निर्णय नं. ९२९० - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल
माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
फैसला मिति : २०७१।७।१७।२
०६७-CR-०४९४
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादी : जिल्ला नवलपरासी, रामग्राम नगरपालिका वडा नं. १२ घर भै हाल कारागार कार्यालय, पाल्पामा थुनामा रहेका त्रिवेणी पासी
विरूद्ध
प्रत्यर्थी/वादी: हरिचन्द्र चौधरीको जाहेरीले नेपाल सरकार
०६७–CR–०५३६
पुनरावेदक/वादी : हरिचन्द्र चौधरीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : जिल्ला नवलपरासी, रामग्राम नगरपालिका वडा नं. १२ बस्ने त्रिवेणी पासी
§ मृतक नाथु चौधरीले वारदातबाट घाइते भएपश्चात दिएको निवेदनसमेतमा आफू र प्रतिवादीबीच कुटपीट गर्नुपर्ने पूर्व रिसइबी थियो भनी उल्लेख गर्न सकेको देखिँदैन । मृतक नाथु चौधरीको घरमा प्रतिवादी त्रिवेणी पासी मदिरा पिई आई श्रीमतीसँग रक्सी मागेको, रक्सी दिन इन्कार गर्दा श्रीमतीलाई गालीगलौज र कुटपीट गर्न थालेको, मृतकले प्रतिवादीलाई समात्न खोज्दा भागेको र मैले लखेट्न छोडेपछि केही समयपछि फर्की आई कुटपीट गरेको भन्नेसम्म उल्लेख गरेको देखिँदा यसबाट पूर्व रिसइबी रहेको र ज्यानै मार्नुपर्ने नियत भएको भन्ने कुरा नदेखिने ।
(प्रकरण नं. ७)
§ मृतकको शव परीक्षण प्रतिवेदन, घा जाँच फारामबाट धारिलो हतियार प्रहार भएको घाउको प्रकृति देखिँदैन । त्यस्तो धारिलो हतियार बरामद हुन सकेको अवस्था पनि छैन । जाहेरवालाले रडले हान्यो भनेकोमा सोसमेत बरामद भएको देखिँदैन । मृतक स्वयम्ले मौकामा दिएको निवेदनमा धारिलो हतियारले कुटपीट गरेको भनी उल्लेख गरेको देखिँदैन । त्यसरी टाउकोमा लागेको चोट रडको नभै अन्य कारणले समेत लाग्न सक्ने हुँदा प्रतिवादीले रड प्रहार गरी लागेको समेत भन्न नमिल्ने ।
(प्रकरण नं. ८)
वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता बालकृष्ण वाग्ले
प्रतिवादीको तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्रुतीकुमारी रेग्मी
अवलम्बित नजिर :
सम्बद्ध कानून :
§ मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) र १४ नं.
§ प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख)
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या.श्री शेखरचन्द्र अर्याल
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या.श्री दुर्गाप्रसाद उप्रेती
मा.न्या.श्री जगदीश शर्मा पौडेल
फैसला
न्या.गिरीश चन्द्र लाल : पुनरावेदन अदालत, बुटवलको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :
मिति २०६५/८/४ गतेका बेलुका अं. ७:०० बजेको समयमा हामी परिवारहरू खाना खान लागेको अवस्थामा विपक्षी त्रिवेणी पासी मादक पदार्थ रक्सी खाई आई मेरो कोठामा पस्न लागेको अवस्थामा श्रीमतीले किन भित्र पस्न लागेको हो भन्दा मलाई दारू देउ भन्न थालेकाले दारू दिन इन्कार गर्दा मेरी श्रीमतीलाई मुक्का प्रहार गर्ने, कपाल तान्ने, मलाईसमेत प्रतिवादीले कुटपीट गरी दिनुका साथै मेरी श्रीमतीको हातसमेत भाँची दिएको हुँदा आवश्यक कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको नाथु चौधरीको निवेदन ।
