निर्णय नं. ६५३६ - कर्तव्य ज्यान

नि.नं. ६५३६ ने.का.प. २०५५ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा
माननीय न्यायाधीश श्री हरिप्र साद शर्मा
सम्वत २०५२ सालको फौ.पु.नं....... १०९५
सम्वत २०५१ सालको फौ.पु.नं.........१०९७
सम्वत २०५२ सालको फौ.सा.नं. १३९
फैसला मिति २०५४।८।२४।३
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादीः- जिल्ला बाजुरा कुलदेवमाण्डौं गा.वि.स. घर भै हाल कारागार शाखा बाजुरामा कैदमा बसेका वर्ष २९ को गोकुल थापा ।
विरुद्ध
विपक्षी/वादी- देवराज गिरीको जाहेरीले श्री ५ को सरकार ।
किर्तेसिंह थापा
विरुद्ध
श्री ५ को सरकार ।
विपक्षी/वादीः- देवराज गिरीको जाहेरीले श्री ५ को सरकार ।
विरुद्ध
पुनरावेदक/प्रतिवादी- जिल्ला बाजुरा कुलदेवमाण्डौं गा.वि.स. घर भै हाल कारागार शाखा बाजुरामा कैदमा बसेका गोकुल थापासमेत ।
§ प्रस्तुत मुद्दाको वारदात भएको स्थलसम्म मृतक तुला गिरी र प्रतिवादी किर्ते सिंह थापा र प्रतिवादी गोकुल थापा एकैसाथ रहे भएको देखिएको । घटनास्थलको विवरण प्रतिवादी किर्ते सिंह थापा र गोकुल थापाले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानसँग मिल्न आएको । आफूसँग गएका मृतक तुलागिरीको मृत्युको सम्बन्धमा प्रतिवादी किर्ते सिंह थापा र गोकुल थापाले कहिँ कतै जाहेरी गरेको पनि नपाइएको । प्रतिवादी किर्ते सिंह थापा र गोकुल थापाले अधिकार प्राप्त अधिकारी समक्ष सावित भै व्यक्त गरेको कुराहरु मौकामा भएको मृतकको लास जाँच मुचुल्का र पोष्टमार्टम रिपोर्टबाट समेत समर्थित भएको छ । मृतक लासको छातीमा खोसिएको घाउ पनि देखिन्छ । अत एवं उपरोक्त उल्लेखित आधार प्रमाणहरुबाट पुनरावेदन अदालत दिपायलले प्रतिवादीहरुलाई आरोपित कसूर गरेको ठहर गर्दै मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिमको सजाय हुने ठहर गरेको फैसला मिलेको देखिँदा सदर हुने ।
(प्र.नं. २४)
पुनरावेदक तर्फबाटः विद्बान अधिवक्ता श्री नरप्रसाद थापा, विद्बान अधिवक्ता श्री हर्क भट्टराई, विद्बान वैतनिक अधिवक्ता श्री उत्तम सिंह थामदेङ्ग ।
विपक्षी तर्फबाटः वादी श्री ५ को सरकार तर्फबाट विद्बान सरकारी अधिवक्ता श्री कुमार चुडाल ।
अवलम्वित नजीरः X
फैसला
न्या. मोहनप्रसाद शर्माः- पुनरावेदन अदालत दिपायल डोटीको फैसला उपर यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः-
२. मेरा भाई नाता पर्ने तुला गिरी मिति २०४९।७।११ गते भाइटिकाको दिन दिपावली हेर्न घरबाट गएकोमा ऐ. १२ गते कुलमाण्डौ गा.वि.स. वडा नं. ७ बस्ने राधिका थापाले मेरै भतिजा गोविन्द गिरीलाई मौरेमा तिम्रो काका तुला गिरीको जस्तो लाश छ, हेरी आइज भन्दा गै हेर्दा काका तुला गिरीको लास घट्टको कुलो पानीमा घोप्टो परी रहेको छ भन्ने खबर गरेकाले सो खबर मैले प्रहरी चौकी टाटेमा मौखिक भन्दा घटनास्थलमा प्रहरी तथा गाउँले खटी गैसकेका छन म सो घटनाको उजूर गर्ने आएको छु कर्तव्य हो वा भवितव्य परी भाई तुला गिरीको मृत्यु भएको हो जो बुझ्नु पर्ने बुझि कानून बमोजिम कारवाही गरी पाउँ भन्ने देवराज गिरीको जाहेरी दरखास्त ।
३. तित्रसेन भिरतल पानीको बीचमा घोप्टो अवस्थामा तुला गिरीको लास रहेको लास हेर्दा नाकबाट रगत आई रहेको बायाँ कान माथि टाउकोमा अं. ३ इन्च गोलाकार घाउ निधारमाथि १, १ इन्च टाउकोमा घाउ छातिमा खोसिएको बायाँ कुममा रातोडाम जाँधमा रातो निलडाम मृतकले लगाएको ज्याकेटको खल्तीमा ने.रु. ८००।– पेन्टको कम्मरपेटी भित्रबाट भा.रु. ४००।– निस्केको भन्ने समेत व्यहोराको लास प्रकृति मुचुल्का ।
४. मिति २०४९।७।११ मा छोरा तुलागिरी सुनको चाप्को १, ढुंगीजोर १, आधातोलाको वाली जोर १ समेत लिई किर्ते थापा र गोकुल थापासँग दिपावली हेर्ने गएको नगद कति थियो थाहा छैन । छोरा तुला किर्ते र गोकुलसँग गएको र निजहरु राम्रो चाल चलनका नभएका हुँदा र पूर्व रिसइवी समेतका व्यक्ति हुँदा छोरा तुला गिरीलाई किर्ते र गोकुलले नै कर्तव्य गरी मारेका हुन कारवाही गरी पाउँ भन्ने व्यहोराको आमा जलु गिरीको प्रहरीमा भएको कागज ।
५. तुला गिरीलाई किर्ते सिं र गोकुलले मारी घट्टेकुलामा फालेकोमा विश्वास लाग्छ भन्ने व्यहोराको गोविन्द प्रहरीमा गरेको बयान ।
६. मिति २०४९।७।११ मा तुला गोकुले र म जुवा खेल्न भनी कालापानी गई चन्द्र थापाको घरमा तुला र गोकुलले जुवा खेले मैले हेरे मिति २०४९।७।१२ गत विहान ५ बजे र र आउन मोरै पुग्दा तोलीतिर जाने तिन जनाको सल्लाह भई तोली पुग्दा तुला गिरी पछाडि रहेको अवस्थामा तुला गिरीलाई तित्रसेन माथि बाट फाली निजसँग भएको सुन चाँदी वाडि लिनु पर्छ भन्ने सल्लाह भई तिनै जना तोली गई २ बोतल रक्सी खाई ८ बजे घर जान भनी हिड्यौं केही तल पुगेपछि गोकुल पिसाव गर्न गएकोले म एक्लैले पूर्व सल्लाह गरेको भीरबाट फाल्न नसकेकोले पछाडिबाट गोकुल दगुर्दै आई मेरै लुगा समाति फाल्नु पर्छ भन्ने इसारा गरेकोले म तुलासँग अंगालो हाली हिडे तित्रसेनको भीरमा पुगेपछि मैले र गोकुलले धकेली फालेका र तल गई हेर्दा मरी सकेको हुँदा सर्टको खल्तीबाट एक मुष्ट पैसा गोकुलले झिक्यो । गोकुलले टाउको मैले खुट्टा समाती केही तल पानीमा लछार्दै लगी घोप्टो अवस्थामा पारी भीरबाट खसे जस्तो बनाई लास छोडी घरतिर गएका र मोरैमा पुगी सकेपछि गोकुलले मलाई भा.रु. ५००।– दिएको हो । घरमा आएपछि दल बहादुर र गोरख बहादुरलाई मात्र भनेको निजले कसैसँग नभन्नु भनेकोले हामीले कसैसँग भनेन, तुलाको र मेरो रिसइवी थियो भन्ने समेत व्यहोराको किर्ते सिं थापाको बयान ।
७. मिति २०४९।७।११ मा तुला किर्ते र म कालापानी गई जुवा खेली मिति २०४९।७।१२ गते विहान ५ बजे घर जान मोरैतिर आई रक्सी खान तोली गई रक्सी खाई ८ बजे घरतिर जान हिँडदा बाटोमा भएको किर्ते र मेरो सल्लाह अनुसार तुला गिरीलाई तित्रसेनको भिरबाट धकेली फालेपछि निज भएको ठाउँमा गई हेर्दा निजको मृत्यु भै सकेको थियो, लासलाई पल्टाई निजको खल्तीबाट पैसा झिकेर मैले टाउकोमा किर्तेले खुट्टामा समाती पानीमा लछार्दै अलि पर लगि भिरबाट खसेजस्तो बनाई राखी घरतिर गर्यौं मैले तुलाको खल्तीबाट झिकेको भा.रु. ५००।– किर्ते सिंहलाई दिए अरु म सँग राखे म सँग भएको रु. ५४०। पेश गरेको छु भन्ने समेत व्यहोराको गोकुल थापाको बयान ।
८. मिति २०४९।७।१२ गते तित्रसेनको भिरमा तुलागिरीलाई धकेली मारेको किर्तेले भन्दा गर्नु हुँदैन भनी फाल्छ कि भन्ने डरले भनेको हुँ भन्ने दत्तबहादुर थापाको कागज र तुलागिरी तित्रसेनको भिरबाट लडि मरेको कुरा किर्ते सिंहले भनेकोमा सो कुरा जाहेर गर्न गइसकेका छन् भन्ने थापालाई मैले जाहेर गरिन दुवै व्यक्तिको कर्तव्यबाट तुला गिरीको मृत्यु भएकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको गोर्खबहादुरको बयान ।
९. प्रतितवादी किर्तेकी आमाले मलाई भा.रु. ५००।– दिएकी भन्ने डवल बहादुरको कागज।
१०. मिति २०४९।७।१२ गतेका दिन मोरै आई रक्सी सेवन गरी तोली गएको त्यहाँ पनि रक्सी खाई तिनैजना घटनास्थलसम्म सँगै गएका तुला गिरी त्यहीँ मरेका प्रतिवादीहरु घरमा आई मौन बसी कसैलाई केही नभनेको कारणबाट निजहरुले मृतकसँग भएका पैसा लिन खानका लागि मारी लडेको जस्तो बनाएको हो भन्ने समेत व्यहोराको धनराज गिरी समेतको १३ जनाको सर्जमिन मुचुल्का ।
११. प्रतिवादी किर्ते सि. थापा र गोकुल थापालाई ज्यान सम्बन्धिको १३(३) नं. बमोजिम सर्वश्व सहित जन्मकैद र प्रतिवादी दलबहादुर थापालाई ज्यान सम्बन्धिको २५ नं. बमोजिम हदैसम्मको सजायको मागदावी भएको प्रहरी प्रतिवेदन ।
१२. किर्ते सिं थापाले तुला गिरीलाई तित्रसेनको भिरबाट फाली मार्यौं भनी मलाई भनेको पनि होइन मिति २०४९।७।१२ का दिन मानिसहरु आवतजावत गर्दा थाहा पाएको हुँ किर्तेसँग रिसइवी हुँदा मलाई भनेको भन्ने समेत व्यहोराको दल बहादुर थापाले बाजुरा जिल्ला अदालतमा भएको बयान ।
१३. मिति २०४९।७।११ मा जुवा खेल्न कालापानी गएका र जुवा लेखी मौरेमा आई चिया खाई तोलीमा गई तिनैजनाको रक्सी खायौं । मिति २०४९।७।१२ गतेका दिन घरतिर हिड्यौं बाटामा पिपलको बोट निर मलाई उल्टी भई म पल्टे । किर्ते सिंह र तुला अगालो हाली च्याउ च्याउ खाउली भन्दै हिड्दै थिए पछि किर्ते सिंह बाटाबाट फर्कि म भएको ठाउँमा आई मलाई उठाई तुलागिरी मेरो हातबाट भिरमा लोटी मरी सक्यो भनी भन्न लाग्यो र मालागाडमा आई कहाँ छ हेरु भनी मैले किर्तेसँगभन्दा हामी ३ जनाले रक्सी खाएको थियौं । कहि लोटे भनौंला भनी किर्ते र म मौरेमा आई दोकानमा विडी किनी घरमा आयौं । बाटोमा यो कुरा कसैलाई नभन्नु भनेमा तलाई मारी दिन्छु भनी किर्तेले भनेकाले कसैलाई भनेको होइन घरबाट आउँदा खर्चको लागि रु. ५४०। लिई आएको थिए, जिल्ला प्रशासन कार्यालयमा मेरा आंगखान तलासी गरी सो रुपैयाँ लिएको थियो भन्ने समेत व्यहोराको गोकुल थापाको अदालतमा भएको बयान ।
१४. म र गोकुलसँग तुला गिरीको कालपानीमा भेट भई मन्धीरको घरमा जुवा खेल भई मिति २०४९।७।१२ गते विहान ६ बजे खेल छाडी सेरे थापाको घरमा गयौं र खाना खाएपछि फेरी कालापानी चन्द्रे थापाको घरमा तास खेल्यौं त्यहाँबाट घरमा जाउँ भनी तिनजना आयौं । विर केसेको घरमा ३ जनाले रक्सी खाई सकेपछि घरमा जाउ भन्दा तोलीको डाँडोमा आइसकेपछि गोकुलले यो राडिंका छोरा लाठी खेल्ने भन्ने भीरमा ठासु भनी भन्दा म निजलाई छोडी अगाडी आएर गोकुलले तित्रसेनको भीरबाट हातले धक्याई फालेपछिअब हामीले के गर्ने भनी गोकुलले सोधनी गर्दा हामीसँग थिएन भन्नुपर्छ भने पछि लास भएको ठाउँमा गई हेर्दा मरी सकेको देखि हामी आफ्नो घरमा गयौं । यो घटनाको कुरा दलबहादुर र गोरखबहादुरसँग भन्दा कहिँ नभन्नु भनेकाले चुपलागी बस्यौं । मलाई गोकुलले भा.रु. ५००।– दिएको हो भन्ने समेत व्यहोराको किर्ते सिंह थापाले अदालतमा गरेको बयान ।
१५. किर्ते सिं नराम्रो चाल चलनको मानिस हो, निजले नै तुला गिरीलाई कर्तव्यबाट मारेको लाग्छ गोकुल राम्रो चाल चलनको हुँदा शंका लाग्दैन भन्ने समेतको जयबहादुर, देवराज गिरी, गोविन्द गिरी, मन्धिरे गिरी, गोरख बहादुर, राधिका थापा समेतको एकै मिलानको वकपत्र ।
१६. अभियुक्त किर्ते सिंह थापालाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्व सहित जन्मकैद हुने र गोकुल थापा र दलबहादुर थापाले सफाइ पाउने ठहरेछ भन्ने समेत व्यहोराको बाजुरा जिल्ला अदालतको मिति २०५९।२।८ को फैसला ।
१७. तुला गिरीलाई मारेमा गोकुल थापाको अधिकार प्राप्त अधिकारी समक्ष भएको साविती बयान र सोलाई प्रतिवादी कृते सिंको बयानले समर्थन गर्दा गर्दै सो लाई प्रमाणमा नलिई गोकुल थापा र दलबहादुरलाई सफाई दिने गरी बाजुरा जिल्ला अदालतले गरेको फैसला बदर गरी प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजाय गरी पाउँ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन दिपायलमा परेको पुनरावेदन ।
१८. प्रत्यक्ष एवं ठोस प्रमाणको अधावमा प्रतिवादीको साविती भन्ने हचुवा आधार लिई मलाई सर्वश्व सहित जन्मकैद गर्ने गरेको बाजुरा जिल्ला अदालतको फैसला गैर कानूनी र बदरभागी हुँदा बदर गरी सफाई पाउँ भन्ने समेत व्यहोराको किर्ते सिं थापाको पुनरावेदन अदालत दिपायलमा परेको पुनरावेदन ।
१९. प्रतिवादीहरुले एक अर्कालाई दोषारोपण गरी आफू इन्कार रहेता पनि साक्षी सबुद केहि छैन भनी सबुद दिन नसकेकोले निजहरुको इन्कारी बयान समर्थित हुन आएन । निजहरुकै कर्तव्यबाट मृतक तुलागिरीको मृत्यु भएको हो भन्ने कुराको पुष्टि हुन आएको र यसैको कर्तव्यबाट मृतक तुलागिरीको मृत्यु भएको भन्ने खुल्न सकेन । तसर्थः प्रतिवादी किर्ते सिं थापा गोकुल थापालाई मुलुकी ऐन ज्यान सम्बन्धिका महलको १३(३) नं. बमोजिम जन्म कैद सजाय हुने ठहर्छ । शुरुले प्रतिवादी किर्ते सिं थापालाई सर्वश्व गरेको हदसम्मको र प्रतिवादी गोकुल थापाका हकमा सफाइ दिएको शुरु फैसला नमिलेकोले सो हदसम्म बदर हुने ठहर्छ । अर्का प्रतिवादी दल बहादुर थापाका हकमा निज कसूरमा इन्कार रही बयान गरेको र निजले ज्यान मरेका कुरा चालपाई प्रकाश नगरेको भन्ने समर्थित हुन नआएकोद्ये निजलाई आरोपित कसूरबाट सफाइ दिएको मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत दिपायल डोटीको २०५१।३।२१।१ को फैसला ।
२०. किर्ते सिं आफू अपराधि भएको कारणबाट मलाई समेत अपराधको जालमा फसाउन आफ्ना बनावटी एवं मनगढन्ते कुरा गरी हामी दुवैले मृतकको खल्तीबाट लिएको र भा.रु. र सुन समेत बाडेका हौं यही पैसा र सुन वाडन हामी दुवैको सल्लाहले तुला गिरीलाई तित्रसेन भीरबाट खसाली तल पानीमा लछार्दै घोप्टो पारी आफैं खसे जस्तो बनाएर गएका हौं भन्ने बयान कागज तथा अन्य मिसिल अध्ययनबाट को दोषी अपराधी रहेछ भन्ने कुरा अवगत हुने नै छ । यस्तो अपराधीको बयानबाट मात्रै मलाई अपराधि घोषित गरी पुनरावेदन अदालत दिपायल डोटीबाट भएको फैसला त्रुटीपूर्ण हुँदा बदर गरी बाजुरा जिल्ला अदालतको फैसला नै सदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी गोकुल थापाको यस अदालतमा परेको पुनरावेदन ।
२१. तुला गिरीलाई तित्रसेनको भीरबाट खसाली पानीमा घिसार्दै घोप्टो पारी राखेको होइन । घिसारिएको लक्षण र लास प्रकृति मुचुल्कामा घिसारिएको भन्ने लासमा घर्षणका चिन्हहरु देखिएको छैनन् । प्रहरी समक्षको बयान मेरो इच्छा विपरितको विपक्षीको आफ्नो अनुकूलको हो, कर्तव्य गरेको वा कर्तव्य गर्दा देख्ने कुनै पनि प्रत्यक्ष प्रमाण छैन सर्जमिनका धन गिरी लगायत सबै प्रत्यक्षदर्शी हुन, तिनीहरुको भनाई व्यक्तिगत विचारमा निहित हुँदा प्रमाणयोग्य छैन । मिति २०५१।३।१२ को पुनरावेदन अदालतको फैसला न्यायसंगत नभएकोले सो फैसला बदर गरी सफाई दिलाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी किर्ते सिं थापाको यस अदालतमा परेको पुनरावेदन ।
२२. यसमा मृतक तुला गिरी र प्रतिवादीहरु किर्ते सिं थापा, गोकुल थापाको बीच मार्नुपर्ने सम्मको रिसइवी झै झगडा रहे भएको मिसिलबाट नदेखिएको, मृतकको लाससँग साथमा नगदी र सुनको गहना समेत यथावत रहेकोले सो लिन खान हत्या गर्नुपर्ने कारण अथवा मार्नु पर्ने र अन्य कुनै कारण परिबन्द समेत मिसिलबाट देखिन आउँदैन । दावीको वारदातको अघिल्लो दिनसम्म मृतक र प्रतिवादीहरु भाई हेलमेलमा रहेका र भोलिपल्ट विहान समेत २ बोतल रक्सी खाई भीरको बाटो आउँदा घटना घटेको भन्ने देखिन आउँछ । प्रतिवादीहरुले मार्नु पर्ने सम्मको कुनै कारण घटना अघि वा घटनाको अवस्थामा नदेखिनु र परस्परमा राम्रो सम्बन्ध नै देखिएको तथ्यको परिप्रेक्ष्यमा निजहरुले खाएको रक्सीको परिणामलाई विचार गर्दा प्रतिवादीहरुले घचेडी लडाएको हो भनी शंका रहित तवरले भन्न सक्ने स्थिति नभै भवितव्य समेत हुन सक्ने देखिँदा ज्यान सम्बन्धीको १३(३) को कसूर ठहर्याएको गरेको पुनरावेदन अदालतको फैसला उपरोक्त सन्दर्भमा विचारणीय हुँदा अ.वं. २०२ नं. बमोजिम विपक्षी श्री ५ को सरकारलाई झिकाई नियमानुसार पेश गर्नु भन्ने मिति २०५४।३।१६।२ को यस अदालत संयुक्त इजलासको आदेश ।
२३. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक गोकुल थापाको तर्फबाट बहसको लागि उपस्थित विद्बान अधिवक्ता श्री नरप्रसाद थापाले मेरो पक्ष घटनास्थलमा आई पुग्दा बान्ता गरेको छ । मेरो पक्षले मृतक तुला गिरीलाई निजको साथमा भएको नगदी, जिन्सी लिने खाने उद्देश्यले मारेको भए नगदी रुपैयाँ र सुनको ढंग्री मृतकको साथमा हुने कुरा हुँदैनथ्यो । प्रतिवादी गोकुल थापाका साक्षीले पनि गोकुल थापा निर्दोष छन् भनी वकपत्र गरेको पाइएको। जाहेरवाला देवराज गिरीले अदालतमा गरेको वकपत्रमा तुला गिरीलाई गोकुल थापाले मारेको नभनी किर्ते सिंह थापाको नाममात्र उल्लेख गरेका छन् र मेरो पक्ष गोकुल थापालाई शंकासम्म पनि गरेका छैनन्। मृतककी आमा जलु गिरीले अदालतमा आई गरेको वकपत्रमा पनि गोकुल थापा राम्रो चाल चलनको मानिस भएकाले मृतकलाई मारेको होइन भनी वकपत्र गरेबाट मेरो पक्षले आरोपित कसूर नगरेको हुँदा सफाइ पाउनु पर्दछ भनी र त्यस्तै पुनरावेदक गोकुल थापाकै तर्फबाट उपस्थित विद्बान अधिवक्ता श्री हर्क भट्टराईले मेरो पक्ष गोकुल थापा उपर किटानी जाहेरी पनि छैन, मार्नुपर्ने कारण तथा रिसईवी पनि देखिँदैन । प्रहरी समक्ष मेरो पक्षले गरेको बयान स्वेच्छा विरुद्धको हो । मृतककी आमा जलु गिरीले पनि गोकुल थापाले आरोपित कसूर गरेको होइन भनी भनेको छ । त्यसैले पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी मेरो पक्षले सफाई पाउनु पर्दछ भनी र प्रतिवादी किर्ते सिं थापाको तर्फबाट उपस्थित विद्बान वैतनिक अधिवक्ता श्री उत्तमसिंह थाम्देङले मेरो पक्षलाई पोलिएको भरमा र वस्तु निष्ठ प्रमाणको अभावमा शुरुले सर्वश्व सहित जन्मकैद हुने ठहर गरी गरेको फैसलालाई पुनरावेदन अदालतले सदर गरेको छ । न्यायकै रोहमा हेर्ने हो भने पनि मृतक तुला गिरी प्रतिवादी गोकुल थापा र यी किर्ते सिंह थापा तीनै जनाले रक्सी सेवन गरेका छन् र जुवा पनि तीनै जनाले खेलेका छन् शायद मृतकको मृत्यु पनि बढी रक्सी सेवनको कारणबाट पी भएको हो की त्यसैले प्रस्तुत मुद्दामा मेरो पक्षलाई ज्यान सम्बन्धी महलका अन्य व्यवस्थालाई पनि हेरिनु पर्दछ भनी र वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्बान सरकारी अधिवक्ता श्रीकुमार चुडालले प्रतिवादी गोकुल थापाले किर्ते सिंह थापालाई इशारा गरेपछि किर्ते सिंह थापाले मृतक तुला गिरीलाई धकेले पछि दुवै प्रतिवादी (गोकुल थापा र किर्ते सिंह थापा) ले तुला गिरीलाई तानी कुलोमा फालेका छन । प्रतिवादी गोकुल थापाले वारदातको समयमा आफू अन्यत्र छ भन्ने प्रमाणको सृजना गर्न खोजेको कुराको मौकैमा पोल खुल्न आएको छ । प्रतिवादीहरुले अदालतमा गरेको बयानमा एक अर्कोलाई दोषारोपण गरेको पाइन्छ । गोकुल थापाको बयानबाट पनि मृतकलाई दुवैजनाले मारेको भन्ने कुरा पुष्टि भएको छ । घटनास्थल स्थितिले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानलाई समर्थन गरेको छ । प्रस्तुत मुद्दामा चश्मदित साक्षी छैनन् । चश्मदित साक्षीको भर लिनुपर्ने स्थिति पनि देखिँदैन । मृतकको साथमा नगद र सुनको ढुंग्री रहे भएकोले यी प्रतिवादीले मारेका होइनन् की भन्नलाई पनि प्रतिवादीले मृतकलाई मारिसकेपछि आफूले गरेको अपराधबाट बच्ने उद्देश्यले हतार गर्दा मृतकको साथमा भएको रकम मध्ये भेट्टाए जति लिएर गएका हुन् । मृतकले मर्नु भन्दा पहिले जुवा खेल्दा जितेको भएता पनि के कति नगद जिन्सी जितेको भनी सबै कुरा यी प्रतिवादीलाई थाहा हुने कुरा हुँदैन । त्यसैले यी प्रतिवादीलाई आरोपित कसुर गरेको ठहर गरी पुनरावेदन अदालतले गरेको फैसला सदर हुनु पर्दछ भनी गर्नु भएको बहस जिकिर समेत सुनी पुनरावेदन अदालत डोटीबाट मिति २०५१।३।१२।१ मा भएको फैसला मिले नमिलेको के रहेछ ? सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।
२४. यसमा प्रतिवादी गोकुल थापा र कर्ते सिंह थापा समेत उपर मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. को कसुरमा ऐ. १३(३) नं. को सजायको माग दावी लिई र प्रतिवादी दलबहादुर थापा उपर ऐ. को २५ नं. अनुसारको सजायको माग गरी अभियोग दर्ता भएको देखिन्छ । शुरु जिल्ला अदालत बाजुराले मिति २०५०।२।८।६ मा फैसला गर्दा प्रतिवादी किर्ते सिंह थापालाई मागदावी बमोजिम सजाय हुने ठहर गरी र अन्य प्रतिवादीहरुलाई सफाई दिई गरेको उक्त फैसला उपर वादी श्री ५ को सरकार र प्रतिवादी किर्ते सिंह थापाको पुनरावेदन अदालत डोटीमा पुनरावेदन परेकोमा मिति २०५१।३।१२।१ मा पुनरावेदन अदालत डोटीबाट फैसला हुँदा किर्ते सिंह थापाको हकमा र प्रतिवादी दलबहादुर थापाको हकमा शुरुको फैसला सदर गरी र प्रतिवादी गोकुल थापाको हकमा शुरुले सफाई दिने ठहर गरेको फैसला उल्टी गरी अभियोग माग दावी बमोजिम सजाय हुने ठहर गरी फैसला भएको पाइन्छ । सो फैसला उपर प्रतिवादी गोकुल थापा र प्रतिवादी किर्ते सिंह थापाको यस अदालतमा पुनरावेदन परेको र साधकको रोहमा समेत यस अदालतको फौ.सा.नं. १३९ को लगतमा समेत दायर भै पेश हुन आएको प्रस्तुत मुद्दामा सर्वप्रथम साधक जाहेर भएको मुद्दामा पुनरावेदन परेमा पुनरावेदन रोहबाट हेर्नुपर्ने न्याय प्रशासन ऐन २०४८ को दफा १०(३) र मुलुकी ऐन अदालती बन्दोबस्तको २१५ नं. मा कानूनी व्यवस्था हुँदा यस अदालतमा कायम रहेको फै.सा.नं. १३९ को लगत कट्टा गरी दिने ठहर्छ । अब प्रतिवादीहरुबाट यस अदालतमा पर्न आएको पुनरावेदन सहितका मिसिल अध्ययन गरी निर्णय तर्फ विचार गर्दा प्रस्तुत मुद्दाको वारदात भएको स्थलसम्म मृतक तुला गिरी र प्रतिवादी किर्ते सिंह थापा र प्रतिवादी गोकुल थापा एकैसाथ रहे भएको देखिएको । घटनास्थलको विवरण प्रतिवादी किर्ते सिंह थापा र गोकुल थापाले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानसँग मिल्न आएको । आफूसँग गएका मृतक तुला गिरीको मृत्युको सम्बन्धमा प्रतिवादी किर्ते सिंह थापा र गोकुल थापाले कहि कतै जाहेरी गरेको पनि नपाइएको प्रतिवादी किर्ते सिंह थापा र गोकुल थापाले अधिकार प्राप्त अधिकारी समक्ष सावित भै व्यक्त गरेको कुराहरु मौकामा भएको मृतकको लासजाँच मुचुल्का र पोष्टमार्टम रिपोर्ट समेत समर्थित भएको छ । मृतक लासको छाती खोसिएको घाउ पनि देखिन्छ । अतएव उपरोक्त उल्लेखित आधार प्रमाणहरुबाट पुनरावेदन अदालत दिपायलले प्रतिवादीहरुलाई आरोपित कसूर गरेको ठहर गर्दै मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिमको सजाय हुने ठहर गरेको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक किर्ते सिंह थापा र गोकुल थापाको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाईदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरि प्रसाद शर्मा
इति सम्वत २०५४ साल मार्ग २४ गते रोज २ शुभम्................................................ ।