निर्णय नं. ६५३२ - लिखत बदर

नि.नं. ६५३२ ने.का.प. २०५५ अङ्क ४
पूर्ण इजलास
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
सम्वत २०५३ सालको दे.पु.नं....... ११२
फैसला मिति २०५४।१०।२।५
मुद्दाः लिखत बदर ।
पुनरावेदक/प्रतिवादीः- कास्की जिल्ला पो.न.पा. वडा नं. ९ बस्ने पालिखे मार्केटिग इन्टर प्राईजेजका प्रोप्राइटर वर्ष ५१ को गणेशमान पालिखे ।
विरुद्ध
विपक्षी/वादीः- कास्की जिल्ला निर्मल पोखरी गा.वि.स. वडा नं. १ बस्ने नन्दराज पौडेलसमेत जना २ ।
§ निजी आर्जनको सम्पत्ति भन्न सकिने आधार प्रमाणको अभावमा पवित्र मणिको निजी आर्जनको सम्पत्ति रहेछ भन्ने देखिँदैन । ने.का.प. ०५४. अंक १, पृष्ठ १ मा प्रकाशित यस अदालतको पूर्ण इजलासबाट नि.नं. ६३०३ को लिखत बदर मुद्दामा ०५३।११।२३ मा भएको फैसलाबाट प्रतिपादित सिद्बान्त समेतबाट र प्रमाण ऐन, २०३१ को दफा ६(क) को प्रावधान अनुरुप छुट्टी भिन्न नभएको अवस्थामा जे जस्तो सम्पत्ति जसको नाममा रहे भए पनि अन्यथा प्रमाणित नभएसम्म सगोलकै सम्पत्ति मान्नुपर्ने ।
(प्र.नं. १३)
निवेदकतर्फबाटः- विद्बान अधिवक्ता श्री यज्ञमूर्ति बन्जाडे
विपक्षी तर्फबाटः- विद्बान अधिवक्ता द्बय श्री खेमनारायण ढुंगाना, विद्बान अधिवक्ता श्री ताराबहादुर सिटौला
अवलम्बित नजीरः ने.का.प. २०५४, अंक १, पृ. १, नि.नं. ६३०३
फैसला
न्या. केदारनाथ आचार्यः- प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः-
२. पिता केशवराजको ३ भाई छोराहरु मध्ये जेठो म फिरादी नन्दराज माहिलो म पुष्पराज र कान्छो विपक्षी पवित्रमणी हौं । हामी तीन भाई एका सगोलमा बसी आएका र आजसम्म पनी एकासगोल मै छौं । हाम्रो पैतृक सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिबाट रु. १५,०००।– मा विपक्ष पवित्र मणिले २०३०।८।१४ मा पुष्पराज कुँवर जोगीसँग विजन माना ।।५।३ मध्ये पाँच ।।।५ को तिरो रु. ।६ लाग्ने पश्चिम मुलबाटो समेतका ४ किल्ला भित्र मोहडा २० हात पिछवाड ५० हात घडेरी जग्गा खरिद गरी हाल सर्भे नापीमा पो.न.पा. वा.नं. ९ को कि.नं. ३५ को क्षेत्रफल १-१२-१ को जग्गा निज पवित्रमणिका नाउँमा दर्ता भै जग्गाधनी प्रतिवादी पुर्जा लिई हामी सबैको सगोलबाट घर समेत बनाई सो जग्गा सगोलाटै उपयोग गरी आएका थियौं । उक्त हामीहरुको समेत अंश हक लाग्ने जग्गा रु ६००००।– मा पवित्रमणि दिने विपक्षी पालिखे मार्केटिङ इन्टर प्राइजेज महेन्द्रपुल पोखरा लिने गरी मिति २०४३।५।२० मा राजिनामा पारित समेत गरी हामीहरुको अंश हक मेट्ने षडयन्त्र गरको कुरा स्पष्ट जानकारी हुन आएको हुँदा फिराद गर्न आएका छौं । अतः हामीहरुको साक्षी प्रमाण समेत बुझी विपक्षहरु बीच लिनु दिनु गरेको कि.नं. ३५ को ज.रो. १-१२-१मध्ये ३ भागको २ भाग १-२-९-१ को जग्गाको लिखत बदर गरी पाउँ भन्ने समेत व्यहोराको २०४३।१२।१ को नन्दराज पौडेल समेतको संयुक्त फिराद पत्र ।