मिति २०६५/८/४ गतेका बेलुका मेरो आमा ज्ञानमती चौधरी र बुबा नाथु चौधरीसमेतलाई प्रतिवादी त्रिवेणी पासीले हात मुक्का फलामको रडसमेत प्रहार गरी घाइते बनाई दिएकोमा मेरो बुबा तथा आमा समेतलाई औषधि उपचारको क्रममा बुटवलमा लिई गएकोमा मेरो बुबा प्रतिवादीको कुटपीटको कारण टाउको तथा शरीरमा घाउ चोट लागी मृत्यु भएको हुँदा कानूनबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको हरिचन्द्र चौधरीको जाहेरी दरखास्त ।
जिल्ला रूपन्देही, बुटवल नगरपालिका वडा नं. ८ स्थित लुम्बिनी अञ्चल अस्पताल, बुटवलको पोष्ट मार्टममा घरको पूर्व खुट्टा, पश्चिम टाउको गरी उत्तानो अवस्थामा मृतक लास रहेको मृतक लास नीलो रङको अप्रेशन गर्दाको अवस्थामा लगाएको कपडा लगाएको, दाहिने आँखामुनि आधा इन्च जति काटेको, पेटमा १० वटा कालो धागोले सिलाएको टाँका लगाएको भन्नेसमेत व्यहोराको लास जाँच मुचुल्का ।
जिल्ला नवलपरासी, रामग्राम नगरपालिका वडा नं. १२ स्थित शान्ति चोक कसिया भन्ने स्थानको पूर्व सिसौघारी, पश्चिम शर्मा यादवको कच्ची घर, उत्तर परासीबाट नारायण चोक जाने बाटो, दक्षिण झरही खोला पुल यति चार किल्लाभित्र पर्ने परासी नारायण चोक जाने बाटोको दक्षिण सडक किनारमा खरको छानो बाँसको खम्बा भएको घरअगाडिको खाली जग्गामा त्रिवेणी पासीले नाथु चौधरीसमेतलाई कुटपीट गरेको भन्ने घटनास्थल मुचुल्का ।
ज्ञानमती चौधरीको बायाँ काँधमा खुला घाउ रहेको, अनुहार सुन्निएको र नाकबाट रगत बगेको भन्नेसमेत व्यहोराको घाउ जाँच केश फाराम ।
नाथु चौधरीको शरीरमा घाउ चोटसमेत लागेको भन्नेसमेत व्यहोराको घाउ जाँच केस फाराम ।
मिति २०६५/८/४ गतेका बेलुका म नाथु चौधरीको पसल घरमा गई नाथु चौधरी तथा ज्ञानमती चौधरीसमेतलाई लात, मुक्का र फलामको रडसमेत प्रहार गरेको हो र घाइते भन्ने नाथु चौधरीको मेरो कुटपीटबाट उपचारको क्रममा बुटवल स्थित लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा मृत्यु हुन गएको हो भन्नेसमेत व्यहोराको प्रतिवादी त्रिवेणी पासीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
नाथु चौधरीको टाउकोसमेतमा चोट लागी मृत्यु हुन गएको हो । (Cause of death due to coma due to head injury) भन्नेसमेत व्यहोराको शव परीक्षण प्रतिवेदन ।
मिति २०६५/८/४ गतेका बेलुका हामीहरूको पसलमा प्रतिवादी त्रिवेणी पासी रक्सी सेवन गरी आएको र निजले मलाई पसलमा रक्सी देउ भन्दा छैन भन्दा मलाई निजले लात मुक्कासमेत प्रहार गरेकोमा मेरो श्रीमान्समेतलाई फलामको रडसमेतले हानी घाइते बनाइदिएको र निजको कुटपीटबाट मेरो श्रीमान्को औषधि उपचारको क्रममा बुटवलमा मृत्यु हुन गएको र मेरोसमेत हात भाँचिएको हुँदा हाल म उपचार गराई घरमा बसी आराम गरी रहेकी छु । प्रतिवादीको कुटपीटबाट मेरो श्रीमान्को मृत्यु हुन गएको हो भन्नेसमेत व्यहोराको ज्ञानमती चौधरीको कागज ।
