निर्णय नं. ९२९४ - नाता कायम

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोपाल पराजुली
माननीय न्यायाधीश श्री दीपकराज जोशी
फैसला मिति : २०७१।७।९।१
०६६-CR-०१३५
मुद्दा : नाता कायम ।
पुनरावेदक/प्रतिवादी : जिल्ला रामेछाप, भटौली गा.वि.स. वडा नं.४ बस्ने बद्रिप्रसाद प्रसाई
विरूद्ध
प्रत्यर्थी/वादी : ऐ.ऐ.बस्ने राधिका माझी
§ मातृत्व र पितृत्वको निर्धारणको लागि DNA को परीक्षण भरपर्दो आधार बन्न सक्ने कुरामा दुई मत नहुने ।
(प्रकरण नं. ३)
§ मुद्दाकी वादी सोझी लठेब्री महिला रहिछन् भन्ने कुरा फिराद तथा प्रतिउत्तर व्यहोराबाट देखिएको अवस्थामा यस्तो सोझोपनकी महिलाप्रति प्रतिवादीले मौकाको फाइदा उठाएका हुन् भन्ने कुरा निजको भनाई विश्लेषणबाट पुष्टि हुँदा मैले करणी गरेकै थिइन वा होइन भनी एकतर्फी जिकिर लिदैँमा प्रतिवादीको भनाईलाई अन्य प्रमाणबाट पुष्टि नभइकन मान्यता दिँदै जाने हो भने समाजमा सोझा सीधा मानिसहरूबाट फाइदा उठाउनेहरूलाई मद्दत पुग्न जाने अवस्था देखिने ।
(प्रकरण नं. ६)
पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री हरिशंकर कर्ण
प्रत्यर्थी/वादीको तर्फबाट :
अवलम्बित नजिर :
§ नेकाप २०३४, अङ्क ५, निर्णय नं. १०५२, पृष्ठ १३८
§ नेकाप २०६५, अङ्क १०, नि.नं. ८०२६, पृष्ठ १२५०
§ नेकाप २०६६, अङ्क ११, निर्णय नं. ८२५०, पृष्ठ १७२७
सम्बद्ध कानून :
§ प्रमाण ऐन, २०३१ को दफा ५४
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या.श्री बैद्यनाथ गुप्ता
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या.श्री दिनेश कुमार कार्की
मा.न्या.श्री गिरीराज पौड्याल
फैसला
न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य यसप्रकार रहेको छ :
म माझी जातकी अविवाहित लठेब्री महिला हुँ । मेरो पिताले ठेक्कामा कमाएको पकरवासअन्तर्गत पर्ने बोक्से भन्ने खेतमा मिति २०६२।२।४ का दिन ४ बजेको समयमा म घाँस काटिरहेको अवस्थामा विपक्षी म भएको ठाउँमा आई करणी गर्न देउ भन्दा तिम्रो जात, उमेर केही मिल्दैन, नछुने भएको पनि ३ दिन भयो, करणी गर्नुहुन्न, पेट आयो भने के गर्ने भनी मैले विपक्षीलाई भन्दा एक्कासी कम्बरमा समाती जे परे पनि म बेहोर्छु भनी मकै खेतमा मलाई लडाई करणी गरी घरतर्फ लागे । त्यसपछि पनि जहाँ जहिले मौका पर्यो सो समयमा विपक्षी र मेरोबीचमा पटकपटक करणी लिनु दिनुभयो । सोही करणी वीर्यबाट मेरो पेटमा बच्चा बसेको थाहा पाई २०६२ सालको दशैंमा विपक्षीलाई भन्दा म बेहोर्छु भनी विपक्षी घर छाडी हिंडे मेरो गर्भ रहेको आमाले समेत थाहा पाएपछि जाँच गर्दा बच्चा पेटमा रहेको प्रमाणित भएपछि आमाले घरमा बस्न नदिएको हुँदा गाई गोठमा बस्दै आएकी छु । तसर्थ मेरो गर्भ विपक्षीको करणी वीर्यबाट रहेको हुँदा विपक्षी र मेरोबीचमा लोग्ने स्वास्नीको नाता सम्बन्ध कायम गरिपाउँ भन्नेसमेत व्यहोराको वादी राधिका माझीको फिराददावी ।
