शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९३०५ - उत्प्रेषण/परमादेश

भाग: ५६ साल: २०७१ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा

माननीय न्यायाधीश श्री गोपाल पराजुली

आदेश मिति : २०७१।५।३१। ५

०७०-WO-०८९६

 

मुद्दाः उत्प्रेषण/परमादेश ।

 

निवेदक : कपिलवस्तु जिल्ला, बैदौली गा.वि..साविक वडा नं.२ को हाल वडा नं.५ मौजा सोठौली बस्ने मतिबुल्लाह मुसलमान

विरूद्ध

विपक्षी : निजामती किताबखाना, हरिहरभवन, ललितपुरसमेत

 

§  शैक्षिक योग्यतामा उल्लिखित जन्ममितिले नागरिकता प्रमाणपत्रमा लेखिएको वर्षलाई पुष्टि गरेको अवस्थामा त्यसलाई अन्यथा हुने गरी निर्णय गरिएमा त्यसले नागरिकलाई प्रदान गरेको संविधानप्रदत्त पेसा रोजगार गर्न पाउने हक र समानताको हकमा अनिश्चितता उत्पन्न भई मौलिक हकमा समेत अनुचित बन्देज लाग्न गई आघात पर्न जाने ।

(प्रकरण नं. )

§  कानूनको शाब्दिक व्याख्या गर्दा कानूनको तर्कपूर्ण, विवेकसम्मत, व्यावहारिक एवम्न्यायपूर्ण अर्थ ननिस्कने भएमा कानूनको शाब्दिक व्याख्याको अनुशरण नगरी व्याख्याको स्वर्णिम नियमलाई अनुशरण गरी कानूनको सन्दर्भ सुहाउँदो सुस्पष्ट व्याख्या गर्नुपर्ने ।

(प्रकरण नं. )

§  शैक्षिक संस्थाबाट जारी भएको प्रमाणपत्र, नागरिकता प्रमाणपत्र वा वैयक्तिक नोकरी विवरण (सिटरोल) मा किटिएको जन्ममितिबाट हुन आएको उमेरलाई अवकाशको आधार मान्नुपर्ने देखिने ।

§  निजामती सेवा नियमावली, २०५० को नियम १०२ क को उपनियम () मा कुनै प्रमाणपत्रमा वर्षमात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ तथा त्यस्तो प्रमाणपत्रमा उल्लिखित जन्ममितिहरूको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिलाई आधार मान्नुपर्नेछ भन्ने व्यवस्था भएबाट निवेदकले विपक्षी निजामती किताबखानामा पेस गरेको शैक्षिक योग्यतासमेतका प्रमाणपत्रमा उल्लेख भएको जन्ममिति र अन्य कुनै प्रमाणहरूमा पेस भएका कागजातबाट देखिने जन्ममिति सो भन्दा फरकफरक उल्लेख भई जन्ममितिको बीचमा अन्तर रहेको नदेखिने 

(प्रकरण नं. )

 

निवेदकको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती र विद्वान् अधिवक्ता नरेन्द्रप्रसाद पाठक

विपक्षीको तर्फबाट : उपन्यायाधिवक्ता सूर्यराज दाहाल

अवलम्बित नजिर :

सम्बद्ध कानून :

§  निजामती सेवा ऐन, २०४९ को दफा ३३ को उपदफा ()

§  निजामती सेवा नियमावली, २०५० को नियम १०, १०२ क को उपनियम ()

 

आदेश

न्या. गोपाल पराजुली : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७() बमोजिम यस अदालतमा दर्ता भई निर्णयार्थ पेस हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम्आदेश यसप्रकार छ :

