शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९२८३ - कर्तव्य ज्यान

भाग: ५६ साल: २०७१ महिना: फागुन अंक: ११

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्र.न्या. श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र

फैसला मिति : २०७१।६।२७।२

०६७–CR–११०१

 

मुद्दा : कर्तव्य ज्यान ।

 

पुनरावेदक/प्रतिवादी : सुनसरी जिल्ला, धरान नगरपालिका वडा नं. १७ घर भै हाल कारागार कार्यालय, झापामा थुनामा रहेका टीकाराम राईसमेत

विरूद्ध

विपक्षी/वादी : आशा नेवार (राई) को जाहेरीले नेपाल सरकार    

 

०६८–CR–०५२१

पुनरावेदक/प्रतिवादी : सुनसरी जिल्ला, धरान न.पा. वडा नं. १ घर भै हाल नख्खु कारागार कार्यालय, ललितपुरमा थुनामा रहेका सन्तोष राई

विरूद्ध

विपक्षी/वादी : आशा नेवार (राई) को जाहेरीले नेपाल सरकार

 

०६८–CR–०६६८

पुनरावेदक/प्रतिवादी : भोजपुर जिल्ला, घर भई धरान नगरपालिका वडा नं. १७ बसोवास गरी हाल क्षेत्रीय कारागार कार्यालय, झुम्कामा थुनामा रहेका अनिश राई     

विरूद्ध

विपक्षी/वादी : आशा नेवार (राई) को जाहेरीले नेपाल सरकार

 

§  आफू अन्यत्र रहेको भनी अन्यत्रको दावी लिनेले कानूनतः आफू त्यसरी अन्यत्र रहेको पुष्टि गर्नुपर्ने हुन्छ । केवल लगाइएको आरोपबाट सफाइ पाउने उद्देश्यले मात्र अन्यत्र रहेको थिएँ भन्ने कुरा तर्कयुक्त र स्वीकार्य हुन नसक्ने ।

(प्रकरण नं. )

§  स्वास्थ्य जाँच प्रतिवेदनमा प्रतिवादीहरूको शरीरमा नील, डाम तथा चोटपटक लागेको देखिँदैन । नील, डाम तथा चोटपटक लागेको नदेखिएको अवस्थामा कुटपीटबाट बयान भएको हो भन्न मिलेन । डर, धम्की र कुटपीटबाट बयान गराई साबित गराएको भन्ने तथ्य प्रमाणित नभएबाट निजहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयान स्वेच्छाको भई निजहरूको विरूद्ध प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रमाणमा लिन मिल्ने ।

(प्रकरण नं. )

 

वादीको तर्फबाट :

प्रतिवादीको तर्फबाट : विद्वान्अधिवक्ताद्वय दीपेन्द्रकुमार राई, रेणुकाकुमारी सिटौला

अवलम्बित नजिर :

§  नेकाप २०७१, साउन, निर्णय नं. ९१४४, पृष्ठ ४४२

सम्बद्ध कानून :

§  मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(), १३(), १७()नं.

§  प्रमाण ऐन, २०३१ को दफा २७ को उपदफा ()

 

सुरू तहमा फैसला गर्ने :

            मा.जि.न्या.श्री बालकृष्ण उप्रेती

पुनरावेदन तहमा फैसला गर्ने

            मा.न्या.श्री शिवनारायण यादव

            मा.न्या.श्री द्वारिकामान जोशी

                                   

फैसला

            न्या.ओमप्रकाश मिश्र : पुनरावेदन अदालत, विराटनगरको मिति २०६७।९।१ को फैसलाउपर चित्त नबुझाई न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादी पक्षबाट यस अदालतमा दायर भई  इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्‍‌क्षिप्त तथ्य र फैसला यसप्रकार छ :

            सुनसरी स्थित धरान न.पा. वडा नं. १८ बुद्ध चौकमा चन्डी नाच हेरी घर फर्कंदै गरेको मेरो छोरा गणेश नेवार (श्रेष्ठ) लाई ऐ. वडा नं. १७ बस्ने टीकाराम राई, अनिश राई, सुदेश श्रेष्ठ, प्रनिश राई, सानु गुरूङसमेतका प्रतिवादीहरूले वडा नं. ११ स्थित दुर्गा चौकमा घेराउ गरी धारिलो हतियार खुकुरीसमेत प्रहार गरी कर्तव्यद्वारा मृत्यु गराई सँगै रहेका किर्तन श्रेष्ठलाई घाइते पारेको हुँदा निजहरूलाई पक्राउ गरी आवश्यक कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको आशा नेवार (राई) को जाहेरी दरखास्त ।

            धरान न.पा. वडा नं. ११ स्थित पूर्व पश्चिम तुलसी लाइन सडक, उत्तरमा नैना साम्पाङ्गको घर र दक्षिणमा राजेश राईको घर यति चार किल्लाभित्र सडक बाटोको दक्षिण पट्टिको सडकमा मृतक गणेश नेवार (श्रेष्ठ) को लास रहेको र मृतक लासको बायाँ कोखमा १ इन्चको प्वाल रहेको, सो प्वालबाट रगत बगी कोखा छेउमा केही जमेको, सडकको ५ फिटसम्म बगेको, मृतकले लगाएको सेतो गन्जी र सर्ट पूरै रगतले भिजेको अवस्थामा फेला परेको भन्नेसमेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का ।

            मिति २०६४।१।२५ गते साँझमा मृतक मेरा भान्जा गणेश नेवार चण्डी नाच हेरेर बुद्ध चौकबाट दुर्गा चौकमा आइपुग्दा टीकाराम राईसमेतका प्रतिवादीहरूले खुकुरी प्रहार गरी मारेको भन्ने सुनी थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको बुझिएका कुमार राईको अधिकारप्राप्त अधिकारीसमक्षको कागज ।

            धरान न.पा. वडा नं. ७ बस्ने लाक्पा शेर्पाले टीकाराम राईको भान्जीलाई मन पराएको कुरा टीकारामले थाहा पाई लाक्पा शेर्पालाई काट्छु भनेको कुरा मैले सुनेको थिएँ । टीकाराम राईसँग चण्डी नाचमा भेट हुँदा मैले लाक्पालाई तपाईंले काट्ने भन्नुभएको रहेछ, किन काट्न खोज्नुभएको हो भनी भन्दा हामीबीच विवाद भएकाले उक्त दिन आआफ्नो घर गयौं । भोलिपल्ट चण्डी नाचमा भेट हुँदा मैले हिजो विवाद पर्यो, माफ पाउँ भन्दा निज टीकारामले हुन्छ भनेका थिए । पछि नाच सकेर म, गणेश नेवार र सञ्जय राई दुर्गा चौकमा आइपुग्दा टीकाराम राई र उसका साथीहरू अनिश राई र सानु गुरूङसमेतले एक्कासी हामीलाई घेराउ गरी टीकाराम राईले मलाई कुट्न थाल्दा मृतक गणेश नेवारले किर्तनलाई नकुट बरू मलाई कुट भन्दै उनीहरूको कुटपीटबाट मलाई बचाउन खोज्दा निज मृतकलाई कुटपीट गरेको अवस्थामा तत्काल धारिलो हतियार खुकुरीले प्रहार गरी घटनास्थलमै मारेको र म तथा सञ्जय राई भाग्दै गर्दा खुकुरीको झटारो हानी मलाई घाइते बनाए । मलाई र गणेश नेवारलाई खुकुरी प्रहार गर्ने व्यक्तिको बारेमा टीकाराम राईलाई थाहा छ । यस वारदातको मुख्य अपराधी टीकाराम राई हो भन्नेसमेत व्यहोराको घाइते किर्तन श्रेष्ठले अनुसन्धानको क्रममा गरेको कागज ।