मिति २०६५/८/४ गतेका बेलुका प्रतिवादी त्रिवेणी पासीले ज्ञानमती चौधरी तथा नाथु चौधरीलाई लात, मुक्का र फलामको रडसमेत प्रहार गरी घाइते बनाइदिएकोमा निज नाथु चौधरीको उपचारको क्रममा बुटवलमा मृत्यु हुन गएको हो । प्रतिवादी यस भन्दा पहिला पनि मानिस कुटपीट गरी ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ गरी गएका थिए । प्रतिवादीले नै कुटपीट गरी नाथु चौधरीको मृत्यु हुन गएको हो र ज्ञानमती चौधरी घाइते भएकी हुन् भन्नेसमेत व्यहोराको बुझिएका छविलाल चौधरीसमेतका मानिसहरूले गरी दिएको कागज ।
मिति २०६५/८/४ गते साँझ अं. ७.०० बजे प्रतिवादी त्रिवेणी पासीले हातमा फलामे रड लिई नाथु चौधरीको घरमा गई नाथु चौधरी र ज्ञानमती चौधरीसमेत जना २ लाई लात, मुक्का र फलामे रडसमेतले शरीर टाउकोसमेतमा पटकपटक प्रहार गरी घाइते बनाएको र घाइते भएका नाथु चौधरी, ज्ञानमती चौधरीसमेत जना २ लाई परासी स्थित पृथ्वी चन्द्र अस्पतालमा उपचार गर्न लाँदा उपचार हुन नसकी लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा लगी उपचार गर्दागर्दै प्रतिवादी त्रिवेणी पासीको कुटपीटका चोट पीडाका कारण मिति २०६५/८/१२ गते घाइते नाथु चौधरीको मृत्यु हुन गएको पुष्टि हुन आई प्रतिवादी त्रिवेणी पासीले मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीतको कार्य गरी सोही महलको १३(३) नं. को कसुर गरेको पुष्टि हुन आएकाले प्रतिवादी त्रिवेणी पासीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सजाय गरी पाउन माग दावी लिइएको छ भन्नेसमेत व्यहोराको अभियोगपत्र ।
मिति २०६५/८/४ गतेका दिन म निज नाथु चौधरीको घरमा गएको होइन । बाटोमा भेट भएको र निजले मलाई रक्सी खाएको भनी फलामको रड लिई हान्न आउँदा म भाग्दैगर्दा निज नाथु बाटोमै लडेको हो । मैले नाथुलाई र निजको श्रीमती ज्ञानमतीलाई कुटपीट गरेको होइन । मलाई फसाउनका लागि झुट्ठा जाहेरी दिइएको हो । प्रहरीमा भएको बयान कुटपीटका डरका कारण गरेको हुँ । उक्त बयान झुट्ठा हो । निज नाथु चौधरी आफैँ लडी चोट लागी घाइते भएको र सोही चोट पीडाका कारण मृत्यु भएको हुँदा मलाई अभियोग दावीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी त्रिवेणी पासीले सुरू अदालतमा आई गरेको बयान ।
मेरो पति र म खाना खाइरहेका बेला निज प्रतिवादी त्रिवेणी पासीले रक्सी मागेको र रक्सी छैन भन्दा निजले मलाई शरीरका विभिन्न भागमा चोट पुग्ने गरी कुटपीट गरेको तथा आफूले ल्याएको फलामको रडले मलाई हानेकोमा मेरो हात भाँची दिएको र त्यसपछि मेरो पतिलाई सोही फलामको रडले जथाभावी हिर्काई घाइते बनाएकोमा पति नाथु चौधरीको उपचारको क्रममा मृत्यु भएको हो । मेरो पतिको मृत्यु प्रतिवादीको कुटपीटका कारण भएको हो भन्नेसमेत मृतकको श्रीमती ज्ञानमती चौधरीले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
प्रतिवादी त्रिवेणी पासीले फलामको रड र लात्तीसमेतले मेरो बुबाको पेट, छाती, टाउको समेतमा हानी कुटपीट गरेका हुन् । कुटपीट गरी सकेपछि मेरो बुबाको मुखबाट रगतसमेत आएको थियो । प्रतिवादीको कुटपीटका कारण बुबाको उपचारको क्रममा मृत्यु भएको हो भन्नेसमेत जाहेरवाला हरिचन्द्र चौधरीले सुरू अदालतसमक्ष गरेको बकपत्र ।