म निवेदक मिति २०३३।४।३ मा रा..अनं. द्वितीय श्रेणीको गा.वि..सचिव पदमा अस्थायी र २०३३।८।१ मा सोही पदमा स्थायी नियुक्ति पाई हाल रा..अनं.प्रथम श्रेणी (ना.सु.) पदमा बढुवा भई गा.वि..सचिव पदमा नै कार्यरत छु । मैले निजामती सेवा ऐनको व्यवस्थाबमोजिम आफ्नो उमेर हदको आधारबाट ५८ वर्षसम्म सेवा गर्न पाउनेमा विपक्षी निजामती किताबखानाले मिति २०७०।५।२७ को पत्रबाट मलाई मेरो मिति २०७१।३।३२ मा ५८ वर्ष उमेर पूरा हुने हुँदा मिति २०७१।४।१ देखि अनिवार्य अवकाश दिनु भनी म कार्यरत जिल्ला विकास समितिको कार्यालय, कपिलवस्तुलाई लेखेको पत्रको बोधार्थ मैले मिति २०७१।२।२० मा पाएँ । उक्त पत्रलाई हेर्दा मैले २०३३ सालमा अस्थायी सेवा प्रवेश गर्दा भरेको एकपाने सिटरोलमा जन्ममिति महलमा जन्ममिति उल्लेख नगरी २० वर्ष उल्लेख गरेको आधारमा जन्ममिति २०१३।४।१ कायम गरी मिति २०७१।३।३२ मा ५८ वर्ष उमेर पुग्ने अर्थ गरी मिति २०७१।४।१ देखि अनिवार्य अवकाश दिनु भन्ने व्यहोरा उल्लेख भएको देखियो जबकि मेरो शैक्षिक योग्यताको प्रमाणपत्र, मैले भरेको १३ पाने सिटरोल फाराममा र कर्मचारी सञ्चय कोषबाट प्राप्त परिचयपत्रमा मेरो जन्ममिति २०१४।८।१२ उल्लेख भई हालसम्म सोही जन्ममिति नै आधिकारिक जन्ममितिको रूपमा रहेको छ । एकपाने सिटरोलमा पनि मेरो जन्ममिति २०१३।४।१ भन्ने उल्लेख छैन । यसरी एकपाने सिटरोलमा जन्ममिति नलेखिएको हुँदा मलाई मिति २०७१।४।१ देखि अनिवार्य अवकाश दिने गरी लेखिएको पत्र कार्यान्वयन नगरी मिति २०१४।८।१२ को जन्ममिति कायम गरी अवकाश हुने व्यवस्था गरिपाउन विपक्षी निजामती किताबखाना, हरिहरभवनमा निवेदन गर्न जाँदा सो निजामती किताबखानाले यस्तो निवेदनउपर हामी कारवाही गर्न सक्तैनौं, अदालतको आदेश ल्याएमा विचार हुन सक्छ भन्ने जवाफ दिएको छ । 

एकपाने सिटरोलमा जन्ममिति नलेखिई उमेर २० वर्ष लेखिएको छ । एकपाने सिटरोलबाट कर्मचारीको पूर्ण र आधिकारिक विवरण खुल्दैन । सो फाराम मिति २०३३।४।१ मा भरिएको आधारमा मिति २०१३।४।१ लाई मेरो जन्ममिति कायम गरेको भए तापनि एकपाने सिटरोल फारामको मान्यता शून्य गराई हाल १३ पाने सिटरोल फाराम भराइसकिएको छ । १३ पाने वैयक्तिक विवरणसहितको सिटरोल फाराममा मेरो जन्ममिति २०१४।८।१२ उल्लेख भएको छ । मिति २०१३।४।१ भनिएको जन्ममितिलाई कुनै प्रमाणले पुष्टि गर्दैन । एकपाने सिटरोल फारामको औचित्य समाप्त भइसकेको हुँदा त्यसलाई आधार लिन मिल्दैन । विपक्षी निजामती किताबखानाले विपक्षी जिल्ला विकास समितिको कार्यालय, कपिलवस्तुलाई मलाई मिति २०७१।४।१ देखि अवकाश दिनु भनी लेखेको पत्रले मलाई निजामती सेवा ऐन, २०४९ को दफा ३३ विपरीत ५८ वर्ष उमेर पूरा नहुँदै अवकाश दिन खोजिएको छ । विपक्षीको उक्त गैरकानूनी पत्रबाट मेरो नेपालको अन्तरिम संविधान, २०६३ को धारा १८प्रदत्त रोजगारीको हक र धारा १२()() प्रदत्त पेसा रोजगार गर्न पाउने हकमा आघात पुगेको हुँदा मलाई मिति २०७१।४।१ देखि अनिवार्य अवकाश दिनु भनी लेखिएको मिति २०७०।५।२७ को पत्र संविधानको धारा १०७() को आधारमा बदर गरी मिति २०१४।८।१२ लाई मेरो जन्ममिति वा जन्मदिन कायम गरी सो मितिले ५८ वर्ष उमेर पूरा हुनुअगावै सेवाबाट अवकाश नदिनु भनी विपक्षीका नाममा परमादेश जारी गरिपाउँ । साथै विपक्षी निजामती किताबखानाको मिति २०७०।५।२७ को पत्र कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४१ बमोजिम विपक्षीहरूको नाममा अन्तरिम आदेशसमेत जारी गरिपाउँ भन्नेसमेत व्यहोराले निवेदकको तर्फबाट यस अदालतमा पेस भएको रिट निवेदन ।