            मृत्युको कारण Cause of death due to shock as a result of stab injury to vital organ भन्नेसमेत व्यहोराको शव परीक्षण प्रतिवेदन ।

            मिति २०६४।१।२५ गते बेलुका बुद्ध चौकमा भइरहेको चण्डी नाचमा लाक्पा शेर्पासँग भेट भयो । उनीहरूले मलाई काट्ने योजना बनाएको भन्ने कुरा समिर राईबाट थाहा पाएको हुँदा नाच सकिनासाथ लाक्पा शेर्पालाई खोजी गरौं भन्दै अनिश राई, सानु गुरूङसमेतलाई साथमा लिएर वारदातस्थल दुर्गा चौक पुग्दा लाक्पा शेर्पाको साथी गणेश नेवार र कितर्न श्रेष्ठसमेतलाई भेटी लाक्पा खोइ तिमीहरूले मलाई काट्ने अरे भनी निजहरूको शरीर तलासी लिई किर्तनलाई मैले र गणेश नेवारलाई साथीहरूले कुटपीट गर्दै गर्दा सन्तोष राईले खुकुरीले गणेश नेवारलाई घोची रोपी मृत्यु गराई किर्तनलाई घाइते पारेको रहेछ । गणेशको मृत्यु भएपछि मान्छे मर्यो भनी हल्ला हुन थालेपछि हामी भागी गएका हौं भन्नेसमेत व्यहोराको प्रतिवादी टीकाराम राईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । 

            मिति २०६४।१।२५ गते साँझ टीकाराम राई, म र सानु गुरूङ्गसमेत भई लाक्पा शेर्पालाई खोजी गर्दै जाँदा लाक्पाको साथी गणेश नेवार (श्रेष्ठ) र किर्तन श्रेष्ठलाई दुर्गा चौकमा फेला पारी शरीर तलासी लिई कुटपीट गरेका हौँ । हामीले कुटपीट गर्दैगर्दा प्रतिवादी सन्तोष राईले खुकुरीले प्रहार गर्दा गणेश नेवारको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी अनिश राईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

            वारदातको दिन बेलुका बुद्ध चौकमा भएको चण्डी नाच हेरी घर फर्कने क्रममा दुर्गा चौकमा आइपुग्दा मान्छे मर्यो भन्ने हल्ला भएकाले म पनि भागी घरतिर गएँ । मृतक गणेश नेवार (श्रेष्ठ) र घाइते किर्तन श्रेष्ठलाई को कसले खुकुरी प्रहार गरे, मलाई थाहा छैन भन्नेसमेत व्यहोराको प्रतिवादी प्रनिश राईको अधिकारप्राप्त अधिकारसमक्षको बयान ।

            वारदातका दिन बेलुका बुद्ध चौकमा भएको चण्डी नाच हेरी टीकाराम राईसमेतका साथीहरूसँगै घर फर्कदै गर्दा टीकारामलाई नदेखी टीकाराम कता गए भनी म अलमली रहेको बेला धरान न.पा. ११, दुर्गा चौकतर्फबाट मान्छे मर्यो भन्ने हल्ला भई भागाभाग भएकाले म घर गएँ । पछि बुझ्दा टीकाराम राई र लाक्पा शेर्पाको कुरालाई लिएर गणेश श्रेष्ठ, किर्तन श्रेष्ठलाई सन्तोष राईले खुकुरी प्रहार गरी गणेशलाई मारेको र किर्तनलाई घाइते बनाएको भन्ने कुरा पक्राउ परेपछि मात्र सुनी थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी सुदेश श्रेष्ठले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

            टीकाराम राईकी भान्जी सोनाम शाक्यलाई मैले मन पराएको थिएँ । पछि त्यही विषयलाई लिएर टीकाराम राईसँग भेट भई कुराकानी भएको थियो । मिति २०६४।१।२५ गते साँझमा चण्डी नाच हेरेर धनकुटेरोड हुँदै म आफ्नो घरतिर लागेँ । मेरो साथी गणेश श्रेष्ठ र किर्तन श्रेष्ठसमेत घर जाँदैगर्दा दुर्गा चौकमा टीकाराम राईसमेतले निजहरूलाई घेराउ गरी कुटपीट गरी खुकुरी प्रहार गरी गणेश श्रेष्ठलाई मृत्यु गराएको र किर्तन श्रेष्ठलाई घाइते बनाएको भन्ने सुनी थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको लाक्पा शेर्पाको प्रहरीमा भएको कागज ।

            मिति २०६४।१।२५ गते टीकाराम राई, अनिश राई, सानु गुरूङ् र सन्तोष राईले गणेश श्रेष्ठ र किर्तन श्रेष्ठलाई घटनास्थल मुचुल्कामा उल्लिखित स्थानमा घेराउ गरी खुकुरीले घोची रोपी गणेश श्रेष्ठलाई मृत्यु गराएको र किर्तन श्रेष्ठलाई घाइते बनाएको भन्ने कुरा सुनी थाहा पाएको हौं भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्काका मानिसहरू मुना राई, सन्तबहादुर माझी र कल्पना राईले गरेको कागज ।

            प्रतिवादी टीकाराम राई, अनिश राई र सानु गुरूङले मिति २०६४।१।२५ गते गणेश नेवार (श्रेष्ठ), किर्तन श्रेष्ठसमेतलाई घटनास्थलमा घेराउ गरी कुटपीट गरी मार्नमा संयोग पारी दिएको तथ्य पुष्टि हुन आएबाट निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ () नं. बमोजिम सजाय गरिपाउँ । प्रतिवादी सन्तोष राईले उल्लिखित प्रतिवादीहरूले घेरा हाली कुटपीट गरेको अवस्थामा खुकुरीले गणेश नेवार (श्रेष्ठ) लाई घोची रोपी प्रहार गर्दा मृतक गणेश श्रेष्ठको मृत्यु भएको हुँदा निज सन्तोष राईलाई ऐ.महलको १३() नं. बमोजिम र प्रतिवादी सुदेश श्रेष्ठ एवम्प्रनिश राईको हकमा गणेश नेवारलाई हतियार छाड्ने तथा शरीरमा हात हाली मार्नमा संयोग पार्ने र कुटपीट गरेको भन्ने तथ्य नखुले पनि निजहरू ज्यान मार्ने मुख्य प्रतिवादीसँगै उपस्थित भई मतियारका रूपमा वारदात स्थलमा उपस्थित रहेको भन्ने कुरा जाहेरी दरखास्त र प्रतिवादीको कागजसमेतबाट देखिएको हुँदा निजहरूलाई ऐ. महलको १७() नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराले वादी नेपाल सरकारको तर्फबाट पेस भएको अभियोगपत्र ।

