं. ८ हपाली बस्ने कृष्ण शरण खत्री ।
§ तायदाती फांटवारी पेश गर्दाका अवस्था सम्म प्रतिवादीका नाउँमा कायमै नरहेको हालको दावीको कि. नं. २१३ र २१५ को जग्गा त्यस वखत तायदाती फांटवारीमा उल्लेख गरी दिन सक्ने अवस्था रहेको समेत नदेखिंदा अंश चलन मुद्दामा फैसला भए पश्चात प्रतिवादीले हक प्राप्त गरेको जग्गामा दपोट गरे भन्ने वादीको दावी पुग्न सक्ने नदेखिंने ।
(प्र. नं. १४)
पुनरावेदक वादी तर्फबाटःविद्वान अधिवक्ता श्री लोकभक्त राणा ।
प्रत्यर्थी प्रतिवादी तर्फबाटःविद्वान अधिवक्ता श्री नारायण वल्लभ पन्त
विद्वान अधिवक्ता श्री शम्भु सिग्देल
अवलम्वित नजिरः X
फैसला
न्या. हरिश्चन्द्रप्रसाद उपाध्यायः पुनरावेदन अदालत पाटनको मिति २०५०।२।२९ को फैसला उपर मुद्दा दोहोराई पाउँ भनि पर्न आएको निवेदनमा मुद्दा दोहोर्याइ हेर्न निस्सा प्रदान भई पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ ।
२. विपक्षी पति तथा पिता कृष्ण शरणको हामी फिरादीहरुलाई घरबाट निकाला मात्र नगरी आफ्नो नाउँको पैतृक सम्पत्ति समेत हामीहरुको अंश हक नै भनी विक्री वितरण गर्दै रहेकोमा त्यस तर्फ छुट्टै नालेस गरी विपक्षीबाट श्री सम्पत्तिको तायदाती लिई ११ अंशियार मध्ये हामी फिरादी आमा छोरा ४ अंशियारहरुको अंश छुट्टाई अड्डैबाट चलन समेत चलाई पाउँ भनी हामी चार जना फिरादीको नालेस सम्मानीत अदालतमा परी विपक्षीको प्रतिउत्तर तथा सम्पत्तिको फांटवारी समेत मिति २०४४।४।२७ मा परी मिति ०४४।६।४ मा फैसला हुँदा वादी दावी बमोजिम ठहर भई राखेकोमा सो मुद्दा अन्तिम भै बसेकोमा हाल चलन चलाउने लगायतको कामको लागि सम्मानित अदालतमा निवेदन परि चारेखमा बसी राखेका छौ । यसै विच विपक्षीले तायदातीमा दिएका सम्पत्ति भन्दा बाहिर अन्य श्री सम्पत्तिहरु पनि रहे भएका छन ती सम्पत्तिहरु विपक्षीले दवाई छिपाई लकाई तायदातीमा उल्लेख नगरी राखेका छन् भन्ने सुनी फिल्डबुक उतार गरी ल्याउँदा थाहा पाई सम्मानीत अदालत समक्ष यो फिरादी लिई उपस्थित भएका छौं । पति तथा पिता कृष्ण शरणको नाउँमा दर्ता भएको का. जि. खड्का भद्रकाली गा. पं. वडा नं. ८ (क) कि. नं. २१३, २१५ र कि. नं. ३३ को हकमा बाजेमान बहादुरको हक खाने पशुपती गुठी ज. ध. भै निज पिता तथा पति जोताहा भएको ज. रो. क्रमशः १–१३–०, ०–१२–० र ३–८–० जग्गा भै का. जि. धापासी गा. पं. वडा नं. १ (ख) कि. नं. ३९ र ४१ को पशुपती गुठी ज. ध. भै निज पिता तथा पति जोताहा भएको जग्गा क्रमशः ज. रो. ८–८–० र ७–८–० जग्गहरुको जम्मा २२–१–० जग्गाको मोल विगो दश हजार पर्ने जग्गा हामीहरुको अंश हक मार्ने नियतले तायदातीमा नखुलाई दवाई छिपाई राखेको हुँदा यो फिराद गरेका छौ । अंशवण्डामा पर्ने उक्त जग्गाहरु तायदातीमा नदेखाई अंश मार्ने नियत लिई लुकाई छिपाई राखेकोले अंश वण्डाको २७ नं. बमोजिम उक्त जग्गा दवाय छिपाएको सम्पत्ति हामी फिरादीले एकलौटी खान पाउँने नै हुँदा फिरादीहरुको नाउँमा एकलौटी वण्डा लगाई चलन समेत अड्डैबाट चलाई पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. कि. नं. २१५ को रोपनि ०–१२–० जग्गा शंखमाया श्रेष्ठले र कि. नं. २१३ को रोपनि १–१३–० जग्गा लक्ष्मी प्रसाद श्रेष्ठ समेतले मलाई मिति २०४५।