यसमा विपक्षीहरूबाट लिखित जवाफ मगाई अन्तरिम आदेशको छलफलको लागि मिति २०७१।३।२२ को पेसी तोकी सोको सूचना विपक्षीहरूलाई दिई अन्तरिम आदेशसम्बन्धी छलफलसम्मका लागि मिति २०७०।५।२७ को पत्र तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी विपक्षीहरूको नाममा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४१() बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ भन्नेसमेत व्यहोराले यस अदालतबाट मिति २०७१।३।१३ मा भएको आदेश ।  

निजामती सेवा ऐन, २०४९ को दफा ३३() मा अनिवार्य अवकाशको उमेर गणना प्रयोजनको लागि निजामती कर्मचारीको उमेर सेवामा प्रवेश गर्दा निजले पेस गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आएको उमेर वा नागरिकताको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आएको उमेर वा निजले भरेको वैयक्तिक विवरणमा लेखी दिएको जन्ममिति वा वर्षबाट हुन आएको उमेरमध्ये जुन उमेरबाट निज पहिले अवकाश हुन्छ सोही आधारमा गणना गरिनेछ भन्ने व्यवस्था भएको देखिन्छ । निवेदकले मिति २०३३।४।१ गते आफ्नो उमेर २० वर्ष भनी वैयक्तिक विवरण सिटरोलमा उल्लेख गरेको छ । त्यसको आधारमा निजको जन्ममिति २०१३।४।१ उल्लेख भई अभिलेख कायम भएको छ । सो उमेरबाट निजले मिति २०७१।४।१ देखि अनिवार्य अवकाश पाउने देखिन्छ । निजामती सेवा नियमावली, २०५० को नियम १०२क. को () मा वर्ष वा संवत् मात्र उल्लेख भएको प्रमाणपत्रको आधारमा जन्ममिति कायम गर्दा सिटरोलको हकमा सुरू भर्ना भएको मितिको आधारमा जन्ममिति कायम गर्नुपर्ने भन्ने व्यवस्थाबमोजिम नै यस विभागबाट निजको जन्ममिति २०१३।४।१ कायम गरिएको   हो । साथै उक्त नियमको उपनियम () को व्यवस्थाबमोजिम जन्ममिति एकिन गर्ने क्रममा अन्य पूरा जन्ममिति खुलेको प्रमाणहरूसँग भिडाउँदा एक वर्ष भन्दा बढी फरक भएको देखिएकाले निजको जन्ममिति एकपाने सिटरोलमा उल्लिखित मितिको आधार मानी अवकाशपत्र दिइएको हो । तसर्थ, प्रस्तुत निवेदन खारेज गरिपाउँ भन्नेसमेत व्यहोराले विपक्षी निजामती किताबखानाको तर्फबाट पेस भएको लिखित जवाफ ।

निवेदकलाई मिति २०७१।४।१ गतेदेखि लागू हुने गरी अनिवार्य अवकाश दिनु भनी निजामती किताबखानाको प्राप्त पत्रबमोजिम निवेदकलाई सो पत्र बुझाउनेसम्म कार्य यस कार्यालयबाट भएको हो । निजलाई अवकाश दिने पत्र कार्यान्वयन भै नसकेको हुँदा प्रस्तुत निवेदन खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रत्यर्थी जिल्ला विकास समितिको कार्यालय, कपिलवस्तुको तर्फबाट पेस भएको लिखित जवाफ । 

नियमबमोजिम दैनिक पेसीसूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल संलग्न सक्कल कागजातहरूको अध्ययन गरी हेरियो ।

निवेदकका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिप्रसाद उप्रेती र विद्वान् अधिवक्ता श्री नरेन्द्रप्रसाद पाठकले विपक्षी निजामती किताबखानाले हाम्रो पक्षको जन्ममिति एकपाने सिटरोल भर्दा उमेर महलमा २० वर्ष लेखेको आधारमा २०१३।४।१ कायम गरी मिति २०७१।३।३२ मा ५८ वर्ष पूरा हुने हुँदा मिति २०७१।४।१ देखि अनिवार्य अवकाश दिनु भनी पत्र पठाएको छ तर निवेदकको जन्ममिति २०१३।४।१ हो भन्ने कुरा कुनै कागज प्रमाणबाट देखिँदैन । शैक्षिक योग्यताको प्रमाणपत्रसमेतमा निवेदकको जन्ममिति २०१४।८।१२ उल्लेख भएको छ । अवकाश मिति कायम गर्न आधार लिइएको निवेदकले भरेको एकपाने सिटरोलमा पनि जन्ममिति २०१३।४।१ भन्ने उल्लेख भएको छैन । वर्षसम्म उल्लेख भएको छ । नागरिकतामा उल्लेख भएको १८ वर्षले पनि जन्ममिति २०१४ साल नै हो भन्ने देखाउँछ । १३ पाने सिटरोलबाट निवेदकको अवकाश मिति २०७२।८।१२ भन्ने निश्चित छ । निजामती सेवा ऐन, २०४९ को दफा ३३() मा प्रयोग भएको सिटरोल भन्ने शब्दले १३ पाने सिटरोललाई जनाउने हुँदा निजामती किताबखानाको विवादित पत्र उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकको जन्ममिति २०१४।८।१२ कायम गरी सो मितिबाट ५८ वर्ष उमेर पुग्नुअगावै अवकाश नदिनु भनी विपक्षीहरूको नाममा परमादेशको आदेशसमेत जारी हुनुपर्दछ भन्ने व्यहोराले गर्नुभएको बहस सुनी सोही व्यहोरा समर्थित हुने गरी पेस भएको बहसनोटसमेतको अध्ययन गरियो ।

विपक्षी निजामती किताबखानाको तर्फबाट उपस्थित उपन्यायाधिवक्ता श्री सूर्यराज दाहालले निवेदकले २०३३।४।१ मा सेवा प्रवेश गर्दा भरेको वैयक्तिक विवरण (सिटरोल) मा आफ्नो उमेर २० वर्ष भनेर उल्लेख गर्नुभएको छ । वर्ष, महिना र गते उल्लेख गर्नुभएको छैन । यसरी वर्षमात्र उल्लेख भएको अवस्थामा निजामती सेवा नियमावली, २०५० को नियम १०२क. ()() मा सुरू भर्ना भएको मितिको आधारमा जन्ममिति कायम गर्नुपर्ने व्यवस्था भएकाले निजको जन्ममिति २०१३।४।१ कायम भएको हो । त्यस्ता कर्मचारीको अवकाश निजामती सेवा ऐन, २०४९ को दफा ३३() बमोजिम वैयक्तिक विवरणमा उल्लिखित वर्षबाट हुनआएको उमेरबाट नै अन्य प्रमाणका तुलनामा पहिले अवकाश हुने देखिएकाले २०७०।५।२७ मा २०७१।३।३२ मा ५८ वर्ष पूरा हुने हुँदा मिति २०७१।४।१ देखि अनिवार्य अवकाश हुने व्यहोराले पत्र लेखिएको कार्यमा कुनै कानूनको त्रुटि नहुँदा प्रस्तुत रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत व्यहोराबाट बहस प्रस्तुत गर्नुभयो ।

पक्ष विपक्षको तर्फबाट उपस्थित कानून व्यवसायीहरूले गर्नुभएको उपरोक्त बहससमेत मनन गरी निवेदन मागबमोजिमको आदेश जारी हुनुपर्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।

. निर्णयतर्फ विचार गर्दा रिट निवेदकले आफ्नो जन्ममिति २०१४।८।१२ भएकाले सो मितिले २०७२।८।११ मा मात्र ५८ वर्ष पुगी अनिवार्य अवकाश पाउनेमा विपक्षी निजामती किताबखानाले आफूले अस्थायीरूपमा जागिर खाएको समयमा भरेको एकपाने सिटरोलमा २० वर्ष भनी उमेर लेखिएको भन्ने तथ्यहीन आधार देखाई २०१३।४।१ लाई मेरो जन्ममिति कायम गरी मिति २०७१।३।३२ मा अनिवार्य अवकाश दिनु भनी विपक्षी जिल्ला विकास समितिको कार्यालय, कपिलवस्तुलाई मिति २०७०।५।२७ मा लेखेको पत्रले मेरो नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२()() प्रदत्त पेसासमेत गर्न पाउने हकधारा १८ प्रदत्त रोजगारीको हकमा र धारा १३ प्रदत्त समानताको हकमा तथा निजामती सेवा ऐन तथा नियमावलीप्रदत्त कानूनी हकमा आघात पुगी अनुचित बन्देज लागेकाले मिति २०७०।५।२७ को पत्र उत्प्रेषणको आदेशले बदर गरी २०१४।८।१२ जन्ममिति कायम गरी सोही मितिका आधारमा अवकाश दिने व्यवस्था गर्नु भनी विपक्षी निजामती किताबखानाको नाममा परमादेशको आदेश जारी गरिपाउँ भन्नेसमेत व्यहोरा उल्लेख गरेको देखिन्छ । विपक्षी निजामती किताबखानाको लिखित जवाफ हेर्दा निजामती सेवा ऐन, २०४९ को दफा ३३() र निजामती सेवा नियमावली, २०५० को नियम १०२क. () को () समेतका कानूनी आधारमा निजको जन्ममिति २०७१।३।३२ मा ५८ वर्ष पूरा भई अनिवार्य अवकाश पाउने देखिएकाले मिति २०७०।५।२७ मा अनिवार्य अवकाश पाउनेसम्बन्धी पत्र दिइएको हो भन्नेसमेत व्यहोरा उल्लेख भएको देखियो ।                               

. वस्तुतः कुनै सार्वजनिक जिम्मेवारी पाएको पदाधिकारीले वा कुनै सरकारी निकायले कानूनी त्रुटिपूर्ण निर्णय गरेबाट कुनै व्यक्तिको कानूनी हक अधिकारमा असर परेको छ भने सो त्रुटिलाई सच्च्याउन र कानूनी हकको प्रचलन गराउन अन्य कानूनी उपचारको व्यवस्था नभएको वा भएको भए तापनि प्रभावकारी नभएमा त्यस्तो निर्णय बदर गरी व्यक्तिको हक अधिकार प्रचलन गराउन र प्रचलित कानून लागू गराउन यस अदालतले असाधरण अधिकार क्षेत्रअन्तर्गत उत्प्रेषणको आदेशले त्यस्तो निर्णय बदर गर्ने हो । प्रस्तुत मुद्दामा विपक्षी निजामती किताबखाना, हरिहरभवनले जिल्ला विकास समितिको कार्यालय, कपिलवस्तुलाई पठाएको मिति २०७०।५।२७, .नं.२२७३/२३१८ को पत्रमायस विभागको अभिलेख अनुसार जिल्ला विकास समितिको कार्यालय, कपिलवस्तुमा कार्यरत रा..अनं. प्रथम श्रेणी/गा.वि.. सचिव (ना.सु.) पदका मतिबुल्लाह मुसलमान (सङ्केत नं.६२१५६) ले यस विभागमा पेस गरेको कागजात मध्ये निजामती सेवा ऐन, २०४९ (दोस्रो संशोधन, २०६४ सहित) को दफा ३३ बमोजिम व्यक्तिगत विवरण (सिटरोल) एकपानेमा उल्लिखित जन्ममिति २०१३।४।१ अनुसार मिति २०७१।३।३२ मा ५८ वर्ष उमेर पूरा हुने भएकाले मिति २०७१।४।१ देखि अनिवार्य अवकाश दिई यस विभागलाई जानकारी दिनुहुनभन्ने व्यहोरा उल्लेख भएको देखिन्छ ।

. निवेदकले निवेदनसाथ पेस गरेको परीक्षा नियन्त्रण कार्यालयबाट जारी भएको जो जससँग सम्बन्धित छ भनिएको पत्र, प्रवेशिका परीक्षा उत्तीर्ण प्रमाणपत्र, कर्मचारी सञ्चय कोषबाट जारी भएको परिचयपत्रमा र निवेदकले भरेको निजामती कर्मचारीको नोकरी तथा वैयक्तिक विवरण (सिटरोल) मा निवेदकको जन्ममिति मिति २०१४।८।१२ उल्लेख भएको देखिन्छ । तर, निवेदकलाई निजको जन्ममिति निजले एकपाने सिटरोल भर्दा २०३३ साल श्रावण महिनामा २० वर्ष उमेर भनी लेखेको र सो आधारमा निजको २०३३।४।१ जन्ममिति कायम हुने भई सो मितिबाट २०७१।३।३२ मा ५८ वर्ष उमेर पूरा हुने हुँदा उमेर हदका कारण अनिवार्य अवकाश पाउने व्यहोराले अवकाशको पत्र दिइएको देखिन्छ । सो एकपाने सिटरोलमा निवेदकको जन्ममिति उल्लेख नभई २० वर्ष भन्ने मात्र उल्लेख भएको देखिन्छ । निजले सेवा प्रवेश गरी एकपाने सिटरोल भर्नु भन्दा पहिले अर्थात् २०३२।९।२८ मा जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुबाट प्राप्त गरेको नागरिकताको प्रमाणपत्रमा जन्ममितिको महलमा १८ वर्ष उमेर उल्लेख भएको देखिन्छ ।

. निजामती सेवा ऐन, २०४९ को दफा ३३ बमोजिम कर्मचारीको अवकाश हुने उमेर गणना गर्दा कुनै न कुनै लिखतबाट प्रमाणित भएका आधिकारिक जन्ममितिको आधारमा गर्नुपर्ने हुन्छ । तथ्यहरूलाई समर्थन नगरेका कागजातलाई प्रमाणमा लिन मिल्दैन । प्रस्तुत विवादमा निवेदकको जन्ममितिको सम्बन्धमा शैक्षिक योग्यतालगायतका प्रमाणपत्रहरूबाट जन्ममिति २०१४।८।१२ उल्लेख भएको देखिन्छ भने नागरिकता लिँदाको मिति २०३२।९।२८ मा १८ वर्ष उमेर भनी उल्लेख भएको देखिन्छ । मिति २०३२।९।२८ मा १८ वर्ष उल्लेख भएको अवस्थामा निवेदकको जन्ममिति २०१४।८।१२ समर्थित हुन्छ हुँदैन भन्ने सम्बन्धमा विचार गर्दा १२ महिनाको १ वर्ष र ३० दिनको एक महिना हुने भएपछि सो १८ वर्ष पहिले कुन मितिमा निजको जन्म भएको भन्ने एकिन अन्य स्वतन्त्र प्रमाणहरूबाट समर्थित गराउनुपर्ने हुन्छ । मिति २०१४।८।१२ मा जन्मिएको मानिसले २०३२।९।२८ मा नागरिकता प्राप्त गर्दा १८ वर्ष १ महिना १६ दिन हुन्छ । नागरिकतामा उल्लेख भएको वर्षमा ११ महिना २९ दिनसम्म फरक पर्न सक्छ भने यी निवेदकको हकमा त एक महिना १६ दिनलाई १९ वर्ष नभनी १८ वर्ष भन्ने उल्लेख भएको देखिएकाले सो नागरिकतामा १८ वर्ष भन्ने व्यहोरा उल्लेख भएबाट निजको जन्ममिति २०३३ सालमा भरेको एकपाने सिटरोलमा उल्लेखित २० वर्ष हो भन्ने स्थापित गर्ने आधार देखिन आउँदैन । मिति २०१३।४।१ नै जन्ममिति हो भन्ने कुरा पनि विपक्षी निजामती किताबखानाको लिखित जवाफबाट देखिन नआएबाट निवेदकले नागरिकता लिँदा २०३२।९।२८ मा नागरिकतामा १८ वर्ष उल्लेख भएको अवस्थामा शैक्षिक योग्यताका प्रमाणपत्रहरूमा र कर्मचारी सञ्चयकोषबाट प्राप्त परिचयपत्रमा २०१४।८।१२ जन्ममिति उल्लेख भएको सापेक्षतामा निजको जन्ममिति २०१४।८।१२ हो भन्ने तथ्य समर्थित हुन्छ ।

. नागरिकतामा केवल वर्ष मात्र उल्लेख गरिन्छ र जन्ममिति उल्लेख हुँदैन भने त्यस्तो अवस्थामा १३ पाने सिटरोल र निजले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लिखित जन्ममितिको आधारमा निजको उमेर कायम गर्नुपर्ने हुन्छ । विपक्षी जिल्ला विकास समितिको कार्यालय, कपिलवस्तुले लिखित जवाफसाथ पेस गरेको निजले २०४५ सालमा भरेको १३ पाने निजामती कर्मचारीको नोकरी तथा वैयक्तिक विवरण (सिटरोल), नागरिकता प्रमाण र शैक्षिक योग्यताका प्रमाणपत्रबाट निजको जन्ममिति २०१४।८।१२ उल्लेख भएको देखिँदा त्यसैलाई आधिकारिकरूपमा मान्यता दिई अवकाश दिने व्यवस्थालाई आत्मसात गर्नुपर्ने हुन्छ । त्यसरी पेस भएका शैक्षिक योग्यतामा उल्लिखित जन्ममितिले नागरिकता प्रमाणपत्रमा लेखिएको वर्षलाई पुष्टि गरेको अवस्थामा त्यसलाई अन्यथा हुने गरी निर्णय गरिएमा त्यसले नागरिकलाई प्रदान गरेको संविधानप्रदत्त पेसा रोजगार गर्न पाउने हक र समानताको हकमा अनिश्चितता उत्पन्न भई मौलिक हकमा समेत अनुचित बन्देज लागी आघात पर्न जान्छ । नागरिकका संविधानप्रदत्त मौलिक हकमा कुनै निकाय वा अधिकारीको निर्णयले आघात पुगेमा संविधानतः यस अदालतले आघातित सो मौलिक हकको प्रचलनको लागि आवश्यक आदेश जारी गर्न सक्तछ ।