            मिति २०६४।१।२५ गते म आफ्नो घरमा छु । बेलुका ७:३० बजेतिर चण्डी नाच हेर्न बुद्ध चौकमा गएको थिएँ । चन्डी नाच हेरेर साथीहरूसहित ८:३० बजेतिर घरमा आई सुतेको हुँ । अन्य प्रतिवादीसँग मेरो भेट भएन । सो दिन मैले मृतक गणेश नेवारलाई घटनास्थलमा घेराउ हाली कुटपीट गरी निजलाई मार्नमा संयोग पुर्याइदिएको छैन । मृतकलाई मैले चिनेको छैन । को कसले मारे, मलाई थाहा छैन । गणेश श्रेष्ठको साथी लाक्पा शेर्पाले मेरी भान्जीलाई मन पराएको भनी भनेकाले सो विषयलाई लिएर २।३ दिन पहिले हामीबीच झगडा भएको थियो । त्यसै कारण लाक्पा शेर्पाले जाहेरी दिन लगाएको हुनुपर्छ । मृतक र सन्तोष राईबीच पहिला झगडा भएको कारण सन्तोष राईले गणेशलाई खुकुरी प्रहार गरी मृत्यु गराएको कुरा सुनेको हुँ । प्रहरीसमक्ष भएको बयान मेरो खुसी राजीबाट भएको होइन । अनिश राई र सानु गुरूङले मलाई किन पोल गरे थाहा छैन । वस्तुस्थिति मुचुल्काका मानिसलाई पनि म चिन्दिन । अभियोग दावीबाट सफाइ भन्नेसमेत व्यहोराको प्रतिवादी टीकाराम राईले अदालतमा गरेको बयान ।

            मृतक गणेश नेवारलाई चिनेको छैन । मिति २०६४।१।२५ गते दिनभर घर मै बसी साझँ ८:३० बजेतिर बुद्ध चौकमा चण्डी नाच हेर्न गई अं. :१५ बजे घर फर्कंदैगर्दा मान्छे मर्यो भनी भागाभाग हुँदा म पनि घर आएँ । त्यसबेला चिनेका कोही पनि साथीसँग भेट भएन । गणेश नेवारलाई को कसले मारे मलाई थाहा छैन । मैले मारेको होइन । किर्तन श्रेष्ठलाई म चिन्दिन । प्रहरीसमक्ष भएको बयान मैले भनेबमोजिम लेखिएको छैन । मैले अभियोग दावी अनुसारको कसुर नगरेको हुँदा सफाइ पाउँ भन्नेसमेत व्यहोराले प्रतिवादी प्रनिश राईले अदालतमा गरेको बयान ।

            मृतक गणेश नेवारलाई चिनेको छु । जाहेरवालीलाई चिनेको छैन । वारदातको दिन मात्र म लखनउबाट आई घरमै छु । म चण्डी नाच हेर्न गएको थिइन । अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान खुसी राजीबाट भएको होइन । टीकाराम राईको बयान झुट्ठा हो । गणेश नेवारको मृत्यु के कसरी भयो, मलाई थाहा छैन । मैले मारेको होइन । मउपरको अभियोग झुट्ठा भएको हुँदा सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी सानु गुरूङले अदालतमा गरेको बयान ।

            वारदातका दिन म आफ्नै घरमा छु । कहीं गएको छैन । मैले मृतक गणेश नेवारलाई चिनेको छैन । गणेश नेवारलाई को कसले मारे मराए थाहा छैन । जाहेरवालीले किन किटानी जाहेरी दिइन् त्यो पनि थाहा छैन । प्रहरीसमक्ष भएको बयान मेरो खुसी राजीबाट भएको बयान होइन । प्रतिवादीहरू टीकाराम राई, सानु गुरूङ, लाक्पा शेर्पा र वस्तुस्थिति मुचुल्काका मानिसले मलाई किन पोल गरे मलाई थाहा छैन भन्नेसमेत व्यहोराको प्रतिवादी अनिश राईले अदालतमा गरेको बयान ।

            मिति २०६४।१।२५ गतेका दिन म धरान घरमै छु । चन्डी नाच हेर्न गएको छैन । गणेश श्रेष्ठलाई को कसले कर्तव्य गरी मारे मराए मलाई थाहा छैन । सो दिन म निजलाई मार्ने मुख्य अपराधीको साथमा गएको तथा मतियार भई घटनास्थलमा उपस्थित भएको पनि छैन । प्रहरीमा कागज गर्ने कुमार राईले किन पोल गरे मलाई थाहा छैन । प्रहरीमा भएको बयान मेरो स्वेच्छाको बयान होइन । तसर्थ सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी सुदेश श्रेष्ठले अदालतमा गरेको बयान ।

            मिति २०६४।१।२५ गते म खोटाङ जिल्लाको मात्तिम गा.वि..मा छु । अन्य प्रतिवादीहरूलाई चिन्दिन । मैले मृतकलाई खुकुरीले घोची रोपी मारे मराएको समेत छैन । म निर्दोष छु । अन्य प्रतिवादीहरूले र जाहेरवालीले किन पोल गरिन्, मलाई थाहा छैन भन्नेसमेत व्यहोराको प्रतिवादी सन्तोष राईले अदालतमा गरेको बयान ।

            वारदात मिति २०६४।१।२५ गते भएको रहेछ । टीकाराम राई र म चण्डी नाच हेरी ८:३० बजे घरमा फर्की टीकारामको घरमा नै बस्यौं । भोलिपल्ट सन्तोष भन्ने व्यक्तिले गणेशलाई मारेको भन्ने सुनेको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी टीकाराम राईको साक्षी दुर्गे चौधरीले गरेको बकपत्र ।

            वारदातका दिन सुदेश श्रेष्ठ र म सुदेशको घरमा नै बसेका थियौं । उक्त दिन सुदेश श्रेष्ठको टीकाराम राईसँग भेट भएको भन्ने कुरा झुट्ठारूपमा लेखिएको होला भन्नेसमेत व्यहोराको प्रतिवादी सुदेश श्रेष्ठको साक्षी भुपेन लिम्बुको बकपत्र ।

            मिति २०६४।१।२५ गते भईरहेको चण्डी नाचमा मानिस मरेको हल्ला चलेपछि प्रनिश राई अतालिएर घरमा आएका थिएँ भन्नेसमेत व्यहोराको प्रतिवादी प्रनिश राईको साक्षी सुवोधन भन्ने शुभधन राईले गरेको बकपत्र ।

