निर्णय नं. ६६२१ - वन्दुकले गोलि हानि मारेको ज्यान

निर्णय नं. ६६२१ ने. का. प. २०५५ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल
संवत् २०५४ सालको साधक नं......१४९
फैसला मितिः २०५५।४।१६।४
मुद्दाः वन्दुकले गोलि हानि मारेको ज्यान ।
वादीः मन वहादुर गुरुङ्गको जाहेरिले श्री ५ को सरकार ।
विरुद्ध
प्रतिवादीः जि. संखुवासभा मादीखर्क गा.वि.वडा नं. ४ वस्ने भरत वहादुर जिमी ।
§ मृतक दलवहादुर गुरुङ्ग र प्रतिवादी भरत वहादुर जिमी वन्दुक लिई संगसगै शिकार खेल्न गएको भन्ने कुरा किटानी जाहेरी मौकाको कागज गर्ने लोकनाथ कोइरालाको वकपत्रबाट स्पष्ट देखिन्छ । बन्दुक बोकी दुई जना व्यक्ति सिकार खेल्न भएकोमा प्रतिवादी मात्र फर्कि आएका र मृतकलाई खोजतलास गर्दा लाश फेला परेको देखिन्छ । राति सम्म मृतक फर्की नआएबाट निज प्रतिवादीलाई सोध्न जादाँ प्रतिवादी नाउँ छाडी बेपत्ता भई सकेको देखिन्छ भने अदालतबाट जारी भएको म्यादमा उपस्थित भएर आफ्नो अभियोगबाट सफाई लिन सकेको देखिंदैन । श्री ५ महाराजधिराज सरकारका जुनाफमा चढाएको विन्ती पत्रबाट निज प्रतिवादीले अदालतबाट जारी भएको म्याद समेत पाए पश्चात पनि निज प्रतिवादी फरारै रही बसेको समेत अवस्था स्थितिमा मृतकको मृत्यु निज प्रतिवादीकै कर्तव्यबाट भएको हो भन्ने कुरामा विवाद देखिदैन । अतः पुनरावेदन अदालत धनकुटाले निज प्रतिवादी भरत बहादुर जिमीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (१) नं. अनुसार सर्वस्व सहित जन्मकैदको सजाय गर्ने ठहर्याएको इन्साफ मनासिव ठहर्ने ।
(प्र.नं १९)
वादी तर्फबाट :X
प्रतिवादी तर्फबाट :X
अवलम्वित नजिर :X
फैसला
न्या. केदारनाथ आचार्यः पुनरावेदन अदालत धनकुटाको मिति २०५३।११।५ को फैसला उपर साधक सदरको लागि प्राप्त प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ ।
२. वादी मुलखर्क गा. पं. वडा नं. ४ बस्ने भरत बहादुर जिमी मिति २०४३।२।१० गते मेरो घरमा बास बसी भोलीपल्ट विहान छोरा दलबहादुर र भरत बहादुर समेत शिकार खेल्न जाने भनी दुवैजना बन्दुक बोकी जंगल तर्फ गएको रहेछन् सो दिन म र मेरो श्रीमती घरमा थिएनौ । ऐ. ११ गते विहान घरमा आई कान्छो खोई भनी सोद्धा भरत बहादुर जिमी संग शिकार खेल्न गए भनेका र ऐ. दिनको ११ बजेको समयमा भरत बहादुर मात्र खुकुरी छोडेछु भनी लिन मेरो घरमा आउदा बुहारीले देवर खोई भनी सोद्धा अघिनै म संग छुट्टिएको भन्दै हिडेछन छोरा घरमा नआएकोले खोज तलास गरी पाउँ भन्ने व्यहोराको हस्त बहादुर गुरुङको मिति २०४३।२।१५ गतेको हुलीया जाहेरी ।
३. मेरो साला दलबहादुर गुरुङ र भरत बहादुर जिमी समेतले २०४३।२।११ गतेका दिन विहान शिकार खेल्न भनी एक एक वटा भरुवा बन्दुक लिई जंगल तर्फ गएका सो दिन ११ बजेको समय तिर भरत जिमी फर्कि आएको मेरो साला नभएको हुँदा भरत बहादुरलाई सोध्न जादा भागी नभेटिएकोले खोज तलास गर्दे जाँदा मादिरामवेनी अन्तर्गतमा पर्ने सेकपोखरी छेउको जंगलमा निज दलबहादुरको लाश ०४३।२।२२ गते दिन १२ बजेको समयमा मरेको लाश गलित भै सकेको फेला परेको हुँदा भरत बहादुरलाई कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको मन बहादुर गुरुङको मिति २०४३।२।२३ गतेको जाहेरी दरखास्त ।
४. मिति २०४३।२।११ गतेका दिन म मेरा गोठमा वस्तु फुकाई घांस काट्न भनी जंगलमा गए त्यस अवस्थामा मैले नचिनेको दुइजना सिकारीहरु बन्दुक बोकी जंगल तिर गए अं. ९ बजेको समयमा जंगलमा बन्दुकको फायर भयो । सिकारीहरुले हरिन मारे होलान भनी संझी म घांस काट्ने धुनमा नै रहे घांस काटी गोठ गै गोठबाट मुलघर च्याङरिङमा गए बन्दुकको फायर बाट मानिस मरेको कुरा मिति ०४३।२।२२ गते मात्र थाहा पाए भन्ने समेत व्यहोरोको पुरु प्रसादको प्रहरीमा भएको मौकाको कागज ।
५. मिति २०४३।२।११ गतेका दिन गाई भैसी फुकाई म आफ्नो घरमा गए ०४३।२।१४ गतेका दिन मार्ने दल बहादुरका बाबु हस्तबहादुरले भन्दा थाहा पाएको हुँ कस्ले मारेका हुन भन्न सक्दिन भन्ने समेत व्यहोराको चन्द्रमणी कोइरालाको प्रहरीमा भएको मौकाको कागज ।
६. २०४३।२।११ गते लामटार गोठबाट मेरो घरमा आई रहेको अवस्थामा गुरांसे भन्ने ठाउँमा मैले नचिनेका राई जाती बन्दुक बोकी गईरहेको अवस्थामा दाई मृग कहां पाइन्छ भनी भन्दा जंगलमा पाइन्छ भनी जवाफ दिई घर तर्फ गए ऐ. १४ गतेका दिन एकजना फर्कि आयो एकजना आएन भन्दा थाहा पाए । म घटनास्थलमा नभएको लोकनाथ कोइरालाको प्रहरीमा भएको मौकाको कागज ।
७. भरत बहादुर जिमीको सो मिति देखि गाउँ घर छोडी वेपत्ता भएकोले निजले नै दल बहादुर गुरुङ्गलाई बन्दुकले हानी मारेको हुन बरामद भएको बन्दुक कस्को हो थाहा छैन भन्ने समेत व्यहोराको सर्जमिन मुचुल्का ।
८. भरत बहादुर जिमी निर्दोष भए प्रहरी समक्ष आई सत्य व्यहोराको प्रतिवेदन गर्नु पर्नेमा गाउँ घरमा लुकी छिपी फरार भएको कारणबट लास र निजको बन्दुक समेत लकाई छिपाई सकेकोले र लास प्रकृति हुँदा मृतकको आफ्नो भरी राखेको बन्दुक समेत लास नजिक भएबाट भरत बहादुर जिमीले साथमा लिई गएको बन्दुकले दल बहादुर गुरुङ्गलाई हानी मारेको हुँदा मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. बमोजिम कसुर गरेकोले अदालतबाट निजको नाउँमा वारेन्ट म्यादी पूर्जी गरी सोही ऐनको १३ (१) नं. बमोजिम सजाय माग दावीको प्रहरी प्रतिवेदन पत्र ।
९. मिति २०४३।३।२६ मा भएका आदेशानुसार वारेन्ट सहितको ७० दिन म्यादीपूर्जी जारी भएकोमा ०४३।४।१३ मा तामेल भई म्यादमा उपस्थित नभइ फरार रहेको ।
१०. मिति २०५३।१२।११ मा भएको आदेशानुसार भरत बहादुर जिमीको अंश रोक्का भएको।
११. ७० दिने म्याद २०४३।४।१३ मा तामेल भएकोमा हाजिर हुन नआएकोले हाजिर भए वा पक्राउ परेका बखत मुद्दा खडा गरी कानून बमोजिम गर्ने गरी अ. वं. १९० नं. बमोजिम मुलतवीया राखि दिने भन्ने समेत मिति २०४४।३।२ को मुलतवी आदेश ।
१२. अंश रोक्का रहेको मितिले ६ वर्ष सम्म पनि पक्राउ नपरेको र हाजिर हुन आएको समेत नदेखिंदा अ. वं. १९० नं. बमोजिम मुलतवीबाट जनाई कारवाहीका लागि दर्ता गरी पेश गर्नु भन्ने आदेश।
१३. प्रतिवादी भरत बहादुर जिमीले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा निवेदन दिई हुकुम प्रमाङ्गी भै आएको सूचना संखुवासभाको जिल्ला अदालतबाट मिति २०४३।१०।२२ गते सूचना पाटीमा टांस भएको सूचना मिसिल सामेल रहेको ।
१४. प्रतिवादी भरत बहादुर जिमीले मृतक दल बहादुर गुरुङ्गलाई कर्तव्य गरी मारेको पुष्टि हुन आउँछ तसर्थ अभियोग माग दावी बमोजिम प्रतिवादीले कसुर गरेको ठहर्छ र प्रतिवादी भरत बहादुर जिमीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय हुने ठर्हछ भन्ने समेत व्यहोराको संखुवासभा जिल्ला अदालतको मिति २०५२।११।८ गतेको फैसला ।
१५. सो फैसला उपर प्रतिवादी भरत वहादुर जिमीको हकमा साधक सदरको लागी संखुवासभा जिल्ला अदालतको च नं. २२५८ मिति २०५२।११।२८ को पत्रसाथ प्राप्त भै पु.वे.अ धनकुटामा साधक दायरीमा प्रस्तुत मुद्दा दर्ता भएको देखिन्छ ।
१६. शुरु संखुवासभा जिल्ला अदालतले निज प्रतिवादी भरत वहादुर जिमीलाई मुलुकी ऐन ज्यान सम्बन्धि महलको १३(१) नं. अनुसार सर्वश्व सहित जन्मकैदको सजाय हुने ठहर्याएको इन्साफ मनासिवै ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत धनकुटाको फैसला ।
१७. सो फैसला उपर साधक जाँचको मिसिल प्राप्त भई साधक दायरीमा मुद्दा दर्ता भएको रहेको रहेछ ।
१८. नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरि हेर्दा पुनरावेदन अदालत धनकुटाले प्रतिवादी भरत वहादुर जिमीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलका १३(१) नं. अनुसार सर्वश्व सहित जन्मकैदको सजाय गरेको इन्साफ मिलेको छ छैन निर्णय दिनुपर्ने देखिन आयो ।
१९. निणर्य तर्फ विचार गर्दा मृतक दल वहादुर गुरुङ्ग र प्रतिवादी भरत वहादुर जिमी वन्दुक लिई संगसँगै शिकार खेल्न गएको भन्ने कुरा किटानी जाहेरी मौकाको कागज लोकनाथ कोइरालाको वकसपत्रबाट स्पष्ट देखिन्छ वन्दुक वोकि दुई जना व्यक्ति शिकार खेल्न गएकोमा प्रतिवादी मात्र फर्कि आएको मृतकलाई खोज तलास गर्दा लास फेरा परेको देखिन्छ । राति सम्म मृतक फर्कि नआउँदा निज प्रतिवादीलाई सोध्न जाँदा प्रतिवादी घर छोडी वेपत्ता भइसकेको देखिन्छ भने अदलतमा जारी भएको म्यादमा उपस्थित भएर अभियोगबाट सफाई लिन सकेको देखिएन श्री ५ महाराजधिराज सरकारका जुनाफमा भढाएको विन्तिपत्रबाट निज प्रतिवादीलाई अदालतबाट जारी भएको म्याद समेत गुजारे पश्चातपनि निज प्रतिवादी फरारै रही समेत अवस्था स्थितिमा मृतकको मृत्यु प्रतिवादीकै कारणबाट भएको हो भन्ने कुरामा विवाद देखिंदैन । अतः पुनरावेदन अदालत धनकुटाले निज प्रतिवादी भरत बहादुर गुरुङ्ग मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (१) नं. अनुसार सर्वश्व सहित जन्मकैद सजाय हुने ठहर्याएको इन्साव मनासिवै ठहर्छ । मिसिल नियामानुसार गरी बुझाईदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. दिलिप कुमार पौडेल
इति सम्वत २०५५ साल श्रावण १६ गते रोज ४ शुभम्..........।