. निजामती सेवा नियमावली, २०५० को नियम १० ले विपक्षी निजामती किताबखानालाई निजामती कर्मचारीको वैयक्तिक विवरण तथा अन्य अभिलेख राख्ने निकायको रूपमा मान्यता प्रदान गरेको देखिन्छ । यी निवेदक निजामती कर्मचारी भएको तथ्यमा विवाद देखिँदैन । विपक्षी निजामती किताबखानाले निवेदकको हकमा १ पाने सिटरोलमा उल्लेख भएको वर्षको आधारमा अवकाश मिति कायम गरेको र सोही कार्यालयमा पछि यी निवेदकले २०४५ सालमा भरेको १३ पाने सिटरोल र पेस गरेका शैक्षिक योग्यताका प्रमाणपत्रमा २०१४।८।१२ भनी जन्ममिति खुलेको अवस्थामा के कुन जन्ममिति आधिकारिक हो र कुन मितिमा अवकाश पाउने हो भन्नेतर्फ त्यसरी अभिलेख राख्ने निकायले विचार पुर्याई कानूनबमोजिमको निर्णय गरेको देखिँदैन । कुनै पनि कानूनमा भइरहेको प्रष्ट व्यवस्थालाई सङ्कुचन हुने गरी व्याख्या गरिएमा त्यसले कानून र कानूनी व्यवस्थाको स्थिरता (Stability) र निश्चितता (Certainty) प्रदान गर्दैन । विधायिकी कानूनको व्याख्या गर्दा सर्वप्रथम कानूनमा प्रयुक्त भएका शब्द वा शब्दावलीले दिने सामान्य अर्थ सुस्पष्ट, व्यावहारिक, विवेकसम्मत र न्यायपूर्ण भएमा सोही अर्थ ग्रहण गर्नुपर्दछ भन्ने कानून व्याख्याको सामान्य सिद्धान्त हो । कानूनको शाब्दिक व्याख्या गर्दा कानूनको तर्कपूर्ण, विवेकसम्मत, व्यावहारिक एवम्न्यायपूर्ण अर्थ ननिस्कने भएमा कानूनको शाब्दिक व्याख्याको अनुशरण नगरी व्याख्याको स्वर्णिम नियमलाई अनुशरण गरी कानूनको सन्दर्भ सुहाउँदो सुस्पष्ट व्याख्या गर्नुपर्ने हुन्छ ।

 . निजामती सेवा ऐन, २०४९ को दफा ३३ को उपदफा () मायस दफाको प्रयोजनको लागि निजामती कर्मचारीको उमेर सेवामा प्रवेश गर्दा निजले पेस गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आएको उमेर वा नागरिकताका प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षबाट हुन आएको उमेर वा निजले भरेको वैयक्तिक नोकरी विवरण (सिटरोल) मा लेखी दिएको जन्ममिति वा वर्षबाट हुनआएको उमेरमध्ये जुन उमेरबाट निज पहिले अवकाश हुन्छ सोही आधारमा गणना गरिनेछभन्ने व्यवस्था भएको देखिन्छ ।

. अब यस विवादमा निवेदकले २०३३ सालमा भरेको एकपाने सिटरोलमा २० वर्ष उमेरलाई २०१३।४।१ जन्ममिति कायम गरेको र १३ पाने सिटरोल र शैक्षिक योग्यताका प्रमाणपत्रहरूमा जन्ममिति २०१४।८।१२ भनी उल्लेख भएको देखिँदा निजको जन्ममिति कुन हो र कहिले अवकाश हुने भन्ने कुरा विवादमा आएको देखिन्छ । निजको जन्ममिति कुन हुने भन्ने सम्बन्धमा हेर्दा माथि उल्लिखित कानूनी व्यवस्थामा शैक्षिक संस्थाबाट जारी भएको प्रमाणपत्र, नागरिकता प्रमाणपत्र वा वैयक्तिक नोकरी विवरण (सिटरोल) मा किटिएको जन्ममितिबाट हुन आएको उमेरलाई अवकाशको आधार मान्नुपर्ने देखिन्छ । तर, निवेदकको हकमा विपक्षी निजामती किताबखानाले सोलाई आधार नलिई २०३३ सालमा भरिएको १ पाने सिटरोलमा २० वर्ष उल्लेख गरेको आधारमा २०१३।४।१ जन्ममिति कायम गरी अवकाश मिति कायम गरेको देखिन आयो । विपक्षी निजामती किताबखानाले ऐ. नियमावली, २०५० को नियम १०२क को उपनियम () को प्रतिबन्धात्मक वाक्याँशको आधारमा अवकाशको पत्र दिएको भनी लिखित जवाफमा उल्लेख गरेको देखिन्छ । तर, मूल उपनियम () मा कुनै प्रमाणपत्रमा वर्षमात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ तथा त्यस्तो प्रमाणपत्रमा उल्लिखित जन्ममितिहरूको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिलाई आधार मान्नुपर्नेछ भन्ने व्यवस्था गरेको देखिन्छ । यो व्यवस्थाको प्रयोजनको लागि निवेदकले विपक्षी निजामती किताबखानामा पेस गरेको शैक्षिक योग्यतासमेतका प्रमाणपत्रमा जन्ममिति २०१४।८।१२ भनी उल्लेख भएको र अन्य कुनै प्रमाणहरू पेस भई पेस भएका कागजातबाट सो भन्दा फरकफरक जन्ममिति उल्लेख भई जन्ममितिको बीचमा अन्तर रहेको देखिएन ।