            वारदातका दिन सन्तोष राई खोटाङको मात्तिममा थिएँ । उनलाई मैले गाउँमा भेटेको हो । सन्तोष राई गाउँमा भएको लिखित प्रमाण दिन सक्दिन । सन्तोष राईले वारदात घटाएको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी सन्तोष राईको साक्षी प्रेम चाम्लिङ राईले गरेको बकपत्र ।

            वारदातको दिन म र अनिस दुबैजना साझँको ८ बजेदेखि १० बजेसम्म अनिशको घरमा टि.भी. हेरेर बसेका थियौं । घटनामा अनिशको संलग्नता छैन भन्नेसमेत व्यहोराको प्रतिवादी अनिश राईको साक्षी डण्डु श्रेष्ठले गरेको बकपत्र ।

मिति २०६४।१।२५ गते दिउँसो मात्र सानु गुरूङ लखनउबाट आएका हुन् । म र ऊ रातभरि सँगै छौं । निजको घटनामा संलग्नता छैन भन्नेसमेत व्यहोराको प्रतिवादी सानु गुरूङको साक्षी बिमल राईले गरेको बकपत्र ।

            प्रतिवादी टीकाराम राई, अनिश राई र सानु गुरूङको हकमा विचार गर्दा बुझिएका मानिस लाक्पा शेर्पासमेतले यिनै प्रतिवादीहरूले मृतक गणेश नेवार (श्रेष्ठ) लाई कुटपीट गरी खुकुरी प्रहार गरी मारेको सुनेको भनी र वस्तुस्थितिका सबै मानिसहरूले गणेश श्रेष्ठलाई खुकुरी प्रहार गरी मारेका हुन् भनी लेखाइदिएको देखिन्छ । यी प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा मृतकलाई कुटपीट गरेको कुरालाई स्वीकार गरेको देखिन्छ । प्रतिवादी सन्तोष राईको हकमा हेर्दा प्रतिवादीहरू अनिश राई, टीकाराम राई र सानु गुरूङले अधिकारप्राप्त अधिकारीसमक्ष सन्तोष राईले मृतकलाई खुकुरी प्रहार गरेको भनी बयान गरेको देखिन्छ । त्यसैगरी वारदातमा संलग्न भएको भन्ने कुरा वस्तुस्थिति मुचुल्काका मानिसहरूले लेखाइदिएको तथ्य मिसिलबाट देखिन्छ । प्रतिवादी अदालतमा इन्कारी रहेको भएता पनि उल्लिखित प्रतिवादीहरूको पोलयुक्त बयानलाई युक्तिसङ्गतरूपमा खण्डन गर्न सकेको देखिएन । प्रतिवादी सुदेश श्रेष्ठ र अनिश राईको हकमा वस्तुस्थिति मुचुल्काका मानिस एवम्घाइते किर्तन श्रेष्ठले पनि पोल गरेको नदेखिँदा प्रतिवादीहरू सुदेश श्रेष्ठ तथा अनिश राईले सफाइ पाउने ठहर्छ । प्रतिवादीहरू टीकाराम राई, अनिश राई तथा सानु गुरूङलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम जन्मकैद र प्रतिवादी सन्तोष राईलाई ऐ. महलको १३() नं. बमोजिम सर्वस्वसहित जन्म कैदको सजाय हुन्छ । प्रतिवादी अनिश राई र सानु गुरूङले मार्नेसम्मको मनसाय राखी कुटपीट गरेको भन्न सकिने अवस्था नहुँदा जन्मकैदको सजाय गर्दा चर्को पर्ने हुँदा निज दुबैजनालाई अ.बं. १८८ नं. बमोजिम जनही ५।५ वर्षको कैद सजाय गर्न मनासिब हुन्छ भन्नेसमेत व्यहोराको सुनसरी जिल्ला अदालतको मिति २०६६।४।३२ को फैसला ।

            इन्कारी बयान कसुरबाट सफाइ पाउने प्रमाण होइन । घटनाको बारेमा बुझिएका कुमार राईको कागजबाट वारदातमा प्रतिवादीहरू सुदेश श्रेष्ठ र अनिश राई संलग्न रहेको प्रमाणित हुन्छ । इन्कारी बयानको आधारमा मात्र निजहरूलाई सफाइ दिन मिल्दैन । धार भएको जोखिमी हतियार खुकुरीले घोची रोपी मृतकको मृत्यु भएको र किर्तन श्रेष्ठ घाइते भएको मिसिलबाट पुष्टि भैसकेको छ । तसर्थ प्रतिवादीहरू सुदेश श्रेष्ठ र अनिश राईलाई पनि दावीबमोजिम सजाय हुनुपर्दछ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत, विराटनगरमा पेस भएको   पुनरावेदनपत्र ।

            मउपर मृतकलाई धारिलो हतियार प्रहार गरी मारेको भन्ने आरोप लगाइए पनि मैले के, कसरी, किन र कुन रिसइबीको कारणले ज्यान मार्नेसम्मको काम गरेको भन्ने पुष्टि नै नभइरहेको र वस्तुस्थिति मुचुल्काका मानिसले मैले मृतकलाई कुटपीट, मुक्का, खुकुरी प्रहार गरी मारेको सुनी थाहा पाएको भनी लेखाइदिएको अवस्थामा मलाई दोषी ठहर गरेको सुरू अदालतको फैसला नमिलेको हुँदा बदर गरी सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी सन्तोष राईले पुनरावेदन अदालत, विराटनगरमा पेस गरेको पुनरावेदनपत्र ।

            हामी अदालतमा कसुर गरेकोमा पूर्ण इन्कार रहेका छौं । अभियोग दावी पुष्टि गर्नका लागि जाहेरी दरखास्त र किर्तन श्रेष्ठको कागजलाई मुख्य प्रमाण बनाएको भए पनि निजहरूको अदालतमा बकपत्र नभएको हुँदा शङ्कारहित प्रमाणको अभावमा कसुरदार ठहर्याउन नमिल्ने हुँदा सुरू अदालतको फैसला बदर गरी सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी टीकाराम राई, अनिश राई र सानु गुरूङको तर्फबाट संयुक्तरूपमा पुनरावेदन अदालत, विराटनगरमा पेस भएको पुनरावेदनपत्र ।

            प्रतिवादी सन्तोष राईलाई सर्वस्वसहित जन्मकैद, प्रतिवादीहरू टीकाराम राई, सानु गुरूङ र अनिश राईलाई जन्मकैद हुने गरी तथा प्रतिवादी सुदेश श्रेष्ठ र प्रनिश राईलाई सफाइ दिने गरी सुरू सुनसरी जिल्ला अदालतबाट मिति २०६६।४।३२ मा भएको फैसला प्रमाणको रोहमा मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरू सुदेश श्रेष्ठ र प्रनिश राईलाई पनि अभियोगबमोजिम सजाय गरिपाउँ भन्ने वादी र सफाइ पाउँ भन्ने पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रतिवादी अनिश राई र सानु गुरूङलाई सुरू जिल्ला अदालतबाट अ.बं. १८८ नं. बमोजिम ५/५ वर्ष कैद हुने भनी व्यक्त गरिएको राय मनासिब देखिन आएन । निजहरूको हकमा पनि ठहर फैसला भएकाले कानूनबमोजिम साधक जाहेर गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, विराटनगरको मिति २०६७।९।१ को फैसला ।

