निर्णय नं. ९३०८ - जीउ मास्ने बेच्ने
सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह
माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
फैसला मिति : २०७१।७।१७।२
०६७-CR-०७६९
मुद्दा : जीउ मास्ने बेच्ने ।
पुनरावेदक/प्रतिवादी : जिल्ला काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका वडा नं.६ घर भई हाल कारागार कार्यालय काठमाडौं, जगन्नाथ देवलमा कैदमा रहेका उद्धवप्रसाद आचार्य
विरूद्ध
प्रत्यर्थी/वादी : हरिशरण भन्ने सानोकान्छा गिरीको जाहेरीले नेपाल सरकार
०६७-CR-११६०
पुनरावेदक/प्रतिवादी : जिल्ला धादिङ, भूमेस्थान गा.वि.स.वडा नं.५ घर भई हाल कारागार कार्यालय काठमाडौं, जगन्नाथ देवलमा कैदमा रहेका रामबहादुर भन्ने सानुकान्छा गिरी
विरूद्ध
प्रत्यर्थी/वादी : हरिशरण भन्ने सानोकान्छा गिरीको जाहेरीले नेपाल सरकार
§ आफैँले लगेकी महिलाको स्थितिका बारेमा प्रतिवादी मौन रहेको र पीडितको अवस्था प्रतिवादीको कारणबाट अज्ञात रहेको अवस्था हुँदा त्यसरी अज्ञात रहेकी महिलाका पति जाहेरवाला स्वयम्ले किटानी जाहेरी दिई अदालतमा गरेको बकपत्रको घटनाक्रमबमोजिम नै प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा स्वीकार गरेको अवस्था हुँदा प्रमाण ऐन, २०३१ को दफा १०(१)(क) बमोजिम वारदातका पीडित व्यक्तिले वारदातपश्चात वारदातको विषयमा व्यक्त गरेको कुरा प्रमाणयोग्य हुने हुँदा त्यस्तो प्रमाण ग्राह्य नभएको भन्ने प्रतिवादीहरूको जिकिर कानूनसम्मत् हुन नआउने ।
(प्रकरण नं. ९)
§ पीडित मैयाँ गिरीलाई भारतको वेश्यालयमा लगी भा.रू.२७,५००।– मा बिक्री गरेको भनी यी प्रतिवादीहरू प्रहरीसमक्ष आरोपित कसुरमा मुख साबित रहेका र अदालतमा बयान गर्दा विवाह गरी काठमाडौं लगेको भनी उल्लेख गरे पनि निज पीडितको हालको अवस्था प्रतिवादीहरूले प्रकाश नगरेबाट ललाई फकाई विवाह गर्ने झुट्ठा आश्वासनमा पारी आफ्नो कब्जामा लिई निज पीडितको घरबाट छुटाई लगेको प्रतिवादीहरूको उक्त कार्य निरपेक्ष दायित्वअन्तर्गतको अपराध भएबाट आफू निर्दोष रहेको भन्ने प्रमाणको भार प्रतिवादीहरूले पुर्याउनुपर्ने ।
§ प्रहरी र अदालतसमक्ष प्रतिवादीहरूले गरेको बयानबाट प्रतिवादीहरूले वादीलाई विवाह गर्ने प्रलोभन देखाई आफ्नो कब्जामा लिएपछि निजको अवस्था हालसम्म अज्ञात रहेको र प्रतिवादीहरूले त्यसरी आफूले कब्जामा लिएकी व्यक्तिलाई प्रकाश नपारेबाट प्रतिवादीहरूकै कार्यबाट निजको अवस्था अज्ञात रहेको र प्रतिवादीहरूले आफ्नो निर्दोषिता स्थापित गर्न नसकेबाट प्रतिवादीहरूले दावीबमोजिम कसुर गरेको देखिन आउने ।
(प्रकरण नं. ११)
§ दुईवटा वारदातमा एकसाथ मुद्दा चलेको वा पहिलो वारदातमा थुनामा बसेको अवस्थामा अर्को मुद्दा पनि चली फैसला भई फैसलाबमोजिम लागेको कैद सजाय ठेकिएको अवस्था नभई पहिलो मुद्दामा भएको फैसलाले लागेको कैद सजायमा मिति २०५४।८।९ देखि २०६३।९।२३ सम्म कैदमा बसी कैदबाट छुटेपछिमात्र अर्को वारदातमा अनुसन्धान भई मिति २०६४।५।१९ मा अभियोग दायर भएको हुँदा पहिलो मुद्दामा भएको फैसलाले लागेको कैद भोग गरी कैदबाट छुटिसकेपछि प्रस्तुत वारदातमा मुद्दा चली पछिल्लो मुद्दामा भएको कैद सजायलाई कैदबाट छुटिसकेको पहिलो मुद्दामा कैदमा बसेको अवधिसमेत गणना गरी सजाय निर्धारण गर्न दण्ड सजायको महलको ४१ नं. विपरीत हुन जाने ।
§ पहिलो मुद्दामा कैद भुक्तान भई कैदबाट छुटेपछि अर्को वारदातमा अभियोग दायर भई भएको फैसलाबमोजिम कैद सजाय भोगिरहेको हुँदा उक्त सजाय निर्धारण गरिएको निर्णयलाई दण्ड सजायको महलको ४१ नं.को प्रतिकूल मान्न मिल्ने नदेखिने ।
§ बेग्लाबेग्लै वारदात भई चलेका बेग्लाबेग्लै मुद्दामा फरकफरक मितिमा फैसला भएका र पहिलो मुद्दामा लागेको कैद भुक्तान भएपछि पछिल्लो मुद्दा दायर भएको त्यस्तो स्थितिमा अघिल्लो मुद्दामा ठहर भएको कैद सजायबमोजिम कैदमा बसेको अवधिलाई पछिल्लो मुद्दामा लागेको कैद असुल गर्ने प्रयोजनले गणना गर्न मिल्ने नदेखिने ।
(प्रकरण नं. १४)
§ सजायको न्यूनतम् र अधिकतम् हद ऐनले नै निर्धारण गरी कसुरको अनुपातमा सजाय निर्धारण गर्ने तजबिजी अधिकार अदालतलाई प्रदान गरेको अवस्था हुँदा कसुरको गम्भीरताको आधारमा सजाय निर्धारण गर्नुपर्ने ।
§ दुबै मुद्दा एकैसाथ दायर भएको वा एकैसाथ फैसला भएको अवस्था भए ठूलो कैद सजायमा सानो कैद सजाय खापिएर एकैसाथ कैद भुक्तानी हुने कानूनी व्यवस्था भएकोमा एकसाथ मुद्दा नचलेको र एकसाथ फैसला नभई पहिलो मुद्दामा कैद भुक्तान भएपछि दोस्रो मुद्दा चलेको स्थिति र जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) ले अधिकतम् र न्यूनतम् हदको सजायको व्यवस्था गरेकोमा प्रतिवादीहरूलाई अधिकतम् सजाय नगरी न्यूनतम् सजाय ठहर गर्दा कानून र न्यायको उद्देश्य पनि पूरा हुने र प्रतिवादीहरूलाई पनि प्रतिकूल असर पर्न जाने अवस्थासमेत देखिन नआएबाट पुनरावेदन अदालतको फैसलालाई बेमनासिब भन्न मिलेन ।
(प्रकरण नं. १५)
वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता चन्द्रबहादुर सापकोटा
प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल र विद्वान् अधिवक्ता मोहनबहादुर बन्जारा
अवलम्बित नजिर :
सम्बद्ध कानून :
§ जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ३ र ४(क), ८(१), ८(५)
§ मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) र ४(१)(क), १५(१)(क)
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या. श्री बालचन्द्र शर्मा
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या. श्री एकराज आचार्य
मा.न्या. श्री सुष्मलता माथेमा
फैसला
न्या. जगदीश शर्मा पौडेल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादीहरूको तर्फबाट पुनरावेदन परी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :
मैले मैयाँ गिरीसँग २०४२ सालमा विवाह गरी निजबाट दुई छोरीको जायजन्म भएकोमा मेरी श्रीमती वर्ष ३३ की मैयाँ गिरी र ३ महिनाकी काखे छोरी राममायासहित मिति २०५३।४।१७ मा प्रतिवादी उद्धवप्रसाद आचार्य र सानुकान्छा गिरीसमेतका मानिसले भारतको वेश्यालयमा लगी बिक्री गरेको थाहा पाएकाले कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको हरिशरण भन्ने सानो कान्छा गिरीको मिति २०६४।४।२६ गतेको जाहेरी दरखास्त ।
२०४९ सालमा चोरी मुद्दामा जेल परेको र जेलबाट छुटेपछि जेलमा सँगै बस्दा चिनजान भएका रामबहादुर भन्ने सानुकान्छो गिरी मेरो डेरामा आउने गर्दथे । खान नपुगेपछि पैसा कमाउने बाटो खोज्नु पर्यो भनी निजै सानुकान्छा गिरीको भान्जी जाहेरवालाकी श्रीमती मनहरीमा रहेकी मैयाँ गिरीलाई मसँग विवाह गर्ने भनी ललाई फकाई भारतको कलकत्तास्थित वेश्यालयमा लगी मानबहादुर तामाङ र विमला तामाङको कोठीमा भा.रू.२७,५००।– मा बिक्री गरेका हौं भन्नेसमेत व्यहोराको प्रतिवादी उद्धवप्रसाद आचार्यले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
चोरी मुद्दामा जेल परेपछि सो जेलमा रहेका उद्धवप्रसाद आचार्यसँग राम्रो सम्बन्ध भएकाले जेलबाट छुटेपछि निजको काठमाडौंमा रहेको कोठामा जाने आउने गर्दथेँ । पैसा कमाउने बाटो खोज्दा उद्धवप्रसादले केटी लगेर वेश्यालयमा बेचे बढी पैसा कमाइन्छ भनेको हुँदा मैले मनहरीमा मेरो भान्जी छन्, मैले भनेको मान्छिन् भनी उक्त स्थानमा आई मनहरीबाट भान्जीलाई उद्धवप्रसाद आचार्यसँग विवाह गर्ने भनी ललाई फकाई भारतको कलकत्तामा लगी मानबहादुर तामाङ र विमला तामाङको कोठी (वेश्यालय) मा लगी भा.रू.२७,५००।– मा बिक्री गरी पैसा बाँडी खाएका हौं भन्ने प्रतिवादी रामबहादुर भन्ने सानु कान्छा गिरीले अधिकारप्राप्त अधिकारीसक्षम गरेको बयान ।
आजभन्दा ११ वर्षअगाडि मिति २०५३।४।१६ गते म घरमै बसी रहेको अवस्थामा सानुकान्छा गिरी र उद्धवप्रसाद आचार्य आई भान्जी मैयाँ गिरीको हाल खबर के छ भनी सोधेकाले बोलाइदिनु भनेको हुँदा मैले घरमा भेट्न आउनुभएको छ भनी बोलाइदिएको हुँ भन्नेसमेत व्यहोराको रामकुमार गिरीले गरेको घटना विवरण कागज ।
जाहेरीवालीकी श्रीमती मैयाँ गिरीलाई २०५३ सालमा रामबहादुर भन्ने सानुकान्छा गिरी र उद्धवप्रसाद आचार्यसमेतले ललाई फकाई विवाह गर्ने बहानामा भारतको वेश्यालयमा लगी बिक्री गरेको थाहा पाएको हौं भन्नेसमेत व्यहोराको बुझिएका मानिस भोजराज पुरीसमेत जना तीनले गरेको घटना विवरण कागज ।
प्रतिवादी रामबहादुर गिरी भन्ने सानुकान्छा गिरी, उद्धवप्रसाद आचार्य, विमला तामाङ र मानबहादुर तामाङसमेत भई पीडित मैयाँ गिरीलाई काखे बालिकासहित बिक्री गरी तत्कालीन जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ३ र ४(क) को कसुर अपराध गरेको तथा त्यसैलाई निरन्तरता प्रदान गरेको हाल प्रचलित मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) र ४(१)(क) बमोजिमको कसुर अपराध प्रतिवादीहरूले गरेको हुँदा तत्कालीन जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) बमोजिम सजाय गरी ऐ.ऐनको दफा ८(५) बमोजिम थप सजाय तथा हाल प्रचलित मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(क) बमोजिम सजाय गरिपाउँ । शर्मिला कुँवरको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी उद्धवप्रसाद आचार्यसमेत भएको जीउ मास्ने बेच्ने मुद्दामा प्रतिवादी उद्धवप्रसाद आचार्यले १० वर्षको कैद सजाय पाई भुक्तान भइसकेकाले निज उद्धवप्रसाद आचार्यलाई हाल प्रचलित ऐनको दफा १५(५) बमोजिम थप सजायसमेत गरी प्रतिवादी विमला तामाङ र मानबहादुर तामाङले मैयाँ गिरीलाई वेश्यावृत्तिमा लगाउन खरिद बिक्री गरी मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(१)(ख) बमोजिमको कसुर गरेको हुँदा प्रतिवादीहरूलाई सोही ऐनको दफा १५(१)(ख) बमोजिम हुने सजाय ऐ.ऐनको दफा १५(२)(क) बमोजिम छुट्टाछुट्टै थप सजाय गरी सोही ऐनको दफा १७(१) बमोजिम पीडितलाई क्षतिपूर्ति भराइपाउँ भन्नेसमेत व्यहोराको मिति २०६४।५।१९ को अभियोगपत्र ।
मलाई जाहेरवालाको घर थाहा नभएको र निजलाई चिनेको पनि थिइन । मेरो पेसा ड्राइभर भएको र मलाई घर परिवारले नहेरेकाले बाहिर कोठा लिएर बस्ने गर्दथेँ । रामबहादुर भन्ने सानुकान्छा गिरी लागू औषध मुद्दा र चोरी मुद्दामा जेलमा परी केन्द्रीय कारागार शाखा, जगन्नाथ देवलमा कैदमा बस्दा चिनजान भएको थियो । जेलबाट छुटेपछि सानुकान्छा बेलाबेलामा मलाई भेट गर्न आउँथ्यो । हामी दुबैजना बल्खुमा डेरा लिई बसेका थियौं । जिल्ला मकवानपुर, मनहरी गा.वि.स.को ज्यामिरे भन्ने ठाउँमा मेरी भान्जी छिन्, निजलाई श्रीमान्ले छोडेर दुःख पाएकी छिन्, विवाह गर्दछौ भने कुरा गरौं भनी सानुकान्छा गिरीले भनेकाले ज्यामिरे आई निज भान्जी मैयाँ गिरीसँग कुरा गरी निजले पनि विवाह गर्न मञ्जुर गरेपछि मिति २०५३।४।१८ गते म, सानुकान्छा गिरी, मैयाँ गिरी र नाबालिका एक छोरीसहित काठमाडौं आयौं । मिति २०५४।८।९ गते म थुनामा परें । म थुनामा परेपछि मेरी श्रीमती मैयाँ गिरी २/३ पटक मलाई जेलमा भेट्नसम्म आएकी थिइन् त्यसपछि आइनन् । सानुकान्छाले पछि कोठा पनि भेटिन र मान्छे पनि भेटिन भने । म मिति २०६३।९।२३ मा कारागारबाट छुटेको हुँ । मैले मैयाँ गिरी र निजको नाबालिका एक छोरीलाई भारतमा लगी बिक्री गरेको छैन । मैले बिक्री नगरेको हुँदा मलाई अभियोग माग दावीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी उद्धवप्रसाद आचार्यले मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।
मेरो र उद्धवप्रसाद आचार्यको केन्द्रीय कारागारमा चिनजान भएको थियो । जेलबाट छुटेपछि उद्धव मसँग भेट गर्न आएका थिए । पछि निज र म निजको घर धुलिखेल बाँसघारी गयौं । म एकछिन बसी फर्की आएपछि मलाई चिट्ठीमार्फत् निजले बोलाए । निज काठमाडौंको बल्खुमा कोठा लिई बसेका रहेछन् । मेरी श्रीमतीले मलाई हेलाँ गरी खाना पकाउने मानिस छैन, विवाह गर्नु परेकाले एकजना केटी खोजी दिनुपर्यो भनी निजले मलाई भनेको हुँदा विश्वासमा परी मनहरीको ज्यामिरे भन्ने ठाउँमा आई मेरी भान्जी मैयाँ गिरीलाई यो मान्छेसँग विवाह गर्छौ भनी सोधेँ, निज मैयाँ गिरीले पछि धोका नहुने भए हुन्छ भनिन् । दुबैजना मञ्जुर भएपछि उद्धवप्रसाद आचार्य, मैयाँ गिरी र नाबालिका एक छोरीसमेत मिति २०५३।४।१८ गते काठमाडौं आयौं । म एकदिन बल्खुमा बसी घर फर्केँ । पछि उद्धवप्रसाद जेल परेछन् । २०५४ साल मङ्सिरमा जाँदा मैयाँ गिरी कोठा सरी सकेकी हुँदा मैले
भेटिन । त्यस बेलादेखि मैले निजहरूलाई भेटेको छैन । मैले मैयाँ गिरी र निजको नाबालिका छोरीलाई बिक्री गरेको छैन । निजहरूलाई बिक्री नगरेको हुँदा अभियोग दावीबमोजिम सजाय हुनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी रामबहादुर भन्ने सानुकान्छा गिरीले मकवानपुर जिल्ला अदालतमा गरेको बयान ।
मिति २०६४।६।२० मा तामेल भएको म्यादी पुर्जीको म्यादभित्र प्रतिवादी मानबहादुर तामाङ र विमला तामाङ हाजिर नभई सुरू म्यादै गुजारी बसेका ।
मैयाँ गिरीलाई भारतको कलकत्तामा लगी उद्धवप्रसाद आचार्य र सानुकान्छा गिरी भई बेचेका हुन् भनेर रामकुमार गिरीले भनेको हुँदा मैले प्रहरी कार्यालयमा जाहेरी दिएको हुँ । २०६४ साल साउनमा रामकुमार गिरीले मलाई भनेकाले पक्राउ परेपछि थाहा पाएको हुँ । २०५४ सालमा पनि मेरो बुबाले समाउन जाँदा त्यसबेला रामकुमार गिरी भागेको हो । श्रीमती मैयाँ गिरीसँग मेरो सम्बन्ध राम्रो थियो भन्नेसमेत व्यहोराको जाहेरवाला हरिशरण गिरी भन्ने सानोकान्छा गिरीले मकवानपुर जिल्ला अदालतमा गरेको बकपत्र ।
मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ उल्लेख गरी दावी लिएकोमा दावीको वारदात मिति २०५३।४।१७ गते हुँदा जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ नै बहाल रहेकाले मिति २०६४।४।८ गते अस्तित्वमा आएको मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ प्रस्तुत मुद्दामा आकृष्ट हुने देखिएन । प्रतिवादीमध्येका मानबहादुर तामाङ र विमला तामाङले यस अदालतबाट जारी भएको म्यादी पुर्जीमा हाजिर नभई फरार रहेको देखिँदा निजहरूको हकमा अ.बं.१९० नं. बमोजिम मुद्दा मुलतबिमा रहने ठहर्छ । प्रतिवादीहरूमध्ये उद्धवप्रसाद आचार्य र रामबहादुर भन्ने सानुकान्छा गिरीको हकमा निजहरूको मौकाको साबिती बयान कागज र जाहेरवालाको जाहेरी दरखास्त तथा सोलाई पुष्टि गर्ने गरी अदालतमा आई गरिदिएको बकपत्र तथा पीडितको भाइ रामकुमार गिरीको मौकाको कागजसमेतको प्रमाणबाट यी प्रतिवादीहरूले आरोपित कसुर गरेको पुष्टि हुन आएकाले प्रतिवादी उद्धवप्रसाद आचार्य र रामबहादुर भन्ने सानुकान्छा गिरीलाई अभियोग दावीबमोजिम जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) बमोजिम जनही कैद वर्ष १९ र प्रतिवादीहरूले भा.रू.२७,५००।– मा बिक्री गरेको हुँदा सोही ऐनको दफा ८(५) बमोजिम सोको हुन आउने ने.रू.४४,०००।– जनही जरिवानासमेत हुने ठहर्छ भन्नेसमेत व्यहोराको मकवानपुर जिल्ला अदालतको मिति २०६६।१।२८ गतेको फैसला ।
मैयाँ गिरीलाई बेच्न भनी फकाई लगेको कुरामा साबिती भएको भन्ने आधार ठीक होइन । मैयाँ गिरीलाई बिक्री गरेको कुरा सत्य होइन । पीडित मैयाँ गिरीको जाहेरवालासँग २०४२ सालमा विवाह भई दुई छोरीको जायजन्म भई घरजम गरी बसेको अवस्था छ । मिति २०५४।४।१७ गते गाउँ घरबाट जाहेरवालाको श्रीमती नाबालक छोरीसहित हराएको अवस्था भए मिति २०६४।४।२५ का दिनसम्म श्रीमती र छोरीको खोजी गरेको देखिँदैन । ११ वर्षपछि आएर मउपर झुट्ठा जाहेरी दिएको अवस्था छ । पीडित मैयाँ गिरीलाई आफ्नो घरको स्थिति बताउँदासमेत निजले विवाह गर्न मञ्जुरी गरेको कारण २०५३।४।१८ गतेका दिन बल्खुमा कोठा लिई म, सानुकान्छा गिरी, मैयाँ गिरी र नाबालिका छोरीसमेत कोठामा बसी म गाडी चलाउने, सानोकान्छा गिरी ज्यामी काम गरी बसी आउने क्रममा २०५४।८।९ गते म आफू पक्राउमा परेपछि मिति २०५४।१०।२१ गतेसम्म मैयाँ गिरी मलाई भेट गर्न आइरहेकी थिइन् । सोपश्चात निज मलाई भेट्न नआएकी हुँदा सानोकान्छा गिरीलाई बोलाई निजको बारेमा सोधखोज गर्दा कोठा सरेकी रहिछिन्, निजले म बुझ्दैछु भनेको थियो । त्यस अवस्थासम्मको सर्जमिन गरी बुझी प्रमाण लगाइपाउँ भनी निवेदन दिएको थिएँ । त्यसतर्फ कुनै आदेश नगरी एकतर्फीरूपमा भएको फैसला मिलेको छैन । सुरू फैसला उल्टी गरी सफाइ दिलाइपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी उद्धवप्रसाद आचार्यको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदनपत्र ।
मैले मैयाँ गिरीलाई भारततर्फ लगी बिक्री गरेको भन्ने कुरा सत्य होइन । अनुसन्धानको क्रममा बयान गर्दा मैयाँ गिरीलाई भा.रू.२७,५००।– मा बिक्री गरेको भनेको थिइन । व्यहोरा पढेर नसुनाई सही गर भनेको हुँदा सही गरेको हुँ । मैले अदालतमा आई गरेको बयान सत्य व्यहोरा हो । पीडित मैयाँ गिरी मेरी भान्जी नाताकी हुँदा निजलाई प्रतिवादीमध्येका उद्धवप्रसाद आचार्यसँग विवाह गरी दिन प्रस्ताव गर्दा भान्जीले स्वीकार गरेकाले भान्जीलाई उद्धवप्रसाद आचार्यले विवाह गरी काठमाडौं लगी श्रीमान् श्रीमती भई बसेका हुँदा मैले मैयाँ गिरीलाई भारतमा लगी बिक्री गरेको भन्ने अभियोग दावी झुट्ठा हो । मैले सजाय पाउनुपर्ने होइन । म निर्दोष छु । जाहेरवाला तत्काल घटना हुँदा निज नेपालगन्जमा रहेको र २०६४ साल साउनमा श्रीमती र छोरी हराएको कुरा थाहा पाएको भनी गरेको बकपत्र प्रमाणयोग्य र विश्वासलायक छैन । जाहेरवालाले पीडितलाई चिनेको वा देखेको नभई ११ वर्षपछि सुनी थाहा पाएको भन्ने हुँदा त्यस्तो जाहेरी र बकपत्रलाई प्रमाणमा लिन मिल्दैन । जाहेरीकै भरमा जीउ मास्ने बेच्ने जस्तो गम्भीर प्रकृति र कडा सजाय हुने मुद्दामा मलाई १९ वर्ष कैदको उच्चतम् सजाय गरेको फैसला बदर गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी रामबहादुर भन्ने सानु कान्छा गिरीको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदनपत्र ।
प्रतिवादीहरूले अदालतमा बयान गर्दा आरोपित कसुरलाई अस्वीकार गरेका र पीडित मैयाँ गिरीलाई भारतमा लगी बिक्री गरेको भन्ने वस्तुनिष्ठ प्रमाण वादी पक्षबाट पेस हुन नसकेको अवस्थामा पीडितको अवस्था अज्ञात रहेको भन्ने आधारमा प्रतिवादीहरूलाई सजाय गर्ने गरेको फैसला प्रमाण मूल्याङ्कनको क्रममा फरक पर्न सक्ने देखिएकाले छलफलको लागि मुलुकी ऐन, अ.बं.२०२ नं. बमोजिम पुनरावेदन सरकारी वकिल कार्यालय, हेटौंडालाई पेसीको सूचना दिई पेस गर्नु भन्ने व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६७।१।२८ को आदेश ।
जाहेरवालाको श्रीमती मैयाँ गिरीलाई प्रतिवादी उद्धवप्रसाद आचार्यसँग विवाह गर्ने भनी ललाई फकाई भारतमा लगी प्रतिवादी मानबहादुर तामाङ र विमला तामाङको वेश्यालय कोठीमा लगी भा.रू.२७,५००।– मा बिक्री गरेका हौं भनी प्रतिवादीहरूले परस्पर आपसमा पोल गरी आफूसमेत कसुरमा साबित भई अधिकारप्राप्त अधिकारीसमक्ष साबिती बयान गरेका र अदालतसमक्ष बयान गर्दा आफूहरूले मैयाँ गिरीलाई भारतमा लगी बिक्री गरेको कुरा इन्कार गरे पनि पीडितलाई उद्धवप्रसाद आचार्यसँग विवाह गरी काठमाडौंमा लगेको भनी दुबै प्रतिवादीले उल्लेख गरेकाले जाहेरवालाको श्रीमतीलाई विवाह गर्ने भनी फकाई फुलाई प्रलोभनमा पारी प्रतिवादीहरूले लगेको तथ्यमा कुनै विवाद देखिएन । जाहेरवालाले प्रतिवादीहरूउपर किटानी जाहेरी दिई अदालतमा जाहेरी दरखास्तलाई समर्थन गरी बकपत्र गरेका हुँदा प्रतिवादीहरूको साबिती बयान पुष्टि हुन
आयो । प्रतिवादीहरूले जाहेरवालाको श्रीमती पीडित मैयाँ गिरीलाई भारतमा लगी भा.रू.२७,५००।– मा वेश्यालयमा बिक्री गरेको हुँदा तत्कालीन जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(१) को कसुर कायम गरी बिक्री गरेको बिगोबमोजिम जनही जरिवाना रू.४४,०००।– गरेको हदसम्म सुरू फैसला मिलेको देखिन आयो ।
पुनरावेदक प्रतिवादी उद्धवप्रसाद आचार्य यसभन्दाअगाडि जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ अनुसार दश वर्ष कैद भुक्तान गरी छुटेपछि प्रस्तुत मुद्दामा कारवाही भए पनि निज कारागारमा परेको मितिभन्दाअगाडिकै प्रस्तुत मुद्दाको वारदात भएको र पहिला नै भइसकेको कसुरमा पटकपटक मुद्दा चलेको देखिन्छ । दुबै मुद्दा एकैसाथ दायर भएको भए ठूलो कैद सजायमा सानो कैद सजाय खापिएर एकैसाथ कैद भुक्तानी हुने हाम्रो कानूनी व्यवस्थातर्फ विचार गर्दा पुनरावेदक प्रतिवादीहरूलाई जनही कैद वर्ष १२ गर्दा पनि कसुरको मात्रा अनुसारको सजाय हुन सक्ने हुँदा सुरूले जनही कैद वर्ष १९ का दरले सजाय गरेको हदसम्म सुरू फैसला नमिलेकाले कैदको हकमा सम्म मकवानपुर जिल्ला अदालतबाट भएको मिति २०६६।१।२८ को फैसला केही उल्टी भई प्रतिवादी उद्धवप्रसाद आचार्य र रामबहादुर भन्ने सानुकान्छा गिरीलाई जनही कैद १२ वर्षका दरले सजाय हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६७।६।१२ को फैसला ।
मिति २०५३।४।१७ को वारदात भनिए पनि जाहेरवालाले मौकामा खोजखबरका लागि जाहेरी दिएको अवस्थामा छैन । अभियुक्तउपरको आरोप जाहेरवालाको जाहेरी, बकपत्र र अन्य सङ्कलित प्रमाणबाट पुष्टि हुन सकेको छैन । पीडित भनिएकी मैयाँ गिरीको अवस्था एकिन नभएको र जाहेरवाला निजका पति भएको परिप्रेक्ष्यलाई विवेचना नगरी भएको सुरू तथा पुनरावेदन अदालत, हेटौंडाको फैसला त्रुटिपूर्ण छ । प्रतिवादी उद्धवप्रसाद आचार्यले भविष्यमा सुखद दाम्पत्य जीवन बिताउन मैयाँ गिरीलाई राजीखुसीले विवाह गर्नु एउटा तथ्य हो भने विवाह गर्ने प्रलोभनमा पारी भारतमा लगेको भन्ने आरोप दोस्रो तथ्य हो । जुन व्यक्तिको विषयमा मुद्दाको कारवाही भइरहेको छ, सो व्यक्ति हाल कहाँ कुन अवस्थामा रहेकी छन् सोही मूल तथ्यको एकिन नगरी केवल प्रतिवादी मौकामा बयान गर्दा सचेत रहेको, प्रहरीले कुटपीट गरेको भनी जिकिर नलिएको र जाहेरवालाको जाहेरी र बकपत्रले पुष्टि भएको भनी लिइएको आधार काल्पनिक छ । जाहेरी दरखास्तलाई अन्य स्वतन्त्र प्रमाणले पुष्टि नगरेसम्म कसुरदार ठहर्याउन मिल्दैन । जाहेरी र बकपत्रलाई प्रमाणमा लिन उक्त जाहेरी र बकपत्रलाई पीडित व्यक्तिले सनाखत बकपत्र गर्नुपर्ने हुन्छ तर सो नभएको परिप्रेक्ष्यमा भएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोग दावीबाट सफाइपाउँ भन्ने प्रतिवादी रामबहादुर भन्ने सानुकान्छा गिरीको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।
म पुनरावेदक मिति २०५४।८।९ गतेबाट थुनामा परी मिति २०६३।९।२३ मा जेलमुक्त भएको हुँ । मिति २०५३।४।१७ को वारदात भनिएको छ, जाहेरवालाले मौकामा खोज खबरको लागि जाहेरी दिएको अवस्था छैन । अभियुक्तउपर लागेको आरोप जाहेरवालाको जाहेरी र बकपत्र बाहेक अन्य सङ्कलित प्रमाणबाट पुष्टि हुन सकेको छैन । पीडित भनिएकी मैयाँ गिरीको अवस्था एकिन नभएको र जाहेरवाला नै निज पीडितका पति भएको परिप्रेक्ष्यलाई विवेचना नगरी भएको सुरू तथा पुनरावेदन अदालत, हेटौंडाको फैसला त्रुटिपूर्ण छ ।
प्रतिवादी उद्धवप्रसाद आचार्यले भविष्यको सुखद दाम्पत्य जीवन बिताउन मैयाँ गिरीलाई राजीखुसीले विवाह गर्नु एउटा तथ्य हो भने विवाह गर्ने प्रलोभनमा पारी भारत लगेको भन्ने आरोप दोस्रो तथ्य हो । जुन व्यक्तिको विषयमा मुद्दाको कारवाही भइरहेको छ, सो व्यक्ति हाल कहाँ कुन अवस्थामा रहेकीछिन् सो मूल तथ्यको निरूपण नगरी केवल मौकाको बयानलाई आधार लिइएको मिलेको छैन । जाहेरवालाले आफ्नो नाबालक छोरीसहितकी श्रीमती घरबाट हराउँदा १० वर्षसम्म कुनै उजुर गरेको अवस्था छैन । पीडित भनिएकी मैयाँ गिरीको अवस्था हालसम्म अज्ञात छ । मैले आफ्नो बयानमा मिति २०५४।८।९ मा थुनामा परेपछि पनि मलाई भेट गर्न २/३ पटक जेलमा आएकी थिइन् । त्यसपछि निज मैयाँ गिरी भेट्न आइनन् । मैले खोज खबर गरेको हुँ । सानुकान्छा गिरीले डेरा कोठा नभेटेको खबर गरेका हुन् । लामो समय जेल बस्नुपर्ने भएकाले निजले मलाई छोडी गएकी होलिन् भनी चित्त बुझाई बसेको थिएँ भनी बयान गरेको छु । अरूले दिएको जाहेरीमा पीडितले सनाखत बयान नगरेसम्म त्यस्तो जाहेरीलाई प्रमाणमा लिन मिल्दैन । उल्लिखित तथ्य र ऐन कानूनविपरीत भएको सुरू तथा पुनरावेदन अदालत, हेटौंडाको फैसला त्रुटिपूर्ण भएकाले उल्टी गरी अभियोग दावीबाट सफाइपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी उद्धवप्रसाद आचार्यको तर्फबाट यस अदालतमा परेको पुनरावेदनपत्र ।
यसमा पुनरावेदक प्रतिवादी उद्धवप्रसाद आचार्यलाई कैद वर्ष १२ हुने गरी पुनरावेदन अदालतबाट भएको फैसला दण्ड सजायको महलको ४१ नं. को कानूनी व्यवस्थासँग असङ्गत भई सो व्यवस्थाको व्याख्यात्मक सन्दर्भसमेतबाट फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. को प्रयोजनको लागि छलफलको निमित्त महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०६९।९।१६।२ को आदेश ।
नियमबमोजिम पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकहरूका तर्फबाट विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल र विद्वान् अधिवक्ता मोहनबहादुर बन्जाराले आरोपित कसुरमा प्रतिवादीहरू अदालतमा इन्कार छन् । प्रतिवादीहरू अघिल्लो मुद्दामा कैदबाट छुटेपछिमात्र अर्को मुद्दा चलाइएको छ । पीडितको कुनै अस्तित्व नदेखिई अज्ञात रहेको छ । पीडितले उजुरी दिएको नभई पीडित भनिएकी निजका पतिले वारदात भएको भनिएको ११ वर्षपछि जाहेरी दिएका छन् । पीडितको अवस्था अज्ञात भएबाट निजको बकपत्र हुन नसकेको अवस्था र अनुसन्धान अधिकारीसमक्ष प्रतिवादीहरूले एकापसमा गरेको पोल बाहेक कसुर स्थापित हुने प्रतिवादी विरूद्धका अन्य कुनै सम्बद्ध प्रमाण वादी पक्षबाट गुजार्न सकेको अवस्था छैन । फरकफरक वारदातमा एकै पटक मुद्दा दायर नगरी पहिलो फैसलाबमोजिम लागेको कैद सजाय भुक्तान गरेपछि मात्र अर्को मुद्दा दायर गरी कैदसमेत नगाभिने गरी भएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीहरूले अभियोग माग दावीबाट सफाइ पाउनुपर्दछ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट विद्वान् उपन्यायाधिवक्ता चन्द्रबहादुर सापकोटाले प्रतिवादीहरूले एकापसमा पोल गरी आरोपित कसुरमा मौकामा साबित भएका छन् । विवाह गर्ने आश्वासन दिई पीडितलाई भारतमा लगी बिक्री गरेको भन्ने वारदात स्थापित छ । प्रतिवादीहरू विरूद्ध किटानी जाहेरी र बकपत्र छ । जाहेरवालाको श्रीमतीलाई बिक्री गरिएबाट लोग्ने पनि एउटा पीडित हुँदा निजको कथन प्रमाणयोग्य छ । वारदात हुँदा जुन कानून बहाल रहेको छ सोही कानून अनुसार नै सजाय हुने कुरामा विवाद छैन । कैद गाभिनलाई दोस्रो मुद्दा फैसला हुँदा पहिलो मुद्दामा भएको फैसला अनुसार कैदमा रहेको हुनुपर्दछ तर पहिलो फैसलाबमोजिम प्रतिवादीहरूले कैद भुक्तान गरेपछि दोस्रो मुद्दा दायर भई सजाय भएको अवस्था हुँदा दण्ड सजायको महलको ४१ नं. प्रस्तुत मुद्दामा आकर्षित हुन सक्ने अवस्था नहुँदा पुनरावेदन अदालतको फैसला सदर हुनुपर्दछ भनी प्रस्तुत गर्नुभएको बहससमेत सुनियो ।
पुनरावेदक तथा प्रत्यर्थीतर्फका विद्वान् कानून व्यवसायीहरूले गर्नुभएको बहससमेत सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालतको फैसला मिलेको छ छैन सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. यसमा प्रतिवादी रामबहादुर गिरी भन्ने सानुकान्छा गिरी, उद्धवप्रसाद आचार्य, विमला तामाङ र मानबहादुर तामाङसमेत भई पीडित मैयाँ गिरीलाई काखे बालिकासहित बिक्री गरी तत्कालीन जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ३ र ४(क) को कसुर अपराध गरेको तथा त्यसैलाई निरन्तरता प्रदान गरेको हाल प्रचलित मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) र ४(१)(क) बमोजिमको कसुर अपराध प्रतिवादीहरूले गरेको हुँदा तत्कालीन जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) बमोजिम सजाय गरी ऐ.ऐनको दफा ८(५) बमोजिम थप सजाय तथा हाल प्रचलित मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(क) बमोजिम सजाय हुन तथा शर्मिला कुँवरको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी उद्धवप्रसाद आचार्यसमेत भएको जीउ मास्ने बेच्ने मुद्दामा प्रतिवादी उद्धवप्रसाद आचार्यले १० वर्षको कैद सजाय पाई भुक्तान भइसकेकाले निज उद्धवप्रसाद आचार्यलाई हाल प्रचलित ऐनको दफा १५(५) बमोजिम थप सजायसमेत गरी प्रतिवादी विमला तामाङ र मानबहादुर तामाङले मैयाँ गिरीलाई वेश्यावृत्तिमा लगाउन खरिद बिक्री गरी मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४(१)(ख) बमोजिमको कसुर गरेको हुँदा प्रतिवादीहरूलाई सोही ऐनको दफा १५(१)(ख) बमोजिम हुने सजाय गरी ऐ.ऐनको दफा १५(२)(क) बमोजिम छुट्टाछुट्टै थप सजाय गरी सोही ऐनको दफा १७(१) बमोजिम पीडितलाई क्षतिपूर्ति भराइपाउँ भन्ने अभियोग दावी रहेको प्रस्तुत मुद्दामा प्रतिवादीमध्येका मानबहादुर तामाङ र विमला तामाङले सुरू म्याद गुजारेको हुँदा निजहरूको हकमा अ.बं.१९० नं. बमोजिम मुद्दा मुलतबिमा रहने र अन्य प्रतिवादीहरूमध्ये उद्धवप्रसाद आचार्य र रामबहादुर भन्ने सानुकान्छा गिरीको हकमा अभियोग दावीबमोजिम जनही कैद वर्ष १९ र रू.४४,०००।– जनही जरिवाना हुने ठहर गरेको मकवानपुर जिल्ला अदालतको फैसलामा बिगोबमोजिम जनही जरिवाना गरेको हदसम्म सदर गरी कैदको हकमा प्रतिवादीहरूलाई जनही कैद वर्ष १९ का दरले सजाय गरेको कैदको हकमा सम्म केही उल्टी गरी प्रतिवादी उद्धवप्रसाद आचार्य र रामबहादुर भन्ने सानुकान्छा गिरीलाई जनही १२ वर्षका दरले कैद सजाय हुने ठहर गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसलाउपर प्रतिवादीहरूको तर्फबाट पुनरावेदन परी निर्णयार्थ प्रस्तुत मुद्दा पेस हुन आएको देखियो ।
३. पीडित भनिएकी मैयाँ गिरीलाई आफूले विवाह गरी काठमाडौंमा डेरा कोठा लिई राखेकोमा आफू अन्य मुद्दामा भएको फैसलाबमोजिम लागेको कैद सजायमा कैदमा बसी कैदबाट छुटेपछि निजलाई खोजखबर गर्दा आफ्नो सम्पर्कमा आउन नसकेकी तर अभियोगमा दावी लिएबमोजिम निजलाई भारतमा लगी बिक्री नगरेको भनी प्रतिवादीमध्येका उद्धवप्रसाद आचार्यले र पीडित भनिएकी मैयाँ गिरीको अवस्था एकिन नभएको हुँदा आफूले दावीबमोजिम कसुर गरेको नहुँदा अभियोग दावीबाट सफाइ पाउनुपर्ने भनी रामबहादुर भन्ने सानु कान्छा गिरीले यस अदालतमा गरेको पुनरावेदनमा उक्त कुराको जिकिर लिएको देखिन्छ ।
४. प्रतिवादीहरूमध्ये मानबहादुर तामाङ र विमला तामाङले सुरू म्याद गुजारी बसेको हुँदा निजहरूको हकमा अ.बं.१९० नं. बमोजिम मुद्दा मुलतबिमा राख्ने गरी सुरू अदालतबाट आदेश भएको र निजहरूको हकमा कानूनबमोजिम मुद्दा मुलतबिबाट जगाई कारवाही हुने नै हुँदा प्रस्तुत पुनरावेदनको रोहबाट निजहरूको हकमा केही बोलिरहन परेन ।
५. प्रतिवादीहरू उद्धवप्रसाद आचार्य र रामबहादुर भन्ने सानो कान्छा गिरीसमेत भई मैयाँ गिरीलाई उद्धवप्रसाद आचार्यसँग विवाह गर्ने भनी ललाई फकाई गफलतमा पारी मिति २०५३।४।१७ मा निज मैयाँ गिरीको मकवानपुर जिल्लाको मनहरी भन्ने स्थानमा रहेको घरबाट छोडाई भारतमा लगी बिक्री गरेको भन्ने अभियोगमा वारदात मिति २०५३।४।१७ कायम गरी तत्कालीन जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ३ र ४(क) तथा त्यसैलाई निरन्तरता प्रदान गरेको हाल प्रचलित मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३(१) र ४(१)(क) बमोजिम कसुर गरेको भनी तत्कालीन जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८ (१) र ८(५) तथा हाल प्रचलित मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५(१)(क) र १५(५) बमोजिम प्रतिवादीहरूलाई सजाय हुन माग दावी लिएको देखिन्छ ।
६. जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ लाई खारेज गरी हाल मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ लागू रहेको उक्त ऐनको दफा ३० मा जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ अन्तर्गत भए गरेका काम कारवाहीहरू यसै ऐनबमोजिम भए गरेको मानिने भनी निरन्तरता दिएको देखिन्छ । मानिस विदेशमा लगी बिक्री गरेको वारदात मिति २०५३।४।१७ भएको र जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ ले निषेध गरेको आपराधिक कार्य हुँदा हदम्यादको अवधि असिमित भएको प्रस्तुत वारदातमा वारदात हुँदा तत्काल बहाल रहेको जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ आकर्षित हुने देखियो ।
७. अब, प्रतिवादीहरूमध्ये उद्धवप्रसाद आचार्य र रामबहादुर भन्ने सानु कान्छा गिरीको हकमा विचार गर्दा यी प्रतिवादीहरूले मैयाँ गिरीलाई भारतमा लगी वेश्यावृत्तिमा लगाउने प्रयोजनले खरिद बिक्री गरेका हुन् होइनन् भन्नेतर्फ विचार गर्दा मिति २०५३।४।१७ मा यी प्रतिवादीहरू उद्धवप्रसाद आचार्य र रामबहादुर भन्ने सानुकान्छा गिरीसमेत भई मैयाँ गिरीलाई भारतको वेश्यालयमा लगी बिक्री गरेको भनी पीडित मैयाँ गिरीका पतिले यी प्रतिवादीहरूउपर किटानी गरी जाहेरी दरखास्त दिएको देखिन्छ । जाहेरवालाको श्रीमती पीडित मैयाँ गिरीलाई पुनरावेदक प्रतिवादी उद्धवप्रसाद आचार्यसँग विवाह गर्ने भनी ललाई फकाई भारतमा लगी प्रतिवादी मानबहादुर तामाङ र विमला तामाङले सञ्चालन गरेको वेश्यालय कोठीमा लगी भा.रू.२७,५००।– मा बिक्री गरेका हौं भनी पुनरावेदक प्रतिवादीहरूले आपसमा पोल गरी आफूसमेत कसुरमा साबित भई अधिकारप्राप्त अधिकारीसमक्ष साबिती भई बयान गरेको देखिन्छ । आपराधिक कार्यमा संलग्न भएका भनी आरोप लागेका अभियुक्तहरूले किटानीपूर्वक एकापसमा पोल गरी बयान गरेबाट निज प्रतिवादीहरूको वारदातमा संलग्नता थिएन भन्न मिलेन ।
८. मैयाँ गिरीलाई भारतमा लगी बिक्री गरेको कुरामा अदालतसमक्ष इन्कार रही बयान गरे पनि पीडितलाई प्रतिवादी उद्धवप्रसाद आचार्यले विवाह गरी काठमाडौंमा लगेको भनी दुबै पुनरावेदक प्रतिवादीले उल्लेख गरेको देखिएकाले जाहेरवालाको श्रीमतीलाई विवाह गर्ने आश्वासन र प्रलोभनमा पारी निजको घरबाट छोडाई लगेकोमा अभियोग दायर हुँदाको मितिसम्ममा निज पीडित यो स्थानमा यो स्थितिमा रहेकीछिन् भनी प्रतिवादीहरूले उल्लेख गर्नसकेको देखिएन । आफूले लगेको व्यक्ति यो कारणले आफ्नो साथमा नरहेको भन्ने कुनै तथ्यपरक प्रमाण निज प्रतिवादीहरूबाट गुजार्न सकेको अवस्था छैन । जाहेरवालाकी पत्नीलाई आफ्नी पत्नी बनाउने प्रलोभन देखाई आफ्नो नियन्त्रणमा लिई भारतमा लगी अमर्यादित वेश्यावृतिको पेसाको प्रयोगका लागि बिक्री गरेको तथ्य प्रतिवादीहरूका क्रमबद्ध घटनाहरूबाट देखिन आएको छ । वास्तविकरूपमा उद्धवप्रसाद आचार्य र मैयाँ गिरी लोग्ने स्वास्नी भई बसेको भएमा पहिलो शर्मिला कुँवरले जाहेरी दिएको जीउ मास्ने बेच्ने मुद्दाबाट जेल परेका यी प्रतिवादी जेलबाट मुक्त भएपश्चात लोग्ने स्वास्नी भई सँगै बसेको भन्ने कुरा स्थापित गर्नुपर्ने वा पीडितले निजलाई छोडी गएको भए यो यस्तो अवस्थामा पीडित रहेकी भनी सो कुरा प्रकाश पार्नुपर्नेमा सो तथ्य प्रतिवादीले स्थापित गर्न सकेको अवस्था छैन ।
९. पीडित भनिएकी मैयाँ गिरीको अवस्था नै अज्ञात रहेको अवस्थामा निजको पतिले दिएको जाहेरी र बकपत्र ग्रहणयोग्य नहुने भन्ने जिकिरका सम्बन्धमा विचार गर्दा स्वयम् प्रतिवादी उद्धवप्रसाद आचार्यले यी जाहेरवालीकी पत्नीलाई आफ्नी पत्नी बनाउन भनी प्रलोभनमा पारी लगेको भन्ने कुरा प्रतिवादीले अदालतमा समेत स्वीकार गरेको त्यस्तो अवस्थामा त्यसरी लगिएकी ती महिलाको वर्तमान स्थिति के कस्तो अवस्थामा छ भन्ने कुरा प्रतिवादीले खुलाउन सक्नुपर्नेमा सो खुलाउन सकेको देखिएन । आफैँले लगेकी महिलाको स्थितिका बारेमा प्रतिवादी मौन रहेको र पीडितको अवस्था प्रतिवादीको कारणबाट अज्ञात रहेको अवस्था हुँदा त्यसरी अज्ञात रहेकी महिलाका पति जाहेरवाला स्वयम्ले किटानी जाहेरी दिई अदालतमा गरेको बकपत्रको घटनाक्रमबमोजिम नै प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा स्वीकार गरेको अवस्था हुँदा प्रमाण ऐन, २०३१ को दफा १०(१)(क) बमोजिम वारदातका पीडित व्यक्तिले वारदातपश्चात वारदातको विषयमा व्यक्त गरेको कुरा प्रमाणयोग्य हुने हुँदा त्यस्तो प्रमाण ग्राह्य नभएको भन्ने प्रतिवादीहरूको जिकिर कानूनसम्मत् देखिन आएन ।
१०. अर्काकी स्वास्नीलाई आफ्नो स्वास्नी बनाउने कुरामा प्रतिवादी उद्धवप्रसाद आचार्यले पीडित मैयाँ गिरीका मामा नातापर्ने यिनै प्रतिवादीमध्येका रामबहादुर भन्ने सानु कान्छा गिरीलाई माध्यम बनाई निजको सहयोग लिई मैयाँ गिरीलाई झुट्ठा आश्वासन र प्रलोभन देखाई भारतको वेश्यालयमा बिक्री गरेको भन्ने कुरा अपराध गर्नमा सहयोगी भूमिका खेल्ने सानुकान्छा गिरीको बयानसमेतबाट समर्थित हुन आएको छ । बिक्री गरिएकी पीडितको अवस्था प्रतिवादीहरूकै कारणबाट अज्ञात रहेको र बिक्री गरिएकी महिलाका पति जाहेरवालाको जाहेरी र निजले अदालतमा गरेको बकपत्रमा उल्लेख भएबमोजिमका कुरा निज प्रतिवादीहरूले प्रहरीसमक्ष बयान गर्दा उल्लेख गरेको देखिन्छ । अदालतको इन्कारीबाहेक प्रतिवादीहरू निर्दोष रहेको भन्ने अन्य स्वतन्त्र प्रमाण प्रतिवादीहरूबाट दाखिल हुन आएको छैन । शर्मिला कुँवरको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी यिनै उद्धवप्रसाद आचार्य भएको जीउ मास्ने बेच्ने मुद्दामा कसुरदार ठहर भई सजायसमेत पाइसकेको अवस्था देखिएकाले विभिन्न महिलालाई भिन्नभिन्न तरिकाबाट ललाई फकाई आफ्नो नियन्त्रणमा पारी सङ्गठितरूपमा जीउ मास्ने बेच्ने कार्यमा सरिक हुँदै आएको भन्ने कुरा शङ्कारहित तबरबाट पुष्टि हुन आएको हुँदा आफूहरू निर्दोष रहेको भन्ने प्रतिवादीहरूको कथन उपरोक्त विवेचित कारणबाट खण्डन हुन आएको छ ।
११. पीडित मैयाँ गिरीलाई भारतको वेश्यालयमा लगी भा.रू.२७,५००।– मा बिक्री गरेको भनी यी प्रतिवादीहरू प्रहरीसमक्ष आरोपित कसुरमा मुख साबित रहेका र अदालतमा बयान गर्दा विवाह गरी काठमाडौं लगेको भनी उल्लेख गरे पनि निज पीडितको हालको अवस्था प्रतिवादीहरूले प्रकाश नगरेबाट ललाई फकाई विवाह गर्ने झुट्ठा आश्वासनमा पारी आफ्नो कब्जामा लिई निज पीडितको घरबाट छुटाई लगेको देखिएको छ । प्रतिवादीहरूको उक्त कार्य निरपेक्ष दायित्वअन्तर्गतको अपराध भएबाट आफू निर्दोष रहेको भन्ने प्रमाणको भार प्रतिवादीहरूले पुर्याउनुपर्ने हुन्छ । तर प्रहरी र अदालतसमक्ष प्रतिवादीहरूले गरेको बयानबाट निज प्रतिवादीहरूले मैयाँ गिरीलाई २०५३।४।१७ मा विवाह गर्ने प्रलोभन देखाई आफ्नो कब्जामा लिएपछि निजको अवस्था हालसम्म अज्ञात रहेको र प्रतिवादीहरूले त्यसरी आफूले कब्जामा लिएकी व्यक्तिलाई प्रकाश नपारेबाट प्रतिवादीहरूकै कार्यबाट निजको अवस्था अज्ञात रहेको र प्रतिवादीहरूले आफ्नो निर्दोषिता स्थापित गर्न नसकेबाट प्रतिवादीहरूले दावीबमोजिम कसुर गरेको देखिन आएको छ ।
१२. प्रतिवादी उद्धवप्रसाद आचार्यलाई कैद वर्ष १२ हुने गरी पुनरावेदन अदालतबाट भएको फैसला दण्ड सजायको महलको ४१ नं. को कानूनी व्यवस्थासँग असङ्गत भई सो व्यवस्थाको व्याख्यात्मक सन्दर्भसमेतबाट फरक पर्न सक्ने भनी यस अदालतको पूर्व संयुक्त इजलासले विपक्षी झिकाउँदा उक्त कानूनी आधार लिएको देखिन्छ । अब, प्रस्तुत वारदातमा दण्ड सजायको महलको ४१ नं.को व्यवस्था आकर्षित हुन सक्ने अवस्था छ छैन सोको निरूपण गरिनुपर्ने कानूनी व्याख्यात्मक प्रश्न रहेको छ । मुलुकी ऐन, दण्ड सजायको महलको ४१ नं.मा भएको कानूनी व्यवस्था देहायबमोजिम छः
४१ नं.।। एकै मानिसलाई एकै वा धेरै मुद्दाको धेरै कलमको कैद ठेक्नुपरेमा जुन कलममा कैदको सबभन्दा ठूलो हद छ सो हद ननाघ्ने गरी एकै वा धेरै मुद्दामा एकै वा धेरै कलममा गरी कैद ठेक्नुपर्छ । त्यसरी कैद ठेकिएकोमा कैद भुक्तान हुन नपाउँदै अर्को कलममा कैद ठेक्नुपर्ने भयो र अघि ठेकिएको जम्मा कैदभन्दा पछि ठेक्नुपर्ने कलमको हद बढी छ भने अघि कैद ठेक्दा थुनामा परेको मितिदेखि पछि ठेकिएको कलमको हद ननाघ्ने गरी कैद ठेक्नुपर्छ । अघि ठेकिएको कैद भन्दा पछि ठेक्ने कलमको हद घटी रहेछ भने थप कैद ठेक्नु पर्दैन । फैसला, कैदी पुर्जी, कैद ठेक्ने किताबमा सम्म खुलाई दिनुपर्छ र पछि ठेकिने कलमको हद घटी भए पनि अघि कैद गर्दा ठूलो कलमको हद नपुगेको रहेछ भने सो नपुग दिनसम्म पछिल्लो कलममा कैद गर्नुपर्छ । धेरै कलमको कैदको हद बराबर हुन आयो भने सोमध्ये एक कलमको कैद ठेक्नुपर्छ । अरू कलमका हकमा फैसला, कैदी पुर्जी, कैद ठेक्ने किताबमा सम्म खुलाउनुपर्छ, तर फैसला भैसकेपछि कैद नबस्दै वा थुना कैद बसेको अवस्थामा वा थुना कैदबाट छुटेको वा भागेको अवस्थामा अर्को कसुर गरेकोमा सो कसुरबापत कानूनबमोजिम थप कैद ठेक्नुपर्छ ।
१३. उपर्युक्त कानूनी व्यवस्था अध्ययन गरी हेर्दा एउटा मानिसलाई एक वा धेरै मुद्दाको कलमको कैद ठेक्दा जुन कलममा कैदको ठूलो हद छ सो हद ननाघ्ने गरी सबै कलमको कैद ठेक्नुपर्ने र त्यसरी कैद ठेकिएकोमा उक्त कैद भुक्तान भई नसकेको अवस्थामा अर्को कलमको पनि कैद ठेक्नु परेमा अघि ठेकिएको कैदको भन्दा पछिको कैदको कलम बढी छ भने अघि कैद ठेक्दा थुनामा परेको मितिदेखि पछि ठेकिएको कलमको कैदको हद ननाघ्ने गरी कैद ठेक्नुपर्ने र पछि ठेकिने कलमको हद घटी छ र अघि कैद गर्दा ठूलो कलमको हद नपुगेको रहेछ भने सो अवस्थामा नपुग दिनसम्म पछिल्लो कलममा कैद ठेक्न सक्ने देखिंयो । यसरी कैद ठेक्दा धेरै कलमको कैदको हद बराबर छ भने सोमध्ये एक कलमको कैद ठेकेपछि अरू कलमको कैद ठेकिरहनु नपर्ने भन्ने देखिन आउँछ । यसैगरी एउटा मुद्दामा भएको फैसलाले लागेको कैद नबस्दै वा कैदमा बसेको अवस्था वा थुना वा कैदबाट छुटेको वा भागेको अवस्थामा अर्को कसुर गरेकोमा सो कसुरबापत थप कैद ठेक्नुपर्ने उल्लेख भएको देखिन आउँछ ।
१४. अब, प्रस्तुत वारदातमा उक्त कानूनी व्यवस्था आकर्षित हुन सक्ने हो होइन भन्नेतर्फ विचार गर्दा शर्मिला कुँवरको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी यिनै प्रतिवादी उद्धवप्रसाद आचार्य भएको जीउ मास्ने बेच्ने मुद्दाको वारदात र प्रस्तुत मुद्दाको वारदात फरकफरक मितिमा घटेको र फरकफरक वारदात रहेको छ । शर्मिला कुँवरको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी यिनै प्रतिवादी उद्धवप्रसाद आचार्य भएको जीउ मास्ने बेच्ने मुद्दामा यी प्रतिवादी मिति २०५४।८।९ मा थुनामा परी मिति २०६३।९।२३ सम्म कैदमा बसी फैसलाले लागेको कैद भुक्तान गरी कैदबाट छुटेपछि प्रस्तुत वारदातमा यी पुनरावेदकलाई प्रतिवादी बनाई मिति २०६४।५।१९ मा अभियोग दायर भएको देखिन्छ । दुईवटा वारदातमा एकसाथ मुद्दा चलेको वा पहिलो वारदातमा थुनामा बसेको अवस्थामा अर्को मुद्दा पनि चली फैसला भई फैसलाबमोजिम लागेको कैद सजाय ठेकिएको अवस्था नभई पहिलो मुद्दामा भएको फैसलाले लागेको कैद सजायमा मिति २०५४।८।९ देखि २०६३।९।२३ सम्म कैदमा बसी कैदबाट छुटेपछिमात्र अर्को वारदातमा अनुसन्धान भई मिति २०६४।५।१९ मा अभियोग दायर भएको हुँदा पहिलो मुद्दामा भएको फैसलाले लागेको कैद भोग गरी कैदबाट छुटिसकेपछि प्रस्तुत वारदातमा मुद्दा चली पछिल्लो मुद्दामा भएको कैद सजायलाई कैदबाट छुटिसकेको पहिलो मुद्दामा कैदमा बसेको अवधिसमेत गणना गरी सजाय निर्धारण गर्न दण्ड सजायको महलको ४१ नं. विपरीत हुन जाने देखियो । पहिलो मुद्दामा कैद भुक्तान भई कैदबाट छुटेपछि अर्को वारदातमा अभियोग दायर भई भएको फैसलाबमोजिम कैद सजाय भोगिरहेको हुँदा उक्त सजाय निर्धारण गरिएको निर्णयलाई दण्ड सजायको महलको ४१ नं.को प्रतिकूल मान्न मिल्ने देखिएन । बेग्लाबेग्लै वारदात भई चलेका बेग्लाबेग्लै मुद्दामा फरकफरक मितिमा फैसला भएका र पहिलो मुद्दामा लागेको कैद भुक्तान भएपछि पछिल्लो मुद्दा दायर भएको त्यस्तो स्थितिमा अघिल्लो मुद्दामा ठहर भएको कैद सजायबमोजिम कैदमा बसेको अवधिलाई पछिल्लो मुद्दामा लागेको कैद असुल गर्ने प्रयोजनले गणना गर्न मिल्ने नदेखिँदा यस अदालतको पूर्व संयुक्त इजलासले विपक्षी झिकाउँदा लिएको आधारसँग यो इजलास सहमत हुन सक्ने अवस्था भएन ।
१५. अब, जरिवाना सजायको हकमा सुरू सदर गरी कैदका हकमा केही उल्टी गरी प्रतिवादीहरूलाई १२ वर्ष कैद सजाय हुने ठहर गरेको पुनरावेदन अदालतको फैसलातर्फ विचार गर्दा सजायको न्यूनतम् र अधिकतम् हद ऐनले नै निर्धारण गरी कसुरको अनुपातमा सजाय निर्धारण गर्ने तजबिजी अधिकार अदालतलाई प्रदान गरेको अवस्था हुँदा कसुरको गम्भीरताको आधारमा सजाय निर्धारण गर्नुपर्ने देखिन आएको छ । प्रतिवादी उद्धवप्रसाद आर्चाय एकपटक कैद भुक्तान गरी सकेपछि पुनः अर्को कसुर गरेको नभई पहिला नै भइसकेको कसुरमा मुद्दा चलेको देखिन्छ । उक्त दुबै मुद्दा एकैसाथ दायर भएको वा एकै साथ फैसला भएको अवस्था भए ठूलो कैद सजायमा सानो कैद सजाय खापिएर एकैसाथ कैद भुक्तानी हुने कानूनी व्यवस्था भएकोमा एक साथ मुद्दा नचलेको र एक साथ फैसला नभई पहिलो मुद्दामा कैद भुक्तान भएपछि दोस्रो मुद्दा चलेको स्थिति र जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) ले अधिकतम् र न्यूनतम् हदको सजायको व्यवस्था गरेकोमा प्रतिवादीहरूलाई अधिकतम् सजाय नगरी न्यूनतम् सजाय ठहर गर्दा कानून र न्यायको उद्देश्य पनि पूरा हुने र प्रतिवादीहरूलाई पनि प्रतिकूल असर पर्न जाने अवस्थासमेत देखिन नआएबाट पुनरावेदन अदालतको फैसलालाई बेमनासिब भन्न मिलेन ।
१६. अतः माथि विवेचित आधार र कारणबाट पुनरावेदक प्रतिवादीहरूले जाहेरवालाको श्रीमती पीडित मैयाँ गिरीलाई भारतको कलकत्तास्थित वेश्यालयमा लगी भा.रू.२७,५००।– मा बिक्री गरी तत्कालीन जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ४(क) को कसुर गरेको पुष्टि हुन आएको हुँदा प्रतिवादीहरूलाई सोही ऐनको दफा ८(५) बमोजिम जनही रू.४४,०००।– जरिवाना गरेको मकवानपुर जिल्ला अदालतको मिति २०६६।१।२८ को फैसला सो हदसम्म सदर गरी कैद सजायको हकमा १९ वर्ष कैद सजाय हुने ठहर गरेको सो हदसम्म केही उल्टी गरी प्रतिवादीहरू उद्धवप्रसाद आचार्य र रामबहादुर भन्ने सानुकान्छा गिरीलाई जीउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) बमोजिम जनही १२ वर्षको दरले कैद सजाय हुने ठहर गरेको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६७।६।१२ को फैसला मिलेको देखिदा सदर हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्तैन । यो फैसलाको जानकारी प्रतिवादीहरूलाई निजहरू कैदमा रहेको सम्बन्धित कारागारमार्फत गराई प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
प्र.न्या. रामकुमार प्रसाद शाह
इति संवत् २०७१ साल कात्तिक १७ गते रोज २ शुभम् ।
इजलास अधिकृत : दीपक ढकाल