विपक्षीको फिराद हेर्दा होस ठेगानमा नभएकी, राम्ररी सम्झन, बुझ्न, ठम्याउन नसक्ने व्यक्ति रहिछन् भन्ने स्पष्ट छ । त्यस्तो व्यक्तिले भनेको कुरा आफैँमा शङ्कास्पद हुने अवस्थाका हुन्छन् । त्यस्तो व्यक्तिले जो कोहीलाई मुछ्न सक्ने कुरा निर्विवाद छ, विपक्षीलाई कसैद्वारा कुनै उद्देश्य पूरा गर्ने मनसायबाट उत्प्रेरित गराई मेरो नाम मुछ्न लगाएको सम्म हो, मबाट त्यस्तो किसीमको कुनै पनि कार्य भए गरेको छैन, विपक्षीको फिराद दावी झुट्ठा एवम् तथ्यहीन अवस्थाको हुँदा फिराद दावी खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी बद्रिप्रसाद प्रसाईको प्रतिउत्तर जिकिर ।
वादीलाई प्रतिवदीले मिति २०६२।२।४ गते दिउँसो ४ बजेको समयमा बोक्से भन्ने खेतमा लखेट्तै गरेको मैले देखेको हुँ र पछि वादीकी आमाले वादीको गर्भ रहेको थाहा पाई मिति २०६२।७।२८ मा मानिस जम्मा गरी वादीलाई केरकार गर्दा गर्भ प्रतिवादी बद्रिप्रसादको हो भनेपछि प्रतिवादीलाई स्याहार्न भन्दा गर्भ मेरै हो तर माझी जात हुँदा म स्वीकार गर्न सक्तिन भनी प्रतिवादी काठमाडौंतर्फ गए हाल वादीले छोरो पाई बाहिर पीढीमा बस्तै आएकी छन् भनी वादीको साक्षी भक्तबहादुर माझीले बकेको बकपत्र र वादी प्रतिवादीबीच नाता कायम हुनुपर्ने होइन जस्तो लाग्छ । वादीको गर्भ आएको विषयमा गाउँमा छलफल भयो भन्नेसम्म सुनेको हो म गएको होइन अरू कुरा मलाई थाहा छैन भनी प्रतिवादीको साक्षी रामहरि उप्रेतीले बकेको बकपत्र ।
प्रतिवादी बद्रिप्रसादको करणी वीर्यबाट वादीले छोरा जन्माएको भन्ने देखिँदा वादी र प्रतिवादीबीच लोग्ने स्वास्नीको नाता सम्बन्ध कायम हुने र प्रतिवादीले जन्मेको छोराको न्वारानसमेत गरिदिनुपर्ने ठहर्छ भन्नेसमेत रामेछाप जिल्ला अदालतबाट मिति २०६३।८।२४ गते भएको फैसला ।
सुरू रामेछाप जिल्ला अदालतबाट भएको फैसला प्रतिपादित सिद्धान्तविपरीत एकतर्फीरूपमा करणी भएको हो होइन भए कसको वीर्य वा करणीबाट जातकको जायजन्म भएको हो भन्ने कुरा ठहर गर्न त्यसको लागि DNA परीक्षणसमेत नगरी मिति २०६३।८।२४ मा भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी वादी दावीबाट अलग फुर्सद दिलाई न्याय इन्साफ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीले पुनरावेदन अदालत, जनकपुरमा चढाएको पुनरावेदनपत्र ।