पूर्व रिसइबी रहे भएको नदेखिएको, घातक धारिलो हतियार प्रयोग नरहेको, सुनियोजितरूपमा मनसायपूर्वकै भए गरेका भन्ने पनि खुल्न नआएको, रक्सी छैन भनी नदिएको कारणबाट हातपात गरी लात मुक्काले कुटपीट गर्दा लागेको चोटको परिणामस्वरूप मृतकको मृत्यु हुन गएको वारदातको प्रकृतिसमेतलाई विचार गर्दा प्रस्तुत वारदात मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. अन्तर्गतको देखिन आएकाले प्रतिवादी त्रिवेणी पासीलाई सोही १४ नं. बमोजिम १० वर्ष कैद सजाय हुने ठहर्छ । मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दावी पुग्न सक्तैन भन्नेसमेतको नवलपरासी जिल्ला अदालतको मिति २०६६/५/३ को फैसला ।
मृतक र प्रतिवादीबीच पूर्व रिसइबी नभए तापनि मृतकले दारू दिन इन्कार गरेबाट प्रतिवादीले रिसइबी लिई कुटपीट गरी मारेको मृतकको निवेदन प्रत्यक्षदर्शी एवम् पीडित ज्ञानमती चौधरीको कागज एवम् जाहेरवालाको जाहेरीबाट पुष्टि भएको छ । मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. आकर्षित हुनलाई प्रतिवादीलाई तत्काल उठेको रिस थाम्न नसकी घट्ना घटाएको हुनुपर्ने हुन्छ । यसमा त्यस्तो अवस्था नभै एक पटक झगडा भै कुटपीट गरेर गै सकेपछि पुनः फर्केर आएर कुटपीट गरेको अवस्था हुँदा सो नम्बर आकर्षित गर्न मिल्दैन । प्रतिवादीको मौकाको बयान, मृतकको निवेदन, जाहेरवालाको बकपत्र, पीडित ज्ञानमतीको कागजसमेतबाट समर्थित भै रहेकोमा निजको अदालतको कोरा इन्कारी बयानलाई प्रमाणमा लिन मिल्दैन । तसर्थ ज्यानसम्बन्धीको १४ नं. आकर्षित गरी भएको सुरू फैसला उल्टी गरी अभियोग माग दावीबमोजिम सजाय गरिपाउँ भन्नेसमेतको वादी नेपाल सरकारको तर्फबाट परेको पुनरावेदनपत्र ।
यसमा प्रतिवादीले रक्सी माग गर्दा रक्सी छैन भनी ज्ञानमतीले भनेकी कारणलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. मा रहेको उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी भन्ने वाक्यांशभित्र पार्न नमिल्नुका अतिरिक्त आफ्नी स्वास्नीलाई प्रतिवादीका कुटाईबाट छुटाउन लाग्दा प्रतिवादीले मृतकलाई अनाहकमा रडसमेतले पटकपटक अत्यधिक बल प्रयोग गरी ज्यान लिएकोमा ज्यानसम्बन्धीको महलको १३(३) नं. को दावी लिएकोमा ऐ. १४ नं. मा परिणत गरेको सुरू फैसला फरकपर्ने देखिँदा छलफलका लागि मुलुकी ऐन, अ.ब. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६७/२/२ को आदेश ।
सुरू नवलपरासी जिल्ला अदालतबाट मिति २०६६/५/३ मा अभियोग दावीबमोजिम ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिमको सजायको माग दावी पुग्न नसक्ने ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम प्रत्यर्थी/प्रतिवादी त्रिवेणी पासीलाई १० वर्ष कैद सजाय हुने ठहर्याई गरेको फैसला मिलेकै हुँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने व्यहोराको पुनरावेदन अदालत, बुटवलको मिति २०६७/३/१ को फैसला ।
मुद्दाको थालनी प्रक्रिया, जाहेरी व्यहोरा आदि मिसिल संलग्न प्रमाणबाट भवितव्य ठहर हुनुपर्नेमा आवेश प्रेरित ठहर गरी १० वर्ष कैद गर्ने गरेको पुनरावेदन अदालत, बुटवलको फैसला मिलेको नहुँदा सो फैसला उल्टी गरी भवितव्य ठहर गरी फैसला गरिपाउँ भन्नेसमेत व्यहोराको पुनरावेदक/प्रतिवादी त्रिवेणी पासीको यस अदालतमा परेको पुनरावेदनपत्र ।
एक पटक झगडा भै कुटपीट गरेर गै सकेपछि पुनः फर्केर आएर टाउको जस्तो संवेदनशील अङ्गमा फलामको छडसमेतले प्रहार गरी मृतकको मृत्यु भएको अवस्थामा ज्यानसम्बन्धीको महलको १३(३) नं. नलगाई ज्यानसम्बन्धीको महलको १४ नं. लगाई फैसला गरेको मिलेको छैन । तसर्थ पुनरावेदन अदालत, बुटवलको फैसला उल्टी गरी अभियोग दावीबमोजिम गरिपाउँ भन्ने व्यहोराको पुनरावेदक/वादी नेपाल सरकारको पुनरावेदनपत्र ।
यसमा मृतक नाथु चौधरीलाई प्रतिवादी त्रिवेणी पासीले फलामको रडले टाउकोमा हिर्काएको भनी मौकामा बयान गर्ने मृतककी पत्नी ज्ञानमतीले अनुसन्धानको सिलसिलामा बयान गर्दा फलामको रडले प्रहार गरेको भनेको र शव परीक्षण प्रतिवेदनबाट टाउकोमा लागेको चोटसमेतको कारणबाट मृत्यु भएको देखिएको अवस्थामा हात, खुट्टाले हानेको कारणबाट मृत्यु भएको भन्ने निष्कर्षमा पुगी ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम कसुर कायम गरी सजाय गर्ने गरेको पुनरावेदन अदालत, बुटवलको निर्णयमा तथ्यको गलत उल्लेख गरी प्रमाणको गलत मूल्याङ्कन गरेको देखिएको भै इन्साफ नमिलेकाले फरक पर्न सक्ने देखिँदा अ.ब. २०२ नं. बमोजिम प्रत्यर्थी प्रतिवादीलाई झिकाई लगाउको स.फौ.पु.नं. ०४९४ को मुद्दासमेत साथै राखी नियमबमोजिम पेस गर्नु भन्ने यस अदालतको मिति २०६९/४/३१ को आदेश ।
यसमा लगाउको स.फौ.पु.नं. ०५३६ को मुद्दामा आजै यस इजलासबाट प्रत्यर्थी झिकाउने आदेश भएको हुँदा प्रस्तुत मुद्दामा समेत अ.ब. २०२ नं. बमोजिम वादी नेपाल सरकारलाई उपस्थित हुन पेसीको जानकारी दिई नियमबमोजिम पेस गर्नु भन्ने यस अदालतको मिति २०६९/४/३१ को आदेश ।
नियमबमोजिम पेसीसूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री बालकृष्ण वाग्लेले मृतकलाई प्रतिवादीले एक पटक कुटपीट गरी गै पुनः फर्केर आई कुटपीट गरी, फलामको रड जस्तो जोखिमी हतियारले प्रहार गरी मारेकोमा ज्यानसम्बन्धीको महलको १४ नं. आकर्षित गरी सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला मिलेको छैन । अभियोग दावीबमोजिम सजाय गरिपाउँ भनी बहस गर्नुभयो । त्यस्तै पुनरावेदक प्रतिवादी त्रिवेणी पासीको तर्फबाट उपस्थित विद्वान् वैतनिक अधिवक्ता श्री श्रुतीकुमारी रेग्मीले पूर्व रिसइबी नभएको र धारिलो हतियार प्रयोग नभएको भन्ने तथ्यको स्वीकारोक्ति मिसिलबाट देखिन्छ । मुद्दाको उठान प्रक्रिया, जाहेरी व्यहोराबाट भवितव्यको वारदात हुनुपर्ने हो । सो हुन नसके पुनरावेदन अदालत, बुटवलबाट गरेको फैसला सदर गरिपाउँ भनी बहस जिकिर गर्नुभयो ।
पुनरावेदनसहितको मिसिल अध्ययन गरी हेर्दा प्रतिवादी त्रिवेणी पासीको कुटपीटका चोट पीडाका कारण मृतक नाथु चौधरीको मृत्यु भएकाले ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दावी रहेकोमा प्रतिवादी प्रहरीसमक्ष साबित रही अदालतसमक्ष इन्कारी बयान गरेकोमा प्रतिवादीलाई ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम १० वर्ष कैद सजाय हुने ठहर्याई सुरू नवलपरासी जिल्ला अदालतबाट फैसला भएकोमा सोउपर वादी नेपाल सरकारको पुनरावेदन पर्दा सुरू इन्साफ सदर हुने ठहरी पुनरावेदन अदालत, बुटवलबाट फैसला भएउपर अभियोग दावीबमोजिम गरिपाउँ भन्ने वादी नेपाल सरकार र भवितव्य कायम गरिपाउँ भनी प्रतिवादी त्रिवेणी पासी अर्थात् दुबै पक्षको पुनरावेदन परी प्रस्तुत मुद्दा पेस हुन आएको देखियो ।
यसमा पुनरावेदनसहितको मिसिल अध्ययन गरी विद्वान् कानून व्यवसायीहरूले प्रस्तुत गर्नुभएको बहस बुँदाहरूसमेत सुनी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत, बुटवलको फैसला मिलेको छ छैन ? पुनरावेदकहरू वादी प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन सोही विषयमा निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा मिति २०६५/८/४ गते बेलुका मेरी आमा ज्ञानमती चौधरी र बुबा नाथु चौधरीसमेतलाई प्रतिवादी त्रिवेणी पासीले हात मुक्कासमेतले कुटी घाइते बनाउँदा उपचारको क्रममा बुबाको मृत्यु भएकाले कारवाही गरिपाउँ भन्ने व्यहोराको जाहेरी, मृतक नाथु चौधरीको टाउकोमा परेको चोटको कारण मृत्यु भएको भन्ने लास जाँच मुचुल्का तथा अनुसन्धानको क्रममा बुझिएका ज्ञानमतीसमेतका मानिसले गरी दिएको बकपत्रसमेतका कागजातहरूबाट मृतक नाथु चौधरीको मृत्यु स्वाभाविक नभई कर्तव्यबाट भएको भन्ने कुरामा विवाद देखिएन ।
३. अब मृतक नाथु चौधरीको मृत्यु यिनै प्रतिवादी त्रिवेणी पासीको कुटपीटको कारणबाट भए नभएको के रहेछ भन्ने सम्बन्धमा हेर्दा पुनरावेदक प्रतिवादीले अदालतसमक्ष बयान गर्दा आरोपित कसुरमा इन्कार रही बयान गरेको देखिए तापनि मौकामा बयान गर्दा रक्सी माग्ने र नदिने विषयमा मृतक र प्रतिवादीबीच वाद विवाद भई कुटपीट हुँदा मृतक घाइते हुन पुगेको र उपचारको क्रममा नै निजको मृत्यु भएको भनी कसुरमा साबित भई बयान गरेको देखिन्छ । सो कुरा सम्बन्धमा वारदात हुँदाको अवस्थाका प्रत्यक्षदर्शी तथा पीडित ज्ञानमती चौधरी एवम् जाहेरवाला हरिचन्द्र चौधरीले मौकामा र अदालतसमेतमा बकपत्र गर्दा यिनै प्रतिवादीको कुटपीटको कारणबाट मृतकको मृत्यु भएको भनी बकपत्र गरेको देखिएबाट प्रतिवादीले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान कागज पुष्टि भएकाले यिनै प्रतिवादीको कर्तव्यबाट मृतक नाथु चौधरीको मृत्यु भएको देखिन आयो ।
४. यस अदालतमा परेको प्रतिवादीको पुनरावेदनतर्फ हेर्दा वारदात ठहर गरी
प्रतिवादीलाई ज्यानसम्बन्धीको महलको १४ नं. अनुसार सजाय हुने भनी सुरू नवलपरासी जिल्ला अदालतको ठहर फैसलाउपर प्रतिवादीको पुनरावेदन अदालत, बुटवलसमक्ष पुनरावेदन नपरेको तर वादी नेपाल सरकारतर्फबाट सो सम्बन्धमा पुनरावेदन परी पुनरावेदन अदालत, बुटवलबाट सो फैसला सदर हुँदा पुनरावेदन अदालतको सो फैसलाउपर प्रतिवादीतर्फबाट यस अदालतसमक्ष पुनरावेदन परेको
देखियो । प्रतिवादीबाट घटित उक्त वारदात सम्बन्धमा भवितव्य होइन कर्तव्य हो भनी सुरू जिल्ला अदालतले गरेको फैसलाउपर प्रतिवादीले पुनरावेदन अदालत, बुटवलसमक्ष पुनरावेदन नगरेबाट उक्त सुरू जिल्ला अदालतले गरेको फैसलालाई स्वीकार गरी बसेको मान्नुपर्ने नै देखियो । यसरी एक पटक अदालतबाट भएको फैसला स्वीकार गरी बसिसकेपछि सोही जिल्ला अदालतले गरेको फैसलालाई नै पुनरावेदन अदालत, बुटवलले सदर गरेको देखिनाले भवितव्य ठहर गर्नुपर्ने भनी प्रतिवादीको यस अदालतसमक्ष परेको पुनरावेदन जिकिर सम्बन्धमा विचार गरी रहनुपर्ने अवस्था देखिएन ।
५. अब निज प्रतिवादीलाई के कति सजाय हुने रहेछ भन्ने सम्बन्धमा हेर्दा उक्त हत्या अभियोग दाबी अनुसारको मनसाय प्रेरित वा पुनरावेदन अदालतको ठहर अनुसारको आवेश प्रेरित के हो भनी न्यायिक विवेचना गर्नुपर्ने देखियो ।
६. मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. मा मनसाय प्रेरित हत्या र ऐ. को १४ नं. मा आवेश प्रेरित हत्याको सम्बन्धमा कानूनी व्यवस्था भएको पाइन्छ । ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिमको कसुर स्थापित हुनको लागि मनसाय तत्त्वको विद्यमानता हुनु जरूरी देखिन्छ । मनसायसहितको हत्याको वारदात हुन सो हत्याको लागि षडयन्त्र तयारी, उद्योग र आपराधिक कार्यको सम्पन्नताका चरण पूरा भए गरेको हुनुपर्दछ । प्रस्तुत वारदातमा मृतक र प्रतिवादीबीच ज्यान लिनुपर्नेसम्मको पूर्व रिसइबी नभएको भन्ने कुराको पुष्टि मृतक स्वयम्ले मौकामा दिएको निवेदन र जाहेरीमा पनि मृतकले प्रतिवादीलाई रक्सी नदिएको कारणले कुटपीट, हातपात भएको भन्ने उल्लेख भएबाट देखिन्छ । प्रतिवादीले मृतकको घरमा गै मृतकको श्रीमतीसँग रक्सी मागेको र रक्सी छैन भनी दिन इन्कार गरेको जरियाबाट प्रस्तुत वारदात घटित भएको देखिन्छ । यसबाट मृतक तथा निजको श्रीमती तथा प्रतिवादीबीच तत्काल उठेको रिसको कारणले कुटपीट भएको र परिणामस्वरूप मृतकको ज्यान मर्नसमेत गएको देखिन आयो ।
७. मृतक नाथु चौधरीले मिति २०६५/८/४ को वारदातबाट घाइते भएपश्चात निजले दिएको निवेदनसमेतमा आफू र प्रतिवादीबीच कुटपीट गर्नुपर्ने पूर्व रिसइबी थियो भनी उल्लेख गर्न सकेको देखिँदैन । मृतक नाथु चौधरीको घरमा प्रतिवादी त्रिवेणी पासी मदिरा पिई आई श्रीमतीसँग रक्सी मागेको रक्सी दिन इन्कार गर्दा श्रीमतीलाई गालीगलौज र कुटपीट गर्न थालेको मृतकले प्रतिवादीलाई समात्न खोज्दा भागेको र मैले लखेट्न छोडेपछि केही समयपछि फर्की आई कुटपीट गरेको भन्नेसम्म उल्लेख गरेको देखिन्छ । यसबाट पूर्व रिसइबी रहेको र ज्यानै मार्नुपर्ने नियत भएको भन्ने कुरा देखिँदैन ।
८. त्यस्तै मृतकका छोरा हरिचन्द्र चौधरीले दिएको जाहेरीमा पनि रक्सी नदिएको निहुँमा कुटपीट हातपात भएको भन्ने व्यहोरा उल्लेख भएको पाइन्छ । वादी पक्षको पुनरावेदन जिकिर हेर्दा पनि मृतक र प्रतिवादीबीच पूर्व रिसइबी नभएको तथ्यलाई नै स्वीकार गरिएको देखिन्छ । यस प्रकार मृतक र प्रतिवादीबीच ज्यान लिनुपर्नेसम्मको पूर्व रिसइबी नरहेको तथ्य स्थापित भएको छ ।
९. अब मृतकलाई प्रतिवादीले धारिलो हतियारले प्रहार गरिएको अभियोग दावी लिइएकोतर्फ हेर्दा मृतकको शव परीक्षण प्रतिवेदन, घा जाँच फारामबाट धारिलो हतियार प्रहार भएका घाउका प्रकृति देखिँदैन । त्यस्तो धारिलो हतियार बरामद हुन सकेको अवस्था पनि छैन । जाहेरवालाले रडले हान्यो भनेकोमा सोसमेत बरामद भएको देखिँदैन । सबैभन्दा महत्त्वपूर्ण तथ्य मृतक स्वयम्ले २०६८/८/५ मा मौकामा दिएको निवेदनमा धारिलो हतियारले कुटपीट गरेको भनी उल्लेख गरेको देखिँदैन । मृतकको टाउकोमा लागेको चोट रडको नभै अन्य कारणले समेत लाग्न सक्ने हुँदा प्रतिवादीले रड प्रहार गरेकोबाट नै लागेको समेत भन्न मिलेन । यस सम्बन्धमा जाहेरवाला र मृतककी पत्नी ज्ञानमतीले रडले हानेको भनी बकपत्र गरे पनि रडले हानेको भन्ने कुरा अन्य प्रमाणबाट पुष्टि नभएकाले जाहेरीमा उल्लेख भएको आधारमा मात्र निजहरूको सो कथन मान्न मिलेन । यस्तो स्थितिमा धारिलो हतियारले मृतकलाई कुटपीट गरिएको भन्ने मिसिल प्रमाणबाट पुष्टि हुन आएन । तसर्थ ज्यानसम्बन्धीको महलको १३(३) नं. अनुसार मनसायसहितको हत्याको वारदात देखिन आएन ।
१०. अब मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. हेर्दा ज्यानमार्नाको मनसाय रहेनछ, ज्यान लिनुपर्नेसम्मको इबि पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ, उसै मौकामा उठेको कुनै कुराको रीस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, लात, मुक्का इत्यादिले हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ भन्ने कानूनी व्यवस्था देखिन्छ । प्रस्तुत वारदातमा मृतक र प्रतिवादीबीच पूर्व रिसइबी रहेको नदेखिएको, जोखिमी हतियार प्रयोग गरी मृतकलाई कुटपीट गरिएको पनि नदेखिएको र रक्सी माग्ने नदिनेसम्बन्धी तत्काल उठेको रिसको जरियाबाट प्रतिवादीले मृतकलाई हात खुट्टाले हान्दा मृतक घाइते भै उपचाररत रहेको भन्ने कुरा स्वयम् मृतकले मर्नुअगाडि वारदातपश्चात दिएको निवेदन व्यहोराबाट देखिन आएको र मृतकले दिएको यस प्रकारको निवेदनलाई प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख) अनुसार प्रमाणमा ग्रहण गर्नुपर्ने नै हुँदा प्रस्तुत वारदात मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. ले परिभाषित गरेको आवेश प्रेरित हत्या अन्तर्गत नै पर्न आउने देखिन आयो ।
११. त्यसकारण मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने वादी पक्षको पुनरावेदन जिकिर तथा ऐ. महलको ५ नं. बमोजिम भवितव्य कायम गरिपाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर मनासिब देखिएन । साथै यस अदालतबाट प्रत्यर्थी झिकाउने आदेशमा लिइएका बुँदासँग यो इजलास सहमत हुन सकेन ।
१२. तसर्थ प्रस्तुत मुद्दामा प्रतिवादीको मृतकसँग पूर्व रिसइबी रहेको भन्ने कुरा नदेखिनुको साथै मृतकमाथि फलामको रड प्रहार भएको समेत पुष्टि नभएकाले र वारदातको रूपबाट मृतकमाथि भएको कुटपीट आवेश प्रेरित मात्र भएको देखिनाले प्रतिवादी त्रिवेणी पासीलाइ मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम १० वर्ष कैद सजाय हुने ठहराएको सुरू नवलपरासी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, बुटवलको मिति २०६७/३/१ को फैसला मिलेको हुँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको तथा प्रतिवादी त्रिवेणी पासीको पुनरावेदन जिकिर पुग्न सक्तैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. देवेन्द्र गोपाल श्रेष्ठ
इति संवत् २०७१ साल कात्तिक १७ गते रोज २ शुभम् ।
इजलास अधिकृत : टेकराज जोशी