३. विवादित जग्गा पैतृक सम्पत्ति नभै पवित्रमणीले आफ्नो ज्ञानशिप प्रयासबाट कमाएको निजी आर्जनले खरिद गरेको हुँदा र निजले आफूखुश गर्न पाउने सम्पत्ति हो भने अर्कोतर्फ विवगत २०२९ साल अगावै विपक्षहरु पवित्रमणि छुट्टि भिन्न भै छुट्टाछुट्टै घर बनाई बसोबास गरी आएका छन भन्ने कुरा प्रमाण खण्डमा उल्लेख गरिएका साक्षीहरु बुझिएमा पनि अवगत हुनेछ । गण्डकी कपडा कारखानाका लागि बनेको घर म गणेशमानको श्रीमती गंगादेवी पालिखेलाई पवित्रमणि श्रीमती गौरीदेवी पौड्यालले हस्तान्तरण गरी सकेका छन, त्यसमा पनि पवित्रमणीले राजिनामा गरी सकेकोले सो जग्गाको घरमा दावी लिन नपाउने स्पष्ट छ । विवादित जग्गा पवित्रमणिको निजी आर्जनको हुँदा अंशवण्डाको १८ नं. बमोजिम विपक्षहरुलाई भागवण्डा लगाउन नपर्ने पवित्रमणिले आफूखुश गर्न पाउने हुँदा निजबाट गरी लिएको लिखत बदर हुन नपर्ने हुँदा सदर कायमै राखी विपक्षहरुको फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोराको गणेशमान पालिखे १ र विश्वशंकर पालिखे समेत जना २ को संयुक्त प्रतिउत्तर पत्र ।
४. स्वर्गीय पिता केशवराजको नन्दराज तथा पुष्पराज र म समेत ३ भाई छोरा हौं । हाल तीनै भाईको सर सल्लाहले सगोलकै हिसाबले पोखरा नागढुंगामा घडेरी जग्गा खरिद गरी घर बनाउन आवश्यक सम्झी घर बनाई गण्डकी कपडा कारखाना लिमिटेडलाई भाडामा दिइएको हो र सो जग्गा घर समेत मेरो नाउँमा हुँदा बेच विखन गर्न मिल्ने सम्झेर पो.न.पा. वडा नं. ९ को कि.नं. ३५ को क्षेत्रफल १-१२-१ को जग्गा र घरसमेत मैले पालिख मार्केटिङ इन्टर प्राइजेज प्रोप्राइटर द्बय गणेशमान पालिखे र विश्व शंकर पालिखे महेन्द्रपुललाई रु ६००००।– मा विक्रि गरी दिएको हुँ । तसर्थ सम्मानित अदालतबाट उपरोक्त सत्य तथ्य तथा साक्षी प्रमाण सबुद समेत बुझिकन भएको अदालतको निर्णय मलाई सर्वमान्य हुनेछ भन्ने समेत व्यहोराको पवित्रमणि पौडेलको प्रतिउत्तर पत्र ।
५. बुझिएका वादी प्रतिवादी दुवै पक्षका साक्षीहरुबाट भएको वकपत्र मिसिल संलग्न रहेको ।
६. लिखत बदर गरी पाउँ भन्ने वादीहरुको दावी पुग्न सक्तैन भन्ने समेत व्यहोराको मिति २०४६।१।६ को कास्की जिल्ला अदालतको फैसला ।
७. अंशवण्डाको लिखत वा व्यहोरा प्रमाणबाट समर्थित भएको छैन । यस्तो अवस्थामा मुलुकी ऐन सातौं संशोधन हुनु अघि मिति २०३४।९।२७ अगावै निजी आर्जनको भन्ने कानूनी मान्यताको त्रुटि नहुँदै खरिद गरेको जग्गालाई केवल जग्गा खरिद गर्ने प्रतिवादीहरुको भनाईलाई आधार मानी निजी आर्जन मानी हामीलाई हराई गरेको कास्की जिल्ला अदालतको इन्साफमा चित्त बुझेन अतः शुरुको कानूनी त्रुटिपूर्ण फैसला बदर गरी हाम्रो फिराद दावी अनुसार गरी पाउँ भन्ने समेत व्यहोराको नन्दराज पौडेल समेतले तत्कालिन गण्डकी अञ्चल अदालतमा चढाएको पुनरावेदन पत्र ।
८. लिखत बदर गरी पाउँ भन्ने मुद्दामा अंशवण्डाको विवेचना गरी गरेको निर्णय विचाराणीय हुँदा छलफलको लागि अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको साविक गण्डकी अञ्चल अदालत संयुक्त इजलासको मिति २०४६।१२।७ को आदेश ।
९. प्रस्तुत लिखतको जग्गा प्रतिवादी पवित्रमणिले २०३० सालमा खरिद गरेको देखिएको र वादीहरु र प्रतिवादी पवित्रमणि विच २०४५ सालमा वण्डा गरेको देखिएकोले विवादित लिखतको जग्गामा हक लाग्ने अंशियार व्यक्ति वादिहरुको मन्जुरी नलिई लिखत लिनुदिनु गरेको देखिँदा वादी दावी बमोजिम ३ भागको २ भाग लिखत बदर हुने ठहर्छ । वादी दावी नपुग्ने ठहराएको कास्की जिल्ला अदालतको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पोखराको फैसला ।
१०. पवित्रमणिले जग्गा खरिद गरी लिँदाको अवस्थामा विद्यमान रहेको तत्काल प्रचलित कानून अनुसार निजी आर्जनको सम्पत्तिमा सँगै बस्नेको मन्जुरी लिनुपर्ने बाध्यता नभएको र सो सम्बन्धमा सर्वोच्च अदालतबाट समेत व्याख्या भै सकेकोले पुनरावेदन अदालतबाट भएको फैसला कानून र नजिरको त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन पत्र।
११. यसमा मुलुकी ऐन लेनदेन व्यवहारको सातौं संशोधन पूर्व १० नं. को अन्त्यमा आफूले आर्जेको भएसँग बस्नेको मन्जुरी लिनुपर्दैन भन्ने उल्लेख भएको मिति २०३०।८।१४ मा पवित्रमणिको नाममा राजिनामा भएको र नापीमा निजको नाममा दर्ता भएको कुरामा विवाद नभएको यस्तो सम्बन्धित कानूनी व्यवस्था तर्फ र पवित्रमणि तथा पुनरावेदकको श्रीमती गंगा देवी मिली साझेदारीमा चलाएको गण्डकी कपडा उद्योगबाट २०४३ सालमा साझेदारीबाट अलग भै आफ्नो समेत भाग लिई घर सहितको कपडा उद्योग पुनरावेदक तर्फलाई एकलौटी छाडेको सिलसिलामा कपडा उद्योग रहेको घर राजिनामा गरी दिएको भन्ने गणेशमान पालिखेको प्रतिउत्तर पत्रमा उल्लेख गरेको जिकिर तर्फ पनि कुनै कुरा नबोली लेनदेन व्यवहारको १० नं. मा प्रयुक्त निजी आर्जनको प्रसंग उठाई सोहीलाई आधार बनाई इन्साफ मिलेको नदेखिँदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि पेश गर्नु भनी यस अदालतबाट मिति २०५१।७।२१ मा भएको आदेश ।
१२. जग्गा खरिद गर्दाको अवस्थामा प्रचलित लेनदेन व्यवहारको १० नं. मा आफूले आर्जेको भएसँग बस्नेको मन्जुरी लिनुपर्दैन वेचविखन समेत गैह्र गर्न हुन्छ भन्ने कानूनी व्यवस्था भएको र ने.का.प. २०४६, नि.नं. ४०१४, पुनरावेदन हरिशंकर गिरी विरुद्ध मानकी देवी रौनियार समेत भएको लि.द.व. मुद्दामा आफ्नो पालाको आर्जनको विक्रि गर्न अंशियारको मन्जूरी लिनु नपर्ने आफूखुश गर्न पाउने र केवल वादीहरुको लेखाइको भरमा मात्र प्रतिवादीको नाममा पैत्रिक सम्पत्तिलाई खरिद गरेको भनी मान्न नमिल्ने भन्ने सर्वोच्च अदालत पूर्ण इजलासबाट प्रतिपादित भएको सिद्धान्त समेतबाट लिखत बदर गर्ने ठहर्याएको पुनरावेदन अदालत पोखराको फैसला मिलेको नदेखिँदा उल्टी भै लिखत बदर गर्न नहुने ठहर्याएको शुरु कास्की जिल्ला अदालतको फैसला मुनासिव देखिँदा सदर हुन्छ । माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको रायसँग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्यायको राय । प्रमाण ऐन २०३१ को दफा ६(क) ले अन्यथा प्रमाणित नभएसम्म सगोलको अंशियारको नाममा रहेको सम्पत्ति सगोलको मानिने र लेनदेन व्यवहारको १० नं. ले सगोलको सम्पत्ति बेचविखन गर्दा अंशियारको मन्जूरी हुनुपर्ने भन्ने कानूनी व्यवस्था रहेको र ने.का.प. २०४३, नि.नं. २८४० पुनरावेदक तुलसीलाल गुरवाचार्य विरुद्ध मनिकलाल गुरवाचार्य भएको अंश मुद्दामा सर्वोच्च अदालत पूर्ण इजलासबाट एका सगोलमा रहे बसेको अवस्थामा एकासगोलमा कुनै अंशियारले आर्जन गरेको सम्पत्ति अंशवण्डाको १८ नं. ले सगोलको सम्पत्ति मान्नु पर्ने भन्ने सिद्धान्त प्रतिपादन भैरहेको समेतबाट पवित्रमणीले विक्री गरेको जग्गा निजी आर्जनको नभै सगोलको जग्गा देखिएको र विक्री गर्दा वादीहरुको मन्जूरी लिएको नदेखिँदा वादी दावी बमोजिम ३ भागको २ भाग लिखत दर्ता बदर हुने ठहर्याएको पुनरावेदन अदालत उपाध्यायसँग राय नमिलेकोले सर्वोच्च अदालत नियमावलीको नियम ३(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको राय भै मतैक्य हुन नसकी यस इजलास समक्ष पेश हुन आएको रहेछ ।
१३. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको पुनरावेदन सहितको मिसिल अध्ययन गर्दा पुनरावेदन तर्फबाट उपस्थित विद्बान अधिवक्ता श्री यज्ञमूर्ति बन्जाडेले गर्नु भएको वहसमा अघि नै छुट्टी भिन्न भएका भाई भाई बीच छुट्टाछुट्टै जग्गा लिई जग्गाधनी प्रमाण पूर्जा समेत बनाई सकेको स्थिति छ र यसरी वेगल भएका भाई पवित्रमणिले पुष्पराजबाट खरिद गरी लिएको पोखरा न.पा. वडा नं. ९ को कि.नं. ३५ को जग्गा निजी आर्जनको भएबाट गणेशमान पालिखेलाई गरी दिएको राजिनामा सम्पत्ति उपर वादी तर्फको दावी पुग्न सक्ने नदेखिएको अवस्था हुँदा मा.न्या. श्री केशवप्रसाद उपाध्यायको राय सदर हुनु पर्दछ भन्ने र विपक्षी तर्फबाट उपस्थित विद्बान द्बय श्री खेमनारायण ढुंगाना तथा श्री ताराबहादुर सिटौलाले गर्नु भएको बहसमा वादीहरु तीनभाई अघि छुट्टी भिन्न भएका होइनन् । मिति २०४५।११।२० मा मात्र वण्डा पारित भएको छ । वण्डा पास हुनु अघि वण्डापत्र भएको मान्न मिल्दैन । राजिनामा गरी दिने व्यक्ति स्वयंले सगोलको सम्पत्तिबाट खरिद गरेको भनेको स्थिति तथा २०४५ सालमा मात्र वण्डापत्र भएको स्थिति समेतको विचारबाट वादीले भने झै पहिले नै अंश भैसकेको र त्यसपछि पवित्रमणिको निजी आर्जनबाट कि.नं. ३५ खरिद गरेको भन्ने नदेखिँदा पुनरावेदन अदालत पोखराको फैसला मुनासिव ठहर्याएको मा.न्या. श्री उदयराज उपाध्यायको राय मनासिव हुनुपर्दछ भनी उल्लेख भएको देखिन्छ । वादी दावी पुग्न सक्ने नसक्ने के रहेछ भन्ने तर्फ विचार गर्ने सन्दर्भमा विवादित पोखरा न.पा. वडा नं. ९ नागढुंगाको कि.नं. ३५ को जग्गा पवित्रमणि पौडेलको निजी आर्जनको सम्पत्ति हो वा सगोलको सम्पत्तिबाट बढे बढाएको के हो भन्ने तर्फ हेर्दा प्रतिवादी बनाइएका पवित्रमणिको प्रत्युत्तरबाट सगोलको सम्पत्तिबाट खरिद गरेको भन्ने देखिन्छ । तथा मिसिल सामेल रहेको मिति २०४५।११।२० मा नन्दराज, पुष्पराज र पवित्रमणि बीच अंशवण्डा पास भएको फोटोकपीबाट देखनि आउँछ । अब विद्बान अधिवक्ता श्री यज्ञमुर्ति बन्जाडेको लेनदेन व्यवहारको १० नं. मा आफूले आर्जेको भएसँग बस्नेको मन्जुरी लिनुनपर्ने भन्ने तर्फ विचार गर्दा विवादित कि.नं. ३५ पवित्रमणिले आफूले आर्जेको सम्पत्ति हो भनी प्रमाणित हुनुपर्ने हुन्छ । माथि उल्लेख भए अनुसार निजको निजी आर्जनको सम्पत्ति भन्न सकिने आधार प्रमाणको अभावमा पवित्रमणिको निजी आर्जनको सम्पत्ति रहेछ भन्ने देखिँदैन । ने.का.प. ०५४, अंक १, पृष्ठ १ मा प्रकाशित यस अदालतको पूर्ण इजलासबाट नि.नं. ६३०३ को लिखत बदर मुद्दामा ०५३।११।२३ मा भएको फैसलाबाट प्रतिपादित सिद्धान्त समेतबाट र प्रमाण ऐन २०३१ को दफा ६(क) को प्रावधान अनुरुप छुट्टी भिन्न नभएको अवस्थामा जे जस्तो सम्पत्ति जसको नाममा रहे भए पनि अन्यथा प्रमाणित नभएसम्म सगोलकै सम्पत्ति मान्नु पर्ने देखिँदा भाई भाईका नाममा छुट्टाछुट्टै जग्गाहरु नापी भै दर्ता भै रहेको आधारबाट समेत छुट्टी भिन्न भएको भन्ने नदेखिँदा वादी दावी बमोजिम ३ भागको २ भाग लिखत दर्ता बदर हुने ठहराएको पुनरावेदन अदालत पोखराको फैसला मनासिव ठहर्याएको माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको राय मुनासिव ठहर्छ । मिसिल नियमानुसार गरी बुझाइदिनु ।
उक्त रायमा हामी सहमत छौं ।
न्या. कृष्णजंग रायमाझी
न्या. भैरवप्रसाद लम्साल
इति सम्वत २०५४ साल माघ २ गते रोज ५ शुभम्................................................. ।