            उक्त फैसलामा चित्त बुझेको छैन । हामीलाई कसुरदार ठहर गर्दा लाक्पा शेर्पा र कुमार राईले सुनेको भनेर लेखाएको कुरालाई यथेष्ट प्रमाणमा लिइएको छ । मृतकलाई हामीले मारेको भनेर लेखाउन सकेको छैन । बुझिएका मानिसहरू पनि घटनाका प्रत्यक्षदर्शी होइनन् । वादी पक्षका साक्षीले बकपत्र गरेका छैनन् । वारदातमा घाइते भएका किर्तन श्रेष्ठले पनि प्रष्ट लेखाउन सक्नुपर्नेमा प्रष्ट लेखाउन सकेको देखिँदैन । तसर्थ उक्त फैसला प्रमाण ऐन, २०३१ को दफा ३, ५४ र मुलुकी ऐन, .बं. १८४() नं. विपरीत भएको हुँदा बदर गरी अभियोग दावीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराले प्रतिवादी टीकाराम राई र सानु गुरूङले यस अदालतमा पेस गरेको पुनरावेदनपत्र ।

            म वारदातमा थिएँ भनी प्रतिवादी टीकाराम राईसमेतले अधिकारप्राप्त अधिकारीसमक्ष लेखाएको भएता पनि अदालतमा आई सो कुरा लेखाउन सकेको देखिँदैन । खुकुरी प्रहारबाट सख्त घाइते भएका किर्तन श्रेष्ठले खुकुरी प्रहार गर्ने व्यक्ति को को हुन् भनेर लेखाउन सक्नुभएको छैन । प्रतिवादी सुदेश श्रेष्ठले प्रतिवादी सन्तोष राईले मृतकसमेतलाई खुकुरी प्रहार गरेको भनी गरेको बयानलाई आधार बनाई फैसला गर्न मिल्दैन । त्यसैगरी वारदातको दिन म खोटाङको मात्तिममा भएको कुरा मैले बयानमा पनि उल्लेख गरेको छु भने मेरो साक्षीले पनि मात्तिममा भेट भएको भनी लेखाइदिएको छ । यो तथ्यलाई युक्तिसङ्गत छैन भन्न मिल्दैन । मृतकलाई खुकुरी प्रहार गरेको छैन भन्ने कुरामा म इन्कार छु । मृतकलाई मैले चिनेको पनि थिएन । यसरी म अन्यत्र रहेको अवस्थामा भएको वारदातमा मलाई कसुरदार ठहर्याउनु फौजदारी न्यायको भावना र मर्मविपरीत भएको हुँदा सो फैसला बदर गरी सफाइ पाउँ भन्नेसमेत व्यहोराले प्रतिवादी सन्तोष राईले यस अदालतमा पेस गरेको पुनरावेदनपत्र ।

            पुनरावेदन अदालतले मलाई कसुरदार ठहर गर्दा मृतकलाई पूर्व रिसइबीको कारणले मृत्यु गराएको भन्ने आधार लिएको छ । वादी पक्षबाट मृतकको मृत्यु कसको कारणबाट भएको हो भन्ने कुरा देखाउन सकेको अवस्था छैन । खुकुरी कसको हो, कहाँबाट ल्याएको र कसले ल्याएको भन्ने कुरा पनि नदेखिएको अवस्थामा भएको फैसला प्रमाण ऐन, २०३१ को दफा ३, ५४ र मुलुकी ऐन, .बं. १८४क नं. विपरीत हुँदा बदर गरी अभियोग दावीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी अनिश राईको तर्फबाट यस अदालतमा पेस भएको पुनरावेदनपत्र ।

            नियमबमोजिम दैनिक पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न सक्कल कागजातहरूको अध्ययन गरी प्रतिवादी टीकाराम राई र सानु गुरूङको तर्फबाट उपस्थित विद्वान्अधिवक्ता श्री रेणुकाकुमारी सिटौलाले मृतक गणेश नेवारको मृत्यु प्रतिवादी टीकाराम राई र सानु गुरूङको संलग्नताबाट भएको भन्ने तथ्य प्रमाणबाट पुष्टि भएको छैन । धेरै जना भई साँझको समयमा घेरा हाली लात मुक्काले कुटपीट गरेको र खुकुरी प्रहार भएको भन्ने देखिएता पनि को कसले लात, मुक्काले हाने, कसले खुकुरी प्रहार गरेको भन्ने कुरा प्रत्यक्षदर्शीबाट खुल्न सकेको छैन । सोही घटनामा घाइते भएका किर्तन श्रेष्ठले अनुसन्धानको क्रममा मृतकलाई खुकुरी प्रहार गर्ने व्यक्ति टीकारामलाई थाहा छ भनी कागज गरेको भएता पनि निजले अदालतमा आई उक्त कुरालाई पुष्टि गर्न सकेको देखिँदैन । अदालतमा आई बकपत्र नगरेसम्म अनुसन्धानको क्रममा व्यक्त गरिएको कुरालाई प्रमाण लिन मिल्दैन । तसर्थ विपक्षी झिकाई मुद्दामा कारवाही गरिनुपर्दछ भन्नेसमेत व्यहोराले बहस प्रस्तुत गर्नुभयो ।

प्रतिवादी सन्तोष राईको तर्फबाट उपस्थित विद्वान्अधिवक्ता श्री दीपेन्द्रकुमार राईले जाहेरी दरखास्तमा यी प्रतिवादीउपर जाहेरी परेको छैन । वारदातका दिन प्रतिवादी खोटाङको मात्तिममा नै रहे बसेको भन्ने कुरा बयान तथा साक्षीको बकपत्रबाट देखिन्छ । सहअभियुक्त टीकाराम राई, अनिश राई, सानु गुरूङ र सुदेश श्रेष्ठले अधिकारप्राप्त अधिकारीसमक्ष सन्तोष राईले मृतकलाई खुकुरी प्रहार गरेको भनी पोल गरेको भएता पनि प्रत्यक्षदर्शीसमेत रहेका घाइते किर्तन श्रेष्ठले सन्तोष राईले खुकुरी प्रहार गरेको भन्न सकेको अवस्था छैन । प्रतिवादी सुदेश श्रेष्ठले पनि आफैँले देखेर पोल गरेको नभई सुनेर पोल गरेको छ । सुनेर थाहा पाएको कुरालाई प्रमाणमा लिन मिल्दैन । तर्सथ, सुनी थाहा पाएको भनी लेखाइ दिएको कागजको भरमा मात्र प्रतिवादी सन्तोष राईलाई कसुरदार ठहर गरेको फैसला प्रमाण मूल्याङ्कनको रोहमा नमिलेको हुँदा विपक्षी झिकाई मुद्दामा कारवाही गरिनुपर्दछ भन्नेसमेत व्यहोराले बहस प्रस्तुत गर्नुभयो ।

            पुनरावेदकहरूको तर्फबाट उपस्थित विद्वान्कानून व्यवसायीले गर्नुभएको उपरोक्त बहससमेत सुनी पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको छ छैन  पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

            . निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरू टीकाराम राई, अनिश राई र सानु गुरूङले मिति २०६४।१।२५ गते साँझको समयमा धरानको बुद्ध चौकबाट चन्डी नाच हेरी घर फर्कंदै गरेका मृतक गणेश नेवार (श्रेष्ठ) लाई सुनसरी जिल्लाको धरान स्थित दुर्गा चौकमा घेराउ गरी हातको मुक्काले कुटपीट गरी शरीरमा हात हाली मार्नमा संयोग पारिदिएको हुँदा निज प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम, प्रतिवादी सन्तोष राईले उल्लिखित तीनजना प्रतिवादीहरूले घेराउ गरी कुटपीट गर्दैगर्दाको अवस्थामा खुकुरी प्रहारबाट घोची रोपी मृतक गणेश नेवारको मृत्यु गराएको हुँदा निजलाई ऐ महलको १३() नं. बमोजिम र प्रतिवादी प्रनिश राई र सुदेश श्रेष्ठ घटनास्थलमा उपस्थित भई मुख्य प्रतिवादीसँग मतियारको भूमिका निर्वाह गरेकाले निजहरूलाई ऐ. को १७() नं. बमोजिम सजाय गरी पाउन मागदावी लिई अभियोगपत्र दायर भएको देखिन्छ । प्रतिवादीहरू टीकाराम राई, अनिश राई तथा सानु गुरूङको हकमा जन्मकैद, प्रतिवादी अनिश राई तथा सानु गुरूङलाई मुलुकी ऐन, .बं. १८८ नं. बमोजिम ५।५ वर्ष कैद हुने, प्रतिवादी सन्तोष राईको हकमा सर्वस्वसहित जन्मकैद र प्रतिवादीहरू प्रनिश राई र सुदेश श्रेष्ठले सफाइ पाउने ठहरी सुरू सुनसरी जिल्ला अदालतबाट २०६६।४।३२ मा फैसला भएको देखिन्छ । पुनरावेदन अदालतले मुलुकी ऐन, .बं. १८८ नं. बमोजिम प्रतिवादीहरू सानु गुरूङ र अनिश राईलाई सुरू अदालतले ५।५ वर्ष कैद हुने भनी व्यक्त राय बदर गरी सुरू फैसला सदर गरेउपर प्रतिवादीहरू टीकाराम राई, सन्तोष राई, सानु गुरूङ र अनिश राईको तर्फबाट यस अदालतमा छुट्टाछुट्टै पुनरावेदनपत्र दायर हुन आएको देखियो ।

            . पुनरावेदक प्रतिवादीहरू कसुरदार हुन् होइनन् भन्ने सम्बन्धमा विचार गर्दा शव परीक्षण प्रतिवेदनमा मृतक गणेश नेवार (श्रेष्ठ) को मृत्युको कारण Cause of death due to shock as a result of stab injury to vital organ भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । यसबाट निजको मृत्यु शरीरको महत्त्वपूर्ण अङ्गमा ठूलो मात्रामा चोट लागी भएको भन्ने तथ्य स्पष्ट हुन आएको छ । त्यसै गरी घटनास्थल प्रकृति मुचुल्काबाट बायाँ कोखमा १ ईन्च प्वाल परेको, प्वालबाट रगत बगी केही रगत कोखा छेउमा जमी केही रगत सडकमा पुगेको भन्ने व्यहोरा उल्लेख भएबाट मिति २०६४।१।२५ गते मृतकको मृत्यु अस्वभाविकरूपमा कर्तव्यबाट भएको कुरा स्थापित भएको छ । प्रतिवादीहरू टीकाराम राई, सानु गुरूङ तथा अनिश राईसमेतले साँझको समयमा साथीहरूसँग घर आउँदै गरेका मृतक छोरा गणेश नेवार (श्रेष्ठ) लाई धरानस्थित दुर्गा चौकमा घेरा हाली आपसमा मिलेमतो गरी वारदात स्थलमा विभिन्न भूमिका निर्वाह गरी मृत्यु गराएको हुँदा कानूनबमोजिम कारवाही गरिपाउँ भनी मृतक गणेश नेवारको आमा आशा नेवार (राई) ले इलाका प्रहरी कार्यालय, धरानमा जाहेरी दरखास्त दिएको देखिन्छ । 

. प्रतिवादी सन्तोषले आरोपित कसुर गरेको हो होइन भन्ने सम्बन्धमा विचार गर्दा  प्रतिवादी सन्तोष राईले प्रहार गरेको खुकुरीको चोटको कारण मृतक गणेश नेवार (श्रेष्ठ) को मृत्यु भएको हुँदा निज सन्तोष राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सजाय गरिपाउँ भनी वादी पक्षले अभियोग माग दावी लिएको देखिन्छ । उक्त १३() नं मा धार भएको वा नभएको जोखिमी हतियार गैह्र हानी घोची ज्यान मारेमा जतिजना भै हतियार छाडेको छ उतिजना ज्यानमारा ठर्हछन् । सर्वस्वसहित जन्म कैदको सजाय गर्नुपर्छ भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । प्रतिवादी सन्तोष राईले प्रतिवादीहरू टीकाराम राई, अनिश राई, सानु गुरूङसमेतले गरेको पोल झुट्ठा हो, आफू वारदातको दिन र समयमा वारदातस्थलमा नभई खोटाङ जिल्लामा थिएँ भनी अन्यत्रस्थल (Alibi) रहेको जिकिर लिई सुरू सुनसरी जिल्ला अदालतमा इन्कारी रही बयान गरेको देखिन्छ । अन्यत्रस्थल (Alibi) रहेको जिकिरको सम्बन्धमा हेर्दा प्रमाण ऐन, २०३१ को दफा २७ को उपदफा () मा भएको कानूनी व्यवस्थाबमोजिम आरोपित कसुरबाट सफाइ वा छुट पाउनको लागि घटनास्थलमा उपस्थित नभई अन्यत्र थिएँ भन्नका लागि प्रतिवादीले आफूले अन्यत्र स्थल (Alibi) को दावी पुष्टि गर्नु पहिलो र अनिवार्य सर्त हो । प्रतिवादीको जिल्ला अदालतमा भएको बयान हेर्दा पुर्ख्यौली घर खोटाङ भई हाल धरान नगरपालिका वडा नं १७ रत्न चौकमा बसोवास गर्ने गरेको भन्ने देखिन्छ । सहप्रतिवादी टीकाराम राई, अनिश राई र सानु गुरूङले धरान रत्न चौक बस्ने सन्तोष राईले मृतकलाई खुकुरी प्रहार गरेको भनी अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको देखिन्छ । यसबाट वारदातको दिन प्रतिवादी सन्तोष राई धरानमा नै रहे भएको भन्ने