१०. त्यसमा पनि विवादको यस्तै विषयवस्तु समावेश भएको रिट नं ०६५–WO–०६५९, निवेदक तपेश्वर यादव विरूद्ध विपक्षी निजामती किताबखाना हरिहरभवन, ललितपुरसमेत भएको उत्प्रेषणसमेत मुद्दामा यस अदालतको संयुक्त इजलासबाट मिति २०६८।२।३१ मा निजामती किताबखानाले कायम गरेको जन्ममितिलाई मिसिलसंलग्न अन्य शैक्षिक योग्यतामा खुलेको जन्ममिति, नागरिकताको जन्ममिति र १३ पाने सिटरोलमा उल्लेख भएका प्रमाणहरूबाट पुष्टि हुँदैन भने शैक्षिक योग्यतामा खुलेको जन्ममिति, नागरिकताको जन्ममिति र १३ पाने सिटरोलमा उल्लेख भएको जन्ममितिको आधारमा अवकाशको जन्ममिति कायम हुने भनी आदेश (फैसला) भएको देखिएको अवस्थासमेतबाट यी रिट निवेदकको जन्ममिति २०१३।४।१ कायम हुन सक्ने देखिन आएन । शैक्षिक योग्यतामा खुलेको जन्ममिति, १३ पाने सिटरोलमा उल्लेख भएको जन्ममिति र शैक्षिक योग्यतासमेतमा उल्लेख भएको वर्षबाट निजको जन्ममिति २०१४।८।१२ भन्ने देखिँदा सोही जन्ममिति कायम हुन्छ ।

११. तसर्थ, उल्लिखित आधार कारणसमेतबाट विपक्षी निजामती किताबखानाले यी निवेदक मतिबुल्लाह मुसलमानको जन्ममिति २०१३।४।१ कायम गरी सोही जन्ममितिको आधारमा मिति २०७१।३।३२ मा ५८ वर्ष उमेर हद पूरा भई २०७१।४।१ गतेदेखि अनिवार्य अवकाश दिने भनी मिति २०७०।५।२७ मा लेखेको पत्र र सोको आधारमा भएका सम्पूर्ण पत्राचारसमेत त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको छ । अब निज निवेदक मतिबुल्लाह मुसलमानको मिति २०१४।८।१२ लाई जन्ममिति कायम गरी अभिलेखलगायतका सो व्यहोरा जनाउनेपर्ने कागजातहरूमा संशोधन गरी मिति २०१४।८।१२ बाट उमेरहदको कारणले ५८ वर्ष उमेर पूरा हुनुअगावै अर्थात मिति २०७२।८।११ अगावै सेवाबाट अवकाश नदिनु भनी विपक्षीहरूका नाममा परमादेशको आदेशसमेत जारी हुने ठहर्छ । साथै अब आइन्दा निजामती कर्मचारीको अवकाशका सम्बन्धमा देखिएका समस्यालाई सम्बोधन गर्नेतर्फ विपक्षी निजामती किताबखानाको नाममा यो निर्देशनात्मक आदेशसमेत जारी गरिदिएको छ :–

() कुनै कर्मचारीले पेस गरेको नागरिकतामा पूरा जन्ममिति उल्लेख नभई वर्षमात्र उल्लेख भएको रहेछ र शैक्षिक योग्यताका प्रमाणपत्र तथा अन्य कागजातमा जन्ममिति प्रष्ट खुलेको रहेछ भने निज कर्मचारीको अवकाश प्रयोजनको लागि जन्ममिति एकिन गर्दा शैक्षिक योग्यतालगायतका प्रमाणपत्रबाट खुलेको वर्ष, महिना र गतेलाई जन्ममिति कायम गरी निजामती सेवा ऐन, २०४९ को दफा ३३ बमोजिम अवकाश मिति कायम गर्ने ।

() एकपाने सिटरोलको हाल व्यवस्था नभएको, तत्कालको एकपाने सिटरोल र हालको १३ पाने सिटरोलमध्ये जुनमा आधिकारिक जन्मदिन भनी जन्ममिति खुल्छ, सोलाई आधार मानी अवकाश दिने व्यवस्था मिलाउने ।

(निजामती कर्मचारी आफैँले आफ्नो जन्ममितिसँग मेल खाने गरी उमेर घोषणा गरेको भए सोलाई मान्यता दिने ।

           

            प्रस्तुत आदेशको जानकारी महान्यायाधिवक्ताको कार्यालयमार्फत विपक्षीहरूलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

प्र.न्या. दामोदरप्रसाद शर्मा 

 

इति संवत् २०७१ साल भदौ ३१ गते रोज ५ शुभम् ।

इजलास अधिकृत : भीमबहादुर निरौला

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु