निर्णय नं. ९३०७ - अपुताली हक कायम नामसारी
श्री सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
फैसला मिति : २०७१।९।१।३
०६७-CI-०१९०
मुद्दा : अपुताली हक कायम नामसारी ।
पुनरावेदक/प्रतिवादी : जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं.४ बस्ने उमादेवी कार्की
विरूद्ध
प्रत्यर्थी/वादी : जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका वडा नं.४ बस्ने कुमारी कार्की
§ अंशबन्डाको लिखत अनुसार अलग भएका अंशी पुनः सगोलमा रहने इच्छा भए अंश जोरिएको लिखत पारित गर्नैपर्ने यो कानूनी सर्त हो । आचरण र व्यवहारले लिखतको स्थान ग्रहण गर्न सक्तैन । अंशबन्डा पारित गरी अंश लिई छुट्टिभिन्न भएका अंशियारले पुनः सगोलमा बस्ने मनसाय र प्रयोजन भए सोहीबमोजिम लिखत पारित गराई सगोलमा अंश मिसाई बस्नुपर्ने हुन्छ । कानूनबमोजिमको लिखत गरी आफ्नो अंश भाग लिई छुट्टिएका पति पत्नीले आचरण र व्यवहारबाट पुनः अंश मिसाई बसेको भन्ने जिकिरले कानूनी मान्यता पाउन नसक्ने ।
(प्रकरण नं. ७)
पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय सुशीलकुमार पन्त र शम्भु थापा तथा विद्वान् अधिवक्ता पूर्ण राजवंशी
प्रत्यर्थी/वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल र सविता बराल, विद्वान् अधिवक्ता बालमुकुन्द श्रेष्ठ
अवलम्बित नजिर :
§ नेकाप २०६७, अङ्क ७, नि.नं.८४१०, पृष्ठ ११२३
सम्बद्ध कानून :
§ मुलुकी ऐन, अपुतालीको महलको ६ नं.
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या. श्री तेजबहादुर कार्की
पुनरावेदन तहमा फैसला गर्ने :
मा.मु.न्या. श्री भूपध्वज अधिकारी
मा.न्या. श्री हरिबहादुर बस्नेत
फैसला
न्या. जगदीश शर्मा पौडेल : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ :
स्व.पदमबहादुर कार्कीका ३ श्रीमतीहरूमा जेठी चन्द्रकुमारी, माहिली म फिरादी कुमारी कार्की र कान्छी उमादेवी कार्की हौं । जेठी चन्द्रकुमारीको २०४६ सालमा मृत्यु भइसकेको छ । प्रतिवादी उमादेवी कार्की र पति पदमबहादुर कार्की तथा मबीच मिति २०२०।५।६ मा अंशबन्डा भएको थियो । मैले पतिसमेतउपर २०५६ सालमा अंश मुद्दा दायर गरेकोमा २०२० सालको बन्डापत्र कायम गरी उक्त मुद्दामा मिति २०५७।२।१३ गते मिलापत्र भएको थियो । यसरी मिलापत्र गरी पतिको साथ बसी आएकोमा पति पदमबहादुर कार्कीको मिति २०५७।४।२९ मा मृत्यु भएपश्चात पतिको नाममा दर्ता रहेका जग्गाहरू विपक्षी उमाकुमारीले आफ्नो नाममा एकलौटी दर्ता गरिपाउँ भनी मिति २०५७।७।१४ मा मालपोत कार्यालय, विराटनगरमा निवेदन दिनुभएको रहेछ । सो कुराको जानकारी प्राप्त भएपछि मैले पनि मिति २०५७।७।२१ मा मालपोत कार्यालयमा स्व.