वादीले गर्भ बोकी मिति २०६२।१०।२७ मा छोरा जातक बच्चाको जन्म दिएको हुँदा पितृत्वको ठेगाना गर्ने कुरामा गर्भ बोकी जन्म दिने आमाको भनाई नै महत्त्वपूर्ण आधार र वस्तुनिष्ठ प्रमाण हुने हुँदा यी पुनरावेदक प्रतिवादीको करणी वीर्यबाट गर्भ रही छोरा जातकको बच्चा जन्मेकाले वादी प्रतिवादीका बीचमा लोग्ने स्वास्नी नाता कायम हुने देखिएकाले वादी प्रतिवादीबीच लोग्ने स्वास्नीको नाता कायम हुने र प्रतिवादीले जन्मेको छोरा न्वारानसमेत गरी दिनुपर्ने ठहर्याई रामेछाप जिल्ला अदालतले मिति २०६३।८।२४ मा गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने मिति २०६४।३।१५ को पुनरावेदन अदालत, जनकपुरको फैसला ।
पुनरावेदन अदालत, जनकपुरको फैसला प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रतिकूल रहेको छ । DNA को परीक्षण नगरी नाताकायम जस्तो मुद्दामा निष्कर्षमा पुग्न सकिँदैन । मैले सुरू जिल्ला अदालतमा प्रतिउत्तर फिराउँदा नै वादी दावीलाई इन्कार गरेकोमा सो कुरालाई बेवास्ता गरी भएको फैसला सरासर त्रुटिपूर्ण हुँदा बदरभागी छ । वादी पक्षको मौखिक भनाईलाई मात्र आधार लिई गरेको पुनरावेदन तथा जिल्ला अदालतको फैसला उल्टी गरी मेरो प्रतिउत्तर एवम् पुनरावेदन जिकिरबमोजिम गरिपाउँ भन्ने व्यहोराको प्रतिवादीले मिति २०६४।६।१७ मा चढाएको मुद्दा दोहोर्याई हेरी पाउँ भन्ने निवेदनपत्र ।
यसमा यी निवेदकले पुनरावेदन अदालतमा पुनरावेदन गर्दा DNA परीक्षण गरिपाउँ भन्नेसमेतको जिकिर लिएको अवस्थामा त्यसतर्फ विचारै नगरी जातकको जायजन्मका सम्बन्धमा निर्क्यौल गरेको पुनरावेदन अदालत, जनकपुरको फैसलामा मुलुकी ऐन, अदालती बन्दोवस्तको १८४ क नं. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ समेतको त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड क को आधारमा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ । विपक्षी झिकाई निवेदकले DNA परीक्षणको दस्तुर आफैँले बुझाउने भनी यस अदालतमा निवेदन गर्दा उल्लेख गरेको समेत देखिँदा DNA परीक्षणको लागि आवश्यक दस्तुर यिनै निवेदकबाट दाखिला गराई जातकको पहिचानको लागि वादी, प्रतिवादी र बच्चासमेतको आवश्यकता अनुसार DNA परीक्षण गराई परीक्षण प्रतिवेदन प्राप्त भएपछि नियमानुसार गरी पेस गर्नु भन्ने मिति २०६६।५।२४ को यस अदालतको आदेश ।
यसमा विवादित नातासँग सम्बन्धित वादी राधिका माझीको छोरा प्रतिवादी बद्रीकुमार प्रसाईसँग पितृत्वको सम्बन्ध देखिन्छ देखिँदैन भन्ने विषयमा मिति २०६६।५।२४ को आदेशबमोजिम DNA परीक्षण भई आएको भएता पनि सोसम्बन्धी DNA प्रोफाईलको लागि भएको विवरण फाराममा रगत दिँदा बच्चाको नाम उल्लेख नभएको कारणले नमुना सङ्कलन नै रीतपूर्वकको भन्न मिल्ने देखिएन । तसर्थ राष्ट्रिय विधिविज्ञान प्रयोगशालाबाट कानूनको रीत पुर्याई बालक र आमासमेत रोहबरमा राखी नमुना रगत परीक्षण प्रयोजनको लागि प्राप्त गर्नु र सो नमुनामा वादी प्रतिवादीको सहीछाप गराई हिफाजतसँग राख्नू । अघि परीक्षण गर्ने विशेषज्ञ बाहेकका प्रतिष्ठानका अन्य DNA विशेषज्ञबाट प्रतिष्ठानको प्रमुखको रेखदेखमा वैज्ञानिक परीक्षण गरी पठाइदिनु भनी उक्त प्रतिष्ठानमा लेखिपठाउनु र सोको लागि खर्चको हकमा निवेदकबाट दाखिला गराई नियमबमोजिम गर्नु भन्ने मिति २०७०।६।१ को यस अदालतको आदेश ।
आदेशानुसार राष्ट्रिय विधिविज्ञान प्रयोगशालाबाट भई आएको DNA परीक्षण प्रतिवेदन मिति २०६९।३।२५ मा प्राप्त भई मिसिल संलग्न रहेको ।
आदेशानुसार राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका वरिष्ठ अधिकृत दिनेश कुमार झाले यस अदालतमा उपस्थित भई गरेको बकपत्र मिसिल संलग्न रहेको ।
नियमबमोजिम दैनिक मुद्दा पेसीसूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित हुनुभएका विद्वान् वैतनिक अधिवक्ता श्री हरिशंकर कर्णले प्रतिवादीसँग जातकको DNA परीक्षण नगरिकन नाता कायम हुने ठहर्याएको सुरू तथा पुनरावेदन अदालतको फैसला उल्टी गरिपाउँ भनी गर्नुभएको बहस जिकिरसमेत सुनी वादी प्रतिवादीबीच नाता कायम हुने ठहर गरेको सुरू तथा पुनरावेदन अदालतको फैसला मिलेको छ छैन वादी प्रतिवादीबीचमा नाता कायम हुनुपर्ने हो होइन भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
प्रस्तुत मुद्दामा म माझी जातकी लठेब्री महिलालाई खेतमा घाँस काटी रहेको अवस्थामा फकाई फुल्याई मिति २०६२।२।४ गतेका दिन करणी गरेको र त्यसपछि पटकपटक करणी लिनुदिनु गरेको र निजकै करणी वीर्यबाट मेरो गर्भ रहेकाले निजसँगै लोग्ने स्वास्नीको नाता कायम गरिपाउँ भनी फिराद परेकोमा इन्कारी प्रतिउत्तर परेको र सुरू जिल्ला अदालतबाट फैसला हुँदा नाता कायम हुने ठहरी फैसला भएकोमा प्रतिवादीको पुनरावेदन परी पुनरावेदन अदालत, जनकपुरले सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहरी फैसला भएउपर प्रतिवादी मुद्दा दोहोर्याई हेरी पाउँ भनी निवेदन दिएकोमा दोहोर्याई हेर्ने निस्सा प्रदान भई निर्णयार्थ पेस हुन आएको देखिन्छ ।
२. निर्णयतर्फ विचार गर्दा यी वादी तथा प्रतिवादी एउटै गाउँका बासिन्दा भएको कुरा फिराद तथा प्रतिउत्तर लेखबाट पुष्टि भएको छ । म माझी जातकी लठेब्री अविवाहित महिलालाई मिति २०६२।२।४ का दिन विपक्षीले घाँस काट्न गएको अवस्थामा करणी गरेको र पटकपटक मौका मिल्नासाथ करणी लिनुदिनु हुने गरेको र निज प्रतिवादीसँगको करणी वीर्यबाट गर्भ रहन गएकाले विपक्षी प्रतिवादीसँग लोग्ने स्वास्नीको नाता कायम गरिपाउँ भनी परेको फिरादलाई प्रतिवादीले इन्कार रही प्रतिउत्तर फिराएको देखिन्छ । फिराद तथा प्रतिउत्तर लेखबाट के कुन मितिमा के जातकको जन्म भएको रहेछ भन्ने कुरा खुल्न आएको नदेखिए पनि अदालतको आदेशानुसार वादीका वारिसले मिति २०६२।१०।२७ का दिन छोरा जन्मिएको हो भन्ने व्यहोराको कागज गरेको देखिन्छ र यस कुरालाई यी प्रतिवादीले अन्यथा हो भनेको अवस्था पनि छैन ।