१।३ गते रजिष्ट्रशन पारित गरि दिएको हुँदा अंश मुद्दामा म सँग मिति २०४४।३।७ को आदेशानुसार तायदातीमाग गरी मैले अंश तायदाती मिति २०४४।४।२ मा पेश गरेको र अदालतबाट अंश मुद्दा २०४४।६।४ मा फैसला भएको हुनाले अंश मुद्दाको फैसला भएको धरै समय पछि मेरो नाउँमा दर्ता हक हुन आएको जग्गा सम्पत्तिलाई अंश मार्ने नियतले तायदाती नदिई दवाए छिपाएको भनि दावी गरी आएका प्रस्तुत अंश दपोट समेतको वादी दावी गर्न वादीलाई अ. वं. ८२ नं. अनुसारको हक नभएकोले सो दावी अ. वं. १८० नं. अनुसार खारेज गरी पाउँ । खड्का भद्रकाली गा. पं. वडा नं. ८ (क) कि. नं.३३ ज. रो. ३–८–० जग्ग कित्ता मेरो दर्ताको नभै पिता मान बहादुर खत्रीको नाउँमा जोताहामा दर्ता भएको जग्गा हुँदा पिताको नाउँमा दर्ता कायम रहेको जग्गा मैले विपक्षी सँगको अंश मुद्दाको तायदातीमा नदेखाएको सम्म हो मैले दवाएको छिपाएको छैन । विपक्षीको फिराद कथनबाट नै उक्त कित्ता जग्गा पिता मान बहादुरको नाउँमा जोताहा कायम रहेको भनी स्वीकार गर्नु र पिताको नाउँमा जोताहा दर्ता कायम भएको जग्गालाई मैले फांटवारी तायदातीमा नदेखाउनु गरेको कुरालाई दवाए छिपाएको भनी दावी गरेको विपक्षीको कथन झुठ्ठा हो वादी दावीको कि. नं. ४१ र ३९ कित्ता जग्गा दर्ता प्रमाणीत गरी ज. ध. प्र. पु. पाईनसकेको र पशुपति गुठीमा तायदाती पेश गरेको साल सम्मको तिरो बुझाउदा समेत सो गुठीको उक्त जग्गाको कित्ता नम्बर उल्लेख नगरी रसिद गरि दिएको सोही रसिदका आधारमा जग्गा दर्ता प्रमाणीत गर्नपर्ने भएको हुनाले अंश तायदाती फांटवारीमा वादीदावीको जग्गालाई मिति २०२१।२।१४ मा राजिनामा पारित गरि लिएकोमा मेरो नाउँमा दर्ता भएको छ तापनि ०४४ असोज ४ गतेको फैसलाले सोही रसिदको जग्गाबाट विपक्षीहरुले अंश भागवण्डा गरी लिन पाउँने फैसला नै भएको र कि. नं. ३९ र ४१ को दपोट भनेको जग्गानै उक्त पशुपति गुठी कै रसिद विवरणको जग्गा तायदातीमा उल्लेख भएको फैसला भै रहेको जग्गालाई वादीले झुठुठा व्यहोरा समेतबाट दवाए छिपाएकोले दपोट गर्या भन्ने समेत दावी खारीज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
४. अ. बं. ७८ नं. बमोजिम सनाखत गराई पेश गर्नु भन्ने समेत व्यहोराको आदेश ।
५. विपक्षीले अंश मुद्दामा पर्दा तायदातीमा नदेखाई दवाई छिपाएको हो भन्ने समेत व्यहोराको वा. स. दिप खत्रीले गरेको वयान ।
६. शंखमाया र लक्ष्मी प्रसादबाट छोडपत्र गराई लिएको लिखत भित्रको जग्गा मैले अंश मुद्दामा तायदाती दिदा उल्लेख गरी सकेको छु, दवाए छिपाएको छैन भन्ने समेत व्यहोराको प्र. कृष्ण खत्रीले गरेको बयान ।
७. कि. नं. ३३ को ३–८–० जग्गा अंश मुद्दामा फांटवारी दिदा देखाएको नपाइएकोले अंशवण्डाको २७ नं. बमोजिम दपोट गरेको ठहर्छ । तसर्थ प्रतिवादी कृष्ण शरण बाहेकका वादी समेतका अरु अंशियारले अंश वण्डाको २७ नं. अनुसार अंश गरी लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४९।१।१८ गतेको काठमाण्डौ जिल्ला अदालतको फैसला ।
८. का. जि. अ. ले गरेको फैसलाको इन्साफ कति नमिलेको हुनाले सो वदर गरी हाम्रो दावी अनुसार समुच्चै दपोट ठहराई न्याय पाउँ भन्ने समेत व्यहोराको मिति २०४९।३।८ गते पुनरावेदन अदालत पाटनमा पर्न आएको पुनरावेदन पत्र ।
९. विवादीत जग्गाहरु मध्ये कि. नं. २१३ कि. नं. २१५ को जग्गा प्रतिवादीको नाउँमा क्रमशः मिति २०४५।१।६ र २०४५।१।३ का लिखतहरुबाट प्रतिवादी कायम भएको देखिंदा त्यसमा वादी दावी नपुगेको ठहर गरेको र कि. नं. ३३ को जग्गामा अंश दपोट गरेको ठहर गरी कि. नं. ३९ र कि. नं. ४१ बाट कानून बमोजिम वादीहरुले अंश सम्म पाउने ठहराएको शुरु जिल्ला अदालतको इन्साफ सदर हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत पाटन ललितपुरको मिति २०५१।२।२९।१ को फैसला ।
१०. पुनरावेदन अदालत पाटनको फैसलामा सर्वोच्च अदालतबाट स्थापित सिद्दान्त विपरीत र अंशवण्डाको महलको २०, २३ र २७ नं. समेतको त्रुटी गरी भएको हुँदा वदर गरी वादीदावी बमोजिम जग्गा हामी फिरादीको एकलौटी हक कायम गरी पाउँ भन्ने समेत कमल खत्री समेतले मुद्दा दोहोर्याई पाउँ भनि यस अदालतमा दिएको संयुक्त निवेदन ।
११. साविक देखि घर रहेको कि. नं. ३४ बाट नै कित्ताकाट भै कि. नं. १७७ र कि. नं. १७८ कायम भएको र मोहीमा कृष्ण शरण खत्री भएकोमा विवाद देखिएन । सोही कि. नं. १७८ बाट कि. नं. २१३ समेत कायम भएको देखिन्छ । अंश मुद्दा पर्दाका अवस्थामा घर रहेको कि. नं. ३४ वादी समेतको अंश हक लाग्ने भन्ने कुरा यस अदालत पुर्ण इजलासबाट भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६ (क) बमोजिमको घर सहितको मोहीयानी घर जग्गा मोहीले विक्र गर्न सक्ने भन्ने ने. का. प. ०४९ अंक १ नि. नं. ४४४८ मा सिद्दान्त समेत प्रतिपादित भएको देखिएकोले अंश मुद्दामा कि .नं. २१३ को यस्तो घर जग्गामा वादी समेतको हक हुनेमा सोको तायदाती नदिई दपोट गरेको देखिनेमा वादी दावी नपुग्ने गरी गरेको पुनरावेदन अदालत पाटनको फैसलामा कानूनको व्याख्या तथा नजीर सम्बन्धी गंम्भीर त्रुटि भई न्याय प्रशासन ऐन २०४८ को दफा १२ (१) (क) (ख) अन्तर्गत मुद्दा दोहोराउने निस्सा प्रदान गरिएको छ भन्ने समेत यस अदालतको मिति २०५२।७।१०।६ को आदेश ।
१२. नियम वमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दा अध्ययन गरि पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री लोकभक्त राणाले कि.नं. ३३ दपोट ठहर भए उपर विपक्षको पुनरावेदन नपरी अन्तिम भइरहेको छ । दपोट मुद्दामा नियत पनि हेरिने भनि नजिर भइरहेको र सो नियत थियो भन्ने कुरा कि नं. ३३ दपोट गरेबाट पनि अन्य कित्ता जग्गाहरु पनि दपोट गरेको देखिन्छ । मोहीयानीको घरबारी जग्गा वण्डा विक्रि हुने भनी ने.का.प २०४९ अंक १ नि.नं. ४४४८ मा सिद्दान्त प्रतिपादन भइरहेको हुँदा पुनरावेदन जिकिर बमोजिम दपोट ठहर हुनुपर्ने भन्ने समेतको र प्रत्यर्थी प्रतिपादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री नारायण वल्लभ पन्तले देवानी मुद्दामा नियतको कुरो उठ्दैन । कि नं. ३४ को सम्बन्धमा फिराद दावी छैन र लिखत वदर तर्फ नालेश गर्न पनि सकेको छैन । कि. नं. २१३ र २१५ अंश मुद्दा अन्त भए पछि श्रृष्टि भएकोले वण्डा लाग्ने होइन भन्ने समेतको र प्रत्यर्थी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु सिग्देलले तायदाती माग्दाको अवस्था प्रस्तुत सम्पत्ति घर जग्गा मेरो पक्षको नाममा आइसकेको थिएन तसर्थ पुनरावेदन अदालतको फैसला कानून अनुरुप हुँदा सदर हुनुपर्छ भन्ने समेतको गर्नु भएको विद्वान अधिवक्ताहरुको वहर समेत सुनी कि. नं. २१३ र २१५ मा वादी दावी नपुग्ने कि. नं. ३३ दपोट गरेको ठहर गरी र कि. नं. ३९ र ४१ बाट वादीहरुले कानून बमोजिम अंश पाउँने ठहर गरेको शुरु काठमाण्डौ जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत पाटन ललितपुरको फैसला उपर वादीको पुनरावेदन परेको पुनरावेदन अदालत पाटन ललितपुरको फैसला मुनासिव छ छैन भनि निर्णय दिनु परेको छ ।
१३. आज निर्णय सुनाउन तारेख तोकिएकाले निर्णय तर्फ विचार गर्दा प्रस्तुत अंश दपोट मुद्दामा वादीले का. जि. खड्गा भद्रकाली गा. प. र वडा नं. ८ (क) कि. नं. २१३ र २१५ र ३३ का. जि. धापासी गा. पं. वडा नं. १ (ख) कि. नं. ३९ र ४१ को जग्गा दपोटमा दावी लिएको देखिन्छ । शुरु काठमाण्डौ जि. अ. ले कि. नं. ३३ को जग्गा प्रतिवादीले दपोट गरेको ठहर भएकोमा सो मा प्रतिवादीले दपोट गरेको ठहर भएकोमा सो मा प्रतिवादीले चित्त बुझाई पुनरावेदन नगरी बसेकोले त्यसतर्फ विचार गरी रहन परेन ।
१४. अब दावीका अन्य कित्ताका जग्गा सम्बन्भमा विचार गरी हेर्दा यिनै वादी प्रतिवादी भै चलेको शुरु काठमाण्डौ जिल्ला अदालतबाट मिति २०४४।६।४।१ मा फैसला भएको अंश चलन मुद्दामा प्रतिवादीले २०४४।४।२७।४ मा दिएको दायदाती फांटवारीमा स्व. पिता मान बहादुरका नाउँमा मोहीयानी दर्ता भएको वहाँको शेष पछि मेरो हक भएको पूर्व कृष्ण बहादुरको जग्गा पश्चिम मान बहादुरको जग्गा उत्तर कालेको जग्गा दक्षिण कृष्ण शरणकै जग्गा भनि चौदही किल्ला समेत खुलाई खड्का भद्रकाली गा. पं. वडा नं. ८ (क) कि. नं. ३४ को जग्गामा बनेको पक्की घर भनी उल्लेख गरी दिएको देखिएको र सो घरमा वण्डा लाग्ने गरी उक्त अंश चलन मुद्दामा फैसला भएको समेत देखिन्छ । घर भए देखि वाहेक कि. नं. ९२ समेतको जग्गामा प्रतिवादी मोही मात्र रहेको अवस्था देखिन्छ । त्यस्तो माही हक मात्र रहेको जग्गा वण्डा लाग्न सक्ने अवस्था रहदैन । यसरी सावीक मोहीयानी हक मात्र रहेको कि. नं. ३४ र ९२ को जग्गा प्रतिवादीको दपोट गरे भन्ने वादी दावी रहे भएको समेत देखिन्छ । अंश चलन मुद्दामा शुरु अदालतबाट मिति २०४४।६।४।१ मा फैसला भै सकेपछि प्रतिवादी मोही रहेको उक्त जग्गा क्रमशः मिति २०४५।१।६ र ०४५।१।३ का पारित छोडपत्र लिखतका आधारमा कित्ता काट भै कि. नं. २१३ र २१५ को जग्गा प्रतिवादीका नाउँमा आएको देखिन्छ । उक्त छोडपत्र लिखतहरु उपर वादीको उजुर दावी भए परेको पनि देखिंदैन । यसरी तायदाती फांटवारी पेश गर्दाका अवस्था सम्म प्रतिवादीका नाउँमा कायमै नरहेको हालको दावीको कि. नं. २१३ र २१५ को जग्गा त्यस वखत तायदाती फांटवारीमा उल्लेख गरी दिन सक्ने अवस्था रहेको समेत देखिंदा अंश चलन मुद्दामा फैसला भए पश्चात प्रतिवादीले हक प्राप्त गरेको जग्गामा दपोट गरे भन्ने वादीको दावी पुग्न सक्ने देखिएन ।
१५. प्रतिवादीले अंश चलन मुद्दामा दिएको तायदातीमा रमा कुमारी संग मिति २०२१।२।१४ मा राजिनामा पारित गरी लिएको श्री पशुपति नाथ दथूकवल भण्डारी खानगरीमा मेरो नाममा दर्ता भएको कि. नं. नखुलेको खन्गीदार पुरुषोतमलाई सालको धान मुरी १२। गहु ८। तिरो बुझाउन पर्ने फैमाचुली खेत रोपनी ८९ भन्ने उल्लेख गरेको देखिन आएको र सो जग्गा पंचायत धापासी वडा नं. १ (ख) कि. नं. ३९ मा क्षेत्रफल ८–८–० र कि. नं. ४१ क्षेत्रफल ७–८–० कायम भएको भन्ने पशुपती भण्डार तहवील कार्यालयको मिति २०४७।९।१८ को हाल साविक दर्ता उतार पत्रबाट देखिन आएकोले प्रतिवादीले तायदातीमा उल्लेख गरेको पशुपति नाथ भण्डारी खान्गीमा कूत बुझाउन पर्ने चौहद्दी समेत उल्लेख गरेको जग्गा नै हाल कायमी कि. नं. ३९ र ४१ मा नापी दर्ता भएको पशुपती भण्डार तहवील कार्यालयको उक्त लगतबाट देखियो ।
१६. यसरी हाल वादीले दावी लिएको उक्त कि.नं. ३९ र ४१ को जग्गा अंश मुद्दाको तायदाती फाटबारीमा उल्लेख गरैकै देखिन आएकोले सो जग्गामा प्रतिवादीले दपोट गरेको भन्न मिल्ने अवस्था देखिएन । अतः अंश चलन मुद्दामा फैसला भए पश्चात प्रतिवादीको हक हुन आएको कि.नं. २१३ र २१५ मा वादी दावी नपुग्ने र कि.नं. ३९ र ४१ को जग्गाबाट कानून वमोजिम वादीहरुले अंश सम्म पाउने ठहराएको समेत शुरु काठमाण्डौ जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत पाटन ललितपुरको फैसला मुनासिव देखिँदा सदर हुने ठहर्छ । वादीको पुनरनवेदन जिकिर पुग्न सक्दैन । कोर्ट फि रहेको देखिँदा पुनरावेदकलाई अरु केही गर्नु परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.भैरव प्रसाद दम्साल
इति संवत २०५४ साल मार्ग २५ गते रोज ४ शुभम ।