पदमबहादुरको मसमेत हकदार अंशियार भएकी हुँदा मसमेतका नाउँमा नामसारी दर्ता गरिपाउँ भनी निवेदन दिएपछि मालपोत कार्यालयले २०५७।१०।१९ मा हक कायम गरी ल्याउन भनी गरेको निर्णयको सूचना मिति २०५७।१२।१२ मा प्राप्त भएको हुँदा प्रस्तुत फिराद गर्न आएकी छु । २०२० सालमा भएको अंशबन्डाले पतिबाट छुट्टिई भिन्न भएकी र उक्त मितिपश्चात स्व.पति पदमबहादुरसँग मानो जोडिएको लिखतसमेत नभएको हुँदा स्व.पति पदमबहादुरको अपुताली परेको सम्पत्तिमा निजको मात्र हक नपुगी मेरोसमेत हक रहेको हुँदा स्व.पदमबहादुर कार्कीका नाममा रहेको जिल्ला मोरङ, कञ्चनवारी गा.वि.स वडा नं.६ कि.नं.२०९, २१०, १२६ का जग्गाहरू र स्व.पदमबहादुर र विपक्षी उमादेवीको संयुक्त नाममा रहेको ऐ.जिल्ला, गा.वि.स कञ्चनवारी वडा नं.१(ख) कि.नं.३९६, ऐ.वडा नं.२.(क) कि.नं.६२८ र ६३०, पति पदमबहादुर कार्कीका नाउँमा दर्ता रहेको जिल्ला भोजपुर, वोया गा.वि.स.वडा नं.२ कि.नं.३७८, ३७९, ३८०, ३८३, ४१८, ७०४, ऐ.देउराली गा.वि.स.वडा नं.१ कि.नं.७९७, ऐ. वडा नं.४ कि.नं.२७५, २७९, ३२९, ६८१, ६९०, ८१९ समेतका जग्गाहरूबाट २ खण्डको १ खण्ड सम्पत्तिमा अपुताली हक कायम गरी नामसारीसमेत गरिपाउँ भन्नेसमेत व्यहोराको कुमारी कार्कीको फिरादपत्र ।
स्व.पदमबहादुरका तीनजना पत्नीहरू भएकोमा पति पदमबहादुर कार्की र तीन पत्नीहरूबीच २०२० सालमा अंशबन्डा भई आआफ्नो खति उपती बिक्री व्यवहार छुट्टै गर्दै आएको भए तापनि बन्डा भएपछि म कान्छी पत्नी पतिसँगसँगै बसी पतिको जीवन पर्यन्तसम्म सेवा सुसार गरी निज पति बिरामी हुनु भएपछि ऋण कर्जा उठाई स्वदेश तथा विदेशमा लगी उपचार गराउँदागराउँदै पतिको मिति २०५७।४।२९ मा मृत्यु भएको हो । पति जीवित नै हुँदाका बखत यी वादीले पति र मलाईसमेत विपक्षी बनाई २०५६ सालमा अंश मुद्दा दिएकोमा स्व.पति र मेरो नाममा संयुक्त प्रतिउत्तर परी उक्त मुद्दामा मिलापत्रसमेत भएको छ । यसरी अंशबन्डा भएपछि पनि म प्रतिवादी पतिको सँगसाथमा नै रहेकी र निजको काजकिरियासमेत मैले नै गरेको भनी स्व.पतिका भाइ उपेन्द्र र इन्द्रबहादुरले सिफारिस गरी दिनुभएको र सोहीबमोजिम विराटनगर उपमहानगरपालिकाले मालपोत कार्यालय, विराटनगरका नाउँमा सिफारिससमेत गरी दिएको हुँदा छुट्टिभिन्न भइसकेकी यी वादीको स्व.पतिको अपुताली सम्पत्तिमा हकाधिकार नपुग्ने हुँदा वादी दावीबाट अलग फुर्सद गराई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी उमादेवी कार्कीको
प्रतिउत्तरपत्र ।
वादी प्रतिवादी दुबै स्व.पदमबहादुर कार्कीका श्रीमतीहरू हुन् । स्रेस्तामा अंशबन्डा भएको भए तापनि यिनीहरूको बसाइ सगोलमा रहेको हुँदा दुईजना श्रीमतीले पतिको अपुताली सम्पत्ति बराबर हक खाने पाउने हुन् भन्नेसमेत व्यहोराको वादीका साक्षी यादनरसिंह कार्की र कृष्णमोहन कार्कीले गरेको बकपत्र ।
यी वादी प्रतिवादीबीच अंशबन्डा भइसकेको भए पनि उमादेवी कार्की पतिसँगै बसी पदमबहादुर कार्की विमारी हुँदा उपचारपछि काजकिरियासमेत उमादेवीले नै गरेकी हुँदा पतिको अपुताली सम्पत्तिमा उमादेवीको मात्र हक लाग्ने हो भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी वसन्त कार्की र तारणी न्यौपानेले गरेको बकपत्र ।
यसमा यसै लगाउको यिनै प्रतिवादीले दायर गरेको दे.नं.१२६५ को नामसारी मुद्दामा सम्बद्ध कानूनको समेत विवेचना गरी स्व.पदमबहादुर कार्कीको हक दर्ताको अचल सम्पत्तिमा यी वादी र प्रतिवादीले आधाआधा हक हिस्सा अपुताली पाउने ठहर भएको फैसला प्रमाणबाट पनि प्रस्तुत मुद्दामा सो अपुताली परेको सम्पत्तिमा दावी अनुसार २ भागको १ भाग वादीका नाउँमा अपुताली हक कायम भई दर्ता हुने ठहर्छ भन्नेसमेत व्यहोराको मोरङ जिल्ला अदालतको मिति २०६०।१०।२५ को फैसला ।
अंशबन्डापछि व्यवहार प्रमाणबाट स्व.पति र मैले अंश मिसाई बसेको देखिएको छ । मैले पतिको रेखदेख हेरविचार गरी खर्च बन्दोवस्त गर्दै आएको प्रमाणबाट देखिएको छ । अंश मुद्दा दायर गर्ने र उक्त मुद्दामा मिलापत्र गरी लाभ हासिल गरी सकेपछि पनि अपुतालीमा निजको समेत हक रहन्छ भन्न नमिल्ने हुँदा सुरू फैसला उल्टी गरी वादी दावीबाट फुर्सद गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीको तर्फबाट पुनरावेदन अदालत, विराटनगरमा परेको पुनरावेदनपत्र ।
यसमा यी पुनरावेदिका र पदमबहादुर कार्की सँगसाथमा बसेको कुरा वादी कुमारी कार्कीले दिएको प्रमाणको अंश मुद्दाको फिरादबाट र सो मुद्दामा भएको मिलापत्रसमेतबाट देखिएको, उमादेवी र पदमबहादुर कार्कीको नाममा संयुक्तरूपबाट जग्गा खरिद भएको समेतबाट उमादेवी र पदमबहादुर कार्की साथै रहे बसेको कुरा समर्थित भइरहेकाले पदमबहादुर कार्कीको अपुताली हक कुमारी कार्की र उमादेवी कार्कीलाई आधाआधा प्राप्त गर्ने गरी भएको मोरङ जिल्ला अदालतको मिति २०६०।१०।२५ को फैसला फरक पर्न सक्ने हुँदा अ.बं.२०२ नं. र पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, विराटनगरबाट भएको मिति २०६२।५।२७ को आदेश ।
यिनै प्रतिवादीले यिनै वादीउपर दायर गरेको नामसारी मुद्दामा सुरू मोरङ जिल्ला अदालतले स्व.पदमबहादुर कार्कीको हक दर्ताको सम्पत्तिमा यी वादी र प्रतिवादी दुबैले आधाआधा हक हिस्सा अपुताली पाउने ठहर्याएको फैसलाउपर यिनै प्रतिवादीको यस अदालतमा परेको दे.पु.नं.०४–०६१–००३७७ नं. को नामसारी मुद्दामा सुरूले गरेको उक्त फैसला सदर हुने ठहरी आज यसै इजलासबाट फैसला भएको हुँदा सो फैसलामा लिएको आधार प्रमाणबाट पनि प्रस्तुत मुद्दामा सो अपुताली परेको सम्पत्ति दावी अनुसार २ भाग गरी १ भाग वादीका नाउँमा अपुताली हक दर्ता हुने ठहर्याई सुरू मोरङ जिल्ला अदालतबाट मिति २०६०।१०।२५ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, विराटनगरको मिति २०६६।२।३१ को फैसला ।