३. प्रतिवादीले यस अदालतमा चढाएको पुनरावेदनपत्र व्यहोरा हेर्दा प्रमाण ऐन, २०३१ को दफा ५४ को विपरीत बुझ्नुपर्ने प्रमाण नै नबुझी र प्रमाणमा लिन नमिल्ने कुरालाई प्रमाणमा लिई गरेको सुरू तथा पुनरावेदन अदालतको फैसला मिलेको छैन । सो बच्चा मेरो करणी वीर्यबाट जन्मेको हो होइन भन्ने कुराको एकिन मेरो DNA परीक्षण गराएर मात्र गरी यथार्थतामा पुग्न सकिनेमा सो नगरी पुनरावेदन अदालत, जनकपुरले गरेको फैसला उल्टी गरिपाउँ भनी DNA परीक्षणको विषयलाई निवेदनमा विशेषरूपले उठान गरेको देखिन्छ । प्रतिवादीले उल्लेख गरेबमोजिम मातृत्व र पितृत्वको निर्धारणको लागि DNA को परीक्षण भरपर्दो आधार बन्न सक्ने कुरामा दुई मत हुँदैन । यस अदालतका मिति २०६६।५।२४ का आदेशले पनि प्रस्तुत मुद्दामा DNA परीक्षण नभई जातकको जायजन्म सम्बन्धमा निर्क्यौल गरेको पुनरावेदन अदालत, जनकपुरको फैसला त्रुटिपूर्ण देखिएको भनी मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको र सोही मितिको आदेशमा जातकको पहिचानको लागि वादी प्रतिवादी र बच्चासमेतको आवश्यकता अनुसार DNA परीक्षण गराई प्रतिवेदन पेस भएपछि नियमानुसार पेस गर्नु भनी भएका आदेशानुसार राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा DNA परीक्षणका लागि पठाइएको देखिन्छ । मिति २०६८।११।२२ मा उक्त प्रयोगशालाबाट राधिका माझीबाट जन्मेको बच्चाको जैविक बाबु बद्रीकुमार प्रसाई होइन भन्ने पाइयो भनी DNA परीक्षण प्रतिवेदन प्राप्त हुन आएको मिसिलबाट देखिन आएको छ ।
४. तत्पश्चात मिति २०६९।८।२४ गतेका आदेशानुसार राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका वरिष्ठ वैज्ञानिक अधिकृत दिनेशकुमार झाले गरेको बकपत्रमा विवादित बच्चा नमुना B र दावी गरिएका बाबु बद्रिप्रसाद प्रसाई नमुना C कोबीच १२ वटा DNA गुण (ALLELE) मा भिन्नता पाइएको भनी बकपत्र गरेको र सोही बकपत्रको स.ज. ८ मा रक्त नमुना सङ्कलन कार्य पाटन अस्पतालमा पाटन अस्पतालका कर्मचारी लक्ष्मी शोभा तन्डुकारबाट गरिएको भनी उल्लेख गरेको देखिन्छ । प्रस्तुत मुद्दा पुनः मिति २०७०।६।१ मा इजलाससमक्ष पेस हुँदा DNA प्रोफाइलको लागि भएको विवरण फाराममा रगत दिँदा बच्चाको नाम उल्लेख नभएको कारणले नमुना सङ्कलन नै रीतपूर्वकको भन्न मिल्ने देखिएन । तसर्थ राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट कानूनको रीत पुर्याई बालक र आमासमेत रोहबरमा राखी नमुना रगत परीक्षण प्रयोजनको लागि प्राप्त गर्नु र अघि परीक्षण गर्ने विशेषज्ञ बाहेकका प्रतिष्ठानका अन्य DNA विशेषज्ञबाट प्रतिष्ठानको प्रमुखको रेखदेखमा वैज्ञानिक परीक्षण गरी पठाइदिनु भनी आदेश भएको र आदेश भएकै मितिमा दुबै पक्षले मिलापत्रको समय पाउँ भनी निवेदन दिएकोमा दुबै पक्षलाई यस अदालतबाट मिति २०७०।७।७ गतेको तारिख तोकिएको मिसिलबाट देखिन्छ । सो दिनको तारिख पुनरावेदक प्रतिवादी बद्रिप्रसाद प्रसाईले गुजारेको र मिति २०७०।८।६ गतेको तारिख प्रत्यर्थी वादी राधिका माझीको वारिस हर्कदेव माझीले गुजारी बसेको मिसिल संलग्न तारिख भरपाईबाट देखिन आएको छ ।
५. तत्पश्चात DNA परीक्षण गराइनुपर्ने पुनरावेदक प्रतिवादी बद्रिप्रसाद प्रसाईले तारिख नै गुजारी बसेको देखिएपछि DNA परीक्षणसम्बन्धी आदेश कार्यान्वयनको लागि परीक्षणको लागि लाग्ने दस्तुर लिई हाजिर हुन प्रतिवादीलाई यस अदालतका सहरजिस्ट्रारका आदेशानुसार ७ दिनको सूचना जारी गरिएकोमा उक्त सूचना म्याद मिति २०७१।३।१४ मा घर दैलोमा टाँस तामेल भई आएको र निज प्रतिवादी कानूनबमोजिमको म्यादभित्र हाजिर हुन नआई म्याद गुजारी बसेको मिसिलबाट देखिन्छ ।
६. माथि विवेचना गरिएका घटना विवरणहरूबाट यी प्रतिवादी बद्रिप्रसाद प्रसाईले जातक बच्चासँग नाताकायम हुन नसकोस् भनी अदालतबाट जारी भएको म्यादसमेतलाई बेवास्ता गरी बसेको अवस्था देखिन्छ । प्रस्तुत मुद्दामा वादी प्रतिवादीबीचमा नाता कायम हुनुपर्ने हो होइन भन्ने प्रश्नको निष्कर्षमा पुग्नका लागि यी पुनरावेदक प्रतिवादीको भनाईलाई विश्लेषण गर्नुपर्ने हुन्छ । विपक्षी वादी होस् ठेगानामा नभएकी राम्ररी सम्झन बुझ्न ठम्याउन नसक्ने व्यक्ति हुन् र उनले भनेका कुराहरू आफैँमा सन्देहपूर्ण र शङ्कास्पद अवस्थाका हुन्छन् र निजका मानिसहरूले जे सिकायो वा जसलाई देखायो उसैलाई मुछ्ने हुन्छ यसमा भएको त्यही हो भनी बडो हलुका तवरबाट प्रतिवाद गर्न खोजेको देखिन्छ । प्रस्तुत मुद्दाकी वादी सोझी लठेब्री महिला रहिछन् भन्ने कुरा फिराद तथा प्रतिउत्तर व्यहोराबाट पनि देखिएकै छ । यस्तो सोझोपनकी महिलाप्रति यी प्रतिवादीले मौकाको फाइदा उठाएका हुन् भन्ने कुरा उनको भनाईको विश्लेषणबाट पुष्टि हुन्छ । मैले करणी गरेकै थिइन वा होइन भनी एकतर्फी जिकिर लिँदैमा निज प्रतिवादीको भनाईलाई अन्य प्रमाणबाट पुष्टि नभइकन मान्यता दिँदै जाने हो भने समाजमा सोझा सीधा मानिसहरूबाट फाइदा उठाउनेहरूलाई मद्दत पुग्न जाने अवस्था देखिन्छ । यसै सन्दर्भमा यसै अदालतबाट नेकाप २०३४, अङ्क ५, निर्णय नं.