निर्णय नं. ९३०४ - सवारी ज्यान
सर्वोच्च अदालत, संयुक्त इजलास
सम्मानीय प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
फैसला मिति : २०७१।१।२२।२
०६६-CR-००१३
मुद्दा : सवारी ज्यान ।
पुनरावेदक/वादी : सन्तमान महर्जनको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उ.म.न.पा.वडा नं.२२ बस्ने विजेन्द्र पोडे
§ सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि सम्बन्धित निकायबाट लिइने लिखित एवम् प्रयोगात्मक परीक्षाका विभिन्न प्रक्रियाहरू पूरा गरेपश्चात त्यस्ता परीक्षामा उत्तीर्ण भएका व्यक्तिहरूलाई मात्र सम्बन्धित आधिकारिक निकायबाट सवारी चालक अनुमतिपत्र प्रदान गरिने व्यवस्था पनि सवारी तथा यातायातसम्बन्धी कानूनमा उल्लेख भएको पाइन्छ । सवारी साधन चलाउने व्यक्तिमा अनिवार्यरूपमा हुनुपर्ने सोसम्बन्धी क्षमता र योग्यताको सुनिश्चितता गरी सवारी दुर्घटनाबाट हुन सक्ने जीउ धनमाथिको सम्भावित जोखिम हटाउनका लागि नै विधायिकाले उल्लिखित कानूनी व्यवस्था गरेको हो भन्ने कुरामा विवाद हुन नसक्ने ।
§ सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिले सार्वजनिक सडकमा सवारी चलाउने कार्य गर्नु भनेको आफैँमा लापरवाहीपूर्ण कार्य हो । साथै, त्यसरी सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिले चलाएको सवारी साधनबाट ठक्कर लागी वा किची मानिसको ज्यान गएमा सो कार्य स्वतः लापरवाहीपूर्वक गरिएको कार्यको परिणामस्वरूप भएको भन्ने मान्नुपर्ने ।
(प्रकरण नं. ५)
पुनरावेदक/वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता भरतलाल शर्मा
प्रत्यर्थी/प्रतिवादीको तर्फबाट :
अवलम्बित नजिर :
§ नेकाप २०७०, फागुन, नि.नं.९०७३, पृ.१३२७
§ सर्वोच्च अदालत बुलेटिन २०६५, पूर्णाङ्क ३८६, पृष्ठ २४
सम्बद्ध कानून :
§ सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५ र १६१(२), (३), (४)
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या. श्री कुमारप्रसाद पोखरेल
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या.श्री बुद्धिप्रसाद रेग्मी
मा.न्या.श्री जनार्दनबहादुर खड्का
फैसला
प्र.न्या. दामोदरप्रसाद शर्मा : पुनरावेदन अदालत, पाटनको मिति २०६५।१०।१० को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा निवेदन परी यस अदालतबाट मिति २०६६।३।२८ मा दोहोर्याउने निस्सा प्रदान भई पुनरावेदनको रूपमा पेस भएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :
मिति २०६३।१।२२ गते साँझ ५.४५ बजेको समयमा ल.पु.उ.म.न.पा. सुन्धारा, भोलढोकामा विजेन्द्र पोडेले हाँकेको बा. ५ प ७२७१ नं. को मोटरसाइकलले ल.पु.उ.म.न.पा.वडा नं.६ बस्ने वर्ष ८३ को बेखालक्ष्मी महर्जनलाई ठक्कर दिँदा घाइते भई वि.एन्ड वि. अस्पतालमा उपचार भइरहेको हुँदा निज चालक विजेन्द्र पोडेलाई पक्राउ गरी दाखिला गरेको भन्नेसमेत व्यहोराको विजेन्द्र पोडेको मेडिकल जाँचपत्रसहित वडा प्रहरी कार्यालय मङ्गलबजार, ललितपुरको पत्र ।
विजेन्द्र पोडेलाई खोजी भएका बखत दाखिला गराउने छु भनी विजेन्द्र पोडेलाई बुझी लगी सानु देउलाले गरेको कागज ।
मिति २०६३।१।२२ गते साँझ ५:४५ बजेको समयमा ल.पु.उ.म.न.पा.वडा नं.८ सुन्धारा, भोलढोकास्थित सडकमा मेरो आमा वर्ष ८३ की बेखालक्ष्मी महर्जनलाई विजेन्द्र पोडेले हाँकेको बा. ५ प ७२७१ नं. को मोटरसाइकलले ठक्कर दिँदा घाइते भई वि. एन्ड वि. अस्पतालमा उपचारको क्रममा मिति २०६३।१।२७ गते मृत्यु भएको हुँदा कानूनबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको सन्तमान महर्जनको जाहेरी दरखास्त ।
मुखबाट रगत बगेको, दायाँ गालाको भागमा रगत टाटा बसेको, टाउकोको पछाडिपट्टिको भागमा टाँका लगाएको, चोट रहेको हातको दुबै नाडीको भागमा नीलोडाम रहेको भन्नेसमेत व्यहोराको लासको प्रकृति विवरण ।
मेरो पतिले हाँकेको बा. ५ प ७२७१ नं. को मोटरसाइकलले ठक्कर दिएको ल.पु.उ.म.न.पा.वडा नं.६ बस्ने बेखालक्ष्मी महर्जनको उपचारको क्रममा मृत्यु भएको थाहा पाई जिम्मा बुझी लगेको मेरो पति विजेन्द्र पोडेलाई निवेदनसाथ दाखिला गराएको भन्नेसमेत व्यहारको सानु देउलाको निवेदन ।
पूर्वमा ग्वार्खु तर्फबाट सडक, पश्चिममा मङ्गलबजार जाने सडक, उत्तरमा भोलढोका बालकुमारीतर्फ जाने सडक, दक्षिणमा लगनखेलतर्फ जाने सडक यति चार किल्लाभित्र १८ फिट चौडा दुबैतर्फ ६ फिट ग्राभेल भएको जम्मा २४ फिटको सडकमा ग्वार्खुतर्फबाट भोलढोका त्यागलतर्फ जाँदै रहेको विजेन्द्र पोडेले हाँकेको बा. ५ प ७२७१ नं. को मोटरसाइकलले ल.पु.उ.म.न.पा.वडा नं.६ बस्ने वर्ष ८३ को बेखालक्ष्मीलाई ठक्कर दिँदा घाइते भई वि. एन्ड वि. अस्पतालमा उपचार हुँदाहुँदै निजको मृत्यु भएको भन्ने घटनास्थल मुचुल्का ।
मिति २०६३।१।२२ गत साँझ ५.३० बजेको समयमा मेरो भतिजा पर्ने निरोज पोडेको मोटरसाइकल चलाई ग्वार्खुतर्फबाट त्यागल, भोलढोकातर्फ जाँदै गर्दा ल.पु.उ.म.न.पा.वडा नं.६ बस्ने बेखालक्ष्मी महर्जनलाई मैले चलाएको बा.५ प ७२७१ नं. को मोटरसाइकलले ठक्कर दिँदा घाइते भई वि. एन्ड वि. अस्पतालमा उपचारको क्रममा निजको मिति २०६३।१।२७ गते मृत्यु भएको हो । मेरो सवारी चालक अनुमतिपत्र छैन भन्नेसमेत व्यहोराको प्रतिवादी विजेन्द्र पोडेको बयान ।
चालक विजेन्द्रको तर्फबाट विजेन्द्रको बाबु ब्रमुचा पोडेले मृतक मेरो आमा बेखालक्ष्मी महर्जनको काजकिरिया क्षतिपूर्तिबापतको रू.६४,०००/- दिन सहमति भएकाले हाम्रो मञ्जुर भएको भन्नेसमेत व्यहोराको जाहेरवाला सन्तमान महर्जनसमेतको निवेदनपत्र ।
मेरो घरको कम्पाउण्डमा राखेको बा.५ प ७२७१ को मोटरसाइकल म नभएको अवस्थामा अन्य साँचो मिलाई निज मेरो काका नातापर्ने विजेन्द्र पोडेले हाँकी हिडेको अवस्थामा मिति २०६३।१।२२ गते साँझपख ल.पु.उ.म.न.पा.वडा नं.८ बस्ने बेखालक्ष्मी महर्जनलाई ठक्कर दिई घाइते बनाई निजको उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल निजले आफैँले लगी चलाएका हुन् भन्नेसमेत व्यहोराको निरोज पोडे देउलाले लेखाइदिएको घटना विवरण कागज ।
सन्तमान महर्जन र प्रतिवादीको तर्फबाट विजेन्द्र पोडेको बाबु ब्रमुचा पोडेले मृतक बेखालक्ष्मी महर्जनको काजकिरिया क्षतिपूर्तिबापतको रू.६४,०००/- लिन दिन मञ्जुर भई उक्त रकम जाहेरवाला मृतकको छोरा सन्तमान महर्जनले बुझी लिएको भरपाई यसै पत्रसाथ पठाएको भन्नेसमेत व्यहोराको जिल्ला प्रशासन कार्यालय, ललितपुरको पत्र ।
बा.५ प ७२७१ नं. को मोटरसाइकल मेकानिकल जाँच गर्दा पार्टपुर्जा ठीक रहेको भन्ने प्रतिवेदन ।
मिति २०६३।१।२२ गते साँझ ५.३० बजेको समयमा ल.पु.उ.म.न.पा.वडा नं.८ सुन्धारास्थित सडकमा बाटो काट्न लागेकी वर्ष ८३ को बेखालक्ष्मी महर्जनलाई विजेन्द्र पोडेले हाँकेको बा. ५ प ७२७१ नं. को मोटरसाइकलले ठक्कर दिँदा घाइते भई वि.एन्ड वि. अस्पतालमा उपचार हुँदाहुँदै सोही २७ गते निजको उपचारको क्रममा सोही सवारीको ठक्करको चोटको कारणबाट मृत्यु भएको हो भन्नेसमेत व्यहोराको घटनास्थल आसपासका मानिसहरूले खुलाइ लेखाइ दिएको घटना विवरण ।
अनुसन्धानको क्रममा यस कार्यालयमा रहेको बा.५ प ७२७१ को मोटरसाइकल मेरो जिम्मा पाउँ भन्नेसमेत व्यहोराको निरोज पोडेको निवेदन ।
बा.५ प ७२७१ नं. को मोटरसाइकल बुझी लिएँ भनी निरोज पोडेले बुझी लिएको भरपाई कागज ।
टाउकोसमेतमा चोट लागेको कारण मृत्यु भएको भन्नेसमेत व्यहोराको शव परीक्षाण प्रतिवेदन ।
प्रतिवादी विजेन्द्र पोडेले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५, १६१(२) र १६१(४) अनुसारको कसुर गरेको देखिँदा यी प्रतिवादी विजेन्द्र पोडेलाई सोही ऐनको दफा १६१(२) र १६१(४) अनुसार सजाय हुन तथा प्रतिवादी निरोज पोडेले आफ्नो नाममा दर्ता भएको बा.५ प ७२७१ नं. को मोटरसाइकल प्रतिवादी विजेन्द्र पोडेसँग मोटरसाइकल चलाउन पाउने सवारी चालक अनुमतिपत्र छैन भन्ने थाहा जानकारी हुँदाहुँदै पनि उक्त मोटरसाइकल चलाउन दिई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४६ र १६१ को उपदफा ५ अनुसारको कसुर गरेको देखिँदा यी प्रतिवादी निरोज पोडेलाई सोही ऐनको दफा १६१(५) बमोजिम सजाय हुन माग दावी लिई प्रतिवादी विजेन्द्र पोडेलाई प्रस्तुत गरिएको र फरार रहेका प्रतिवादी निरोज पोडेलाई सम्मानित अदालतबाट म्याद जारी गरी पाउन र मृतकको नजिकको हकदार शान्त महर्जनले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार पाउने किरिया खर्च र क्षतिपूर्तिबापत रू.६४,०००/- मोटरसाइकल चालकको तर्फबाट बुझी लिएको भरपाई मिसिल संलग्न देखिँदा त्यसतर्फ कुनै माग दावी नलिइएको भन्नेसमेत व्यहोराको अभियोग माग दावी ।
मैले सवारी चलाउँदा कुनै किसिमको मादक पदार्थ सेवन गरेको थिइन । मेरो नामको सवारी चालक अनुमतिपत्र छैन । प्रतिवादी निरोज देउला मेरो भतिजो पर्छ । उसको बाइक सतुङ्गलमा राखेकाले मैले घरतर्फ लगेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी विजेन्द्र पोडेले ललितपुर जिल्ला अदालतमा गरेको बयान ।
मुलुकी ऐन, अ.बं.११८ नं.को देहाय ५, १० नं. को अवस्था विद्यमान हुँदा पछि प्रमाण बुझ्दैजाँदाका अवस्थामा ठहरेबमोजिम गर्ने गरी हाललाई प्रतिवादीबाट नगद रू.२९,०००/- नगद धरौट वा सो बराबरको जेथा जमानत दिए लिई पुर्पक्षको निमित्त तारिखमा राख्नु भन्नेसमेत मिति २०६३।२।१० को आदेशानुसार निज प्रतिवादी विजेन्द्र पोडेले रू.२९,०००/- धरौटी राखी तारिखमा बसेको ।
मेरी आमा बेखालक्ष्मी महर्जनलाई प्रतिवादी विजेन्द्र पोडेले चलाएको मोटरसाइकले ठक्कर दिई मेरी आमालाई वि. एन्ड वि. अस्पतालमा भर्ना गरी उपचारको क्रममा ६ दिनपछि मृत्यु भएको हो भन्ने जाहेरवाला शान्तमान महर्जनले गरेको बकपत्र ।
प्रतिवादी विजेन्द्र पोडेले चलाएको मोटरसाइकलको ठक्करबाट मानिस मर्न गएको अवस्था हुँदा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा (३) बमोजिम यी प्रतिवादी विजेन्द्र पोडेलाई कैद दिन १० सजाय हुनाको साथै चालक अनुमतिपत्र प्राप्त नगरी मोटरसाइकल चलाई मानिस मर्नगएको देखिँदा ऐ.ऐनको दफा १६१(४) बमोजिम थप रू.२,०००/- जरिवाना हुने ठहर्छ । प्रतिवादीमध्येका निरोज पोडेको हकमा मुद्दा तामेलीमा राखिदिने ठहर्छ भन्ने व्यहोराको मिति २०६४।३।५ को सुरू ललितपुर जिल्ला अदालतको फैसला ।
सुरू फैसला त्रुटिपूर्ण छ । प्रतिवादी निरोज पोडेको हकमा अ.बं.११२ नं. को प्रक्रिया पूरा नगरी तामेलीमा राख्ने गरेको निर्णय मिलेको छैन । अर्का प्रतिवादी विजेन्द्र पोडेको हकमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३(३) र (४) बमोजिम सजाय गरेको पाइन्छ । ऐ.ऐनको दफा १६१(२) को अवस्थामा मात्र दफा १६१(४) आकर्षित हुने हुँदा सुरू अदालतबाट १६१(३) र (४) बमोजिमको सजाय गरी विरोधाभास निर्णय हुनगएको छ । अदालतले नै स्वीकार गरिसकेको १६१(२) को कसुरलाई कायम नगरी सजाय नभएको हदसम्मको सुरू फैसला कानूनप्रतिकूल हुँदा बदर गरिपाउँ भन्ने व्यहोराको नेपाल सरकारको पुनरावेदन अदालत, पाटनमा परेको पुनरावेदनपत्र ।
यसमा चालक अनुमतिपत्रसमेत नभएको व्यक्तिले चलाएको सवारी साधनलाई दुर्घटना भएको अवस्थामा त्यसतर्फ विवेचना नै नगरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(३) लगाई गरेको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६४।१०।२३ को आदेश ।
प्रतिवादीले लापरवाहीपूर्वक मोटरसाइकल चलाएको नदेखिँदा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को दावी नपुग्ने तर निजले चलाएको सवारीबाट दुर्घटनासम्म भएकाले सो ऐनको दफा १६१(३) को कसुर गरेकाले निजलाई १० दिन कैद हुने र सवारी चालक अनुमतिपत्र नपाइकन मोटरसाइकल चलाई मानिस मर्नगएको तथ्य स्थापित भएको आधारमा सोही ऐनको दफा १६१(४) बमोजिम थप रू.२,०००/- जरिवाना गरी प्रतिवादी निरोज पोडेको हकमा वादी पक्षबाट वतन खुलाई पठाउन नसकेको आधारमा तामेलीमा राखी दिने ठहर गरेको सुरू ललितपुर जिल्ला अदालतको फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६५।१०।१० को फैसला ।
पुनरावेदन अदालतको फैसलामा चित्त बुझेन । प्रतिवादी विजेन्द्र पोडेले सवारी चालक अनुमतिप्राप्त नगरी सवारी चलाउनु लापरवाहीपूर्ण कार्य हो । निजले चलाएको मोटरसाइकलले ठक्कर दिई मानिस मरेको लापरवाहीपूर्ण कार्य भएको अवस्थामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम सजाय गर्नुपर्नेमा आकर्षित नै नहुने दफा १६१(३) बमोजिम सजाय गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरी प्रतिवादीलाई अभियोग दावीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको यस अदालतमा परेको निवेदनपत्र ।
यसमा कुनै पनि व्यक्तिले चालक अनुमतिपत्र प्राप्त नगरी कुनै पनि सवारी चलाउनुहुँदैन भन्ने सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५ मा भएको व्यवस्थाको विपरीत सवारी चालक अनुमतिपत्र नभएका प्रतिवादी विजेन्द्र पोडेले हाँकेको मोटरसाइकलको ठक्करबाट मानिसको मृत्यु भएकाले निजउपर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) र (४) समेतको माग दावी लिई अभियोगपत्र दायर भएकोमा सोबमोजिमको कसुर नठहराई निजलाई उक्त ऐनको दफा १६१(३) बमोजिम सजाय गरेको देखिन्छ । उक्त दफा १६१(२) मा कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची ठक्कर लागी मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको नभए तापनि त्यसरी सवारी चलाउँदा कसैको ज्यान मर्नसक्ने ठूलो सम्भावना छ भन्ने कुरा जानीजानी वा लापरवाही गरी सवारी चलाएको कारणबाट कुनै मानिस मर्नगएमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार दुई वर्षदेखि दश वर्ष कैद हुने व्यवस्था रहेको छ । सवारी चलाउन नजान्ने वा जाने पनि चालक अनुमतिपत्र नपाएको व्यक्तिले सवारी चलाउँदा त्यस्तो घटना हुने र मानिस मर्नसक्ने सम्भावना रहेको कुरा सामान्य समझका व्यक्तिले पनि जान्ने कुरा हुँदाहुँदै त्यसरी सवारी चलाएको देखिने अवस्थामा जानीजानी लापरवाहीपूर्वक सवारी चलाएको मान्नुपर्ने हुँदा सोबाट ठक्कर लागी मानिस मरेको देखिएकाले यस्तोमा पनि सो कानूनी व्यवस्थाबमोजिमको कसुर कायम नगरेको पुनरावेदन अदालत, पाटनको फैसलामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५ र १६१(२) को व्याख्यात्मक त्रुटि देखिनुका साथै सर्वोच्च अदालत बुलेटिन, २०६५ पूर्णाङ्क ३८६, पृष्ठ २४ मा प्रकाशित यस अदालतबाट भएको फैसलासमेतको त्रुटि देखिनुका साथै अ.बं.१८४ क नं. तथा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ समेतको प्रत्यक्ष त्रुटि विद्यमान रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ । विपक्षी झिकाई आएपछि नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०६६।३।२८ को आदेश ।
नियमबमोजिम दैनिक पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदनसहितको मिसिल अध्ययन गरियो । पुनरावेदक वादी नेपाल सरकारतर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री भरतलाल शर्माले प्रतिवादी विजेन्द्र पोडेले सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाउनु आफैँमा लापरवाहीयुक्त कार्य हो । निजले चलाएको सवारीको ठक्करले मानिसको मृत्यु भएको अवस्थामा अभियोग दावीबमोजिम सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम कसुर कायम गरी सजाय गर्नुपर्नेमा आकर्षित नै नहुने दफा १६१(३) बमोजिम सजाय गरेको फैसला उक्त ऐन तथा यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत भएकाले उल्टी गरी अभियोग दावीबमोजिम सजाय हुनुपर्छ भन्नेसमेत बहस गर्नुभयो ।
उपर्युक्तानुसारको बहससमेत सुनी प्रस्तुत मुद्दामा सुरू फैसला सदर हुने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेको छ वा छैन र पुनरावेदन जिकिर पुग्ने हो वा होइन भन्ने निर्णय दिनुपर्ने देखियो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी विजेन्द्र पोडेले सवारी चालक अनुमतिप्राप्त नगरी चलाएको बा.५ प ७२७१ नं. को मोटरसाइकलले बेखालक्ष्मी महर्जनलाई ठक्कर दिई घाइते भई उपचारको क्रममा मृत्यु भएकाले निज प्रतिवादीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४८ को दफा ४५, १६१(२) र १६१(४) बमोजिमको कसुर गरेकाले सोही नं. बमोजिम सजाय हुन र प्रतिवादी विजेन्द्र पोडेसँग मोटरसाइकल चलाउन पाउने सवारी चालक अनुमतिपत्र छैन भन्ने थाहा हुँदाहुँदै पनि मोटरसाइकल चलाउन दिई उक्त ऐनको दफा ४६ र १६१(५) को कसुर गरेको देखिँदा सवारी धनी निरोज पोडेलाई सोही दफाबमोजिम सजायको माग दावी लिई अभियोगपत्र दायर भएकोमा प्रतिवादी विजेन्द्र पोडेको हकमा उक्त ऐनको दफा १६१(३) बमोजिम १० दिन कैद र दफा १६१(४) बमोजिम रू.२,०००/- जरिवाना र प्रतिवादी निरोज पोडेको हकमा वतन एकिन नभएको आधारमा तामेलीमा राखी दिने ठहराई सुरू ललितपुर जिल्ला अदालतबाट भएको फैसला पुनरावेदन अदालत, पाटनबाट सदर भएकोमा वादी नेपाल सरकारको तर्फबाट मुद्दा दोहोर्याई हेरिपाउँ भनी यस अदालतमा निवेदन परी दोहोर्याउने निस्सा प्रदान भई पुनरावेदनको रूपमा निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको रहेछ ।
३. प्रतिवादी विजेन्द्र पोडेले सवारी चालक अनुमतिपत्र प्राप्त नगरी चलाएको मोटरसाइकलले सडकमा बाटो काट्न लागेकी बेखालक्ष्मी महर्जनलाई ठक्कर दिई उपचारको क्रममा निजको मृत्यु भएको भन्ने वादी पक्षको अभियोजन भएको सन्दर्भमा प्रतिवादी विजेन्द्र पोडेले मौकामा र अदालतसमक्षको बयानमा समेत आफूले चलाएको सवारीबाट बेखालक्ष्मी महर्जनको मृत्यु भएको भन्ने कुरा स्वीकार गरेको देखिएकाले बेखालक्ष्मी महर्जनको यिनै प्रतिवादीले चलाएको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको भन्ने कुरामा विवाद भएको देखिँदैन । वादी पक्षको अभियोजनमा प्रतिवादीले सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाई सो सवारीको ठक्करले मानिसको मृत्यु भएकाले उक्त कार्य लापरवाहीपूर्वक भएको मान्नुपर्ने भई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५ र दफा १६१(२) विपरीत भएकाले सोही दफाबमोजिम सजाय हुनुपर्नेमा अभियोग दावीभन्दा फरक कसुर कायम गरेको फैसला मिलेको छैन भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर भएको सन्दर्भमा प्रतिवादीले लापरवाहीपूर्वक सवारी चलाएको कारण मानिसको मृत्यु भएको हो वा होइन भन्ने सम्बन्धमा नै सर्वप्रथम विचार गर्नुपर्ने हुनआयो । यस सम्बन्धमा सवारी तथा यातायात तथा व्यवस्था ऐन, २०४९ को दफा ४५ र १६१(२) मा भएको व्यवस्था हेर्न सान्दर्भिक हुन्छ । सो दफा निम्नानुसार रहेको पाइन्छः-
दफा ४५- सवारी चलाउन नहुनेः कुनै पनि व्यक्तिले चालक अनुमतिपत्र प्राप्त नगरी कुनै पनि सवारी चलाउनुहुँदैन ।
दफा १६१(२)- कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागी वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारीबाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलमा उल्लिखित म्यादभित्र मरेमा त्यस्तो ज्यान मार्ने मनसाय लिई गरेको नभए तापनि त्यसरी सवारी चलाउँदा कसैको ज्यान मर्नसक्ने ठूलो सम्भावना छ भन्ने कुरा जानीजानी वा लापरवाही गरी सवारी चलाएको कारणबाट सवारी दुर्घटना हुन गई त्यसको कारणबाट कुनै मानिसको मृत्यु हुनगएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार दुई वर्षदेखि दश वर्षसम्म कैद हुनेछ ।
४. सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा रहेको उपर्युक्त कानूनी व्यवस्थाका सन्दर्भमा प्रस्तुत मुद्दाको तथ्यलाई हेर्दा प्रतिवादी विजेन्द्र पोडेले अनुसन्धान अधिकारीसमक्षको बयानमा र अदालतमा बयान गर्दासमेत आफूले सवारी चालक अनुमतिपत्र प्राप्त नगरी मोटरसाइकल चलाएको भन्ने कुरा स्वीकार गरेको देखिन आउँछ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५ मा कुनै पनि व्यक्तिले चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाउन नपाइने गरी जुनसुकै प्रकारका सवारी साधन चलाउनको लागि चालक अनुमतिपत्र लिनुपर्ने बाध्यात्मक व्यवस्था गरेको देखिन्छ ।
५. वस्तुतः कुनै पनि सवारी साधन चलाउनको लागि निश्चित योग्यता एवम् क्षमताको आवश्यकता पर्ने भन्ने कुरामा विवाद हुन सक्तैन । सोही आवश्यकताको महसुस गरी विधायिकाले सवारी तथा यातायात सञ्चालन गर्ने सम्बन्धमा विशेष कानून निर्माण गरी चालक अनुमतिपत्र प्राप्त गर्नको लागि निश्चित योग्यता र क्षमताको परीक्षाण अनिवार्यरूपमा हुनुपर्नेलगायतको कानूनी व्यवस्था उक्त ऐनमा गरेको पाइन्छ । सो प्रयोजनका लागि सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि सम्बन्धित निकायबाट लिइने लिखित एवम् प्रयोगात्मक परीक्षाका विभिन्न प्रक्रियाहरू पूरा गरेपश्चात त्यस्ता परीक्षामा उत्तीर्ण भएका व्यक्तिहरूलाई मात्र सम्बन्धित आधिकारिक निकायबाट सवारी चालक अनुमतिपत्र प्रदान गरिने व्यवस्था पनि सवारी तथा यातायातसम्बन्धी कानूनमा उल्लेख भएको पाइन्छ । सवारी साधन चलाउने व्यक्तिमा अनिवार्यरूपमा हुनुपर्ने सोसम्बन्धी क्षमता र योग्यताको सुनिश्चितता गरी सवारी दुर्घटनाबाट हुनसक्ने जीउ धनमाथिको सम्भावित जोखिम हटाउनका लागि नै विधायिकाले उल्लिखित कानूनी व्यवस्था गरेको हो भन्ने कुरामा विवाद हुन सक्तैन । कुनै पनि सवारी चलाउने व्यक्तिले सवारी चालक अनुमतिपत्र लिनुपर्ने गरी ऐनमा भएको उक्त व्यवस्था ऐच्छिक नभई बाध्यात्मक र अनिवार्यरूपमा पालना गर्नुपर्ने व्यवस्था भएकाले सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिले सवारी साधन चलाउन हुँदैन भन्ने कुरामा पनि कुनै विवाद हुन सक्तैन । सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिमा सवारी साधन चलाउने योग्यता, क्षमता र ज्ञान नभएको भन्ने मानिने भएकाले त्यस्ता व्यक्तिले सार्वजनिक सडकमा सवारी चलाउँदा कसैको ज्यान मर्न सक्ने ठूलो सम्भावना रहन्छ भन्ने कुरालाई इन्कार गर्न सकिँदैन । यस अर्थमा हेर्दा सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिले सार्वजनिक सडकमा सवारी चलाउने कार्य गर्नु भनेको आफैँमा लापरवाहीपूर्ण कार्य हो । साथै त्यसरी सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिले चलाएको सवारी साधनबाट ठक्कर लागी वा किची मानिसको ज्यान गएमा सो कार्य स्वतः लापरवाहीपूर्वक गरिएको कार्यको परिणामस्वरूप भएको भन्ने मान्नुपर्ने हुन्छ ।
६. कुनै पनि सवारी साधन चलाउन सवारी चालक अनुमतिपत्र प्राप्त गरेको हुनुपर्ने सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५ को माथि उल्लिखित व्यवस्था र दफा १६१(२) को लापरवाहीपूर्वक सवारी चलाउँदा मानिस मर्न गएमा हुने सजायसम्बन्धी व्यवस्था एक अर्कामा अन्तर्सम्बन्धित रहेको पाइन्छ । यस अवस्थामा दफा ४५ बमोजिम सवारी चालक अनुमतिपत्र प्राप्त नगरी कसैले सवारी चलाई मानिसको ज्यान मर्न गएमा उक्त कार्य लापरवाहीपूर्वक गरिएको मानिने हुँदा लापरवाहीपूर्वक सवारी चलाई मानिसको ज्यान मरेमा ऐनको दफा १६१(२) आकर्षित हुने भई उक्त कसुरका लागि दफा १६१(२) बमोजिमको सजाय हुने नै देखिन आयो ।
७. नेकाप २०७० फागुन, नि.नं.९०७३, पृ.१३२७ मा प्रकाशित नेपाल सरकार विरूद्ध राजकुमार तामाङसमेत भएको सवारी ज्यान मुद्दामा यस अदालतको पूर्ण इजलासबाट भएको फैसलामा “सवारी चलाउने अनुमतिपत्र नलिएको वा एउटा वर्गको हलुका सवारी साधन चलाउने अनुमतिपत्र लिई अर्को वर्गको भारी सवारी साधन चलाउने गरेको कार्य लापरवाहीयुक्त मान्नुपर्ने" भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ । त्यसैगरी सर्वोच्च अदालत बुलेटिन २०६५, पूर्णाङ्क ३८६, पृष्ठ २४ मा प्रकाशित प्रेमबहादुर कन्दङवा विरूद्ध नेपाल सरकार भएको सवारी ज्यान मुद्दामा यस अदालतको संयुक्त इजलासबाट भएको फैसलामा "प्रतिवादीले सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको भन्ने निज स्वयम्को बयानबाट स्वीकार गरेको देखिन्छ । अनुमतिपत्र प्राप्त नगरी सवारी चलाउनु सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५ विपरीत देखिन्छ । यसरी कानूनबमोजिमको चालक अनुमतिपत्र नलिई सवारी चलाउनु स्वयम्मा नै लापरवाहीपूर्ण क्रिया भएको" भन्ने सिद्धान्त प्रतिपादन भएको पाइन्छ ।
८. माथि विवेचित कानूनी व्यवस्था र यस अदालतबाट प्रतिपादन भएको उल्लिखित सिद्धान्तसमेतको आधारमा प्रस्तुत मुद्दाको सन्दर्भमा प्रतिवादी विजेन्द्र पोडेले मोटरसाइकल चलाउने सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सार्वजनिक सडकमा मोटरसाइकल चलाउँदा बेखालक्ष्मी महर्जनलाई ठक्कर दिई घाइते भई उपचारको क्रममा निज बेखालक्ष्मी महर्जनको मृत्यु भएको देखिएकाले निज प्रतिवादीको उक्त कार्य लापरवाहीपूर्वक गरिएको देखिएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) बमोजिम सजाय हुने देखियो । उपर्युक्तानुसार प्रतिवादी विजेन्द्र पोडेलाई दफा १६१(२) बमोजिम सजाय गर्नुपर्नेमा दफा १६१(३) बमोजिम सजाय गरेको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६५।१०।१० को फैसला मिलेको नदेखिँदा उल्टी भई प्रतिवादी विजेन्द्र पोडेलाई दुई वर्ष कैद सजाय हुने ठहर्छ । निजले सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाएको कारण मानिसको मृत्यु भएकाले उक्त ऐनको दफा १६१(४) बमोजिम थप दुई हजार रूपैयाँ जरिवानासमेत हुन्छ ।
९. वादी नेपाल सरकारले अभियोग दावीमा सवारी धनी निरोज पोडेलाई समेत प्रतिवादी बनाइएकोमा सुरू अदालतले वादी पक्षले अर्को वतन खुलाउन नसकेको भनी निजको हकमा मुद्दा तामेलीमा राखिदिएको देखिन्छ । नेपाल सरकारतर्फबाट यस अदालतमा परेको मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदनमा प्रतिवादी निरोज पोडेसमेतलाई प्रत्यर्थी कायम गरेकोमा यस अदालतबाट मुद्दा दोहोर्याउने निस्सा प्रदान भई प्रत्यर्थी झिकाउने आदेशानुसार उपस्थित हुन जारी भएको म्यादमा मुद्दा तामेलीमा रहेका प्रतिवादी निरोज पोडेसमेत यस अदालतमा हाजिर भई तारिखमा रहेको देखिए पनि निरोज पोडेको हकमा सुरू र पुनरावेदन तहबाट तामेलीमा रहेको कारण निर्णय हुन बाँकी रहेको अवस्थामा प्रस्तुत पुनरावेदनको रोहबाट निजको हकमा कानूनतः हाल बोल्न मिल्ने देखिएन । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि ठहर खण्डमा उल्लेख भएबमोजिम प्रतिवादी विजेन्द्र पोडेको हकमा दश दिन कैद र दुई हजार जरिवाना हुने ठहराएको सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६५।१०।१० को फैसला उल्टी भई प्रतिवादी विजेन्द्र पोडेलाई दुई वर्ष कैद र दुई हजार रूपैयाँ जरिवाना हुने ठहरी यस अदालतबाट फैसला भएको हुँदा सुरू ललितपुर जिल्ला अदालतको फैसलाको तपसिल खण्डको देहायमा उल्लेख भएबमोजिम जरिवानाका हकमा सोहीबमोजिम गर्नु र कैदको हकमा प्रतिवादी विजेन्द्र पोडे मिति २०६३।१।२८ देखि २०६३।२।१० सम्म प्रहरी हिरासतमा बसेको अवधि दिन १४ (चौध) कट्टा गरी बाँकी कैद एक वर्ष एघार महिना, सोह्र दिन निज बेरूजु हुँदा लगत कसी असुलउपर गर्नु भनी सुरू ललितपुर जिल्ला अदालतमा लेखिपठाउनू ------------------------ १
प्रतिवादी निरोज पोडेको हकमा मुद्दा तामेलीबाट जगाई अभियोगपत्रमा उल्लेख भएको वतनमा म्याद जारी गरी कानूनबमोजिम निर्णय गर्नु भनी सुरूमा लेखिपठाउनू ------------------------------------ २
दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ----------------------------------------३
उक्त रायमा सहमत छु ।
न्या. कल्याण श्रेष्ठ
इति संवत् २०७१ साल वैशाख २२ गते रोज २ शुभम् ।
इजलास अधिकृत : विश्वनाथ भट्टराई