नामसारी मुद्दाको विषयवस्तु र यस मुद्दाको विषयवस्तु एउटै भएकाले प्रस्तुत मुद्दामा मोरङ जिल्ला अदालतबाट भएको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला मुलुकी ऐन, अपुतालीको महलको १, २, ६, १० नं., अ.बं.१८४क र १८५ नं., प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ को कानूनी व्यवस्था तथा नेकाप२०४७, अङ्क ७, नि.नं.४१८०, पृ.५३९, नेकाप२०४५, अङ्क ११, नि.नं.३५५५, पृ.१२०६ मा प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल भएकाले पुनरावेदन अदालत, विराटनगरको फैसला त्रुटिपूर्ण हुँदा मुद्दा दोहोर्याई हेरी पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीको तर्फबाट यस अदालतमा दायर हुन आएको निवेदनपत्र ।
यसमा यी वादी प्रतिवादी पदमबहादुर कार्कीका पत्नीहरू रहेको भन्ने कुरामा विवाद छैन । यिनै वादीले पति पदमबहादुर र उमादेवीलाई प्रतिवादी बनाई दायर गरेको अंश मुद्दाका वादीकुमारी कार्कीले प्रतिवादीहरू पदमबहादुर कार्की र उमादेवी कार्कीको संयुक्त नाउँबाट दर्ता हुने गरी भन्नेसमेतको व्यहोरा खुलाई विभिन्न कित्ता जग्गाहरू लिएर मिति २०५७।२।१३ मा मोरङ जिल्ला अदालतबाट मिलापत्र भएको देखिन्छ । सो मिलापत्रबाट २०२० सालमा भएको अंशबन्डापछि पनि यी प्रतिवादी उमादेवी कार्की आफ्ना पति पदमबहादुर कार्की सँगसँगै रहेको भन्ने तथ्य स्थापित हुन आएको छ । यसरी एकपटक अंशबन्डा भई अलग भएका पति पत्नी व्यवहारबाट सगोलमा रहिरहेको अवस्थामा पतिको मृत्युपछि निजको अपुतालीमा सगोलमा रहेकी पत्नीको हक सिर्जना हुने नहुने भन्ने सम्बन्धमा अपुतालीको महलको ६ नं. लगायतका कानूनी व्यवस्थाको व्याख्यात्मक प्रश्न उपस्थित भएको स्थितिमा अपुताली परेको सम्पत्तिमा दुबै पत्नीको बराबर हक लाग्ने गरी भएको सुरू मोरङ जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, विराटनगरको मिति २०६६।२।३१ को फैसला अपुतालीको महलको ६ नं. समेतको व्याख्यात्मक त्रुटि रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) अनुसार मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्नेसमेत व्यहोराको यस अदालतको मिति २०६७।५।२ को आदेश ।
नियमबमोजिम पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी उमादेवी कार्कीको तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री सुशीलकुमार पन्त र शम्भु थापा तथा विद्वान् अधिवक्ता श्री पूर्ण राजवंशीले उमादेवी आफ्नो पतिसँग २०२० सालमा अंश लिई छुट्टिए पनि २०५७।२।१३ मा भएको मिलापत्रबाट पतिसँगसाथ रहेको भन्ने देखिन्छ । २०२० सालको बन्डापत्रको अस्तित्व २०५७।२।१३ को मिलापत्रले अन्त्य गरिसकेको छ । नाताले मात्र अपुताली प्राप्त हुने होइन, अपुतालीमा दावी गर्नेले आफ्नो कर्तव्य वहन गरेको देखिनु आवश्यक हुन्छ । सँगबसेको देखिन अंश जोडिएको लिखतको जरूरी हुँदैन आचरण र व्यवहारबाट सँगबसेको देखिन्छ भने त्यस्तो अवस्थालाई सगोलमा नै बसेको मान्नुपर्ने हुन्छ । २०५६ सालमा अंश मुद्दाको फिराद दिँदा नै उमादेवी र पदमबहादुरको नाममा सगोलमा रहेको सम्पत्तिबाट अंश माग गरेको हुँदा उमादेवी पदमबहादुर सँगसाथमा रहेको भन्ने देखिन आएबाट पति पदमबहादुरको सम्पत्तिमा परेको अपुताली उमादेवीले एकलौटी प्राप्त गर्ने हुँदा पुनरावेदन अदालतको फैसला उल्टी हुनुपर्दछ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी वादीकुमारी कार्कीको तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल र सविता बराल, विद्वान् अधिवक्ता बालमुकुन्द श्रेष्ठले बन्डापत्रको लिखत पारित गरी छुट्टिभिन्न भएपछि अंश जोडिएको लिखत पनि पारित हुनुपर्दछ । बन्डापत्र पारित गरी छुट्टिभिन्न भएपछि सगोलमा बस्ने मनसाय र प्रयोजन भए सोहीबमोजिम अंश जोडिएको लिखत पारित गराएको हुनुपर्दछ । आचरण र व्यवहारबाट सँगबसेको भन्ने कुराले कानूनी मान्यता प्राप्त गर्न नसक्ने हुँदा पदमबहादुरको सम्पत्तिमा निजका दुई पत्नीहरूमा समान अपुताली हक कायम हुने ठहर गरेको पुनरावेदन अदालतको फैसला समन्यायको दृष्टिकोणसमेतबाट मनासिब हुँदा सदर हुनुपर्दछ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
दुबैतर्फका विद्वान् वरिष्ठ अधिवक्ता तथा विद्वान् अधिवक्ताहरूले प्रस्तुत गर्नुभएको बहससमेत सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेको छ छैन सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. यसमा पति पदमबहादुर कार्की तथा निजका तीन श्रीमतीहरू चन्द्रकुमारी कार्की, कुमारी कार्की र उमादेवी कार्की भएकोमा चारैजनाबीच २०२०।५।६ मा बन्डापत्र पारित भई अलग भए पनि आफूले २०५६ सालमा पतिसमेतउपर अंश मुद्दा दायर गरेकोमा २०२० सालको बन्डापत्र कायम गरी उक्त मुद्दामा मिति २०५७।२।१३ गते मिलापत्र भएको र २०२० सालमा भएको अंशबन्डाले प्रतिवादी उमादेवी पतिबाट छुट्टिई भिन्न भएकी र उक्त मितिपश्चात स्व.पति पदमबहादुरसँग मानो जोडिएको लिखतसमेत नभएको हुँदा स्व.पति पदमबहादुरको अपुताली सम्पत्तिमा जीवित पत्नी दुईजना भएकाले दुई भागको एक भाग सम्पत्तिमा अपुताली हक कायम गरिपाउँ भन्ने वादी दावी भएकोमा प्रतिवादी उमादेवी आफ्नो पतिसँग २०२० सालमा अंश लिई कानूनबमोजिम अंशबन्डा पारित गरी छुट्टिभिन्न भएकी तर मानो जोडिएको कानूनबमोजिमको लिखत नभएको अवस्थामा एकासगोलको भन्ने अर्थ गर्न नमिल्ने र २०५७ सालमा अंश मुद्दामा मिलापत्र गर्दा २०२० सालको बन्डापत्रलाई कायमै राखेको देखिएकाले स्व.पदमबहादुरका दुबै पत्नी वादी प्रतिवादीले बराबर अपुताली पाउने भनी ठहर गरेको मोरङ जिल्ला अदालतको मिति २०६०।१०।२५ को फैसला पुनरावेदन अदालत, विराटनगरबाट मिति २०६६।२।३१ मा सदर हुने ठहरी फैसला भएको देखिन्छ । उक्त फैसलाउपर मुद्दा दोहोर्याई पाउन प्रतिवादीको तर्फबाट परेको निवेदनमा एकपटक अंशबन्डा भई अलग भएका पति पत्नी व्यवहारबाट सगोलमा रहिरहेको अवस्थामा पतिको मृत्युपछि निजको अपुतालीमा सगोलमा रहेकी पत्नीको हक कायम नगरी दुबै पत्नीको बराबर हक लाग्ने गरी भएको फैसला अपुतालीको ६ नं. को व्याख्यात्मक प्रश्न उपस्थित भएको भन्ने आधारमा यस अदालतको पूर्व संयुक्त इजलासबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई प्रस्तुत मुद्दा निर्णयार्थ पेस हुन आएको देखियो ।
३. पदमबहादुर कार्कीका तीन पत्नीहरूमा जेठी चन्द्रकुमारी, माहिली वादी कुमारी कार्की र कान्छी प्रतिवादी उमादेवी कार्की भएकोमा जेठी चन्द्रकुमारी कार्कीको २०४६ सालमा र पति पदमबहादुर कार्कीको मिति २०५७।४।२९ मा मृत्यु भएको कुरा र नातामा विवाद भएन । पदमबहादुर कार्कीका हाल जीवित पत्नीहरूमा यी वादी प्रतिवादी भएकोमा निजहरूले आफ्नो पतिसँग २०२०।५।६ मा आफ्नो अंश भाग लिई बन्डापत्र पारित गरी छुट्टिएको कुरामा समेत विवाद छैन । साथै २०२०।५।६ मा पारित बन्डापत्रपछि पनि २०५६ सालमा अंश पाउँ भनी यी कुमारी कार्कीले आफ्नो पति र सौता प्रतिवादी उमादेवी कार्कीउपर पुनः अंश मुद्दा दिई मिति २०५७।२।१३ मा मिलापत्र गरी केही सम्पत्ति पाएको समेत देखियो । पति पदमबहादुरको मृत्युपछि निजको अपुताली परेको अचल सम्पत्तिमा छुट्टिएकी पत्नीहरूमध्ये कुमारी कार्कीले आधा हक पाउनुपर्ने भन्ने र उमादेवीले एकलौटी हक पाउनुपर्ने भनी पतिको अपुताली सम्पत्तिको प्राप्तिमा विवाद गरेको देखिन आयो ।
४. अब, पदमबहादुरको अपुताली सम्पत्ति पदमबहादुरबाट छुट्टि अलग भएका दुबै पत्नीहरूले आधाआधा हक पाउने हुन् वा उमादेवीले मात्र पाउने हुन् भन्ने विवादित विषयमा विचार गर्दा यी प्रतिवादी उमादेवीले २०२० सालमा अंश लिई छुट्टिए पनि सगोलमा पतिका साथ रहँदैबस्दै आएको र सन्तान पनि पैदा भएको र आफ्नो संयुक्त नामको सम्पत्तिबाट कुमारी कार्कीलाई अंश दिई मिलापत्र गरेको भन्ने आधारमा पतिसँगसाथमा बसेको भनी पतिको अपुताली आफूले मात्र पाउने भन्ने जिकिर लिएको देखियो । पदमबहादुर कार्कीको मिति २०५७।४।२९ मा मृत्यु भएको हुँदा निजको अपुताली परेको सम्पत्तिमा मुलुकी ऐनमा एघारौं संशोधन हुनुपूर्व तत्काल बहाल रहेको कानूनी व्यवस्था आकर्षित हुने हुँदा उक्त व्यवस्था उल्लेख हुनु सान्दर्भिक हुन आएको छ । मुलुकी ऐन, अपुतालीको महलको ६ नं.मा एघारौं संशोधन हुनुपूर्व तत्काल बहाल रहेको कानूनी व्यवस्था देहायबमोजिम रहेको छ :
६नं.।। एकै स्वास्नीपट्टि वा एकदेखि बढी स्वास्नीपट्टिका सन्तान हुने बाबु आमाले आफू र सबै स्वास्नी छोरा बुहारीहरूलाई समेत ऐनबमोजिम अंशबन्डा गरी लिई कोही स्वास्नी छोरा बुहारीसँग आफ्नो अंश मिसाई बसेकोमा बाबु आमा मरी अपुताली पर्यो भने त्यो अपुतालीसँग बसेका स्वास्नी छोरा बुहारीले मात्र पाउँछन् । लिखत भए लिखतबमोजिम हुन्छ ।
५. उपर्युक्त कानूनी व्यवस्था अध्ययन गरी हेर्दा अंशबन्डा गरी दिई लिई कोही स्वास्नी छोरासँग अंश मिसाई बसेकोमा बाबु आमा मरी अपुताली पर्यो भने सो अपुताली सँगबसेको छोरा स्वास्नीले पाउँछ भन्ने कानूनी व्यवस्था छ । सो अनुसार एक पटक अंश लिई छुट्टि सकेको छोरा स्वास्नीले अंश मिसाई बसेमा मात्र अंशबन्डा गरी दिई लिई कोही स्वास्नी, छोरा र छोराबुहारीसँग अंश मिसाई बसेकोमा बाबु आमा मरी अपुताली पर्यो भने सो अपुताली सँगबसेको स्वास्नी, छोरा वा छोराबुहारीले पाउने र अपुताली यसले खानु भनी लिखत गरेको भए सोही लिखत अनुसार हुने भन्ने ऐनको मनसाय रहेको देखिन्छ । २०२०।५।६ मा बन्डापत्र पारित हुँदा कुनै एक पत्नी पतिसँगसाथमा रहने भनी उल्लेख भएको भनी यी प्रतिवादीले जिकिर लिनसकेको अवस्था छैन । कानूनबमोजिम लिखत गरी पतिबाट अंश लिई छुट्टिएकी उमादेवीले आफ्नो पतिसँग अंश मिसाई बसेको देखिने कानूनबमोजिमको लिखत छ भन्न सकेको अवस्थासमेत छैन ।
६. पति र आफ्नो नाममा संयुक्तरूपमा केही जग्गा दर्ता रहेको र २०५६ सालमा कुमारी कार्कीले पति र आफूसमेतउपर अंश मुद्दा दायर गरेपछि उक्त अंश मुद्दामा पति र आफूले संयुक्त प्रत्तिउत्तर फिराएको हुँदा सो आधारबाट आफू पतिको सँगसाथमा रहेको भन्ने कुराको जिकिरसमेत यी उमादेवीले लिएको देखिन्छ । सगोलको अंशियार बाहेक दोस्रो पक्षसँग कुनै जग्गा संयुक्त दर्ता हुनु सगोलको अंशियार देखिने प्रमाण होइन । सगोलको अंशियार देखिन निजहरूबीच कानूनबमोजिम बन्डाको लिखत नभएको अवस्था देखिनु आवश्यक हुन्छ । कुनै दुई व्यक्तिका बीच संयुक्तरूपमा जग्गा दर्ता गरी राख्ने भन्ने कुरा आपसी सहमतिमा तय हुने कुरा हो । बन्डापत्रको लिखतपश्चात पनि संयुक्तरूपमा जग्गा दर्ता रहेको नाताले सगोलको अंशियार कायम गर्दै जाने हो भने भैरहेका र लागू रहेका कानूनी व्यवस्थाहरूको उद्देश्य र विधायिकी मनसायविपरीत हुन जान्छ । यसै सन्दर्भमा “सगोलमा बस्नु र विधिवत बन्डा छुट्याएको सम्पत्ति आआफूले राखी उपयोग गर्ने विषयलाई छुट्याएर हेर्नुपर्ने देखिँदा केवल सँगैबसेको कारणबाट अंश जोरिएको लिखतको अभावमा सगोलका अंशियार मानी सोहीअनुरूप कानूनी मान्यता प्रदान गर्न कानूनसम्मत नहुने, सँगैबसेको भए पनि सोमात्र कारणले निजको अपुताली वादीले मात्र पाउनुपर्दछ भन्ने जिकिरसँग सहमत हुन नसकिने” (नेकाप २०६७, अङ्क ७, नि.नं.८४१०, पृष्ठ ११२३) भनी यस अदालतबाट सिद्घान्त प्रतिपादन भइसकेको यस्तो अवस्थामा एक पटक विधिवतरूपमा लिखत गरी अलग भएको व्यक्तिले आफ्नो अंश भाग पुनः मिसाई सँगैबसेको भन्ने लिखतको अभावमा संयुक्त जग्गा दर्ताको नाताले अंश भाग मिसाई सगोलको अंशियारको रूपमा बसेको अर्थ गर्न नमिल्ने हुँदा उक्त सिद्घान्त प्रस्तुत विवादमा आकर्षित हुने देखियो ।
७. एक पटक अंशबन्डाको लिखत पारित गरी अलग भएका व्यक्तिबीच पुनः सगोलको अंशियार देखिन त्यस्तो बन्डा भएको सम्पत्तिलाई सगोलमा ल्याउन लिखत पारित गर्नैपर्ने कानूनी व्यवस्थालाई अन्यथा अर्थ गर्न मिल्दैन । अंशबन्डा भई अंशबन्डाको लिखत गरी अलग भएपछि सँगबसेको देखिन अंश जोरिएको लिखत पारित गरिएको देखिनु आवश्यक छ । अंशबन्डाको लिखत अनुसार अलग भएका अंशी पुनः सगोलमा रहने इच्छा भए अंश जोरिएको लिखत पारित गर्नैपर्ने यो कानूनी सर्त हो । आचरण र व्यवहारले लिखतको स्थान ग्रहण गर्न सक्तैन । अंशबन्डा पारित गरी अंश लिई छुट्टिभिन्न भएका अंशियारले पुनः सगोलमा बस्ने मनसाय र प्रयोजन भए सोहीबमोजिम लिखत पारित गराई सगोलमा अंश मिसाई बस्नुपर्ने
हुन्छ । कानूनबमोजिमको लिखत गरी आफ्नो अंश भाग लिई छुट्टिएका पति पत्नीले आचरण र व्यवहारबाट पुनः अंश मिसाई बसेको भन्ने जिकिरले कानूनी मान्यता पाउन नसक्ने हुँदा आचरण र व्यवहारले सँगबसेको देखिने भनी यस अदालतको पूर्व संयुक्त इजलासले मुद्दा दोहोर्याउने निस्सा प्रदान गर्दा लिएको आधारसँग यो इजलास सहमत हुन सक्ने अवस्था भएन ।
८. अतः माथि विवेचित आधार र कारणबाट यी प्रतिवादी उमादेवी कार्कीले मिति २०२०।५।६ मा पति पदमबहादुरबाट आफ्नो अंश भाग लिई बन्डापत्र पारित गरी छुट्टिभिन्न भएपछि पुनः अंश मिसाई सगोलमा बसेको भन्न लिखतको अभावमा केवल आचरण र व्यवहारबाट सँगबसेको मान्न कानूनसङ्गत नहुने हुनाले पति पदमबहादुर कार्कीको अपुताली सम्पत्तिमा निजका दुबै पत्नी वादी कुमारी कार्की र प्रतिवादी उमादेवी कार्कीले बराबर अपुताली हक पाउने ठहर गरेको मोरङ जिल्ला अदालतको मिति २०६०।१०।२५ को फैसला सदर गरेको पुनरावेदन अदालत, विराटनगरको मिति २०६६।२।३१ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पति पदमबहादुर कार्कीको अपुताली परेको सम्पत्तिमा आफ्नो एकलौटी हक कायम हुनुपर्ने भन्ने प्रतिवादी उमादेवी कार्कीको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
प्र.न्या.रामकुमार प्रसाद शाह
इति संवत् २०७१ साल पुस १ गते रोज ३ शुभम् ।
इजलास अधिकृत : दीपक ढकाल