१०५२, पृष्ठ १३८ को बच्ची विष्ट वि. कविन्द्रबहादुर विष्ट क्षत्रीसमेत भएको अंशचलन मुद्दामा “करणीको तथ्य प्रमाणित गर्ने प्रत्यक्ष प्रमाण साधारणतया नहुने । कुनै दुई वटा युवक युवतीको बीचमा राजीखुसीले भएको करणी सर्वसाधारणले देख्ने गरी भएको हुँदैन । त्यसैले यो तथ्य प्रमाणित गर्ने प्रत्यक्षदर्शी साक्षी पनि साधारणतः नपाइने । तसर्थ करणीको तथ्य एकिन गर्न पक्षहरूको आचरण र परिस्थितजन्य अन्य प्रमाणहरू मै भर पर्ने” भन्ने सिद्धान्त स्थापित भएको पाइन्छ । त्यसैगरी लिलबहादुरको हकमा परिमल रानाक्षेत्री विरूद्ध चित्ता वि.क. भएको बच्चाको न्वारान गरी नाता कायम (नेकाप २०६५, अङ्क १०, निर्णय नम्बर ८०२६, पृष्ठ १२५०) को मुद्दामा “करणी र बच्चाको जन्मसम्बन्धी विवादसँग सम्बन्धित महिलाको बयानलाई गम्भीरतापूर्वक हेर्नुपर्ने” भनी सीद्बान्त स्थापित भएको पाइन्छ । प्रस्तुत मुद्दामा DNA परीक्षणको माग प्रतिवादीले उठाएको र परीक्षण पश्चात अदालतले प्रक्रिया नपुगेको आधारमा पुनः DNA परीक्षणको लागि आदेश जारी गरेको अवस्थामा पुनरावेदक प्रतिवादीले तारिख नै गुजारी बसेको र यस अदालतबाट जारी भएको सूचना म्यादसमेतलाई बेवास्ता गरेको अवस्थामा अघिल्लो पटक भएको DNA परीक्षणको काम कारवाही र सोबमोजिम विशेषज्ञबाट भएको बकपत्रलाई मान्यता दिई रहनु पनि न्यायोचित हुने देखिँदैन । यसै सन्दर्भमा मु.स. गर्ने बुद्धु अहिर विरूद्ध कुल्लर अहिर भन्ने जंगबहादुर अहिर भएको अंश नामसारी (नेकाप २०६६, अङ्क ११, निर्णय नं. ८२५०, पृष्ठ १७२७ को मुद्दामा “विशेषज्ञको रायको महत्त्व राख्ने DNA परीक्षण प्रतिवेदनले निश्चयात्मक सबुद) (Conclusive Proof) को स्थान ग्रहण गर्न भने नसक्ने पनि हुन सक्दछ । विशेषज्ञको राय न्यायकर्तालाई न्यायिक निष्कर्ष निकाल्न सघाउ पुर्याउने एउटा माध्यममात्र हो । अन्य प्रत्यक्ष तथ्य विश्वास गर्नलायक प्रमाणहरूको शृङ्खलाले DNA परीक्षण प्रतिवेदनको प्रतिकूल निष्कर्ष निकाल्दछन् भने न्यायकर्ताले यी प्रमाणहरूको शृङ्खलाका आधारमा उपयुक्त अवधारणा बनाउन सक्ने” भन्ने सिद्धान्तसमेत स्थापित भएको पाइन्छ ।
७. तसर्थ माथि विवेचना गरिएका आधार र कारणबाट यी पुनरावेदक प्रतिवादीको करणी वीर्यबाट गर्भ रही छोरा जातकको बच्चा जन्मेको पुष्टि हुन आएकाले वादी तथा प्रतिवादीका बीचमा लोग्नेस्वास्नीको नाता कायम हुने र प्रतिवादीले जन्मेको छोराको न्वारानसमेत गरिदिनुपर्ने ठहर्याई सुरू रामेछाप जिल्ला अदालतले मिति २०६३।८।२४ मा गरेको फैसलालाई सदर हुने ठहर्याएको पुनरावेदन अदालत, जनकपुरको मिति २०६४।३।१५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी नियमानुसार मिसिल अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. दीपकराज जोशी
इति संवत् २०७१ साल कात्तिक ९ गते रोज १ शुभम् ।
इजलास अधिकृत : रामप्रसाद बस्याल