निर्णय नं. ९२७९ - अंश चलन

सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल
माननीय न्यायाधीश श्री सुशीला कार्की
फैसला मिति : २०७१।७।२०।५
०६७-DF-००११
मुद्दा : अंश चलन ।
पुनरावेदक/वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २२ पाको न्युरोड ब्लक नं. ख १-५२० घर भई हाल ऐ.ऐ. वडा नं. ४ चण्डोल डेरा गरी बस्ने विक्कीरत्न शाक्यसमेत
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २२ पाको न्युरोड ब्लक नं. ख १-५२० मा बस्ने कुलरत्न शाक्यसमेत
§ सगोलको अमुक सम्पत्ति अविभाजित रहँदासम्म सगोलका सबै अंशियारहरू र अंशियारका सम्पत्तिमा हक लाग्ने तिनका सन्तानहरूको समेत हक र हित रहने हुनाले अविभाजित सगोलको सम्पत्तिमाथि प्रथम पुस्ताका अंशियारहरूको मात्रै आफूखुसी गर्न पाउने सम्पत्तिको रूपमा लिन नमिल्ने ।
(प्रकरण नं. १०)
§ प्रथम वा अघिल्ला पुस्ताका अंशियारले आफ्नो अंश हक छुट्ट्याउने नाममा अंश नलिने गरी वा पाउने हिसाब शान्ति नलिई वा अति कम लिई निजको सम्पत्तिमा हक लाग्ने सन्तानहरूको हक मेटिने परिणाम सिर्जना गर्दछ र त्यसमा निजहरूको मञ्जुरी लिइएको छैन भने त्यसको भिन्न कानूनी परिणाम रहने ।
(प्रकरण नं. ११)
§ सगोलको सम्पत्तिमा प्रत्यक्ष वा परोक्षरूपमा कानूनी हक वा हित भएका सन्तानहरूको अंश अपुतालीको हकमा अघिल्लो पुस्ताको अंशियार भएको नाताले जसरी पनि प्रभाव पार्न पाइन्छ भन्ने कुरा कानून, न्याय र विवेकसङ्गत हुँदैन । त्यसैले अंशियारहरूबीच अंश लिनुदिनु गर्दा अंशियारले कानूनबमोजिम भागशान्ति लिए पाएको छ वा छैन र त्यसबाट तिनका आआफ्नो सन्तानमा असर पर्न गएको छ वा छैन भन्ने कुरा हेर्न जरूरी हुने ।
(प्रकरण नं. १२)
§ वादीका पति पिताले आफ्नो हकमा जे गर्न सके पनि निजको अंश भागमा सरोकार रहने र कानूनबमोजिम अंश प्राप्त गर्न सक्ने पत्नी वा सन्तानको हकमा अंश भागै कटौती हुने गरी अत्यन्तै न्यून भाग अंश लिए पनि पति पिताको सो कार्यले वादीहरूको हकमा बन्धनकारी परिणाम निकाल्न नसक्ने हुँदा बन्डापत्रमा वादीहरूको मञ्जुरी वा सहमतिमा भएको भन्ने नदेखिएको अवस्थामा आफूभन्दा तल्लो पुस्ताको अंश हकमा असर पार्ने उदेश्यले तयार पारिएको उक्त बन्डापत्रले अंशबन्डाको महलको १ र २ नं. बमोजिमको हैसियत प्राप्त गर्न सक्ने अवस्था नदेखिने ।
(प्रकरण नं. १४)
पुनरावेदक/वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा र विद्वान् अधिवक्ता सुषमा गौतम
प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू विश्वकान्त मैनाली र बाबुराम कुँवर, विद्वान् अधिवक्ताहरू श्यामप्रसाद पाण्डे र प्रमोदकुमार आचार्य
अवलम्बित नजिर :
§ नेकाप २०२७, निर्णय नं. ४३८, पृ. ८४
सम्बद्ध कानून :
§ मुलुकी ऐन, अंशबन्डाको महलको १ र २ नं.
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या. श्री प्रभा बस्नेत
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या. श्री कृष्णप्रसाद बस्याल
मा.न्या. श्री बुद्धिप्रसाद रेग्मी
सर्वोच्च अदालतको संयुक्त इजलासमा फैसला गर्ने :
मा.न्या. श्री ताहिर अली अन्सारी
मा.न्या.श्री प्रकाश वस्ती
फैसला
न्या.कल्याण श्रेष्ठ : यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीशज्यूहरूबीच मिति २०६७।१०।५ मा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासको दायरीमा दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यस प्रकार छ :
विपक्षी कुलरत्न शाक्य र लक्ष्मी शाक्य हामी फिरादीहरूका ससुरा-सासू तथा बाजेबज्यै हुनुहुन्छ भने शुभरत्न शाक्य जेठाजु तथा ठूलोबुवा र पुष्परत्न शाक्य पति तथा बुवा नाताको हुनुहुन्छ । अन्य प्रतिवादीहरूमा दिलरत्न शाक्य देवर तथा काका, सुशीला शाक्य आमाजु तथा फुपू र सुमित्रा शाक्य नन्द तथा फुपू नाताका व्यक्ति हुनुहुन्छ ।
म फिरादी कुमारी उर्मिला शाक्य र प्रतिवादीमध्येका पुष्परत्न शाक्यबीच २०४० सालमा प्रेम विवाह भई हामीहरूका तीन छोरी र एक छोराको जायजन्म भएको छ । कुलरत्न शाक्य र लक्ष्मी शाक्यका तीन जना छोराहरूमा जेठा शुभरत्न शाक्यको समेत विवाह भइसकेको छ । कान्छा छोरा दिलरत्न शाक्यको विवाह हुन बाँकी रहेको तथा आमाजु र नन्दसमेतको विवाह भएको छैन । २०५७ साल माघ महिनाभन्दा अगाडि हामी एकासगोलमा नै बसी आएकोमा सासू ससुरासमेतले तथानाम गालीगलोज गर्ने र पति तथा पितासमेतले मादक पदार्थ सेवन गरी कुटपीट गर्ने गर्नुभएकाले पटकपटक मारवाडी सेवा समितिमा गई उपचारसमेत गराउनु परेकाले २०५७ साल फागुन १७ गतेदेखि माइती तथा मावलीको शरणमा गई नजिकमा एक कोठा लिई बसोवास गरी आएका र पटकपटक सासू-ससुरा, जेठाजु, देवर र पतिसमेतलाई कि सगोलमा राख्नुहोस् कि अंश दिनुहोस् भन्दा हामीहरू केही पनि दिदैनौं, जहाँ जाने जा भनी जवाफ दिएकाले बाध्य भई अदालतको शरणमा आएका छौं । अतः विपक्षीहरूसँग भएको सम्पूर्ण चल अचल सम्पत्तिको तायदाती फाँटवारी माग गरी ७ भाग लगाई ७ भागको १ भाग हाम्रा पति तथा पिता पुष्परत्न शाक्यको अंश भागलाई पुनः ६ भाग लगाई ६ भागको ५ भाग अंश अदालतबाटै छुट्ट्याई चलनसमेत चलाइपाउँ भन्नेसमेतको फिरादपत्र ।
वादीमध्येकी कुमारी उर्मीला शाक्य बैंङ्कको कर्मचारी भएको र परिवारको अरू सदस्यहरूलाई राम्रो व्यवहारसमेत गर्ने नगरेको, आफ्ना पति पुष्परत्न शाक्यलाई सगोलबाट अलग हुन सधैं उक्साउने गरेकाले निज
वादीहरूका पति तथा पिता र हामी प्रतिवादीहरूबीच सल्लाह भई मिति २०५५।१।४ गते मालपोत कार्यालय डिल्लीबजारबाट र.नं. ६४२३ को बन्डापत्र लिखत पारित गरी आफ्नो भागको अंश बुझी सोही मितिदेखि अन्यत्र गई बसोवास गरिआएका छन् । हामीहरूबाट निजलाई अमानवीय व्यवहार गर्ने, गालीगलोज गर्ने, कुटपीट गर्ने र घरबाट निकाला गर्ने जस्ता कुनै पनि कार्य नगरेको हुँदा विपक्षीहरूले लगाएका आरोप झुट्ठा हुन् । विपक्षीहरूका पति तथा पिता पुष्परत्नले आफ्नो अंश बुझी भिन्न भइसकेको अवस्थामा हामीहरूसँग अंश माग गर्नु गैरकानूनी हो भन्नेसमेत व्यहोराको पुष्परत्न शाक्य बाहेकका अन्य प्रतिवादीहरूको संयुक्त प्रतिउत्तरपत्र ।
विपक्षीहरूले अंश पाउने भनेको म पतिपिताबाट हो । मैले मिति २०५५।१।४ को बन्डापत्रबमोजिम प्राप्त गरेको रकमसमेत विपक्षी कुमारी उर्मिला शाक्यले नै बुझी लगेकी र हाल मसँग कुनै पनि सम्पत्ति छैन । नोकरीविहीन र कुनै पनि कामकाज नभएकाले एक्लो जीवन बिताइरहेको छु । मेरो अंशबापतको रकमसमेत लिएर पुनः अंश पाउँ भनी फिराद दायर गर्न कानूनतः नमिल्ने हुँदा फिराद खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी पुष्परत्न शाक्यको प्रतिउत्तरपत्र ।
वादीहरूका साक्षी मञ्जु घिमिरे, हरिनारायण चित्रकार र प्रतिवादीतर्फका साक्षी संघरत्न शाक्यले गरेको बकपत्र मिसिल सामेल रहेको ।
मालपोत कार्यालय, डिल्लीबजारबाट प्राप्त भएको मिति २०५५।१।४ मा पारित र.नं. ६४२३ को बन्डापत्र लिखतको प्रमाणित प्रतिलिपि मिसिल सामेल रहेको ।
वादीहरूको पतिपिताले प्रस्तुत मुद्दा दायर हुनुभन्दा अगावै अंशबापत नगदै बुझी लिएको देखिएकाले निज प्रतिवादी यी वादीको सासू, ससुरा, जेठाजु, देवर, नन्दसँग अंश बुझी सकेको देखिन आयो । तसर्थ वादीहरूले सासू, ससुरासमेतलाई प्रतिवादी बनाई प्रस्तुत मुद्दा दायर गरेकोमा निजहरूबाट अंश दिलाई दिइरहनपर्ने देखिन आएन । वादीहरूको पतिपिता पुष्परत्न शाक्यको नाउँमा हाल बन्डा गर्नुपर्ने कुनै सम्पत्ति नदेखिएकाले बन्डा गर्नुपर्ने कुनै सम्पत्ति देखिएको बेलामा उक्त सम्पत्तिबाट ६ भागको ५ भाग अंश वादीहरूले पाउने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको मिति २०६४।३।६ को फैसला ।
कानूनबमोजिम हामीले पाउने अंश हक मार्ने गरी विपक्षीहरूले खडा गरेको मिति २०५५।१।४ को लिखत अंश बन्डाको १ नं. र किर्ते कागजको ३ नं. विपरीत भएकाले सो जानकारी भएको मितिले म्यादैभित्र हामीहरूले चुनौती दिएको र त्यसतर्फ कुनै वास्ता नगरी भएको सुरू फैसला मुलुकी ऐन, अंशबन्डाको महलको १, १० नं. र लेनदेन व्यवहारको महलको १० नं. समेतको विपरीत भएको हुँदा उक्त फैसला बदर गरी सुरू फिराद दावी र प्रस्तुत पुनरावेदनपत्र जिकिरबमोजिम हाम्रो अंश हक प्रतिवादीहरू सबैबाट दिलाई भराई लिन पाउने गरी फैसला गरिपाउँ भन्नेसमेत व्यहोराको वादीहरूको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदनपत्र ।
वादीका पति तथा पिताले मिति २०५५।१।४ मा नै आफ्नो भागको अंश बुझी लिएको रीतपूर्वकको बन्डापत्रको लिखत खडा भएको पाइएकाले वादीहरूले पुष्परत्न शाक्यबाहेकका अन्य प्रतिवादीहरूबाट अंश पाउने कानूनी हक अधिकार रहेको पाइएन । तसर्थ, पुष्परत्न बाहेकका अन्य प्रतिवादीहरूसमेतबाट अंश पाउँ भन्ने वादीहरूको फिराद दावी एवम् पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । अतः सुरू काठमाडौंं जिल्ला अदालतको मिति २०६४।३।६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६४।७।२० को फैसला ।
जन्मसिद्ध तथा नैसर्गिक हकको रूपमा कानूनत: प्राप्त गर्ने अंशको अधिकारबाट हामीलाई वञ्चित गर्ने उद्देश्यले विपक्षीहरूले अंश लाग्ने सम्पूर्ण सम्पत्तिसमेत नदेखाई र देखाएको सम्पत्तिको पनि अत्यन्त न्यून मूल्याङ्कन गरी पूरै अंश आफूखुसी गर्ने मनसायले चलमा परिणत गराई गरिएको बन्डापत्रले हाम्रो अंश हक मार्ने कार्य भएको स्पष्ट हुँदाहुँदै पनि पति-पिताको नाउँमा कुनै सम्पत्ति आएका बखत सो सम्पत्तिबाट अंश पाउने भनी कानूनी व्यवस्थाको मर्म र सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत हुने गरी भएको उक्त फैसला त्रुटिपूर्ण हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क)(ख) बमोजिम दोहोर्याई हेरी पाउँ भन्ने व्यहोराको वादीको यस अदालतमा परेको निवेदन ।
यसै लगाउको निवेदन नं. ११५१ को जालसाजी मुद्दामा आजै यसै इजलासमा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको उक्त मुद्दा र प्रस्तुत मुद्दा अन्तरसम्बन्धित हुँदा प्रस्तुत मुद्दामा वादी दावी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत, पाटनको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको व्याख्यात्मक त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने यस अदालतको मिति २०६५।१।१७ को आदेश ।
काठमाडौं जिल्ला अदालतको आदेशबमोजिम वादी प्रतिवादीहरूको अरू के कति सम्पत्ति छन् अ.बं. १३३ नं. बमोजिम कागज गराई खुलाउँदा प्रतिवादी लक्ष्मी शाक्यको नाममा मालपोत कार्यालय, ललितपुरमा दर्ता भएको कि.नं. ६३९ को ०-४-० जग्गा पनि रहेको भन्ने मिसिल संलग्न मिति २०६३।१२।२८ को वादी प्रतिवादीले गरिदिएको कागजबाट देखिएको र सो कि.नं. ६३९ को जग्गा निजले मिति २०४७।३।११ मा गंगाप्रसाद पुनबाट हालैको बकस गरी लिएकी भनी पुनरावेदकका कानून व्यवसायीले बहसमा जिकिर लिई सोको प्रतिलिपिसमेत पेस गरेकाले उक्त बकसपत्रमा खुलेको सम्पूर्ण व्यहोरा खुलाई मालपोत कार्यालय, ललितपुरबाट सोको प्रतिलिपि झिकाउनू । साथै यस अदालतबाट निस्सा प्रदान गरिँदा उल्लेख भएको यी वादी प्रतिवादीबीच भएको मिति २०५५।१।४ को बन्डापत्र विचारणीय देखिन आएकाले निज वादी प्रतिवादीहरूबीच बन्डा गर्नुपर्ने अवस्था देखिएकाले आआफ्नो जिम्मामा रहेको चल अचल सम्पत्तिको मुलुकी ऐन, अंशबन्डाको महलको २०, २१, २२, २३ नं. बमोजिम अंश गर्नुपर्ने सम्पत्तिको फाँटवारी दाखिल गर्नु भनी दुबै पक्षलाई सुनाई तायदाती दाखिल गराई सो तायदाती एक अर्कालाई सुनाई, वादीले पाउने अंश जतिको लाग्ने कोर्ट फी वादीबाट लिई नियमबमोजिम पेस गर्नु भन्ने यस अदालतको मिति २०६६।८।३ को आदेश अनुसार बकसपत्रको कागज तथा तायदाती फाँटवारी पेस भै मिसिल सामेल रहेको ।
प्रतिवादी लक्ष्मीदेवी शाक्यको नाममा सैंबु गाउँ विकास समिति, वडा नं. ५क कि.नं. ६३९ को जग्गा रहेको भनी तायदाती पेस गर्दा उल्लेख भएकाले सो जग्गामा घर रहे नरहेको सम्बन्धमा निज लक्ष्मीदेवी शाक्यको अ.बं. १३३ नं. बमोजिम कागज गराई, घर बनेको भए सोको मूल्याङ्कनसमेत खुलाई पेस गर्नु भन्ने मिति २०६७।८।८ को यस अदालतको आदेशानुसार उक्त कि.नं. ६३९ को घर जग्गासमेतको मूल्य रू.११,००,०००।- (एघार लाख) पर्दछ भनी प्रतिवादी वारिसले मिति २०६७।८।२८ मा कागज गरिदिएको ।
वादीहरूका पतिपिताले आफ्नो अंश भाग आफ्ना बाबु कुलरत्नबाट नगदै बुझिलिएको अवस्थामा उक्त मिति २०५५।१।४ को बन्डापत्रको लिखत बदर गरी पाउन यी वादीहरूले दावी लिएको भएता पनि पुष्परत्न जीवितै रहेको अवस्थामा सो बन्डापत्र बदर गराउन पाउने हक यी वादीहरूलाई रहेको पनि देखिँदैन । वादीहरूले आफ्नो पतिपिताको अंशबाट आफ्नो अंश पाउने कुरामा कानून स्पष्ट छ, त्यसमा कुनै द्विविधा वा विवाद गर्ने ठाउँ छैन । यी वादीहरूको अंशहक मार्ने नै नियतले २०५५।१।४ को बन्डापत्र पारित भएको हो कि भन्ने विचार गर्दा मूल अंशियारहरू कुलरत्न र निजका छोराहरूबीच जम्मा कि.नं. १११३ को घर जग्गा रहेको देखिन्छ । उक्त कि.नं. को जम्मा क्षेत्रफल ज.रो. ०-१-०-२ मात्र रही त्यसमा निर्मित घरमा सगोलका सबै अंशियारको बसोवास रहेको हुनाले पनि बाबु कुलरत्नले तीन छोराहरूलाई बराबर नगदै दिई, तीन छोराहरूले उक्त बराबर रकम लिई आफ्ना बाबु कुलरत्नसँग भिन्न हुने गरी मिति २०५५।१।४ को बन्डापत्र पारित भएको छ । त्यसमा मूल सबै अंशियारको सहमति रहेको अवस्थामा यी वादीहरूका पतिपिता पुष्परत्न शाक्य एक्लैले मात्र अत्यन्त थोरै नगद लिई अंश छोडपत्र गरेको भन्ने देखिन आउँदैन । तीन दाजुभाइहरूले आफ्ना बाबुआमासँग बराबर नगदै रकम बुझिलिएकाले उक्त बन्डापत्र लिखतलाई भेदभावपूर्ण वा यी वादीहरूको हकमा अन्यायपूर्ण भन्न मिल्ने ठाउँ र अवस्था छैन । मूल अंशियारमध्येकी लक्ष्मी शाक्यको नाममा ललितपुरमा रहेको कि.नं. ६३९ को घरजग्गाको निजले २०४७।३।११ मा गंगाप्रसाद पुनबाट हालैको बकसपत्र गराई ज.रो. ०-४-० को उक्त जग्गा लिएको देखिन्छ । यी वादीहरूका पति-पिताले नै आफ्नो आमाको नाममा रहेको उक्त कि.नं. ६३९ मा आफ्नो दावी नगरेको स्थितिमा निजकी श्रीमती, छोराछोरीले सासू-हजुरआमा प्रतिवादी लक्ष्मी शाक्यको उक्त कि.नं. ६३९ मा आफ्नो अंशहकको दावी लिने वा निजहरूले त्यसबाट अंश पाउने अवस्था छैन । यसरी वादीहरूका पतिपिता पुष्परत्न शाक्यले मिति २०५५।१।४ मा बन्डापत्रको लिखतबाट आफ्नो अंश बुझिसकेको अवस्थामा यी वादीहरूले निजहरूका ससुरा-सासू, देवर-जेठाजुलगायतका अन्य प्रतिवादीहरूबाट अंश पाउने देखिँदैन । तसर्थ प्रतिवादी पुष्परत्न शाक्यको सम्पत्तिबाट मात्र ६ भागको ५ भाग अंश पाउने ठहर्याई निजको नाममा बन्डा गर्नुपर्ने कुनै सम्पत्ति नदेखिएकाले निज पुष्परत्न शाक्यको नाउँमा बन्डा गर्नुपर्ने कुनै सम्पत्ति देखिएको बेलामा सो सम्पत्तिबाट ६ भागको ५ भाग वादीहरूले अंश पाउने ठहराएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६४।७।२० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीको राय ।
पत्नी र सन्तानको साम्पत्तिक हक पति पिताको साम्पत्तिक हकसँग अन्तरभूत हुन्छ । पत्नीत्व ग्रहण गर्ने बित्तिकै तथा सन्तति जन्मने बित्तिकै प्राप्त हुने कानूनी हकलाई हलुकारूपमा लिनु न्यायोचित हुँदैन । पति र पिताले प्राप्त गरेको सम्पत्तिबाट हक प्राप्त गर्ने वादीहरूलाई पति पिताले कानूनबमोजिम लिनुपर्ने सम्पत्ति दुराशय चिताई नलिएको अवस्था भई सम्पत्ति नै नरहेबाट भविष्यमा निजसँग सम्पत्ति देखियो भने सोबाट अंश पाउने भनी अदालतले शून्य सम्पत्ति दिलाउनु न्यायोचित होइन । सम्पत्ति नै नभएको स्थिति अलग कुरा हो । तर अंशबन्डाको २ नं. विपरीत अंश लिइन्छ र त्यसको औचित्य र आधार केही हुँदैन भने त्यस्तो बन्डापत्रलाई दुराशययुक्त नै मान्नुपर्दछ । कुनै पनि व्यक्ति केवल आफ्नो हकको विषयको निर्णायक हो । उसलाई आफ्नै माध्यमले नै किन नहोस् अंश हक प्राप्त गर्ने अन्य व्यक्तिको हकमा सारभूतरूपमा प्रतिकूल प्रभाव पार्ने गरी निजहरूको मञ्जुरीबिना निर्णय लिन सक्ने हक हुँदैन । यदि यसो गरिन्छ भने त्यस्तो क्रिया कानूनका दृष्टिमा अवैध र अमान्य हुन्छ । तसर्थ, यी प्रतिवादीहरूले वादीहरूलाई निरंशी तुल्याउने अभिलाषा राखी वादीहरूलाई थाहा जानकारी नदिई मञ्जुरी नलिई नदिई मिति २०५५।१।४ मा बन्डापत्र पारित गरी वादीहरूका पति पिताले नगदै अंश बुझिलिएको देखाई वादीहरूका पति पिताका नाउँमा कुनै सम्पत्ति नरहेको भनी वादीहरूका पति पिता बाहेकका अन्य प्रतिवादीहरूबाट वादीहरूले अंश नपाउने ठहराएको सुरू काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६४।७।२० को फैसला उल्टी हुने भै वादी प्रतिवादीहरूले पेस गरेको तायदातीमा उल्लिखित कि.नं. १११३ र कि.नं. ६३९ को घर जग्गा सम्पत्तिलाई ७ भाग लगाई सोबाट प्रतिवादी पुष्परत्न शाक्यको १ भाग छुट्ट्याई सो १ भागलाई ६ भाग गरी ६ भागको ५ भाग वादीहरूले अंश पाउने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री प्रकाश वस्तीको राय ।
नियमबमोजिम दैनिक पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री शम्भु थापा र विद्वान् अधिवक्ता श्री सुषमा गौतमले प्रतिवादीहरूले आपसमा मिलेमतो गरी वादीहरूलाई अंशहकबाट वञ्चित गर्ने उद्देश्यले बन्डापत्र खडा गरेको भन्ने स्पष्ट छ । बन्डा गर्नुपर्ने सम्पूर्ण सम्पत्ति सो बन्डापत्रमा नदेखाइएकाले र वादीका पति पिताले अंश लिएको बुझेको भनिएको सम्पत्तिको अत्यन्तै न्यून मूल्याङ्कन गरिएकाले पनि प्रतिवादीहरूको दुराशय देखिएको छ । अंशबन्डाको २ नं. अनुसार गरिएको भनिएको बन्डापत्र दुराशयपूर्ण तरिकाले गरिएको अवस्थामा त्यस्तो बन्डापत्रले कानूनी मान्यता नपाउने भनी यस अदालतबाट विभिन्न मुद्दाहरूमा सिद्धान्त प्रतिपादन भएको छ । यो मुद्दामा पनि वादीहरूलाई निरंशी बनाउने दुराशयका साथ प्रतिवादीहरूबाट अंशबन्डाको लिखत खडा गरिएकाले त्यस्तो बन्डापत्रले कानूनी मान्यता पाउन नसक्ने हुँदा सुरू र पुनरावेदन अदालतको फैसला उल्टी गरी वादीहरूले प्रतिवादीहरूबाट अंश पाउने ठहर्याई माननीय न्यायाधीश श्री प्रकाश वस्तीले व्यक्त गर्नुभएको राय कानून र न्यायसम्मत भएकाले सोही राय सदर हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
प्रत्यर्थीतर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री विश्वकान्त मैनाली र श्री बाबुराम कुँवर, विद्वान् अधिवक्ताहरू श्री श्यामप्रसाद पाण्डे र श्री प्रमोदकुमार आचार्यले वादीहरूलाई निरंशी बनाउन बन्डा गरिएको होइन । सो बन्डापत्र मुद्दा परेपछि तयार भएको होइन । अंशबन्डाको २ नं. को कानूनी व्यवस्थाबमोजिम बन्डा गरिएको हो । उक्त २ नं. मा उल्लेख भएको कानूनी व्यवस्था स्पष्ट भएकाले त्यसमा व्याख्याको गुञ्जाइस छैन । मिति २०५५।१।४ मा भएको पारित बन्डापत्रमा सबै अंशियारले बराबर अंश लिएको अवस्था छ । वादीहरूले आफ्नो पति पिताबाट मात्र अंश पाउने हो । अंश बन्डाको २ नं. बमोजिम अंशबन्डा गर्दा तल्लो पुस्ताका अंशियारलाई साक्षी राखेर वा निजहरूको मञ्जुरी लिई बन्डा गरिँदैन । समान पुस्ताहरूबीचमात्र बन्डा हुने हो । त्यस्तो बन्डामा चित्त नबुझे अंशबन्डाको ३२ नं. बमोजिम सोही पुस्ताका अंशियारले मात्र बदरतर्फ नालिस गर्न सक्छन् । तल्लो पुस्ताका अंशियारले बदरमा नालिस गर्न पाउने कानूनी व्यवस्था छैन । वादीहरूका पति पिताले सगोलका अंशियारबाट आफ्नो अंश हक बुझी सकेको अवस्थामा वादीका सासू-ससुरालगायतका अन्य अंशियारसँग अंश पाउन नसक्ने हुँदा सुरू र पुनरावेदन अदालतको फैसला सदर हुने ठहर्याई माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीले व्यक्त गर्नुभएको राय सदर हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा उपर्युक्तानुसारको बहससमेत सुनी मिसिल संलग्न कागजातहरूको अध्ययन गरी हेर्दा वादी दावी पुग्न नसक्ने ठहराएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला मिलेको छ वा छैन र संयुक्त इजलासका माननीय न्यायाधीशहरूमध्ये कसको राय सदर हुने हो भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा प्रतिवादीहरू कुलरत्न शाक्य, लक्ष्मी शाक्य, शुभरत्न शाक्य, पुष्परत्न शाक्य, दिलरत्न शाक्य, सुशीला शाक्य र सुमीत्रा शाक्य, वादीहरूको क्रमशः ससुरा-बाजे, सासू-बजै, जेठाजु-ठूलोबुबा, पति-पिता, देवर-काका, आमाजु-फुपू र नन्द-फुपू भएकोमा प्रतिवादीहरूले गालीगलोज र कुटपीटसमेत गर्ने गरेकाले २०५७ साल फागुन महिनादेखि माइती-मावली नजिकमा कोठा भाडामा लिई बसी आएका र प्रतिवादीहरूले सँगै राख्न नमानी अंश दिन इन्कार गरेकाले सम्पूर्ण सम्पत्तिलाई सात भाग लगाई सो सात भागमध्ये पति-पिता पुष्परत्न शाक्यको हुने एक भागलाई छ भाग लगाई सो छ भागको पाँच भाग अंश दिलाई पाउँ भन्ने वादीको दावी रहेको पाइन्छ । प्रतिवादीमध्येका यी वादीहरूका पति-पिता पुष्परत्न शाक्यको प्रतिउत्तरपत्रमा निजले मिति २०५५।१।४ को पारित बन्डापत्रबमोजिमको रकम बुझिसकेको र सो रकम पनि वादी उर्मिला शाक्यले निजबाट बुझिलिएकाले आफूसित केही सम्पत्ति नभएकाले अंश दिनुपर्ने होइन भन्ने जिकिर लिएको पाइन्छ । अन्य प्रतिवादीहरूको प्रतिउत्तरपत्रमा वादीहरूका पति पिता पुष्परत्न शाक्यले आफ्नो भागको अंश मिति २०५५।१।४ को पारित बन्डापत्रबमोजिम बुझी लिई सकेकाले आफूहरूले वादीहरूलाई अंश दिनुपर्ने होइन, वादीकै पतिबाट अंश पाउने हो भन्ने जिकिर लिएको देखिन्छ ।
३. सुरू काठमाडौं जिल्ला अदालतले वादीहरूले निजहरूको पति-पिता पुष्परत्न शाक्यबाट मात्र अंश पाउने हुँदा निजको नाउँमा हाल बन्डा गर्नुपर्ने कुनै सम्पत्ति नदेखिँदा पछि फेला परेका बखत छ भागको पाँच भाग अंश वादीहरूले पाउने ठहर्याई फैसला गरेकोमा पुनरावेदन अदालत, पाटनबाट सो फैसला सदर भई पुनरावेदन अदालतको फैसलाउपर वादीहरूको यस अदालतमा मुद्दा दोहोराई हेरी पाउँ भनी निवेदन परी यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम दोहोराई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा निर्णयार्थ पेस भएकोमा यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीशहरूको राय नमिली सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको रहेछ ।
४. वादीहरूका पति-पिताले आफ्नो अंश भाग आफ्नो बाबु कुलरत्न शाक्यबाट नगदै बुझी लिएको अवस्थामा मिति २०५५।१।४ को बन्डापत्रको लिखत बदर गरी पाउने हक यी वादीहरूलाई नरहेको र वादीहरूलाई निरंशी तुल्याउने हिसाबबाट प्रतिवादीहरूले आपसमा मिलेमतो गरी वादीहरूका पति-पिताले समेत अंश बुझेको नदेखिएकाले प्रतिवादी पुष्परत्न शाक्यको सम्पत्तिबाट मात्र वादीहरूले अंश पाउने ठहराएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला मिलेकाले सोही फैसला सदर हुनुपर्ने गरी यस अदालतको संयुक्त इजलासमा माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीबाट राय व्यक्त भएको पाइन्छ भने अंशबन्डाको महलको २ नं. विपरीत लिइएको अंशको औचित्य र आधार नभएको अवस्थामा त्यस्तो बन्डापत्र दुराशययुक्त मान्नुपर्ने हुँदा प्रतिवादीहरूले वादीहरूलाई निरंशी तुल्याउने अभिलाषा राखी सम्पूर्ण सम्पत्ति बन्डा नगरी बन्डा गर्नुपर्ने सम्पत्तिको अत्यन्त कम मूल्याङ्कन गरी वादीहरूलाई थाहा जानकारी नदिई मञ्जुरी नलिई मिति २०५५।१।४ मा बन्डापत्र पारित गरी वादीहरूका पति पिताले नगदै अंश बुझी लिएको देखाई वादीहरूका पति-पिताको नाउँमा कुनै सम्पत्ति नरहेको भनी अन्य प्रतिवादीहरूबाट वादीहरूले अंश नपाउने ठहराएको सुरू र पुनरावेदन अदालतको फैसला उल्टी गरी कि.नं. १११३ र ६३९ को घर जग्गाबाटसमेत वादीहरूले अंश पाउने गरी माननीय न्यायाधीश श्री प्रकाश वस्तीबाट राय व्यक्त भएको रहेछ ।
५. प्रस्तुत मुद्दाको वादी तथा प्रतिवादीहरूबीचमा नाता सम्बन्धमा कुनै विवाद रहेको पाइँदैन । वादीहरूको मुख्य दावीमा निजहरूबाट पति पिता पुष्परत्न शाक्यले निजका अंशियार पिता कुलरत्न शाक्यसमेतबाट अंश पाई नसकेकाले पति-पिता पुष्परत्न शाक्यका जम्मा सात अंशियार रहेकाले सम्पूर्ण सम्पत्तिलाई सात भाग लगाई सात भागबाट पति पिताको एक भाग छुट्याई सो एक भागबाट वादीहरू छ जना अंशियार भएकाले उक्त सम्पत्तिलाई छ भाग गरी त्यसमध्ये पाँच भाग अंशको दावी गरेको पाइन्छ । वादी र प्रतिवादीहरू एकासगोलमै रहेको अवस्थामा वादीहरूका पति पितासमेतका अंशियारहरूबीच मिति २०५५।१।४ मा बन्डापत्र पारित गरी सो बन्डापत्र अनुसार काठमाडौं म.न.पा. वडा नं. २२ कि.नं. १११३ को क्षेत्रफल ०-१-०-२ जग्गा र सो जग्गामा बनेको दुईनाले, चार कवले, पाँचतले घरको मूल्य रू.५,०२,०००।- कायम गरी सो घर जग्गा वादीहरूका ससुरा-बाजे कुलरत्न शाक्यको अंश भागमा परी यी वादीहरूका पति-पिता पुष्परत्न शाक्यसमेतका सबै अंशियारहरूले जनही रू. ८०,३१६।६६ नगदै अंश बुझी लिएको भन्ने मिसिलबाट देखिन आउँछ । सोही मिति २०५५।१।४ को अंशबन्डाको पारित लिखत अनुसार आआफ्नो अंश भाग सबै अंशियारले नगदै बुझिलिएकाले वादीहरूका पति-पिताले पनि आफ्नो अंश भाग बुझिसकेको हुँदा वादीहरूले निजहरूकै पति-पिताबाट मात्र पाउने हो भन्ने प्रतिवादीहरूको कथन रहेको देखिन आयो ।
६. प्रस्तुत मुद्दाको तथ्य सम्बन्धमा विचार गर्नुपूर्व मुलुकी ऐन, अंशबन्डाको महलको १ र २ नं. मा भएको कानूनी व्यवस्थाको उल्लेख हुन सान्दर्भिक हुन्छ । उक्त व्यवस्था देहायबमोजिम रहेको छः
१ नं. यो नम्बर प्रारम्भ भएपछि अंशबन्डा गर्दा यस महलका अन्य नम्बरहरूको अधीनमा रही बाबु, आमा, लोग्ने, स्वास्नी, छोरा, छोरीहरूको जीयजीयैको अंश गर्नुपर्छ ।
२ नं.यस महलमा अन्यथा लेखिएमा बाहेक यसै महलको १ नं. बमोजिम अंशबन्डा गर्दा अंश पाउने सबैको बराबर अंश गर्नुपर्छ ।
७. अंशबन्डाको महलको १ र २ नं. को कानूनी व्यवस्थाअनुसार एकासगोलमा रहेका बाबु, आमा, लोग्ने, स्वास्नी, छोरा, छोरी प्रत्येकलाई समानरूपमा वितरण हुने गरी अंशको बन्डा गर्नुपर्ने र सोही कानूनी व्यवस्थाबमोजिम सगोलका प्रत्येक अंशियारको अंशको सम्पत्तिउपर समानरूपमा हक हुने प्रत्याभूति गरिएको समेत पाइन्छ । वस्तुतः अंशबन्डाको महलको उक्त व्यवस्थाले समान पुस्ताका अंशियारहरूबीच समानरूपमा अंशको बन्डा हुनुपर्ने कुराको प्रत्याभूति प्रदान गरेको भए पनि कुनै अंशियारले आफूखुसी अन्य अंशियारभन्दा कम अंश लिन्छु भन्नको लागि कुनै प्रकारको रोक लगाएको पाइँदैन । त्यस्तै कुनै अंशियारलाई आफूले पाउने अंश हकको परित्याग गर्नसमेत उक्त कानूनी व्यवस्थाले रोक लगाएको पाइँदैन । तर कुनै अंशियारले आफूले पाउने अंश हकको पूर्ण वा आंशिकरूपमा परित्याग गर्दछ र निजको सो आचरण एवम् व्यवहारबाट निजका हाँगातर्फका अर्को पुस्ताका अंशियार निरंशी हुने अवस्था सिर्जना हुन्छ भने र सो कार्यमा तल्लो पुस्ताको अंशियारको मञ्जुरी छैन भने त्यस्तो अवस्थामा पनि अंश भागको सम्पत्ति परित्याग गर्न वा असमान किसिमको बन्डा स्वीकार गर्न अंशबन्डाको महलले छुट प्रदान गरेको देखिँदैन । अपितु यस्तो गरियो भने अंश बन्डाको महलको १ र २ नं. को व्यवस्थाविपरीत हुन जान्छ । वस्तुतः अंशबन्डाको महलको १ र २ नं. को व्यवस्था भनेको अंश पाउने व्यक्तिको नैसर्गिक हकको प्रत्याभूत गराउने कानूनी व्यवस्था हो । उक्त व्यवस्थाले कुनै अंशियारलाई आफ्नो भागको अंश पूर्ण वा आंशिकरूपमा परित्याग गर्न रोक नलगाएको भए पनि नियोजित र दुराशययुक्तरूपमा आफूपछिका अंशियारलाई निरंशी बनाउने उदेश्यले अंश हक परित्याग गर्न छुट दिएको भन्ने देखिन आउँदैन ।
८. मुलुकी ऐन, अंशबन्डाको महलको १ र २ नं. को उपर्युक्त कानूनी व्यवस्थाको सन्दर्भमा प्रस्तुत मुद्दाको तथ्य सम्बन्धमा विचार गर्दा प्रस्तुत मुद्दाकी वादीमध्येकी कुमारी उर्मिला शाक्य र प्रतिवादीमध्येको पुष्परत्न शाक्यबीच २०४०।३।३० मा विवाह भएको देखिन्छ । यी वादी र प्रतिवादीको दाम्पत्य सम्बन्धबाट विक्कीरत्न शाक्य, चन्दा शाक्य, रोजेली शाक्य, निशा शाक्यसमेतका चारजना सन्तानको जन्म भएको देखिन्छ । आफ्नो पति एवम् परिवारले कुटपीटसमेत गर्ने गरेकाले प्रतिवादीहरूको घर छाडी माइती मावली नजिकै डेरा लिई बस्नुपरेको भन्ने वादीहरूको फिरादपत्रमा उल्लेख भएको कथनलाई प्रतिवादी पक्षबाट खण्डन भएको पाइँदैन । उल्लिखित तथ्यको परिप्रेक्ष्यमा मिति २०५५।१।४ मा प्रतिवादीहरूबीचमा भएको बन्डापत्रलाई हेर्दा काठमाडौंंको पाको न्युरोडमा रहेको दुई नाले, चार कवले, पाँच तले घरलाई बन्डा गर्न अव्यावहारिक भएको देखाउँदै वादीहरूका पति पिता पुष्परत्न शाक्यले असी हजार तीन सय सोह्र रूपैयाँ छैसठ्ठी पैसा अंशबापत नगदै बुझी लिएको भन्ने उल्लेख गरिएको छ । प्रतिवादी लक्ष्मी देवी शाक्यको नाममा ललितपुर सैंबु ५(क) कि.नं. ६३९ को ज.रो. ०-४-० को जग्गा र त्यसमा बनेको चार तले सत्रकोठे सटरसहितको घर रहेको
देखिन्छ । यो जग्गा मिति २०४७।३।११ मा गंगाप्रसाद पुनबाट प्रतिवादी लक्ष्मीदेवी शाक्यको नाममा बकसपत्रको लिखतबाट हक हस्तान्तरण भएको भनिए पनि आमा बाबुका नाममा जुनसुकै स्रोतबाट आएको सम्पत्ति निजहरूका सन्तानका लागि पैतृक सम्पत्ति हुने भई सो सम्पत्तिसमेत बन्डा हुनुपर्नेमा सो सम्पत्ति बन्डा भएको
देखिँदैन । मिति २०५५।१।४ को उक्त बन्डापत्रमा उक्त कि.नं. ६३९ को घर जग्गा सम्बन्धमा केही उल्लेख भएको पाइँदैन । उक्त कि.नं. ६३९ को घर जग्गा के कति कारणले बन्डा नभई लक्ष्मी शाक्यको एकलौटी हुन गएको भन्ने पनि उक्त बन्डापत्रमा उल्लेख छैन ।
९. प्रस्तुत मुद्दामा वादीहरूका पति पिताले पाउनुपर्ने अंश लिइसकेपछि पुनः पत्नी र सन्तानलाई उठाई आफूसमेत प्रतिवादी बनी दोहोरो फाइदा प्राप्त गर्न अंश मुद्दा दायर गराएको भन्ने अवस्था देखिएको छैन । यस्तो कुराको जिकिर प्रतिवादी पक्षबाट लिइएको पनि पाइन्न । वादीहरूको पति पिता पुष्परत्न शाक्यले आफूले अंश बुझिसकेको र सो बुझेको अंश पनि वादी कुमारी उर्मिला शाक्यले आफूबाट लिइसकेकाले फिराद खारेज हुनुपर्ने जिकिर लिइएको सन्दर्भमा यी वादीहरूले पति पिताको उक्साहटमा आई एक पटक अंश प्राप्त गरी सकेपछि पुनः दोस्रो पटक अंश लिन दुराशय राखी फिरादपत्र दायर गरेको भन्ने पनि देखिन आउँदैन । यसरी मिति २०५५।१।४ को बन्डापत्रमा उल्लेख भएको घर जग्गाको अत्यन्तै न्यून मूल्याङ्कन गरी बन्डा भएको देखाइएको र अर्को अंशियारको नाउँमा रहेको घर एवम् जग्गालाई बन्डापत्रमा उल्लेख नै नगरी एकलौटी बनाउन प्रयास गरिएको प्रतिवादीहरूको आचरण र व्यवहारलाई हेर्दा प्रतिवादीहरूबीच भएको उक्त बन्डापत्र पैतृक सम्पत्तिको न्यायपूर्ण तरिकाले बन्डा गर्ने उदेश्यले नभई अंश पाउने अधिकार भएका तल्लो पुस्ताका अंशियार यी वादीहरूको अंश हक अपहरण गरी निरंशी बनाउने उद्देश्यका लागि खडा गरिएको बन्डापत्र भएको भन्ने देखिन आउँछ ।
१०. सामान्यतया सन्तानले आफ्नो बाबुआमाबाट नै अंश पाउने हो । बाबुले आफ्नो पुर्ख्यौली सम्पत्तिबाट आफ्ना अन्य अंशियारबाट पाउने हो । तर संगोलमा बसेको अवस्थामा बाबुबाजे छोरानाति पनातिसमेत एक आपसमा भरपर्ने गरेको हुन्छ । अविभाजित सम्पत्तिबाट नै सबैको निर्वहन गर्नुपर्ने हुन्छ । अविभाजित सगोलको सम्पत्तिमा प्रत्यक्षतया अंशको हक लाग्ने पहिलो पिँढीको अंशियारहरूकै हक रहन्छ र अंशियारका छोराछोरी नाति नातिनीहरूलाई अंशियारको नाताबाट अर्को चरणको परोक्ष हक रहन जान्छ । तथापि ती सबै हकहरू कानूनबमोजिमकै हक हुन्छन् । सगोलको अमुक सम्पत्ति अविभाजित रहँदासम्म सगोलका सबै अंशियारहरू र अंशियारका सम्पत्तिमा हक लाग्ने तिनका सन्तानहरूको समेत हक र हित रहने हुनाले अविभाजित सगोलको सम्पत्तिमाथि प्रथम पुस्ताका अंशियारहरूको मात्रै आफूखुसी गर्न पाउने सम्पत्तिकोरूपमा लिन मिल्ने
देखिँदैन । पितापुर्खाको पालाको सम्पत्तिबाट अंशियारका सन्तानहरूले अंश पाउने हुनाले प्रथम वा अघिल्ला पुस्ताका अंशियारले कानूनबमोजिम भागशान्ति न्यायोचितरूपमा पाउने भई सो यथार्थमा पनि लिए पाएको हुन जरूरी छ खास गरी त्यस्ता अंशियारहरूको सन्तानहरू रहेको अवस्थामा ।
११. अंश अपुतालीको हक सम्पत्तिको हकसँग सम्बन्धित छ । अंशको हकको कुरा गर्दा अंशियारले अंश लिनुपर्ने भन्ने बाध्यता सिर्जना गर्न मिल्दैन । हक लाग्ने अंशियारहरूले आफ्नो हक परित्याग गर्न नपाउने होइन । तर त्यस्तो हक परित्याग गरेको कुरा निजको स्वेच्छामा आधारित हुनुपर्छ र त्यसले निजको हकमा सम्म बन्धनकारी हुन सक्दछ । अंशियारको हकमा अंशियार र निजको स्वास्नी छोराले समेत मञ्जुरीले हक परित्याग गर्दछ भने त्यसमा अरूले चिन्ता लिनुपर्ने कुरा पनि हुँदैन । तर प्रथम वा अघिल्ला पुस्ताका अंशियारले आफ्नो अंश हक छुट्ट्याउने नाममा अंश नलिने गरी वा पाउने हिसाब शान्ति नलिई वा अति कम लिई निजको सम्पत्तिमा हक लाग्ने सन्तानहरूको हक मेटिने परिणाम सिर्जना गर्दछ र त्यसमा निजहरूको मञ्जुरी लिइएको छैन भने त्यसको भिन्न कानूनी परिणाम रहन्छ ।
१२. सामान्यतया बाबु आमाले आफ्नो सन्तानको अंश हक वा कानूनबमोजिम पाउने भागमा नै प्रतिकूल असरपर्ने गरी व्यवहार गर्ने अपेक्षा गरिँदैन । तर बाबु वा आमाबीच र छोराछोरीबीच कुनैरूपमा सम्बन्ध बिग्रेको अवस्थामा त्यस्तो प्रतिकूल परिणाम निकाल्ने गरी आत्मघातीरूपमा पनि अंश लिनु दिनु गर्दैनन् भन्न सकिँदैन । सगोलको सम्पत्तिमा प्रत्यक्ष वा परोक्षरूपमा कानूनी हक वा हित भएका सन्तानहरूको अंश अपुतालीको हकमा अघिल्लो पुस्ताको अंशियार भएको नाताले जसरी पनि प्रभाव पार्न पाइन्छ भन्ने कुरा कानून, न्याय र विवेकसङ्गत हुँदैन । त्यसैले अंशियारहरूबीच अंश लिनुदिनु गर्दा अंशियारले कानूनबमोजिम भाग शान्ति लिए पाएको छ वा छैन र त्यसबाट तिनका आआफ्नो सन्तानमा असर पर्न गएको छ वा छैन भन्ने कुरा हेर्न जरूरी हुन्छ । प्रस्तुत मुद्दामा त्यही स्थिति विद्यमान भएको छ ।
१३. यस्तै विवादका सम्बन्धमा यस अदालतको पूर्ण इजलासबाट निवेदक उमाकुमारी क्याल विरूद्ध सिताराम क्यालसमेत भएको अंश मुद्दामा नेकाप २०२७, निर्णय नं. ४३८, पृ. ८४ मा प्रकाशित सिद्धान्तमा “स्वास्नीले लोग्नेको अंशमा दावी गरेको मुद्दा पर्दा पर्दै पाउनुपर्ने भन्दा ज्यादै कम लिई लोग्नेले पाउने गरी बन्डा गरेमा स्वास्नीलाई अंशमा ठग्ने नियतले बन्डा गरेको देखिने कारण उक्त बन्डापत्र सद्देरूपको भन्न नमिल्ने” भनी सिद्धान्त प्रतिपादन भएको पाइन्छ । यस अदालतको पूर्ण इजलासबाट प्रतिपादित उक्त नजिर सिद्धान्तलाई यस अदालतले विभिन्न मुद्दाहरूमा आत्मसात गरी विभिन्न व्याख्याहरूसमेत भएको देखिन आउँछ ।
१४. प्रस्तुत मुद्दामा प्रतिवादीहरूबीच भएको मिति २०५५।१।४ को बन्डापत्रमा काठमाडौंको पाको न्युरोडमा रहेको मूल्यवान घरको अत्यन्तै कम मूल्याङ्कन गरी सोको सात भागको एक भाग पाउने वादीहरूका पति पिताले मात्र रू. असी हजार तीन सय सोह्र रूपैयाँ छैसठ्ठी पैसा अंशबापत बुझी लिएको कार्यलाई स्वाभाविक र सामान्य व्यवहार मान्न मिल्ने देखिँदैन । वादीहरूका पति पिता पुष्परत्न शाक्यले अंशबापत प्राप्त गर्ने सम्पत्तिबाट नै यी वादीहरूले अंश हक प्राप्त गर्ने हुँदा निज पुष्परत्न शाक्यले वादीहरूलाई निरंशी बनाउने दुराशयका साथ अंशबन्डाको महलको १ नं. र २ नं. बमोजिम आफूले अंश बन्डाबाट लिनुपर्ने सम्पत्ति नलिएको अवस्थामा निजको नाममा अब सम्पत्ति नै नरहेबाट भविष्यमा निजसँग सम्पत्ति देखियो भने सोबाट अंश पाउने भनी वादीहरूले कुनै पनि सम्पत्ति प्राप्त गर्न नसक्ने अवस्था न्यायोचित हुन सक्तैन । त्यसका अतिरिक्त कि.नं. ६३९ को लक्ष्मी शाक्यको नामको चार आना जग्गामा बनेका चार तले घरसमेत बन्डापत्रमा उल्लेख नगरिनु पनि वादीहरूलाई निरंशी बनाउने दुराशयको एउटा कडी भएको देखिन आउँछ । वादीहरूका पति पितालगायत अन्य अंशियारले पनि अत्यन्तै न्यून रकम अंशबापतमा बुझिलिई बन्डापत्र पारित गरेको देखिन्छ तर अरू अंशियार वा अंशियारका सन्तानको सोउपर दावी परेको देखिँदैन । वादीका पति पिताले आफ्नो हकमा जे गर्न सके पनि निजको अंश भागमा सरोकार रहने र कानूनबमोजिम अंश प्राप्त गर्न सक्ने पत्नी वा सन्तानको हकमा अंश भागै कटौती हुने गरी अत्यन्तै न्यून भाग अंश लिए पनि पति पिताको सो कार्यले वादीहरूको हकमा बन्धनकारी परिणाम निकाल्न सक्ने हुँदैन । उक्त मिति २०५५।१।४ को बन्डापत्र यी वादीहरूको मञ्जुरी वा सहमतिमा भएको भन्ने नदेखिएको अवस्थामा आफूभन्दा तल्लो पुस्ताको अंश हकमा असर पार्ने उदेश्यले तयार पारिएको उक्त बन्डापत्रले अंशबन्डाको महलको १ र २ नं. बमोजिमको हैसियत प्राप्त गर्न सक्ने अवस्था देखिएन । उपर्युक्त आधारमा वादीहरूका हकमा उक्त बन्डापत्रको कानूनी हैसियत शून्य रहेको देखिन आयो ।
१५. माथि विवेचित आधार र कारणसमेतबाट प्रतिवादीहरूले वादीहरूलाई निरंशी तुल्याउने दुराशयले वादीहरूलाई थाहा जानकारी नदिई निजहरूको मञ्जुरी नलिई मिति २०५५।१।४ मा बन्डापत्र पारित गरी वादीहरूका पति पिता पुष्प रत्न शाक्यले अंशबापत नगदै रकम बुझिलिएको देखाई वादीहरूका पति पिताको नाउँमा कुनै सम्पत्ति नरहेको भनी वादीहरूका पति पिताबाहेकका अन्य प्रतिवादीहरूबाट वादीहरूले अंश नपाउने ठहराएको सुरू काठमाडौंं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६४।७।२० को फैसला उल्टी भै वादी प्रतिवादीले पेस गरेको तायदातीबाट देखिएको वादीहरूका पति पिताको मूल अंशियारहरूको नाममा रहेको कि.नं. १११३ र कि.नं. ६३९ को घर जग्गासमेतलाई सात भाग लगाई सोबाट प्रतिवादी पुष्परत्न शाक्यको एक भाग छुट्याई सो एक भागलाई छ भाग गरी ६ भागको पाँच भाग वादीहरूले अंश पाउने ठहर्छ । उपर्युक्तबमोजिम वादीहरूले अंश पाउने ठहराएको माननीय न्यायाधीश श्री प्रकाश वस्तीको राय सदर हुन्छ । अरूमा तपसिल बमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा उल्लेख भएबमोजिम वादी दावी पुग्न नसक्ने ठहराएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला उल्टी भै वादी प्रतिवादीहरूले पेस गरेको तायदातीमा उल्लिखित सम्पत्तिलाई सात भाग लगाई सो सात भागबाट प्रतिवादी पुष्परत्न शाक्यको एक भाग छुट्ट्याई सो एक भागलाई ६ भाग गरी ६ भागको पाँच भाग अंश वादीहरूले पाउने ठहरेकाले प्रतिवादी कुलरत्न शाक्यको नाउँमा दर्ता रहेको काठमाडौं जिल्ला, काठमाडौं म.न.पा. वडा नं. २२ को कि.नं. १११३ को क्षे.फ. ०-१-०-२ जग्गा र सो जग्गामा बनेको घर र प्रतिवादी लक्ष्मी शाक्यको नाउँमा दर्ता रहेको ललितपुर जिल्ला, सैंबु गा.वि.स. वडा नं. ५(क) कि.नं. ६३९ को क्षेत्रफल ०-४-०-० जग्गा र सो जग्गामा बनेको घरबाट फैसलाले ठहरेबमोजिमको अंश छुट्ट्याई पाउँ भनी दण्ड सजायको ४६ नं. बमोजिम वादीहरूको दरखास्त परे उपर्युक्त घर जग्गाबाट फैसलाबमोजिम बन्डा छुट्ट्याई दिनु भनी सुरू काठमाडौं जिल्ला अदालतमा लेखिपठाउनू --१
वादीले फिरादसाथ राखेको कोर्ट फी रू. २००।- पुनरावेदन अदालतमा राखेको थप कोर्ट फी रू. ३०।- यस अदालतमा राखेको थप कोर्ट फी रू ३०।- र यस अदालतको आदेशानुसार राखेको नपुग कोर्ट फी रू. ६६७१।५२ समेत जम्मा कोर्ट फी रू. ६९३१।५२ प्रतिवादीहरूबाट भरिपाउने हुँदा उक्त कोर्ट फी भराई पाउँ भनी वादीको दरखास्त परे प्रतिवादीहरूबाट वादीलाई भराइदिनु भनी सुरू अदालतमा लेखिपठाउनू ---२
दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू -------३
उक्त रायमा सहमत छौं ।
न्या. गिरिश चन्द्र लाल
न्या. सुशीला कार्की
संवत् २०७१ साल कात्तिक २० गते रोज ५ शुभम् ।
इजलास अधिकृत : विश्वनाथ भट्टराई