देखिन्छ । धरानमा बसोवास गर्दै आएका यी प्रतिवादी सन्तोष राई आफू कुन समयमा खोटाङ गएको भनी भन्न सकेको देखिँदैन । आफू अन्यत्र रहेको भनी अन्यत्रको दावी लिनेले कानूनतः आफू त्यसरी अन्यत्र रहेको पुष्टि गर्नुपर्ने

हुन्छ । केवल लगाइएको आरोपबाट सफाइ पाउने मनसाय र उद्देश्यले मात्र अन्यत्र रहेको थिएँ भन्ने कुरा तर्कयुक्त र स्वीकार्य हुन सक्तैन ।

. घटनास्थलमा नभई अन्यत्र खोटाङ जिल्लामा भएको कुरा यी प्रतिवादीले विवादरहित प्रमाणबाट प्रमाणित गर्नुपर्नेमा प्रतिवादी सन्तोष राईले आफू खोटाङमा रहे भएको कुरा प्रमाणित गर्न सकेको देखिँदैन । निजका साक्षीले प्रतिवादीलाई वारदातको दिन र समयमा खोटाङको मात्तिममा भेटेको भनी बकपत्र गरेको भएता पनि लिखितरूपमा अदालतलाई विश्वास दिलाउन सकेको अवस्था देखिएन । यसबाट यी प्रतिवादीले कसुरबाट उम्कन मात्र अन्यत्रस्थलमा रहे भएको भनी इन्कारी बयान गरेको देखियो । यस अदालतको संयुक्त इजलासबाट पुनरावेदक दीपकबहादुर घिमिरे विरूद्ध नेपाल सरकार (नेकाप २०७१ साउन, निर्णय नं ९१४४, पृष्ठ ४४२) मा प्रतिपादित सिद्धान्त अनुसार पनि आफू अन्यत्र स्थलमा रहेको (Alibi) को जिकिर स्वतन्त्र र तथ्यपूर्ण प्रमाणबाट समर्थित गराएमा मात्रै प्रमाणको लागि ग्राह्य हुन सक्छ ।

. अब, यी प्रतिवादीले प्रहार गरेको खुकुरीको चोटबाट मृतक गणेश नेवारको मृत्यु भएको भन्ने अभियोग दावी भएकाले त्यस सम्बन्धमा विचार गर्दा प्रतिवादी टीकाराम राई, अनिश राई, सानु गुरूङसमेतले गरेको पोल झुट्ठा हो भनी आरोपित कसुरमा इन्कारी रही सन्तोष राईले सुनसरी जिल्ला अदालतमा बयान गरेको देखिन्छ । प्रतिवादीहरू टीकाराम राई, अनिश राई र सानु गुरूङ्ले अधिकारप्राप्त अधिकारीसमक्ष आफूहरूसमेत भै लाक्पा शेर्पालाई खोजी गर्दै जाँदा लाक्पा शेर्पाको साथी मृतक गणेश नेवार (श्रेष्ठ) समेतलाई दुर्गा चौकमा फेला पारी घेराउ गरी कुटपीट गर्दै गर्दा मृतकसँग रिसइबी भएका सन्तोष राईले ल्याएको खुकुरीले प्रहार गरेको चोटले गणेश नेवार (श्रेष्ठ) को घटनास्थलमै मृत्यु भएको हो भन्ने व्यहोराले यी प्रतिवादीलाई पोल गरी आफूसमेत कसुरमा साबिती रही बयान गरेको देखिन्छ ।

. प्रतिवादीहरू टीकाराम राई, अनिश राई र सानु गुरूङसमेतले उपर्युक्त व्यहोराले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको देखिएकोमा निजहरूले अदालतसमक्ष बयान गर्दा अधिकारप्राप्त अधिकारीसमक्षको बयान स्वेच्छाको होइन भनी लेखाएको भएता पनि निजहरूलाई डर त्रास दिई कर्तव्य ज्यान जस्तो गम्भीर प्रकृतिको कसुरमा प्रहरीले फसाउनुपर्नेसम्मको कुनै औचित्यपूर्ण कारण खुलाउन सकेको छैन । अनुसन्धानमा कुटपीट गरी वारदातमा साबित गराएको भनी जिकिर लिएको सम्बन्धमा हेर्दा कुटपीट गरी साबित गराएको भन्ने कुनै तथ्ययुक्त प्रमाण निजहरूको तर्फबाट पेस भएको पनि नदेखिएकाले उल्लिखित प्रतिवादीहरूले यी प्रतिवादी सन्तोष राईले गरेको खुकुरी प्रहारबाट मृतक गणेश नेवारको मृत्यु भएको भनी गरेको इन्कारी बयान खण्डित भई प्रतिवादीहरू टीकाराम राई, अनिश राई र सानु गुरूङ्ले यी प्रतिवादी सन्तोष राईले गरेको खुकुरी प्रहारबाट गणेश नेवारको मृत्यु भएको भनी अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयान समर्थित हुन आएको छ । त्यसै गरी घटनास्थल लास जाँच मुचुल्का, मृत्युसँग सम्बन्धित मृतकका फोटोहरू तथा शव परीक्षण प्रतिवेदनसमेतका प्रत्यक्ष प्रमाण कागजहरूबाट पनि उपर्युक्त व्यहोराले पोल गरी गरेको बयान समर्थित भएको देखिँदा यी प्रतिवादीले प्रहार गरेको खुकुरीको चोटबाट मृतक गणेश नेवार (श्रेष्ठ) को मृत्यु भएको तथ्य प्रमाणित हुन आयो ।

. प्रतिवादी टीकाराम राई, सानु गुरूङ र अनिश राईको हकमा विचार गर्दा यी प्रतिवादीहरूले मृतकलाई घेराउ गरी कुटपीट गरी प्रतिवादी सन्तोष राईलाई मार्नमा संयोग पारिदिएको हुँदा निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. बमोजिम सजाय गरी पाउन माग दावी लिएको देखिन्छ । मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३() नं. मा जुनसुकै कुरा गरिकन पनि ज्यान मार्नामा वचन दिनेलाई वा वारदात भै रहेको ठाउँमा गै मार्नालाई संयोग पारिदिना निमित्त मर्ने मानिसको जिउमा हात हाली पक्री समाती दिनेलाई जन्म कैद गर्नुपर्दछ भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । पुनरावेदक टीकाराम राईले वारदातको दिन प्रतिवादी अनिश राई र सानु गुरूङसमेत भई लाक्पा शेर्पालाई खोजी गरेकोमा निजलाई नभेटी वारदातस्थलमा निजका साथी गणेश नेवार (श्रेष्ठ) र किर्तन श्रेष्ठसमेतलाई भेटी किर्तन श्रेष्ठ र मृतकलाई आफू, अनिश राई र सानु गुरूङले कुटपीट गर्दैगर्दा सन्तोष राईले खुकुरीले प्रहार गर्दा मृतकको मृत्यु भएको हो भनी अधिकारप्राप्त अधिकारीसमक्ष वारदातको स्पष्ट चित्रण हुने गरी बयान गरेको देखिन्छ । प्रतिवादीहरूले कुमार राई, लाक्पा शेर्पासमेतका मानिसहरूले गरेको पोल झुट्ठा हो, हामीलाई डर, त्रास देखाई कुटपीट गरी बयान गराएको हो, मृतकलाई मार्नमा आफूहरूको संलग्नता र भूमिका नभएको भनी अदालतमा इन्कारी बयान गरेको देखिन्छ ।

. त्यसरी प्रतिवादीहरू अदालतमा उपर्युक्त व्यहोराले डर, धाक र कुटपीटबाट बयान गराएको भनी कसुरमा इन्कारी रहेको देखिएता पनि निजहरूले अधिकारप्राप्त अधिकारीसमक्ष भएको  बयान डर, धम्कीबाट साबित बयान गराएको हो भने के कसरी डर धम्की दिई अधिकारप्राप्त अधिकारीले बयान गराएको हो, सो कुरा प्रष्ट खुलाउन सक्नुपर्नेमा खुलाउन सकेको पाइँदैन । अधिकारप्राप्त अधिकारीले डर देखाई धम्की दिई गम्भीर प्रकृतिको कर्तव्य ज्यान मुद्दामा साबित बयान गराउनपर्ने कारण पनि देखिएको छैन । कुटपीटबाट बयान गराएको हो भने निजहरूको शरीरमा नील, डाम तथा चोटपटक लागेको हुनुपर्नेमा अनुसन्धानको क्रममा वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गराइएको स्वास्थ्य जाँच प्रतिवेदनमा प्रतिवादीहरूको शरीरमा नील, डाम तथा चोटपटक लागेको देखिँदैन । नील, डाम तथा चोटपटक लागेको नदेखिएको अवस्थामा कुटपीटबाट बयान भएको हो भन्न मिलेन । यसरी डर, धम्की र कुटपीटबाट बयान गराई साबित गराएको भन्ने तथ्य प्रमाणित नभएबाट निजहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयान स्वेच्छाको भई निजहरूको विरूद्ध प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रमाणमा लिन मिल्ने नै देखियो ।

१०. पुनरावेदक प्रतिवादीहरूले अनुसन्धानको क्रममा पोल गरी लेखाई दिने किर्तन श्रेष्ठसमेतले अदालतमा बकपत्र नगरेको हुँदा आफूहरूले कसुरबाट सफाइ पाउनुपर्दछ भनी जिकिर लिएको सम्बन्धमा हेर्दा अनुसन्धानको क्रममा बुझिएका किर्तन श्रेष्ठको बकपत्र हुन सकेको नदेखिए पनि मृतकको शरीरमा लागेको घा खतको प्रकृति हेर्दा किर्तन श्रेष्ठको अधिकारप्राप्त अधिकारीसमक्षको कागज व्यहोरालाई अन्यथा भन्न सकिने देखिएन । त्यसै गरी अन्य जाहेरवाली तथा वस्तुस्थिति मुचुल्काका मानिसहरूले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष लेखाइदिएको कागजबाट पनि प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको साबिती बयान व्यहोरा समर्थन नै भइरहेको देखिँदा प्रतिवादीहरूले मृतकलाई मार्नमा संयोग पारी दिएको तथ्य स्पष्टरूपमा पुष्टि हुन आएको देखियो ।

            ११. अतः प्रतिवादी सन्तोष राईलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ को देहाय () नं. बमोजिम सर्वस्वसहित जन्मकैद र प्रतिवादीहरू टीकाराम राई, अनिश राई र सानु गुरूङलाई ऐ. महलको १३ को देहाय () नं. बमोजिम जन्मकैदको सजाय हुने ठहर्याई सुरू सुनसरी जिल्ला अदालतबाट मिति २०६६।४।३२ मा भएको फैसला सदर गर्ने पुनरावेदन अदालत, विराटनगरको मिति २०६७।९।१ को फैसला मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ को देहाय () () अनुरूप भएको देखिँदा सदर हुने ठर्हछ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्तैन ।

१२. प्रतिवादीहरू टीकाराम राई, अनिश राई र सानु गुरूङलाई जन्मकैदको सजाय नगरी घटी सजाय हुनुपर्ने हो होइन भन्ने सम्बन्धमा हेर्दा यी प्रतिवादीहरूले वारदातको दिन मृतकसमेतलाई घेरा हाली कुटपीट गरेको अवस्थामा प्रतिवादी सन्तोष राईले खुकुरीले प्रहार गर्दा मृतक गणेश नेवार (श्रेष्ठ) को मृत्यु भएको देखिन्छ । घटनाका प्रत्यक्षदर्शी किर्तन श्रेष्ठले पनि यी प्रतिवादीहरूले कुटपीट मात्र गरेको भनी लेखाइदिएको र लाक्पा शेर्पालाई खोज्दै जाँदा मृतकसमेतलाई भेटी एक्कासी परिस्थितिवश घेरा हाली कुटपीट गरेको भन्ने देखिन आएको र सन्तोष राईको खुकुरी प्रहारबाट मृतकको मृत्यु भएको, यी प्रतिवादीहरूको कुटपीटबाट मृतकको मृत्यु भएको नदेखिनुको साथै मार्नुपर्नेसम्मको पूर्व योजना र मनसाय पनि भएको नदेखिएकाले प्रतिवादीहरू टीकाराम राई, अनिश राई र सानु गुरूङलाई जनही ८।८ वर्ष कैद सजाय गर्दा न्यायको उद्देश्यसमेत पूरा हुन जाने भएकाले मुलुकी ऐन, .बं. १८८ नं. बमोजिम प्रतिवादीहरू टीकाराम राई, अनिश राई र सानु गुरूङलाई जनही ८।८ वर्षको कैद सजाय हुने ठर्हछ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

. सुरू अदालतको तपसिल खण्डको २ नं. मा प्रतिवादीहरू टीकाराम राई, अनिश राई र सानु गुरूङलाई जन्मकैदको सजाय हुने भनी उल्लेख भएको देखिएकोमा यस अदालतबाट पनि प्रतिवादीहरूलाई जन्मकैदको सजाय ठहर भएको भएता पनि जनही ८।८ वर्ष मात्र कैद सजाय हुने भनी राय व्यक्त भएकाले प्रतिवादीहरू टीकाराम राई, अनिश राई र सानु गुरूङलाई जनही ८।८ वर्षको कैदको लगत राखी असुलउपर गर्नु भनी सुनसरी जिल्ला अदालतमा लेखिपठाउनू ।

. दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।  

 

उक्त रायमा सहमत छु ।

प्र.न्या.रामकुमार प्रसाद शाह                                   

  

इति संवत्२०७१ साल असोज २७ गते रोज २ शुभम् ।

इजलास अधिकृत : भीमबहादुर निरौला

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु