निर्णय नं. ६५५४ - कर्तव्य ज्यान

नि.नं. ६५५४ ने.का.प. २०५५ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
सम्वत २०५३ सालको फौ.पु.नं....... १५६०
फैसला मिति २०५५।३।९।३
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक/वादीः- प्र.ह. कमलबहादुर पौडेलको प्रतिवेदनले श्री ५ को सरकार ।
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः- गोरखा जिल्ला छेकम्पार गा.वि.स. वडा नं. ४ बस्ने डवाङ ठिले लामा ।
§ प्रतिवादीले मृतक पक्षका अन्य मानिसहरुले आफु उपर आई लागेको अवस्था निजहरुलाई तर्साउने उद्देश्यले घटनास्थलमा रहेको ढुंगा उठाई हान्दा मृतकको सन्निमा लाग्न गै मृत्यु भएको देखिन आएकोले निज प्रतिवादीले मृतकलाई नै मार्ने उद्देश्ले ताकी हानेको नदेखिएको स्थितिमा निजलाई वादि दावी बमोजिम ज्यान सम्बन्धी महलको १४ नं. अनुसारको कसूर सजाय ठहर गर्न मिल्ने देखिन आएन । त्यसैले निज प्रतिवादी डवाङ ठिले लामालाई पुनरावेदन अदालत पोखराको मुलुकी ऐन ज्यान सम्बन्धी महलको ६(४) अनुसारको कसूर र सजाय ठहर गरी गरेको मिति २०५१।१२।२७।२ को फैसला मिलेकै देखिँदा सदर हुने ।
(प्र.नं. १७)
पुनरावेदक वादी तर्फबाटः विद्बान उप सरकार अधिवक्ता श्री शरदकुमार खड्का ।
प्रत्यर्थी प्रतिवादी तर्फबाटः X
अवलम्वित नजीरः X
फैसला
न्या. केशवप्रसाद उपाध्यायः- पुनरावेदन अदालत पोखराको फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई पाउँ भनी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा निवेदन परी यस अदालत संयुक्त इजलासको मिति २०५३।२।४।६ को आदेशानुसार मुद्दा दोहोर्याउने निस्सा प्रदान भई यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः-
२. गोरखा जिल्ला छेकम्पार गा.वि.स. वडा नं. ४ बस्ने डवाड ठिले भन्ने समेतका व्यक्तिले रक्सी खाई ख्लाय ठट्टा गरी जिस्किदै रहेको अवस्थामा ङवाङ ठिलेले ढुंगा टिपेर हान्दा सन्नीमा लागी दावी छिरिङ ढल्न गएछन र मिति २०४९।७।३ गते सिद्धिवास चौकीतिर लाँदालादै बाटामा मृत्यु भई चौकीमा खबर प्राप्त हुन आएकोले जाहेर गर्न आएको छु भन्ने समेत व्यहोराको प्र.ह. कमलबहादुर पौडेलको प्रतिवेदन ।
३. लासको गुदद्बारबाट केही दिसा निस्किएको लिंगबाट विर्य निस्किएको अण्डकोष सुनिएको सन्नीमा निलो डाम देखिएको भन्ने समेत व्यहोराको लास प्रकृति मुचुल्का ।
४. गोरखा करौजा गा.वि.स. वडा नं. ९ दोभान भन्ने ठाउँमा ङवाङ ठिले रक्सी खाएर मातिएको रहेछ हामीसँगै आएको दावा छिरीङलाई निजले जिस्काएको थियो । ङवाङ ठिले लामाले एकचोटी ढुंगा उठाई सन्निमा हिर्कायो । सोही चोटबाट दावा छिरीङको मृत्यु भएको हो भन्ने समेत व्यहोराको मौकामा बुझिएका भिङज्यूडोल्मा लामा तथा धनमाया गुरुङ्गले छुट्टाछुट्टै गरेको बयान ।
५. मृतक दावी छिरीङ मसँग जिस्किदै ठट्टा गर्दै थिए । त्यस्तैमा लाटो भन्ने साथी रिसाइ मलाई झम्टिन आयो र त्यहाँ भएका अन्य मानिसले समेत झम्टिन कुट्न थाले त्यस्तैमा मलाई रिस उठी सोही ठाउँमा ढुंगा उठाई हान्दा मैले हानेको ढुंगाले मृतक धावा छिरीङ मुर्छा भई भुईमा लडे, मैले हानेको ढुंगाको बेदनाबाट निजको मृत्यु भएको हो भन्ने समेत व्यहोराको ङवाङ ठिले लामाले प्रहरीमा गरेको बयान ।
६. ङवाङ ठिले लामाले नै हानेको ढुंगाको चोटबाट नै धावा छिरीङको मृत्यु भएको हो भन्ने समेत व्यहोराको सर्जमिनका व्यक्ति पासाङ दोर्जे लामा सहितका व्यक्तिहरुले लेखाई दिएको एकै मिलानको सर्जमिन मुचुल्का ।
७. प्रतिवादी ङवाङ ठिलेले धावा छिरीङ समेतका व्यक्तिलाई रक्सी खाई आफुले पनि खाई धावा छिरीङसँग ठट्टा गर्दै रहेको अवस्थामा लाटा लामाले किन मेरो साथीसँग ठट्टा गरेको भनी ङवाङ ठिलेले तत्कालै उठेको रिसले ढुंगा उठाई हान्दा सोही बेदनाबाट धावा छिरीङको मृत्यु हुन गएकोले निजलाई ज्यान सम्बन्धी महलको १४ नं. अनुसार सजाय हुन माग दावी लिइएको छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
८. मिति २०४९।७।२ गते म समेतका मानिसहरु भै करौजा गा.वि.स. अन्तर्गत दोभान भन्ने ठाउँमा रक्सी खाई रहेका थियौं नाउँ नजानेको लाटा मानिसको सवाललाई लिएर हामी बीच भनाभन र हात हालाहाल समेत भएको हो । यस्तैमा दावा छिरीङलाई कसले हान्यो सो थाहा भएन मैले मृतक दावा छिरीङलाई हानेको पनि होइन, प्रहरीमा भएको बयान कागज मेरो मन्जुरी वेगर गरिएको हो। अतः प्रहरी प्रतिवेदन माग दावी बमोजिम मलाई सजाय हुनु पर्ने होइन भन्ने समेत व्यहोराको ङवाङ ठिले लामाले अदालतमा गरेको बयान ।
९. आदेशानुसार बुझिएका जाहेरवाला कमलबहादुर पौडेल, सर्जमिन मुचुल्का तथा घटनास्थल प्रकृति मुचुल्काका व्यक्ति र प्रतिवादीका साक्षी तथा मौकामा कागज गर्ने धनमाया गुरुङ्ग समेतले गरेको वकपत्र मिसिल सामेल रहेको ।
१०. प्रतिवादीले मृतकलाई मार्नुपर्ने कुनै कारण नभएको र जिस्किदा संयोगले सन्निमा लागी मरेको भन्ने देखिँदा समेत वादी दावी अनुसार ज्यान सम्बन्धीको १४ नं. को अपराध गरेको भन्न नमिली ज्यान सम्बन्धीको नं. ६(४) को अपराध गरेको देखिँदा प्रतिवादी ङवाङ ठिलेलाई चार महिना कैद र रु. ४००।– जरिवाना हुन्छ । वादीको १४ नं. को दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको गोरखा जिल्ला अदालतको मिति २०४९।१२।१० को फैसला ।
११. उक्त फैसलामा चित्त बुझेन अभियोग पत्र माग दावी बमोजिम हदैसम्मको सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट पुनरावेदन अदालत पोखरामा परेको पुनरावेदन ।
१२. प्रतिवादीले हानेको ढुंगा शरिरको अन्य संवेदनशील भागमा नलागी सन्नीमा लाग्न पुगेको देखिन्छ । तत्कालै उठेको रिसले मृतकको टाउको आदि भागमा लागि मरेको अवस्था नभई सन्नि जस्तो ठाउँमा लाग्न पुगेको स्थिति देखिँदा ज्यान सम्बन्धीको १४ नं. बमोजिम सजाय गरी पाउँ भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । ज्यान सम्बन्धीको नं. ६(४) को अपराध गरेको ठहर गरी प्रतिवादीलाई चार महिना कैद रु. ४००।– जरिवाना हुने ठहर्याएको गोरखा जिल्ला अदालतको फैसला मनासिव ठहर्छ भन्ने समेत मिति २०५१।१२।२७।२ को पुनरावेदन अदालत पोखराको फैसला ।
१३. पुनरावेदन अदालत पोखराको फैसलामा ज्यान सम्बन्धी महलको १४ नं. को व्याख्या सम्बन्धी गम्भीर त्रुटि विद्यमान रहे भएको स्पष्ट छ । १ किलो वजनको ढुंगा प्रहार गरिएको होइन भन्ने प्रतिवादीको जिकिर छैन । वजनको हिसाबले प्रहार गरिएको ढुंगाको चोटले मानिस मर्नु स्वभाविकै छ । पुनरावेदन अदालत पोखराको फैसलामा ज्यान सम्बन्धी महलको ६ नं. को व्याख्या सम्बन्धी त्रुटि समेत विद्यमान रहे भएकोले शुरु जिल्ला अदालतको फैसला मनासिव ठहराई भएको फैसलामा न्याय प्रशासन ऐन २०४८ को दफा १२(१)(क) मा उल्लेखित कानूनी त्रुटी भएकोले बदर गरी शुरु माग दावी बमोजिम सजाय गरी पाउन मुद्दा दोहोर्याई पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको निवेदन ।
१४. यसमा १ किलो बजनको ढुंगाले हानेको भन्ने देखिन आएको र ज्यान सम्बन्धीको १४ नं. मा जोखिमी हतियार बाहेकका लाठा ढुंगा आदि साधारण वस्तुले हान्दा मर्न गएमा सो नं. लागु हुने व्यवस्था भएकोमा उक्त ढुगाले हान्दा कहाँ कुन ठाउँमा लाग्न गएको भन्ने कुरा कुनै महत्वको नभएको र रिसको झोंकमा हानेको भन्ने देखिँदा उक्त १४ नं. को तत्व विद्यमान भएको तथा भवितव्यमा रिस उठेको तत्व अनिवार्य नभएको अवस्थामा १४ नं. को अपराधका लागि निर्णायक तत्व विद्यमान भएकोमा ज्यान सम्बन्धि महलको ५ नं. ले परिभाषित गरे अनुसारको कसूर नभएकोले दफा ६ को देहाय ४ लगाएको ने.का.प. २०४७ पृ. ३१८ मा प्रतिपादित सिद्धान्त विपरित गरी न्याय प्रशासन सुधार ऐन २०४८ को दफा १२(१) को खण्ड (क) को अवस्था विद्यमान देखिँदा दोहोर्याउने निस्सा प्रदान गरिएको छ । विपक्षी झिकाई नियमानुसार गर्नु भन्ने मिति २०५३।२।४।६ को यस अदालत संयुक्त इजलासको आदेश ।
१५. यसमा प्रतिवादीको तर्फबाट बहस गर्न वैतनिक वकिललाई सूचना दिई नियमानुसार पेश गर्नु भन्ने मिति २०५४।४।२१।३ को यस अदालत संयुक्त इजलासको आदेश ।
१६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएका प्रस्तुत मुद्दामा पुनरावेदकको तर्फबाट बहसको लागि उपस्थित विद्बान उपसरकारी अधिवक्ता श्री शरद कुमार खड्काले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १४ नं. मा उसै मौकामा उठेको कुनै रिस थाम्न नसकी साधारण लाठा, ढुंगा लात, मुक्का इत्यादी हान्दा सोही चोट पीरले मानिस मरेकोमा सो १४ नं. आकर्षित हुने हुँदा र मु. ऐन ज्यान सम्बन्धी महलको ५ नं. ले परिभाषा गरे अनुरुप प्रस्तुत मुद्दा नभएकाले पुनरावेदन अदालतले गरेको फैसला उल्टी गरी शुरु वादी दावी अनुसार हदैसम्म सजाय हुनुपर्दछ भनी गर्नु भएको बहस जिकिर समेत सुनी पुनरावेदन अदालत पोखराबाट मिति २०५१।१२।२७ मा भएको फैसला मिले नमिलेको के रहेछ ? सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।
१७. यसमा प्रतिवादी ङवाङ ठिले लामा उपर मुलुकी ऐन ज्यान सम्बन्धी महलको १४ नं. अनुसारको कसूर अपराध गरेकाले सोहि नं. मा उल्लेखित सजाय गरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन प्रस्तुत भएका पाइन्छ । शुरु जिल्ला अदालतबाट फैसला गर्दा प्रतिवादी ङवाङ ठिले लामाले मुलुकी ऐन ज्यान सम्बन्धी महलको ६(४) अनुसारको कसूर अपराध गरेको ठहर गरी कैद महिना ४ र रु ४००।– जरिवाना गरेको पाइन्छ । उक्त फैसला उपर वादी श्री ५ को सरकारको पुनरावेदन अदालत पोखरामा पुनरावेदन परेकोमा पुनरावेदन अदालत पोखराबाट मिति २०५१।१२।२७।२ मा फैसला हुँदा पनि शुरु इन्साफ मुनासिव ठहर गरी फैसला भएको पाइन्छ । सो फैसला उपर वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनको सम्बन्धमा अध्ययन गरी निर्णय तर्फ विचार गर्दा प्रस्तुत मुद्दामा मृतक धावा छिरीङको मृत्यु प्रतिवादी ङवाङ ठिले लामाको चोट प्रहारको कारणबाट भएको भन्ने कुरामा कुनै विवाद देखिँदैन । जहाँसम्म प्रतिवीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १४ नं. अनुसार सजाय हुनु पर्दछ भन्ने वादीको जिकिर छ । सोतर्फ हेर्दा घटनास्थलमा मृतक पक्षले प्रतिवादीलाई जिस्काउँदा जिल्ला गोरखा छेकम्पार गा.वि.स. वडा नं. ७ बस्ने लाटो भन्ने व्यक्तिले प्रतिवादीलाई झम्टिएपछि र त्यहाँ रहेका मृतक पक्षका अरु मानिसहरु समेतले प्रतिवादीलाई आइलागेको भन्ने कुरा समेत देखिन आउँछ । प्रतिवादीले मृतक पक्षका अन्य मानिसहरुले आफू उपर आई लागेको अवस्था निजहरुलाई तर्साउने उद्देश्यले घटनास्थलमा रहेको ढुंगा उठाई हान्दा मृतकको सन्निमा लाग्न गै मृत्यु भएको देखिन आएकोले निज प्रतिवादीले मृतकलाई नै मार्ने उद्देश्यले ताकी हानेको नदेखिएको स्थितिमा निजलाई वादी दावी बमोजिम ज्यान सम्बन्धी महलको १४ नं. अनुसारको कसूर सजाय ठहर गर्न मिल्ने देखिन आएन । त्यसैले निज प्रतिवादी ङवाङ ठिले लामालाई पुनरावेदन अदालत पोखराले मुलुकी ऐन ज्यान सम्बन्धी महलको ६(४) अनुसारको कसूर र सजाय ठहर गरी गरेको मिति २०५१।१२।२७।२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदन वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. कृष्णकुमार वर्मा
इति सम्वत २०५५ साल आषाढ ९ गते रोज ३ शुभम्............................................... ।